पोखरा:  पोखरा र बागलुङबाट एक थास प्रकाशित हुँदै आएको ढोरपाटन दैनिक २३ औं वर्षमा प्रवेश गरेको छ ।  आफ्नो २३ औं वार्षिकोत्सव आइतबार एक समारोहका बिच पोखरामा मनाइएको छ । सोही क्रममा कार्यक्रमको उ...

कञ्चनपुर:  सुदूरपश्चिम प्रदेशमा बाँधा श्रमका रुपमा रहेको हलिया प्रथा उन्मूलन भएको डेढदशक बित्नै लागेको छ । हलिया मुक्तिको घोषणापश्चात पुन:स्थानको कार्य अगाडि बढाइएको छ । पुन:स्थापनाको कार्य अगाडि बढाइएको आठ वर्ष बिते पनि हालसम्म टुङगोमा पुग्न सकेको छैन । जग्गा र निर्माण सामग्रीको बढेको मूल्य बढदा पुन:स्थापना प्याकेज पुरानै छ । पुनःस्थापनाको रकम थोरै हुँदा समयसापेक्ष बनाउनुपर्ने माग उठ्न थालेको छ । पुन:स्थापनाका लागि सरकारले दिने रकम न्यून रहेको राष्ट्रियमुक्त हलिया समाज कञ्चनपुरका अध्यक्ष शिवि लुहार बताउँछन् । ‘जग्गा खरिद, घर निर्माण, मर्मत गर्न एक दशकअघि तयार गरिएको प्याकेज अनुसारको रकम छ’ उनले भने, ‘त्यसको पुनरावलोकनका लागि सङ्घदेखि प्रदेश सरकारसम्म पुगेका छौं’, अझै पनि पुनःस्थापना प्याकेजको रकममा वृद्धि गरिएको छैन । यसले गर्दा पुनःस्थापनाको कार्य अगाडि बढाउन कठिन भएको छ ।” उहाँका अनुसार पुनःस्थापना प्याकेजको सात सय २३ परिवारले दोस्रो किस्ताको रकम नपाउँदा घर निर्माण गर्न सकेका छैनन् । पुन:स्थापना प्याकेजअन्तर्गत तराई पहाडमा जग्गा खरिदका लागि रु दुई लाख, घर निर्माणका लागि पहाडमा रु तीन लाख २५ हजार र तराईमा रु दुई लाख २५ हजार तथा घर मर्मतका लागि रु एक लाख २५ हजार रकम निर्धारण गरिएको छ । निर्धारण गरिएको रकम समयमै निकासा नहुँदा पुन:स्थापनाको कार्यले गति लिन नसकेको अध्यक्ष लुहार बताउनुहुन्छ । पुन:स्थापनाको अवस्था हेर्दा सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशमा गरी १६ हजार नौ सय ५३ मुक्त हलिया परिवार प्रमाणीकरणमा परेका छन् । प्रमाणीकरणमा परेकामध्ये १४ हजार दुई ४२ जनाले परिचयपत्र पाएका छन् । मुद्दा प्रक्रियाद्वारा अर्धन्यायिक निकायबाट प्रमाणित भई परिचयपत्र पाएकामुक्त हलियाको सङ्ख्या ५४ रहेको छ । हालसम्म ‘क’ वर्गको परिचयपत्र पाउने एक हजार आठ सय ३८, ‘ख’ वर्गको परिचयपत्र पाउने तीन हजार छ सय ६३, ‘ग’ वर्गको परिचयपत्र पाउने एक हजार एक सय ७२ र ‘घ’ वर्गको परिचयपत्र पाउने सात हजार पाँच सय ६९ रहेका छन् । सुदूरपश्चिम प्रदेशका नौ जिल्ला र कर्णाली प्रदेशका तीन जिल्ला गरी १२ जिल्लामामुक्त हलियाको बसोबास रहेको छ । हालसम्म १२ वटै जिल्लामा पुनःस्थापना भएका मुक्त हलियाको सङ्ख्या १३ हजार पाँच सय ४६ रहेको छ । जग्गा खरिद र घर निर्माण दुई हजार तीन सय ४२, घर निर्माण मात्र भएको एक हजार एक सय ९६, जग्गा मात्र खरिद भएको आठ सय तीन र घर मर्मत भएको आठ हजार दुई सय १९ रहेका छन् । प्रमाणीकरण गर्न बाँकी १४ हजार ९९ घरघुरी रहेका छन् । प्रमाणीकरण भई परिचयपत्र प्राप्त गर्न बाँकी रहेका दार्चुलाका २५, बैतडीका एक सय ३९, बझाङका ७९, बाजुराका एक सय ४२ र डोटीका ५६ गरी चार सय ४१ घरघुरी छन् । पुनःस्थापना हुन बाँकी रहेको सङ्ख्या दुई हजार सात सय ११ रहेका छन् । राष्ट्रिय मुक्तहलिया समाज महासङ्घ नेपालका अध्यक्ष ईश्वर सुनार पुनःस्थापनामा मुख्य चुनौतीका रुपमा उपयुक्त ठाउँमा जग्गा नपाउनु र पुनःस्थापना प्याकेजको रकममा वृद्धि नहुनुलाई मान्‍छन् । ‘पुन:स्थापनाका लागि सरकारले छुट्याइएको रकम थोरै छ’ उनले भने, ‘उपयुक्त ठाउँमा त्यो पैसामा जग्गा पाइँदैन, बजारभन्दा निकै टाढाका क्षेत्रमा जग्गा खरिद गरी पुन:स्थापना गर्दा त्यो कार्य दिगो हुनसकेको छैन् ।’ टाढाको क्षेत्रमा पुन:स्थापना गर्दा रोजगारीको समस्या रहेको उनले बताए । ‘ग्रामीण क्षेत्रमा पुन:स्थापना भएका मुक्तहलिया परिवारलाई जीविका चलाउन समस्या हुने गरेको छ’ उनले भने, ‘त्यही भएर परिवारसहित रोजगारीका लागि पुन:स्थापना गरिएको बस्ती छाडेर अन्यत्र जानुपर्ने बाध्यता छ।’ स्थानीय ठाउँमा मौसमी कृषि मजदूरका र केहीले निर्माणको क्षेत्रमा काम पाउने गरेका छन् । बढ्दो महँगीमा कम आम्दानीले परिवारको जीविका चलाउन नसकिने अवस्था रहेको मुक्तहलिया परिवारका महेश विकले बताए । ‘कञ्चनपुरको महेन्द्रनगरमा रहेको होटेलमा काम गर्दथें’ उनले भने, ‘दुई महिना जति काम गरे, दलित समुदायको व्यक्ति भएको थाहा भएपछि पुरानो मान्छे आयो, त्यसलाई काम दिनुपर्छ भनेर निकाल्यो, होटेलमा गर्दै आएको कामबाट निकालिएपछि थोरै ज्यालामा गाउँमै काम गर्दा घरका लागि खान पुग्ने गरी चामल दाल किन्न मुस्किल छ।’ स्थानीय ठाउँमा जातीय विभेदका कारण काम नपाइने भएपछि अधिकांश मुक्तहलिया परिवार जीविकोपार्जनको खोजीमा भारतका सहरमा पहरेदार, भान्छे र जोखिमयुक्त निर्माण मजदूरको रूपमा काम गर्न बाध्य छन् । विस्थापित मुक्तहलियाले आफ्ना आधारभूत पारिवारिक आवश्यकता पूरा गर्न भारतीय सहरमा काम गर्दै आएका छन् । भारतमा कमाएको रकमको केही हिस्सा पारिवारको खर्चका लागि पठाउने गरेका छन् । त्यसबाटै मुक्तहलिया परिवारको जीविकोपार्जन हुने गरेको छ । मूल्यवृद्धि र बेरोजगारका कारण मुक्तहलियाको अवस्था कहाली लाग्दो रहेको हलिया मुक्तिको आन्दोलनका अगुवा हरि श्रीपालीले बताए । ‘अधिकांश मुक्तहलिया भूमिहीन, भूमि–गरिब र शोषित पीडित छन्’ उनले भने, ‘बालबालिका, गर्भवती महिला, बिरामी र वृद्ध व्यक्तिले नियमित रूपमा पोषणयुक्त खाद्यान्नको चरम अभावको सामना गरिरहेका छन् ।’ ‘बिहान खाएपछि साँझ के खाने भन्ने पिरलो हुन्छ’ भीमदत्त नगरपालिका बागफाँटामा अस्थायी रुपमा बस्दै आउनुभएकी जानकी लावडले भने । घरका एक जनाले मजदूरी गरेर ल्याएको रु पाँच सयमा छ जनाको परिवारको खर्च चलाउनुपर्ने उनको बाध्यता छ । ‘बुबा, बाजे, सुसुरा सबै जनाले पुस्तौँदेखि हलिया बसेर कार्य गरे, हलियामुक्तिको घोषणापछि जुन घरमा काम गर्दथ्यौँ उहाँले मुक्ति भएकाले राख्न नसकिने बताएपछि दुई छाक खानाको खोजीमै तराई झरेका हौं’ उनले भने, ‘तराई झरेपनि पेट पाल्नैकै दुःख छ, वास्तविक हलिया भए पनि हालसम्म परिचयपत्र पाउन नसकेका छैनौँ।’ शिक्षा नि:शुल्क भनिए पनि मुक्तहलियाका बालबालिकाबाट सामुदायिक विद्यालयबाटै शुल्क असुल्ने कार्य भइरहेको उहाँको भनाइ छ । विद्यालयमा शु:ल्क लिने भएकाले बालबालिकालाई विद्यालयबाट छुटाएर आफूसँगै ज्याला मजदूरीमा संलग्न राख्नुपर्ने अवस्था रहेको उनी सुनाउँछन् । नेपालको संविधानको धारा ४० को उपधारा २ मा दलित विद्यार्थीलाई प्राथमिकदेखि उच्च शिक्षासम्म निःशुल्क शिक्षाका लागि छात्रवृत्ति दिने व्यवस्था भए पनि मुक्तहलियामा ९७ प्रतिशत दलित समुदायका बालबालिकाले यो अवसर नपाएको मुक्तहलिया अगुवा श्रीपाली बताउँछन् । यस्तै उपधारा ५ र ६ ले हरेक भूमिहीन दलितलाई राज्यले एक पटकका लागि जमिन दिने र राज्यले आवास उपलब्ध गराउने प्रावधान पनि कार्यान्वयन नभएको उहाँको भनाइ छ । मुक्तहलिया समस्या अध्ययनका लागि सरकारले गत वर्ष वरिष्ठ अधिकारकर्मी श्याम श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय टोली गठन गरेको थियो । टोलीले मुक्तहलिया, कमलरी, हरुवाचरुवाको अवस्था अध्ययन गरी प्रतिवेदन सरकारलाई बुझाएको छ । सो प्रतिवेदनकै आधारमा सरकारले मुक्तहलियाको पुन:स्थापनासँगै शिक्षा, स्वास्थ्य, रोजगारमा पहुँच पुर्‍याउनुपर्ने माग हलिया अगुवाको रहेको छ । राष्ट्रियमुक्त हलिया समाज महासङ्घ नेपालले सङ्कलन गरेको तथ्याङ्कमा १५ हजार मुक्तहलिया प्रमाणीकरण हुनबाट छुटेको देखिन्छ । स्वदेशमा रोजगारको व्यवस्था नहुँदा भारतमा बसाइँ सारेका छ हजार सात सय ८१, एकल महिला एक हजार पाँच सय २५, दीर्घकालीन रोगबाट प्रभावित एक हजार एक सय ८६, भूमिहीन मुक्तहलिया १२ हजार दुई सय ६, दैनिक ज्याला मजदूरी गरी जीविकोपार्जन गर्ने १३ हजार पाँचसय ६२ मुक्तहलिया रहेका छन् । अझै पनि धेरै मुक्तहलिया उचित पुनःस्थापना प्याकेज प्राप्त गर्न अनिश्चितताका कारण र हलिया परिचयपत्र प्राप्त गर्नबाट वञ्चित भएपछि कृषि बन्धक मजदूरको रूपमा काम गरिरहेका छन् । मुक्तहलियासम्बन्धी छुट्टै कानुनको अभावमा पुनःस्थापनापछिका जीविकोपार्जनका कार्यक्रममा मुक्तहलिया समुदायका व्यक्तिको सहभागिता हुनसकेको छैन । मुक्तहलियाको क्षेत्रमा क्रियाशील हरिसिंह बोहराले भने, ‘अघिल्लो प्रदेश सरकारले कानुन बनाउने भन्दाभन्दै कार्यकाल सकियो, अब बन्ने नयाँ प्रदेश सरकारलाई कानुन बनाउनका लागि घच्घच्याउँछौँ।’ हलियामुक्तिको आन्दोलनको सुरुआत सन् २००३ मा दार्चुलाको उकु गाविसबाट भएसँगै दासत्वमुक्ति हुन झण्डै पाँच वर्ष लाग्यो । सरकारले सन् २००८ मा हलिया मुक्तिको घोषणा गरेको थियो ।

काठमाडौं: कियाले सन् २०२३ को पहिलो त्रैमासमा तीन वटा नयाँ मोडलको गाडी भित्र्याउने भएको छ।  किया मोटर्सले भारतबाट ७ सिटर क्यारेन्स र नयाँ स्पोर्टेज त्यस्तै कोरियाबाट विद्युतीय निरो इभी भित्र्याउने भएको हो।  भारतबाट भित्रने गाडीहरू सन् २०२३ को पहिलो त्रैमासमा सार्वजनिक गरिनेछ भने कोरियाबाट भित्रने गाडी ढिलोमा सन् २०२३ को दोस्रो त्रैमासमा सार्वजनिक गरिनेछ।  यी बाहेक कम्पनीले हाल बजारमा उपलब्ध मोडलहरू पनि भित्र्याउँदैछ।  किया मोटर्सको लागि नेपालको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज रहेको छ। कम्पनीले वार्षिक दुई हजार वटाभन्दा बढी कियाको विभिन्न मोडल बिक्री गर्दैछ। त्यस्तै औसतमा मासिक दुई सय वटा र विशेष अवसरमा बढी गाडी बिक्री हुने कम्पनीले जनाएको छ । 

काठमाडौं:  नेपाली कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध महामन्त्री गगन थापाले उम्मेदवारी दिने भएका छन् । डा. शेखर कोइरालासँग सोमबार र मंगलबार दुई दिन भएको छलफलमा गगनले देउवाविरुद्ध उम्मेदवारी दिने सहमति जुटेको हो । सोमबारको छलफल टुंगोमा नपुगेपछि आज बिहान पुनः कोइराला र थापा पक्षबीच छलफल भएको थियो । सो छलफलमा थापा संसदीय दलको नेताको उम्मेदवार बन्ने र कोइराला प्रस्तावक बन्ने सहमति भएको छलफलमा सहभागी एक नेताले जानकारी दिए । कांग्रेस संसदीय दलको निर्वाचनका लागि आज दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । बुधबार बिहान ८ बजेदेखि निर्वाचन हुनेछ । गगन थापाको उम्मेदवारी दर्ताको तयारी गर्न कोइराला र थापा होटेल बसेरामा पुनः बस्ने नेताहरुले बताएका छन् । त्यसअघि आज बिहान साढे ८ बजेदेखि लाजिम्पाटस्थित होटल एम्बास्डरमा कोइराला र थापासहितका नेताहरुले छलफल गरेका थिए । छलफलमा नेता अर्जुन नरसिंह केसीलगायतका नेताहरु सहभागी थिए । सोही होटलको एउटा छुट्टै कोठामा थापा, कोइराला, सञ्जय गौतम, रामनाथ अधिकारी लगायतले पनि छलफल गरेका थिए । थापाले निर्वाचन अगाडि नै आफूलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेका थिए । निर्वाचन लगत्तै उनले संसदीय दलको निर्वाचनको तयारी थालेका थिए । तर कोइरालाले पनि दलको नेताको आकांक्षा देखाउँदै आफूलाई सघाउन थापालाई आग्रह गरेपछि उनीहरुबीच समझदारी जुट्न सकेको थिएन । संसदीय दलको नेता पार्टीको तर्फबाट प्रधानमन्त्री बन्ने भएकाले कांग्रेस नेताहरु रस्साकस्सीमा छन् । देउवा समूहबाट पार्टी सभापति एवम् हालका प्रधानमन्त्री शेरबहादुर देउवा आफैं दलको नेताको उम्मेदवार बन्ने निश्चित छ ।

काठमाडौं:   रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको आवासीय बैठक भोलिसम्म चल्ने भएको छ । सोमबार बिहानदेखि बुढानीलकण्ठको होटल पबेरामा राखिएको बैठक बुधबारसम्म चल्ने भएको हो । अध्यक्ष लामिछानेसहित निर्वाचित सांसद र केन्द्रीय सदस्य समेतलाई राखेर बैठक चलिरहेको एक केन्द्रीय सदस्यले बताए ।   लामिछाने नेतृत्वको पार्टीको आवासीय बैठकमा संसदीय प्रक्रिया, संसदको भुमिका, संविधान र कानुन, पार्टीले लिने लाइन र योजनाका विषयमा समेत छलफल हुने भएको छ ।

काठमाडौं:  फिफा विश्वकप कतार २०२२ का गोल्डेन बुट विजेता फ्रान्सेली फरवार्ड किलियन एमबाप्पेले फाइनलमा पराजित भएपछि सामाजिक संजालमा आफ्नो भनाइ राखेका छन् । आइतबार लुसेल रंगशालामा सम्पन्न फाइनलमा एमबाप्पेको उत्कृष्ट प्रदर्शनका बाबजुद फ्रान्स फाइनलमा पराजित भएको थियो । एमबाप्पेले ह्याट्रिक गरेपनि खेल अर्जेन्टिनाले टाइब्रेकरमा जितेको थियो । एक समय अर्जेन्टिनाले सहजै फाइनल जित्ने देखिएपनि एमबाप्पेले सानदार प्रदर्शनका साथ फ्रान्सलाई खेलमा फर्काए । एमबाप्पेले प्रतियोगिताको गोल्डेन बुट पनि जितेका थिए । तर खेलपछि पुरस्कार वितरण समारोहमा उनी निकै निराश देखिएका थिए । उनले इन्स्टाग्राममा गोल्डेन बुट बोकेर विश्वकप उपाधि पार गरेको क्षणको तस्वीर राख्दै लेखेका छन्, ‘हामी फर्कनेछौं’ । फाइनलमा ह्याट्रिकका साथ फ्रान्सलाई खेलमा फर्काएपनि एमबाप्पे लगातार दोस्रो पटक विश्वकप जित्न भने असफल रहे । उनले प्रतियोगितामा ७ खेल खेल्दै ८ गोल गरे । उनको नाममा दुई असिस्ट पनि रहयो । यससँगै एमबाप्पेको गोलसंख्या १२ गोल पुगेको छ । सर्वाधिक गोलकर्ताको दोस्रो स्थानमा लिओनेल मेस्सी रहे । उनले ७ खेलमा ७ गोल गरे । मेस्सीले ३ असिस्ट पनि दिएका थिए ।

सर्लाही:  सर्लाहीको हरिपुर नगरपालिकामा मानसिक सन्तुलन ठीक नभएका युवकले आफ्नै घरमा आगो लगाउँदा रु १५ लाखभन्दा बढीको क्षति भएको छ ।  जिल्लाको मध्यभागमा पर्ने हरिपुर –२ सानो जगतपुरका कुम्भमाया बराल न्यौपानेका छोरा दीपक न्यौपानेले सोमबार राति आफ्नै घरमा आगो लगाएका थिए  ।  इँट्टा र काठले बनेको दुईतले घर पूर्णरूपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक विजय कुँवरले जानकारी दिए । आगलागीबाट घरसहित घरभित्र रहेको अन्न, कपडा, भाँडा र नगदसहित सम्पूर्ण सरसामग्री जलेर नष्ट हुँदा रु १५ लाखभन्दा बढीको क्षति भएको उनले बताए । आगलगीका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरी निरीक्षक कुँवरले बताए ।  आगलागी स्थानीय, प्रहरी र हरिवन नगरपालिकाबाट गएको दमकलको सहयोगमा नियन्त्रणमा लिएको थियो ।

पोखराः   पोखरा महानगरपालिका –१३ स्थायी घर भएका ५९ वर्षीय मोतीराम गौतमको स्पेनमा मृत्यु भएको छ। क्याटालोनियाको लिदिया प्रान्तमा बस्दै आएका गौतम शुक्रबार साँझ आफू बसेकै अपार्टमेन्टमा मृत अवस्थामा भेटिएका हुन् । गौतम झन्डै डेढ दशकदेखि स्पेनमा बस्दै आएका थिए। दिवङ्गत गौतमका श्रीमती, एक छोरा र दुई छोरीहरु रहेका छन्। लिदिया प्रान्तमा बस्दै आएका अर्का एक नेपाली तर्कबहादुर बानियाँका अनुसार गौतम केही दिनअघि कोरोनाबाट संक्रमित भएका थिए। ‘उहाँ एक हप्ताअघि कोरोनाबाट संक्रमित भएर अस्पतालमा भर्ना हुनुभएको थियो। अस्पतालबाट घर फर्केपछि एकदिन हामीसँगै काममा पनि जानुभयो,’ बानियाँले भने, ‘तर शुक्रबार बिहानदेखि सम्पर्क गर्दा फोन समेत उठेन। खोजी गर्दा घरभित्र सोफा तल लडिरहेको अवस्थामा मृत भेटिनुभयो।’   बुधबार दिउँसो गौतमको शव अन्तिम श्रद्धाञ्जलीका लागि राखिने एनआरएनए स्पेनले जनाएको छ। पारिवारिक स्रोतका अनुसार गौतमको अन्तिम संस्कार बुधबार साँझ लिदियामा नै गरिने भएको छ ।

चितवनः   नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि दैनिक चार घण्टा बन्द हुने भएको छ । सडकखण्डमा पर्ने पुल निर्माणका लागि भित्तो काट्नका लागि सवारी आवागमन दैनिक चार घण्टा रोकिने भएको हो । आजदेखि एक महिना दैनिक चार घण्टा सडक बन्द रहने नागढुङ्गा– मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का आयोजना प्रमुख किरण कार्कीले जानकारी दिए । सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बन्द हुनेछ । भौगोलिकरूपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुइन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्नेलगायतका कामका लागि सवारी आवागमन रोक्न लागिएको कार्कीले बताए । उनका अनुसार सडकखण्डमा १५ पुल निर्माणको काम भइरहेकामा नौ वटाको काम सम्पन्न भइसकेको छ । चारवटा पुल निर्माणका लागि ठाडो कडा पहाड काट्नुपर्ने भएका कारण यातायात सञ्चालन गर्दा जोखिम हुने भएपछि यातायात बन्द गरेर काम गर्नुपरेको आयोजनाले जनाएको छ । उक्त समयमा वैकल्पिक राजमार्ग प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय चितवनले अनुरोध गरेको छ । नारायणगढतर्फबाट जाने यात्रुबाहक सवारीसाधनलाई पन्ध्रकिलो बजारबाट जुगेडीसम्म बिहान ११ बजे रोकिनेछ भने मालवाहक सवारीसाधनलाई भतेरी जङ्गलबाट रामनगरसम्म बिहान १०ः५० बजेदेखि नै रोकिने छ । काठमाडौँतर्फबाट आउने यात्रुवाहक सवारीलाई मुग्लिन बजारबाट मनकामना केवलकार गेटसम्म र पोखरातर्फबाट आउने यात्रुवाहक सवारीसाधनलाई बेनीटारबाट पावर हाउससम्म बिहान १०ः५५ बजे रोकिने छ । काठमाडौँतर्फबाट आउने मालवाहक सवारीलाई लेबाटारमा र पोखरातर्फबाट आउनेलाई मालवाहक सवारीलाई आँबुखैरहनीमा बिहान १०ः४५ बजे रोकिने छ । बिहान ११ बजेदेखि ३ बजेसम्मको समयमा एम्बुलेन्स, दमकललगायतका अत्यावश्यकीय सवारीलाई अनुकूलता हेरी छोडिनेछ । नारायणगढ–मुग्लिङ सडकखण्डमा एक अर्ब २५ करोडको लागतमा विश्व बैंकको सहयोगमा पुल निर्माण भइरहेको छ ।

पोखराः   सन्देश अधिकारी कास्की पोखरा समाज जापानको ५ औं अधिवेशनबाट अध्यक्षमा सर्वसम्मत चयन भएका छन्  । आइतबार सम्पन्न भएको कास्की पोखरा समाज जापान टोकियोले  ५ औं अधिवेशनबाट अधिकारीको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।  समितिको वरिष्ठ उपाध्यक्षमा अन्जु भण्डारी, उपाध्यक्षमा सुरेश लामिछाने, कमल वास्तोला, विशु भण्डारी, राजु पौडेल, दीपक सुनार, मनोज तिवारी र भुपेन्द्र पराजुली चयन भएका छन् । समितिको महासचिवमा सरोज कार्की सचिवमा जिवन पोखरेल, कोषाध्यक्षमा तोयानाथ ढकाल, सहकोषाध्यक्षमा सुर्य कँडेल चयन भएका हुन् ।  समितिको सदस्यमा प्रेम दाहाल, कुमार सापकोटा, तारानाथ बराल, कुल प्रसाद बास्तोला, कुमार सापकोटा, बिजय गुरुङ, रमेश दाहाल, प्रताप सुवेदी र प्रदिप सापकोटा चयन भएको निवर्तमान अध्यक्ष विश्व सुवेदीले जानकारी दिए ।  सन् २०१४ मा स्थापना भएको कास्की पोखरा समाज जापानको कार्यसमिति सदस्यहरुको संयुक्त बैठकबाट सर्वसम्मत २३ सदस्य कार्यसमिति र २ जना पछि मनोनित गर्ने गरी कार्यसमिति गठन गरेको थियो ।