कञ्चनपुर:  महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ । लगातारको वर्षापछि महाकाली नदीमा पानीको सतह बढेपछि चारपाङ्ग्रे सवारीसाधनमा रोक लगाइएको ...

चितवन:   चितवन क्षेत्र नम्बर २ मा नेकपा एमालेका कृष्णभक्त पोखरेलले अग्रता कायमै राखेका छन्। पछिल्लो मतपरिणाम अनुसार ६९९ मत गणना गर्दा पोखरेल ३६४ मतसहित पहिलो नम्बरमा छन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले २३६ मत प्राप्त गरेका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने ४३ मतसहित तेस्रो स्थानमा छन्। यसअघिको निर्वाचनमा यो क्षेत्रमा एमालेका पोखरेल नै निर्वाचित भएका थिए।

रुपन्देही: रुपन्देही(२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेलले अग्रता लिएका छन् । अहिलेसम्म भएको गणनामा उनले १२६ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा (एमाले)का विष्णु पौडेलले ८३ मत पाएका छन् । सत्तारूढ गठबन्धनले समर्थन गरेका राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा तेस्रो स्थानमा छन्। उनले ७८ मत पाएका छन् ।

इलाम:   इलाम २ मा नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ प्रारम्भिक मत गणनामा पछि परेका छन् । नेम्वाङलाई कांग्रेसका डम्बर खड्काले पछि पारेका हुन् । ६६८ मत गणना हुँदा खड्काले ४३२ मत ल्याउँदा नेम्वाङले २७६ मत पाएका छन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलालले चार मत र जनता समाजवादी पार्टीका यामप्रसाद लिम्बूले तीन मत प्राप्त गरेका छन् ।

सोलुखुम्बु:   सोलुखुम्बुको खुम्बु क्षेत्रको ३६ थान मतपेटिका हेलिकप्टरमार्फत सल्लेरी ल्याइएको छ ।  खुम्बु पासाङल्हामु गाउँपालिकाको नाम्चे र लुकलामा सङ्कलन गरिएका मतपेटिका नेपाली सेनाको हेलिकप्टरबाट सदरमुकामको फाप्लु विमानस्थलमा झारिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक सुनिलजङ्ग शाहले जानकारी दिनुभयो । प्रनाउ शाहका अनुसार हेलिकप्टरमा प्रति पटक १० थान मात्रै मतपेटिका अट्ने भएकाले चार पटकमा ल्याइएको हो । ११ वटा मतदान केन्द्र रहेको खुम्बुमा वडा नम्बर १ को खरिखोलाका दुईवटा केन्द्रको मतपेटिका गाडीमार्फत सल्लेरी लयाइएको छ भने नौवटा केन्द्रको ३६ वटा मतपेटिका हेलिकप्टरबाट ल्याइएको हो । आइतबार भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा हिमाली भेगमा पर्ने खुम्बु पासाङ ल्हामु गाउँपालिकामा पाँच हजार नौ सय ८७ मतदाता मध्ये दुई हजार ६४७ अर्थात ४४.२१ प्रतिशत मत खसेको छ । लिखुपिके गाउँपालिकाबाट गाडीमा ल्याइएको तर आइपुग्न बाँकी रहेको र अन्य क्षेत्रका मतपेटिका गाडीबाट जिल्ला सदरमुकाम सल्लेरीको मतगणनास्थल सल्लेरी आइपुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आठ पालिका भएको जिल्लामा सोलुदूधकुण्ड नगरपालिकामा ३३, थुलुङ दूधकोशी गाउँपालिकामा २६, माप्यदूधकोशीमा १७, नेचासल्यानमा १६, महाकुलुङमा १३, सोताङमा १२, खुम्बु पासाङल्हामुमा ११ र लिखुपिकेमा सात वटा मतदान केन्द्र छन् । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सोलुखुम्बुमा करिब ४८.३८ प्रतिशत मत खसेको छ ।

काठमाडौं:   काठमाडौं क्षेत्र नम्बर ७ मा नेकपा एमालेका श्याम घिमिरेले अग्रता लिएका छन् । पछिल्लो परिणामअनुसार घिमिरेले ९५० मत प्राप्त गर्दा उनलाई पछ्याइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले ८५६ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेकी नेपाल समाजवादी पार्टीकी मानुषी यमी भट्टराईले ६९८ मत प्राप्त गरेकी छन् । यमी सत्ता गठबन्धनकी उम्मेदवार हुन् । अहिलेसम्म ३ हजार ६५८ मत गणना भइसकेको छ ।

काभ्रेपलाञ्चोक:   प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य पदको निर्वाचन सम्पन्न भएको करिब बीस घण्टा हुँदासमेत काभ्रेपलाञ्चोक जिल्लामा मतगणना सुरु हुन सकेको छैन। जिल्लाको प्रतिनिधिसभा १ मा मतपेटिका आउन ढिलाई हुँदा मतगणना सुरु हुन नसकेको हो।  प्रतिनिधिसभा क्षेत्र नम्बर १ का निर्वाचन अधिकृत दुर्गाप्रसाद खनालले जिल्लाको खानीखोला गाउँपालिकाको तीन वटा वडाको छ मतदान केन्दको मतपत्र भर्खर आएको जानकारी दिनुभयो। उहाँले कार्यालयमा आएको मतपेटिका बुझ्ने क्रममा रहेको जानकारी दिनुभयो।  यसैगरी प्रतिनिधिसभा २ का सहायक निर्वाचन अधिकृत शेषराज दाहालले मतगणनाको लागि सर्वदलीय बैठक जारी छ। सर्वदलीय बैठकसकिए लगत्तै मतगणनाको काम सुरु हुनेछ। प्रतिनिधिसभा २ को मतगणना एउटै हलमा तीन स्थानमा गरिनेछ। मतगणनको लागि शिक्षा तालिम केन्द्रको सभा हलमा तारजाली र सीसी क्यामेराको व्यवस्थापन गरिएको छ।  उहाँले मतदान केन्द्रबाट आएका मतपेटिका बुझ्न र व्यवस्थापनमा ढिलाई भएका कारण मतगणनाको कार्य ढिलाई भएको बताउनुभयो। जिल्लामा प्रतिनिधिसभा १ अन्र्तगत १८९ वटा मतदान केन्द्र र प्रतिनिधिसभा २ अन्र्तगत एक अस्थायी मतदान केन्द्रसहित २०१ वटा मतदान केन्द्र रहेका छन्। 

स्याङ्जा:   दुई निर्वाचन क्षेत्र रहेको स्याङजाको क्षेत्र नं १ मा मतगणना शुरु भएको छ । दिउँसो सवा १ बजेदेखि मतगणना शुरु गर्ने सर्वदलीय तथा सर्वपक्षीय बैठकले निर्णय गरे पनि तयारी नपुग्दा ढिलाइ भएको हो ।  मतगणना प्रत्यक्ष र समानुपातिक दुबै एकै पटक शुरु गरिएको छ । यहाँ त्रिभुवन आदर्श माबि केन्द्रबाट मतगणना गरिएको हो । यस केन्द्रमा संघको मत गणनासँगै प्रदेश (क) को मतगणना हुने मुख्य निर्वाचन अधिकृत रोमाकान्त ज्ञवालीले बताउनुभयो ।  यहाँ क्षेत्र नं १ मा ७१ हजार २७३ मत खस्दा प्रदेश (क) मा ३३ हजार १९८ र (ख) मा ३८ हजार ७५ मत खसेको छ । यस्तै, क्षेत्र नं २ मा भने मतगणना कतिबेला शुरु हुने अनिश्चित बनेको छ ।  गठबन्धनले चार बुथ कब्जा गरेको भन्दै एमालेले पुनः मतगणना हुनुपर्ने दाबी गरेसँगै मतगणना अनिश्चित बनेको हो । क्षेत्र नं २ मा ६९ हजार ९२८ मत खस्दा (क) मा ३१ हजार २८६ र (ख) ३८ हजवार ६४२ मत खसेको छ । 

हुम्ला:  नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँका मतपेटिका हेलिकोप्टरमार्फत ढुवानी गरिएको छ । लिमी जाने दुई वटै नाकामा बाक्लो हिउँ जमेर बन्द लिमीका तीन वटै मतदान केन्द्रका मतपेटिका हेलिकप्टरबाट ढुवानी गरिएको हो ।   जिल्ला सुरक्षा समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी सीता परियारले लिमीका तीन वटै मतदान केन्द्रका मतपेटिका हेलिकोप्टरबाट ढुवानी गर्ने काम भएको बताउनुभयो । सोमबार नेपाली सेनाको एमआई–१७ हेलिकप्टरमार्फत मतपेटिका, सामग्री र १३ जना कर्मचारी तथा सुरक्षाकर्मी ओसार्ने काम भएको बताउनुभयो । निमित्त निर्वाचन अधिकारी श्यामबहादुर रानाले लिमीका तीन मतदान केन्द्रहरूमध्ये तीलमा १११ मत भएकोमा ७४, हल्जीमा २२७ मतदाता भएको १६५ र जाङ्गमा २०४ जना मतदाता रहेकोमा एक सय मत खसेको बताउनुभयो ।  लिमीका तीन वटै मतदान केन्द्रगरी ५४१ मतदाता रहेकामा ३३९ मत खसेको थियो । लिमीको मतदान कार्यका लागि खटिएका बाँकी ५१ जना कर्मचारी र सुरक्षाकर्मी भने लिमीमै रहनुभएको छ । उहाँहरूलाई मङ्गलबार मात्र हेलिकप्टरबाट ल्याइनेछ । यसअघि कात्तिक २९ र ३० गते गरी पाँच वटा उडानबाट लिमीका मतदान केन्द्रमा खुटिनु भएका कर्मचारी, सुरक्षाकर्मी र मतदान सामग्री ढुवानी गरिएको थियो ।  लिमीमा भृकुटी प्रावि जाङ, सुनखानी प्रावि हल्जी र हिमशिखर प्रावि तील मतदान केन्द्र रहेका थिए । लिमी जाने चार हजार छ सय मिटर अग्लो नारा र पाँच हजार मिटर अग्लो न्यालु लेकमा चारदेखि पाँच फिट हिउँ जमेर बाटो बन्द हुँदा पैदल मार्गबाट लिमी आउजाउ बन्द भएको छ । 

काठमाडौं:   धादिङ क्षेत्र नम्बर १ मा नेकपा एकीकृत समाजवादी पार्टीका राजेन्द्र पाण्डेले अग्रता लिएका छन् । ६०० मत गनिसक्दा पाण्डेले ३१९ मत पाएका छन् भने उनलाई पछ्याइरहेका एमालेका त्रिपाठीले २२५ मत पाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले ३१ मत प्राप्त गरेका छन् । अहिले गल्छी गाउँपालिकाको वडा नम्बर २ र ५ को मतगणना भइरहेको छ ।