काठमाडौं: भारतीय फिल्म उद्योगमा फिल्म चलेन भने त्यसका अभिनेता अभिनेत्रीले केही हदसम्म पारिश्रमिक फिर्ता गरेका थुप्रै उदाहरण छन् । नेपाली फिल्म उद्योगमा पनि त्यसको सुरुवात भएको छ । नेपालमा फिल्म नचलेपछि पारिश्रमिक फिर्ता गर्ने परिपाटीको सुरुवात अभिनेता पुष्प खड्काले गरेका हुन् । अभिनेता खड्काले फिल्म ‘कृष्ण लीला’ फ्लप भएको कारण निर्माणलाई आफूले लिएको पारिश्रमिकको ३३ प्रतिशत फिर्ता गरेको बताएका छन् । बिहिबार फिल्म ‘तिम्रो मेरो साथ’ ले आयोजना गरेको एक कार्यक्रममा पुष्पलाई पत्रकारले प्रश्न सोधका थिए ‘‘कृष्ण लीला’ वर्षकै फ्लप फिल्म बन्यो । के तपाईले घोषणा गरे अनुसार पारिश्रमिक फिर्ता गर्नुभयो ? । कार्यक्रममा उनले निर्मातालाई आफूले लिएको पारिश्रमिकको ३३ प्रतिशत रकम फिर्ता गरेको बताए । उनले ‘कृष्ण लीला’ मा कति बुझेका थिए र कति फिर्ता गरेको भने बताएनन् । ‘मैले ३३ प्रतिशत पारिश्रमिक लिन बाँकी थियो’, पुष्पले भने ‘फिल्म फ्लप भएपछि त्यो लिएको छैन । त्यौ नै फिर्ता गरेजस्तै हो । अव त्यो लिन्न । नलिएपछि फिर्ता गरेजस्तै भनेर ?’ फिल्म प्रदर्शन समयमा आफूले गरेको त्यो बाँचा नबिर्सिएको समेत खड्काले सुनाए । ‘कृष्ण लीला’ मा खड्काको अभिनेत्री श्रद्धा क्षेत्रीसँग रोमान्स रहेको थियो । नेपाली अभिनेताहरूमा पारिश्रमिक चर्को लिने होडबाजी नै छ । जसले गर्दा नेपाली फिल्मको निर्माण लागत ह्वात्तै बढेको छ । तर, पारिश्रमिक चर्को लिने कलाकारले फिल्म नचलेपछि पारिश्रमिक फिर्ता गर्नु त टाढाको कुरा असफलताको दोष लिन समेत तयार हुँदैनन् । पुष्पले भने फिल्म नचले पारिश्रमिकको केही प्रतिशत रकम फिर्ता गरेर फिल्म उद्योगमा आफूलाई एउटा जिम्मेवार अभिनेताको रुपमा प्रमाणित गरेका छन् ।
धनगढी: बैतडीमा जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । शुक्रबार बिहान पाटन नगरपालिका–१० डंसेलीमा से१ज ८१६ नम्बरको जिप दुर्घटना हुँदा डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ उकालीका ३५ वर्षीय चालक तेजबहादुर साउदको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सडकबाट जिप अन्दाजी १५० मिटर तल खसेको छ । जिपमा चालकबाहेक अरु कोही पनि सवार नरहेको प्रहरीले जनाएको छ । डडेल्धुराको अनारखोलीबाट बैतडीको डंसेली हुँदै घर फर्कने क्रममा साउदले चलाएको जिप कच्ची सडकमा दुर्घटनामा परेको हो ।
काठमाडौं: सर्वोच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा पारिएको छ । सम्भावित अप्रिय घटना नहोस् भनेर सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई संघीय संसदका महासचिव भरतराज गौतमले निलम्बन फुकुवाको पत्र दिएको विरोधमा कानुन व्यवसायीहरु आन्दोलित भएपछि सुरक्षा व्यवस्था कडा पारिएको हो । सर्वोच्च अदालत भित्र र बाहिर उल्लेख्य संख्यामा सुरक्षाकर्मी तैनाथ छन् । सर्वोच्च अदालत अगाडिको सडक रामशाहपथमा सुरक्षाकर्मीका तीनवटा ट्रकहरु छन् । सर्वोच्च अदालतभित्र अनधिकृत व्यक्ति प्रवेश नगरुन् भनेर पनि चेकजाँच कडा पारिएको छ । आगन्तकुहरुलाई प्रहरीले उनीहरुको परिचय पत्र हेरेर र भित्र जानुको कारणबारे सोधेर मात्रै प्रवेश गर्न दिएको छ । सर्वोच्च अदालतमा प्रधानन्यायाधीश प्रवेश गर्ने गेटमा भने ताला लगाएर बन्द गरिएको छ । नेपाल बार एशोसिएसनको भवनतर्फबाट सर्वोच्च अदालतभित्र पैदल हिँडेर जाने गेट भने खुला छ । त्यहाँ पनि सुरक्षाकर्मीहरु तैनाथ छन् । कानुन व्यवसायीहरु नेपाल बारको भवनतर्फबाट सर्वोच्च परिसरमा आइसकेका छन् । उनीहरुले प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत परिसरभित्र प्रवेश गर्न नदिने र आज पनि धर्नामा बस्ने जनाएका छन् । सत्तारुढ गठबन्धनका सांसदहरूले महाअभियोग प्रस्ताव दर्ता गरेपछि जबरा १ फागुन २०७८ देखि निलम्बनमा थिए । तर संघीय संसदका महासचिव गौतमले यही मंसिर २१ गते महाअभियोग निष्प्रभावी भएको पत्र दिएका थिए । त्यसविरुद्ध कानुन व्यवसायीहरुले सोही दिन सर्वोच्च परिसरमा धर्ना दिएका थिए । सर्वोच्चको पूर्ण बैठकले पत्र नै लेखेर कुन संवैधानिक र कानुनी आधारमा महाअभियोग निष्प्रभावी भएको हो भनेर संसदका महासचिवसँग जवाफ मागेको छ । सर्वोच्च अदालतको पत्रको जवाफ शुक्रबार नै संघीय संसदका महासचिव गौतमले दिनुपर्नेछ । जबराको निलम्बन फुकुवा हुने भनी संघीय संसदका महासचिव गौतमले दिएको पत्रविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनुवाइ समेत हुँदैछ ।
पोखराः बुक वर्म फाउण्डेशनको आयोजनामा हुने लिटरेचर फेस्टिभललाई सम्बोधन गर्न नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली आउने भएका छन् । फाउण्डेशनको आयोजनामा आगामी पुस ६ गतेदेखि १० गतेसम्म पोखरा लेकसाइडको बाराही घाट नजिक फेवाताल किनारमा सञ्चालन हुने १० औं संस्करणको नेपाल लिटरेचर फेस्टिभलमा पूर्वप्रधानमन्न्री ओली पोखरा आउने भएका हुन् । ओलीले लिटरेचर फेस्टिभल वक्ताका रुपमा सहभागी हुने पक्का गरेको फेस्टिभल निर्देशक नीरज भारीले जानकारी दिए । भारीका अनुसार ओलीसँग फेस्टिभलमा गैरराजनीतिक विषयमा कुराकानी हुनेछ । अन्नपूर्ण पोस्टका प्रधान सम्पादक अखण्ड भण्डारीले ओलीसँग जीवन र जगत तथा प्रेम लगायत विषयमा कुराकानी गर्नेछन् । फेस्टिभलका निर्देशक भारीले ओलीलाई निम्तो गरेको बिहिबार फेसबुकमा पोस्ट गरेका छन् । (नेपाल लिटरेचर फेस्टिभल)को दशौँ संस्करणका वक्ताहरूलाई निम्तो दिने क्रममा सम्माननीय पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीज्यूलाई मैले भेटें । उहाँले मसँग, तपाईंको कार्यक्रममा १५ मिनेटअघि नै आउँछु भन्नुभयो ।’ फेस्टिभलमा आउँदो पुस ७ गते हामीले ओलीज्यूको गैर-राजनीतिक व्यक्तित्वबारे सुन्नेछौं ।
पोखरा: बैदाम तामाङ सेवा समाज पोखरा ६ बैदामको ११औं साधारण सभा सम्पन्न भएको छ । बिहिवार लेकसाइडको खहरेमा रहेको पेमा ढेचेलिङ गुम्बामा साधरणसभा सम्पन्न भएको हो। साधारण सभामा नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिका अध्यक्ष रामबहादुर ह्लोन शिबुले बैदाम तामाङ समाज राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा परिचित रहेको बताए । उनले समाजले आयोजना गर्ने मिस तामाङ्कले पनि तामाङ समुदायको पहिचान जोगाउन सफल रहेको जनाए । अध्यक्ष ज्याक तामाङले समाजले तामाङ जातिको पहिचान हुने सबै कार्यक्रमहरु गर्दै आएको बताए । उनले समाजका युवाहरुलाई समय परिस्थिति अनुकुल शिक्षा र तालिमहरु दिदै जाने जनाए । रेडियो अन्नपूर्णका स्टेशन म्यानेजर सञ्जयकुमार मल्लले तामाङ समुदायको भाषा, संस्कृती लगाएतका अन्य पक्षहरुको संरक्षण आवश्यक रहेकोमा जोड दिए । कार्यक्रममा पूर्व उपाध्यक्ष जयन्ती मेक्तान, सल्लाहकारहरु धनबहादुर तामाङ, कृष्णबहादुर तामाङ र नेपाल तामाङ घेदुङ बैदामका पूर्व अध्यक्ष दोर्जे तामाङ लगाएतले बोलेका थिए । कार्यक्रममा सचिव निमा तामाङले बार्षिक प्रतिवेदन प्रस्तुत गरेकि थिइन भने कविता योञ्जनले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गरेकि थिइन भने दुबै प्रतिवेदन पारित गरिएको थियो । यसका साथै भेलाले गुम्बाको प्रमुखमा लामा गुरु प्रेमबहादुर तामाङलाई नियुक्त गरेको छ । मनोज लामाको नेतृत्वमा सात सदस्यीय तम्बा टोलि गठन गरिएको छ ।
बागलुङ: पहिलो याममा ढोरपाटन सिकार आरक्षको विभिन्न ब्लकमा सात नाउर र पाँच झारलको सिकार भएको छ । नेपालका चार सिकार कम्पनीमार्फत आएका विदेशी सिकारीले यस पटक निर्धारित कोटा भन्दा एक वटा वन्यजन्तुको कम सिकार गरेका छन् । पहिलो सिकार यामको लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ६ वटा झारल र आठ वटा नाउरको कोटा निर्धारण गरिएको थियो । यस पटक एक वटा नाउरको सिकार हुन सकेन । एक नाउरको अनुमति प्राप्त गरे पनि ग्लोबल फारिसज प्रालिबाट सिकार गर्न जानुभएका अमेरिकी नागरिक निकोलस भाइन्सेन्ट रोड्रिगेजले बार्से सिकार ब्लकमा नाउरको सिकार गर्न चुक्नुभयो । यो सिकार याममा नेपाल ट्राभल्स एक्सपिडिसनमार्फत् अमेरिकी नागरिक वारर्डी ग्यारेट भानहोस्ले घुस्तुङ ब्लकमा एक नाउरका सिकार गर्नुभएको छ । हिमालयन सफारीमार्फत शिकारमा जानुभएको मेक्सिकोका सिकारी ओस्कार अलेक्जेन्डरले सुनदह र सेङ ब्लकमा एक झारल र एक नाउर, मेक्सिकोका सिकारी माउरीको जेभरले दोगाडी ब्लकमा एक झारल र एक नाउर र अमेरिकी सिकारी टलाएर लि इस्टनले दोवाडी ब्लकमा एक नाउर र झारलको सिकार गरेको ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिनुभयो । ग्लोबल सफारीमार्फत सिकारमा जानुभएका क्यानेडियाली सिकारी एडमन मिचेल रुक्सले फागुने ब्लकमा एक नाउर, जर्मनीका सिकारी इरिक डिटररिजरिष्टले फागुने ब्लकमा एक झारलको सिकार गर्नुभयो । ट्याक एण्ड ट्राभल्समार्फत सिकारमा निस्कनुभएका अमेरिकी सिकारी जोफ्रे माथेवप्राजिले दोगाडी र घुस्तुङमा गरी एक झारल र एक नाउर तथा अर्का अमेरिकी सिकारी मिचल कुर्तच्याम्पमेनले घुस्तुङ ब्लकमा एक झारल र एक नाउरको सिकार गरेको प्रमुख संरक्षण अधिकृत कँडेलको भनाइ छ । ढोरपाटनमा सिकार गरेपछि अधिकांश सिकारीले मासु खाएर सिङ, खुर र छाला मात्रै आफ्नो देशमा लैजान्छन् । अन्तर्राष्ट्रिय तहमा हुने प्रतियोगितामा उनीहरूले सिङको प्रतिस्पर्धा गरेर ट्रफी जित्ने गरेका छन् । सिकार अनुमति प्राप्त कम्पनीले १५ दिनको अवधिमा आरक्षबाट खटिएका कर्मचारीको प्रत्यक्ष निगरानीमा सिकार गर्न पाउँछन् । आरक्षलाई सुनदह, सेङ, दोगाडी, बार्से, फागुने, सुर्तिवाङ र घुस्तुङ गरी ७ ब्लगमा विभाजन गरी सिकार खेल्न दिने व्यवस्था गरिएको छ । हरेक वर्ष असोज–मरसङ र फागुन–वैशाख गरी दुई सिजनमा सिकार हुन्छ । विभागले गराउने अन्तर्राष्ट्रिय बोलपत्रको प्रतिस्पर्धाबाट छानिएका कम्पनीले विदेशी व्यावसायिक सिकारीलाई नेपाल भित्र्याउँछन् । यो याममा सिकारीले एउटा नाउरको २० लाख र झारलको छ लाख रुपियाँ राजश्व तिरेका थिए । सिकार पर्यटनबाट प्रतिवर्ष करोडौँ रुपियाँ राजश्व ढुकुटीमा जम्मा हुन्छ । सिकार कम्पनीको प्रतिस्पर्धाका आधारमा सिकारको राजश्व दर घटबढ हुने हो । सिकार पर्यटनमा विश्वका प्रसिद्ध सिकारी लाखौँ खर्च गरेर ढोरपाटन पुग्छन् । उनीहरू हेलिकप्टरमार्फत त्यहाँ पुग्ने गरेका छन् । आधार शिविरबाट आरक्षका प्रतिनिधि, पथप्रदर्शक, भरिया र सहयोगीसहित सिकार ब्लकमा पुग्छन् । आधार शिविरबाट दुरीले टाढा र कठिन भूगोल भएका ब्लकमा पुग्न दुईरतीन दिनसम्म लाग्न सक्छ ।
सिन्धुली: बारी र बगैँचामात्र होइन, सिन्धुलीका मुख्य चोक र बजार क्षेत्र पाकेका जुनारले पहेँलपुर भएका छन् । किसान र व्यापारीलाई जुनार किनबेच गर्न भ्याइनभ्याइ छ । गोलञ्जोर गाउँपालिका–५ खनियाखर्क बजारमा जुनार बिक्रि गर्न किसानको घुइचो नै लाग्ने गरेको छ । वीपी राजमार्ग सञ्चालनमा आएसँगै जुनारको कारोबारमा वृद्धि भएको व्यापारी सावित्रा थापामगरले जानकारी दिइन्। उनी विगत १५ वर्षदेखि जुनार बेच्दै आएका छन् । ‘यहाँ सुन्तला कम बिक्री हुन्छ, जुनारको व्यापार गज्जब छ’, उनले भने । विगत वर्षमा भदौदेखि नै जुनार बेच्ने गरेकामा यसवर्ष स्थानीय तहले हरियो जुनार बेच्न रोक लगाएको थियो । कात्तिकदेखि मात्र पाकेको जुनार बजारमा बिक्री हुन थालेको हो । विभिन्न ठाउँ आवातजावत गर्ने यात्रु नै जुनारका मुख्य ग्राहक हुन् । ‘यहाँको जुनारलाई यात्रुले कोशेलीका रुपमा लैजाने गरेका छन्’, स्थानीय व्यापारी लक्ष्मी सापकोटाले भनिन्। एकै दिनमा रु ५० हजारसम्मको जुनार बिक्री हुने गरेको उनले बताइन् । किसानले कात्तिकदेखि जुनार बिक्री गर्न बजारमा ल्याउँछन् । शीत भण्डारमा राखेको जुनार वैशाखसम्म बेच्न सकिने सापकोटाले बताए । विगत १६ वर्षदेखि जुनार बेच्दै आएकी रत्नकुमारी मगरले विचौलियाले अन्यत्रको जुनारलाई सिन्धुलीको भनेर बिक्री गर्न थालेको गुनासो गरिन् । उनी जुनार बेचेर वर्षको रु एक लाख बचत गर्छिन्। खनियाखर्क बजार आसपासमा मात्रै तीस जनाभन्दा बढी जुनार व्यापारी र व्यवसायी छन् । जुनारको मूल्यमा भने एकरुपता छैन । मुख्य बजारमा व्यापारीले प्रतिकिलो रु ६५ देखि रु ७० सम्ममा किसानसँग खरिद गरी रु ८० देखि रु १२० सम्ममा जुनार बिक्री गर्दै आएका छन् । गोलञ्जर गापाउँपालिका–६ नाकाजोलीका नविन हायुले जुनार बेचेर यसवर्ष रु सात लाख २० हजार आम्दानी भएको बताए । उनको बगैचामा एक हजार पाँच सय जुनारका बोट रहेका छन् । किसानको बगैचामै गएर ठेकेदार र व्यापारीले जुनार खरिद गर्ने गरेका छन् । जुनार बोटमै ठेक्का लागेकाले बजारमा गएर बेच्नुपर्ने झन्झट छैन । जिल्लामा कोकाकोला र फेन्टाको विकल्पमा जुनारको जुस प्रयोग हुन थालेको छ । जुनारलाई प्रशोधन गरी बनाइएको जुस काठमाडौँ, जनकपुर, विराटनगरलगायत ठाउँमा बिक्रीका लागि लैजाने गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइका प्रमुख रमेश हुमागाईका अनुसार जिल्लामा एक हजार ३४५ हेक्टरमा जुनार खेती गरिँदै आएको छ । पूर्व पश्चिमसम्म फैलिएको महाभारत क्षेत्रमा जुनारको व्यवसायिक खेती गर्ने क्रम बढ्दै गएको उनी बताउँछन् ।
काठमाडौं: त्रिभुवन विश्वविद्यालय आगामी फागुनमा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारीमा जुटेको छ। विसं २०६५ देखि नियमित हुन नसकेको स्ववियु निर्वाचन यसपटक निर्धारित मिति आगामी फागुन १४ गते गर्ने तयारीमा त्रिवि रहेको छ। त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले सबै निर्वाचन सकिएकाले अब त्रिवि स्ववियु निर्वाचनको तयारीमा लाग्ने बताए। ‘सबै निर्वाचन सकिए, अब हामी पनि नियमित हुननसकेको स्ववियु निर्वाचनको तयारीमा लाग्छौँ। सबै विद्यार्थी सङ्गठनसँग छलफल गरेर फागुनमा निर्वाचन गर्ने तयारीमा हामी जुट्छौं,’ उनले भने। त्रिवि क्याम्पसमा विगत लामो समयदेखि स्ववियु निर्वाचन हुन सकेको छैन। प्रत्येक दुई÷दुई वर्षमा हुने निर्वाचन २०६५ सालयता नियमित हुनसकेको छैन। त्रिविले शैक्षिक क्यालेण्डरमा नै हरेक दुई वर्षमा फागुन १४ गते स्ववियु निर्वाचनको कार्यतालिका राखेर निर्वाचन गराउँदै आएको थियो। विसं २०६५ सम्म नियमित हुँदै आएको निर्वाचन अहिले भने रोेकिएको छ। विसं २०६५ चैत ६ गतेपछि एकै पटक आठ वर्षमा २०७३ चैत १५ गते भएको थियो। त्यतिबेला देशभरि त्रिविका ६२ आङ्गिक क्याम्पसमध्ये रत्नराज्य क्याम्पस (आरआर), जनप्रशासन क्याम्पससहित उपत्यकामा नौ वटा आङ्गिक र उपत्यका बाहिर १७ क्याम्पसमा मात्र स्ववियु निर्वाचन भएको थियो। यस्तै उपत्यकाका १३ क्याम्पस र उपत्यका बाहिर २३ आङ्गिक क्याम्पसमा निर्वाचन हुन सकेको थिएन। त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस रहेका छन्। खेलकुद निर्देशनालयका निर्देशक अधिकारीले मुलुकमा नयाँ सरकार गठन लगत्तै सरकारको सहयोगमा नै स्ववियु निर्वाचन गरिने बताए। ‘स्ववियु निर्वाचन निर्धारित मितिमा हुनुपर्दछ भन्नेमा त्रिवि र सबै विद्यार्थी सङ्गठन रहेका छन्। निर्वाचन गर्नका लागि विद्यार्थी सङ्गठनबीच समेत हामीले छलफल जारी राखेका छौं,’ उनले भने। अठाईस वर्ष उमेरहद र मिश्रित निर्वाचन प्रणाली लागू भएपछि त्रिविका क्याम्पसमा नियमति स्ववियु निर्वाचन भएको छैन। पछिल्लो पटक उमेरहद र मिश्रित निर्वाचन प्रणाली लागू भएपछि पहिलो पटक विसं २०७३ मा आंशिक रुपमा केही क्याम्पसमा मात्र निर्वाचन भएको थियो। त्रिविले स्ववियु निर्वाचन गर्न पटक–पटक पहल गरे पनि हुनसकेको छैन। नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पाले स्ववियु निर्वाचनको तयारीमा आफूहरु रहेको बताए। ‘हामी फागुनमा नै स्ववियु निर्वाचन गर्न तयारीमा रहेका छौँ, हाम्रो सङ्गठन र पार्टीका नेता पनि सकारात्मक हुनुहुन्छ। सबै सङ्गठनको बैठक राखेर स्ववियु निर्वाचन गर्न त्रिविलाई आग्रह गर्छौँ,’ उनले भने। उनले आफ्नो सङ्गठनको बैठक राखेर स्ववियु निर्वाचनमा जाने निर्णय गर्ने बताए। अध्यक्ष शेर्पाले आफूहरु त्रिविले तोकेको स्ववियु निर्वाचनको मापदण्ड उमेरहद र निर्वाचन प्रणाली मानेर निर्वाचनमा जान तयार रहेको बताए। त्रिविले स्ववियु निर्वाचनका लागि २८ वर्षे उमेरहद र सभापति, सचिव तथा कोषाध्यक्ष प्रत्यक्ष निर्वाचन तथा उपसभापति र सहसचिव समानुपातिक एवं ५० प्रतिशत सदस्य समानुपातिकबाट चयन हुन्छन्। स्ववियु निर्वाचन नहुँदा अहिले त्रिवि सभामा पनि विद्यार्थीको उपस्थिति रहेको छैन। अनेरास्ववियु (क्रान्तिकारी) का अध्यक्ष पञ्चा सिंहले प्रमुख विद्यार्थी सङ्गठनका पदाधिकारीसँग स्ववियु निर्वाचन निर्धारित समयमा गर्नका लागि छलफल गरेको बताइन्। ‘स्ववियु निर्वाचन नहुँदा विद्यार्थीको आन्तरिक लोकतन्त्रको अभ्यास गर्न पाएका छैनन्। मेरो विद्यार्थी सङ्गठनका पदाधिकारीसँग छलफल भएको छ, निर्वाचन गर्न सबै सङ्गठन तयार रहेका छन्, यो वर्षमा स्ववियु निर्वाचन गर्न सम्भव हुन्छ,’ उनले भनिन्। उनले अब हारजित हुने डरले भन्दा पनि स्ववियु निर्वाचन मुख्य कुरा भएकाले निर्धारित समयमा नै निर्वाचन गराउन सबै लाग्ने बताइन्। अध्यक्ष सिंहले आफ्नो सङ्गठनको तेस्रो केन्द्रीय समितिको बैठकबाट निर्णय गरी त्रिविलाई निर्धारित समयमा स्ववियु निर्वाचन गर्न भनेर ज्ञापन पत्र बुझाएको बताइन्। अनेरास्ववियु महासचिव समिक बडालले सबै निर्वाचन सकिएको अवस्थामा अब विद्यार्थी सङ्गठन स्ववियु निर्वाचनमा लाग्ने बताए। उनले स्ववियु निर्वाचन नहुँदा त्रिविको शैक्षिक क्यालेण्डर अस्तव्यस्त र विद्यार्थीले आफ्नो हकअधिकार प्रयोग गर्न नपाएको बताए। उनले चाँडै नै सबै विद्यार्थी सङ्गठनसँग छलफल गरेर निर्धारित समयमा नै स्ववियु निर्वाचन हुनुपर्ने धारणा सार्वजनिक गर्ने बताए। आरआर क्याम्पसका निवर्तमान स्ववियु सभापति तपेन्द्र शाहीले वैचारिक नेतृत्व उत्पादन गर्ने थलोका रुपमा स्ववियु निर्वाचन नहुँदा राजनीतिक दल र मुलुकलाई नै घाटा भएको बताए। उनले स्ववियु निर्वाचन नहुँदा शैक्षिक आन्दोलनलाई नोक्सान हुनुका साथै विद्यार्थीका हक अधिकार उठाउने ठाउँ नभएको बताए। निर्धारित मितिमा निर्वाचन हुन्छ: त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक अधिकारीले त्रिवि पनि स्ववियु निर्वाचन गर्न आतुर रहेको बताए। ‘विद्यार्थीको आधिकारिक नेतृत्व नहुँदा त्रिवि र क्याम्पसको नीति निर्माण र व्यवस्थापनमा समस्या आइरहेको छ’, उनले भने, ‘त्यसैले हामी निर्धारित मिति फागुन १४ गते निर्वाचन गर्न आतुर छौं।’ निर्देशनालयका निर्देशक अधिकारीले स्ववियु निर्वाचनका सम्बन्धमा विद्यार्थी सङ्गठनसँग पनि निरन्तर छलफल गरिरहेको बताए। उनकाअनुसार विसं २०१९ बाट त्रिविमा विद्यार्थीको प्रतिनिधित्व हुँदै आएको थियो। विसं २०३६ बाट स्ववियु निर्वाचन व्यवस्थित रुपमा प्रत्येक दुईरदुई वर्षमा हुँदै आएको छ।
गुल्मी: नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवाली निर्वाचनमा पराजित भए पनि मतदातालाई धन्यवाद दिन गाउँगाउँमा पुगेका छन् । मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा गुल्मी–१ मा नेपाली कांग्रेसका चन्द्र भण्डारीसँग १५ सय मतान्तरले ज्ञवाली पराजित भएका थिए । ज्ञवालीको धन्यवाद कार्यक्रम जिल्लामा एक सातासम्म सञ्चालन हुने नेकपा एमाले गुल्मीका जिल्ला कमिटी सदस्य काशी पाण्डेले बताए । चुनावका बेला मत माग्न पुगेका चुनाव क्षेत्रका बिभिन्न स्थानमा पुगेर मतदातालाई धन्यवाद दिने कार्यक्रम राखिएको पाण्डेले बताए । मतदातालाई धन्यवाद दिन गाउँगाउँमा पुगेका ज्ञवालीले जित हार स्वाभाविक प्रक्रिया भएको बताए । तर जनताको विश्वासलाई कहिल्यै टुट्न नदिने गरी जिल्लाको विकासका लागि हर बखत लागिरहने उनको भनाइ छ । गुल्मीबाट ०५६ सालदेृखि चुनाव लडदै आएका ज्ञवाली ०५६, ०६४, ०७४ सालमा निर्वाचित भएका थिए ।