चितवन: विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर देख्न र सुन्नमा जति सुन्दर छ त्यहाँ उपचार गर्न आउने बिरामीले पाउने दुःख र सास्ती त्यति नै छ । पर्याप्त भौतिक पूर्वाधार र जनशक्ति हुँदाहुँदै पनि बिरामीले चिकित्सक भेट्न मुस्किल हुने गरेको बिरामीको गुनासो छ । अस्पताल परिसरमै चिकित्सक र कर्मचारीका लागि आवासको व्यवस्था छ । सम्भवतः नेपालमै सरकारी तहमा सबैभन्दा बढी सेवा र सुविधा यहीका चिकित्सक कर्मचारीले पाउँछन् । त्यही आएका बिरामी ल्याएर उपचार गर्ने गरी अधिकांश चिकित्सकको निजी अस्पताल र क्लिनिक छन् । बिरामी र तिनका आफन्त निजीमा जान प्रेरित गर्ने उद्देश्यले अस्पतालमा कम भेट हुने, शल्यक्रियाका लागि लामो समयपछि मात्रै पालो आउने गरेको गुनासो बिरामीको छ । चिकित्सकमात्रै होइन, कर्मचारीहरू पनि हाजिर गरेर हिँड्ने गरेको सेवाग्राहीको गुनासो छ । रोल्पाको थवाङबाट उपचारका लागि एक साताअघि चितवन आउनुभएका मालबहादुर डाँगी पाँच दिनदेखि अस्पतालमा भौँतारिइरहनुभएको छ । उहाँले अझै चिकित्सक भेट्न सक्नुभएको छैन । विगत एक महिनाअघि परीक्षणका लागि दिएको नमूनाको रिपोर्ट देखाउनका लागि उहाँ अहिले चिकित्सकको पर्खाइमा हुनुहुन्छ । मङ्गलबार दिउँसो अस्पताल परिसरमा पुग्दा सँगै डाँगीले अस्पतालको प्रशासनका कर्मचारीलाई गुनासो गर्नुभयो, “हाम्रो रिपोर्ट कहिले देखाउन पाउँछौँ ।” अस्पताल प्रशासनका कर्मचारीले जवाफ दिए ‘भोली’ । “आज चिकित्सक शल्यक्रियामा व्यस्त हुनुहुन्छ”, ती कर्मचारीले भन्नुभयो । आफ्नो पीडा सहेर डाँगी फेरि भोलिको आशामा फर्कनुभयो । उपचारका लागि दुई महिनामा तीन पटकसम्म अस्पताल आएको डाँगीको भनाइ छ । उहाँले भन्नुुभयो “चिकित्सक कुरेर बस्नु पर्ने बाध्यता छ ।” उहाँको पेटमा समस्या भएका कारण जाँचका लागि आउनु भएको हो । “खाएको कुरा केही अडिदैंन । मुखबाटै फर्कन्छ । यस्तो अवस्थामा चिकित्सक कुर्नु परेको छ ।” उहाँले भन्नुभयो । यस्तै पीडा पाल्पाबाट आउनुभएकी भिमकुमारी थापाको पनि छ । उहाँ रेडियो थेरापीका लागि आउनुभएको हो । “आज पालो भनेर आएको, पाइने नपाइने थाहा छैन ।” उहाँले भन्नुभयो । अस्पताल आएका बिरामी र उनका आफन्त चिकित्सकको खोजी र उपचारका लागि दिइएको समयको पर्खाइमा बस्दै गरेका छन् । तनहुँको दुलेगौडाबाट उपचारका लागि आउनुभएकी इन्द्रकला लम्साल बहिरङ्ग विभागमा आएर चिकित्सक कुर्दै हुनुहुन्थ्यो । उहाँले भन्नुभयो, “चिकित्सक आउनुहुन्छ भन्नुभएको छ । कति खेर भेट्न पाइन्छ पत्तो छैन ।” नियमित जाँचका क्रममा आउनुभएकी लम्साल विगत एक सातादेखि क्यान्सर अस्पतामा हुनुहुन्छ । उहाँले विभिन्न किसिमको परीक्षणका लागि दिएको नमूनाको रिपोर्ट देखाउँदै भन्नुभयो, “अब यो देखाएर त घर जान पाइन्छ कि भन्ने आश छ, तर डाक्टर भेट्न पाइन्छ, पाइँदैन निश्चित छैन ।” चिकित्सक नभेटिएपछि त्यहाँ भेटिएका सहयोगीले चिकित्सक भेट्ने वैकल्पिक उपायस्वरुप निजी अस्पताल देखाउने गरेको बिरामीका आफन्तको गुनासो छ । यी उदाहरणीय पात्र हुन् । अस्पतालमा आएका बिरामीले विशेषज्ञ चिकित्सकसमेत भेट्न कठिन हुने गरेको छ । चिकित्सक भेट्नका लागि वहिरङ्ग विभागमा आएका बिरामीलाई त्यहाँका कर्मचारीको छुद्र बोलीका कारण पीडित हुने गरेको गुनासो गर्छन् । विशेषज्ञ चिकित्सक हाजिर गरेर आफ्नो बहिरङ्ग सेवामा नबस्ने गरेको उनीहरूको गुनासो छ । उनीहरू हाजिर गरेर न बहिरङ्ग सेवामा हुन्छन् न त शल्यक्रियाकक्षमा नै हुन्छन् । एनेस्थेसिया र सर्जनका कारण बिरामीले लामो समय शल्यक्रियाको पालो कुर्नुपरेको बिरामी बताउँछन् । एनेस्थेसियाले दिउँसो १ बजेपछि काम नगर्दा समस्या बढ्दै गएको अस्पताल प्रशासन स्रोतले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतम आफूले चिकित्सक कर्मचारीले काम गरिरहेको मान्यता राख्ने बताउनुभयो । गुनासोको विषयमा आफूले बुझ्ने भन्दै उहाँ कार्यालय समयमा काम नगर्ने चिकित्सक कर्मचारीलाई कारबाही गरिने बताउनुहुन्छ । अस्पतालमा हाल एक सय जना विशेषज्ञ चिकित्सक कार्यरत छन् । विगत केही वर्षअघि अस्पताल खस्केर अस्तव्यस्त भएपछि तत्कालीन प्रमुख जिल्ला अधिकारी एवं हालका गृहसचिव विनोदप्रकाश सिंहको नेतृत्वमा अस्पताल सुधार्ने अभियान थालिएको थियो । त्यसको प्रभाव केही वर्ष परेको अस्पतालका कर्मचारी बताउँछन् । पछिल्लो समय पुनः अस्पताल अस्तव्यस्त बनेको छ ।
सप्तरी: सोमबार राति बेपत्ता भएका सप्तरीको कञ्चनरुप नगरपालिका–१ बैरवाका ५० वर्षीय सञ्जय राउतको हत्या भएको छ । उहाँको शव घरदेखि डेढ सय मिटर उत्तरतर्फको पोखरीमा घाँटी रेटिएको अवस्थामा मङ्गलबार फेला परेको हो । हत्यामा संलग्न व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताउनुभयो । बेपत्ता भएपछि राउतको खोजी गरिदिन उनका परिवारका सदस्यले प्रहरीलाई अनुरोध गरेका थिए । “तालिमप्राप्त कुकुरको साथमा घटनाको अनुसन्धान अघि बढाएका छौँ”, उहाँले भन्नुभयो ।
ढोरपाटन: हेटौँडाका विकास घिमिरे बागलुङको बलेवा र पर्वतको कुश्मा बजारलाई जोड्ने गरी कालीगण्डकी नदीमाथि बनेको बञ्जीजम्पमा तीनपटक घुम्न आउनुभयो । तीन पटकसम्म आउँदा पनि उहाँलाई घुमेर धित अझै मरेको छैन । घिमिरे तीन दिनदेखि कुश्मामै बसेर यहाँ वरपर निर्माण भएका लामा तथा अग्ला झोलुङ्गे पुल, जिपलाइन, बञ्जीसँगै स्काइ साइक्लिङको अवलोकन गरिराख्नुभएको छ । दुईपटक त उहाँले बञ्जीजम्प गरिसक्नुभयो । परिवारसहित घुम्न आउनुभएका घिमिरे अझै केही दिन यहाँ रमाउने योजनामा हुनुहुन्छ । यहाँ स्वच्छ वातावरण र रमाइलो गर्ने माध्यम धेरै भएको हुँदा अझै केही दिन बागलुङ र पर्वतमा रहने घिमिरे बताउनुहुन्छ । हेटाँैडाको कोलाहलबाट यहाँ घुम्न आउँदा शारीरिक र मानसिक स्वास्थ्य स्वस्थ बनेको उहाँको भनाइ छ । घिमिरे भन्नुहुन्छ, “म अहिलेसम्म तीनपटक बञ्जीमा आएँ, दुईपटक त बञ्जीजम्प पनि गरेँ तर अझै पनि मेरो रहर मेटिएको छैन, यहाँ बसिरहुँ, घुमिरहुँ लाख्छ, हेटौँडामा बस्दा दिमाग ह्याङ्ग भएको थियो, यहाँ आएपछि रिफ्रसमेन्ट भएको छ, यो हाम्रो पारिवारिक घुमघाम हो अझै केही दिन बागलुङ र पर्वतमा रहेका घुम्ने ठाउँ अवलोकन गरेर फर्किने छौँ ।” चितवनबाट बञ्जीजम्प गर्न बागलुङ आउनुभएकी रजनी ढकालले यो ठाउँ निकै रमाइलो लागेको बताउनुभयो । टिकटक र फेसबुकमा धेरैले बञ्जीजम्प गरेको देखेपछि आफू पनि आएको बताउनुहुन्छ । ढकालले भन्नुभयो, “बञ्जी गर्दा सुरुमा निकै डर लागेको थियो, तर हाम फालेपछि तल पुग्दा निकै रमाइलो हुँदोरहेछ, फेरि एकपटक बञ्जी गर्ने रहर लागेको छ, बिदा मिलाएर अर्कोपटक आउने मन छ ।” उहाँले योभन्दा होचो स्थानमा रहेका बञ्जीमा आफूले यसभन्दा अगाडि पनि बञ्जी गरेको भन्दै यहाँ गर्दा निकै आनन्द आएको बताउनुभयो । “यो ठाउँ निकै रमाइलो रहेछ, यसभन्दा अगाडि पनि म बञ्जी गरेको थिएँ तर अहिलेको जस्तो मज्जा आएको थिएन, यत्तिको अग्लोमा पनि गरेको थिएन, सुरुमा अलिअलि डर पनि लागेको थियो तर पछि निकै रमाइलो लाग्यो”, उहाँले भन्नुभयो । बञ्जीसँगै तल कालीगण्डकी नदी र माथि धवलागिरि हिमालको दृश्यले आफूलाई मोहित बनाएको ढकालले बताउनुभयो । उहाँ यस्तो ठाउँ संसारमा जहाँकहीँ नहुने बताउनुहुन्छ । उहाँले यो क्षेत्र घुम्नका लागि निकै उपयोगी रहेको बताउनुभयो । “यस्तो ठाउँ विश्वमा सायदै हुन्छन् होला, बञ्जीजम्पको तलपट्टि पवित्र कालीगण्डकी नदी, माथि हेर्दा धवलागिरि हिमाल देखिँदोरहेछ, यो ठाउँ साँच्चिकै स्वर्गजस्तै छ”, उहाँले भन्नुभयो, “यो ठाउँले धेरैलाई आकर्षित गर्छ, हामी नेपालीलाई त यति मोहित बनाउँछ भने विदेशीहरू त झन् लोभिन्छन् होला ।” पोखराबाट घुम्न आउनुभएकी ८३ वर्षीया जमुना अधिकारीले यो ठाउँ र बञ्जी निकै रमाइलो लागेको बताउनुभयो । घिमिरे भन्नुहुन्छ, “नाति केटाले मोबाइलमा यो बञ्जीको भिडियो देखाएको थियो, भिडियो देख्दा मलाई निकै रमाइलो लाग्यो, आज यहाँ आउने मौका मिलेको छ, म त बूढी मान्छे आज हो कि भोलि, यो देख्न पाउँदा खुसी लाग्यो, यो बनाउनेलाई धन्यवाद छ ।” बञ्जीजम्प द क्लिप प्रालिमार्फत सञ्चालनमा आएको हो । बञ्जीजम्पमा अहिले दैनिक ५० जनाले बञ्जी गर्ने द क्लिप प्रालिका सञ्चालक प्रकाश प्रधानले बताउनुभयो । उहाँले दैनिक सयौँ आन्तरिक तथा बाह्य पर्यटक बञ्जीमा घुम्न आउने गरे पनि सीमित मान्छेले मात्रै साइक्लिङ र बञ्जी गर्ने गरेको बताउनुभयो । पछिल्लो समय विदेशी पर्यटकको आगमन पनि बढ्दै गएको उहाँको भनाइ छ । “बिदाको दिन बढी पर्यटक आउनुहुन्छ, अहिले दैनिक तीन–चार सय पर्यटक यहाँ घुम्न आउनुहुन्छ, तर थोरैले मात्रै बञ्जीजम्प गर्नुहुन्छ, हामीले सुरु गर्दा पर्यटकको आगमन निकै कम थियो, अहिले बढ्दै गएको छ”, प्रधानले भन्नुभयो । बञ्जीसँगै बलेवा क्षेत्रमा रेष्टुरेण्ट, गुलेली पिङ, स्काइ साइक्लिङलगायत आधा दर्जन बढी संरचना निर्माण भएका छन् । ती संरचनामा पनि पर्यटकको घुइँचो लाग्न थालेको प्रधानको भनाइ छ । अहिले स्विङ, स्काइ साइक्लिङ र बञ्जी गर्नेको सङ्ख्या बढ्दै गएको उहाँको भनाइ छ । उहाँका अनुसार बाह्य पर्यटक पनि यहाँ आउन थालेका छन् । बञ्जीजम्प निर्माण गर्दा सुरुमा रु २० करोड लागत लाग्ने अनुमानले संरचना निर्माण सुरु गरेको भए पनि लागत बढ्दै गएपछि अहिलेसम्म रु ५० करोडको हाराहारीमा खर्च भइसकेको उहाँको भनाइ छ । यहाँ बञ्जीसँगै अन्य धेरै संरचना निर्माण गर्दा बढी लागत लागेको उहाँ बताउनुहुन्छ । विसं २०७३ देखि पुलको निर्माण सुरु गरिएको थियो भने २०७६ सम्म आइपुग्दा रिसोर्टसमेत निर्माण सकिएको थियो । यसको लम्बाइ पाँच सय २५ मिटर छ । खोलादेखि पुलको उचाइ दुई सय २८ मिटर छ । कम्पनीले विश्वकै दोस्रो अग्लो बञ्जी र विश्वकै अग्लो स्विङ भएको दाबी गर्दै आएको छ । बञ्जीजम्पका कारण बलेवा र कुश्मामा व्यापारव्यवसाय बढ्दै गएको छ ।
म्याग्दीः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडास्थित करबाकेलीमा चन्दा जुटाएर सङ्ग्रहालय स्थापना भएको छ । रु ८० लाख खर्चेर स्थापना भएको सङ्ग्रहालयमा सरकारी निकायको रु १३ लाखबाहेक बाँकी लगानी चन्दाबाट जुटाइएको हो । करबाकेली बाबा संरक्षण समितिको अगुवाइमा लोप हुन लागेका सामग्रीको संरक्षण र पर्यटन विकास गर्ने उद्देश्यले पुनः सङ्ग्रहालय सञ्चालन गरिएको हो । सङ्ग्रहालयको सगरमाथा आरोही तथा नायिका दिया पुनले मङ्गलबार उद्घाटन गर्नुभयो । सङ्ग्रहालय निर्माणका लागि संस्थागत र व्यक्तिगतरूपमा रु ८१ लाख ८३ हजार एक सय ३८ सहयोग जुटेको र रु ८० लाख ३९ हजार तीन सय ४५ खर्च भएको करबाकेली संरक्षण समितिका सचिव रवि गर्बुजाले बताउनुभयो । “अन्नपूर्ण गाउँपालिकाले रु सात लाख र प्रदेश सरकारले रु पाँच लाख सहयोग गरेका छन्”, उहाँले भन्नुभयो, “बाँकी स्वदेश तथा विदेशबाट चन्दा सहयोग प्राप्त भएको हो । रु एक लाख ४३ हजार सात सय ९३ बचत भएको छ ।” कला, संस्कृति, जनजीवन र पहिचान झल्काउने सामग्रीलाई लोप हुन नदिन संरक्षणका साथै पर्यटक भित्र्याउने उद्देश्य राखिएको छ । करबाकेली संरक्षण समितिका संरक्षक चामबहादुर पुनले दैनिक जीवन, रीतिरिवाज, संस्कृति र रहनसहनमा आधारित सामग्री सङ्कलन गरेर सङ्ग्रहालयमा राखिएको बताउनुभयो । सङ्ग्रहालयमा म्याग्दीमा बसोबास गर्ने पुन समुदायले प्रयोग गर्ने परम्परागत सामग्री, पोशाक, हातहतियार, भाँडा, गहनालगायतका सामग्री सङ्कलन गरेर राखिएको छ । पुराना पुस्तक र धातुका सिक्का पनि सङ्ग्रहालयमा अवलोकन गर्न सकिन्छ । विस २०७८ वैशाखमा निर्माण सकिएको भवनमा सामग्री जुटाउने र सजावटको काम सकिएपछि अवलोकनका लागि खुला गरिएको हो । परम्परागत शैली र प्रविधिको प्रयोग गरेर निर्माण गरिएको दुईतले भवनमा सामग्री सजावट गरेर राखिएको छ । ढुङ्गा, माटो, चुना, सिमेन्ट, बालुवा, काठ प्रयोग गरेर मौलिकता झल्कने आकर्षक दुईतले भवन निर्माण गरिएको छ । पुन समुदायको अगुवाइमा सङ्ग्रहालय स्थापना गरिए पनि म्याग्दी जिल्लाका सबै जातजाति र समुदायको साझा बनाइएको छ । पुन समुदायका कूलदेवता करबाकेली बाबाको अवसान भएको करबाकेलीमा रु दुई करोडभन्दा बढी सहयोग जुटाएर करबाकेलीको थान, पूजास्थल, पदमार्ग, सडक, सामुदायिक लज र सभाहल, खेलमैदानलगायतका पूर्वाधार निर्माण भइसकेको छ । स्थानीयवासीले निःशुल्क उपलब्ध गराएको १९ रोपनी जग्गामा पूर्वाधार निर्माण भएको हो । स्थानीय प्रविधि र परम्परागत सीपको प्रयोग गरी मौलिक शैलीको करबाकेलीको थान बनाइएको छ । थानभित्र बहुमूल्य धातुले जलप लगाएको करबाकेली, उनका श्रीमती हिमला, फिमला, छोरा रामचन र कुलचनको मूर्ति छन् । मन्दिरको प्रवेशद्धारमा सुन गरुडको शालिक बनाइएको छ । गरुड पुनहरूले पुज्ने पक्षी हो । यस स्थानमा पूजाआजा र दर्शन गरेमा मनोकाङ्क्षा पूरा हुने विश्वास छ । पुन समुदायले जेठको पहिलो उजेली मङ्गलबार र मङ्सिरको पहिलो उजेली मङ्गलबार पारेर पूजा गर्छन् । करबाकेलीसम्म पुग्ने करिब एक किलोमिटर पदमार्ग र प्रवेशद्धार पनि निर्माण गरेका छन् । करबाकेली परिसरमा करिब एक हजार जना क्षमताको सभाहल निर्माण भएको छ । घेराबारसहितको बास्केटबल र भलिबल खेल्न सकिने खेलमैदान बनाइएको छ । करबाकेली भ्रमणमा आउने पर्यटक तथा भक्तजनको सुविधाका लागि सामुदायिक होटल सञ्चालन गरिएको छ । नौवटा कोठा रहेको उक्त होटलमा एक दिनमा ५० जनाभन्दा बढी पाहुना बास बस्न सक्ने सुविधा छ । समुद्री सहतबाट दुई हजार दुई सय मिटरको उचाइमा अवस्थित करबाकेलीबाट गुर्जा, धवलागिरि, निलगिरि, माछापुच्छ्रे, अन्नपूर्ण, टुकुचेलगायत १० वटा हिमशृङ्खलाका साथै म्याग्दी र पर्वतका ग्रामीण बस्ती र गुराँसको जङ्गल अवलोकन गर्न सकिन्छ । नागबेली परेर बगेको कालीगण्डकीको मनमोहक दृश्य देखिन्छ । करबाकेलीलाई केन्द्रित गरेर समुदायकै पहलमा ‘करबाकेली इको ट्रेक’ सञ्चालन गरिएको छ । करबाकेली इको ट्रेकका अध्यक्ष यामबहादुर पुनले जङ्गल सफारी, पुन समुदायको संस्कृति र प्राकृतिक सुन्दरताको रसस्वादन गर्न पाउनु यस पदमार्गको विशेषता भएको बताउनुभयो । पोखराबाट घोडेपानी, पुनहिल, फूलबारी, काफलडाँडा, करबाकेली थान भएर बेनीबजारलाई जोड्ने पदमार्ग सञ्चालन गरिएको छ । बाँसखर्क, महभिर, काफलडाँडा, रिमा, फूलबारी, राम्चे, लोप्रे, कुवापानीलाई यो पदमार्गले समेटेको छ ।
काठमाडौं: समाज सुधारक षडानन्दको १८८औँ जयन्तीका अवसरमा विभिन्न व्यक्ति र संस्थालाई पुरस्कार तथा सम्मान प्रदान गरिएको छ । १५औँ स्थापना दिवसका अवसरमा आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठान काठमाडौँले षडानन्द राष्ट्रिय पुरस्कार, राष्ट्रिय समाज सेवा पुरस्कार, षडानन्द क्षेत्रीय पुरस्कार क्रमशः वनस्पतिविज्ञ डा तीर्थबहादुर श्रेष्ठ (ललितपुर), परोपकार संस्था (काठमाडौँ) र दुर्गाप्रसाद अधिकारी (भक्तपुर) लाई अर्पण गरेको हो । पुरस्कारको राशि क्रमशः रु एक लाख, एकाउन्न हजार र एकाउन्न हजार रहेको छ । परोपरकार संस्थाका अध्यक्ष हितकरवीर सिंह कंसकारले पुरस्कार ग्रहण गर्नुभएको थियो । त्यसैगरी, सोमप्रसाद खतिवडालाई रु ३५ हजार राशिसहितको विद्वत्वृत्ति सम्मान प्रदान गरियो । सो अवसरमा प्रतिष्ठनलाई आर्थिक सहयोग गर्नुहुने प्रा डा बद्री विशाल भट्टराई (भक्तपुर), इन्दुकुमारी घले गुरुङ (काठमाडौँ), डा. रुपनारायण श्रेष्ठ (काठमाडौँ) र वीरबहादुर बस्नेत(मोरङ) लाई दाता सम्मान प्रदान गरिएको थियो । वरिष्ठ शिक्षाविद् प्रा। डा सुरेशराज आचार्य र प्रतिष्ठानका अध्यक्ष प्रा। चेतोनाथ गौतमले उहाँहरुलाई पुरस्कार तथा सम्मान प्रदान गर्नुभयो । सो अवसरमा प्रा डा सोमप्रसाद खतिवडाद्वारा लिखित ‘ब्रह्मचारी षडानन्दले प्रारम्भ गरेका सांस्कृतिक परम्परा’ कृतिको लोकार्पणसमेत गरिएको थियो । सो अवसरमा प्रा डा सुरेशराज आचार्य, पुरस्कृत व्यक्तिहरु डा तीर्थबहादुर श्रेष्ठ, दुर्गाप्रसाद अधिकारी, हितकरवीर सिंह कंसकारलगायतले शिक्षासेवी बालागुरु षडानन्दको व्यक्तित्व र समाज सुधार तथा शिक्षा क्षेत्रमा पु¥याउनुभएको योगदानबारे चर्चा गर्नुभएको थियो । पिता लक्ष्मीनारायण अधिकारी र माता रुक्मिणी अधिकारीको छोराको रुपमा विक्रम सम्वत १८९२ मा मङ्सिर शुक्ल पञ्चमीको दिन भोजपुरको दिङ्लामा जन्मुनुभएका षडानन्दको निधन विक्रम सम्वत् १९७३ मा काठमाडौँको पचली घाटमा भएको थियो ।
कैलाली: कैलालीको टीकापुर नगरपालिका–६ का रामकृष्ण चौधरी एकाबिहानै सहकारी संस्थाको कार्यालय अगाडि लाइनमा बस्नुभएको थियो । हिउँदे खेतीको समय भएका कारण सहजरूपमा रासायनिक मल नपाउँदा उहाँ मलका लागि लाइनम बस्नुभएको हो । किसान मल पाइन्छ कि भनेर लाइनमा हुँदा सहकारीको कार्यालय भने बन्द थियो । “खेती लगाउने समयमा सबैभन्दा बढी पीडा मलको हुन्छ । सहजरूपमा मल नपाउँदा समयमा खेती गर्न सकिएको छैन”, उहाँले भन्नुभयो, “बजारमा मल पाइँदैन । सहकारीहरूले पनि आफ्ना सेयर सदस्यलाई मात्रै मल उपलब्ध गराउँछन् । मल नहालेर उब्जनी हुँदैन ।” सोही ठाउँका लक्ष्मण चौधरीले खेत जोतेर छाड्नुभएको छ । उहाँ मल नपाएपछि गहुँ छर्ने काम हुन नसकेको बताउनुहुन्छ । “खेत जोतेको हप्ता दिनभन्दा बढी भइसक्यो । मल नपाएर गहुँ छर्न पाएको छैन”, उहाँले भन्नुभयो, “बर्सेनिको समस्या मल अभावको कहिल्यै समाधान हुन सकेन । यस्तो भए खेती गर्ने जाँगर पनि लाग्दैन ।” भजनी नगरपालिका–६ का सुरेश कठरिया खेतीपाती सकेर कमाउनका लागि बाहिर जाने तयारीमा हुनुहुन्छ । हिउँदे खेती लगाइसकेपछि चार–पाँच महिना घरमा खाली बस्नुपर्ने भन्दै त्यो समयमा ज्याला मजदुरी गरेर घरको अन्य खर्च टार्नका लागि कमाउन जाने तयारीमा रहनुभएका सुरेशलाई मल नपाउँदा समस्या भएको छ । उहाँले १५ बिघा क्षेत्रफलमा खेती गर्दै आउनुभएकामा जसोतसो पाँच बिघामात्रै गहुँ छर्न सफल भएको बताउनुभयो । “समयमै मल पाएको भए सबै खेतमा गहुँ छरिसकिन्थ्यो । मल नहालेर गहुँ छरेभन्दा नछरेजस्तै हो”, उहाँले भन्नुभयो, “मल नपाउँदा यता खेती पनि सयममा लगाउन सकिएन भने उता कमाउन जाने भनेको ठाउँमा पनि जान सकिएको छैन ।” भजनीका गणेश साउदको समस्या पनि उस्तै छ । उहाँले हिउँदे बाली लगाइसक्नुभयो, तर निकै मेहेनत गरेर । स्थानीय बजारमा रासायनिक मल नपाएपछि निकै कष्टका साथ छिमेकी बजार भारतबाट मल ल्याएर खेती लगाउनुपरेको उहाँको भनाइ छ । “स्थानीय बजारमा मल पाइएन । मल भएका सहकारीले हामीलाई मल दिएन”, उहाँले भन्नुभयो, “नभन्नुपर्ने कुरा हो तर लुकीचोरी भारतबाट मल ल्याएर खेती लगाउनुपर्ने बाध्यता भयो ।” स्थानीय बजारमा रासायनिक मलको चरम अभाव छ । मल खरिदका लागि अख्तियारी पाएका सहकारीले माग भएअनुसारको मल खरिद गर्न पाएका छैनन् । मुख्य आपूर्तिकर्ताको रूपमा रहेका कृषि सहकारीमा दैनिक किसान सहकारी धाउने गरेका छन् । बर्दियाको राजापुरका भीमबहादुर चौधरी मल पाइन्छ भनेर कैलालीको जानकी गाउँपालिका–४ मा रहेको बिजवृद्धि कृषक सहकारी संस्थामा पुग्नुभयो । सहकारीमा मल नपाएपछि उहाँ रित्तो हात फर्किनुपरेको बताउनुहुन्छ । “कताकता मल पाइन्छ भन्ने खबर सुनेपछि मलका लागि यहाँ आएका हौँ, यता पनि मल रहेनछ”, उहाँले भन्नुभयो, “बर्दियामा मल नपाउँदा कैलाली पुगियो तर पनि मल पाइएन, अब खेती कसरी लगाउने र?” बिजवृद्धि कृषक सहकारी संस्थाले बीउ उत्पादनको काम गर्छ भने रासायनिक मल खरिद बिक्रीको काम पनि गर्दै आएको छ । अन्य कृषि सहकारीको भन्दा बढी मात्रामा मल बिक्री गर्दै आएको सहकारीले पनि माग भएबमोजिम मल नपाउँदा किसानलाई रित्तै फर्काउनुपरेको बताएको छ । सहकारीका व्यवस्थापन गोविन्दराज रावतले बिजवृद्धिका लागि बीउ उत्पादन गर्ने किसानलाई नै मल पु¥याउन नसकिएको बताउनुभयो । “मलको निकै अभाव छ, त्यसमा पनि डिएपी मल पाइँदैन”, उहाँले भन्नुभयो, “मल नपाएका कारण खेती गर्ने समय बित्दै गएको छ । किसान मलको खोजीमा दौडधुप गर्दैछन् ।” टीकापुर नगरपालिका–८ मा रहेको धनसिंहपुर कृषि सहकारी संस्थाले पनि किसानको माग अत्यधिक भएका कारण मलको आपूर्ति गर्न नसकेको जनाएको छ । संस्थाका अध्यक्ष धनसिंह साउदले भन्नुभयो, “मल विक्रेता डिपोले ५०–६० कट्टा मल दिन्छ । एउटै किसानलाई १०–१२ कट्टा मल चाहिएको हुन्छ । कसरी पु¥याउन सकिन्छ यस्तो अवस्थामा ?”
अर्घाखाँची: अर्घाखाँचीको अर्घा जुन गाउँ नेता उत्पादन गर्ने स्थानको रुपमा चिनिन्छ । जहाँबाट २०४८ सालयता लगातार सांसद पाउँदै आएको छ । पछिल्लो ३१ वर्षमा सन्धिखर्क नगरपालिका ९ मा पर्ने अर्घामा जन्मिएका र स्थायी घर भएकाले मात्रै निर्वाचन जित्दै समेत आउनु भएको छन । अर्घामा यसपटकको निर्वाचनमा समेत दुईजना निर्वाचित हुनुभएको छ । अर्घाखाँचीबाट प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएका टोपबहादुर रायमाझी र प्रदेशसभा– १ मा विजयी हुनुभएका चेतनारायण आचार्य दुवै अर्घा गाउँका बासिन्दा हुनुहुन्छ । अहिलेको निर्वाचनमा समेत यस गाउँबाट चार जनाले उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचित टोपबहादुर रायमाझी, उपविजेता नेपाली कांग्रेसका नेता एवम् पूर्व उपसभामुख पुष्पा भुसाल मात्र होइन प्रदेशसभा १ मा विजयी बन्नु भएका एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्य र स्वतन्त्रबाट मनोनयन गरेका वसन्त केसी चार जना यसै गाउँका हुनुहुन्छ । जिल्लामा २०४८ देखि ७९ सम्म भएका निर्वाचनमा अर्घाबाटै सांसद चुनिनु भएका छन् । अर्घाकै रेवतीप्रसाद भुसाल कांग्रेसबाट २०४८ र २०५१ मा सांसदमा निर्वाचित भएर पर्यटन राज्यमन्त्री बन्नु भएको थियो । २०५६ सालमा राष्ट्रिय जनमोर्चाबाट डिलाराम आचार्य निर्वाचित हुनुभएको थियो । उहाँ अहिले नेकपा माओवादी केन्द्रको केन्द्रीय सचिव हुनुहुन्छ । पञ्चायतकालमा रेवतीप्रसादका पिता नारायणप्रसाद भुसाल २०१९ देखि २०२८ सालसम्म लगातार चार पटक चुनाव जितेर जिल्ला पञ्चायत सदस्य हुनुभएको थियो । सांसद मात्र होइन सन्धिखर्क नगरपालिकाको संस्थापक नगर उपप्रमुख ठाकुरकुमार विक र वर्तमान उपप्रमुख मिश्रा आचार्य दुवै साविक अर्घा गाविसका हुनुहुन्छु । चौबीसे राज्य अन्तर्गत पर्ने अर्घा राज्य र खाँची राज्य मिलेर अर्घाखाँची जिल्ला बनेको छ । नेपाल एकीकरणको समयमा दुवै राज्य पाल्पासँगै नेपाल राज्यमा मिलेको इतिहास छ । चौबीसे राज्यको समयमा अर्घा र खाँचीका राजाले लडाइ झगडा नगर्ने, आगामी दिनमा मिलेर अगाडि बढ्ने भनी तत्कालीन अवस्थाको खर्कमा सन्धि गरेकाले उक्त स्थानको नाम सन्धिखर्क ९हालको सदरमुकाम०रहन गएको इतिहासकारले बताउँछन् ।
ढोरपाटनः पश्चिम बागलुङको निसीखोला गाउँपालिका–५ र ६ का स्थानीयको मुख्य पेसा नै पशुपालन हो । पर्याप्त चरन क्षेत्र भएको हुँदा यहाँका स्थानीयवासीले वर्षौँदेखि परम्परागत शैलीमा पशुपालन गर्दै आएका छन् । उनीहरुले अन्य पेसालाई प्राथमिकता दिँदैनन् । यस क्षेत्रमा पशुचौपाया नपालेको कोही हुँदैन । एक परिवारले चारवटादेखि एक हजार पाँच सयसम्म पशु पाल्ने गर्छन् । एकै ठाउँमा बसेर पशुपालनमा समस्या हुने हुँदा स्थानीयहरू हिउँद बर्खा लेकबेँसी गर्ने गर्छन् । पशुपालनमा आधुनिक प्रविधि भित्रिए पनि यहाँका स्थानीयलाई भने त्यो प्रविधिले छुन सकेको छैन । उनीहरु परम्परागत शैलीमै पशुपालन गर्दै आएका छन् । स्थानीय वेदबहादुर घर्तीमगर बाउबाजेले गर्दै आएको पेसा आफूहरूले अँगाल्दै आएको बताउनुहुन्छ । उहाँले भन्नुहुन्छ, “नयाँ प्रविधि आयो भन्छन्, बाख्रालाई राम्रो खोर बनाएर राख्नुपर्छ भन्छन्, सुई लगाउनुपर्छ, भेडाबाख्रा निरोगी हुन्छ भन्छन् तर हामी त त्यस्तो केही गर्दैनौँ, हाम्लाई त हिउँद लागे बेँसी झर्न ठिक्क हुन्छ बर्खा लागे लेक जान ।” उहाँले १८ भैँसी र एक सय ५५ वटा भेडाबाख्रा पाल्दै आउनुभएको छ । उहाँले यसरी पशुपालन गर्दै आएको ४२ वर्ष भयो । आफू नौ वर्षको उमेरदेखि गाईभैँसी र भेँडाबाख्रा चराउन थालेको बताउने किसान घर्तीमगरले अहिलेसम्म आफ्ना पशुचौपायालाई कुनै औषधि नखुवाएको बताउनुहुन्छ । उहाँ अहिले ५१ वर्ष हुनुभयो । “बाउआमाले गोठमै काम सिकाए, गाईभैँसी, भेडाबाख्राको गोठालो गर्न सिकियो, पढ्न पाइएन त्यही भएर अहिलेसम्म यिनै पशुहरूको हेरचार गर्नुपरेको छ”, उहाँले भन्नुभयो, “मैले गाईभैँसी हेर्न थालेको ४२–४३ वर्ष भयो, अहिलेसम्म अस्पतालबाट औषधि ल्याएर खुवाएको छैन, वनमा चर्ने भएको हुँदा जडीबुटी खान्छन्, बिरामी परे पनि आफैँ निको हुन्छन् ।” स्थानीय ७४ वर्षीय चिरबहादुर बुढामगरले पनि सानैदेखि भेडाबाख्रा र गाईभैँसीपालन गर्दै आउनुभएको छ । उहाँ आफ्ना पुर्खाले यही पेसा गर्दै आएको हुँदा आफूले पनि पशुपालनलाई अँगाल्दै आएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हाम्रो बाउबाजेले पनि यही काम गर्थे, मैले पनि उहाँहरूकै सिको गरेँ, अरु गर्नलाई लेखपढ गरेको छैन, भेडाबाख्रा पाल्न नपढे पनि हुँदोरैछ, धेरै कमाउन नसके पनि खानलाउन पुगेको छ, दुःख पर्दा उपचार पाइएकै छ ।” उहाँले पशुपालनसम्बन्धी कुनै पनि तालिम परामर्श लिनुभएको छैन, तर पनि यो व्यवसायले उहाँलाई सन्तुष्टि दिएको छ । परम्परागत प्राणालीबाट पशुपालन गर्दै आउनुभएका बुढामगरलाई आधुनिक प्रविधिबारे केही ज्ञान छैन । गाईभैँसी तथा भेडाबाख्रा बिरामी परे उहाँ आफैँ ओखतीमुलो गर्नुहुन्छ । अहिले उहाँको गोठमा दुई सय भेडाबाख्रा र २० वटाभन्दा बढी भैँसी छन् । “माथि–माथि लेकमा जाने बेला अलिअलि चिसोले भेट्छ भेडाबाख्रालाई, सिगान छोड्ने, काँस्ने गर्छन्, नत्र खासै त्यसो समस्या पर्दैन, परे पनि नुन तताएर खुवाएपछि निको हुन्छन्, कहिलेकाहीँ निकै थला परेर एक–दुईवटा भेडा मर्ने पनि गरेका छन्”, उहाँले भन्नुभयो, “सामान्य रोगको त उपचार म आफँै पनि गर्छु, तर त्यसरी बिरामी परेका छैनन् ।” आफूहरूले उच्च पहाडी क्षेत्रमा चरिचरन गर्दा पशुचौपायाले औषधियुक्त जडीबुटी खाने गर्दा धेरै बिरामी नहुने बताउनुहुन्छ । “यहाँ तल–तल त जाडोको सिजनमा मात्रै हो, नत्र माथि नै हाम्रो बास हुन्छ, खर्चपर्च बोकेर लेकतिरै जान्छौँ, उतै पशु पाल्ने गर्छौँ, कहिलेकाहीँ बाघको डर हुन्छ, रोग लागेर मर्लान् भन्ने डर त कमै हुन्छ ।” स्थानीय थुमीकला सुनारले बाघले पशुचौपायाले बाख्राका पाठापाठी मार्ने गरेको गुनासो गर्नुभयो । सरकारले बाघ र वन्यजन्तुबाट पशुपालक कृषकका लागि सहयोग गर्नुपर्ने बताउनुहुन्छ । सुनारले भन्नुभयो, “हामीहरूलाई केही समस्या छैन, जसोतसो यो पेसाबाट परिवार पाल्न सकिएको छ, लेकमा बस्ने बेला चितुवाले बाख्रा, गाई र भैँसीको बच्चा मारिदिने गर्छ, सरकारले यस्तो बेला थोरै राहत दियो भने हामीलाई सजिलो हुन्थ्यो ।” पशुपालक कृषक विषेशगरी दुई सिजनमा भेडाबाख्रा बेच्न बजारतिर झर्छन् भने अधिकांंश समय गोठमै बस्छन् । पछिल्लो समय मान्छे गोठमै पनि भेडाबाख्रा खरिद गर्न जाने गरेको थुमीकला बताउनुहुन्छ । अर्का पशुपालक तुलबहादुर बुढामगर अहिलेसम्म भेडाबाख्रालाई खोरमा नबाँधेको बताउनुहुन्छ । उहाँले धेरै भेँडाबाख्रा हुँदा खुला ठाउँमै बाँध्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “थोरै भेडाबाख्रा भए पो खोरमा बाँध्नु, यति धेरैलाई खोरमा बाँध्न सम्भव नै हुँदैन, त्यही भएर बाहिरै बारीमा बाध्छौँ, कहिलेकाहीँ बाघले बाख्रा खाइदिन्छ ।” उहाँहरूजस्ता निसीखोलामा सयौँ पशुपालक छन् । तर उनीहरू अझै पनि नयाँ प्रविधि र ज्ञानबाट दूरमा रहेका छन् । गाउँपालिकाले यस्ता कृषकलाई नयाँ प्रविधिसँग जोड्न सके सिङ्गो निसीखोलालाई मासुमा आत्मनिर्भर बनाउन सकिने थियो ।
म्याग्दी: बिहान उठेदेखि राति अँध्यारो नहुँदासम्म सुन्तला बगैँचामै व्यस्त हुन्छिन् मायादेवी पुन । बिहान खाए बेलुकी के खाउँ ? जाडो बढ्दा न्यानो के लाउँको अवस्था भोगेकी पुनको दैनिकीमा अहिले परिवर्तन आएको छ । सुन्तलाले फेरिदियो ३८ वर्षीया पुनको जीवनशैली । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि अलि वर कालीगण्डकी नदीको पक्की पुल पार गरेर दायाँ मोडिएपछि यातायातका साधनमार्फत करिब २० मिनेटको यात्रापश्चात् पुगिन्छ अन्नपूर्ण गाउँपालिका–७ मा पर्ने दोसल्ले गाउँ । शिरमा टिकोट र पुछारमा कालीगण्डकी नदी अनि बीचमा हरिया डाँडा र जङ्गलको बीचमा पश्चिम दक्षिण मोहोडा गरेर फैलिएको चिटिक्कको छ दोसल्ले गाउँ । यो गाउँमा ५२ घरधुरीको बसोबास छ । सबै घरधुरीका साना ठूला सुन्तलाका बगैँचा छन् । तिनै बगैँचामा फलेका सुन्तला बिक्री गरेर यहाँका बासिन्दाको जीवनशैलीमा निकै परिवर्तन भएको छ । “हाम्रा लागि सुन्तलाको बगैँचा नै युरोप, अमेरिका हो । सुन्तलाका बोट हाम्रा रोजगारदाता हुन् । छोराछोरीको जस्तै माया लाग्छ यी बोटको”, शनिवार दोसल्लेको सुन्तला बगैँचामा यस संवाददातासँग हँसिली मायादेवी पुनले भन्नुभयो, “गत वर्ष दुई लाखको सुन्तला बोटबाटै बेचेँ, यस वर्ष नयाँ बोटमा फल लागेको छ, उत्पादन राम्रो भएकाले निर्माण व्यवसायीले रु चार लाखमा बोटबाटै सुन्तला खरिद गरेका छन् ।” दोसल्लेका मिलन गर्बुजा, डिलमाया पुन, प्रेमबहादुर पाइजा लगायतका ५० कृषकले सुन्तलाबाट गत वर्षको भन्दा दोब्बर आम्दानी लिएका छन् । सबै कृषकका बगैँचामा लटरम्मै सुन्तला छन् । सुन्तला खरिद गर्न बगैँचामा नै आएका व्यापारीसँग उनीहरु मोलमोलाइमा व्यस्त छन् । भर्खरै सम्पन्न चुनावको मत सङ्ख्या गन्ती हुँदै गर्दा दोसल्लेका कृषकहरुलाई भने सुन्तलाको हिसाब किताब गर्न भ्याइनभ्याइ छ । २०५८ सालदेखि दोसल्लेमा व्यावसायिक सुन्तला खेती सुरु भएको अन्नपूर्ण गाउँपालिकाकी पूर्वउपाध्यक्ष केशमाया मगरले बताउनुभयो । “पहिला बारीमा दुई मुरी कोदो फल्थ्यो, वैदेशिक रोजगारी वा परम्परागत खेतीपातीबाट नै यहाँका बासिन्दाको जीवन चल्थ्यो”, मगरले भन्नुभयो, “तर अहिले अवस्था फेरिएको छ । विदेश गएका पनि गाउँमा नै फर्केर सुन्तला खेतीमा लागेका छन् । गाउँको कोदोबारी अहिले सुन्तला बगैँचामा परिणत भएको छ ।” सुन्तला खरिद गर्न काठमाडौँ, चितवन र पोखरादेखि व्यापारी बगैँचामा नै आउछन् । “बिक्रीको कुनै चिन्तै छैन । बोटमा सुन्तला फलेपछि घरमै पैसा आउँछ”, दोसल्ले व्यावसायिक सुन्तलाजात किसान समूहका अध्यक्ष प्रेमबहादुर पाइजा भन्नुहुन्छ, “अरू ठाउँको भन्दा यहाँको सुन्तला हेर्दा आकर्षक र खाँदा रसिलो हुने भएकाले व्यापारी पहिला यहाँका सुन्तला नै खोज्दै आउँछन् ।” यस वर्ष कात्तिकको तेस्रो सातासम्म २० व्यापारी आएका छन् । गाउँका प्रायः सबै किसानका सुन्तला बोटबाट नै बिक्री भइसकेका छन् । व्यापारीले बगैँचाबाटै प्रतिकिलो रु ९५ का दरले सुन्तला खरिद गर्छन् । दोसल्ले व्यावसायिक सुन्तलाजात किसान समूहका अध्यक्ष पाइजाले गत वर्ष ६२ हजार पाँच सय किलो सुन्तला निकासी हुँदा रु ७५ लाख गाउँमा भित्रिएको र यस वर्ष करिब दुई सय नयाँ सुन्तलाका बोटमा पनि फल लागेको र उत्पादन पनि राम्रो भएकाले करिब रु दुई करोडको हाराहारीमा सुन्तला निकासी हुने जानकारी दिनुभयो । तथ्याङ्कमा म्याग्दीका सुन्तला म्याग्दीमा ६ सय ४० हेक्टर क्षेत्रफलमा सुन्तला खेतीले ढाकेकामा तीन सय ४५ हेक्टरमा रहेको सुन्तलाले उत्पादन दिएको कृषि ज्ञान केन्द्रले जनाएको छ । गत आर्थिक वर्ष २०७८/७९ मा विगतका वर्षको तुलनामा भन्दा सुन्तला उत्पादन बढेको बताउँदै कृषि ज्ञान केन्द्रका प्रमुख किरण सिग्देलले दुई हजार ३० मेट्रिक टन सुन्तला उत्पादन भई रु १० करोडभन्दा धेरैको कारोबार भएको बताउनुभयो । अघिल्लो आव २०७७÷७८ मा म्याग्दीको सुन्तलामा ‘चाइनिज सिड्रस फुडफ्लाई’ नामक औंसा किराको प्रकोप देखिएर २५ प्रतिशतले उत्पादन घटेको थियो । तर गत आर्थिक वर्ष भने सुन्तलाको बोटमा खाद्य पासो थापेर औंसा किराको प्रकोप नियन्त्रण, किसानलाई तालिम, प्लास्टिकको थैला सहयोग तथा निरन्तरको अनुगमनले सुन्तला उत्पादन बढेको कृषि ज्ञान केन्द्रका प्रमुख सिग्देलले जानकारी दिनुभयो । बर्सेनि सुन्तलाको क्षेत्रफल विस्तार एवम् उत्पादन बढ्दै जान थालेको छ । गत वर्ष सुन्तला खेतीको प्रवद्र्धन तथा किसानलाई प्रोत्साहन गर्न कृषि ज्ञान केन्द्र म्याग्दीले रु ११ लाखको बजेटमा विभिन्न कार्यक्रम सञ्चालन गरेको थियो । म्याग्दीमा बेनी नगरपालिकाभित्र भकिम्लीको मरेक, राखु, सिङ्गाको बास्कुना, मङ्गला गाउँपालिकाको कुहुँ, भर्जुला, बराङ्जा, भोर्लेनी, अर्मन, मालिकाको विम, ओखरबोट, देवीस्थान, धवलागिरिको ताकम, हिलापोखरी, मुदीको खाम्ला, रघुगङ्गाको राखु क्षेत्र, वेगखोला, अन्नपूर्णको दोवा, दाना, नारच्याङ, हिस्तानको दोसल्ले, घारलगायत क्षेत्र सुन्तला उत्पादनको पकेट क्षेत्र मानिन्छन् । म्याग्दीमा झन्डै पाँच सयजना किसान व्यावसायिक सुन्तला खेतीमा आबद्ध छन् ।