कञ्चनपुर:  महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ । लगातारको वर्षापछि महाकाली नदीमा पानीको सतह बढेपछि चारपाङ्ग्रे सवारीसाधनमा रोक लगाइएको ...

चितवनः   प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्लाको मुख्य सहरी क्षेत्रका तीन स्थानमा शङ्कास्पद वस्तु भेटिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–१० आँखा अस्पताल नजिक र वडा नं १२ आस्था चोकमा शङ्कास्पद वस्तु भेटिएको हो । कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार दुई स्थानमा नै निर्वाचनविरोधी गतिविधि गर्ने समूहले प्रेसरकुकरमा शङ्कास्पत वस्तु राखेका हुन् । निर्वाचनको समयमा त्रास फैलाउनका लागि यस्तो गरिएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उक्त वस्तुलाई आज बिहान ३ः३० बजे निस्क्रिय पारिएको कार्यालयले जनाएको छ । यस्तै भरतपुर माहानगरपालिका–१६ वडा कार्यालय नजिक सिलिण्डरमा आगो लगाएर छाडेको पाइएको पण्डितले बताउनुभयो । सो सिलिण्डरलाई सुरक्षित स्थानमा राखिएको उहाँले जानकारी दिनुभयो ।

ढोरपाटनः   “गाउँमा काम पाइएन, मेरो परिवार निकै गरिब छ, नेताहरूलाई भोट हालेर हामीलाई रोजगार दिएनन्, त्यही भएर यसपालिको चुनावमा भोट हाल्न गएनौँ, यहाँबाट गाउँ पुग्दा सात हजार खर्च हुन्छ, यति धेरै खर्च गरेर भोट हालेर जिताए पनि नेताहरूले हाम्रो मुखमा फर्किएर हेर्दैनन्, बरु यहाँ काम गरियो भने दुई–चार हजार कमाइ हुन्छ ।” सिन्धुपाल्चोकका २७ वर्षीय भीम पगरी दुई महिनादेखि मध्यपहाडी लोकमार्गको घोँडाबाँधे–गलकोट खण्डमा काम गर्दै आउनुभएको छ । गाउँमा कुनै काम नपाएपछि बागलुङ आउनुभएका पगरीलाई मङ्सिर ४ मा प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन हुँदैछ भन्ने थाहा छ । तर उहाँ यसपालि गाउँमा मतदान गर्न जानु भएन । पटक–पटक मतदान गर्दै आउनुभएका पगरीले भोट दिएर जिताएका नेताले गरिब, दुःखी र मजदुरका लागि काम गर्न नसक्दा आफूहरू भौँतारिएर काम खोज्दै बागलुङ आउनुपरेको बताउनुहुन्छ । “मैले अहिलेसम्म तीन–चारपटक भोट हालेर नेताहरूलाई जिताएँ तर, उनीहरूलाई जिताएर हामी गरिब जनताले केही पाएनौँ, नेताले पद पाए, पैसा कमाए, आफू बने, आफ्ना नातागोता र आसेपासेलाई गतिलो बनाए, हामी भोट हालेर जिताउनेले गाउँमा एउटा सामान्य रोजगार पनि पाएनौँ”, पगरीले भन्नुभयो, “त्यही भएर अहिले गाउँमा भोट हाल्न गएनौँ, नेताज्यूले फोन त गर्नुभएको थियो तर यति टाढाबाट हजारौँ खर्च गरेर जानु पर्छ, उता गए खर्च बढ्छ, यहाँ काम गरे थोरै भए पनि कमाइन्छ ।” काभ्रेका २१ वर्षीय दिपेश मगर पनि पगरीकै समूहमा काम गरिराख्नुभएको छ । गाउँमा चुनावी रौनक सुरु भएपछि बागलुङ आउनुभएका मगरलाई निर्वाचनबारे कुनै चासो छैन । परिवारमा आर्थिक समस्याका कारण मजदुरीका लागि बागलुङ आएको बताउने मगर दुईपटक मतदान गरेको अनुभव सुनाउनुहुन्छ । नेताका आश्वासनका कारण विदेश जानबाट रोकिनुभएका मगर बाध्यताले बागलुङसम्म आएको बताउनुहुन्छ । “म रहरले बागलुङमा काम गर्न आएको होइन, मेरो परिवार निकै गरिब छ, राम्रोसँग खानलाउन पुग्दैन, स्थानीय तहको निर्वाचन आउनुभन्दा केही दिन अगाडि म विदेश जानका लागि तयारी गरेको थिएँ, गाउँका एक जना नेताले म तिमीलाई काम दिलाइदिन्छु भनेर भन्नुभयो, चुनाव जितेको यतिका महिना बितिसक्दा पनि केही काम नपाएपछि म यहाँ आएको हुँ”, मगरले भन्नुभयो, “विदेश जान लागेको मान्छेलाई यही काम दिलाउने भनेर आशा देखाए, अहिले यति टाढा आएर काम गर्नुपरेको छ, गाउँमा एउटा सामान्य काम मिलाइदिएको भए म किन यहाँ आउनुपथ्र्यो र” मगरले एक दिन काम नगरे खान नपुग्ने भन्दै मतदान गर्ने चाहना भए पनि धेरै खर्च लाग्ने हुँदा जान नसकेको बताउनुभयो । चुनावमा भोट हाल्दा राम्रो मान्छेले पनि जित्न सक्ने भन्दै गाउँभन्दा धेरै टाढा हुँदा जान नसकेको उहाँ बताउनुहुन्छ । मगरले आफूले पहिलोपटक मतदान गर्ने अवसर गुमाएकामा दुःख व्यक्त गर्नुभयो ।   “म अघिल्लो निर्वाचनमा विदेशमा थिएँ, भोट हाल्न पाइएन, यसपालि पनि चुनाव आयो, गाउँमा बस्न पाइएन, कामका लागि यहाँ आइएको छ, चुनाव भएको बेला नेपालमा बल्ल भएँ, पहिलोपटक भोट हाल्ने अवसर त थियो तर के गर्नु यहाँबाट भोट हाल्न जाँदा हजारौँ रुप्पे (रुपैयाँ) खर्च लाग्छ, त्यो खर्च कसले दिन्छ र मलाई” उहाँले भन्नुभयो, “भोट हाल्ने मन त थियो तर पाइएन, भोट हालेपछि राम्रो मान्छेले पनि जित्न सक्थे, गाउँ नजिक काम नपाएकै कारण यहाँसम्म आउनुपरेको हो ।” रामेछापका २३ वर्षीय दिनेश खत्री पनि दुई महिनादेखि यही सडकखण्डमा ढुङ्गा बोक्ने र गिट्टी, बालुवा मुछ्ने काम गर्दै आउनुभएको छ । उहाँले रामेछापबाट बागलुङसम्म रहरले नभई बाध्यताले आउनुपरेको बताउनुभयो । उहाँ गाउँ नजिक रोजगार नपाएपछि दुई महिना अगाडि यहाँ आएको बताउनुहुन्छ । चुनावका लागि गाउँबाट भोट हाल्न नेताहरूको फोन आए पनि वास्तै नगरी काम गरिरहेको खत्रीको भनाइ छ । खत्रीले भन्नुभयो, “हामी रहरले आएका होइनौँ, बाध्यताले आएका हौँ, घरमा स–साना छोराछोरी छन्, काम नगरेसम्म उनीहरूको लालनपालन गर्न समस्या हुन्छ, गाउँ नजिक केही काम पाइएन, अहिले यहाँ बाटोको काम गरिरहेका छौँ, चुनाव आयो भोट हाल्न आउनुप¥यो भनेर गाउँबाट फोन आउँछ, भोट हालेर हामीहरूले गाउँमै रोजगार पाउने भए त जान हुन्थ्यो, काम पाइन्नँ, नेताहरूले जिते भने हामीलाई चिन्दैनन्, अहिले हाम्रो भोट मात्रै चिन्छन् ।” गाउँबाट दैनिक दर्जन बढी युवा रोजगारीका लागि देश–विदेशमा भौतारिँदा जनप्रतिनिधिले यसतर्फ ध्यान नदिएको उहाँको गुनासो छ । खत्रीले चुनावका बेला रोजगारीका मुद्दालाई नेताहरूले बढी जोड दिए पनि काम भने गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेताले हामीलाई भोटका लागि मात्रै प्रयोग गरिरहेका छन्, हाम्रा लागि कुनै काम गरेका छैनन्, गाउँमा राम्रोसँग विकास पनि हुनसकेको छैन, भाषणमात्रै ठूला–ठूला काम भने गर्दैनन्, दिनदिनै युवाहरू रोजगारीका लागि गाउँ छोडिरहेका छन्, तर जनप्रतिनिधिले भने यसतर्फ ध्यान दिनसकेका छैनन्, चुनावका बेला रोजगारका बारेमा खुब ठूला–ठूला भाषण गर्छन्, चुनाव सकिएपछि कहाँ हराउँछन् पत्तो हुँदैन ।” लोकमार्गको घोँडाबाँधेबाट गलकोटको नरेठाँटीसम्म सिन्धुपाल्चोक, काभ्रे र रामछापका दुई सयभन्दा बढी कामदार मतदान गर्न गाउँ फर्किएनन् । अघिल्लो निर्वाचनमा नेताहरूले गरेको बाचा पूरा नगरेपछि  निराश भएर यसपालि भोट हाल्न गाउँ नगएको उनीहरू बताउँछन् ।

रुपन्देहीः   मोटरसाइकल दुर्घटनामा रुपन्देहीका पत्रकार एनबी (नरबहादुर) कँडेलको निधन भएको छ ।    बुटवलबाट भैरहवातर्फ जाँदै गर्दा शुक्रबार साँझ तिलोत्तमा नगरपालिका–२ जानकीनगरमा लु१क ५२७६ नंको रेडिमिक्स  (सिमेन्ट घोल्ने सवारी)ले कँडेल सवार लु४४प ८२०१ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो ।  रुपन्देहीको सैनामैना नगरपालिका–१ रानी बगिया स्थायी घर भई बुटवलमा बस्दै आएका ३५ वर्षीय कँडेलको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निधन भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीले जानकारी दिनुभयो । ठक्कर दिने सवारी र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

कास्की:   निर्वाचन आचारसंहिताको कार्यान्वयन सम्बन्धमा कास्कीमा हालसम्म १६ वटा उजुरी परेकामा अधिकांश फर्छ्यौट भएको छ ।  जिल्लामा आचारसंहिता कार्यान्वयनको अवस्थालाई सूक्ष्मरूपमा अनुगमन भइरहेको र हालसम्म लिखित, इमेल र मौखिक गरी १६ वटा उजुरी परेकामा अधिकांशतः फर्छ्यौट भएको र केही प्रक्रियामा रहेको अनुगमन समितिका संयोजक रामजीप्रसाद शर्माले जानकारी दिनुभयो ।      बिहीबार राति १२ बजेदेखि सुरु स्थिर अवधिमा कास्कीमा अवस्था सामान्य देखिएको छ । मौन अवधि सुरु भएयता अनुगमनलाई निरन्तरता दिइएको र हालसम्म कुनै उजुरी नपरेको उहाँले बताउनुभयो । 

मनाङः   हिमाली जिल्ला मनाङको नार्पाभूमि क्षेत्रमा ग्यास नबल्दा जनजीवन कष्टकर बनेको छ । यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ग्यास बोकेर मतदान केन्द्रमा मतदान अधिकृतसहित कर्मचारी र सुरक्षाकर्मी पुगेका छन् । तर चिसोका कारण खच्चडमार्फत लगिएको ग्यास नबल्दा जनजीवन कष्टकर बनेको छ ।  “खच्चडमार्फत ग्यास सिलिन्डर बोकेर ल्याइयो । बलेन, चिसोले होला”, सदरमुकाम चामेबाट दुई दिन पैदल हिँडेर पुगेका नार्पाभूमि गाउँपालिका–३ वडा कार्यालयका मतदान अधिकृत राजेन्द्रकुमार श्रेष्ठले भन्नुभयो, “आगो बाल्न दाउरा किन्दा भारीको रु दुई हजार प¥यो । समस्या टार्नै प¥यो ।” उक्त केन्द्रमा छ जना कर्मचारी र सेना, प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरी २० जना खटिएका छन् । केही नजिकै अन्य दुई मतदान केन्द्र रहेको छ । त्यस क्षेत्रका सबैको अवस्था सकसपूर्ण छ । नार्पाभूमि–१ देखि ३ सम्म नारगाउँमा पुगेका कर्मचारी वडा कार्यालय, विद्यालय, गुम्बालगायत ठाउँमा बास बसेका छन् । चिसो बढेको र पानीसमेत जमेको हुँदा तताएर खान समस्या भएको मतदान केन्द्रमा खटिएका कर्मचारी बताउँछन् ।  सडक सञ्जालले नजोडिएको नार्पाभूमि–४ फू गाउँ (चार हजार ५० मिटर) स्थित फू आधारभूत विद्यालय केन्द्रका मतदान अधिकृत जिल्ला न्यायाधिवक्ता नवराज रेग्मीले मतदानस्थल निकै उचाइमा रहेकाले चिसो पनि उच्च रहेको बताउनुभयो । “यहाँ निकै चिसो छ । आगो तापेर बस्नुपरेको छ । बाहिर निस्कन सकिरहेको छैन । यहाँको तापक्रम माइनसमा छ र कष्टकर बनेको छ,” रेग्मीले भन्नुभयो ।  मुख्य निर्वाचन अधिकृत उत्तम सिलवालले मौसमको प्रतिकूलताले नार र फू गाउँ पुगेका कर्मचारीको अवस्था निकै कष्टकर भएको बताउनुभयो । बुधबार सबेरै गएका कर्मचारी र सुरक्षाकर्मी बिहीबार अबेर मतदान केन्द्रमा पुगेका थिए । सबै क्षेत्रमा एकैसाथ निर्वाचन भएकाले पनि सकसपूर्ण अवस्थामा नै कर्मचारी खटिएको उहाँले बताउनुभयो ।  “यसपटकको निर्वाचनका लागि सबै सामग्री कर्मचारी, सुरक्षाकर्मीसँगै पठाइयो । दुई दिन लगाएर उहाँहरू पुग्नुभएको छ । ग्यास, चामल, दाल, नुनतेल सबै बोकेर जानुपर्दा समस्या भयो,” उहाँले भन्नुभयो । नार गाउँमा चिसोले ग्यास नबलेको र चार वटा दाउराकै रु एक हजार पाँच सय तिर्नुपरेको उहाँले बताउनुभयो ।  निर्वाचन आयोगले मतदान अधिकृतलाई दैनिक रु दुई हजार पाँच सय दिन्छ । कार्यालय सहयोगीले रु एक हजार दुई सय पाउँछन् । सुरक्षाकर्मीले खाजा भत्ता दिनको रु छ सय पाउँछन् । “एक गिलास तातोपानीको रु एक सय पर्छ । सुगममा रु छ सयले दुई छाक खान पुग्छ । विकटमा खटिनेलाई साह्रै समस्या छ,” उहाँले भन्नुभयो ।  मनाङमा दुई सय कर्मचारी खटिएका छन् । सिङ्गो नार्पाभूमि गाउँपालिकामा चार सय ६८ मतदाता रहेका छन् । वडा नं १ को कार्यालय नारगाउँमा ९६, वडा नं २ को नार आधारभूत विद्यालयमा एक सय तीन र साम्डुछिरिङ गुम्बा मतदान केन्द्रमा एक सय २० मतदाता छन् ।  फू गाउँअन्तर्गत वडा नं ४ को फू आधारभूत विद्यालयमा ७८ र वडा नं ५ को कार्यालयमा ७१ मतदाता छन् । मनाङ जिल्लामा पुरुष तीन हजार दुई सय ८१ र महिला तीन हजार चार सय ९८ गरी कूल छ हजार सात सय ७९ मतदाता रहेको जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिनुभयो । मनाङमा साँझ, बिहान र रातिको तापक्रम माइनसमा झरेको छ । सबैभन्दा उचाइमा रहेको नार (चार हजार दुई सय मिटर)मा धाराको पानीसमेत जमेको मतदान अधिकृत बताउँछन् ।

काठमाडौंः   प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि काठमाडौँ उपत्यकाबाट भित्रिने र बाहिरिने यात्रुको सङ्ख्या बढेको छ । मत खसाल्न आफ्नो मतदाता नामावली भएको ठाउँमा जानेहरू बढेका छन् । यात्रुको चाप बढेसँगै सडकमा गुड्ने सवारी साधनको सङ्ख्या पनि वृद्धि भएको छ ।   काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले अहिले सवारीको चाप केही बढेको बताउनुभयो । “उपत्यकाबाट औसत अवस्थामा दैनिक ४० हजारदेखि ४५ हजार जना यात्रु भित्रिने र सोही बराबर बाहिरिन्छन् । तर पछिल्लो २४ घण्टामा ४१ हजार पाँच सय तीन जना यात्रु उपत्यकामा आएका छन् भने ५५ हजार एक सय ४७ जना बाहिरिएका छन्”, भट्टले भन्नुभयो, “अहिले औसतभन्दा केही चाप बढेको छ ।” आजसम्म शैक्षिक संस्था र सरकारी कार्यालय सञ्चालनमै रहेकाले निर्वाचनका लागि बाहिरिने यात्रुको सङ्ख्या उल्लेख्य देखिनसकेको उहाँको भनाइ छ । “आजसम्म स्कुल र सरकारी कार्यालयहरू खुलै रहेकाले धेरै चाप छैन । भोलिदेखि बढ्न सक्छ”, भट्टले भन्नुभयो ।   बुधबार ५१ हजार चार सय ५० जना उपत्यका छिरेको र ५१ हजार तीन सय १९ जना बाहिरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । उपत्यकामा पछिल्लो २४ घण्टामा आवतजावत गर्ने सवारी साधनको सङ्ख्या हेर्दा आठ हजार १० सवारी साधन भित्रिएको र सात हजार सात सय नौ वटा सवारी साधन बाहिरिएका छन् । त्यस्तै बुधबार आठ हजार तीन सय ३६ वटा सवारी साधन उपत्यकामा भित्रिएका थिए भने सोही सङ्ख्यामा सवारी बाहिरिएका छन् ।   नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले कात्तिक अन्तिम सातायता सवारी साधन परिचालनमा चाप देखिएको बताउनुभयो । “पछिल्लो तीन–चार दिनयता देशभर रिजर्भ गाडीहरू बढी चलेका छन् । दैनिक बुकिङका गाडी पनि गइरहेकै छन् । यो क्रम शनिबारसम्मै चल्छ”, सिटौलाले भन्नुभयो, “अहिले सबैजसो दलले रिजर्भ गरेरै गाडी लगिरहेका छन् । दैनिकरूपमा टिकट काटेर चल्ने गाडीभन्दा रिजर्भ गाडीहरू बढी चलेका छन् । चुनावलाई मात्रै लक्षित गरेर पाँचदेखि छ लाख मानिस आवत–जावत गर्ने अनुमान हामीले गरेका छौँ ।”   लामो दूरीका सवारी साधनहरू शुक्रबार र छोटो दूरीका गाडीहरू शनिबारसम्म चल्ने उहाँको भनाइ छ । चुनावका लागि परिचालन भएका सवारी साधनको सङ्ख्या बढे पनि त्यसको व्यवस्थापन गर्न समस्या नरहेको सिटौलाले बताउनुभयो ।

कास्कीः  पोखराको लेखनाथस्थित जनप्रकाश उच्च मावि मतदान स्थलको मतदान केन्द्र (घ) लाई महिलामैत्री केन्द्र बनाइएको छ ।    छ वटा निर्वाचनमा मतदान अधिकृतको जिम्मेवारी बटुली सक्नुभएकी गीता न्यौपानेको नेतृत्वमा सहायक मतदान अधिकृतसहित आठ जना महिला कर्मचारी खटाइएको छ । प्रदेश निर्वाचन कार्यालय गण्डकी, पोखराका निर्वाचन अधिकृत हुमप्रसाद पराजुलीले जनप्रकाश मावि मतदान स्थलको एक मतदान केन्द्रलाई महिलामैत्री बनाइएको जानकारी दिनुभयो ।    कास्की निर्वाचन क्षेत्र नं १ अन्तगर्तको उक्त मतदान स्थलको ‘घ’ मतदान केन्द्रमा आड सयभन्दा बढी मतदाता रहेको जानकारी निर्वाचन कार्यालयले दिएको छ ।    कास्की निर्वाचन क्षेत्र नं १ को निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचन सामग्री बुझ्दै मतदान अधिकृत न्यौपानेले भन्नुभयो, जसरी निर्वाचन कार्यालयले महिलामैत्री मतदान केन्द्रको नेतृत्व गर्ने जिम्मेवारी दिएको छ त्यसरी नै उत्कृष्ट मतदान अधिकृतको रुपमा आफूलाई उभ्याउने उहाँले बताउनुभयो ।    उक्त केन्द्रबाट मतदान गर्ने हरेक मतदाताले सहज, भयरहित, निष्पक्ष, र स्वच्छरुपमा मतदान गर्ने वातावरण सृजना गर्ने प्रतिबद्धतासमेत उहाँले  व्यक्त गर्नुभयो । उक्त मतदान केन्द्रमा मतदान अधिकृत न्यौपानेसहित आठै जना स्वास्थ्य क्षेत्रका कर्मचारी हुन् ।    सञ्चारकर्मीसँग कुरा गर्दै मतदान अधिकृत न्यौपानेले भन्नुभयो, “हामी सबै स्वास्थ्य क्षेत्रका कर्मचारी हौँ मतदानको समयमा कुनै मानिस अचानक बिरामी परेमा प्राथामिक उपचारसमेत गर्न सक्छौँ । ”   त्यसैगरी पोखराको बसुन्धरा पार्कको मतदान केन्द्रमा समेत महिलामैत्री मतदान केन्द्र रहेको जानकारी जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । त्यहाँ गीता दोरञ्जाले मतदान अधिकृतको भूमिका निभाउनुभएको जानकारी निर्वाचन कार्यालयले दिएको छ । 

काठमाडौं:  नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आन्तरिक उडानमा रहेको ट्वीनअटर जहाजमा प्राविधिक समस्याका कारण उडान प्रभावित भएको छ । काठमाडौँबाट भोजपुर उडेको जहाजमा प्राविधिक समस्या देखिएपछि बीचबाटै फर्काइएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिनुभयो । जहाजमा १५ जना सवार थिए । आन्तरिक उडानमा उडानयोग्य एक मात्रै जहाजमा प्राविधिक समस्या आएपछि निगमका सम्पूर्ण आन्तरिक उडान रद्द भएका छन् । जहाज ग्राउन्डेड भएपछि शुक्रबार र शनिबार निर्धारित उडान समेत रद्द भएको छ । गन्तव्यमा जान नपाएका यात्रुको भाडा फिर्ता गरिने निगमले जनाएको छ ।        निगमसँग आन्तरिक उडानमा तीन थान ट्वीनअटर जहाज रहेकामा एउटा जहाज मर्मत नै गर्न नसकिने अवस्थामा छ र अर्को जहाज लामो समयदेखि प्राविधिक मर्मतमा रहेको निगमले जनाएको छ ।

काठमाडौंः   यही मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्थापनका सन्दर्भमा आज प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासँग नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मासहितको उच्चस्तरीय टोलीले भेटवार्ता गरेको छ ।  आयोगको कान्तिपथस्थित कार्यालयमा भएको भेटका अवसरमा प्रधानसेनापति शर्माले निर्वाचन सुरक्षाका लागि नेपाली सेनाले गर्दै आएको काम कारवाहीबारे अवगत गराउँदै हालसम्मको स्थलगत निरीक्षण र प्राप्त सूचनाका आधारमा निर्वाचनको सुरक्षा चुस्त रहेको र निर्वाचन सुरक्षित वातावरणमा सम्पन्न गराउन सेनाका तर्फबाट खेल्नुपर्ने भूमिका निर्वाह गर्न तयार रहेको स्पष्ट गर्नुभएको थियो । सो अवसरमा प्रमुख आयुक्त थपलियाले निर्वाचन सुरक्षा व्यवस्थापनका लागि मतपत्र छपाइ, ढुवानी, निर्वाचन सामग्रीको जाँच तथा प्याकेजिङ कार्य तथा दुर्गम हिमाली जिल्लामा मतपत्र र मतदान सामग्री एवं खटिएका कर्मचारीसमेत पु¥याउन नेपाली सेनाबाट प्राप्त सहयोग महत्वपूर्ण रहेको बताउनुभयो । सो अवसरमा निर्वाचन  आयुक्त ईश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी र सगुनशमशेर जबराको उपस्थिति रहेको थियो । उहाँहरूले निर्वाचनको तयारी, निर्वाचन आचारसंहिताको पालना  र निर्वाचन सुरक्षाका क्रममा नेपाली सेनाबाट उल्लेखनीय सहयोग प्राप्त भएको बताउनुभएको थियो ।