पोखरा:  पोखरा र बागलुङबाट एक थास प्रकाशित हुँदै आएको ढोरपाटन दैनिक २३ औं वर्षमा प्रवेश गरेको छ ।  आफ्नो २३ औं वार्षिकोत्सव आइतबार एक समारोहका बिच पोखरामा मनाइएको छ । सोही क्रममा कार्यक्रमको उ...

कर्णाली:  चिसो बढेसँगै सुर्खेत, नेपालगञ्जलगायतका सहरमा मानिसको घुइँचो देखिन थालेको छ । जाडो छल्न हिमाली र उच्च पहाडी भेगका बासिन्दा यहाँ मौसमी बसाइँ सर्ने गर्दछन् । रोजगारीको खोजीमा गाउँका कतिपय युवा भारतलगायत खाडी मुलुकहरुमा जाने र पुरुषहरु पनि जाडो छल्न यी विभिन्न सहरी क्षेत्रमा आउने गर्दा हिमाली जिल्लामा युवा त के पुरुषहरु पनि देख्न मुस्किल हुन्छ । ती जिल्लाका ग्रामीण बस्तीमा अशक्त, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बालबालिका र महिला मात्र भेटिन्छन् । चिसो याममा अचानक गाउँमा केही त्यस्ता केही घटना परिहाले भने उनीहरुले ठूलो समस्या भोग्नुपर्दछ । माथिल्लो कर्णालीका कालीकोट, हुम्ला, मुगु, डोल्पा र जाजरकोटका युवा तथा जाँगरिला सबै पुरुषहरु पैसा कमाउन बाहिरिएका छन् । सामान्यतः वर्षैपिच्छे कात्तिक महिनादेखि मजदूरीका लागि घर छोड्ने युवा यो वर्ष चुनावका कारण अलि ढिला विदेशिएका छन् । चुनावअघि युवालाई विदेसिन दिने छैनौँ भन्ने चर्का भाषणहरु सबै दलका उम्मेदवार गरे । उनीहरुलाई ती उम्मेदवारहरुले केही आशावादी पनि बनाए । केही हुन्छ भन्ने आशामा मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा बहुसङ्ख्यक युवाहरुले भोट पनि हाले । भनेजस्तो तुरुन्तै केही हुन सम्भव थिएन ।   जितेका उम्मेदवारहरुले दिएको कोरा आश्वासनले गास, बास र कपासको प्रबन्ध नहुने देखिएपछि घर खर्चका लागि गाउँमै बसेर केही गर्न सक्ने अवस्था नदेखेपछि कतिपय युवा खाडी मुलुक जान काठमाडौँ हानिए भने धेरै युवाहरु भारतीय भूमिमा रोजगारीका लागि हिँडेका छन् । ‘गाउँमै बस्ने मन त थियो नि तर के गर्नु, भनेजस्तो केही काम पाइँदैन’, मुगु सोरु गाउँपालिकाका दले बुढाले भने, ‘मातृभूमि छोड्ने रहर त कसलाई हुन्छ र ! बाध्यताले नै मानिसलाई परदेशी बनाउँदो रहेछ ।’ सबै राजनीतिक दलहरुले चुनावका बेला युवा रोजगारीलाई महत्व दिएर आफ्ना घोषणा तथा प्रतिबद्धतापत्र सार्वजनिक गरेकै थिए र यो चुनावमा पनि त्यो देखियो । दल तथा उम्मेदवारले युवाहरुको रोजगारी सुनिश्चितका लागि नभई भोट तान्नका लागि ती प्रतिवद्धता एवं घोषणापत्र ल्याएको तिला गाउँपालिका–४ जुम्लाका युवा कृष्णबहादुर शाहीले बताउँछन् । ‘गाउँमा रोजागरी नभएपछि अब मजदुरीका लागि भारत जाँदैछौँ’, उनले भने, ‘हामी युवा केवल कसैलाई सत्तामा पुर्‍याउने भर्‍याङ मात्र बनिरहेका छौँ ।’ शाही जस्तै मजदुरीका लागि हजारौँ युवा कालापहाड लागेका छन् । जीविकोपार्जन गर्ने आधारभूत आवश्यकताबाट विमुख भएका यहाँका युवा रोजगारी गर्न पाँचरछ महिनाका लागि भए पनि वर्षैपिच्छे भारतीय भूमिमा जानुपर्ने बाध्यता छ । राजनीतिमा साधनका रुपमा प्रयोग भइरहने अवस्थाबाट युवा बाहिर निस्कनु पर्दछ । त्यही अवस्थाबाट रहिरहे उनीहरु माथि नउठ्ने चन्दननाथ नगरपालिका–८ जुम्लाका धर्मसिंह कठायत बताउँछन् । उनी भन्छन्, ‘चुनावका बेला मात्र रोजागरी र विकासका कुरा गर्ने नेताको क्षणिक आशय मात्र चुनाव जित्ने हो भन्ने कुरा हामी युवाले बेलैमा बुझ्नुपर्दछ ।’ युवा नेत्री लक्ष्मीकन्या बुढा जित्ने र जिताउने समयमा दिइने कोरा आश्वासन दीर्घकालीन समस्या समाधानको मुद्दा नभएको बताउँछन् । उनले भने, ‘मूलतः राज्य र त्यसको नेतृत्व गर्ने सरकारले मुलुकको समग्र समस्याको हल हुने अल्पकालीन, मध्यकालीन र दीर्घकालीन नीति अनि त्यसको प्रभावकारी कार्यान्वयन गर्ने बलियो संयन्त्र निर्माण गर्नुपर्दछ । कृषिमा नयाँ प्रविधि र त्यसप्रतिको आकर्षण बढ्ने नीति तथा कार्यक्रम सरकारले ल्याउनुपर्दछ । यसले आत्मनिर्भर समाज बन्न सहयोग पुग्नेछ ।’ कर्णालीका वामपन्थी बुद्धिजीवी तथा पुराना कृषक रामकृष्ण बुढ्थापाले तीनवटै सरकार हुँदा पनि युवा विदेसिनुपर्ने बाध्यता आइलाग्नु मुलुकको नेतृत्वको ठूलो कमजोरी रहेको टिप्पणी गरे । ‘युवालाई श्रम र सहकारीसँग नजोडेसम्म आत्मनिर्भर अर्थतन्त्रको विकास हुन सक्दैन’, बुढ्थापाले भने, ‘यसमा सरकारको नीति र त्यसको प्रभावकारी कार्यान्वयनमा भर पर्दछ ।’ कर्णालीको कृषि, पर्यटन, जडीबुटी क्षेत्रले यहाँका बेरोजगार युवालाई रोजागरी दिन सक्ने भन्दै यसको लागि सरकारले दूरगामी योजना तथा कार्यक्रम ल्याएर त्यसको प्रभावकारितामा जोड दिनुपर्ने उनको भनाइ छ । सुर्खेत पश्चिम पञ्चपुरी नगरपालिकाका दले विकले जुनसुकै पार्टी तथा तिनका उम्मेदवारहरुले चुनाव जित्नका लागि गलत आश्वासन दिने गरेको बताए । चुनावमा हरेकको घरमा पसेर नमस्कार गर्दै उम्मेदवारहरुले भन्दै आएका छन्, ‘हामीलाई जिताउनुस् बेरोजगारी समस्या हटाइन्छिौँ । कोही विदेश जानुपर्दैन । हजुरहरुको समाजमा भएका सबै समस्या हल गर्छौं ।’ चुनाव जिते वा हारेपछि भने ती उम्मेदवारहरु कहिल्यै पनि गाउँ नफर्केको उनले सुनाए । नयाँले गर्छन् कि भन्ने आशले जिताए पनि कालापहाड जाने समस्या कहिल्यै नछुटेको उनको भनाइ छ । सबै नेताले गरिब, दलित र सोझासिधा नागरिकको भोट लिएर आफ्नै दुनो सोझ्याउने काम गरेको विकले दुःखेसो पोखे । चुनावमा मतदान गरेर मजदूरीका लागि कर्णाली प्रदेशका पहाडी जिल्लाहरुबाट दिनहुँ युवाको ठूलो लर्को भारततिर लाग्ने गरेको छ । उत्पादनशील जनशक्ति गाउँमा देखिदैन । गाउँमा रहेका अशक्त, ज्येष्ठ नागरिक, महिला तथा बालबालिका पनि उच्च हिमाली भेगमा बढ्दै गएको जाडोले घरबाहिर आउन सक्ने अवस्था हुँदैन । अशिक्षित, पढ्दापढ्दै अध्ययन छाडेका र उच्च शिक्षासम्म अध्ययन गरेका पनि रोजगारी नपाएर बसेका हजारौँ युवालाई स्वदेशी श्रम बजारमा काम पाइन्छ भन्नेमा विश्वास छैन । उनीहरु कति त खाडी मुलुकमा गइसकेका छन् भने बाँकी सबै कामका लागि कालापहाडमा । युवा विदेसिने सङ्ख्या बढ्दै जाँदा गाउँका खेतबारीसमेत बाँझिएका छन् । जमिन बाँझिदा अन्न उत्पादन हुन छोडेको छ । हिजो आफ्नै उत्पादनमा आत्मनिर्भर गाउँहरु पछिल्लो समयमा आयातमुखी बन्दै गएका छन् । यसले गर्दा धान, मकै, कोदो, जौ, चिनो, कागुनो, उवा, मार्से, लट्टे, भट्टजस्ता रैथानी अन्नबाली लोप हुने अवस्थामा छन् । उत्पादनशील जनशक्ति देश बाहिर जाने प्रवृत्ति बढेपछि एक दशकयता कर्णालीमा रैथाने बालीको उत्पादनमा निकै ह्रास आएको छ ।

काठमाडौं:   निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको महाभियोग निष्प्रभावी भएको पत्र लेखेका संघीय संसद सचिवालयका महासचिव भरत गौतमले सर्वोच्च अदालत प्रशासनले पठाएको पत्रको जवाफ दिएका छन्। सर्वोच्च प्रशासनले महाभियोग निष्क्रिय हुने गौतमको पत्रमाथि प्रश्न उठाउँदै कुन कानूनमा टेकेर पत्र लेखिएको हो भनेर सोधेको थियो। सर्वोच्चको फुलकोर्टले पत्र पठाएलगत्तै सर्वोच्च अदालतको संवैधानिक इजलासले पनि महाभियोग निष्प्रभावी हुने पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिइसकेको छ। संसद सचिवालयले सर्वोच्च प्रशासनलाई पठाएको पत्रमा फुलकोर्टको प्रश्नको जवाफ संवैधानिक इजलासमा जवाफ दिने क्रममा पठाउने उल्लेख छ। सर्वोच्चले संसद सचिवालयलाई राणाको महाभियोग निष्क्रिय भएको विषयमा ७ दिन भित्र जवाफ दिन आदेश दिएको छ। उक्त आदेश अनुसार फुलकोर्टलाई पनि जवाफ पठाउने सचिवालयका महासचिव भरत गौतमले पत्रमार्फत् नै सर्वोच्चलाई जानकारी दिएका छन्।

काठमाडौं:  साताको पहिलो कारोबार दिन नै नेप्से सूचकमा झन्डै ३२ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज आइतबार सेयर बजार परिसूचक नेप्से ३१.९७ अंकले घट्दै १८८५.३१ अंकमा झरेको हो । यसदिन १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे हुनपुगेको छ । झण्डै ३२ अंकले घटेको बजारमा आज १ अर्ब १० करोड ३४ लाख रूपैयाँ बराबरको ३५ लाख १२ हजार ८३४ कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी शिभम् सिमेन्टको १० करोड ९३ लाख ६७ हजार ९२६ रुपैयाँ बराबरको ५२९ कित्ता सेयर कारोबार भएको छ ।  आज सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट (१० प्रतिशतले वृद्धि) लागेको छ भने सुमिट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । यता नाडेप लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य भने आज पनि १० प्रतिशतले घट्न पुगेको छ । 

कैलाली:  कैलालीको सहजपुर–विपीनगर–बोगटान सडकको २९ किलोमिटर कालोपत्रको काम पूरा भएको छ । पचास किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको चार वर्षमा २९ किलोमिटर मात्र कालोपत्रको काम पूरा भएको हो । वि.सं २०७५ फागुनमा ५० किलोमिटर सडक कालोपत्रका लागि ३६ महिनामा सडक निर्माणको काम पूरा गर्न ठेक्का सम्झौता भएकामा २९ किलोमिटरको काम मात्र पूरा भएको हो ।  सडक निर्माणको समयावधि सकिँदा पनि कालोपत्रको काम पूरा नभएको सहजपुर–बोगटान सडक योजना कार्यालयले जनाएको छ । सो सडकको बाँकी कालोपत्रको काम चालू आर्थिक वर्षभित्रै सम्पन्न हुने सहजपुर–बोगटान सडक योजना कार्यालयका सूचना अधिकारी अशोक मल्लले बताए । कालोपत्र गर्ने काम जारी रहेकाले यो आर्थिक वर्षमा बाँकी सबै काम सम्पन्न हुने उनले बताए । सहजपुर–विपीनगर–बोगटान सडकको २९ देखि ३६ किलोमिटर सडक क्षेत्रमा कालोपत्रको काम बाँकी छ । यस्तै ३६ देखि ४५ किलोमिटरसम्म सडक चौडा पार्ने, पर्खाल निर्माण, वेस तथा सव–वेसको काम जारी रहेको मल्लले जानकारी दिए । विसं २०४४ देखि सहजपुर–विपीनगर–बोगटान सडकको ट्याक खोल्ने काम सुरु गरिएको थियो । कैलालीको सहजपुरदेखि डोटीको बडीकेदार गाडेबाँजसम्म ५० किलोमिटर सडक कालोपत्रका लागि ५ डिसेम्बर २०१८ मा पिएलआर–कुमार जेवीसँग सम्झौता गरिएको थियो । सम्झौताअनुसार १७ जुन सन् २०२१ मा सात मिटर चौडा कालोपत्र र कालोपत्रको दाँया–बाँया एकरएक मिटर सोल्जर ९ग्रावेल० सडक निर्माण गरिसक्नु पर्नेछ । एक्जिम बैंक अफ इन्डियाको ऋण सहयोगमा निर्माण हुन लागेको सो आयोजनाको सम्झौता रकम रु एक करोड ९६ लाख ९३ हजार तीन सय १२ अमेरिकी डलर रहेको छ ।

काठमाडौं:  साम्राज्ञी शाह अभिनित तीन फिल्म डेढ महिनाको अन्तरमा रिलिज हुँदैछन् । पुस २९ गते ‘तिम्रो मेरो साथ’, माघ २० गते ‘ह्यारीकी प्यारी’ र फागुन ५ गते ‘लण्डन टु पेरिस’ रिलिज हुनेछन् । छोटो समयमै फिल्म रिलिज हुने भएपछि उनको व्यस्तता र बक्स अफिस दबाब बढ्नेछ । यी तीन फिल्म चले सन् २०२२ भित्र ह्याट्रिक गर्ने साम्राज्ञीको मौका रहेको छ । यसैबीच, ‘तिम्रो मेरो साथ’मा साम्राज्ञीको बोल्ड अवतार भएको आइटम ट्रयाक सार्वजनिक भएको छ । यो रोमान्टिक फिल्ममा साम्राज्ञीले पुष्प खड्कासँग अनस्क्रिन रोमान्स गरेकी छन् । तन्नेरी पुस्तामाझ चर्चित २७ वर्षीया यी अभिनेत्रीको उक्त तस्वीर हट र स्मोकी महसुस हुनेछ ।  

पोखरा:  पोखरा महानगरपालिका वडा न ३० स्थित पशु तथा कृषि सेवा केन्द्रको सभाहलमा जगत कल्याण दुग्ध प्रशोधन केन्द्र सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।  सार्वजनिक सुनुवाईसँगै जगत कल्याण दुग्ध प्रशोधन केन्द्रको उत्पादित बस्तु बजारमा पनि आएका छन् ।  सार्वजनिक सुनुवाइ कार्यक्रममा कृषक, महिला,स्थानीय ब्यक्ति,पत्रकार तथा शेयरसदस्यहरुलाई दुग्ध प्रशोधन केन्द्रमा जडित यन्त्र तथा उपकरण,चारपांग्रे सबारी साधन लगायत केन्द्र परिसरको भौतिक संरचनाहरुको आयोजनाको उप आयोजना संचालन मार्गदर्शन अनुसार खरिद गरी जडित आधुनिक प्लान्टहरु द्वारा उत्पादित दुग्धजन्य पदार्थहरुको गठबन्दन बजारीकरण मार्फत स्थानीय उपभोक्ता तथा तनहुँ, लम्जुंग लगायतका जिल्लाहरुमा कल्याण ब्रान्डका दुग्ध पदार्थहरु बिक्रीवितरण गरिएको जानकारी दिएका थिए । वडा न.३० का वडाध्यक्ष दुर्गा प्रसाद सुबेदीले असल कर्मले मानिसलाई र समाजलाई अग्रगतीमा लैजाने प्रेरणा दिने बताए । उनले उपभोक्ताहरुको मागलाई ध्यान दिएर सम्बोधन गर्नुपर्ने बताए । महानगर कृषि समितिका अध्यक्ष संयोजक रबि रमण तिवारीले दूग्ध पदार्थ बजारीकरण गर्न आफ्नो ठाउँ बाट सहयोग गर्ने बताउदै सहकरिसंगा सहकार्य गर्न उत्सुक रहेको बताए । उनले गौसेवा मानब सेवा नै समाज सेवा भएकोले कसैले संस्थामा रहेर स्वार्थ लिन खोज्ने मान्छेसँग बच्नुपर्ने बताए ।  अध्यक्ष कलाधर ओझाको अध्यक्षतामा भएको कार्यक्रममा सचिव कृष्ण प्रसाद ओझाले आयोजनासँग सहकार्य गरी दुग्ध प्रशोधन केन्द्रद्धारा स्थानिय जनशक्तिलाई रोजगार दिनुको साथै आयोजना सम्झौतामा उल्लेख भए बमोजिमका मेसिन उपकरण तथा सवारी साधनको बिधि र प्रक्रिया पु¥याएर खरिद गरिएको र उत्पादन गर्दा चाहिने कच्चा पदार्थहरुको खरिद उप समितिद्धारा वस्तुको आपुर्ति गरी कास्की, तनहुँ र लम्जुङमा सेवा विस्तार गरिएको जानकारी सहित लागत र खर्चका विवरणहरु प्रस्तुत गरेका थिए ।  कोषाध्यक्ष शिब भुजेलले संस्थाका गतिविधि तथा आयोजना सञ्चालन सम्वन्धि जानकारी गराएका थिए । पशु तथा कृषि सेवा केन्द्रको सभाहलमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा उपस्थित कृषक शेयरधनी, महिलाहरुले उठाएका जिज्ञासाहरुको व्यवस्थापक, सचिव र कोषाध्यक्षले प्रष्ट पारेका थिए ।  लाइभस्टक इन्नोभेसन आयोजना विकेन्द्रीकरण सहयोग एकाईका वगिरथी कार्र्की , लेखनाथ उद्योग बाणिज्य संघका कोषाध्यक्ष भरतराज ओझा , शेयरसदस्य रामजी प्रसाद न्यौपाने लगाएतले स्थनीय किसानबाट संकलन गरिएको दूधलाई आफ्नै प्रसोधन केन्द्रमा अत्याधुनिक मेसिन उपकरणहरु ल्याएर प्रसोधन गरी आम उपभोक्ताहरुको मागलाई सम्बोधन गर्नुको साथै मौलिक उत्पादनले किसानको हौशला समेत बढाउने बताएका थिए । 

पोखरा:   पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौडास्थित स्कुल टोल विकास संस्थाको २१ औं साधारणसभा एवम् १० औं अधिवेशन एक कार्यक्रमका बीच आज सम्पन्न भएको छ ।      कार्यक्रमको पोखरा महानगरपालिका वडा नं ३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले उद्घाटन गर्नुभयो । उद्घाटन समारोहमा वडा अध्यक्ष कार्कीले समाजका हरेक गतिविधिमा सबैको साथ र सहयोग आवश्यक रहनेमा जोड दिनुभयो ।       संस्थाका अध्यक्ष इन्दबहादुर खत्रीले सबैको साथ र सहयोगमा टोलका विभिन्न सामाजिक गतिविधि बढाइएको भन्दै सहयोगी प्रति आभार व्यक्त गर्नुभयो ।      नेपाली काँग्रेसका नेता तथा समाजसेवी खेमराज अधिकारी, गणेशबहादुर खत्री लगायतले समाजमा यो वा त्यो रुपमा कसैप्रति विभेद नगरी एकतावद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।      अधिवेशनले समितिको आगामी कार्यकालका लागि बलराम केसीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । समितिका उपाध्यक्षमा अप्सरा घिमिरे, सचिवमा विद्या अधिकारी, कोषाध्यक्षमा लिला पराजुली, सह सचिवमा केशकुमारी थापा(ख) रहनुभएको छ । त्यस्तै सदस्यहरूमा नारायणी थापा, लक्ष्मी केसी, निला गुरुङ, संगिता ढकाल र मनिता केसी रहनुभएको छ । अधिवेशनका लागि खेमराज अधिकारीको संयोजकत्वमा गणेश केसी र पार्वती बस्नेत रहनुभएको निर्वाचन समिति गठन गरिएको थियो ।       नव निर्वाचित अध्यक्ष केसीले सबैको साथ र सहयोगमा टोलका विकास निर्माण लगायतका सामाजिक गतिवधि बढाउने विश्वास व्यक्त गर्नुभयो ।  

काठमाडौं:   सहरी विकास मन्त्री मेटमणि चौधरीले निर्माणधिन सरकारी संरचनामा भइरहेको ढिलाइप्रति गम्भीर असन्तुष्टि जनाएका छन् । शनिबार भैंसेपाटीमा निर्माणाधीन संघीय मन्त्री, सभामुख, मुख्यमन्त्री तथा प्रदेश प्रमुखका निवासहरुको स्थलगत निरिक्षण लगत्तै मन्त्री चौधरीले सम्बन्धित विभाग, ठेकेदार कम्पनीसँग छलफल गरेका छन् ।  ‘काममा किन ढिलाइ भइरहेको छ ? पाँच महिना पछि आउँदा पनि अवस्था किन उस्तै छ ? ढिलाइ गर्दा कमिसन बढ्छ ?’ मन्त्रीको प्रश्न सुनेर मुखामुख गरेका कर्मचारीले कोभिडका कारण ढिलाइ भएको बताएका थिए । ‘कोभिड त सकिएन र ?’ लगत्तै मन्त्रीले प्रश्न गरे । ‘स्थानीयले दुःख दिँदा काम गर्न सकिएन हजुर ।’ ‘के उपाय गरेर हुन्छ, काम छिटो सक्नुस् । मैले के गर्नु पर्‍यो मलाई भन्नुस् ।’ मन्त्रीको जवाफ थियो ।  त्यस लगत्तै सहरी मन्त्री चौधरी भैंसेपाटीबाट सिधै राजदरबार परिसरभित्र रहेको गणतन्त्र स्मारकको निरीक्षणमा हानिए । त्यहाँ पनि सोचे अनुरूप प्रगति नदेख्दा मन्त्री चौधरी थप असन्तुष्ट बने । सम्बन्धित पक्षलाई उनले छलफलका लागि आइतबार मन्त्रालयमा आउन निर्देशन समेत दिए ।

काठमाडौं:   काठमाडौंको कीर्तिपुरमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालक सशस्त्र प्रहरी जवान रतलाको मृत्यु भएको छ।  आइतबार बिहान ९ बजे चोभार गेटनजिकै बसले सरकारी मोटरसाइकललाई ठक्कर दिँदा सशस्त्र प्रहरी जवानको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।  दुर्घटनामा एपिएफ मुख्यालय हेडक्वार्टरमा कार्यरत जवान सुवास चन्द्र रतलाको मृत्यु भएको हो।  मोर्डन इन्डियन स्कुलको ना १ क १६१२ नम्बरको स्कुल बसले बागमती एएए २९०८ नम्बरको सरकारी मोटरसाइकललाई ठक्कर दिएको थियो। उनी निलबाराही गणमा जाँदै थिए।  ठक्करपछि घाइते भएका रतलालाई उपचारको लागि बल्खुस्थित बयोधा अस्पताल लगिएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको हो। बस र चालकलाई कीर्तिपुर प्रहरी वृत्तले नियन्त्रणमा लिएको छ।  प्रहरी वृत्त कीर्तिपुरबाट थप अनुसन्धान भइरहेको परिसरले जनाएको छ।