पोखरा:  पोखरा र बागलुङबाट एक थास प्रकाशित हुँदै आएको ढोरपाटन दैनिक २३ औं वर्षमा प्रवेश गरेको छ ।  आफ्नो २३ औं वार्षिकोत्सव आइतबार एक समारोहका बिच पोखरामा मनाइएको छ । सोही क्रममा कार्यक्रमको उ...

काठमाडौं:   त्रिभुवन विश्वविद्यालय आगामी फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीमा जुटेको छ। विसं २०६५ देखि नियमित हुन नसकेको स्ववियु निर्वाचन यसपटक निर्धारित मिति आगामी फागुन १४ गते गर्ने तयारीमा त्रिवि रहेको छ। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले सबै निर्वाचन सकिएकाले अब त्रिवि स्ववियु निर्वाचनको तयारीमा लाग्ने बताए। ‘सबै निर्वाचन सकिए, अब हामी पनि नियमित हुननसकेको स्ववियु निर्वाचनको तयारीमा लाग्छौँ। सबै विद्यार्थी सङ्गठनसँग छलफल गरेर फागुनमा निर्वाचन गर्ने तयारीमा हामी जुट्छौं,’ उनले भने।  त्रिवि क्याम्पसमा विगत लामो समयदेखि स्ववियु निर्वाचन हुन सकेको छैन। प्रत्येक दुई÷दुई वर्षमा हुने निर्वाचन २०६५ सालयता नियमित हुनसकेको छैन। त्रिविले शैक्षिक क्यालेण्डरमा नै हरेक दुई वर्षमा फागुन १४ गते स्ववियु निर्वाचनको कार्यतालिका राखेर निर्वाचन गराउँदै आएको थियो। विसं २०६५ सम्म नियमित हुँदै आएको निर्वाचन अहिले भने रोेकिएको छ। विसं २०६५ चैत ६ गतेपछि एकै पटक आठ वर्षमा २०७३ चैत १५ गते भएको थियो। त्यतिबेला देशभरि त्रिविका ६२ आङ्गिक क्याम्पसमध्ये रत्नराज्य क्याम्पस (आरआर), जनप्रशासन क्याम्पससहित उपत्यकामा नौ वटा आङ्गिक र उपत्यका बाहिर १७ क्याम्पसमा मात्र स्ववियु निर्वाचन भएको थियो। यस्तै उपत्यकाका १३ क्याम्पस र उपत्यका बाहिर २३ आङ्गिक क्याम्पसमा निर्वाचन हुन सकेको थिएन। त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस रहेका छन्। खेलकुद निर्देशनालयका निर्देशक अधिकारीले मुलुकमा नयाँ सरकार गठन लगत्तै सरकारको सहयोगमा नै स्ववियु निर्वाचन गरिने बताए। ‘स्ववियु निर्वाचन निर्धारित मितिमा हुनुपर्दछ भन्नेमा त्रिवि र सबै विद्यार्थी सङ्गठन रहेका छन्। निर्वाचन गर्नका लागि विद्यार्थी सङ्गठनबीच समेत हामीले छलफल जारी राखेका छौं,’ उनले भने। अठाईस वर्ष उमेरहद र मिश्रित निर्वाचन प्रणाली लागू भएपछि त्रिविका क्याम्पसमा नियमति स्ववियु निर्वाचन भएको छैन। पछिल्लो पटक उमेरहद र मिश्रित निर्वाचन प्रणाली लागू भएपछि पहिलो पटक विसं २०७३ मा आंशिक रुपमा केही क्याम्पसमा मात्र निर्वाचन भएको थियो। त्रिविले स्ववियु निर्वाचन गर्न पटक–पटक पहल गरे पनि हुनसकेको छैन। नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पाले स्ववियु निर्वाचनको तयारीमा आफूहरु रहेको बताए। ‘हामी फागुनमा नै स्ववियु निर्वाचन गर्न तयारीमा रहेका छौँ, हाम्रो सङ्गठन र पार्टीका नेता पनि सकारात्मक हुनुहुन्छ। सबै सङ्गठनको बैठक राखेर स्ववियु निर्वाचन गर्न त्रिविलाई आग्रह गर्छौँ,’ उनले भने। उनले आफ्नो सङ्गठनको बैठक राखेर स्ववियु निर्वाचनमा जाने निर्णय गर्ने बताए। अध्यक्ष शेर्पाले आफूहरु त्रिविले तोकेको स्ववियु निर्वाचनको मापदण्ड उमेरहद र निर्वाचन प्रणाली मानेर निर्वाचनमा जान तयार रहेको बताए। त्रिविले स्ववियु निर्वाचनका लागि २८ वर्षे उमेरहद र सभापति, सचिव तथा कोषाध्यक्ष प्रत्यक्ष निर्वाचन तथा उपसभापति र सहसचिव समानुपातिक एवं ५० प्रतिशत सदस्य समानुपातिकबाट चयन हुन्छन्। स्ववियु निर्वाचन नहुँदा अहिले त्रिवि सभामा पनि विद्यार्थीको उपस्थिति रहेको छैन। अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंहले प्रमुख विद्यार्थी सङ्गठनका पदाधिकारीसँग स्ववियु निर्वाचन निर्धारित समयमा गर्नका लागि छलफल गरेको बताइन्। ‘स्ववियु निर्वाचन नहुँदा विद्यार्थीको आन्तरिक लोकतन्त्रको अभ्यास गर्न पाएका छैनन्। मेरो विद्यार्थी सङ्गठनका पदाधिकारीसँग छलफल भएको छ, निर्वाचन गर्न सबै सङ्गठन तयार रहेका छन्, यो वर्षमा स्ववियु निर्वाचन गर्न सम्भव हुन्छ,’ उनले भनिन्। उनले अब हारजित हुने डरले भन्दा पनि स्ववियु निर्वाचन मुख्य कुरा भएकाले निर्धारित समयमा नै निर्वाचन गराउन सबै लाग्ने बताइन्। अध्यक्ष सिंहले आफ्नो सङ्गठनको तेस्रो केन्द्रीय समितिको बैठकबाट निर्णय गरी त्रिविलाई निर्धारित समयमा स्ववियु निर्वाचन गर्न भनेर ज्ञापन पत्र बुझाएको बताइन्। अनेरास्ववियु महासचिव समिक बडालले सबै निर्वाचन सकिएको अवस्थामा अब विद्यार्थी सङ्गठन स्ववियु निर्वाचनमा लाग्ने बताए। उनले स्ववियु निर्वाचन नहुँदा त्रिविको शैक्षिक क्यालेण्डर अस्तव्यस्त र विद्यार्थीले आफ्नो हकअधिकार प्रयोग गर्न नपाएको बताए। उनले चाँडै नै सबै विद्यार्थी सङ्गठनसँग छलफल गरेर निर्धारित समयमा नै स्ववियु निर्वाचन हुनुपर्ने धारणा सार्वजनिक गर्ने बताए। आरआर क्याम्पसका निवर्तमान स्ववियु सभापति तपेन्द्र शाहीले वैचारिक नेतृत्व उत्पादन गर्ने थलोका रुपमा स्ववियु निर्वाचन नहुँदा राजनीतिक दल र मुलुकलाई नै घाटा भएको बताए। उनले स्ववियु निर्वाचन नहुँदा शैक्षिक आन्दोलनलाई नोक्सान हुनुका साथै विद्यार्थीका हक अधिकार उठाउने ठाउँ नभएको बताए। निर्धारित मितिमा निर्वाचन हुन्छ: त्रिवि  विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक अधिकारीले त्रिवि पनि स्ववियु निर्वाचन गर्न आतुर रहेको बताए। ‘विद्यार्थीको आधिकारिक नेतृत्व नहुँदा त्रिवि र क्याम्पसको नीति निर्माण र व्यवस्थापनमा समस्या आइरहेको छ’, उनले भने, ‘त्यसैले हामी निर्धारित मिति फागुन १४ गते निर्वाचन गर्न आतुर छौं।’ निर्देशनालयका निर्देशक अधिकारीले स्ववियु निर्वाचनका सम्बन्धमा विद्यार्थी सङ्गठनसँग पनि निरन्तर छलफल गरिरहेको बताए। उनकाअनुसार विसं २०१९ बाट त्रिविमा विद्यार्थीको प्रतिनिधित्व हुँदै आएको थियो। विसं २०३६ बाट स्ववियु निर्वाचन व्यवस्थित रुपमा प्रत्येक दुईरदुई वर्षमा हुँदै आएको छ।

गुल्मी:  नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवाली निर्वाचनमा पराजित भए पनि मतदातालाई धन्यवाद दिन गाउँगाउँमा पुगेका छन् । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गुल्मी–१ मा नेपाली कांग्रेसका चन्द्र भण्डारीसँग १५ सय मतान्तरले ज्ञवाली पराजित भएका थिए । ज्ञवालीको धन्यवाद कार्यक्रम जिल्लामा एक सातासम्म सञ्चालन हुने नेकपा एमाले गुल्मीका जिल्ला कमिटी सदस्य काशी पाण्डेले बताए । चुनावका बेला मत माग्न पुगेका चुनाव क्षेत्रका बिभिन्न स्थानमा पुगेर मतदातालाई धन्यवाद दिने कार्यक्रम राखिएको पाण्डेले बताए । मतदातालाई धन्यवाद दिन गाउँगाउँमा पुगेका ज्ञवालीले जित हार स्वाभाविक प्रक्रिया भएको बताए । तर जनताको विश्वासलाई कहिल्यै टुट्न नदिने गरी जिल्लाको विकासका लागि हर बखत लागिरहने उनको भनाइ छ । गुल्मीबाट ०५६ सालदेृखि चुनाव लडदै आएका ज्ञवाली ०५६, ०६४, ०७४ सालमा निर्वाचित भएका थिए ।

चितवन:  इच्छाकामना गाउँपालिका वडा नं ३ फिल्सिङमा पिकअप गाडी र मोटरसाइकल एकापसमा ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु भएको छ । अर्का एक विदेशी नागरिकसहित दुई घाइते भएका छन् । आज बिहान १०ः १५ बजे फिस्लिङस्थित पृथ्वी राजमार्गमा दुर्घटना भएको हो । मृत्यु हुनेमा जर्मनका नागरिक ६० वर्षीय मिचेल मेयर ओलवर्षलेबेन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । नारायणगढबाट काठमाडौं जाँदै गरेको ना ४१ प ५४८ नंको मोटरसाइकल र धादिङबाट मुग्लिनतर्फ आउँदै गरेको गरेको बागमती प्रदेश ०३–००१ च १६८२ नंको  पिकअप गाडी  ठक्कर खाएको हो । ठक्कर खाएका दुवै सवारीसाधन सडकबाट ५० मिटर तल खसेका छन् ।  कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार मोटरसाइकलमा सवार एक विदेशी नागरिक र पिकअप गाडीमा सवार एक जना घाइते भएका छन् । मोटरसाइकल चालक जर्मनी नागरिकको मृत्यु भएको हो भने पछाडि सवार विदेशी महिलाको अवस्था मध्यम रहेको छ ।  पिकअप गाडीमा सवार तीन जनामध्ये धादिङको गल्छी गाउँपालिका–५ बस्ने ७३ वर्षीय वीरबहादुर तामाङ घाइते छन् । घाइते दुवैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । पिकअप गाडी चालक र सहचालक प्रहरीको नियन्त्रणमा रहेको कार्यालयले जनाएको छ ।

पोखरा:    पोखराको अग्रणी विद्यालय प्रतिभा माविले विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि आयोजना गरेको विज्ञान प्रदर्शनी र ‘व्यवसायिक योजना’ कार्यक्रममा उत्कृष्ट हुन सफल विद्यार्थीलाई पुरस्कृत गरेको छ । गत कार्तिक २५ र २६ गते आयोजित कार्यक्रममा सहभागीमध्ये उत्कृष्ट हुनेहरुलाई नगदसहित विद्यालयले बिहीबार पुरस्कृत गरेको हो । विज्ञान संकायका विद्यार्थी सहभागी ‘विज्ञान प्रदर्शनी’ मा कक्षा १२ का आयुषा ढकाल र करुणा सुनारको स्मार्ट सिटी ‘प्रोजेक्ट ९९’ शीर्षकको प्रस्तुति सर्वोत्कृष्ट हुँदै नगद २० हजार जित्न सफल भयो । यस्तै, कक्षा ११ की नम्रता क्षेत्रीको ‘इन्डिकेटर डस्टविन’ प्रोजेक्ट दोस्रो बन्दै १५ हजार हात पारे । यसैगरी, कक्षा ११ की छात्राहरु स्नेहा गिरी, रश्मी तिमिल्सिना र सुस्मिता खत्रीको समूहले बनाएको ‘वाईफाई कार’ र कक्षा १२ का सबिन गुरुङ र सगुन गुरुङको ‘सोलार ट्रयाक्टर’ले तेस्रो स्थान प्राप्त गर्दै जनही नगद सात हजार पाँच सय, मेडल र प्रमाणपत्र हात पारे । विज्ञान प्रदर्शनीमा कक्षा ८ देखि १२ कक्षासम्मका ६२ टोलीले सहभागिता जनाएका थिए । व्यवस्थापन संकाय तर्फ सहभागी ‘व्यवसायिक योजना’ कार्यक्रममा ‘पिग फार्मिङ’ शीर्षकमा सहभागी कक्षा १२ का सम्पूर्ण पौडेल र सबिन थापा सर्वोत्कृष्ट बन्दै नगद १५ हजार जिते । उनीहरुले उक्त प्रोजेक्ट सञ्चालन गर्न चाहेमा बिऊ पुँजीका रुपमा विद्यालयले ५ लाख नगद सहयोग गर्नेछ । यस्तै, कक्षा ११ की छात्राहरु सुविक्षा मल्ल, रेनुमा खातुन र अञ्जली तामाङको ‘टेस्ट अफ नेपाल’ प्रस्तुति दोस्रो बन्दै नगद १० हजार प्राप्त गरेको छ । कक्षा १२ की छात्राहरु प्रतिमा भट्टराई र अस्मिता पोखरेलको ‘डिटर्जेन्ट कम्पनी’ शीर्षकको प्रस्तुति र कक्षा ११ की छात्राहरु पूर्णिमा पौडेल र सृष्टि शर्माको ‘विवाह योजना’ शीर्षकको प्रस्तुति तेस्रो बन्दै जनही ५ हजार नगदसहित मेडल र प्रमाणपत्रले पुरस्कृत भयो । यी दुवै विधामा थप ५ टोलीलाई थर्ड रनरअप उपाधिसहित जनही २ हजारले पुरस्कृत पनि गरिएको थियो । यस्तै, सहभागी सबैलाई मायाको चिनो प्रदान गरिएको थियो । विद्यालयका निर्देशक किरण सापकोटाका अनुसार दशैंको लामो बिदाको समयमा विद्यार्थीहरुलाई कुनै गृहकार्यको बोझ नबोकाई सिर्जनशील बन्न विज्ञानका विभिन्न शैक्षिक सामाग्री बनाउन र व्यवस्थापन विषय पढेपछिको योजना बुन्न आह्वान गरिएको थियो । विद्यार्थीले बनाएका विभिन्न उपकरण तथा योजना उक्त प्रदर्शनीमा प्रस्तुत भएका थिए । विद्यार्थीले आफ्नै खर्चमा आवश्यक सामाग्री जुटाएका हुन् । सामान बनाएका हुन् । यसैबीच, विहीबारदेखि नै प्लस टुका विद्यार्थीहरुबीचको स्पोर्टस् मीट २०७९ शुभारम्भ गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि पृथ्वीनारायण क्याम्पसका प्रमुख प्रा.डा. सरोज कोइरालले खेलकुद प्रशिक्षकहरु हेमन्त गुरुङ, राजेन्द्र पुन र कुमार किसानलाई बल हस्तान्तरण गरी स्पोर्टस् मीटको शुभारम्भ गरे । कार्यक्रममा प्रमुख अतिथि डा। कोइरालाले प्रतिभा माविको विविध क्रियाकलापले यस विद्यालय गण्डकी क्षेत्रकै अग्रणी विद्यालयका रुपमा स्थापित भएको बताए । क्याम्पसमा उत्कृष्ट पठनपाठन हुने भएकाले कक्षा १२ को समाप्तिपछि पृथ्वीनारायण क्याम्पसमै पढ्न पनि सकिने भन्दै उनले प्रतिभाका विद्यार्थीले राष्ट्रिय अन्तर्राष्ट्रिय शिक्षण संस्थाहरुमा उत्कृष्ट बन्दा खुशी लागेको उल्लेख गरे । बीबीएमा नाम निकाल्ने उत्कृष्ट २० मध्ये सर्वप्रथम हुनेदेखि सर्वाधिक १४ जना विद्यार्थी प्रतिभाकै रहेको निर्देशक किरण सापकोटाले जानकारी दिएका थिए । प्रतिभाका विद्यार्थी एमबीबीएस, ईञ्जिनियरिङ, वन विज्ञान, कृषि तथा काठमाण्डौ लगायतका विभिन्न विश्वविद्यालयमा सर्वोत्कृष्ट हुँदै छात्रवृत्तिमा निःशुल्क पढिरहेको पनि सापकोटाले बताए । कार्यक्रमका विशिष्ट अतिथि राष्ट्रिय भलिबल महिला टीमकी कप्तान अरुणा शाहीले विद्यार्थीहरु सैद्धान्तिक शिक्षासँगै खेल लगायत अतिरिक्त क्रियाकलपामा पनि अब्बल हुनुपर्ने बताइन् । शाहीलाई यसअघि विद्यालयले १ लाख नगदको वर्ष प्रतिभा पुरस्कारबाट पुरस्कृत गरिसकेको छ । विद्यालयका प्राचार्य विश्वगोपाल पराजुलीले कक्षागत उत्कृष्टतासँगै सिकेको ज्ञानलाई व्यवहारमै उतार्न यस्ता प्रदर्शनी तथा योजना प्रस्तुत कार्यक्रम फलदायी हुने बताए । वार्षिक खेलकुद कार्यक्रम अन्तर्गत आयोजित स्पोर्टस् मीटमा छात्ररछात्रा बास्केटबल, छात्ररछात्रा भलिबल । छात्र फुटसल, सिंगलरडबल छात्ररछात्रा टेबलटेनिस र चेस खेल हुनेछन् । कक्षा ११ र १२ का विद्यार्थीहरुले अन्तरसदनात्मक रुपमा सहभागिता जनाउनेछन् । प्राचार्य विश्वगोपाल पराजुलीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शिक्षक वीरसिंह बुढाले गरेका थिए । विद्यार्थी तथा खेलाडीहरुको मनोबल उच्च बनाउन, बालबालिकाका प्रतिभालाई प्रस्फुटन गर्न विद्यालयले आर्थिक सहयोग समेत गर्दै आएको छ । अरुणा शाहीसँगै सन्दिप लामिछानेलाई प्रतिभाले नगद एक लाखले सम्मान गरिसकेको छ । विद्यालयले मुलुकमा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थी शुरती पाण्डेलाई समेत एकमुष्ठ डेढ लाख बढीले सम्मान गरिसकेको छ ।

काठमाडौं:  नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आगामी शनिबार बस्ने भएको छ । शनिबार दिउँसो एक बजे पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगरमा बस्ने बैठकमा निर्वाचनको समीक्षा हुनुको साथै नयाँ सरकार गठनबारे छलफल हुने बताइएको छ ।  बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

महोत्तरी:    विगत एक सातादेखि बढेको चिसोको कारण महोत्तरी जिल्ला अस्पतालमा बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । चिसो हावा, हुस्सु र बाक्लो कुहिरो लागेका कारण यहाँको मौसम असहज भएको छ । जिल्ला अस्पतालमा उपचारको लागि पहिलेभन्दा बढी बिरामी आउन थालेको मेडिकल सुपरिटेन्डेन्ट डा सतिश साहले बताए । उनका अनुसार चिसोकै कारण यहाँका स्वास्थ्य केन्द्रलगायत जिल्ला अस्पतालमा ज्वरो, रुघाखोकी, दम, कोल्ड डायरियाका बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । सामान्य अवस्थामा औसतमा ४०र५० जना बिरामी उपचारका लागि आउने गरेकोमा पछिल्लो समय दैनिक एक सय ५० सम्म बिरामी उपचारको लागि आउने गरेको डा साहले बताए । लगातार बढ्दै गएको जाडोबाट सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिला बढी प्रभावित भएका छन् । साथै आर्थिकरुपले कमजोर व्यक्तिसमेत बढ्दै गएको जाडोको प्रत्यक्ष मारमा परेका छन् । बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिलामा रुखाखोकी, ज्वरो, दम, हातगोडा सुनिने, दुख्नेलगायत समस्या देखिएको डा साहले बताए । दश नगरपालिका र पाँच गाउँपालिका रहेको महोत्तरीको विभिन्न गाउँ बस्तीमा जाडोबाट बच्नका लागि ठाउँठाउँमा स्थानीयले आगो बालेर ताप्ने गरेको देखिन्छ । यसैबीच ग्रामीण भेगमा वस्तुभाउसहित कृषिबालीमा पनि चिसोका कारण समस्या भइरहेको छ ।

काठमाडौं:   निजी दूरसञ्चार सेवा प्रदायक एनसेलको नेटवर्क अवरुद्ध हुन पुगेको छ । बिहान करिब ११ः २५ बजेदेखि अवरुद्ध हुन पुगेको एनसेलको नेटवर्क हालसम्म खुल्न सकेको छैन । जसले हजारौं एनसेल मोबाइल तथा इन्टरनेट सेवा प्रयोगकर्ताहरू प्रभावित हुन पुगेका छन् ।  सिस्टममा समस्या आउँदा नेटवर्क केही समय डाउन हुन पुगेको एनसेल कम्पनीले जनाएको छ । यद्यपि, जतिसक्दो छिटो नेटवर्क सुचारु गर्न प्राविधिक टोली लागिरहेको कम्पनीले जनाएको छ ।

काठमाडौं:   बिहीबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ९९ हजार ७ सय रूपैयाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला ९९ हजार ३ सय रूपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ४ सय रूपैयाँले बढेको हो । यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ४ सय रूपैयाँले नै बढ्दै ९९ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  यता चाँदीको मूल्य भने आज तोलामा १० रूपैयाँले बढ्दै १ हजार ३६० रूपैयाँमा कारोबार भइरहेको छ ।

काठमाडौं:   आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजको चौथो तथा अन्तिमा खेलमा नेपालले बलियो स्कटल्यान्डसँग खेल्दैछ । नेपाल र नामिवियाबीचको खेल युनाईटेड क्रिकेट ग्राउन्ड विन्डहोकमा नेपाली समयअनुसार दिउँसो १ः४५  बजेपछि हुनेछ ।स्कटल्यान्डविरुद्व मैदान उत्रदा नेपाल नामिविया भ्रमणमा पहिलो जितको खोजीमा हुनेछ । यस भ्रमणमा नेपालले तीन खेलिसक्दा दुईमा हार र एकमा बराबरीको नतिजा निकालेको छ । नामिवियासँगको पहिलो खेल वर्षाका कारण रद्व हुँदा अंक नेपालले अंक पाएको थियो । दोस्रो खेलमा स्कटल्यान्डसँग ३ विकेटले परािजत भएको नेपाल बुधबार नामिवियासँग ८६ रनले पराजित भएको थियो । नेपाललाई शीर्ष तीनमा रहँदै आगामी वर्ष हुने ग्लोबल छनोट खेल्न बाँकी सबै खेल जित्नुपर्ने दवाव छ । बुधबार नामिवियासँगको हारले नेपालको सम्भावना झनै झिनो बनेको छ । शीर्ष पाँचमा रहँदै ओडिआई मान्यता निरन्तरता दिन पनि जित्नै पर्ने दबाब छ ।