पोखरा: एघारौ पोखरा महोत्सवको बैङकिङ पार्टनरमा रहेर ग्रीन डेभलपमेन्ट बैंकले साथ दिने भएको छ । शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धनका लागि नयां गन्तब्य चिडियाखानाको निर्माणमा पहलकदमी संगैै सेती नदी संरक्षणमा काम गर्दै आइरहेको युनाईटेड क्लव पोखराले आगामी पुषको २७ देखी माघको ९ गते सम्म पोखराको अमरसिंह चौरमा आयोजना गर्ने एघारौं संस्करणको पोखरा महोत्सवमा केन्द्रीय कार्यालय पोखराको सभागृह चोकमा रहेको ग्रीन डेभलपमेन्ट बैंकले बैङ्किङ पार्टनरमा रहेर साथ दिने भएको हो । हालै एक कार्यक्रमका बीच महोत्सव आयोजक युनाईटेड क्लवका अध्यक्ष राजु श्रेष्ठ र ग्रीन डेभलपमेन्ट बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत हरि बहादुर बुढाथोकी बिच सम्झौता पत्रमा हस्ताक्षर गरी एक अर्कालाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन । सो अवसरमा वोल्दै ग्रीन डेभलपमेन्ट बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत हरि बहादुर बुढाथोकी गण्डकी प्रदेशमा पोखरामा प्रधान कार्यालय रहेको एकमात्र प्रदेश स्तरको ग्रीन डेभलपमेन्ट बैंकले सामाजिक क्षेत्रमा अग्रणी स्थानमा रहेको युनाईटेड क्लव संगको सहकार्यले आफुहरु निकै उत्साहित भएको वताउदै युनाईटेड क्लवको सामाजिक काममा सहकार्य गरेर आफुहरु अगाडि वढ्ने प्रतिवद्धता ब्यक्त गरे । त्यस्तै क्ल्वका अध्यक्ष राजु श्रेष्ठले युनाईटेड क्लवले पोखरामा रहेको विभिन्न संघ संस्थाहरुको सहकार्य र सहयोगकै कारण पोखरा महोत्सव सफल भएको वताउदै युनाईटेडको सामाजिक अभियानमा सम्पूर्ण पोखरेलीको साथ र सहयोग आवश्यक रहेको वताए । युनाईटेड क्लवले आयोजना गर्ने पोखरा महोत्सव युनाईटेड क्लवको मात्र नभइ सम्पूर्ण पोखरेलीको महोत्सव भएको र महोत्सवको आम्दनीबाट युनाईटेड क्लवले सामाजिक क्षेत्रमा खर्च गर्ने भएकाले महोत्सवमा सहकार्य गर्ने सम्पूर्णको योगदान महत्वपूर्ण रहेको वताए । त्यसैगरी एघारौं पोखरा महोत्सवको अफिसियल वाटरमा अक्वा रिउसले साथ दिने भएको छ । एक समारोहका बीच एघारौं पोखरा महोत्सव खानेपानी ब्यवस्थापन संयोजक शिव थापा र अक्वा रिउस प्रोसेस पानीका संचालक धिरज गुरुङ बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो अवसरमा वोल्दै अक्वा रिउस प्रोसेस पानीका संचालक धिरज गुरुङले सामाजिक क्षेत्रमा अब्बल युनाईटेड क्लव संगको सहकार्यले आफ्नो ब्यवशाय प्रवद्र्धन संगै सामाजिक काममा अगाडि वढ्न पाउदा आफुहरुमा उत्साह थपिएको वताए । महोत्सवको तयारी तीब्र रुपमा अगाडि वढिरहेको महोत्सवका प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए । जस अनुरुप महोत्सवका ९० प्रतिशत स्टल बुकिङ सम्पन्न भएको प्रचार प्रसार संयोजक दिनेश सुनारले जानकारी दिए ।
पोखरा: डेभिजफल्स ड्राइभिङ स्कुल एण्ड प्रिटेष्ट प्रालिले कास्की क्षेत्र नम्बर ३ ख बाट विजयी प्रकाश बराललाई बधाइ तथा सम्मान गरेको छ । ड्राइभिङ स्कुलका सल्लाहकार समेत रहेका बराललाई आज एक कार्यक्रमका बीच सम्मान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि नन्द प्रसाद आचार्य, ड्राइभिङका कानुनी सल्लाहकार खगराज आचार्ज, ड्राइभिङ स्कुलका अध्यक्ष तुल बहादुर ठकुरी लगायतले अबिर, खादा र सम्मान पत्र सहित सम्मान गर्नुभएको थियो । सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नन्द प्रसाद आचार्यले जनताको मतको कदर गरी समग्र गण्डकी प्रदेशको बिकास निर्माणमा अगाडि बढ्न नव निर्वाचित सांसद बराललाई आग्रह गर्नुभयो । त्यस्तै सम्मानित व्यक्तित्व कास्की क्षेत्र नम्बर ३ ख का बिजयी सांसद प्रकाश बरालले आफुहरु प्रदेशको निती निर्माणको तहमा पुगेपनि निति निर्माण संगै आफ्नो निर्वाचन क्षेत्रको समग्र बिकासको पक्षमा लाग्ने ताउनुभयो । आफ्नो निर्वाचन क्षेत्र पोखरा महानगरपलिकाको वडा नम्बर ५ देखि कास्कीको माछापुछ्रे हिमालको फेदी सम्म पर्ने भएकाले निर्वाचनका बेला जनताको घरमा पुगेर दिएको आश्वसनलाई ब्यवहारमा लागु गर्ने र अहिले निर्वाचित भएर बधाइ थाप्ने र अवको पांच बर्ष जनताले सम्मान गर्ने गरी काम गर्ने बताउनुभयो । अहिले गाउका दुर दराजमा सडक, खानेपानी जस्ता विकासका कामहरु भइरहेको भएतापनि अझैपनि नितिगत रुपमा समग्र क्षेत्रको विकास हुन नसक्दा जनताले जहा तही समस्या झेल्नुपरेको आफुले नजिकबाट नियालेका आगामी ५ वर्षमा नितिगत रुपमै जनताले सुख अनुभुति हुने गरी काम गरेर देखाउने उहाँको भनाइ रहेको थियो । कानुनी सल्लाहकार खगराज आचार्यले जनताको सामु गरेका बाचालाई पुरा गर्ने गरी र राजनैतिक स्वार्थभन्दा माथी रहेर कास्की क्षेत्र नम्बर ३ को जनताको पक्षमा काम गर्न आग्रह गर्नुभयो । सो अवसरमा वोल्दै डेभिजफल्स ड्राइभिङ स्कुल तथा प्रिटेस्ट सेन्टरका अध्यक्ष तुल बहादुर ठकुरीले नव निर्वाचित प्रदेश सभा सदस्य प्रकाश बरालको उज्जवल भविष्यको कामना गर्दै जनताको सुख दुखमा हातमा हात साथमा साथ दिएर काम गर्न आग्रह गर्नुभयो । ड्राइभिङ स्कुलका सचिव दिपेन्द्र बहादुर आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रममा तीर्थराज आचार्यले स्वागत मन्तव्य राख्नुभएको थियो ।
काठमाडौंँ: जाजरकोटमा सोमबार भएको जीप दुर्घटनामा अभिभावक गुमाएका पाँच बालिकाको शिक्षाको जिम्मा माइती नेपालले लिने भएको छ। जाजरकोट (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित राजीव बिक्रम शाहको पहलमा माइती नेपालले उनीहरूको शिक्षाको जिम्मा लिने भएको हो। १६ वर्षभन्दा मुनिका बालिकालाई अध्ययन र शैक्षिक सहयोग तथा १६ वर्षभन्दा माथिका बालिकालाई सिपमुलक तालिम एवं प्राविधिक शिक्षाको माइती नेपालले जिम्मा लिने प्रदेश सभा सदस्य शाहले बताए। आफ्नो अनुरोधलाई स्वीकार गरेर आफन्त गुमाएका बालिकाको शिक्षादिक्षाको जिम्मा लिन सहमत भएकोमा शाहले माइती नेपाललाई धन्यवाद समेत दिए। माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले बुधबार बिहान शाहलाई फोन गरेर पाँच बालिकाको शिक्षादिक्षाको जिमा लिन आफूहरू तयार रहेको जानकारी दिएकी थिइन्। अभिभावक गुमाएका बालिकाहरूको विवरण शाहसँग माग गरिएको र उपलब्ध भएपछि बाँकी प्रक्रिया अघि बढ्ने माइती नेपालले जनाएको छ। स्थानीय तहसँग समन्वय गरेर छिट्टै माइती नेपाललाई विवरण उपलब्ध गराउने, बाँकी बालबालिका र पीडित परिवारलाई आफूले समेत सक्दो सहयोग गर्ने शाहको भनाइ छ। सोमबार जाजरकोटको छेडागाड नगरपालिका ४ मा भएको जीप दुर्घटनामा छेडागाडका नौ र दैलेखको भगवतीमाई गाउँपालिकाका तीन जनाको मृत्यु भएको थियो।
कालिकोट: कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका १ स्थित कर्णाली नदीमा फुकोट जलविद्युत आयोजनाको जेसीबी दुर्घटना हुँदा बेपत्ता भएका तीन जना मध्ये दुई जनाको शव सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको छ । बेपत्ता भएका मध्ये सोही गाउँपालिका १ बस्ने २० वर्षिय उमेश गिरीको शव सोमबार र कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका ४ बस्ने २३ वर्षिय जेसीबीका चालक मंगल चुडारीको शव मंगलबार फेला परेको हो । सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म कालिकोट र नम्बर ४२ रिजर्भ गण बाँकेबाट गएको गोताखोरले गिरी र चुडारीको शव फेला पारेकोे हो । उनीसँगै दुर्घटनामा परी हराईरहेका सोही गाँउपालिकाका १९ वर्षिय रक्तिम सार्कीकोे खोजीकार्य जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ । मंसिर २४ गते सो आयोजनाको सुरुङ्गभित्र पानी हेरी फर्कदै गरेको प्रदेश नं.३ –०१–००३ क ६७७४ नम्बरको जेसीबी कर्णाली करिडोरबाट अन्दाजी ८० मिटर तल कर्णाली नदीमा खसेको थियो । दुर्घटनामा घटनास्थलमै २ जनाको मृत्यु भएको थियो । यससँगै मृतकको संख्या ५ पुगेको छ ।
काठमाडौं: मंसिर ४ को प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनबाट जनता समाजवादी पार्टी नेपाल (जसपा) मा ३२ जना निर्वाचित भएका छन् । प्रतिनिधिसभातर्फ ७ जना प्रत्यक्षमा निर्वाचित भएका छन् भने समानुपातिकबाट ५ जनाको नाम सिफारिस भएको जसपाले जनाएको छ । यस्तै प्रदेश १ बाट समनुपातिकतर्फ १ जना चयन भएका छन् भने मधेस प्रदेशमा ७ जना चयन भएका छन् । यस्तै मधेस प्रदेशमा प्रत्यक्षबाट ९ जना निर्वाचित भएका छन् । यसैगरी लुम्बिनी प्रदेशमा प्रत्यक्षतर्फ २ जना निर्वाचित हुँदा समानुपातिकबाट १ जना चयन भएको केन्द्रीय सूचना, सञ्चार प्रकाशन तथा प्रचार विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरु १. अशोककुमार राई, सुनसरी १ २. राजकिशोर यादव, सिराहा २ ३. रामसहायप्रसाद यादव, बारा २ ४. नवलकिशोर साह, सप्तरी १ ५. विरेन्द्र महतो, सिराहा ४ ६. दीपक कार्की, धनुषा १ ७. प्रदीप यादव, पर्सा १ समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरु १. प्रकाश अधिकारी (सिराहा) २. सुशिला श्रेष्ठ (उदयपुर) ३. रेखा यादव थापा (मोरङ) ४. रञ्जु कुमारी झा (सप्तरी) ५. सहनाज रहमान (झापा) प्रदेश नं १ समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रदेश सभा सदस्य १. निर्मला लिम्बु (ताप्लेजुङ) मधेश प्रदेश पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट निर्वाचित प्रदेश सभा सदस्यहरु १. मो. लालबाबु राउत, पर्सा १ (ख) २. सरोजकुमार यादव, बारा १(ख) ३. राजकुमार गुप्ता, सिराहा १(ख) ४. सरोजकुमार सिंह महोत्तरी ४ (ख) ५. राम आशिष यादव, धनुषा २ (ख) ६. बच्चा राउत अहिर, बारा २ (ख) ७. सञ्जय कुमार यादव, सर्लाही ३ (ख) ८. सिहासन सा कलवार, पर्सा ४ (क) ९. शेख अबुलकलाम आजाद, रौतहट ४ (ख) मधेश प्रदेश समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रदेश सभा सदस्यहरु १. मनिस कुमार सुमन (सप्तरी) २. विन्दुकुमारी यादव (सर्लाही) ३. किरणकुमारी साह (सप्तरी) ४. शोभा देवी (रौतहट) ५. ललिता दास (सिराहा) ६. साहिदा खातुन (सिराहा) ७. ममता देवी मण्डल (धनुषा) लुम्बिनी प्रदेश पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट निर्वाचित प्रदेश सभा सदस्यहरु १. आदेशकुमार अग्रवाल, बाँके २ (क) २. भण्डारीलाल अहिर, बाँके २ (ख) लुम्बिनी प्रदेश समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित प्रदेश सभा सदस्य १. अम्बीका काफ्ले(बर्दिया)
काठमाडौंँ: चालू आर्थिक वर्ष २०७८९र८० को ४ महिनाको अवधिमा नेपालमा १२ करोड ६४ लाख ५५ हजार रुपैयाँ बराबरको राइस कुकर आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि कात्तिकसम्मको अवधिमा उक्त मूल्य बराबरको राइस कुकर आयात भएको हो । विभागका अनुसार यस अवधिमा विदेशबाट १२ करोड रुपैयाँभन्दा बढीको १ लाख ११ हजार वटा राइस कुकर आयात भएको छ । उक्त मूल्यको राइस कुकर भित्र्याउँदा आयाकर्ताले ३ करोड रुपैयाँभन्दा बढी भन्सार राजश्व बुझाएका छन् । यस अवधिमा नेपालमा विभिन्न १४ वटा देशबाट राइस कुकर आयात भएको देखिन्छ । विभागको तथ्यांकअनुसार चीनबाट सबैभन्दा धेरै ११ करोड ७६ लाख रुपैयाँभन्दा बढीको राइस कुकर आयात भएको छ । यस्तै, भारतबाट ७७ लाख ७६ हजार रुपैयाँ बराबरको राइस कुकर भित्रिएको छ । यसबाहेक, अन्य मुलुकबाट समेत राइस कुकर भित्रिएको छ । बहरायन, ब्रनाइ, क्यानडा, इटाली, दक्षिण कोरिया, कुवेत, मलेसिया, कतार, साउदी अरब, सिंगापुर, थाइल्याण्ड र संयुक्त अरब इमिरेट्सबाट समेत राइस कुकर आयात भएको छ ।
चितवन: नारायणगढ मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ । सडक खण्डमा पर्ने पुल निर्माणका लागि सवारी रोक्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय चितवनमा आज सम्पन्न सरोकारवालाको बैठकले पुस ५ गतेदेखि एक महिनाका लागि सडक रोकेर काम गर्ने निर्णय गरिएको छ । सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म रोकिने छ । भौगोलिक रुपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुईन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्ने लगायतका कामको लागि सवारी आवागमन रोक्न लागिएको हो । प्रमुख जिल्ला अधिकारी अश्मान तामाङको अध्यक्षतामा भएको बैठकले नारायणगढतर्फबाट जाने यात्रुबाहक बस, मिनि, माइक्रो बस, साना सवारी साधनलाई पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान ११ बजे रोक्ने निर्णय गरेको छ । यस्तै मालबाहक ट्रक, लरी, ट्रेलर, ट्रिपर, ट्याङ्कर लगायतका भारी सवारी साधनलाई भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान १०स्५० बजेदेखि रोकिने छ । काठमाडौँ तर्फबाट आउने यात्रुबाहक सवारीलाई मुग्लिन बजारदेखि मनकामना केवलकार गेटसम्म र पोखरातर्फबाट आउने यात्रुबाहक सवारीसाधनलाई बेनीटारदेखि पावरहाउससम्म बिहान १०स्५५ बजे रोकिने भएको छ । यस्तै, काठमाडौंतर्फबाट आउने मालबाहक सवारीलाई लेबाटारमा र पोखरातर्फबाट आउनेलाई मालबाहक सवारीलाई आँबुखैरहनीमा बिहान १०स्४५ बजे रोक्ने बैठकले निर्णय गरेको छ । बैठकले बिहान ११ बजेदेखि ३ बजेसम्मको समयमा एम्बुलेन्स, दमकल लगायतका अत्यावश्यकीय सवारीलाई अनुकूलता हेरी छोड्ने निर्णय गरेको छ । यस्तै, पोखरा–काठमाडौँ सञ्चालन हुने सवारी सहज सञ्चालनका लागि ट्राफिक कार्यालयले समन्वय गर्ने भएको छ । निर्माण कार्यलाई तीव्रता दिन निर्माण व्यवसायीले पर्याप्त साधनस्रोत र जनशक्ति परिचालन गर्ने छन् भने सडक खण्डको ठाउँठाउँमा मर्मतको कार्य पनि यसै समयमा गरिने भएको छ ।
वीरगञ्ज: पर्सामा प्रहरीको गाडी दुर्घटना हुँदा प्रहरी निरीक्षक (इन्सपेक्टर) सहित दुई जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय ठोरीका प्रहरी निरीक्षक शंकर श्रेष्ठ र प्रहरी जवान मनोज घर्ती घाइते भएका हुन् । इलाका प्रहरी कार्यालय ठोरीको सवारी दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् । घाइते दुवै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । वीरगञ्ज–ठोरी सकडखण्ड अन्तर्गत पटेर्वासुगौली गाउँपालिका मनिहर्वा नजिकै ना १ झ १२७२ नम्बरको प्रहरीको गाडी विपरीत दिशाबाट आएको मोटरसाइकललाई छल्न खोज्दा अनियन्त्रित भएर पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक ध्रुव ढकालले जानकारी दिए । गएराति नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीले ठोरीको ठुटेखोलाबाट बरामद गरेको २२ पोका गाँजा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा छोड्न आउने क्रममा सवारी दुर्घटना भएको थियो ।
सिरहा: सिरहा प्रहरीले विभिन्न स्थानबाट अवैधरुपमा खेतमा लगाएको ५ हजारभन्दा बढी गाँजाको बोट फडानी गरी नष्ट गरेको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले जिल्लाको गोलबजार, मिर्चैया नपा र नगर गाउँपालिकाको विभिन्न गाउँहरुबाट करिब १५ कठ्ठा जमिनमा लगाएको ५ हजारभन्दा बढी गाँजाको बोट फडानी गरि नष्ट गरेको हो। गाँजा तयार हुन नदिने नीतिअनुसार प्रत्येक वर्षजस्तै यस वर्ष पनि प्रहरीले फडानी कार्यलाई निरन्तरता दिएको सशस्त्र प्रहरी बल ७ नम्बर गणका प्रमुख एसपी रमेश थापाले बताए। उनले भने, ‘हामीले पाएको सूचना र यो गाँजाको बोट देखिने समय पनि भएकाले फडानी गरीरहेका छौ । सूचनाको आधारमा हामी गाँजा भएका ठाउँसम्म पुगेर फडानी गरिरहेका छौं।’ सानो छदा नदेखिने र सूचनासमेत नपाउने भएकाले अहिले गाँजा फडानी गरिरहेको प्रहरीको भनाइ रहेको छ। सिरहाको पूर्वपश्चिम राजमार्ग आसपास र विशेषगरी उत्तरी क्षेत्रका किसानहरूले प्रहरीलाई झुक्याउन चारैतर्फ उखु, रहर, तरकारी खेती लगाएर बीचको भागमा गाँजा लगाउने गरेको पाइएको प्रहरीले बताएको छ।