सर्लाही: मधेश प्रदेशसभा अन्तर्गत सर्लाही क्षेत्र नम्बर १ (ख) मा नेकपा एकीकृत समाजवादीकी वेची लुंगेली विजयी भएकी छन् । उनले ६ हजार ६९९ मतान्तरले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी शान्ति लामालाई पराजित गरिन् । लुंगेलीले १३ हजार ६७६ मत ल्याउँदा लामाले ६ हजार ९७७ मत पाइन् । स्वतन्त्र उम्मेदवार राजन श्रेष्ठ ५ हजार ९४५ मत ल्याउँदै तेस्रो स्थानमा रहे ।
काठमाडौँ: काठमाडौँ निर्वाचन क्षेत्र नंं ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले अग्रता कायम राख्नुभएको छ ।आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा केहीबेर अगाडि ३१ हजार २४ मतगणना हुँदा उहाँले ११ हजार छ सय ३८ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिनुभयो । यस्तै दोस्रोमा नेकपा (एमाले)का उम्मेदवार सर्वेन्द्र खनालले छ हजार नौ सय ६५ मत प्राप्त गर्नुभएको छ भने तेस्रोमा नेपाली कांग्रेसका भीमसेनदास प्रधानले छ हजार सात सय ३७ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत खनालले बताउनुभयो । उक्त क्षेत्रमा २४ उम्मेदवार प्रतिस्पर्धामा रहेकामा १३ विभिन्न राजनीतिक दलका र ११ जना स्वतन्त्र उम्मेदवार रहेको उक्त कार्यालयले जनाएको छ । काठमाडौँको बागबजारदेखि गोँगबु हुँदै काभ्रेस्थलीसम्म फैलिएको उक्त क्षेत्रको ७५ मतदान केन्द्रमा मतदान भएको थियो । बैसठ्ठी हजार एक सय दुई मतदाता रहेको सो निर्वाचन क्षेत्रमा ३९ हजार ६६ मत खसेको थियो ।
काठमाडौं: काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका राजेन्द्र कुमार केसी विजयी हुनुभएको छ । चालिसे २ हजार ६७२ मतान्तरले विजयी हुनुभएको छ । केसी १४ हजार ४५८ मत ल्याएर सहित विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका हिमेश केसीले ११ हजार ७८६ मत ल्याउनुभएको छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदिप विष्ट थापाले ८ हजार ७३६ मत ल्याउनुभएको छ । उक्त क्षेत्रमा कुल ५३ हजार ३३६ मत खसको थियो ।
काठमाडौं: प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । केही कलाकार पनि चुनावी मैदानमा छन् । कमेडियन हिमेश पन्त धादिङ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार छन् । मतगणना भइरहेको उक्त क्षेत्रमा नेकपा एकीकृत समाजवादीका राजेन्द्र पाण्डेले अग्रता बनाइरहेका छन् । हिमेश सुरुवातदेखि नै तेस्रो स्थानमा छन् । पछिल्लो मत परिणाम अनुसार उनी पाण्डेभन्दा ९ हजार भन्दा बढी मतले पछाडि छन् । मत परिणाममा पछि परेपछि पन्तले दूरदराजका मतदाताको चेतनास्तरमाथि नै टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले राजमार्ग क्षेत्र र नगरपालिका क्षेत्रका मतदाता बुझ्ने भएपनि गाउँ र लेकका मानिसको चेतनास्तरमा सुधार नआएकाले आफूले कम पाएको टिप्पणी गरेका छन् । उनले लेखेका छन्, ‘हामी प्रचारप्रसारमा हिंड्दै गर्दा ‘जसले दिन्छ नोट, उसैलाई भोट’ भनेको पनि धेरै सुन्न पाइयो । कतिले त ‘भोट चाहिए रक्सी खुवाउनुस्’ सम्म भन्न भ्याए । धादिङ कुनै पनि हालतमा काठमाडौं जस्तो हुन सक्दैन ।’ देशका प्रमुख सहरी क्षेत्रमा रास्वपाले अग्रता लिइरहेका बेला आफू पछि परेपछि आक्रोश पोख्दै पन्तले विना संगठन आफूले सम्मानित मत पाएको बताएका छन् । उम्मेदवार पन्तको फेसबुक स्टाटस
पर्वत: पर्वत जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना जारी छ । पर्वतमा कूल खसेको ६६ हजार दुई सय ७३ मत मध्ये अपराह्न ४ बजेसम्म प्रतिनिधिसभाको प्रत्यक्षतर्फ झण्डै १७ हजार मत गणना भएको छ । पछिल्लो मतगणना परिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीले नेकपा एमालेका उम्मेदवार पदम गिरीलाई छ सय ९८ मतान्तरले पछि पार्नुभएको छ । जोशीले आठ हजार ४२ मत प्राप्त गर्नुभएको छ भने गिरीले सात हजार तीन सय ४४ मत प्राप्त गरेका छन् । प्रदेशसभा सदस्य क्षेत्र नं १ तर्फ गठबन्धनतर्फका माओवादी केन्द्रका उम्मेदवार सुदीप कुँवरले सात हजार आठ सय ६४ मत प्राप्त गर्नुभएको छ । एमालेका भक्त कुँवरले सात हजार पाँच सय ९१ मत प्राप्त गरेका छन् । प्रदेशसभा निर्वाचन क्षेत्र नं २ तर्फ गठबन्धनका तर्फका कांग्रेस उम्मेदवार ऋषिकेश तिवारीलाई एमालेका उम्मेदवार मित्रलाल बस्यालले एक हजार पाँच सय ५० मतले पछि पार्दै अग्रता कायम गर्नुभएको छ । पछिल्लो परिणामअनुसार कांग्रेसका तिवारीले पाँच हजार आठ सय २३ र एमालेका बस्यालले सात हजार तीन सय ७३ मत प्राप्त गर्नुभएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतले दिएको जानकारीअनुसार बुधबार बेलुकासम्म मतगणनाको अन्तिम परिणाम आउन सक्ने छ ।
जनकपुरधामः धनुषाको चार क्षेत्रमध्ये तीन क्षेत्रमा नेकपा एमालेका उम्मेदवार अग्रता लिइरहेका छन् । धनुषाको निर्वाचन क्षेत्र न. १ बाहेक तीनवटा क्षेत्रमा एमालेका उम्मेदवारहरु अग्रता लिइरहेका छन् । धनुषा क्षेत्र नं. २ मा एमाले उम्मेदवार उमाशंकर अरगरिया ४८०२ मतसहित अग्रस्थानमा छन् । उनलाई कांग्रेसका उम्मेदवार रामकृष्ण यादवले पछ्याइरहेका छन् । रामकृष्ण्ले ३७९० मत ल्याएर दोस्रो स्थानमा छन् । तेस्रो स्थानमा जसपाका उम्मेदवार आनन्द यादव २९६४ मत पाएका छन् भने चौथोमा एकीकृत समाजवादीका रामचन्द्र झा २१३९ मत पाएका हुन् । धनुषा क्षेत्र नं. ३ मा एमाले नेतृ जुलीकुमारी महतोले ६२४३ मतसहित अग्रता लिइरहेकी छन् । उनलाई सत्ता गठबन्धन लोसपाका उम्मेदवार अनिलकुमार झाले ४४३३ मतसहित पछ्याइरहेका छन् । तेस्रोमा जनमत पार्टीका उम्मेदवार शम्भु साहले १८४१ मत पाएका छन् । धनुषा क्षेत्र नं. ४ मा एमाले नेता रघुवीर महासेठ ४७६ मतसहित पहिलो स्थानमा छन् । उनलाई सत्ता गठबन्धन कांग्रेसका उम्मेदवार महेन्द्र यादवले ३९४ मत ल्याएर पछ्याइरहेका छन् । तेस्रोमा स्वतन्त्र उम्मेदवार कृष्णकुमार महतो ६१ मत पाएका छन् । धनुषा १ मा भने विपक्षी गठबन्धन जसपाका उम्मेदवार दीपक कार्की २३७६ मतसहित अग्र स्थानमा छन् । कार्कीलाई सत्ता गठबन्धन माओवादी केन्द्रका उम्मेदवार मातृकाप्रसाद यादव १७०५ सहित दोस्रो स्थानमा छन् भने तेस्रोमा राप्रपाका उम्मेदवार मनोज मल्ल २०४५ मत ल्याएका छन् ।
वीरगञ्ज: पर्साको प्रदेश सभामा नेपाली कांग्रेसले खाता खोलेको छ । पर्सा निर्वाचन क्षेत्र नं २ (१) मा नेपाली कांग्रेसका श्याम पटेल विजयी भएका हुन् । जनता समाजवादी पार्टीका राम नरेश प्रसाद यादवलाई १६५७ मतान्तरले पराजित गर्दै पटेल प्रदेश सभा सदस्यमा निर्वाचित भए । पटेलले १३ हजार ७८४ मत ल्याए भने राम नरेश यादवले १२ हजार १२७ मत ल्याएका छन् । ०७४ सालमा पनि यो क्षेत्रबाट नेपाली कांग्रेसले नै जितेको थियो । कांग्रेसका राजेश्वरप्रसादले १० हजार २५९ मत ल्याएर निर्वाचित हुँदा तत्कालीन संघीय समाजवादीबाट उठेका उनै राम नरेश यादव १० हजार ७९ मत ल्याएर पराजित भएका थिए ।
रसुवा: रसुवा प्रदेश क्षेत्र नं १ बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका प्रभात तामाङ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का कुलप्रसाद भट्टले चार हजार सात सय ७२ मत प्राप्त गर्नुभएको छ । तामाङले आफ्ना प्रतिद्वन्द्वीभन्दा तीन हजार चार सय १४ मत बढी प्राप्त गर्नुभएको निर्वाचन अधिकृत रामचन्द्र पौडेलले जानकारी दिनुभयो । उक्त क्षेत्रमा एक स्वतन्त्र महिलासहित आठजना उम्मेदवार हुनुहुन्थ्यो । उक्त क्षेत्रमा १३ हजार ६ सय ५५ मत खसेकामा १३ हजार दुई सय ८७ मत सदर भएको थियो ।
काठमाडौँ: काठमाडौँ क्षेत्र नं १ बाट विजयी हुनुभएका नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान कार्यान्वयनका लागि राजनीतिक स्थायित्व र सुशासन नै अहिले मुख्य एजेन्डा भएको बताउनुभएको छ । लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका उहाँले सात हजार एक सय ४३ मत ल्याई निर्वाचित हुनुभएको छ । उहाँले निकटतम प्रतिद्वन्द्वी राप्रपाका उम्मेदवार रवीन्द्र मिश्रलाई एक सय २५ मतान्तरले पराजित गरी प्रतिनिधिसभा सदस्यमा चौथोपटक विजयी बन्नुभएको छ । निर्वाचित भएपछि काठमाडौँ निर्वाचन क्षेत्र १ का मतदातालाई हार्दिक धन्यवाद दिँदै उहाँले यस जितले लोकतन्त्रवादीको शिर माथि उठेको बताउनुभयो । लोकतन्त्रमा जनता सर्वोच्च र निर्णायक हुने र उनीहरुको मतले नै राज्य सञ्चालन हुने हुँदा यसलाई सबैले स्वीकार गर्नुपर्ने बताउँदै स्वच्छ प्रतिस्पर्धाले नै लोकतन्त्रलाई बलियो बनाउँछ भन्नुभयो । आफ्नो सम्पूर्ण जीवन नै लोकतन्त्रका लागि गरेको समर्पण र स्च्छ छविकै कारण यस क्षेत्रका जनताले पटकपटक विजयी गराएका उहाँको भनाइ छ । उहाँले कांग्रेसले जनतालाई जसरी अधिकार दिलाउन तथा संविधान लेख्न र शान्ति प्रक्रियामा नेतृत्व ग¥यो अब त्यसलाई कार्यान्वयन गरेर आर्थिक क्रान्ति गरी समुन्नति र सम्पन्नता हासिल गर्ने अभियानमा पनि पार्टीले नेतृत्व गर्ने दृढता व्यक्त गर्नुभयो । अहिलेको अर्थतन्त्रको सङ्कट समाधान गर्ने र लगानीमैत्री वातावरण बनाउने नयाँ सरकारको मूल दायित्व रहेको बताउँदै उहाँले त्यसका लागि आफूले पहल गर्ने बताउनुभयो । उहाँले तीन तहका सरकारले आफ्नो हिसाबले जनतामा सेवा प्रवाह गर्न नसकेका कारण सङ्घीयता लागू भए पनि केन्द्रीकृत एकात्मक व्यवस्था र सङ्घीयताबीचको भिन्नताबारे मतदाताले प्रश्न गरिरहेको उल्लेख गर्नुभयो । पूर्वउपप्रधानमन्त्री सिंहले भन्नुभयो, “सङ्घीयतामा तीन तहको सरकार सक्रिय हुनुपर्नेमा अहिलेसम्म त्यो भएको छैन । त्यो नभएकै कारण मात्र एकात्मक व्यवस्था र सङ्घीयताको फरक के हो भन्नबारे सर्वसाधारणबाट प्रश्न भएको छ, त्यसलाई अधिकारका साथ काम गरेर देखाउन चाहन्छौँ ।” निर्वाचनको मत परिणामको प्रारम्भिक नतिजाले नेपाली कांग्रेस नै सबैभन्दा ठूलो दलको रूपमा स्थापित हुने दाबी गर्दै उहाँले जनतालाई आवश्यकतानुसारको सेवा र सुविधासहित देशलाई समृद्धिको बाटोमा अगाडि बढाउन पार्टी दृढ रहेको उम्मेदवार बताउनुभयो । नेता सिंहले निर्वाचन घरदैलोका क्रममा मतदाताले राखेका विकास निर्माण, जनजीविकाका सवाल र राजनीतिक स्थिरताका लागि आफूले विगतमा जस्तै एक जिम्मेवार जनप्रतिनिधिको भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो । विगतमा राजनीतिक अस्थिरताका कारण जनअपेक्षा पूरा गर्न नसकिएको भन्दै नेता सिंहले अब आफ्नो सम्पूर्ण ध्यान स्थायित्व कायम गर्दै जनताको जीवनयापन सरल बनाउन सक्रिय हुने बताउनुभयो । विसं २०४६ को जनआन्दोलनका कमान्डर गणेशमान सिंह र नेपाल महिला सङ्घकी संस्थापक अध्यक्ष मङ्गलादेवी सिंहका छोरा उहाँ सानो उमेरदेखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहनुभएको थियो । २०१२ सालमा जन्मनुभएका उहाँ २०३४ सालमा नेविसङ्घको केन्द्रीय सदस्य बन्नुभयो भने २०३६ सालमा अध्यक्ष बन्नुभयो । २०४७ देखि निरन्तर १० वर्षसम्म नेपाली कांग्रेसको काठमाडौँको सभापति रहनुभयो भने नेपाली कांग्रेसको विभाजनपछि नेपाली कांग्रेस (प्रजातान्त्रिक)को उपसभापति बन्नुभयो । २०६४ मा पार्टी एकीकरणपछि २०६७ मा भएको १२औँ महाधिवेशनबाट उहाँ महामन्त्रीमा निर्वाचित हुनुभयो । उहाँले २०५३ सालमा राष्ट्रियसभा सदस्य भएर छ वर्षको कार्यकाल पूरा गर्नुभयो । २०६४ सालमा भएको पहिलो संविधानसभा र त्यसपछिका तीनवटै आम निर्वाचनमा उहाँले काठमाडौँ–१ मा क्षेत्रबाट विजय हासिल गर्दै आउनुभएको छ । उहाँ सुशील कोइरालाको मन्त्रिमण्डलमा उपप्रधानमन्त्री, स्थानीय विकास तथा सङ्घीय मामिलामन्त्री हुनुभएको थियो । पार्टी र सरकारमा रहँदा सधैँ इमान्दार र निष्ठा राख्नुहुने उहाँ विकासप्रेमी नेताका रुपमा चिनिनु हुन्छ ।