मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का वडाध्यक्ष डुकके विष्टको ७५ वर्षको उमेरमा निधन भएको छ ।   लामो समयदेखि पेटसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष विष्टको उपचारका क्रममा काठमाडौँमा निधन भएको गाउँपा...

काठमाडौं:    राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपञ्चमी तथा सरस्वती पूजाको अवसरमा शुभकामना दिनुभएको छ। सन्देशमा वसन्तपञ्चमी तथा सरस्वती पूजाको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइ तथा बालबालिकाप्रति शुभकामना व्यक्त गरिएको छ।     राष्ट्रपति भण्डारीले यस दिनमा गरिने वसन्त श्रवण र सरस्वती पूजा औपचारिकता मात्र नभई हाम्रो जीवनलाई सदैव ऊर्जाशील बनाइराख्ने र नवीन सिर्जनाका लागि प्रेरित गरिरहने अवसर पनि हो भन्दै यस पर्वका माध्यमबाट मौलिक संस्कृतिको संरक्षण एवं संवद्र्धनका साथै मुलुकको सामाजिक तथा सांस्कृतिक विविधताबीच एकता कायम गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउने समेत योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ।  शिक्षा र ज्ञानकी आराध्य देवी सरस्वतीको पूजाअर्चना गरी वसन्तपञ्चमी बिहीबार मनाइँदैछ। माघ शुक्ल पञ्चमीका दिन सरस्वती पूजा गरिन्छ। काठमाडौँको वसन्तपुरमा रहेको हनुमानढोकाभित्रको नासलचोकमा राष्ट्र प्रमुखको उपस्थितिमा वसन्त श्रवणको आयोजना गर्नुका साथै विभिन्न स्थानमा रहेका सरस्वतीका मन्दिरमा पूजाअर्चना गर्ने गरिन्छ। यस दिन ललितपुरको लेलेमा रहेको सरस्वतीकुण्ड, काठमाडौँको नील सरस्वती मन्दिर र भक्तपुरको सरस्वती खेलमा रहेको सरस्वतीको मन्दिरमा विशेष मेला लाग्ने गर्छ।  यस दिनलाई अत्यन्तै शुभ दिन मानिने हुनाले विभिन्न धार्मिक अनुष्ठान बिहे, व्रतबन्ध, पास्नीलगायतका शुभकार्यका लागि साइत जुराइरहनु नपर्ने मान्यता छ। त्यस्तै बालबालिकालाई अक्षरारम्भ गर्न, नाक, कान छेड्न पनि यसै दिनलाई उपयुक्त साइत मानिने गरिन्छ।

गोरखा:   उत्तरी गोरखामा भारी हिमपात भएको छ । आजदेखि साम्दोलगायतका क्षेत्रमा भारी हिमपात भएको चुमनुब्री गाउँपालिका–१ साम्दोका स्थानीयवासी निमा दोर्जेले जानकारी दिनुभयो ।  “मौसममा आएको परिवर्तन र चिसो बढेपछि बिहानैदेखि हिमपात भइरहेको छ”, उहाँले भन्नुभयो, “अहिलेसम्म जमिनमा झण्डै एक फिटसम्म हिउँ जमिसकेको छ ।” उत्तरी गोरखाका सामागाउँ, ल्हो, प्रोक, बिही, चुम्चेत, छेकम्पार र सिर्दीबासलगायतका उच्च हिमाली क्षेत्रमा आजदेखि हिमपात सुरु भएको हो । हिमपातका कारण मानिसलाई घर बाहिर निस्कन तथा आवतजावतमा समेत समस्या भएको उहाँको भनाइ छ । “पशुबस्तुलाई घाँसपात गर्न र चरणका लागिसमेत अहिले समस्या भएको छ”, स्थानीयवासी दोर्जेले भन्नुभयो, “केही दिनका लागि त जसोतसो व्यवस्था गर्न सकिएला धेरै दिन प¥यो भन्ने यहाँका बासिन्दालाई ठूलो सास्ती हुन्छ ।” अघिल्ला वर्षको तुलनामा यो वर्ष ढिलो गरी हिमपात परेको दोर्जेले बताउनुभयो । “यो वर्ष ढिलो गरि हिमपात भयो”, उहाँले भन्नुभयो, “हिउँ पर्न थालेपछि स्थानीय सर्वसाधारण भने खुसी भएका छन् ।” हिउँ परेपछि खेतीपाती राम्रो हुने भएकाले स्थानीयवासी खुसी भएका उहाँले जानकारी दिनुभयो । “हिमपात भएपछि सुकेका घाँसपात पलाउने तथा खेतीबालीलाई पनि राम्रो हुन्छ”, दोर्जेले भन्नुभयो, “वातावरणसमेत सफा हुने भएकाले पनि हिउँ परेको राम्रो मानिन्छ ।”

काठमाडौं:  नेपाल आयल निगमले पेट्रोलियम पदार्थ खुला रुपमा नबेच्न आग्रह गरेको छ। निगमले एक विज्ञप्ति जारी गर्दै पेट्रोल पम्पबाट सवारी साधनमा सिधै भर्ने बाहेक खुल्ला रुपमा पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्न आग्रह गरेको हो।  निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अति प्रज्वलनशील पेट्रोलियम पदार्थ खुल्ला रुपमा बोतल, जर्किन लगायतका भाँडामा बिक्री वितरण, असुरक्षित ओसारपसार तथा घर, पसलमा भण्डारण गर्दा आगलागी र मानवीय एवं भौतिक क्षति समेत हुने संवेदनशील विषय भएकोले पेट्रोल पम्पबाट सवारी साधनमा सिधै भर्ने बाहेक खुल्ला रुपमा पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्नुरनगराउनु हुन सूचित गरिन्छ।’ जिल्ला प्रहरी परिसर, काठमाडौंले पेट्रोलियम पदार्थको सुरक्षित बिक्री वितरण सम्बन्धमा मिति २०७९र१०र११ गते सूचना समेत प्रकाशित गरेकाले सोही अनुसार गर्न पनि निगमले आग्रह गरेको छ।  सुरक्षा संवेदनशीलतालाई अवज्ञा गरी खुल्ला रुपमा बोतल, जर्किन लगायतका भाँडामा पेट्रोलियम पदार्थको बिक्री वितरण गरेको पाइएमा कारबाही हुने निगमले जनाएको छ।  

विराटनगर:  विराटनगर महानगरपालिका–३ स्थित ढाटमा बुधबार दुर्घटना हुँदा प्रदेश १ को प्रदेशसभा सचिवालयका एक अधिकृतको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा संसद सचिवालयकाmअधिकृत सुनसरी धरान उपमहानगरपालिका–८ घर भएका प्रेमबहादुर श्रेष्ठ रहेका छन् ।  धरानबाट विराटनगरस्थित संसद सचिवालयतर्फ आउने क्रममा श्रेष्ठ दुर्घटनामा परेका थिए । मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठका अनुसार उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १–०४–००१ ब ०००७ नम्बरको मोटरसाइकल र उत्तरतर्फ जाँदै गरेको को ३८ प ५३८७ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाँदा बिहान ८ः५५ बजेतिर दुर्घटना भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा अपरान्ह उनको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा स्कुटर चालक बूढीगंगा गाउँपालिका–२ का ३५ वर्षीय रोशन विक र पछाडि सवार विराटनगर–४ का २५ वर्षीय विशाल प्रसाईं सामान्य घाइते भएका छन् । उनीहरुको उपचार भइरहेको छ ।

झापा:  संघीय संसद् भवन नयाँ बानेश्वर अगाडि आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको पक्षमा न्याय माग्दै झापामा युवाहरूले प्रदर्शन गरेका छन्।  युवाहरूले विर्तामोडको मुक्ति चोकमा अनसनसहितको शान्तिपूर्ण र्‍याली गरेका छन्। आचार्यको पीडा धेरै नेपालीसँग भएको र यस्तो नदोहोरिन सरकारले कदम चाल्नुपर्ने माग गर्दै विर्तामोड नगरपालिका ४ का माधवकुमार झा मुक्ति चोकमा अनसन बसेका छन्।  बिहान ११ बजेदेखि पानी खाने तर अन्न नखाने गरी अनिश्चितकालीन अनसन थालेको झाले बताए।   बैंक तथा वित्तीय संस्थाको दबाबको कारण आचार्यले ज्यान आहुती दिएको भन्दै त्यस्ता कर्मचारीहरूको छानबिन गरी आत्महत्या दुरुत्साहनको अभियोग लगाउनुपर्ने उनको माग छ। विर्तामोड र मेचीनगरका स्वतन्त्र युवाहरूले शान्तिपूर्ण दबाब र्‍याली गरेका छन्। ‘जनता जलिरहेको राज्य आगो तापिरहेको छ, युवा जल्यो व्यवस्थालाई किन पोलेन ?, जलेर मर्नु र मरेर जल्नुमा फरक छ नि सरकार’ जस्ता प्लाकार्डसहित उनीहरूले मुक्ति चोकमा र्‍याली निकालेका हुन्। 

काठमाडौँ: प्रेस काउन्सिल नेपालले पछिल्लो ६ महिनामा ४५ वटा सञ्चार माध्यमलाई आचारसंहिता उल्लङ्घनमा कारबाही गरेको छ । जसमध्ये एउटा अनलाइन कालोसूचीमा परेको छ । अदालतमा विचाराधीन मुद्दालाई प्रभावित गर्दै समाचार लेखेको भन्दै तनहुँको एक पत्रिकालाई २४ घण्टे स्पष्टीकरण मागेको छ । आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गरेपछि काउन्सिलले पटक पटक दिएको निर्देशन अवज्ञा गर्ने आइअफनेपाल डटकमलाई कालोसूचीमा राखी थप कारबाही अघि बढाइएको काउन्सिलले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । काउन्सिलका सह–प्रवक्ता एवं सूचना अधिकारी उपप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा अदालतमा विचाराधीन रहेको विषयमा मुद्दा प्रभाव पार्ने किसिमले सामग्री सम्प्रेषण गर्ने तनहुँबाट प्रकाशित प्रादेशिक खबर दैनिकसँग २४ घण्टे स्पष्टीकरण माग गरिएको जनाइएको छ । काउन्सिलले गरेको स्वअनुगमनमा आचारसंहिता विपरीत सामग्री सम्प्रेषण गर्ने २८ वटा सञ्चार माध्यममध्ये २ वटालाई निर्देशन, ६ वटालाई ध्यानाकर्षण, ११ वटालाई सचेत, ४ वटालाई स्पष्टीकरण र ५ वटा वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाउन पत्राचार भएको विज्ञप्तिमा जनाइएको छ । यस्तै, उजुरीका आधारमा दर्ता र सूचीकरण नभएका १६ वटा वेबपोर्टललाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाउन नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार भएको छ । काउन्सिलले पछिल्लो समयमा विज्ञापनको नाममा अनावश्यक दबाब दिने, ‘बार्गेनिङ’ गर्ने र तथ्यहीन समाचार सम्प्रेषण गरेका ६ वटा गुनासा परेको जनाएको छ । यस्तो कार्य प्रचलित कानुन, पत्रकार आचारसंहिता विपरीत र  पत्रकारिताको दुरुपयोग भएको भन्दै काउन्सिलले सञ्चार माध्यमलाई सजगता अपनाउन ध्यानाकर्षण गराएको छ । अटेरी गरे कारबाही हुने काउन्सिलले चेतावनी दिएको छ । ‘‘पछिल्लो समय बार्गेनिङ पत्रकारिताविरुद्ध उजुरी पर्न थालेका छन् । हामीले विशेष संयन्त्र बनाएर छानबिन गरिरहेका छौँ’’ काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले भन्नुभयो । काउन्सिलमा २०७९ साउनदेखि हालसम्म विभिन्न मिडियाविरुद्ध नियमिततर्फ ९७ वटा उजुरी, एक जनगुनासो दर्ता भएका छन् ।  हालै सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको विशेष अनुगमनका १५ वटा उजुरी र अनुगमन भएकामध्ये १ सय ५१ वटा सामग्री आचारसंहिता प्रतिकूल पाइएको काउन्सिलले जनाएको छ । तीमध्ये २९ वटालाई निर्देशन, ५३ वटालाई ध्यानाकर्षण, ३१ वटालाई सचेत, १८ वटालाई मौखिक ध्यानाकर्षण तथा निर्देशन, २७ वटालाई स्पष्टीकरण सोधिएको र ७ वटालाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने बनाउन नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार भएको थियो ।

काठमाडौं:  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुरु भएको सुनुवाइ हेर्दाहेर्दैमा बसेको छ ।   कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वर खतिवडा, डा। आनन्दामोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासमा बुधबार रिट निवेदकहरुले बहस गर्नुभयो ।   शुक्रबार बहस सकिने छ ।

हिले:  भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्र राईले धनकुटाको सिंधुवा बजारका आगलागीपीडितलाई आफ्नो मासिक तलबबाट आर्थिक सहयोग गर्नुभएको छ । मन्त्री राईले छथर जोरपाटी गाउँपालिका –६ स्थित सिंधुवा बजारमा पुगेर आठ जना पीडितलाई नगद ५५ हजार रुपियाँ सहयोग गर्नुभएको हो ।  सहयोग हस्तान्तरणमा बोल्दै मन्त्री राईले आगजनीमा नष्ट भएको घर आफ्नो पहलमा बनाइदिने प्रतिवद्धता जनाउनुभयो । मन्त्री राईले आगलागि पीडितहरु झमक थापालाई १५ हजार, सन्तबहादुर राईलाई १० हजार र लिला थापा, डिकबहादुर खड्का, ललित राई, डम्बरबहादुर थापा, अर्जुन घिमिरे र यमन मगरलाई जनही पाँच–पाँच हजार नगद प्रदान गर्नुभएको हो ।  गत पुस ३० गते राति आगलागि हुँदा छथर जोरपाटी गाउँपालिका –६ स्थित सिंधुवा बजारका पाँच घर जलेर नष्ट हुँदा ४९ लाख बराबरको क्षति भएको थियो । यसअघि गाउँपालिका, रेडक्रस, सूर्यबहादुर थापा फाउण्डेसन, प्रदेश सांसद ईन्दिरा थापाले पनि आगलागी पीडितलाई नगदसहित बिभिन्न सामग्री प्रदान गरेका छन् । 

हेटौंडा:  बागमती प्रदेशका नयाँ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । ८ जना मन्त्रीले बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष पद तथा  गोपनीयताको शपथ लिएका हुन् ।  नेकपा माओवादीबाट गंगानारायण श्रेष्ठ आन्तरिक मामिला तथा कानुन मन्त्री,कुमारी मोक्तान सामाजि विकास मन्त्री र युवराज दुलाल भौतिक पूर्वाधार विकास मन्त्री भएका छन् । नेकपा एमालेबाट केशव प्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकास मन्त्री,रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्री र एकलाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री भएका छन् । राप्रपाबाट यसअघि नै मन्त्री नियुक्त भइसकेका उद्धव थापाले खानेपानी उर्जा तथा सिंचाई मन्त्रालयको जिम्मेवारी पाएका छन् । राप्रपाबाट डम्बर तामाङ पर्यटन उद्योग तथा सहकारी मन्त्री र राजु विष्ट वन तथा वातावरण मन्त्री भएका छन् । उनीहरुले पद तथा गोपनीयताको शपथसँगै आजै पदभार ग्रहण गरेका छन् ।  बागमती प्रदेशमा मुख्यमन्त्री शालिकराम जम्कट्टेलसहित ११ सदस्यीय मन्त्रिपरिषद बनेको छ । यो सरकारलाई समर्थन गरेका नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले भने सरकारमा सहभागिता जनाउने अवसर पाएनन् ।