काठमाडौं: निर्वाचन आयोगले प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत स्याङ्जा क्षेत्र नं २ र बाजुराको मतगणना गर्न निर्देशन दिएको छ । यही मङ्सिर ४ गते भएको निर्वाचनमा ती दुई क्षेत्रको मतदान गणना अघि बढ्न सकेको थिएन । त्यहाँ पुनः मतदानमा नजाने निर्णयसँगै अब मतगणना प्रक्रिया सुरु हुने आयोगले जनाएको छ ।
पोखरा: कास्कीमा यस पटकको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा करिब पाँच प्रतिशत मत बदर भएको छ । तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा कूल दुई लाख ९१ हजार पाँच सय ६८ मतदाता रहेकामा प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फ एक लाख ७८ हजार आठ सय छ मत खसेकोे थियो । त्यसमध्ये सदर मत एक लाख ७० हजार तीन सय ४४ र बदर मत आठ हजार चार सय ६४ रहेको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो । त्यस्तै प्रतिनिधिसभाको समानुपातिकतर्फ तीनवटै निर्वाचन क्षेत्रमा गरी छ हजार सात सय ३८ मत बदर भएको छ । जिल्लाको प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ छ हजार २० मत बदर भएको छ भने समानुपातिकतर्फ १० हजार तीन सय ८५ मत बदर भएको छ ।
काठमाडौं: पुँजीबजारको आजको कारोबारमा सामान्य अङ्कको गिरावट देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज तीन दशमलव ५१ अङ्कले घटेर एक हजार नौ सय ४९ दशमलव ८५ अङ्कमा कायम भएको हो । आज दुई सय ३८ वटा कम्पनीको कूल २३ लाख ५५ हजार आठ सय ४५ कित्ता शेयर खरिद–बिक्री हुँदा कारोबार रकम भने रु ८४ करोड २६ लाख ९५ हजार तीन सयमा खुम्चिएको नेप्सेले जनाएको छ । आज ६४ वटा कम्पनीको शेयर मूल्य बढ्दा एक सय २४ वटा कम्पनीको भने घटेको छ । लघुवित्त र व्यापार समूहको उपसूचक क्रमशः शून्य दशमलव २७ र १६ दशमलव ४२ अङ्कले बढ्दा अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी विकास बैंक समूहको उपसूचक १८ दशमलव ८५ अङ्कले घटेको छ । त्यस्तै, उत्पादन समूहको उपसूचक १८ दशमलव ३७, वित्त समूहको उपसूचक १७ दशमलव ८४, जीवन बीमा समूहको उपसूचक १७ दशमलव ५४, अन्य समूहको उपसूचक ९ दशमलव ७६ र निर्जीबन बीमा समूहको उपसूचक ७ दशमलव ५० अङ्कले घटेको छ । बैंकिङ समूहको उपसूचक शून्य दशमलव ३१, होटल तथा पर्यटन समूहको उपसूचक एक दशमलव ३८, जलविद्युत् समूहको उपसूचक दुई दशमलव २९, लगानी समूहको उपसूचक शून्य दशमलव २३ र म्युचुअल फन्डको उपसूचक शून्य दशमलव १२ अङ्कले घटेको छ । आजको कारोबारमा ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले प्रतिकित्ता चार दशमलव १७ प्रतिशतका दरले कमाएका छन्भने सबैभन्दा धेरै गुमाउनेमा लक्ष्मी इक्विटी फन्डका लगानीकर्ताले प्रतिकित्ता पाँच दशमलव ७६ प्रतिशतका दरले गुमाएका छन् । आज सबैभन्दा धेरै हिमालयन डिस्टिलरी लिमिटेडको रु चार करोड ७९ लाख ३४ हजार चार सय २३ बराबरको कारोबार भएको छ । कारोबार सङ्ख्याका आधारमा भने नविल बैंक लिमिटेडको शेयर चार सय ९६ पटक कारोबार भएको छ ।
काठमाडौं: सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु दुई सयले बढेको छ । मङ्गलबार प्रतितोला रु ९७ हजार चार सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला रु ९७ हजार छ सय तोकिएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार एक सय छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९६ हजार नौ सय थियो । त्यस्तै, चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा आज प्रतितोला रु पाँचले बढेर रु एक हजार दुई सय ९० पुगेको महासङ्घले जनाएको छ ।
पर्वत: विश्व साइकलयात्री अजित बरालले पर्वतमा सञ्चालित जिपलाइनमा पहिलोपटक साइकल कुदाउनुभएको छ । कुश्मास्थित जिपलाइनमा उहाँले मङ्गलबार साइकल कुदाउनुभएको हो । जिपलाइनमा साइकल कुदाउने काम पहिलो भएको बराल बताउनुहुन्छ । “अहिलेसम्म जिपलाइनमा साइकलबाट कसैले पनि यात्रा गरेको छैन”, उहाँले भन्नुभयो । साइकल हावामा कुदाएको जस्तो अनुभव भएको बरालले बताउनुभयो । पर्यटकीय सहर पोखराको लेकसाइडका बासिन्दा ३४ वर्षीय बरालले १० वर्षकै उमेरमा पोखराबाट काठमाडौँसम्म साइकलबाट यात्रा गरेपछि उहाँलाई साइक्लिङको नसा चढेको हो । त्योबेला पोखराबाट चार दिनमा काठमाडौँ पुगेपछि साइकलबाट यात्रा गरेरै बरालले विश्व घुम्ने योजना बनाउनुभयो । बरालले अहिलेसम्म विश्वका ७१ देशको साइकलबाटै यात्रा गर्नुभएको छ । बराल साइकल लिएर प्याराग्लाइडिङ, तिलिचो तालबाट कास्कीको सिक्लेसमा रहेको कपुचे ताल, कुरीडाँडा र लमजुङको दूधपोखरी पनि साइकलमा नै पुग्नुभएको छ । उहाँले एकै दिन साइकलबाट तीन सय किलोमिटर यात्रा तय गर्नुभएको छ । साहसिक पर्यटनका लागि नेपालकै पहिलो रोजाइको गन्तव्य बन्दै गएको पर्वतको कुश्मामा एकपछि अर्को साहसिक र रोमाञ्चक खेल थपिने क्रम जारी छ । बरालको जिपलाइनमा गरेको साइकलयात्राले आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्ने जिपलाइनका कार्यकारी निर्देशक सुनिल बानियाँको विश्वास छ ।
विराटनगर: ‘मानवीय सेवामा योगदान गरौँ’ भन्ने नाराका साथ यही मङ्सिर १६ गते शुक्रबार विराटनगरको हाटखोलामा पहिलो पटक नेपथ्य लाईभ कन्सर्ट हुने भएको छ । विगत एक दशकदेखि सडकआश्रित व्यक्तिलाई उद्धार गर्दै आइरहेको मानवसेवा आश्रमले नेपथ्य ब्याण्डसँगको सहकार्यमा उक्त कन्सर्ट गर्न लागेको हो । विराटनगरस्थित एक भाडाको घरमा आश्रित महिला, बालबालिका तथा बद्धबृृद्धाहरूका लागि निर्माण गर्न लागिएको भवन पूरा गर्न आर्थिक सहयोग पुगोस् भन्ने उदेश्यले कन्सर्ट गर्न लागिएको उक्त आश्रमको प्रदेश नं. १ का संयोजक नवराज केसीले जानकारी दिनुभयो । आश्रमका लागि आपतकालीन कोष स्थापना पनि गर्ने उद्देश्यले साङ्गीतिक यात्रा कार्यक्रम आयोजना गर्न लागिएको उहाँले बताउनुभयो । उक्त आश्रममा हाल १९ जिल्लाका २४ वटा शाखामा १७ सय बढी बेसहारा, असहाय र घरपरिवार तथा समाजबाट परित्याग व्यक्ति बस्दै आएकामा विराटनगरको उक्त आश्रममा भने ९० पुरूष, ६५ महिला र पाँच बालबालिका गरी एकसय ६० आश्रित छन्। मानवसेवा आश्रमको हित र विकासका लागि विराटनगरबाट सुरू हुन लागेको उक्त कन्सर्ट विरगन्ज, हेटौंडा , चितवन ,नेपालगन्ज , धनकुटा , सुर्खेत , पोखरा तथा काठमाडौलगायत मुख्य सहरमा तीन–तीन दिनको फरकमा आयोजना गरिने आयोजकले जनाएको छ । फरक शैलीका गीतका कारण देश विदेशमा आफ्नो छुट्टै परिचान बनाएको नेपालको चर्चित ब्याण्ड ‘नेपथ्य’ को लाईभ कन्सर्टका लागि टिकट बिक्री वितरणे भइरहेको श्रमका अभिभावक प्रविण खड्काले जानकारी दिनुभयो ।
पोखरा: विभिन्न कसुरमा जेल सजाय र पुर्पक्षमा बन्दी जीवन व्यतीत गरिरहेका कास्की कारागारका २१ महिलाले उत्साहसाथ कुकिङ बेकिङ तालिम सिकिरहेका छन् । जीवनमा जान अन्जानमा भए÷गरेका गल्तीमा प्रायश्चित गर्दै कैद भुक्तानपछि जीवनलाई सुन्दर बनाउने उद्देश्यसहित उनीहरु तालिममा व्यस्त छन् । आर्थिक लेनदेनको विवादमा पुर्पक्षका लागि तीन महिनादेखि थुनामा रहनुभएकी नवलपरासीकी ४२ वर्षीया सञ्जु केसी (नाम परिवर्तन)ले तालिम निकै फलदायी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “मैले बन्दी जीवन बिताइरहँदा आयआर्जनका लागि सीप सिक्ने अवसर पाएकी छु, मेरो मुद्दाको टुङ्गो लागेर र यहाँबाट निस्केपछि यो काम पनि मैले गर्न सक्छु ।” बिएड अध्ययनरत उहाँ बाँकी जीवनलाई अब सृजनात्मक र व्यावसायिकतातिर लाने सोच रहेको छ भन्नुहुन्छ । त्यसैगरी एक वर्षका लागि कैद फैसला भुक्तानमा रहनुभएकी कास्की घाचोककी ४३ वर्षीय शर्मिला शर्मा (नाम परिवर्तन) ले पनि तालिम निकै उपयोगी भएको बताउनुभयो । “अझै केही समय छ, यहाँभित्र हुने तालिम सिकेर अब आत्मनिर्भर हुने बाटो खोज्नेछु”, अरूभन्दा प्रभावकारी कुकिङ बेकिङको तालिम लागेको उहाँको भनाइ थियो । पोखरा पर्यटकीय क्षेत्र भएको र आफूले पनि यसमा दक्षता हासिल गर्न सके सहज जीवन बाँच्न सक्ने आशा पलाएको उहाँको भनाइ छ । पोखरा व्यावसायिक महिला क्लब पोखरा–१ बगरको आयोजनामा इन्टरनेसनल होटल ट्रेनिङ सेन्टरले यहाँ तालिम प्रदान गरेको हो । प्रशिक्षक झङ्क ढकालले कारागारका महिलाले निकै उत्साहसाथ तालिममा सहभागी भएको बताउनुभयो । “अरू तालिममा भन्दा उहाँहरुको रुचि यसमा अलि बढी छ । स्वादिलो खाना बनाउन र विभिन्न परिकार बनाउन सिक्न साथै बनाएको परिकारको स्वाद लिन पनि पाइने भएकाले उहाँहरु को रुचि बढी देखिन्छ ।” प्रशिक्षक ढकालका अनुसार ४५ दिनमा कुकिङ बेकिङका ४५ भन्दा बढी परिकार बनाउन सिकाइनेछ । जिल्ला कारागारका सूचना अधिकारी झङ्कनाथ पौडेलले एकै प्रकारको दैनिकीमा रहँदा उहाँहरुलाई नैराश्यता आउन सक्ने भएकाले विभिन्न रचनात्मक एवम् सृजनात्मक कार्यका लागि तालिमहरु प्रदान गर्दै आएको बताउनुभयो । पौडेलले भन्नुभयो, “कतिपय लामो र कतिपय छोटो समयका लागि बन्दी जीवन व्यतीत गरिरहनुभएको छ । तालिमले उहाँहरुलाइ रिफ्रेस साथै यहाँपछि आयआर्जनमा जोडिन सहयोग पुग्ने विश्वास छ ।” कारागारका कैदीबन्दीलाई विभिन्न सङ्घसंस्थाको सहकार्यमा विभिन्न सीपमूलक तालिम दिइन्छ । कारागारको क्षमता चार सय २० जनाको भए पनि भौतिक संरचना अभावमा क्षमताभन्दा बढी कैदीबन्दी रहेका छन् । पौडेलका अनुसार आठ सय ३१ जनाले बन्दीजीवन बिताइरहेका छन् । जसमा महिला ३९, पुरुष सात सय ९२ र तीन आश्रित नाबालक छन् ।
वालिङ: स्याङ्जामा यस वर्ष सुन्तला उत्पादनमा वृद्धि भएको छ । यस वर्ष २२ हजार पाँच सय मेट्रिक टन सुन्तला उत्पादन भएको छ । सुन्तला उत्पादन वृद्धि भएपछि यहाँका किसान उत्साहित भएका छन् । पछिल्लो समय सुन्तला जिल्लाका किसानको जीविकोपार्जनको गतिलो माध्यम बन्दै गएको छ । कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालका अनुसार यस वर्ष रु एक अर्बभन्दा बढीको सुन्तला उत्पादन भएको छ । गत वर्ष सुन्तला बिक्रीबाट रु ५७ करोड भित्रिएको उहाँले बताउनुभयो । “यस वर्ष प्रतिहेक्टर १५ मेट्रिक टनका दरले सुन्तला उत्पादन भएको छ”, उहाँले भन्नुभयो । गत वर्ष प्रतिहेक्टर १० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । “यस वर्ष प्रतिहेक्टर पाँच मेट्रिक टनका दरले सुन्तला उत्पादनमा वृद्धि भएको छ”, हमालले भन्नुभयो । स्याङ्जामा दुई हजार हेक्टर क्षेत्रफलमा सुन्तला बगैँचा छ । नेपालमै सबैभन्दा धेरै क्षेत्रफलमा सुन्तला बगैँचा र धेरै उत्पादन स्याङ्जामा हुने गरेको हमालको दाबी छ । यस वर्ष सुन्तला छिटो पाकेकाले कात्तिकको दोस्रो साताबाट बिक्री सुरु भएको छ । कात्तिकको दोस्रो सातामा प्रतिकिलो रु ५० तथा अहिले रु ६५ का दरले सुन्तला बिक्री भइरहेको छ । अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकका व्यापारी फणिनारायण अर्याल सुन्तला बिक्रीबाट रु ५० लाखसम्म आम्दानीको दाबी गर्नुहुन्छ । गत वर्ष उहाँले रु २५ लाख आम्दानी गर्नुभएको थियो । “अहिले धेरै सुन्तला फलेको छ, लाछ्छिने गरेकाले टेका दिएर हाँगालाई अड्याउनुपरेको छ”, उहाँले भन्नुभयो । उहाँको बगैँचामा अहिले दुई हजार सुन्तलाका बोट छन् । अर्यालले सुन्तलाको गे्रडिङ गर्ने मेसिन जडान गरी बजारीकरण गर्दै आउनुभएको छ । गत वर्ष सुन्तला बिक्रीबाट रु दुई लाख आम्दानी गर्नुभएका वालिङ–२ फुटेढुङ्गाका लेखनाथ काफ्लेले रु चार लाख आम्दानी हुने बताउनुभयो । गत वर्षको तुलनामा यस वर्ष सुन्तला तेब्बर फलेको दाबी गर्दै उहाँले भन्नुभयो, “गत वर्ष रु दुई लाखमा ठेक्का दिएको थिएँ, यस वर्ष रु चार लाखमा ठेक्का दिइसकेको छु ।” ठेकेदारले सुन्तला बगैँचामै आएर ठेक्का लिने गरेकाले पनि बजारीकरणको समस्या नभएको उहाँले बताउनुभयो । काफ्लेको सुन्तला बगैंँचामा अहिले एक सय बोटमा फल लागेको छ । गत वर्ष रु २२ लाखको सुन्तला बिक्री गर्नुभएका स्याङ्जाको गल्याङ नगरपालिका–७ सिरौंसाका सुन्तला व्यवसायी भूपराज भण्डारीले यस वर्ष पनि सुन्तला बिक्रीबाट मनग्य आम्दानी हुने बताउनुभयो । गत वर्ष ३१ टन सुन्तला बिक्री गरेर रु २२ लाख आम्दानी गर्नुभएका भण्डारीको यस वर्ष पनि सोही अनुपातमा आम्दानी हुने विश्वास छ । उहाँको बगैँचामा अहिले आठ सय सुन्तलाका बोट छन् । जिल्लाभर बाइस हजार पाँच सय मेट्रिक टन सुन्तला बिक्रीबाट रु एक अर्ब २५ करोड आम्दानी गर्न सकिने कृषि ज्ञान केन्द्रका प्रमुख हमाल बताउनुहुन्छ । रु २५ करोड मूल्य बराबरको सुन्तला घरमै खाने, कोसेली पठाउने तथा कुहिने उहाँको भनाइ छ । गत वर्ष सुन्तला उत्पादनमा कमी आए पनि बजार मूल्य राम्रो पाइएको हमालले बताउनुभयो । गत वर्ष १३ हजार आठ सय ४० मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । आर्थिक वर्ष २०७७/७८ मा स्याङ्जामा कुल एक हजार छ सय ५५ हेक्टर क्षेत्रफलमध्ये कुल एक हजार एक सय ६० हेक्टरमा सुन्ताला खेती गरिएको थियो । सो खेतीबाट १७ हजार छ सय ३२ टन सुन्तला उत्पादन भएको थियो । गत वर्षको तुलनामा अघिल्लो आवमा सुन्तला उत्पादन धेरै भए पनि किसानले उचित मूल्य पाउन सकेका थिएनन् । आव २०७७/७८ जिल्लामा रु ७९ करोड ३४ लाख ४० हजार मूल्य बराबरको सुन्तला उत्पादन भए पनि जम्मा रु ५५ करोडको बिक्री भएको थियो । स्वादका दृष्टिले देशैभर छुट्टै पहिचान बनाएको स्याङ्जाको सुन्तला काठमाडौँ, पोखरा, बुटवल, नारायणगढलगायत बजारमा खपत हुने गरेको छ । सुन्तला बिक्री गरेर मनग्य आम्दानी गर्ने व्यावसायिक कृषक पनि स्याङ्जामा प्रशस्तै छन् । सुन्तलालाई आम्दानीको मुख्य स्रोत बनाउने व्यावसायिक अगुवा कृषकले यसबाट बर्सेनि पर्याप्त आम्दानी गर्दै आएका छन् ।
काठमाडौँ: काठमाडौँ उपत्यका विकास प्राधिकरणले सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्डबमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना ३५ दिनभित्र हटाउन आग्रह गरेको छ । प्राधिकरणले आज सूचना प्रकाशित गरी उपत्यकाका नगरहरूको पुनःनिर्माण, विकास र विस्तारमार्फत काठमाडौँ उपत्यकालाई व्यवस्थित गर्नका लागि अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन आग्रह गरेको हो । उपत्यकामा योजनाबद्ध भौतिक विकासका लागि आधारभूत मापदण्ड तय गर्न काठमाडौँ उपत्यका विकास प्राधिकरण ऐन, २०४५ को दफा ३ बमोजिम काठमाडौँ उपत्यका विकास प्राधिकरण स्थापना भएको सूचनामा उल्लेख छ । प्राधिकरणले अतिक्रमण गरी निर्माण गरिएका संरचना नहटाएमा प्राधिकरणले हटाई सो हटाउँदा वा भत्काउँदा लाग्ने लागत सम्बन्धित व्यक्ति वा संस्थाबाट असुलउपर गर्नेसमेत जनाएको छ ।