काठमाडौं: विशेष अदालतले पूर्वमन्त्री संचार तथा सूचना प्रविधि मन्त्री एवम् नेपाली कांग्रेसका सांसद मोहन बस्नेतलाई २५ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ । विशेष अदालतका न्यायाधीश तेज नारायण सिंह राई, र...

चितवन:   ईच्छाकामना गाउँपालिका १ डिङ्लाङका चन्द्रबहादुर चेपाङका छोराछोरी अहिले पनि टुकी बालेर पढ्न बाध्य छन् । यो परिवार मात्रै होइन सदरमुकाम भरतपुरसँग जोडेर बनेको चितवन क्षेत्र नं २ मा पर्ने इच्छाकामना र कालिका नगरपालिकाका पहाडी भेगका कतिपय गाउँ अहिले पनि टुकिकै भर छ ।  ईच्छाकामना गाउँपालिका(१ र २ का धेरैजसो भूभागमा विद्युत् पुगेको छैन । वडा नं ३, ४, ५ र ६ का केही भागमासमेत विद्युत् पुग्न सकेको छैन । वडा नं १ को छाप्राङ, भाराङ, ज्यान्दालालगायतका ठाउँका बासिन्दा टुकिकै भरमा छन् । वडा नं २ का डुम्किन, भोटेगाउँ, हपनी, माथिल्लो काउले जस्ता भागमा पनि बिजुली छैन ।   कालिका नगरपालिकाको वडा नं ९, १० र ११ का धेरै भागमा विद्युत् पुग्न बाँकी छ । वडा नं ८ को बुङ्गखोला क्षेत्रमा पनि बिजुली पुगेको छैन । भरतपुर महानगरपालिका(२९ का केही घरमा अझै बिजुली पुगेको छैन ।  ईच्छाकामना गाउँपालिकामा नेपाल विद्युत् प्राधिकरणको सामुदायिक विभागले विसं २०७५ साल कात्तिक १२ गते बोलपत्र आह्वान गरी काम लगाएको भए पनि ठेकेदारले काम नगर्दा परियोजना अलपत्र छ । विभागका निर्देशक विक्रम अमात्य दुई वर्षको मिति सक्किएपछि जनमुखी कन्स्ट्रक्सन–बागमती कङ्क्रिट जेभीलाई कारबाही प्रक्रिया अगाडि बढाएकोमा अदालत पुगेका कारण काम रोकिएको बताउनुहुन्छ ।   अदालतको फैसला कुर्नु परेकाले काम हुन नसकेको उहाँको भनाइ छ । ठेक्का आयोजना रु पाँच करोड सात लाखमा सकारेको कम्पनीले एक सय २० थान पोल झार्ने बाहेक केही काम नगरेपछि ठेक्का रद्द गरिएको छ । पत्र बुझ्नु अघि नै अदालत गएपछि काम रोकिएको अमात्य बताउनुहुन्छ ।   उक्त मुद्दाको पेशी मङ्सिर २० मा परेकाले यसपछि विकल्पको खोजी गरिने अमात्यको भनाइ छ । कालिका नगरपालिकामा विद्युतीकरणका लागि रत्ननगर वितरण केन्द्रले काम गरिरहेको छ । इञ्जिनियर विक्रम श्रेष्ठ मजदूरका लागि ठेकेदार कम्पनीलाई जिम्मा दिइएको भए पनि प्राधिकरणले सामान दिन नसक्दा समस्या भएको उहाँको भनाइ छ ।

 जाजरकोट:   एक वर्षभित्र पूरा गर्ने भन्दै निर्माण सुरु गरिएका भेरी करिडोर भित्रका पुल अझै निर्माण हुन सकेका छैनन् । करिडोरभित्र जाजरकोट डोल्पा सडकखण्डभित्र पुल निर्माण हुन नसकेका हुन् । ३ करोड ८५ लाखमा उक्त पुल निर्माणको जिम्मेवारी हिम सगरमाथा, खड्का कृष्ण जेभीले लिएको थियो । २०७८ साल पुस १६ गते पुल निर्माणको सम्झौता भएको थियो भने २०७९ असार १५ गतेभित्र निर्माण पूरा गर्ने सम्झौता रहेको सडक डिभिजन कार्यालय चौरजहारीले बताएको छ । तोकिएको समयमा काम नगर्दा छ महिना थपेर पुस मसान्तसम्म निर्माण गर्न सडक डिभिजन कार्यालयले निर्माण कम्पनीका बुद्धिबहादुर खत्रीलाई प्रतिबद्धता गराएको डिभिजन प्रमुख आशुतोष कर्णले बताए । उनले भने, ‘तल्लु बगरको पुल भेरी करिडोरअन्तर्गत निर्माण गरिनुपर्ने मुख्य पुल हो । यसले डोल्पालाई सडक सञ्जालसँग जोड्ने काम गर्छ । हाल त्यस ठाउँमा पक्की पुल नभएको भएर ढुवानी अत्यधिक महँगो छ । हालसम्म यसको एकतिरको फाउन्डेसन र बीचको पिलरको कार्य भइरहेको छ । प्रगति न्यून रहेकाले निर्माण व्यवसायीलाई कार्यालयमा भौतिक उपस्थिति गराई पुस मसान्तभित्र निर्माण कार्य सक्नुपर्ने प्रतिबद्धता कार्यालयले गराएको छ ।’ जाजरकोटको नलगाड नगरपालिका(११ र रुकुमपश्चिम आठबिसकोट–६ अनाह बीचमा रहेको भेरी नदीमा पुल निर्माण नहुँदा यहाँका सर्वसाधारणले दैनिक सास्ती भोग्दै आएको डोल्पाको ठूलीभेरी नगरपालिका दुनैका जयकृष्ण हमालले बताए । यो पुल निर्माणको भाका थपिएको म्यादसमेत सकिन केही दिन बाँकी रहँदा पनि काम सुरु नै गरिएको छैन । सडक डिभिजन चौरजहारीले निर्माण गर्न लागेको भेरी नदी माथिको यो पुल राजनीतिक नारा बन्दै आएको छ । अर्थमन्त्री जनार्दन शर्मादेखि पूर्वमन्त्री शक्तिबहादुर बस्नेतको निर्वाचन क्षेत्रभित्र यो पुल पर्ने भएकाले बर्सेनि चुनावी नारा बन्दै आएको छ ।   यो पुल निर्माण नभएकै कारण डोल्पामा जाने दैनिक उपभोग्य सामग्री महँगो हुँदै आएको छ । त्यस्तै नलगाड–१० चौखामा रहेको ताक्सुगाड र वडा नं ८ को खमाउरे खोलामाथि पुल निर्माण गर्ने भनिए पनि निर्माणको सुरसार नहुँदा बर्सेनि वर्षायाममा यातायातका साधन अवरुद्ध हुने गर्दछन् । त्यस्तै डोल्पाको ठूलीभेरी नगरपालिकाको रुपगाड खोलामा सात वर्षदेखि पुल निर्माण नहुँदा यहाँका सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । काठको लाप्कोमा जोखिमपूर्ण तरिकाले यातायातका साधन राखेर वारपार गराउनुपरेको डोल्पाका प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारीले जानकारी दिए । सदरमुकाम दुनै र जुफाल जोड्ने मुख्य सडकका साथै भेरी करिडोरभित्रको डोल्पा सदरमुकाम जोड्ने मुख्य पुलका रुपमा यसलाई लिन सकिन्छ । यी पुल निर्माण नहुँदा डोल्पामा उत्पादन भएका स्याउ, जिम्बु र अन्य जडीबुटी ढुवानीमा समस्या थपिँदै आएको छ । सुर्खेत, नेपालगञ्ज, काठमाडौँलगायतका विभिन्न ठाउँबाट रुकुमपश्चिमको आठबीसकोटको माथिल्लो भाग तथा डोल्पा र जाजरकोटको माथिल्लो भागमा ल्याउने सामग्री पुलकै कारण बाधा पुग्दै आएको छ । झोलुङ्गे पुलमा स्थानीय मजदुरद्वारा प्रतिकिलोको रु ४० मा बोकाएर लैजाँदा र ल्याउँदा सामग्रीको मूल्य वृद्धि हुने गरेको छ । रुकुमपश्चिमको आठबीसकोट–१२ मा रहेका खोलामा समेत पुल निर्माण नहुँदा वर्षायाममा यातायातका साधन ठप्प हुने गरेका छन्। सबै ठाउँमा एक वर्षअघि नै पुल निर्माण गर्ने लक्ष्य लिइए पनि अहिलेसम्म काम नै सुरु हुन सकेको छैन । पुल निर्माण नहुँदा दैनिक उपभोग्य सामग्री स्थानीय मजदुरबाट ढुवानी गरेर मूल्य वृद्धि हुने गरेको छ । सबैभन्दा बढी डोल्पाका सर्वसाधारणलाई समस्या हुँदै गएको छ । निर्माणका सामग्रीदेखि जिल्लामा हुने सबैखालका विकासका काम यही सडकबाट ढुवानी हुने भएकाले हरेक सामग्री महँगो र तोकिएको समयमा पुग्ने गरेको छैन । जाजरकोट सदरमुकामबाट नलगाड–११ तल्लुसम्म कालोपत्रका लागि ठेक्का भएर काम सुरु गरिए पनि त्यो काम सन्तोषजनकरुपमा अगाडि बढ्न नसकेको नागरिक अगुवा राजेन्द्रविक्रम शाहले बताए । पुल र सडकको स्तरोन्नति ढिला हुँदा डोल्पाको जगदुल्ला जलविद्युत् आयोजना निर्माणका लागि प्रयोग हुने पहुँच मार्ग निर्माण तथा पुल निर्माणमा समेत समस्य देखिएको छ । पुल र सडक निर्माण छिटो भएमा आयोजनाको काममा सजिलो हुने आयोजनाका व्यवस्थापक सञ्जय सापकोटाले बताए । सडक डिभिजन चौरजहारीले भने निर्माण व्यवसायीले समयमा काम नगरेको आरोप लगाउँदै आएको छ ।

धनुषा:    पौराणिक प्रचलनअनुसार मधेस प्रदेशको राजधानी जनकपुरधाममा आज सीताराम विवाह महोत्सव मनाइँदै छ । जनकनन्दिनी सीताको विवाह भएको दिनको स्मरणमा मिथिलावासीले विशेष महोत्सवका रूपमा विवाह महोत्सव मनाउने गरेका हुन् । महोत्सवमा सहभागी हुन अहिले लाखौँ श्रद्धालु भक्तजनले जानकी मन्दिरलगायत यहाँस्थित देवालयमा आज बिहानैदेखि पूजाअर्चना गरिरहेका मन्दिरका महन्थ रामतपेश्वर दासले बताउनुभयो । उहाँका अनुसार सीतालाई छोरी–बहिनीका रूपमा मान्ने मिथिलावासीले महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्यरूपमा उपस्थित हुने विश्वासले हर्ष र उल्लासका साथ प्रतिछायाँ जन्तीको आगमनदेखि बिहेसम्ममा सहभागी हुने गर्दछन् । मैथिल साहित्यकार डा राजेन्द्र विमल भन्नुहुन्छ, “संस्कृतिअनुसार विवाह महोत्सव मनाइने क्रममा राम मन्दिर र जानकी मन्दिरबाट राम सीताको प्रतिमालाई सुसज्जित डोलीमा राखेर रङ्गभूमिमा लगी स्वयम्बर र परीक्षण विधि सम्पन्न गर्ने र जानकी मन्दिरमा ल्याएर विवाह संस्कार सम्पन्न गरिन्छ । सो अवसरमा निस्किने भगवान्को डोला शोभायात्रामा सहभागी हुनेले महोत्सव दैवी विवाह भएको अनुभव गर्दै आफूलाई धन्य सम्झन्छन् ।” राजर्षी जनक, जानकी र याज्ञवल्क्यको पुण्यभूमि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा बर्सेनि मार्ग शुक्ल पञ्चमीमा राम जानकी विवाहपञ्चमी मेला आयोजना गरिन्छ ।  आश्विन पूर्णिमाका दिन अयोध्याका राजा दशरथका जेठा छोरा श्रीरामचन्द्रले शिव धनुष उठाएर ताँदोमा बाण चढाउँदा भाँचिएपछि मार्गशुक्ल पञ्चमीमा राम जानकीको शुभविवाह भएको प्रसङ्ग सीतोपाख्यानमा उल्लेख छ । उक्त विवाह भएको खुसियालीमा सम्झनास्वरूप जनकपुरधाममा प्रत्येक वर्ष विवाह पञ्चमी पर्व मनाउने परम्परा रहेको हो ।      राम र जानकीको स्वयंवर भएको भनिएको रङ्गभूमि १२ बिघा मैदानमा विवाह पञ्चमीका दिन जनकपुरधामस्थित राममन्दिरबाट जन्तीसहित भगवान् रामको डोला नगर परिक्रमा गर्दै ल्याउने र जानकी मन्दिरबाट बाजागाजा र लावालस्करका साथ जानकीको डोला लगेर स्वयंवर गरिन्छ । त्यसपछि दुवै डोला नगरको परिक्रमा गर्दै जानकी मन्दिरमा पुगी मिथिलाको संस्कृतिअनुसार वैवाहिक कार्यक्रम सम्पन्न गरिन्छ ।       त्रेता युगमा मिथिलाका राजा जनकले सीता स्वयंवर आयोजना गर्दा देशदेशान्तरका सयौँ राजा र राजकुमार उपस्थित हुन पुगेको ऐतिहासिक तथा पौराणिक मान्यता छ । अहिले पनि हिन्दूको आस्थाको केन्द्रका रूपमा रहेको जनकपुरधामलगायत भारतबाट आएका लाखौँ श्रद्धालु डोला नगर परिक्रमा, दर्शन तथा पूजापाठ गर्न उपस्थित हुन्छन् ।      जनकपुरधाममा हरेक महिनाको पूर्णिमाका दिन, चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम रामचन्द्रको जयन्ती मनाउन र वैशाख शुक्ल नवमीमा जानकी प्राकट्य महोत्सवका उपलक्ष्यमा पनि यहाँ मेला लाग्ने गर्दछ  । त्यस्तै श्रावण शुक्ल तृतीयादेखि पूर्णिमासम्म झुला महोत्सव तथा फागुन शुक्लपक्षका बेला पन्ध्र दिवसीय मिथिला पञ्चकोसी परिक्रमा ९जनकपुरधामदेखि पाँच कोशको दूरीमा रहेको जानकीको बाल लीलासित सम्बद्ध ठाउँहरूको परिक्रमा० तथा उक्त परिक्रमाको अन्त्यमा फागु पूर्णिमाका दिन जनकपुरधामको अन्तरगृह परिक्रमा पनि आयोजना गरिन्छ ।  ती सबै उत्सव र पर्वमध्ये राम जानकी विवाह महोत्सव भने बढी श्रद्धा, निष्ठा, उत्साहका र भव्यतापूर्वक मनाइन्छ ।      वैवाहिक समारोहको पूर्वाङ्गस्वरूप मार्गशुक्ल द्वितीयाका दिन अयोध्याबाट साधुसन्तसमेतको एउटा जन्तीको डफ्फा९बाराती समूह०लाई जनकपुरधाम आइपुगेपछि स्वागत गरिन्छ । अयोध्याबाट आउने जन्तीलाई यसअघि नै नेपाली सीमामा प्रवेश गर्नासाथ मटिहानी, जलेश्वर, पिपरा, लादोबेला र जनकपुरधाममा स्वागत गरिन्छ ।   तृतीया तिथिमा राममन्दिरमा जानकी मन्दिरबाट साधुसन्त र नगरका प्रमुखको उपस्थितिमा तिलकोत्सव (कुरा छिन्ने काम अर्थात् वाग्दान) सम्पन्न हुन्छ । त्यसको भोलिपल्ट चतुर्थी तिथिमा मिथिला परम्पराअनुसार कन्यापक्षका तर्फबाट गरिने ‘मटकोर’ कर्म गङ्गासागरमा पुगेर निर्वाह गरिन्छ । पञ्चमी तिथिमा राममन्दिरबाट श्रीरामचन्द्रको डोला बाजागाजाका साथ नगरपरिक्रमा गर्दै रङ्गभूमि मैदानमा पुग्दछ । त्यहाँ पहिलेदेखि नै जानकी मन्दिरबाट जानकी माताको मूर्ति सुसज्जित मण्डपका साथ मन्दिरका महन्त, साधुसन्त र समाजका प्रबुद्ध नागरिक सम्मिलित सरियाती दल(घरगाउँले समूह वा माइती पक्ष)द्वारा स्वागत अभिवादन गरिन्छ ।  त्यसपछि राम मन्दिरबाट पुगेको डोलालाई जानकी मन्दिरबाट पुर्याइएको मण्डपद्वारा पाँचपटक परिक्रमा गराएर श्रीरामचन्द्रलाई पुष्पहार अर्पण गरी राम मन्दिरबाट मण्डपतर्फका महन्थबाट जानकीलाई स्वयम्बर गरिन्छ । स्वयम्बरपछि राम मन्दिरको डोला लावालस्करका साथ राममन्दिर फर्कंन्छ र त्यसै रात वैवाहिक कार्यक्रम सम्पन्न हुन्छ । प्रदेशभर सार्वजनिक बिदा सीताराम विवाह पञ्चमी महामहोत्सवका अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आज शुभकामना सन्देश जारी गर्दै विवाह पञ्चमीका अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिइएको जानकारी दिनुभयो ।            सप्ताहव्यापी मनाइने विवाह महोत्सवको मुख्य दिन आज परेकाले प्रदेश सरकारले विगत वर्षजस्तै सार्वजनिक बिदा दिएको हो । विवाह महामहोत्सवमा आउने तीर्थयात्रीहरूको बसोबास तथा भीड व्यवस्थित गर्न विद्यालयहरूमा सार्वजनिक बिदा दिइएको छ ।      तीर्थयात्रीको सुविधाका लागि जनकपुरधाम जयनगर ब्रोडगेज रेल सेवालाई विस्तार गरेर आजदेखि तीन पटक सञ्चालनमा ल्याइएको छ । विवाह पञ्चमीको एक दिन अगाडि आजदेखि रामकलेवासम्म प्रत्येक दिन तीनपटक रेल सञ्चालन गर्ने नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झाले जानकारी दिनुभयो ।      कम्पनीले मङ्सिर ११, १२ र १३ गते भारतको सिमानामा गर्ने जयनगर रेल्वे स्टेसनबाट कुर्थासम्म बिहान ८ः३०, १२ः३० र दिउसो ३ः३० बजे जनकपुरधामका लागि प्रस्थान गर्ने जनाएको छ । यसैगरी जनकपुरधामबाट बिहान १०ः४५, १ः४० र ५ः१५ बजे जयनगरका लागि रेल छुट्ने उहाँले जानकारी दिनुभयो । जनकपुरधामको कुर्थादेखि जयनगरसम्म ३५ किलोमिटरमा ब्रोडगेज रेल सेवा सञ्चालन गरिएको हो ।      रेल सेवाले भारतबाट आउने तीर्थयात्रीलाई जनकपुरधाम आउनका लागि निकै सहयोग मिलेको पनि महोत्तरी जिल्लाको भिट्ठामोड नाकाबाट आएका तीर्थयात्रीका लागि पर्याप्तमात्रामा बस सेवाको व्यवस्था नभएका कारणले तीर्थयात्री कष्टपूर्ण यात्रा गर्न विवश देखिन्छन् ।      थोरै बस सेवा सञ्चालन भएकाले यात्रीले पर्याप्त सेवा नपाएर दुःख भोग्नु परिरहेको दुखेसो तीर्थयात्रीले गरेका छन् । कतिपय यात्रा भिट्ठामोडबाट जनकपुरधामका लागि पैदल नै हिँडेको देखिन्छ ।         अहिले विवाह महोत्सवमा सहभागी हुन आउने पर्यटकका कारण जनकपुरका होटल, लज र धर्मशाला भरिभराउ हुनाका साथै स्थानीय सङ्घसंस्थाले ठाउँठाउँमा बासका लागि पन्डाल निर्माण गरेका छन् । विषेशगरी नेपाल तथा भारतको विभिन्न स्थानबाट ठूलो सङ्ख्यामा तीर्थयात्री जनकपुरधाम आउनेक्रम विगत दुई दिनदेखि जारी छ ।   

काठमाडौंः   निर्वाचन आयोगले यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा सहभागी राजनीतिक दल र उम्मेदवारलाई परिणाम घोषणा भएकोे ३५ दिनभित्र निर्वाचन खर्चको विवरण पेस गर्न निर्देशन दिएको छ ।  आयोगले तोकिएको ढाँचामा खर्च विवरण पेस गर्न निर्देशन दिँदै पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ मनोनयनपत्र पेस गरेका उम्मेदवारले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको दफा ७२ को उपदफा (४) अनुसार सम्बन्धित प्रदेश र जिल्ला निर्वाचन कार्यालयमा प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची (४)बमोजिमको ढाँचामा निर्वाचन खर्चको विवरण पेस गर्नुपर्ने जनाएको हो । विवरण पेस गर्दा तोकिएको हद (सीमा) बमोजिमको रकम मतदाता नामावली खरिद, सवारीसाधन, प्रचारप्रसार सामग्री, ढुवानी, गोष्ठी अन्तरक्रिया, अन्य प्रचारप्रसार, छापा एवं विद्युतीय माध्यम (सामाजिक सञ्जालसमेत), कार्यालय सञ्चालन र प्रतिनिधि परिचालन लगायतका विषय शीर्षक उल्लेख गरी बुझाउनु पर्नेछ । उम्मेदवारले निर्वाचनमा खर्च गर्दा प्रयोग गरेको बैंक खाताको विवरण र खर्च गर्ने जिम्मेवार पदाधिकारीको नामसमेत उल्लेख गरी पेश गर्नुपर्नेछ । निर्वाचन प्रचारप्रसारका लागि कोणसभा वा आमसभा गर्दा मञ्चको तयारीका लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैँ वा आफ्नो प्रतिनिधिमार्फत् मतदान सम्पन्न भएको मितिले १५ दिनभित्र निर्वाचन कार्यालयमा पेस गर्नुपर्छ ।  समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूची पेस गरेका राजनीतिक दलले निर्वाचन परिणाम घोषणा भएको मितिले ३५ दिनभित्र प्रतिनिधिसभा सदस्यका लागि प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को अनुसूची ३४ र प्रदेशसभा सदस्यका लागि प्रदेशसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को अनुसूची ३६ बमोजिमको ढाँचामा आयोगमा पेश गर्नुपर्नेछ ।  विवरण पेस गर्दा दलले हेलिकप्टर प्रयोग गरेको भए सोसमेत र दलले निर्वाचनमा खर्च गर्दा प्रयोग गरेको बैंक खाताको विवरण र खर्च गर्ने जिम्मेवार पदाधिकारीको नामसमेत उल्लेख गरी पेस गर्नुपर्ने छ ।

पोखरा:    कास्कीको पोखरामा रहेको एभरेष्ट एफएमले मानवसेवा आश्रम पोखराको भवन निर्माणका लागि सहयोगको घोषणा गरेको छ ।  एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएमको हालै सम्पन्न दोश्रो वार्षिकोत्सवका अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आश्रममा ‘एभरेष्ट कक्ष’ नै निर्माण गर्नेगरी सहयोगको घोषणा गरेको हो । एमफएमले एक कोठा निर्माणका लागि ५ लाख ११ हजार १११ रुपैयाँ दिने प्रतिबद्धता जनाएको आश्रमका केन्द्रिय कोषाध्यक्ष होमनाथ तिमिल्सिनाले जानकारी दिनुभयो । उहाँका अनुसार सो रकममध्य एफएमले पहिलो किस्ता स्वरुप रु एक लाख एक रुपैयाँ  हस्तान्तरण गरिसकेको छ । एफएमकी अध्यक्ष कर्मकुमारी गुरुङले आश्रमका कोषाध्यक्ष तिमिल्सिनालाई सो रकम हस्तान्तरण गर्नुभएको हो ।  आश्रमले बेसहारा, बेवारिसे तथा अभिभावकविहिन सडकआश्रित मानवहरु राख्नका लागि पोखरामा भवन निर्माण गरिरहेको छ । गुरुङले सडकआश्रित मानवहरुका लागि सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । यसअघि एफएमको शुभारम्भका अवसरमा २०७७ सालमा पनि रेडियोले मानवसेवा आश्रम पोखरालाई रु एक लाख ८ हजार ८४८ सहयोग गरेको थियो । यस्तै एफएमका प्रमोटर तथा सिटिजन फर्निचर ट्रेड लिंकका प्रोप्राइटर दीपक कार्कीले पनि रेडियोको परोपकारी कामबाट प्रभावित भई मानवसेवा आश्रमका लागि थप अर्को एउटा कक्ष निर्माण गर्ने घोषणा गर्नुभएको छ । पोखरा महानगरपालिका २५ हेम्जास्थित बाबियातरामा सञ्चालित आश्रमको अहिले भवन निर्माणाधिन अवस्थामा छ ।  यसैबीच आश्रमको भवन निर्माण सम्पन्न गर्न र अक्षयकोष श्रीवृद्धिका लागि पोखरामा आउँदो पुष १२ गते चर्चित व्याण्डको ‘नेपथ्य लाईभ कन्सर्ट’ हुँदैछ । ‘मानवताका लागि सङ्गीत’ भन्ने नाराका साथ पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुनेछ ।  

पोखरा:   प्रदेश खेलकुद परिषद गण्डकीले एक कार्यक्रमको आयोजना गरी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङलाई बिदाई गरेको छ । गण्डकी प्रदेश सरकारले खेलकुद विकासका लागि गठन गरेको परिषदमा गुरुङले सदस्य सचिव पदमा रहेर करिव १८ महिना नेतृत्व सम्हाल्दै गत असोज २५ गते उमेर हदका कारण अवकाश पाएका थिए । परिषदका उपाध्यक्ष धोज कुमार गुरुङको प्रमुख आतिथ्यतामा भएको विदाई कार्यक्रममा बोल्दै उपाध्यक्ष गुरुङले सदस्य सचिवको उत्कृष्ट नेतृत्वका कारण नवौं राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशले उत्कृष्टता हासिल गर्न सफल भएको बताए । यसै गरी कार्यक्रममा आफ्ना भनाई राख्दै संस्थापक सदस्य सचिव गुरुङले सबैको सहयोग र सदभावका कारणले नै नवौं राष्ट्रिय खेलकुदमा २९ वर्ष पछि उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको बताउँदै आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्नेहरु प्रति आभार व्यक्त गरे । उनले खेलकुदको विकासका लागि समाजका हरेक पक्षहरुलाई जोडेर अघि बढेमा मात्रै खेलकुद सफल हुन सक्ने बताउँदै हरेक नागरिकलाई खेलकुदमा आकर्षण गर्न र खेलुकदबाटै परिवर्तन सम्भव छ भन्ने कुरा वुझाउन आवश्यक रहेको औंल्याए । कार्यक्रममा प्रदेश खेलकुदका कार्यकारी सदस्य दिल बहादुर गुरुङले संस्थापक सदस्य सचिवको अथक मेहनत र योजनावद्ध कार्यक्रमले नै स्थापनको छोटो अवधिमा नै परिषदले सफलताका साथ आफ्ना योजनाहरु अघि बढाएको बताए । उनको सामिप्यताले खेलकुदमा उत्साह जागेको बताउँदै संस्थापक सदस्य सचिव गुरुङका योजनाहरु कार्यान्वयन गरे परिषदले अझै उचाई प्राप्त गर्नेमा कुनै द्विविधा नरहेको उल्लेख गरे ।   परिषदका सल्लाहकार एवं अग्रज खेलाडी खड्ग बहादुर रानाभाटले सहि व्यक्तिको नेतृत्व भएमा मात्रै संस्थाको विकास हुन सक्ने कुरा औंल्याउँदै संस्थापक सदस्य सचिव गुरुङले छोटो अवधिमा गरेको उत्कृष्ट योगदानलाई विर्सन नहुने बताए । परिषदका सदस्य सचिव घनश्याम पौडेलको अध्यक्षतामा भएको विदाई कार्यक्रममा परिषदका कार्यकारी सदस्य, वोर्ड सदस्यहरु, सल्लाहकारहरु, कार्यालयका कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो । 

पोखराः  लामा अमृत फाउण्डेसन घान्द्रुकका सस्थापक अमृत गुरुङले आफ्नो जन्मोत्सव वृद्धा आश्रममा मनाएका छन् ।  ३६ वर्षीय गुरुङले आफ्नो जन्मोत्सव पोखरा महानगरपालिका १७ छोरेपाटनस्थित मानवसेवा आश्रम र सीता पाइलास्थितको वृद्धाआश्रममा खाद्यान्नका सामाग्री सहयोग गरेका जन्मोत्सव मनाएका हुन् । उनले सहयोग हस्तान्तरण गर्दै आफ्नो जन्मोत्सवमा आर्शिवाद लिन वृद्धाश्रम पुगेको बताए । ‘आजभोलि जन्मदिनमा फजुल खर्च गर्ने प्रचलन बढ्दो छ । साथीभाईहरुसँग भेटघाटमा रमाइलो हुन्छ, उनले भने, ‘जन्मदिनमा बाहिर गर्ने फजुल खर्च भन्दा कुनै सामाजिक सेवामा खर्च गर्न पाए शान्ति मिल्छ । त्यसैले यहाँहरुसँग आर्शिवाद लिन यहाँ आएको हुँ ।’  उनले युवा पुस्तालाई सन्देश दिने उद्देश्यले जन्मोत्सव आश्रममा मनाएको बताए । ‘यो मेरो सहयोग भन्दापनि सन्देश हो, उनले भने, ‘भोज गरेर खर्च गर्नुको सट्टा असहायको साहरा बन्न सक्नुपर्छ भन्ने हेतुले हरेक वर्ष मैले यसरी नै जन्मोत्सव मनाउने गर्दछु ।’ हरेकवर्ष आफ्नो जन्मोत्सव वृद्धाश्रममा मनाउदै आएको बताउदै यसपटकपनि सोही कार्यलाई निरन्तरता दिएको गुरुङले जानकारी दिएका थिए ।  युवा व्यवसायी तथा समाजसेवी गुरुङले सामाजिक सेवासँगै खेलकुद विकासको क्षेत्रमासमेत काम गर्दै आएका छन् । उनले यसअघि कोरोना महामारीको समयमा पनि विपन्न परिवारहरुलाई राहात स्वरुप खाद्यान्नका समाग्री सहयोग गरेका थिए ।  गुरुङले सहयोग गरेको मानवसेवा आश्रम छोरपाटनमा सय जना र सीता पाइलास्थित पोखरा वृद्धाश्रममा ५५ जना  आश्रित छन् । सोही अवसरमा उनले पोखरा १४ का मृगौलापीडित नरबहादुर तामाङको परिवारलाईसमेत खाद्यान्न तथा नगद सहयोग गरेका थिए ।  

पोखरा: सराङ्गकोट धार्मिक पर्यटन क्षेत्र विकास समितिद्धारा निर्माण गरिन लागेको विशाल शिव मन्दिर र पञ्चमूखी गणेश मूर्ति स्थापना हुने भूमीमा विशेष पुजा गरीएको छ। श्री राणी सेवा संघ काठमाडौंद्वारा कूलदेवीको रुपमा दुर्गा अवतार त्रिशुल सहित विशेष पुजा गरीएको छ । संस्थाले धार्मिक एवं सामाजिक कार्य गर्दै आएको नेपालको विभिन्न क्षेत्रमा रहेका माडवारी समूहको सामाजिक संस्था राणी सती सेवा संघका महासचिव रामकृष्ण तुलाश्यामले बताए ।  अन्तराष्ट्रिय रुपमा परिचित सराङ्गकोटमा विशाल शिव मन्दिर, भ्यू टावर, बहुउद्धेश्यीय भवनको निर्माण अन्तिम चरणमा रहेको समितिका अध्यक्ष प्रेम बहादुर जि.सी ले बताए । सराङ्गकोटमा जाने पर्यटकलाई आकर्षित गर्ने उद्धेश्यले पञ्चमुखी गणेशको मूर्ती निर्माण गर्न अन्नपूर्ण केवलकारका अध्यक्ष कालु गुरुङको योजकत्वमा विशाल पञ्चमुखी गणेशको मुर्ति निर्माण गर्न लागीएको छ ।  ६ करोडको लगानीमा ३० फिट अग्लो मूर्ति भारतमा निर्माण गरिनेछ । अन्नपूर्ण केवलकारको समन्वय तथा पूर्ण लगानीमा निर्माण हुने पञ्चमूखी गणेश मूर्ति निर्माण कार्य ६ महिनाभित्र सम्पन्न गरीने योजना रहेको केवलकारका इन्जिनियर सुमेश बास्तोलाले बताए ।

गण्डकी:   पर्यटकीय नगरी पोखराका प्राचीन संस्कृतिमध्येको एक हो यहाँको भैरव नृत्य । पछिल्लो समयमा प्रत्येक छ/छ वर्षमा गरिँदै आएको यो नृत्य अहिले पोखरामा प्रदर्शनको तयारी गरिएको छ ।  यो नृत्य मङ्सिर १५ सुरु हुने र चैत मसान्तसम्म सञ्चालन हुने भैरव सांस्कृतिक संरक्षण समिति पोखराका अध्यक्ष तीर्थमान प्रधानाङले जानकारी दिनुभयो । भय र दण्डका देवताका रुपमा हिन्दू र बौद्ध संस्कृतिमा प्राचीनकालदेखि भैरवको पूजाआजा हुँदै आएको पाइन्छ ।  तन्त्रोक्त विधिबाट पूजा गरिने भैरवका विभिन्न रूप छन् । भैरवको पूजाबाट सबै किसिमका भयसँगै दुःख कष्ट निवारण हुने जनविश्वास रहेको अध्यक्ष प्रधानाङले बताउनुभयो । नेवारी संस्कृतिमा भैरव नृत्यको प्राचीन परम्परा छ । यसलाई गण नृत्य (गँ प्याखँ) भैरव नृत्य (भैल प्याखँ)आदि नाममा काठमाडौँ उपत्यकामा विभिन्न भागमा प्रदर्शन गरिँदै आएको उहाँको भनाइ छ ।  पोखरामा पनि भैरव नृत्यको साढे दुई शताब्दीभन्दा पुरानो इतिहास रहेको बताउँदै उहाँले भन्नुभयो, “पोखरामा यो नृत्य २५० वर्षभन्दा अघिदेखि यहाँको नेवार समुदायको तत्वावधानमा सुरु भएको हो । यो नृत्य प्रत्येक १२ वर्षको अन्तरालमा गरिँदै आइएकोमा २०२९ सालदेखि प्रत्येक छ वर्षको अन्तरालमा गरिँदै आइएको छ ।” यसमा भैरव, काली, इन्द्रायणी, बराह, कुमारी, विष्णुवी, गङगाजु, गणेश, दागिनी, भूच्या र कबाङ गरी १२ पात्रको मुखुण्डो लगाएर नाचिने भैरव सांस्कृतिक संरक्षण समिति पोखराका सल्लाहकार एवं संस्कृतिविद् तीर्थ श्रेष्ठले जानकारी दिनुभयो ।  उहाँका अनुसार यो नृत्य शास्त्रीय भजनमा आधारित हुन्छ । राग कौशिक, राग छयाँनट, राग मालवा, राग सारङ्गा, राग तोडी, राग मालश्रीलगायतका राग तथा खरजति ताल, चोक ताल, एक ताल, दोमा तालमा आधारित नेवारी भाषाका भजन गायनमा आधारित भएर नर्तकहरू नृत्य गर्ने गर्दछन् ।  मृदङ्गा (खिं) झ्याली, ताः, धाः, सहनाई, (मुहाली) को बादनका माध्यमबाट सङ्गीत सिर्जना गरिने यस नृत्यमा सामान्यतः १२ नर्तक ३० गायक १० वाद्यवादक, १२ नर्तक सेवक, १२ जगेडा कलाकार, १० स्वयंसेवक तथा अन्य व्यवस्थापन पक्षका सहभागी २० जना गरी एक सय छ जनाको सहभागिता रहने अध्यक्ष प्रधानाङ्गले जानकारी दिनुभयो । ठूलो सङ्ख्यामा कलाकार चाहिने यो नृत्य एक पटकमा सञ्चालन गर्न लगभग ८० हजार रुपैयाको लागत लाग्ने गुरु कृष्णदेव प्रधानाङ्गले जानकारी दिनुभयो ।  शास्त्रीय सङ्गीतमा आधारित यस नृत्यलाई परम्परागत नृत्य नाटिकाका रुपमा पनि लिने गरिन्छ । यस नृत्यका भजनमा भक्तपुरका राजा रणजित मल्लको नाम उल्लेख भएकाले यसको उद्गम रणजीत मल्लकालीन भक्तपुर भएको अनुमान गर्न सकिन्छ । पोखराको पुरानो यस सांस्कृतिक सम्पदाप्रति सबै समुदायका पोखरेलीको निरन्तर सहयोग र सद्भाव प्राप्त रहेको संस्कृतिविद् श्रेष्ठले बताउनुभयो । नेपाल सरकारले यस नृत्यको सम्मानार्थ २०५७ सालमा यस नृत्य अङ्कित हुलाक टिकट प्रकाशन गरेको थियो ।  पोखराको वरिष्ठ संस्कृतिकर्मी स्व सर्वज्ञमान प्रधानाङ्ग भैरव सांस्कृतिक संरक्षण समितिको अध्यक्षसँगै लामो समयसम्म यस नृत्यको गुरुको भूमिका निर्वाह गर्नुभएको थियो भने स्व कृष्णबहादुर वैद्य पनि गुरु भएर नेतृत्वदायी भूमिका निभाउनुभएको थियो । हाल यस नृत्यका गुरु कृष्णदेव प्रधानाङ्ग र उपगुरु मेघबहणदुर ताम्राका र हुनुहुन्छ । नृत्यमा उपयोग गरिने मुखुण्डोलाई तन्त्रोक्त विधिबाट साक्षात शक्तिको जागरण गराईने हुनाने यसलाई तन्त्रमा आधारित मान्ने गरिन्छ । यसमा सहभागी हुने नृत्य कलाकारमा नृत्य शक्ति सञ्चार हुने समितिका कोषाध्यक्ष महेन्द्र बजिमयले जानकारी दिनुभयो । नृत्य सुरु गर्नुपूर्व कलाकारलाई नाटेश्वरको टीका लगाउने प्रचलन रहेको उहाँले बताउनुभयो ।  मुखुणेमा शक्ति जगाउने काममा यस अघि धर्मराज गुभाजु, पुण्यराज गुभाजु कान्तिराज भाजू, विविध मङ्गल गुभाजु हुँदै यसअघिको २०७२ को नृत्यमा डा सिध्दिवीर कमाचार्य रहनुभएको थियो । यसवर्ष मुखुण्डो सिद्धीमा ललितपुरका श्री हीरारत्न गुभाजु संलग्न हुनुभएको छ ।  यो नृत्य प्रदर्शन गर्न करिब दुई महिना लामो नृत्य, वाद्यवादन र गायन प्रशिक्षण हुने गर्दछ । यसवर्ष प्रशिक्षणमा करिब तीन सय ५० भन्दाबढी कलाकार सहभागी भएका भएको र बाद्यवादनमा २० जना र गायनमा २० जना सहभागी भएको अध्यक्ष प्रधानाङ्ले जानकारी दिनुभयो । नृत्य अत्यन्त खर्चिलो भए पनि आवश्यक पर्ने वस्त्राभूषण विभिन्न दाता महानुभावबाट प्राप्त भएको सचिव सुरेन्द्रमान विजुक्क्षेले जानकारी दिनुभयो । यही मङ्सिर १५ गतेदेखि प्रदर्शन गर्ने तयारी भएको यस नृत्यको पहिलो दिनमा नाटेश्वरको सम्मानस्वरुप भीमसेन मन्दिर भीमसेनटोलमा प्रदर्शन गरिने योजना छ । यो नृत्य १६ गते गणेश मन्दिर गणेशटोल, १७ गते सरस्वती मन्दिर तेर्सापट्टी, १८ गते विन्ध्यवासिनी मन्दिर, १९ गते गणशमन्दिर भैरवटोल, २२ गते गुरु कृष्णदेव प्रधानाङको निवास्थान भैरवटोल प्रदर्शन गरिने जनाइएको छ ।  नृत्यलाई विभिन्न व्यक्ति तथा संस्थाले आमन्त्रण गर्ने प्रचलन रहेको र माग अनुसार विभिन्न स्थानमा प्रदर्शन गर्ने तयारी गरिएको  अध्यक्ष प्रधानाङले जानकारी दिनुभयो । नृत्य आमन्त्रण गर्न व्यक्तिगत र संस्थागत क्रमशः ३५ हजार र ५० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।