पोखरा:  पोखरा र बागलुङबाट एक थास प्रकाशित हुँदै आएको ढोरपाटन दैनिक २३ औं वर्षमा प्रवेश गरेको छ ।  आफ्नो २३ औं वार्षिकोत्सव आइतबार एक समारोहका बिच पोखरामा मनाइएको छ । सोही क्रममा कार्यक्रमको उ...

पोखरा:  बेनेली मोटरसाइकलको आधिकारिक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङले सोमबार पोखराको नयाँ बजारमा बेनेली मोटरसाइकलको नयाँ एक्सक्लुसिभ शोरुम र सर्भिस सेन्टर खोलेको छ।  बेनेलीले आफ्ना ग्राहकहरूको पहुँच बढाउन नेपालभर विभिन्न स्थानहरूमा शोरुमहरू खोल्ने प्रयास जारी राखेको बताएको छ। अहिले नेपालको विर्तामोड, दमक, विराटनगर, लहान, कल्याणपुर, गोलबजार, जनकपुर, मलंगवा, छपुर, हेटौंडा, सिमरा, वीरगञ्ज, चितवन, बुटवल, घोराही, नेपालगञ्ज, धनगढी, सुर्खेत, कुपण्डोल, भक्तपुर, गैरीधारा र पोखरा लगायतका २२ वटा शोरुम छन्। पोखरामा नयाँ शोरुम १८ सय वर्गफुटमा निर्माण गरिएको छ जसमा ५० वर्गफुट स्पेयर पार्ट्स र १५ सय वर्गफुट सर्भिस सेन्टरको लागि व्यवस्थापन गरिएको बताइएको छ।  यो शोरुममा ३ एस सुविधा सम्पन्न रहेको छ र यहाँ सबै नयाँ बेनेली मोटरसाइकलहरू उपलब्ध हुने कम्पनीले बताएको छ।  पोखरामा नयाँ शोरुम खोलेसँगै ग्राहकहरूलाई थप उपलब्धता र गतिशीलता प्रदान गर्ने कम्पनीको विश्वास छ। बेनेलीले नयाँ शोरुमको उद्घाटनको उपलक्ष्यमा ३० हजार रुपैयाँ छुट, एक्सचेन्जमा न्यूनतम मूल्यांकन ४० हजार न्यूनतम डाउन पेमेन्ट  ६० हजार र ५० प्रतिशत डाउन पेमेन्टको साथ फाइनान्सिङमा ० ब्याजदर प्रदान गर्ने बताइएको छ।  साथै, विद्यमान ग्राहकहरूका लागि बेनेलीले निःशुल्क वाश, श्रम शुल्कमा ५० प्रतिशत छुट र लुब्रिकेन्टमा १५ प्रतिशत छुट समावेश गर्ने सर्भिस क्याम्प सञ्चालन गर्ने भएको छ।  बेनेली एक इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड हो जुन १९९१ मा स्थापित भएको हो र यसले प्रिमियम, बीग–बोर, स्पोर्टस्, र नेकेड बाइकहरू निर्माण गर्छ जुन बलियो र स्पोर्टी दुवै छ।  यो इटालीको सबैभन्दा पुरानो मोटरसाइकल उत्पादक मध्ये एक हो।  नेपाली बजारमा टिएनटी १३५, टीएनटि १५, पनेरा १२५, टिएनटी १५० आई, १८० एस, १८० एस नियोन, ३०२ एस, ३०२ एस नियोन, टिआरके २५१, ६०० आई र ७५२ एस मोडलहरू उपलब्ध छन्।  यी मोडलहरू नेकेड, कम्युटर, स्कुटर र टुरिङ विधाका रहेका कम्पनीको भनाइ छ। 

काठमाडौं:  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२औं तहको अतिरिक्त स्वास्थ्य सचिवका लागि बढुवा प्रक्रिया अघि बढाएको छ । १२ औँ तहका डा. श्यामसुन्दर यादव र डा. गुणराज लोहनीले अवकाश पाएपछि दुई दरबन्दी रिक्त छ । स्रोतका अनुसार ती दुई दरबन्दीमा प्रतिस्पर्धा गर्न योग्यता पुगेका २१ जनाले व्यक्तिगत विवरण बुझाएका छन् । मन्त्रालयको बढुवा समितिले गत ३० कात्तिकमा सूचना जारी गर्दै अतिरिक्त स्वास्थ्य सचिवका लागि योग्यता पुगेकाहरुलाई १५ दिनभित्र व्यक्तिगत विवरण बुझाउन भनेको थियो । विवरण बुझाउनेमा प्रदेश अस्पताल भद्रपुरका डा.टंक बराकोटी, राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. सुधा देवकोटा, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. बासुदेव उपाध्याय, लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. विकास देवकोटा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. कृष्णप्रसाद पौडेल, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिल शर्मा र गण्डकी प्रदेश स्वास्थ्य तालिम केन्द्रका डा.विनोदविन्दु शर्माले विवरण बुझाएका छन् । यसैगरी, बागमती स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्का, स्वास्थ्य विभाग नर्सिङ महाशाखा प्रमुख गोमा निरौला, नारायण ढकाल, डा. सञ्जय ठाकुर, कान्ति बाल अस्पतालका डा. अजित रायमाझी, स्वास्थ्य निर्देशनालय लुम्बिनीका डा. विनोदकुमार गिरी, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. मनिषा रावल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. श्रीकृष्ण श्रेष्ठ, वीर अस्पतालका डा. सरोज शर्मा, परोपकार प्रसुति अस्पतालका डा. आमिरबाबु श्रेष्ठले पनि व्यक्तिगत विवरण बुझाएका छन् । भेरी अस्पतालका डा. राजन पाण्डे, राष्ट्रिय ट्रमा सेन्टरका डा. रुद्र मरासिनी, भेरी अस्पतालकी दुर्गालक्ष्मी श्रेष्ठ, कर्णाली प्रदेश अस्पतालका डा. केशरबहादुर ढकालले पनि बढुवाका लागि व्यक्तिगत विवरण पठाएका छन् । निर्धारित समयमा विवरण बुझाउने २१ जनामध्ये बढुवा समितिले तीन जनाको नाम मन्त्रिपरिषदमा पठाउनेछ । जसमध्ये दुई जना बढुवा हुने छन् । १२ औं तहको अक्तिरिक्त स्वास्थ्य सचिवमा बढुवामार्फत मात्र पदपूर्ति हुने व्यवस्था छ । ११औं तहमा कम्तीमा ५ वर्ष सेवा गरेका विशेषज्ञहरू १२ औं तहमा बढुवाका लागि योग्य हुन्छन् । बढुवा कार्यक्षमता मूल्यांकनका आधारमा हुने व्यवस्था छ । पछिल्लो ५ वर्षको कार्यसम्पादन मूल्यांकन र अन्य ज्येष्ठता, भौगोलिक क्षेत्रमा काम तथा शैक्षिक योग्यता र तालिमबापत कर्मचारीले प्राप्त गरेको अंकका आधारमा योग्यताक्रममा अब्बल व्यक्तिलाई मन्त्रिपरिषद्ले १२ औं तहमा बढुवा गर्ने छ ।

लेखनाथ:  पोखरा महानगरपालिका वडा नं. २६ स्थित प्रगतीटोलको सडक ढलान तथा नाला निर्माण योजनाको सोमबार वडाध्यक्ष नरेन्द्र थापाले शुभारम्भ गरेका छन् ।   सडक निर्माणको शुभारंभ कार्यक्रममा बोल्दै वडाध्यक्ष थापाले सडक तथा नाला निर्माणको गुणस्तरमा ध्यान दिन उपभोक्ता समितिलाई आग्रह गरे ।  अध्यक्ष थापाले वडा नंं २६ ले पिछडिएको क्षेत्रबाट विकास निर्माणको काम थालनी गरेको बताउँदै, सडक महानगरकै नमूना सडक हुने विश्वास व्यक्त गरे ।  वडाध्यक्ष थापाले सडक तथा नाला निर्माण सँगै हरियाली प्रवद्र्धनमा पनि बिशेष ध्यान दिन आग्रह गरे । सडक वडाले विनियोजन गरेको महानगरस्तरिय योजना मध्येको ठुलो योजना भएको उल्लेख गर्दै, निर्माणको गुणस्तर कायम गर्न वडाका प्राविधिकको सहयोग र जनप्रतिनिधिको निगरानी रहने बताए ।  कार्यक्रममा वडा सदस्य तीर्थबहादुर राजभाटले आर्थिक संकटको समयमा पनि उपभोक्ताले ठुलो हिस्सा रकम उठाएर योजना निर्माणमा चासो दिएको उल्लेख गरे ।  सडकका लागि वडा नं. २६ ले महानगरस्तरिय योजना अन्र्तगत ६५ लाख रुपैया विनियोजन गरेको छ । भने उपभोक्ताको तर्फबाट २७ लाख ८६ हजार रुपैया  रुपैया गरी कुल ९२ लाख ८६ हजार रुपैयाको लागतमा सडक निर्माण हुन लागेको हो । ७ सय मिटर लम्बाई र ६ मिटर चौडाईको सडक निर्माणका लागि प्रसाद गुरुङ्गको अध्यक्षतामा उपभोक्ता समितिको गठन भएको छ ।  कार्यक्रममा निर्माण समितिका अध्यक्ष गुरुङ्गले वडाले स्थानीयको योजनालाई सम्वोधन गरेको उल्लेख गर्दै वडा सरकारको अनुभूति गर्न पाएको उल्लेख गरे । सडक निर्माण पछि त्यस क्षेत्रका झण्डै पाँचसय घरपरिवार सहितका उपभोक्ताहरु लाभान्वित हुनेछन् ।  पोखरा महानगरपालिका वडा नं. २६ मा चालु आर्थिक बर्षमा संचालन हुने योजनाहरु उपभोक्ता समिति गठन भै धमाधम शुरु भएका छन् ।   

पोखराः   स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको ३२ औंं पूण्य तिथीको अवसरमा सोमबार पोखरामा नारायणगोपाल स्मृति साँझ–२०७९ भव्य रुपमा सम्पन्न भएको छ । रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्ज, पोखरेली युवा सांस्कृतिक परिवार र पोखरा सांगीतिक कलाकार संघको संयुक्त आयोजनामा गैह«ापाटनस्थित पोखरा उद्योग वाणिज्य संघको अमृतकक्षमा आयोजित स्मृति साँझमा गायक/गायिकाहरु रामभक्त जोजिजु, विनोद बानियाँ, इतु जोजिजु, सन्तोष बस्याल, एमडी काफ्ले, रजनी राई र उषा गुरुङले स्वर्गीय स्वरसम्राट नारायणगोपालद्धारा संगीत तथा स्वरवद्ध गीतहरु प्रस्तुत गरे । उनीहरुले मलाई नसोध कहाँ दुख्छ घाउ, गल्ती हजार हुन्छन्, केहि मिठो बात गर, तिमिलाई म के भनुँ, मैले पुण्य मन पराएँ, तिम्रो जस्तो मुटु मेरोपनि, मेरो कथा खाली खाली, हिमाल सरी म अग्ली रहेछु, तिम्रो मनमा लुकेको कुरा, ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो, एउटा मान्छेको मायाले कति, पर्खि बसे आउँला भनि गरी एक दर्जन गीत प्रस्तुत गरे । उनिहरुलाई तबलामा राजा मुखिया, किबोर्डमा महिपाल लामा, बेस गीटारमा तेज के.सी. अक्टाप्याडमा विजय क्षेत्री र रिदम गीटारमा सुमन तामाङले साथ दिए । कार्यक्रममा बोल्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव एवं संस्कृतिकर्मी तीर्थ श्रेष्ठले भौतिक रुपमा नरहनेपनि नारायणगोपाल सबैको मन मनमा बस्न सफल भएको बताए । रेडियो अन्नपूर्णका प्रबन्ध निर्देशक सुनयना पालिखेले नारायणगोपाल र आफ्नो परिवारबिच राम्रो सम्बन्ध रहेको स्मरण गरिन् । उनिले सहयोगी सबै संस्थाप्रति धन्यबाद दिँदै कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बताइन् । पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले पोखराले के गर्छ भनेर सिंगो देशले नै नियाल्ने गरेको भन्दै नारायणगोपाललाई सम्झने उद्देश्यले कार्यक्रम गरिएको बताए । वि.सं. १९९६ साल असोज १८ गते काठमाडौंको किलागलमा जन्मिएका उनको २०४७ मंसिर १९ गते ५१ बर्षको उमेरमा निधन भएको थियो । डिस्क र टेपमा गरी उनका १ सय ३६ वटा गीतहरु रेकर्ड छन् ।  

काठमाडौं:   आजको खेलमा  ब्राजिलले एसियाली ‘बाघ’ दक्षिण कोरियासँग खेल्दैछ । यो खेल राति १२:४५ बजेपछि हुनेछ । दक्षिण कोरियाविरुद्ध मैदान उत्रदा ब्राजिल आफ्नो खेलाडीको चोटलाई बिर्सदै जितको लक्ष्यमा पुग्न चाहान्छ ।  सर्वियासँगको पहिलो खेलमै स्टार फरवार्ड नेयमारलाई गुमाएको ब्राजिलले लगातार अन्य तीन खेलाडी र खेलको अन्त्यसँगै अन्य दुई खेलाडीलाई गुमाइसकेको छ ।  छैटौंपटक विश्व च्याम्पियन बन्ने अभियानमा रहेको ब्राजिललाई आफ्नो खेलाडीको चोट महँगो पर्न सक्नेछ । तर, यस खेलका लागि नेयमार फर्कने ब्राजिलका मुख्य प्रशिक्षक टिटेले जनाएका छन् ।  यता, दक्षिण कोरिया पनि अर्को स्तब्धपूर्ण नतिजा निकालेर क्वाटरफाइनलमा पुग्न चहान्छ । हालसम्म नेदरल्यान्ड्स, अर्जेन्टिना, फ्रान्स र इंग्ल्यान्डले क्वाटरफाइनलमा स्थान पक्का गरिसकेका छन् ।   यसैगरी यो भन्दा अगाडी जापान र क्रोएसिया भिड्दैँछन् ।  यो खेल अल जानौव रंगशालामा नेपाली समयअनुसार राति ८:४५ बजेपछि हुनेछ ।  

काठमाडौं:  सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । साताको दोस्रो कारोबार दिन सोमबार बजार परिसूचक नेप्से २४.४६ अंक (१.२५ प्रतिशत) ले गिरावट भएर १९३८.७६ अंकमा बन्द भएको छ । नेप्सेसँगै सबै उपसूचकमा गिरावट भएका छन् । बजारलाई लिड गर्ने बैंकिङ उपसूचक ०.७१ प्रतिशतले गिरावट हुँदा वित्त कम्पनी र उत्पादनमुलक उपसूचक २ प्रतिशत भन्दा माथिले गिरावट भएको छ । नेप्सेमा गिरावट भएपनि बजारमा कारोबार रकम भने डेढ अर्ब भन्दा माथि रहेको छ । सोमबार बजारमा ४१ लाख २७ हजार २८६ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ६७ करोड ४ लाख ५५ हजारको कारोबार भएको छ । जसमध्ये रिडी हाइड्रोपावरको ३० करोड ८३ लाख ५७ हजारको कारोबार भएको छ । यस्तै शिवम् सिमेन्टको २० करोड २३ लाख ४७ हजार र नबिल बैंकको ८ करोड ४७ लाख ८९ हजारको कारोबार भएको छ । सोमबार बजारमा कुल १९९ कम्पनीको सेयर कारोबार भएकोमा १८१ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । यस्तै १४ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ४ कम्पनीको सेयर मूल्य स्थिर छ । सोमबार कारोबार भएकोमध्ये सयपत्री हाइड्रोपावरको सेयरमूल्य ३.१२ प्रतिशतले वृद्धि हुँदा एनआईसी एशिया सेलेक्ट फण्ड ३० को इकाइमूल्य २.५६ प्रतिशत र ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ को इकाइमूल्य २.२१ प्रतिशतले वृद्धि भएको छ । यता अजोड इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक ७.३७ प्रतिशतले गिरावट हुँदा सिटिजन्स म्युचुअल फण्ड १ को इकाइमूल्य ५.७७ प्रतिशत र ओरियन्टल होटेलको सेयर मूल्य ५.५३ प्रतिशतले गिरावट भएको छ ।

कुश्मा:  वनको माँझमा एउटा सानो गाउँ छ । त्यही गाउँ छेउमा कक्षा ५ सम्म पढाउने एउटा पुरानो विद्यालय छ । विद्यार्थीको पर्खाइमा विद्यालयका कक्षाकोठाका ढोका सधैँ खुला हुन्छन् । उनीहरुका लागि बनाइएका डेस्क बेञ्च भरिभराउ भए पनि त्यहाँ बसेर पढ्ने विद्यार्थी एक जनाबाहेक अरु कोही छैनन् । विद्यार्थीको अभावमा विद्यालय नै रित्तिएको छ । पर्वतको मोदी गाउँपालिका चित्रेमा रहेको दुर्गा भवानी प्राथमिक विद्यालय २०४० सालमा स्थापना भएको हो । विगतमा विद्यार्थीको सङ्ख्या बाक्लै भए पनि यस वर्ष शिशु कक्षामा पढ्न एक्ला विद्यार्थी नीरज लम्साल मात्र आउने गरेका छन् । विद्यालयमा विद्यार्थी लम्साल र शिक्षिका ठाकुकुमारी केसी मात्रै छिन्। विद्यालयमा विद्यार्थी आए वा नआए पनि हरेक दिन विद्यालय पुग्नु केसीको दिनचर्या हो । त्यहाँका एक शिक्षिका र कार्यालय सहयोगी गत वर्ष काजमा खटिएपछि शिक्षिका केसी एक्लै भएकी हुन् । ‘गत वर्षसम्म १०–१५ विद्यार्थी नियमित पढ्न आउँथे’, उनले भनिन्, ‘गाउँबाट बसाइँसराइ गर्ने बढेका छन्, विद्यालय आउन खोला तर्नुपर्छ तर बर्खामा तर्न सकिँदैन । पुल नहुँदा विद्यार्थी नजिक छाडेर टाढाको विद्यालय जानुपर्ने अवस्था छ ।’ विद्यार्थीविनाको विद्यालयमा आउँदा धेरै नरमाइलो लाग्ने गरेको शिक्षिका केसीले सुनाइन् । चाँडै गाउँपालिकाले कतै व्यवस्थापन गर्दिए हुन्थ्यो भन्ने आफ्नो चाहना रहेको उनले सुनाइन्। विद्यालय नजिकको गाउँ हिले, दराक, लम्सालथर, पङ्गालीथर, रेग्मीथर, सरादेखोलालगायत स्थानका विद्यार्थी पढ्न आउने गरेकामा अहिले उनीहरु एक घण्टा टाढाको विद्यालयमा पुग्छन् । विद्यार्थी नभएको बहानामा विद्यालयलाई अन्यत्र गाभ्ने कुरा गाउँका लागि उचित नहुने स्थानीयवासीको भनाइ छ । ‘गाउँको ७० घरका विद्यार्थी पढ्ने एक्लो विद्यालय हो’, स्थानीयवासी शेरबहादुर केसीले भने, ‘विद्यालय आउने खोलामा पुल, सहज बाटो निर्माण र अङ्ग्रेजी माध्यमबाट पठनपाठन गर्न पालिकामा छलफल भइरहेको छ ।’ गाउँपालिकाले अरु विद्यालयमा विद्यार्थीको सङ्ख्या ज्यादै न्यून भएकाले तिनलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेमा छलफल भइरहेको बताएको छ ।’एक विद्यार्थी भए पनि पढ्न पाउने अधिकारबाट बञ्चित हुनु हुँदैन’, गाउँपालिकाकी अध्यक्ष हिरादेवी शर्माले भनिन्, ‘बसाइँसराइले विद्यार्थी पाउन मुस्किल छ । केही ठाउँमा विद्यार्थीलाई शिक्षक चित्तबुझ्दो नभएर समस्या छ ।’

बाजुरा:   गत वर्षामा भत्किएका बाजुराका झण्डै नौ वटा झोलुङ्गे पुल अहिलेसम्म मर्मत नहुँदा सो पुलबाट स्थानीयलाई आउजाउमा निकै सास्ती छ । २०७८ र०७९ को साउनमा आएको बाढीपहिरोका कारण बाजुराका झण्डै १२५ झोलुङ्गे पुल मध्ये नौ वटा पूर्ण रूपमा क्षति भएपछि अहिले स्थानीयलाई समस्या परेको हो । खप्तड छेडेदह गाउँपालिका वडा नं –३ गुदुका स्थानीय पार्वती रावतले, गत बर्खाको बाढीपहिरोले गुदुखोलाको झोलुङ्गे पुल भत्काएपछि  अहिले आउजाउ गर्न निकै सास्ती खेप्दै आउनु परेको बताउनुभयो ।  गत बर्खाको बाढीपहिरोले गौमुल गाउँपालिका को घटमुना, सिममाडी, माडी,बडिमालिका नगरपालिकाको भत्तेबगर, जडाङ्गा स्वामिकार्तिक र जगनाथ खप्तड छेडेदह गाउँपालिका गुदुगाड लगायतका स्थानमा रहेको झोलुङ्गे पुलमा क्षति पुर्‍याएको छ । गौमुल गाउँपालिकाको अजयकोट, सिममाडी, अदरा, ओडार, जडाङ्गा त्रिवेणी नगरपालिकाको फल्ने तोला स्वामिकार्तिक र जगनाथको बालुवामा रहेको झोलुङ्गे पुल पूर्ण रूपमा क्षति भएको छ । बाजुरामा रहेका झण्डै १२५ झोलुङ्गे पुलहरू मध्ये नौ वटा पुलमा निकै क्षति भएपछि स्थानीय सरकारको पहलमा अहिले ती पुल मर्मत गर्ने तयारी भइरहेको पीसविन बाजुराका झोलुङ्गे पुलह रु टेक्निल अफिसर खडक जोशीले बताउनुभयो ।

काठमाडौं:  प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि डा.तोसिमा कार्कीले नेपाल मेडिकल काउन्सिलको सदस्य पदबाट राजीनामा दिएकी छन् । कार्कीले आइतबार काउन्सिल पुगेर राजीनामा पत्र बुझाएकी हुन् । काउन्सिलका रजिष्ट्रार डा। कृष्ण अधिकारीले डा।कार्कीको राजीनामा प्राप्त भएको पुष्टि गरे । अधिकारीले अन्नपूर्णसँग भने, ‘हामीकहाँ राजीनामा पत्र प्राप्त भएको छ । उहाँले दिनुभएको राजीनामा बारे स्वास्थ्य मन्त्रालयलाई जानकारी गराउँछौं । कार्की ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भएकी थिइन् ।