काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तहको क्षमता विकास गर्नक्षमता विकास गर्न रहेको बताएका छन् । यस कार्यमा सहजीकरण गर्न गाउँपालिका राष्ट्रिय महासंघलाई उनले आग्रहसमेत गरे । गाउँपालिका राष्ट्रिय महासंघको तेस्रो राष्ट्रिय महाधिवेशनलाई आज काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सो आग्रह गरेका हुन् । उनले हरेक स्थानीय तहमा दिगो विकास लक्ष्यअनुसार योजना तर्जुमालाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । सहजरुपमा शिक्षा स्वास्थ्यको ग्यारेन्टी, रोजगारी सिर्जना, लैंगिक हिंसा अन्त्य लगायतमा काम गर्न जनप्रतिनिधि र स्थानीयबीच बहस, छलफल तथा अन्तर्क्रिया हुन आवश्यक रहेको पनि प्रधानमन्त्री देउवाले बताए । उनले सार्वजनिक प्रशासनलाई चुस्त बनाएर भ्रष्टाचारमा शून्य सहनशीलता अवलम्बन गर्नुपर्नेमा जोड दिए ।
काठमाडौं: नेपालका ६ खेलाडी एसियन टेबलटेनिस च्याम्पियनसिप छनोटमा सहभागी हुने भएका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा जारी साउथ एसियन रिजनल च्याम्पियनसिप २०२२ को शीर्ष १६ वरियतामा स्थान बनाउँदै ६ खेलाडीले एसियन टेबल टेनिस च्याम्पियनसिप छनोट खेल्ने पक्का गरेका हुन् । पुरुषतर्फ पाँच खेलाडी छनोट हुँदा महिलातर्फ एक खेलाडी छनोट भइन् । पुरुषतर्फ नेपालबाट सहभागी भएका संयोग कपाली, रुविन महर्जन, बिनेश खनिया, शिव सुन्दर गोथे र प्रदीप रोक्का गरि पाँचै खेलाडी छनोट भए । महिलातर्फ नेपाल वरीयता एककी नविता श्रेष्ठ मात्रै सफल भइन् । नेपालकी एलिना महर्जन, इभाना थापा, रविना महर्जन, सिक्का सुवाल श्रेष्ठ भने १६ वरियतामा पर्न असफल भए । शुक्रबार भएको समूह चरणमा विजयीहुँदै संयोग, रुविन, बिनेश र नविता छनोट भइसकेका थिए । शनिबार भएको खेलमा पराजित भएपनि शिव र प्रदीप शीर्ष १६ वरियतामा स्थान बनाउँदै छनोट हुन सफल भएका छन् । अन्तिम खेलमा शिव पाकिस्तानका हसिव ख्वाजासँग सोझो सेटमा हार्न पुगे । आइतबार शिवले नवौं वरियताको लागि बंगलादेशका नाफिज इक्वालसँग प्रतिस्पर्धा गर्नेछन् । यसैगरी प्रदीप बंगलादेशका रामहिमलियान वानसँग ३–२ सेटमा पराजित भएपनि १६ औं वरियतामा रहन सफल भए । पुरुषतर्फ नेपालका पाँच खेलाडी छनोटहुँदा पाकिस्तानका चार, बंगलादेश, भारत र श्रीलंकाका दुई–दुई खेलाडी छनोट हुँदा माल्दिभ्सका एक खेलाडी छनोट भए । महिलातर्फ शीर्ष वरीयतामा भारत र श्रीलंकाका पाँच–पाँच खेलाडी छनोट हुँदा पाकिस्तान तीन र माल्दिभ्स, नेपाल र बंगलादेशका समान एक खेलाडी छनोट भएका छन् । एसियन च्याम्पियनसिप छनोटमा यस प्रतियोगिताबाट महिला र पुरुष समान १६ खेलाडी छनोट भएका छन् । एसियन च्याम्पियनसिप सन् २०२३ को ७ देखि १३ जनवरीसम्म कतारको दोहामा आयोजना हुनेछ ।
काठमाडौं: केही दिनदेखि लगातार बढिरहेको सुनको मूल्यले आइतबार पनि निरन्तरता पाएको छ। साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई सय रुपैयाँ बढेको हो। अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार सुन तोलामा छ सय रुपैयाँ बढेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख पाँच सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रतितोला एक लाख तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १४ सय रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारको तुलनामा आज चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १७ सय ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
काठमाडौं: फ्रान्स फिफा विश्वकप कतार २०२२ को सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार अल बेयत रंगशालामा भएको अन्तिम क्वाटरफाइनलमा इंग्ल्यान्डलाई २–१ ले हराउँदै फ्रान्सले अन्तिम चारमा स्थान पक्का गर्यो । औरेलिएन चुआमेनीले फ्रान्सलाई सुन्दर गोलमार्फत अग्रता दिलाए । इंग्ल्यान्डले पहिलो हाफमा गोल गर्ने अवसर सिर्जना गरेपनि गोलरक्षक लोरिसले केहि सुन्दर बचाउ गरे । पहिलो हाफमा फ्रान्सले अग्रता जोगाउन सफल भयो । दोस्रो हाफको सुरुवातमै इंग्ल्यान्ड पेनाल्टीमा गोल गर्दै खेलमा फर्कियो । तर जिरुडले हेडरमार्फत गोल गर्दै फ्रान्सलाई पुनःअग्रतामा लगे । इंग्ल्यान्डले ६ मिनेट समय बाँकी रहँदा पुनः पेनाल्टीमार्फत बराबरी गर्ने अवसर पाएको थियो । तर केनले त्यसको सदुपयोग गर्न नसक्दा टोली खेलमा फर्कन सकेन । खेलको १७ औं मिनेटमा चुआमेनीको गोलमा फ्रान्सले अग्रता लिएको थियो । चुआमेनीले झन्डै ३० यार्ड टाढाबाट गरेको प्रहार सिधै गोलमा परिणत भएको थियो । एन्टोइन ग्रिजमनले दिएको पासलाई चुआमेनीले पेनाल्टी क्षेत्र बाहिरबाट प्रहार गर्दा इंग्लिस डिफेन्स लाइन र गोलरक्षक जोर्डन पिकफर्ड बिट भएका थिए । फ्रान्सले अग्रता लिएको ५ मिनेटपछि इंग्ल्यान्डले बराबर गर्ने अवसर पायो । तर इंग्लिस कप्तान ह्यारी केनको प्रहारलाई विपक्षी कप्तान ह्युगो लोरिसले विफल पारे । केनले पेनाल्टी क्षेत्रभित्र डिफेन्डर डायोट उपामेकानो बिट गरेपछि वन भर्सेस वनको स्थितिमा लोरिसले अघि बढ्दै बचाउ गरे । २९ औं मिनेटमा लोरिस पुनः बाधक बने । केनले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको शक्तिशाली प्रहारलाई लोरिसले डाइभ दिँदै बाहिर पठाए । केनविरुद्ध पेनाल्टी क्षेत्रको ठिक बाहिर उपामेकानोले फल गर्दा भिडियो असिस्टेन्ट रेफ्रीले पेनाल्टी दिएन । दोस्रो हाफको सुरुवातदेखि नै इंग्ल्यान्डले खेलमा पकड जमायो । ५४ औं मिनेटमा इंग्ल्यान्ड पेनाल्टीमार्फत खेलमा फर्कियो पनि । ह्यारी केनले पेनाल्टीमा गोल गर्दै खेल बराबरीमा ल्याए । पेनाल्टी क्षेत्रभित्र चुआमेनीले बुकायो साकालाई लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए । ७८ औं मिनेटमा फ्रान्सले पुनः अग्रता लियो । ओलिभिएर जिरुडले हेडरमार्फत गोल गर्दै साविक विजेतालाई अघि बढाए । उनले एन्टोइन ग्रिजमनको क्रसमा गरेको हेडर डिफेन्डर ह्यारी मगाएरलाई लाग्दै गोल भएको थियो । ८४ औं मिनेटमा इंग्ल्यान्डले खेल बराबरी गर्ने सुवर्ण अवसर खेर फाल्यो । थीओ हर्नान्डेजले मेसन माउन्टलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको सहायता लिँदै पेनाल्टी दिए । दोस्रो पेनाल्टी अवसरमा भने कप्तान केन चुके । उनको प्रहार क्रसबारबाट माथि गएको थियो । फ्रान्सले अब सेमिफाइनलमा मोरक्कोको सामना गर्नेछ । मोरक्कोले आजै भएको तेस्रो क्वाटरफाइनलमा पोर्चुगललाई १–० ले पराजित गरेको थियो । प्रतियोगिताको अर्को सेमिफाइनलमा क्रोएसिया र अर्जेन्टिना भिड्नेछन् ।
पोखराः गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन मानवअधिकार मैत्री नभएको एक कार्यक्रमका वक्ताले बताएका छन्। ७४ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा गैरसरकारी संस्था महासंघ नेपाल गण्डकी प्रदेश समिति , जिल्ला शाखा कास्की तथा मानवअधिकार एलाइन्स गण्डकी प्रदेश समिति , जिल्ला शाखा कास्कीको संयुक्त आयोजनामा भएको मानव अधिकारको दृष्टिकोणमा आम निर्वाचन २०७९ बिषक कार्यक्रम वक्ताले उक्त कुरा बताएका हुन्। सयपत्री समाज कास्की कार्यकारी निदेर्शक गिरिधारी सुवेदीले देशका बिभिन्न ठाउँमा भएका घटनाले त्यो पुष्टी गरे । उनले स्याङजा,वाजुरा र दोलखा जिल्लाहरुमा मतदानको क्रममा भएका बुथ कव्जाले निर्वाचन मानव अधिकार मैत्री नभएको दावी गरे । प्रदेश निर्वाचन गण्डकीका हुमनाथ पराजुलीले विगत भन्दा अहिलेको निर्वाचन मानव अधिकारमैत्री भएको बताए । इन्सेक गण्डकीका संयोजक शिव खकुरेलले इन्सेकले निर्वाचन पुर्व, निर्वाचनको बेलामा अनुगमन गरेको बताए । यस्तै उनले निर्वाचनमा राजनितिक दलहरुले चार सय ३ ओटा ठाउँमा आचारसंहिता उल्लघन गरेको जनाए । खकुरेलले भए रहित वातावरणमा मतदान गर्न पाउने अधिकार बाट केहि बञ्चित हुन पुगेको बताए । नेकपा एमाले जिल्ला कमिटि कास्कीका कार्यवहाक अध्यक्ष तेजनारायण अधिकारीले निर्वाचनामा राज्य सत्ताको चरम दुरुपयोग भएको बताए । कार्यक्रममा मानव अधिकार एलाइन्सका केन्दीय उपमहासचिव तिलोत्तम पौडेल,केन्द्रीय सचिव रामचन्द्र पौडेल,जन– आन्दोलन घाइते समन्वयन समितिक कास्कीका अध्यक्ष शेखर गौतम, गैसस महासंघ नेपाल कास्कीका अध्यक्ष बुद्धिबहादुर थापा, गण्डकी प्रदेश प्रज्ञा प्रतिष्ठानका सदश्य दिलु पौडेल लगाएले बोलेका थिए । मानवअधिकार रक्षक जोखिममा मानवअधिकार रक्षकनै जोखिमा रहेको एक तथ्य बाहिर आएको छ । मानवअधिकार रक्षक र उनीहरुको अधिकार सम्बन्धी एक कार्यक्रम बाट उक्त तथ्य बाहिर आएको हो । इन्सेक ,जागृती बाल तथा युवा सरोकार नेपाल ,मानव अधिकार आयोग,गैसस महासघ,महिला मानव अधिकार रक्षक सजाल,एडभोकेसि फोरम,कोपिला नेपाल लगायत को आयोजनामा पोखरामा शुक्रवार आयोजना भएको कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत टङ्क खनालले मानव अधिकार रक्षक सम्बन्धी दस्तावेजहरु माथि प्रस्ट पारे । उनले मानवअधिकार रक्षकको अवस्थाको वारेमा बताए । खनालले सञ्चारकर्मीहरु लाई बढि जोखिम रहेको बताए। इन्सेक गण्डकीका संयोजक शिव खकुरेलले इन्सेकले स्थलगत रुपमा बिभिन्न ठाउँहरुमा पुगेर तथ्याङ संकलन गरेको बताए । उनले मानवअधिकार रक्षक केहि अवस्थामा जोखिममा रहेको जनाए । यस्तै उनले २८ जना मानवअधिकार रक्षक पिडित रहेको बताए । खकुरेलले मानव अधिकार सम्वन्धी एन आवश्यक रहेकोमा जोड दिए । एड्भोकेसी फोरमकी संयोजक कुञ्जनी परियार प्यासीले मनाव अधिकार रक्षकको अवस्थाको बारेमा प्रष्ट पारेकी थिइन् । कार्यक्रममा मानवअधिकार एलाइन्सका रामचन्द्र पौडेल, गैसस महासंघ कास्कीका अध्यक्ष बुद्धिबहादुर थापा, जगृति वाल तथा युवा सरोकार केन्द्र नेपालका अध्यक्ष त्रिलोत्तम पौडेल लगाएतले मानवअधिकार रक्षक र उनिहरुको अधिकारको बारेमा बोलेका थिए ।कार्यक्रम अन्तराष्ट्रिय मानवअधिकार दिवसको अवसर पारेर गरिएको थियो ।
बागलुङः बागलुङमा चालु आर्थिक वर्षमा एक सय आठ विद्यालयमा भौतिक पूर्वाधार निर्माण र ल्याव स्थापना हुँदैछन् । चार कोठे र दुईकोठे भवन बनाउन स्थानीयतहमा कार्यक्रम सम्झौतालाई आह्वान गरिएको छ । शिक्षाको भौतिक तथा प्रविधिको सुधारका लागि नेपाल सरकारले ल्याएको राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा कार्यान्वयन गरिने बागलुङका एक सय आठ विद्यालयमा भौतिक पूर्वाधार र ३५ विद्यालयमा आइसिटी ल्याब स्थापनासँगै एक सय ४३ विद्यालयलाई स्थानीय पालिकामार्फत सम्झौता गरेर कार्यान्वयन गर्न थालिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भदौमा बजेट विनियोजनका लागि विद्यालयको सूचि सार्वजनिक गरेकोमा मङ्सिर २८ गतेदेखि कार्यान्वयलाई स्थानीय तहसँग सम्झौता गर्न परिपत्र जारी गरेको छ । गत भदौ अन्तिममा बजेट विनियोजन गरिएको छ । विद्यालयमध्ये ४६ मा चार कोठे, ६२ मा दुई कोठे र ३५ मा आइसिटी ल्याबलाई बजेट विनियोजन गरेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको शिक्षा तथा मावन स्रोत विकास केन्द्रले जनाएको छ । केन्द्रका अनुसार बागलुङमा ४६ चार कोठे भवन बनाउन ५० लाखका दरले २३ करोड, ६२ विद्यालयको दुई कोठे भवन बनाउन २५ लाखले १५ करोड ५० लाख र ३५ विद्यालयमा आइसिटी ल्याबलाई छ लाख ५० हजारले दुई करोड २७ लाख ५० हजार गरी रु ४० करोड ७७ लाख ५० हजार बजेट विनियोजन भएको छ । गत वर्ष चार कोठे भवनलाई ३६ लाख र दुई कोठे भवनलाई १८ लाख बजेट प्राप्त भएकोमा भूकम्प प्रतिरोधी भवन बनाउन बजेट अपुग भएको विद्यालयको गुनासोपछि अहिले बजेट थप भएर चार कोठेलाई ५० लाख, दुई कोठेलाई २५ लाख बजेट आएको शिक्षा विकास तथा समन्वय एकाइ बागलुङका प्रमुख कुश्मराज उपाध्ययाले जानकारी दिनुभयो । धेरै निसीखोला गाउँपालिकाभित्रका २० र थोरै बरेङ गाउँपालिकाभित्रका सात विद्यालय छनोटमा परेका छन् । जिल्लाका १० पालिकाअन्तर्गत एक सय ४३ मध्ये गलकोटका १६, बागलुङ नगरपालिकाका १६, काठेखोला गाउँपालिकाका १२, जैमिनी नगरपालिकाका १२, बरेङ गाउँपालिकाका सात, ढोरपाटन नगरपालिकाका १९, निसीखोला गाउँपालिकाका २०, ताराखोला गाउँपालिकाका १२, तमानखोला गाउँपालिकाका ११ र बडिगाड गाउँपालिकाका १८ विद्यालय रहेको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीका प्रेस संयोजनक विमल खड्काले जानकारी दिनुभयो । भदौमै कार्यक्रम स्वीकृत हुँदा कार्यान्वयन सहज हुने एकाइ प्रमुख उपाध्याले बताउनुभयो । “गत वर्ष ढिला गरी बजेट तथा कार्यक्रम आउँदा बढी रकम फ्रिज भएको विद्यालयको गुनासो तथा अनुगमन गर्नसमेत समस्या भएको पाइयो”, उपाध्ययले भन्नुभयो, “ एकाइले अनुगमन तथा निरीक्षण गर्ने छ ।” राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम स्थानीय तहमार्फत कार्यान्वयन गरिँदै आइएको छ । भवन डिजाइन तथा नक्सा र बजेट सङ्घीय सरकारले दिने भए पनि बजेट कार्यान्वयन स्थानीय तहले गर्ने एकाइ प्रमुख उपाध्यायले जानकारी दिनुभयो । स्थानीय तहमा कार्यक्रम सम्झौताका लागि बजेटसमेत पठाइएको छ ।
पोखराः कवि शिरोमणि लेखनाथ पौड्यालको नामबाट २०५३ साल माघ १८ गते लेखनाथ नगरपालिकाको घोषणा गरिएको थियो । यस क्षेत्रका तत्कालीन राखी, लेखनाथ, शिशुवा र बेगनास गाउँ विकास समितिलाई मिलाएर नगरपालिका घोषणा गरिए पनि यस क्षेत्रको पहिचान हुन नसकेको वास्तविकता त्यसै बेलादेखि चासो र चर्चामा रहेको यहाँका अगुवा बताउँछन् । नगरपालिकाको घोषणासँगै यस क्षेत्रको पहिचान एवं संस्थागत प्रयासलाई अपरिहार्य ठान्दै गरिएका विभिन्न कार्यमध्येको महत्वपूर्ण प्रयास लेखनाथ उद्योग वाणिज्य सङ्घ रहेको सङ्घका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्य बताउनुहुन्छ । नगरपालिकाको घोषणा हुनुअघि यस क्षेत्रभित्रका हालका पोखरा महानगरपालिका वडा नं २६, २७, २८, २९, ३०, ३१ र ३२ मा खासै गन्न लायकका उद्योग सञ्चालनमा नआएका अवस्थामा क्रमशः उद्योग व्यवसाय बढ्दै गएको यहाँका स्थानीय सम्झनछन् । सुरुमा लेखनाथ क्षेत्रमा तोरी, तेल, चकलेट, खाद्यान्न कुटानी, पिसानी फर्निचर आदि उद्योग सञ्चालनमा आएकोमा पछि विस्तारै बिस्कुट, चाउचाउ, साबुनलगायतका उद्योग थपिँदै गएको हो । तत्कालीन समयमा यहाँका मुख्य व्यापारिक केन्द्रमा शिशुवा, अर्घौ पौवा, बूढीबजार, बेगनासाताल, गगनगौँडा, सातमुहाने, राजाको चौतारा रहेका थिए । सात तालको सहरका रुपमा तत्कालीन समयदेखि नै चर्चामा आए पनि यहाँका ताल पर्यटकीयरुपमा उपयोग हुन सकेका थिएनन् । कर्माचार्यका अनुसार यिनै वास्तविकताका बीचमा नगरपालिका घोषणा पछि यहाँका उद्योगी व्यवसायीले लेखनाथमा उद्योग वाणिज्य सङ्घको आवश्यकता महसुस गरेका थिए । निरन्तरका छलफलसँगै सङ्घ गठन गर्ने कुरामा एकमत भएका व्यवसायीले २०५४ साल असार ३० गते शनिबार बिहान पोखरा महानगरपालिका वडा नं २६ विजयपुरमा विचित्रमोहन भट्टराईको बगैँचामा भोगटेको बोटमुनि भएको भेलाबाट चन्द्रकृष्ण कर्माचार्यको संयोजकत्वमा लेखनाथ उद्योग वाणिज्य सङ्घको तदर्थ समिति गठन गरेका थिए । पछि सोही समितिलाई विधिवत् दर्ता गरिएको थियो । सङ्घ स्थापनाको रजत वर्षसम्म आइपुग्दा त्यसबीचमा यसले उद्योग व्यवसाय क्षेत्रको विकासमात्र नभई समग्र लेखनाथको पहिचानलाई कायम गराउन उल्लेख्य भूमिका खेलेको छ । सङ्घकै अगुवाइमा यहाँको प्रवद्र्धनसँगै स्थानीय उत्पादनको बजारीकरणलाई जोड दिँदै सुरु गरिएको लेखनाथ महोत्सव १८ औँ संस्करणसम्म आइपुगेको छ । प्रत्येक वर्षको चिसो मौसमको पारिलो घाममा गरिने महोत्सवको समयमा खुल्ने सुन्दर मनमोहक हिमालले कास्की र आसपासका मात्र नभई पोखरा घुम्न आउने पर्यटकलाई पनि लठ्याउने गरेको लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष छत्रधर आत्रेयले बताउनुभयो । सामान्यतः पुसको दोस्रो सातादेखि एक हप्ताभन्दा बढी गरिने यस महोत्सवलाई लेखनाथवासीले सुरुदेखि नै साथ र सहयोग गर्दै आएको उहाँले बताउनुभयो । “लेखनाथ क्षेत्रका सर्वसाधारणले यो महोत्सवलाई अपनत्व गरेका कारण पनि यो महोत्सवको पनि महोत्सव बनेको हो”, उहाँले भन्नुभयो, “यस वर्ष पनि पुसको ७ गतेदेखि १८ गतेसम्म तालचोकमा महोत्सव गर्ने गरी तयारी गरेका छौँ ।” लेखनाथ महोत्सवमा विभिन्न कला सांस्कृति झल्किने नाचगानकोे प्रस्तुतिसँगै स्थानीय उत्पादन र एकै ठाउँबाट घरायसी प्रयोगका धेरै सामग्री किन्न पाउने भएका कारण यसप्रतिको आकर्षण र विश्वास बर्सेनि बढ्दै गएको सङ्घका महासचिव उपेन्द्रराज सुवेदी९राजु०ले बताउनुभयो । पन्ध्र वर्षअघि सुन्तला महोत्सवबाट सुरु भएको लेखनाथ महोत्सवमा एउटै थलोमा उत्पादकदेखि उपभोक्तासम्मको जमघट गराउने अभ्यास भइरहेको उहाँले बताउनुभयो । ‘लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने मूल नाराका साथ गरिँदै आइएको महोत्सवले उत्पादकत्व वृद्धि गर्दै उत्पादित वस्तुको बजारीकरणमा सहयोग पु¥याउँदै आएको छ । महोत्सवमा बचत हुने रकमबाट प्रदर्शनीस्थल र सङ्घको भवन स्तरोन्नति, औद्योगिक क्षेत्रको निर्माणका लागि पहल एवम् सहयोग, कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकास एवं बेगनासताल, रुपाताललगायतका तालको पर्यटकीयस्थलको प्रवद्र्धन गर्न खर्च गरिने उहाँले बताउनुभयो । सुन्तला महोत्सवबाट लेखनाथ महोत्सवको सुरुआत भए पनि यस क्षेत्रका हंसपुर, भरतपोखरी, थुम्कीलगायतका स्थानमा रोगका कारण सुन्तला मासिनु यतिखेर चुनौतीका रुपमा देखिएको छ । सङ्घले स्थापनाकालदेखि विभिन्न संस्थासँगको सहकार्यमा २०६२–२०६६ मा स्थानीय आर्थिक विकास कार्यक्रम, २०६४–२०७३ मा एक गाउँ एक उत्पादन कार्यक्रम, २०७०–२०७२ मा एक जिल्ला एक उत्पादन कार्यक्रम र व्यवसाय प्रवद्र्धन कार्यक्रम गर्दै आएको छ । सङ्घले नेपाल उद्योग वाणिज्य महासङ्घबाट २०५८ सालमा ‘घ’ वर्गबाट उत्कृष्ट सम्मान प्राप्प्त गरेको छ भने २०५९, २०६०, २०६१ र २०६४ सालमा ‘ग’ वर्गको उत्कृष्ट सम्मान पाएको छ । त्यस्तै २०६४ सालमा ‘क’ वर्गमा क्षेत्र वृद्धि भएको सङ्घ २०७५ सालमा ‘क’ वर्गबाट र २०७७ सालमा ‘क’ वर्गबाट महासङ्घ गण्डकी प्रदेश उत्कृष्ट सम्मान प्राप्त गरेको छ । सङ्घ स्थापनाको साढे दुई दशक यहाँको पहिचानका लागि महत्वपूर्ण सावित भएको अध्यक्ष आत्रेयको भनाइ छ । “शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनलाई मुख्य आधार बनाएर यहाँका विभिन्न सङ्घ संस्था, आमा समूह, टोल विकास, आर्थिक तथा सांस्कृतिक समूह आदिसँग सहकार्य र समन्वय गर्दै लेखनाथको समृद्धिका लागि सङ्घ निरन्तर लागि रहेको छ”, उहाँले भन्नुभयो । लेखनाथ क्षेत्रका धार्मिक, सांस्कृतिक, शैक्षिक, साहित्यिक, पुरातात्विक पर्यटकीयस्थलको संरक्षण र प्रवद्र्धन गर्दै यहाँका मठ मन्दिर, कोट भञ्ज्याङ, तालतलैया, दुन बेसी, खेलमैदान नदीनाला आदिको पहिचान संरक्षण र विकाससँगै पर्यटकीयरुपमा जोड्ने लक्ष्यका साथ सङ्घ लागिरहेको उहाँले बताउनुभयो । सङ्घकै अग्रसरतामा बेगनास ताल पारीको बराह मन्दिर निर्माणका लागि गण्डकी प्रदेश सरकारबाट रु ५० लाख बजेट तथा कार्यक्रम स्वीकृत भएको जानकारी दिँदै अध्यक्ष आत्रेयले करिब रु १० करोड लागतमा सम्पन्न हुने परियोजना सम्पन्न गर्न सङ्घ लागिरहेको बताउनुभयो ।
पोखराः बाक्लो कुहिरोले घाम छेक्दा चितवनको माडी नगरपालिकामा कठ्यांग्रिने चिसो हुन्छ । माडीलाई आफ्नो थातथलो बनाएका चेपाङ समुदाय आङ ढाक्ने न्यानो कपडा नहुँदा आगो तापेर बस्न बाध्य छन् । न्यानो कपडाकै अभावमा बालबालिका विद्यालय जानबाट बञ्चित छन् । जाडो याममा माडीका विद्यार्थीलाई नियमित विद्यालय ल्याउन पोखराले न्यानो बाँडेको छ । पोखराका चार संस्थाले माडीका विद्यालयमा न्यानो कपडा वितरण गरेका हुन् । लायन्स क्लब अफ पोखरा लेकसाइड, लायन्स क्लब अफ पोखरा गार्डेन, लायन्स क्लब अफ पोखरा रानीवन र फ्रेन्ड्स अफ नेचर नेपालले गरिब तथा विपन्न विद्यार्थीलाई बिहीबार न्यानो कपडा वितरण गरेका हुन् । संस्थाले माडी–९ गोविन्दबस्तीमा रहेको श्री आधारभूत विद्यालय, गणेशकुञ्ज आधारभूत विद्यालय र माडी–६ मा रहेको मनमोहन बालग्राम आधारभूत विद्यालयमा २ सय २० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरे । न्यानो कपडा पाउनेमा स्थानीय चेपाङ, दलित र विपन्न विद्यार्थी थिए । श्री आधारभूत विद्यालयका प्रधानाध्यापक विश्वनाथ घिमिरेले ठन्डीकै कारण चेपाङ समुदायका बालबालिका हिउँदमा विद्यालय नआउने समस्या रहेको सुनाए । ‘जाडो ढाक्ने कपडा छैन । दिनभरि वनमा दाउरा खोजेर विहान बेलुका तापेर बस्नुपर्छ,’ उनले भने, ‘विद्यालय आउनुपर्ने विद्यार्थी दाउराको जोहो गर्न जानुपर्छ ।’ झण्डै एक–डेढ घण्टा टाढाबाट जंगलको बाटो हुँदै विद्यालय आउनुपर्दा जंगली जनावरको डर पनि उत्तिकै हुने उनले बताए । कार्यक्रम संयोजक एवं लायन्स क्लब अफ पोखरा लेकसाइडका पूर्व अध्यक्ष नवराज अधिकारीले चार वर्षदेखि निरन्तर रुपमा माडीका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिरहेको बताए । ‘यहाँका विद्यार्थी न्यानो कपडाको अभावमा विद्यालय नै नजाने स्थिति रहेको थाहा पाएपछि निरन्तर सहयोग गर्दै आएका छौं,’ उनले भने, ‘आगामी दिनमा पनि सहयोग जारी रहने छ ।’ न्यानो कपडा वितरण कार्यक्रमका अध्यक्ष एवं लायन्स क्लब अफ पोखरा लेकसाइडका प्रथम उपाध्यक्ष कीर्तिवल्लभ त्रिपाठीले विपन्न तथा सीमान्तकृत बस्तीमा लायन्सले सहयोग गर्न पाउँदा खुसी व्यक्त गरे । ‘जहाँ आवश्यकता त्यहाँ लायन्स भन्ने मन्त्रलाई आत्मसात गर्दै माडीमा आइपुगेका हौं,’ उनले भने, ‘लायन्स सिंहको जस्तै ठूलो मुटु भएका व्यक्तिहरुको संस्था हो ।’ उक्त अवसरमा क्लबका कोषाध्यक्ष कमलकुमार भुजेलले विद्यार्थीलाई जुत्ता, चप्पल खरिदका लागि श्री आधारभूत विद्यालयलाई १० हजार रुपैयाँ सहयोग गरे । न्यानो कपडा वितरण कार्यक्रमको स्थानीय संयोजन टीकाराम आचार्यले गरेका थिए । पोखराबाटै पुगेका लियो क्लबले विद्यार्थीलाई सरसफाइ सम्बन्धी प्रशिक्षण दिए ।
काठमाडौंः आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घको महासभाबाट मानवअधिकारको विश्वव्यापी घोषणापत्र जारी भएको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर १० तारिखमा विश्वभर यो दिवस मनाउने गरिन्छ । यसवर्ष ‘सबैका लागि सम्मान, स्वतन्त्रता र न्याय’ भन्ने मूल नारासहित नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरिएको छ । ७४औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा राष्ट्रपति, प्रधानमन्त्रीलगायतले शुभकामना दिनुभएको छ । दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले मानव अधिकारको मर्म तथा भावनालाई आत्मसात् गर्न सबै पक्ष र निकायसँग आग्रह गर्नुभएको छ । यस्तै, प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारका नीतिमा मानव अधिकारलाई केन्द्रबिन्दुमा राखिएको बताउनुभएको छ । प्रधानमन्त्री देउवाले कानुनी, नीतिगत र संरचनागत व्यवस्थाहरू हिजोको तुलनामा बढी मानव अधिकारमैत्री रहेका पनि उल्लेख गर्नुभएको छ ।