मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का वडाध्यक्ष डुकके विष्टको ७५ वर्षको उमेरमा निधन भएको छ ।   लामो समयदेखि पेटसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष विष्टको उपचारका क्रममा काठमाडौँमा निधन भएको गाउँपा...

नेपालगञ्ज:  बाक्लो हुस्सु र कुहिरोले भिजिविलिटी नपुग्दा मंगलबार नेपालगञ्ज विमानस्थलबाट कुनै पनि हवाई उडान हुन सकेका छैनन् । विहानैबाट लागेको हुस्सुका कारणले यहाँबाट पश्चिम नेपालका पहाडी जिल्लाहरु र सङ्घीय राजधानी काठमाडौँका लागि हुँदै आएका सबै उडान रद्द गरिएका छन् ।  जहाज अवतरण र उडानका लागि भिजिविलिटी नपुग्दा यहाँबाट पहाडी जिल्लाहरुलगायत राजधानीका लागि कुनै पनि उडान नभएको विमानस्थलले जनाएको छ ।  कर्णाली प्रदेशका जुम्ला, हुम्ला, डोल्पा र मुगु तथा सुदुरपश्चिमको बाजुरा, बझाङ्गका लागि बिहान मात्रै उडान हुने हुँदा भिजिविलिटी नपुग्दा दिउँसो २ बजेसम्मका सबै उडान रद्द गरिएको विमानस्थल टावरका अफिसर महेन्द्र बहादुर सिंहले बताउनुभयो ।  मंगलबार विहानैदेखि ६ सय मिटर मात्र भिजिविलिटी रहेकाले पहाडी जिल्लाहरुका सबै उडान रद्द गर्नुका साथै राजधानीका पनि हालसम्मका सबै उडान रद्द गरिएको उहाँले बताउनुभयो ।  नेपालगञ्ज विमानस्थलबाट दैनिक कर्णाली सुदुरपश्चिम प्रदेशका पहाडी र हिमाली जिल्लामा २० वटा र काठमाडौँका लागि १५ वटासम्म उडान हुने गरेका छन् । यहाँबाट काठमाडौं, डोल्पा, बाजुरा, सिमिकोट, जुम्ला, मुगु, रुकुम, बझाङमा  दैनिक उडान हुने गरेको छ ।  यसैगरी, केही दिनयता शुरु भएको शितलहर र चिसोका कारण बाँके र बर्दियाको जनजिवन अस्तव्यस्त छ । दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र श्रमिकलाई चिसोले सबैभन्दा बढी समस्या पारेको छ । चिसोकै कारण धेरै मजदुरले काम पाएका छैनन् । 

गण्डकी:   पोखरा महानगरपालिका–३२ तल्लो गगनगौँडास्थित नवीन टोल विकास संस्थामा आबद्ध ६० सदस्यीय टोली पुसको अघिल्लो साता स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ स्थित कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनास्थलको जलाशयमा पुगे ।  जलविद्युत् आयोजनाका निर्माणका क्रममा बनेको जलाशयमा जल यातायात (स्टिमर) चढेर शिला शालिग्रामसम्म पुग्ने लक्ष्य राखेपनि उनीहरू त्यहाँ पानीको सतह घटाइएका कारण जल यातायातबाट लक्षित गन्तव्यमा भने पुग्न सकेनन् । उक्त टोलीसहित सो दिन अन्य ठाउँ ठाउँबाट आएका पर्यटक जल यातायात चढेर शिला शालिग्राम पुग्न नसकेपनि केही समय छोटै दुरीमै भए पनि जल यातायातको राम्रैसँग अनुभव लिए । समय समयमा मर्मतका साथै वर्षातमा पानीको बहाव बढ्दा जल यातायात नचल्ने भए पनि थाहा नहुँदा टाढाबाट आएका पर्यटक निराश बनेर फर्कने शालिग्राम कालीगण्डकी जल यातायात प्रालिका सुपरभाइजर कृष्ण क्षेत्रीले बताउनुभयो ।  स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मुर्मी आँधी मुहानदेखि पर्वतको विहादी गाउँपालिका–६ शालिग्राम सेतीवेणीसम्म रमणीय दृश्य अवलोकन गर्दै सात किलोमिटरको दूरीमा विगत १९ वर्षदेखि जल यातायात सेवा सञ्चालनमा आएको उहाँले जानकारी दिनुभयो ।  जल यातायात सेवाले दक्षिण पर्वतको विहादी र पैँयू गाउँपालिकाका साथै स्याङ्जा, गुल्मी र बागलुङका बासिन्दा लाभान्वित हुनुका साथै यसले यहाँको पर्यटन प्रवर्द्धनमा विशिष्ट योगदान गरेको छ । “हाल तीनवटा स्टिमरबाट पर्यटकलाई सेवा दिइरहेका छौँ”, उहाँले भन्नुभयो, “एउटामा ८० जनाको दरले एक पटकमा दुई सय ४० जनालाई जलविहार गर्ने व्यवस्था मिलाएका छौँ ।” जल यातायात सेवा सञ्चालनले चार घण्टाको यात्रा आधा घण्टामा सीमितभएको स्थानीय रमेश सुवेदीले बताउनुभयो । “स्टिमर सेवा सञ्चालनले कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजना प्रभावित क्षेत्र स्याङ्जाको गल्याङ नगरपालिका, कालीगण्डकी गाउँपालिका, पर्वतको विहादी गाउँपालिका र गुल्मीको कालीगण्डकी गाउँपालिकाका स्थानीयवासी धेरै लाभान्वित बनेका छन्”, उहाँले भन्नुभयो, “यसबाट यस क्षेत्रको पर्यटकीय विकासमा विशिष्ट योगदान पुगेको छ ।” सुवेदीका अनुसार जल यायातायातकै कारण आउने पर्यटकका कारण यहाँको आर्थिक गतिविधि चलायमान भएको छ । पछिल्ला समयमा बाँध आसपासका क्षेत्रमा होटेल तथा अन्य पूर्वाधार पनि विकास भएको बताउँदै उहाँले प्रत्येक दिन करिब पाँच सय जनासम्म बस्ने क्षमताका होटेल सञ्चालनमा आइसकेको जानकारी दिनुभयो । जल यातायातबाट पर्वतको सेतीवेणीस्थित विश्वकै ठूलो शालिग्राम शिलाको दर्शन गर्न जान सकिने भएकाले यो धार्मिक पर्यटनको गन्तव्य पनि बनेको छ । काठका ठूला तथा मझौला डुङ्गामा मालवाहक गाडीको इन्जिन जडान गरेर बनाइएका स्टिमरमा चढ्दा पानी जहाजकै झल्को आउने तनहुँको बन्दीपुरबाट घुम्न पुगेका निकेश श्रेष्ठले अनुभव सुनाउनुभयो । “स्टिमर चढ्दा सानो पानी जहाजको झmभल्को आउँदो रहेछ”, उहाँले भन्नुभयो, “जलयातायातको अनुभवका लागि यो महत्त्वपूर्ण बनेपनि टाढाबाट आउनेका लागि सञ्चालनमा आए नआएको थाहा नहुँदा समस्या पर्ने रहेछ ।” जिल्ला प्रशासन कार्यालय स्याङ्जाबाट विसं २०६२ मा स्वीकृति लिएर सञ्चालनमा ल्याइएको स्टिमर सेवा २०७० सालमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको हो । विगतमा १२ वटासम्म साना तथा ठूला स्टिमर निरन्तर सञ्चालन आएपनि अहिले भने तीनवटा मात्र सञ्चालनमा छन् । सुपरभाइजर क्षेत्रीका अनुसार शिला शालिग्रामसम्मको दुईतर्फी यात्राका लागि ४०० रुपैयाँ निर्धारण गरिएको छ । मिर्मीदेखि सेतीबेनीसम्म एकतर्फी पुग्न ३० देखि ४५ मिनेट जलयात्राको समय लाग्ने उहाँले बताउनुभयो । कालीगण्डकी जलयातायात समग्र गण्डकी प्रदेशका लागि महत्त्वपूर्ण पर्यटकीय गतिविधि बन्ने भएकाले यसलाई थप व्यवस्थित गर्नुपर्ने देखिएको भ्रमणका क्रममा पुग्नुभएका नवीन टोल विकास संस्था पोखरा–३२ का अध्यक्ष पुष्पराज शर्मा पौडेलले बताउनुभयो । “जल यातायातको राम्रो प्रवर्द्धन गर्न सकेमा यो महत्त्वपूर्ण पर्यटकीय गन्तव्य बन्न सक्छ”, उहाँले भन्नुभयो, “जलाशयसम्म पुग्नका लागि बाटो लगायतका पूर्वाधारलाई व्यवस्थित गर्नुपर्ने देखिन्छ ।” सिद्धार्थ राजमार्गको गल्याङस्थित जिरो किलोमिटरबाट १७ किलोमिटर दूरीमा यातायातका साधनमार्फत जलाशय पुग्न सकिन्छ ।

काठमाडौं:  उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच भेटवार्ता भएको छ । गृहमन्त्री लामिछानेलाई मङ्गलबार गृह मन्त्रालयमा भेट गरी कार्यकारी निर्देशक घिसिङले बधाइ तथा शुभकामना दिनुभएको हो ।

काठमाडौं:   नेकपा (एकीकृत समाजवादी पार्टी) का सांसद प्रेमबहादुर आले मगर र नेपाली कांग्रेसकी सांसद माया राईले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ ।  संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार आज दुवै सांसदले दिउँसो १२ः३० बजे संसद् सचिवालयमा ज्येष्ठ सदस्य पशुपति शमशेर जबराबाट शपथ लिनुहुनेछ ।  सांसद आलेको आमाको निधन भएपछि शपथ लिन पाउनु भएको थिएन । त्यस्तै, सांसद राई सुत्केरी भएपछि शपथ लिन पाउनुभएको थिएन । यसअघि पुस ८ गते महेन्द्र राय यादव र राजकुमार राईले शपथ लिनुभएको थियो । 

बुटवल:  अत्यधिक जाडो बढेपछि रुपन्देहीको रोहिणी गाउँपालिकाले पालिकाभित्रका विद्यालयहरु ६ दिनका लागि बन्द गर्ने निर्णय गरेको छ । बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गरी पुस १९ देखि पुस २४ गतेसम्म सबै सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले जानकारी दिए । गाउँपालिकाले सोमबार सूचना जारी गर्दै मौसम प्रतिकूल भई जाडो बढेकाले बर्खे बिदामा मिलाउने गरि ६ दिन विद्यालयहरु बन्द रहने जनाएको छ । जिल्लाका अन्य पालिकाहरुले भने अहिलेसम्म जाडो बिदा दिएका छैनन् ।

स्याङ्जा:   कालीगण्डकी गाउँपालिका–४, बिर्घा काठेखोलामा १० दिनमै काठेपुल निर्माण गरिएको छ। कालीगण्डकी गाउँपालिकाको दुई लाख ७७ हजार ८१२ रुपियाँ र पर्यटन मन्त्रालयको दुई लाख ४५ हजार रुपियाँ गरी कुल पाँच लाख २२ हजार ८१२ रुपियाँमा सो पुल निर्माण भएको हो।  करिब पाँच मिटर लामो यो पुल झट्ट हेर्दा सामान्य लागे पनि चिफलडाँडाका स्थानीय बासिन्दा र विद्यार्थीलाई ओहोरदोहोर गर्न ठूलो राहत पुगेको गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो।  मन्त्रालय र पालिकाबाट विनियोजित बजेटले पुलको पक्की गोरेटो बाटो निर्माण गरिएको छ। पुल बनेपछि यहाँका स्थानीय हर्षित भएका छन्। पुलबाट ६३ घरपरिवार लाभान्वित भएको वडाध्यक्ष यादवप्रसाद पाण्डेले बताउनुभयो।  यहाँ पुल नहुँदा नजिकै रहेको विद्यालय जान, दैनिक घाँस दाउरा तथा खेती गर्ने किसानलाई असहज भएको थियो। हिउँदको समयमा केही सहज भए पनि बर्खामा पुल नहुँदा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता थियो।  पुल बनेसँगै यहाँका विद्यार्थी र स्थानीय कृषकलाई ओहोरदोहोर गर्नलाई राहत मिलेको पाण्डेले बताउनुभयो। यहाँ जोखिम मोलेर खोला तर्दा एक महिलाको बगेर मृत्युसमेत भएको थियो।  बर्खामा खोला बढेपछि विद्यार्थी विद्यालय जानबाट र कृषकहरू खेतबारीमा जान वन्चित हुँदै आएका थिए। पर्यटकलाई आकर्षण हुने गरी निर्माण गरिएको काठेपुल दुई छेउमा ढुङ्गा, सिमेन्ट, बालुवा र गिट्टीको प्रयोग गरिएको छ। बीचमा साल र सिसौको ठूला काठ प्रयोग गरिएको छ।   

सुर्खेत:  गत असोजमा आएको बाढी पहिरोले भत्किएर क्षतविक्षत भएको कर्णाली राजमार्ग समयमै मर्मत नहुँदा यात्रुहरूलाई सास्ती भएको छ । सवारी साधन सञ्चालनका लागि मात्र खोलिएको राजमार्ग अचेल जोखिमपूर्ण अवस्थामा रहेको छ । प्राय राजमार्ग खाल्डाखुल्डी र धुलाम्मे छ त्यसमा पनि साँगुरो अहिले सुर्खेतदेखि जुम्लासम्म यात्रा गर्नेहरू धुलोले चिन्न नसक्ने अवस्थामा पुग्ने गरेका छन् । सडक डिभिजन कार्यालयले तत्कालका लागि सडक खुलाउने कार्य गरेपछि स्तर उन्नति लगायतका काम गर्न नसक्दा राजमार्गको अवस्था बिजोक भएको छ । जसका कारण कर्णाली राजमार्ग खाल्डाखुल्डी, साँगुरो र धुलाम्मे छन् । बर्सातले तहसनहस पारेको कर्णाली राजमार्गलाई सरकारले विशेष बजेटसहित सडक सुधार गर्न पहल नगरेको यात्रुहरूको गुनासो छ । बर्सेनि जुम्ला, कालिकोट, मुगु, हुम्ला र दैलेखका स्थानीयहरू चुपचाप सास्ती खेपेरै यात्रु गर्नुपर्ने बाध्यता छ । सडक डिभिजन कार्यालय सुर्खेत र जुम्लाबाट नियमित बजेट बाहेक थप बजेट व्यवस्थापन हुन सकेको छैन ।  राजमार्गको अवस्था बिग्रँदा दुर्घटना जोखिम पनि बढेको छ । प्राय कालिकोट र दैलेख खण्डमा सडक बिग्रेको छ  । सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठले कालिकोट जुम्ला र मुगुसम्मको सडक सुधारका लागि काम भइरहेको बताउनुभयो ।  ठुलो क्षति भएकाले सुधारका कामहरू भई रहको भए पनि तत्काल सडक स्तर उन्नतिका लागि गाह्रो हुने श्रेष्ठको भनाई छ ।   सडक डिभिजन कार्यालय जुम्लाका अनुसार कालिकोटको सेराबाडा देखि नाग्मसम्म २६ किलोमिटर सडक पहिरोले धुलाम्मे छ । कालिकोटको नाग्मदेखि गमगढीसम्म ९३ किलोमिटर सडकमा १८ किलोमिटरभित्र पहिरो गएको थियो । त्यस्तै कालिकोटको पिली, सेरी बाडा, भिक्म र बालीमा ठुलो पहिरो गएको थियो । त्यहाँ सडक नै बगाएका कारण नयाँ सडक खोलेर गाडी सञ्चालनमा ल्याइएको छ । दैलेख खण्डमा बर्सातमा गएको पहिरोले हिउँदमा कर्णाली राजमार्गको यात्रा गर्नेहरू साँगुरो र धुलाम्मे सडक हुँदै हिँड्नुपर्ने बाध्यता छ ।

बारा:  नाबालिकालाई जबरजस्ती करणी गरी फरार रहेका एक वडाध्यक्षले प्रहरीमक्षम आत्मसर्मपण गरेका छन् । जबरजस्ती करणीको आरोप लागेका निजगढ नगरपालिका–२ का वर्ष ३९ को वडाध्यक्ष राजु श्रेष्ठ आइतबार राति पौने ९ बजे ईलाका प्रहरी कार्यालय निजगढमा आफैँ उपस्थित भएको बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो । सोही ठाउँ बस्ने १४ वर्षीया नाबालिकालाई असोज १९ गते वडाध्यक्ष श्रेष्ठले आप्mनै घरमा बोलाएर जबजरस्ती करणी गरेको आरोप छ । नाबालिकालाई जबरजस्ती करणी गरेको भन्दै असोज २५ गते आफन्तले ईलाका प्रहरी कार्यालय निजगढमा किटानी उजुरी दिएका थिए । उजुरी परेपछि वडाध्यक्ष श्रेष्ठ फरार भएका थिए । नाबालिकालाई जबजरस्ती करनी गरेको अभियोगमा आत्मसर्मपण गरेका वडाध्यक्ष श्रेष्ठलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि बारा जिल्ला अदातलबाट म्याद थप गरिएको डिएसपी थापाले जानकारी दिनुभयो ।

ताप्लेजुङ:   ताप्लेजुङस्थित फुरुम्बो–पालुङ्गा बंस प्रतिष्ठानले गायन प्रतियोगिता ‘द भ्वाइस अफ नेपाल सिजन–४’ को अन्तिम चारमा पुग्न सफल सहिला फूरुम्बो लिम्बूलाई सम्मान गरेको छ । द भ्वाइस अफ नेपालमार्फत नवोदित कलाकारका रूपमा आफूलाई स्थापित गर्न सफल भएकोभन्दै प्रतिष्ठानले उहाँलाई सम्मानित गरेको हो ।   सदरमुकाम फुङ्लिङमा एक कार्यक्रमको आयोजना गरी फूरुम्बो पालुङ्गा बंस प्रतिष्ठानका साधारण सदस्यसमेत रहनुभएका फुरुम्बो लिम्बूलाई सम्मान गरिएको छ । फुङ्लिङ नगरपालिका –१० फुरुम्बुका लिम्बूले भर्खरै सम्पन्न सिजन–४ मा अन्तिम चारमा पुग्दै चौथो स्थान हासिल गर्न सफल हुनुभएको थियो ।  आगामी दिनका लागि थप सफलताको शुभकामना दिँदै कदरपत्रद्वारा सम्मान गरिएको प्रतिष्ठानका सदस्य हर्कराज पालुङवाले जानकारी दिनुभयो । नवोदित कलाकार फुरुम्बो पछिल्लो समय सङ्गीत क्षेत्रमा समय दिँदै आउनुभएको छ ।