कञ्चनपुर:  महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ । लगातारको वर्षापछि महाकाली नदीमा पानीको सतह बढेपछि चारपाङ्ग्रे सवारीसाधनमा रोक लगाइएको ...

तनहुँ:    प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत तनहुँमा ११३ वर्षीया जेष्ठ नागरिकले मतदान गर्नुभएको छ। जिल्लाको भानु नगरपालिका ५ की गोपीमाया पोख्रेलले सोही वडाको सेपाबगैंचास्थित महादेवता प्राथमिक विद्यालय मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । तनहुँका ३०५ वटै मतदान केन्द्रमा आइतबार बिहानदेखि मतदान सुरु भएको छ । तनहुँमा एक लाख १९ हजार ६५० जना पुरुष र एक लाख २८ हजार ८४५ जना महिला गरी कुल २ लाख ४८ हजार ४९५ मतदाता कायम भएका छन् ।  तनहुँमा प्रतिनिधि सभाका दुई र प्रदेश सभाका चार सिटका लागि निर्वाचनमा गठबन्धन र एमालेसहित ५७ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । जिल्लाभर स्थायी मतदान केन्द्रको सङ्ख्या भने ३०५ छ । जिल्लामा मतदानस्थल १४२ वटा छन् ।

काठमाडौं: अभिनेत्री करिश्मा मानन्धरले महाराजगञ्जस्थित काठमाडौं महानगरपालिका ३ को वडा कार्यालयमा रहेको केन्द्रबाट मतदान गरेकी छन् । उनले पति विनोद मानन्धरसँगै गएर प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा मतदान गरिन् । मतदानपछि  करिश्माले कलाकारले सक्रिय राजनीति गर्न आवश्यक रहेको बताइन् । ‘कलाकार पनि राजनीतिमा आउने लहर आएको छ, यो चुनावमा त्यो संकेत देखिएको छ । रेखा थापालगायत अरु उम्मेदवारहरुले यसपालि जित्नुपर्छ,’ उनले भनिन् । नेकपा एमालेमा आबद्ध रहेकी करिश्माले अर्को चुनावमा उम्मेदवार बन्ने इच्छा समेत व्यक्त गरिन् ।

रौतहट: रौतहटको दुई स्थानमा गोली चलेको छ । जिल्लाको गुजरा नगरपालिकामा स्थित मावी कनकपुरमा एक राउण्ड र गरुडा नगरपालिका स्थित प्रावि भवन अमरपटी बुथमा एक–एक राउण्ड हवाई फायर भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डीएसपी सुनिल मल्लले जानकारी दिएका छन् ।  जिल्लामा शान्ति पूर्ण अवस्था नरहेको  प्रहरी प्रवक्ता मल्लले बताएका छन् । रौतहटको क्षेत्र नं–३ मा पर्ने कनकपुर मावीमा बुथ मित्र झडप हुन थालेपछि अवस्था नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको प्रहरीले जनाएका छन् ।  यता रौतहट क्षेत्र नं–४ मा पर्ने गरुडा नगरपालिका स्थित प्रावि भवन अमर पटी बुथमा मतदान केन्द्र भित्र पोलि एजेन्ट राख्ने बिषयमा वादबववाद हुन थालेपछी प्रहरीले अवस्थगा नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको बुझिएको छ ।

काठमाडौं: अभिनेता राजेश हमालले काठमाडौंको लैनचौरस्थित जननाथ स्मृति मावि केन्द्रबाट मतदान गरेका छन् । मतदानपछि उनले अब आफू सक्रिय राजनीतिमा लाग्ने आशय व्यक्त गरे । अबको पाँच वर्षमा आफू पनि उम्मेदवारको रुपमा प्रस्तुत हुने उनले बताए । ‘अबको पाँच वर्षमा मलाई पनि उम्मेदवारको रुपमा देख्नुहुनेछ,’ उनले भने । हमालले यो चुनावले राजनीतिमा ठूलो परिवर्तन आउने संकेत समेत गरेको बताए ।

बाजुरा:  बाजुराका ३ वटा मतदान केन्द्रमा विवाद हुँदा मतदान स्थगित भएको छ । जिल्लाको बुढिगंगा नगरपालिका(८ को मतदान केन्द्र, बुढीनन्दा ५ र स्वामिकार्तिक खापर गाउँपालिका ४ को  एक केन्द्रमा मतदान स्थगित भएको हो । राजनीतिक दलहरुबीच विवाद भएपछि ती मतदान केन्द्रको मतदान प्रक्रिया स्थगित भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक सूर्य थापाले जानकारी दिए ।

म्याग्दी:  प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत आज म्याग्दीमा एक एक सय सात वर्षीय वृद्धले मतदान गर्नुभएको छ ।  मालिका गाउँपालिका–२ रुमका जसमनी कामीले राष्ट्रिय माविको (क) मतदान केन्द्रबाट मतदान गर्नुभएको मतदान अधिकृत ईश्वरबहादुर भण्डारीले जानकारी दिनुभयो ।   म्याग्दीका एक सय २० वटै मतदान केन्द्रमा आइतबार बिहान ७ बजेदेखि मतदान सुरु भएको छ । म्याग्दीमा ८६ हजार मतदाता छन् । यहाँ प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई वटा निर्वाचन क्षेत्र छन् । 

डडेल्धुरा :   प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि डडेल्धुरामा मतदान गरेका छन । उनले गन्यापधुरा गाउँपालिकाको असिग्राम मावि रुवाखोलामा रहेको मतदान केन्द्र ‘ख’ बाट मतदान गरेका हुन । उनी डडेलधुराबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार छन् । आफूले मतदान गरेका तस्वीर सामाजिक सञ्जालमा राख्दै देउवाले भनेका छन्, ‘मैले मतदान गरे, तपाईँहरु पनि मतदानमा सहभागी हुनुहोला ।’

तनहुँ:   जिल्ला कारागार तनहुँमा रहेका कैदी बन्दीले मतदान गरेका छन् । कारागारमा रहेको अस्थायी मतदान केन्द्रबाट उनीहरुले मतदान गरेका हुन । कारागारमा ५० पुरुष र ४ महिला गरि कुल ५४ मतदाता छन् । उनीहरुले प्रतिनिधि सभातर्फको समानुपातिकमा मात्र मतदान गर्न पाउछन् । जिल्ला कारागार तनहुँमै रहेका पल शाहले भने मतदान गर्न पाएनन् । बाल यौन दुरुपयोग कसूरमा थुनामा परेका उनले मतदाता नामावलीमा नाम नभएका कारण मतदान गर्न नपाएका हुन् ।

काठमाडौं:   प्रमुख राजनीतिक दलका उम्मेदवारले मतदान गर्नुभएको छ । प्रतिनिधिसभा र प्रदेशसभाका आज आज देशभर मतदान भइरहेको छ । मतदान आज बिहान ७ बजेदेखि शुरु भएको हो । यसैक्रममा अर्थमन्त्री जनार्दन शर्माले आज बिहान ७ बजे यमुना नन्द नमूना माध्यामिक विद्यालय मतदान केन्द्र मुसिकोट नगरपालिका–५ सेरीगाँउ रुकुमपश्चिम मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । उहाँ वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट रुकुमपश्चिममा उम्मेदवार हुनुहुन्छ । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सिरानचोक गाउँपालिका–८ जौबारीको परोपकार आर्दश मावि क मतदान गर्नुभयो । सोही पार्टीका उपाध्यक्ष कृष्णबहादुर महराले रोल्पा नगरपालिका लिवाङ–१ को वामरुपकस्थित तारा मावि रोल्पामा आज बिहान ७ः३० मा मतदान गर्नुभयो ।   सोही पार्टीका उपमहासचिव शक्तिबहादुर बस्नेतले भेरी नगरपालिका १ स्थित बागेश्वर आधारभूत विद्यालयमा मतदान गर्नुभएको छ । सोही पार्टीका उपमहासचिव वर्षमान पुनले रोल्पा नगरपालिका–७ स्थित बालउदय मावि माडीचौर मतदान केन्द्रमा मतदान गर्नुभयो । उहाँ रोल्पाबाट वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार हुनुहुन्छ । नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले चितवन क्षेत्र नं १ को राप्ती–५ भण्डारा अस्पताल मतदान केन्द्रबाट मतदान गर्नुभयो । उहाँ चितवन क्षेत्र नं १ मा एमालेका तर्फबाट उम्मेदवार हुनुहुन्छ । सोही पार्टीका सचिव योगेश भट्टराईले मैवाखोला गाँउपालिकास्थित नारायणी मावि मतदान केन्द्रमा पहिलो मतदान गर्नुभयो । उहाँ ताप्लेजुङमा एमालेका उम्मेदवार हुनुहुन्छ । नेकपा (समाजवादीका सचिव रामकुमारी झाक्रीले गुल्मीको मदाने गाँउपालिका–४ म्यालपोखरीको मेहलपोखरी मावि मतदान केन्द्रमा ले मतदान गर्नुभएको छ । वाम लोकतान्त्रिक गठबन्धनको समर्थन रहेको स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले आज बिहान तिलोत्तमा नगरपालिका–९ को गौतमबुद्ध आधारभूत विद्यालयमा मतदान गर्नुभयो । उहाँ रुपन्देही १ मा स्वतन्त्र उम्मेदवार हुनुहुन्छ ।