काभ्रेपलाञ्चोक:   बिपी राजमार्गमा भदौ १ गतेदेखि थप १५ दिन सवारी सञ्चालनमा रोक लगाइएको छ । जोखिमका कारण गत असार ७ गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाउँदै आइएकोमा भदौ १५ गतेसम्म १२ घण्टा रोक लगाइएको ज...

काठमाडौं:  नेकपा एमालेका नेता एवं काभ्रे २ बाट नवनिर्वाचित सांसद गोकुल बाँस्कोटाको भक्तपुरस्थित घर अगाडि भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ । प्रेसर कुकरमा शंकास्पद देखिने गरी राखिएको वस्तु सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी परिसर, भक्तपुरका एसपी प्रजित केसीले बताए । कुकरमा विष्फोटक पदार्थ चाहिँ नभएको नेपाली सेनाका सहायक रथी नारायण सिलवालले बताए । सिलवालका अनुसार शंकास्पद वस्तुसँगै नेपालको राष्ट्रिय झण्डा र केही पर्चाहरु पनि भेटिएका छन् । प्रहरीका अनुसार एउटा पर्चामा कार्य मोर्चाको नाममा ‘उपत्यकाका ठूला नेताहरुलाई बाहिर भगाऔं’ उल्लेख गरिएको छ । ‘तर्साउन मात्रै खोजिए जस्तो देखिन्छ, कसले राखेको हो भन्ने विषयमा अनुसन्धान गरिरहेका छौं’, केसी भन्छन् । बाँस्कोटाको यही घर निर्माणाधीन भएका बेला २०७६ फागुनमा पनि बिस्फोट भएको थियो । त्यतिबेला नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहले घटनाको जिम्मेवारी लिएको थियो ।

दोलखा:   दोलखाको प्रदेश सभा दुईमा नेकपा एमालेका भरतबहादुर केसी निर्वाचित भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाका अनुसार केसी १९ हजार ४१४ मत प्राप्त गरी प्रदेश सभा सदस्य निर्वाचित भएका हुन् । उनका निकटत प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बर्मा लामाले १७ हजार ५९५ मत पाए । नेपाली कांग्रेस दोलखाका सभापति समेत रहेका लामाले मतगणना सकिनु अघि नै हार स्वीकार गदै केसीलाई बधाई दिएका थिए । ’ लामाले कांग्रेसकै कारण आफूले चुनाव हारेको समेत बताए । उनले फेसबुकमा लेखेका छन्, ‘सूर्यमुखी कांग्रेसहरु जसले जित्दा जित्दैको निर्वाचन हराउन सफल हुनु भयो त्यसता नेता तथा कार्यकर्ता र पत्रकार जीहरुलाई समेत बधाई एवं शुभयात्रा भन्न चाहान्छु ।’ लामाको प्रदेश सभामा यो दोस्रो हार हो । यसअघि २०७४ सालको चुनावमा उनी नेकपा माओवादी केन्द्रका विशाल खड्कासँग पराजित भएका थिए । प्रदेश सभामा निर्वाचित भरत केसी भने भिमेश्वर नगरपालिकाका पूर्व मेयर हुन् ।

धनगढी:  बैतडीको पञ्चेश्वर गाउँपालिका–४ की २१ वर्षीया माया लुहारका हत्या आरोपी सशस्त्र प्रहरीका जवान महेन्द्रनगरबाट पक्राउ परेका छन् । मायाको हत्या गरेको आरोप लागेका शिवनाथ गाउँपालिका–४ का भरतराम कोली महेन्द्रनगरबाट पक्राउ परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) मोहनकुमार आचार्यले कोली महेन्द्रनगरबाट पक्राउ परेको पुष्टि गरे । उनले विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको बताए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक पुष्कर पन्तले आइतबार बिहान महेन्द्रनगर बजारमा डुलिरहेको अवस्थामा कोलीलाई पक्राउ गरिएको जानकारी दिए । उनलाई बैतडी प्रहरीलाई बुझाइने पन्तले बताए । २२ वर्षीय कोली हुल तथा दंगा तालिम व्यवस्थापन शिक्षालय पोखरामा सशस्त्र प्रहरी जवानका रूपमा कार्यरत थिए । माया गत बुधबार शिवनाथ गाउँपालिकामा घाँटी रेटेको अवस्थामा मृत भेटिएकी थिइन् ।

बाजुरा:   बाजुराको प्रतिनिधि सभा सदस्यमा नेपाली काङ्ग्रेसका उम्मेदवार बद्री पाण्डे विजयी हुनुभएको छ । उहाँले नेकपा (एमाले)का उम्मेदवार कर्णबहादुर थापाको भन्दा पाँच हजार ५४१ मत ल्याएर विजयी हुनु भएको हो । पाण्डेको ३१ हजार ७८९ मत छ , भने उहाँका निकटतम प्रतिद्वन्दी एमालेका उम्मेदवार कर्णबहादुर थापाको २६ हजार २४८ मत  रहेको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताउनुभयो ।

पोखराः   नेपाली कांग्रेस कास्कीको अपाङ्ग समन्वय शाखाले विपी चोकमा दिप प्रज्वलन गरि अपाङ्ग दिवस मनाएको छ । ३१ औं अन्तरराष्ट्रिय अपाङ्ग दिवसको अवसरमा राखिएको दिप प्रज्वलन कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले मैनवत्ति बाली कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रममा बोल्दै शर्माले यो धर्तिमा पूर्ण भएर कोही पनि नजन्मने जानकारी गराएका थिए । उनले भने “यो धर्तिमा जन्मने जो कोही पनि अपूर्ण भएर जन्मन्छ, हामी सबै जन्मजात नै अपाङ्ग छौं । राष्ट्र निर्माणमा सबैको उत्तिकै दायित्व रहन्छ, यो वा त्यो वाहानामा कसैलाई पनि इष्र्या गर्ने, कमजोर ठान्ने अधिकार कसैको रहदैन ।” राष्ट्रियता प्रजातन्त्र र समाजवादको रक्षाको लागि सम्पूर्ण फरक क्षमता भएका नागरिकको पनि उत्तिकै योगदान रहने भएको हुँदा सँग सँगै हातेमालो गरेर राष्ट्र विकासमा अगाडि बढ्नुपर्ने बताउँदै  सभापति शर्माले, “अन्तराष्ट्रिय स्तरमानै फरक क्षमता भएका मानिसहरुले अवसर पाएमा विश्व किर्तिमान राखेको उदाहरणहरु छन् । उनिहरुलाई अवसरको खाँचो छ, राज्यले फरक क्षमता भएका आम नागरिकको प्रतिभाको कदर गर्दै राज्यले सम्मान गरि मनोभावना उच्च बनाउन विशेष योजना तर्जुमा गर्नु आवश्यक छ ।” त्यसैगरी प्रजातन्त्र विना राष्ट्रको विकासको कल्पना समेत नहुने र विपी कोइरालाले प्रजातन्त्र विना राष्ट्रको विकास नहुने स्मरण गराउँदै अरुपार्टी र नेपाली कांग्रेसको फरक भनेको प्रजातान्त्रिक सोंच हो, उनले भने, मानिस जन्मनु भन्दा अगाडिबाट नै पाउने अधिकार भनेको प्रजातन्त्र रहेको र उमेर पुगेर नागरिकता लिएपछि पाउने अधिकार भनेको लोकतन्त्र भएको प्रष्ट पार्दै समृद्ध राष्ट्र निर्माणमा प्रजातन्त्र विना असम्भव रहेको सभापति शर्माले उक्त कार्यक्रममा बताएका थिए । अपाङ्गता अधिकार प्रवद्र्धनका लागि दिप प्रज्वलन कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेशका प्रवक्ता माधवप्रसाद बास्तोला (मधु), गण्डकी प्रदेश सदस्य तथा सूचना सञ्चार तथा प्रचार प्रसार विभाग उपप्रमुख शिरोमणी बराल, मुख्य सचिव पदम श्रेष्ठ, पोखरा महानगरपालिका वडा नं. ११ का वडाध्यक्ष प्रेम प्रसाद कर्माचार्य, केन्द्रीय महाधिवेशन प्रतिनिधि तथा कास्की जिल्ला सदस्य मोहन प्रधान, जिल्ला सदस्य विष्णु कार्की, क्षेत्रिय सदस्य विष्णु सिग्देल र प्रदेश प्रतिनिधि टंकप्रसाद बास्तोला लगायतको उपस्थिति रहेको थियो । नेपाली कांग्रेस कास्की जिल्लाका पूर्व सदस्य प्रेम परियारले सञ्चालन गरेको उक्त कार्यक्रम जिल्ला सदस्य तथा कार्यक्रम संयोजक अर्पण कोइरालाको अध्यक्षतामा समापन भएको थियो । 

पोखराः   लेखनाथ क्योकुशिन–कान कराते डोजोले आयोजना गरेको लेखनाथ डोजो जुनियर  फुल कन्ट्याक्ट कराते च्याम्पियनमा पुरुष ५० के.जी तर्फ रोशन गुरुङले गौरव थापालाई पराजित गर्दै स्वर्ण हात पार्दा साजन नेपाली र शुभम थापाले कास्यमा चित्त बुझाए । पुरुष ४५ के.जी तर्फ सम्येक प्रधानले कृष्ण रम्तेललाई पराजित गर्दै स्वर्ण जित्दा अभिशेक पुन र सुबिन श्रेष्ठले कास्य पदक हात पारे । पुरुष ४० के. जी तर्फ बसन्त थापाले युकेश गुरुङलाई स्तब्ध पार्दै स्वर्ण जिते भने किस्मत परियार र आयुष सुनारले कास्यमा चित्त बुझाए । ३५के.जी तौल समुह पुरुष तर्फ अमर थापाले प्रतिक घलेलाई पराजित गर्दै स्वर्ण जिते भने मनोज राना  र सञ्जन गुरुङले कास्यमा चित्त बुझाए । ३० केजी तौल समूहमा पुरुष तर्फ शिषिर थापा पहिलो,अगम भुजेल दोस्रो भए भने रिजस गुरुङ्ग र अनमोल गुरुङले तेस्रोमा चित्त बुझाए । २५ केजी तौल समूहमा एन्स रोका पहिलो रायन नेपाली दोस्रो भने सुलभ बिक र कमल तामाङ तेस्रो भए ।  प्रतियोगितामा महिला तर्फको ३० के.जी तौल समुहमा साङ्छु तामाङ लाई पराजित गर्दै प्रिन्स्मा नेपालीले स्वर्ण जित्दा ज्योत्स्ना थापा र क्रिस्टिना गुरुङले कास्यमा चित्त बुझाए । महिला ४० के.जी तर्फ सुहाना श्रेष्ठले दिलमाँया बुढा मगर लाई हराउँदै स्वर्ण पदक हात पार्दा  सुवाली श्रेष्ठ र आयुषा पन्थी तेस्रो भए । महिला ५० के.जी तर्फ पल्लबी नेपाली प्रथम हुँदा मन्दिपा के.सी दोस्रो भईन साथै दिप्ती थापा र खुस्बु पुन तेस्रो भए । उक्त कार्यक्रममा नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पदक विजेता खेलाडी महिला ५५ केजी तौल समूहकी धनि रानामगर र ४० केजी तौल समूहका अभिषेक तामाङलाई स्वर्ण पदक विजेता बिजेता भएकोमा  सम्मान गरिएको थियो । त्यस्तै ६० केजी तौल समूहका मोसेस कुमाल र ४५ केजी तौल समूहका भाग लिएका नारायण विकले कास्य पदक र प्रतियोगिताका सहभागी भएका सरगम कुमाललाई पनि सम्मान गरिएको थियो । स्वर्ण पदकलाई २ हजार, कास्य लाई १ हजार पाँच सय र सहभागिलाई १ हजार नगद, खादा र सम्मान पत्रद्धारा सम्मान गरिएको थियो ।   प्रतियोगितामा विनोद नेगी, मदन केसी, मुना पुन, सम्राज सेन, मसोसे कुमाल, सरगम कुमाल, राजन विक, अषिम गोर्खाली निर्णयकको भुमिकामा थिए । प्रतियोगितामा ६० जना खेलाडी सहभागी रहेका थिए ।   

पोखराः   युआरएल पत्रकारिता पुरस्कार २०७९ पत्रकार आरजू विष्ट सल्यानीलाई प्रदान गरिने भएको छ । गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी९युआरएल०ले स्थापना र सञ्चालन गरेको यो पुरस्कारको राशि नगद २० हजार र ताम्रपत्र छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल संयोजक र डा सुरेश पौडेल र पत्रकार वासुदेव मिश्र सदस्य रहेको प्रतिभा छनोट समितिले सल्यानीलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । २ दशकभन्दा बढीदेखि पत्रकारिता क्रियाशील सल्यानी रेडियो अन्नपूर्ण र सफल आवाज डटकममा आवद्ध छन् । गीतकार/गजलकारको रुपमा समेत चर्चित उनी फाइन आर्टमा पनि रुचि राख्छन् । यही मंसिर २३ गते युआरएलको वार्षिकोत्सव समारोहमा पौडेललाई पुरस्कार अर्पण गरिने युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले जानकारी दिए । सित्तैमा १ सय ३० शिविर सञ्चालन गरिसकेको युआरएलले जनतालाई स्वास्थ्यबारे सचेत बनाउने पत्रकारलाई पुरस्कृत गरी वार्षिकोत्सव मनाउँदै आएको उनले बताए । यसअघि यो पुरस्कारबाट पत्रकारहरु ऋषि खतिवडा, यदुनाथ वञ्जारा, सुरेन्द्र पौडेल, प्रदीप पौडेल र हरि बास्तोला सम्मानित भइसकेका छन् ।  

पोखराः  कास्कीको मादी गाउँपालिको हिउँदे अधिवेशन पुष ६ र ७ गते  हुने भएको छ ।    आज (शनिबार) मादी गाउँपालिकाको आठौं कार्यपालिका बैठकले हिउँदे अधिवेशन पुष ६ र ७ गते गर्ने निर्णय गरेको हो । शनिबार मादी २ को पर्यटकिय ठाउँ क्रपु डाडामा कार्यपालिका बैठक बसेको थियो ।   मादी गाउँपालिका भित्रका पर्यटकीय क्षेत्र एवम् धार्मिक स्थलहरूमा घुम्ती बैठक बस्ने कार्यक्रम अन्तर्गत मादी २ को क्रपु डाडामा कार्यपालिकाको आठौं बैठक बसेको मादी १ वडाध्यक्ष देवीजंग  गुरुङले जानकारी दिए ।    कार्यपालिकाको बैठक गाउँपालिका भित्रको विभिन्न पर्यटकीय क्षेत्र र धार्मिक स्थलहरुमा बस्दै आएका छौं, वडाध्यक्ष गुरुङले भने, बैठकले हिउँदे अधिवेशन पुष ६र ७ गर्ने,  गाउँपालिका मातहतका उद्यम विकास समिति, योजना तथा कार्यक्रम अनुगमन समिति गठन, ताङतिङ क्रपु डाडाको ग्रामीण सडक स्तरोन्नति गर्ने, सिक्लेस, क्हफुचे हिमताल, त्हि हुदै तारा हिलटप पदमार्गको विकास गर्ने लगायतका निर्णयहरू गरेका छौं ।    गाउँपालिकाको घुम्ति कार्यपालिका बैठक मादी गाउँपालिकाको धार्मिक स्थल लम्तरी, विश्वकै होचो स्थानमा रहेको हिमताल क्हफुचे, थाकहिल, कोरी, गुरुङहरूको पैतृक थलो क्होलासोथर लगायतका ठाउँहरूमा बैठक बस्ने कार्यतालिका रहेको गाउँपालिका अध्यक्ष देवीजंग गुरुङले जानकारी दिए  । 

काठमाडौंः   भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नेपाल आयल निगमले मूल्य नघटाउने जनाएको छ । निगम अहिले २७ अर्ब रुपैयाँ घाटामा रहेकाले मूल्य समायोजन नगर्ने भएको हो । निगमले शुक्रवार एक विज्ञप्ति जारी गर्दै अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावले लामो समयदेखि नोक्सानीमा सञ्चालन हुँदै आएको उल्लेख गरेको छ । इन्डियन आयल कर्पोरेशन लिमिटेडबाट यही १५ मङ्सिरमा प्राप्त खरिद मूल्यअनुसार एलपी ग्यासको मूल्य केही बढेको छ भने पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा  केही घटेर आएको छ ।   मङ्सिर १५ गते पाएको खरिद मूल्यसूचीबमोजिम एलपी ग्यासमा प्रतिसिलिण्डर ४३ रुपैयाँ ९३ पैसा बढेर आएको छ । एलपी ग्यासमा निगमलाई अहिले प्रतिसिलिन्डर दुई सय ७७ रुपैयाँ २ पैसा घाटा भइरहेको छु, विज्ञप्तिमा भनिएको छ, निगमले इन्डियन आयल कर्पोरेशनलाई अहिलेसम्म तिर्न बाँकी रकम, पुरानो बक्यौता तथा नेपाल सरकारलाई तिर्नुपर्ने ऋणसमेत गरी करिब २७ अर्ब रुपैयाँ तिर्न बाँकी छ । ग्यास सिलिन्डर बिक्रीबाट मात्र निगमलाई १५ दिनमा ३६ करोड ८५ लाख रुपैयाँ घाटा हुने देखिएको निगमले जनाएको छ । यद्यपि पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा मूल्य घट्दा पनि यथावत् राख्दा १५ दिनमा करिब ५८ करोड रुपैयाँ नाफा हुने निगमले जनाएको छ । अहिले अन्तर्राष्ट्रिय बजारमा प्रशोधित पदार्थको मूल्य पुनःघटबढ हुने क्रममा रहेको अवस्थामा पेट्रोलियम पदार्थको आपूर्ति सञ्चालन राख्न र इन्डियन आयल कर्पोरेशन लिमिटेडको बक्यौता एवम् सरकारलाई उपलब्ध गराइएको ऋणको व्यवस्थापन गर्न निगमलाई चुनौती रहेकाले अहिलेलाई पेट्रोलियम पदार्थको खुद्रा मूल्य यथावत् राखिएको छु, विज्ञप्तिमा भनिएको छ ।