नवलपरासीः नवलपरासी (बर्दघाट सुस्तापूर्व)को धौवादीमा भएको जिप दुर्घटनामा परी दुई जनाको मृत्युु भएको छ । दलदलेबाट १४ जना यात्रु लिएर डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश०४–००१ज–०००६ नंको जिप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै दुर्घटनामा परेको हो । दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको र चालकसहित सात जना गम्भीर घाइते भएको हुप्सेकोट गाउँपालिका–५ का वडाध्यक्ष पदमबहादुर रानाले जानकारी दिनुभयो । घाइतेहरूको उद्धार गरी उपचारका लागि कावासोती लगिएको छ । अहिले साँझ साढे ५ बजे भएको दुर्घटनामा जिप तीन सय मिटर तल खसेकाले घाइतेको उद्धार गर्न निकै समय लागेको थियो । जिपको ब्रेक फेल भई दुर्घटना भएको अनुमान गरिएको छ । अहिलेसम्म मृतक तथा घाइतेको परिचय खुलेको छैन ।
गलेश्वरः जाडोयाम सुरु भएसँगै हिमाली तथा उच्च पहाडी भेगका चौरी र भेडीगोठ न्यानो स्थानको खोजीमा बेँसी सार्न थालिएको छ । म्याग्दी र मुस्ताङका उच्च पहाडी क्षेत्रका चौरी र भेडीगोठ जाडो बढ्न थालेसँगै रित्तिन थालेका छन् भने तल्लो भेगका खर्क र बेँसीमा चहलपहल बढेको छ । मुस्ताङको थासाङ, निलगिरी साउथ हिमाल फेदीको मार्चे, धौलागिरि हिमाल फेदीको मूलिखर्क, बतासे र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा पर्ने अन्नपूर्ण साउथ हिमालमुनिको खोप्रा÷खयर तथा बयली लेकका चौरी, रघुगङ्गा र धवलागिरि गाउँपालिकाका उच्च लेकाली क्षेत्रमा चरनका लागि लगिएका भेडालाई बस्ती नजिकैका न्यानो क्षेत्रमा झारिएको हो । मुस्ताङ र म्याग्दीको उच्च लेकाली क्षेत्रमा पालिएका चौँरी र भेडा गर्मीमा लेक तथा जाडोमा बेसी झार्ने गरिन्छ । घुम्ती गोठ बनाएर चौरी र भेडापालन गर्दै आएका मुस्ताङको मूली, बतासे क्षेत्रका चौँरी नाउरीकोट, बोक्सीखोलाका चौरी पालक किसानले चरनका लागि चौँरीलाई गर्मी महिनामा धौलागिरि, निलगिरि र टुकुचे हिमालको फेदमा रहेका खर्कमा लैजाने गर्छन् भने जाडो सुरु भएपछि बेँसी झार्ने गर्दछन् । मुस्ताङका चौरी पालक किसान सहेन्द्र शेरचनले लेकाली क्षेत्रमा अत्यधिक चिसो बढ्नुका साथै हिमपात हुन सुरु भएपछि चौँरीलाई नीलगिरि फेदीका चौँरी चोखोपानी, सौरु, टिटी क्षेत्रमा सारिएको जानकारी दिनुभयो । म्याग्दीको अन्नपूर्ण क्षेत्रका चौँरीलाई लरेनी क्षेत्रमा ओरालिएको चौरीपालक सोभित खोरजाले बताउनुभयो । अहिले बेँसी झारिएका चौँरीलाई वैशाख लागेपछि मात्रै पुनः बुकी ९लेक० फर्काइने उहाँको भनाइ छ । चिसो छल्न बेँसी झरे पनि चौँरीलाई चरनको समस्या रहेको किसानले गुनासो गरेका छन् । “सामुदायिक वन उपभोक्ता समूहले वन क्षेत्रमा चरिचरनलाई रोक लगाएपछि समस्या उत्पन्न भएको छ”, उहाँले भन्नुभयो, “लेकाली क्षेत्रमा चरनको समस्या छैन, तर बेँसीका चरन क्षेत्रमा चरनको अभाव हुने भएकाले चौँरी पाल्ने किसानको सङ्ख्या कम हुँदै गएको छ ।” त्यसैगरी मुस्ताङको मूली लेकका चौँरीपालक किसान सकेन्द्र गौचनले माथि चिसो बढ्न थालेपछि न्यानो बासको खोजीका उँधोतर्फ झर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “जाडो बढ्न थालेपछि हामी चौँरीगोठ बेँसीतिर झार्छौँं गर्मी सुरु भएपछि फेरि लेकतिर ल्याउने गर्छौँ, जाडोले पशुचौपाया मात्र नभइ मानिसलाई समेत समस्या हुने भएकाल बेँसी झर्नु बाध्यता हो ।” तेन्जिङ जस्तै यहाँका सबै चौरी किसान बेँसी झर्न थालेका छन् । यहाँका किसान छ महिना लेकतिर र छ महिना बेँसीतिरको खर्कमा चौँरी तथा गाईभैँसी पाल्दै आएका छन् ।
काठमाडौंः मैतीदेवी बस्ने ३५ वर्षीय रामनारायण परियार फुर्सदका समयमा पुराना पत्रिका पढ्न काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय जानुहुन्छ । इतिहासका कुरा थाहा पाउन उहाँ त्यहाँका पत्रपत्रिका अध्ययन गर्नुहुन्छ । “यहाँ निःशुल्क पढ्न पाइन्छ । समय मिलेमा म त्यहाँ पुगिहाल्छु”, उहाँ भन्नहुन्छ, फुर्सद निकालेर त्यहाँ पढ्न पाउँदा मलाई खुसी लाग्छ । वरपर खाजा खाने राम्रो ठाउँ नभएकाले आफैँ खाजा लिएर भृकुटीमण्डपस्थित पुस्तकालयमा प्रायः आइरहन्छु ।” बानेश्वरका भोजराज कार्की पनि विद्यालय बिदा भएका दिन सधैँ सो पुस्तकालयमा जाने गर्नुहुन्छ । “बानेश्वरदेखि धेरै टाढा पनि छैन, त्यसैले स्कुल भएका दिन म यहीँ जाने गर्छु । छुट्टीका दिन धेरै विद्यार्थी आउने गरेकाले ठाउँ पाउनै मुस्किल हुन्छ”, बाह्र कक्षा अध्ययनरत कार्की भन्नुहुन्छ, “घरमा पढ्न गाह्रो हुन्छ, टिभी हेर्न मन लाग्छ, मोबाइलमा गेम खेल्न मन लाग्छ, तर यहाँ टिभी पनि छैन, साथीहरूलाई देखेर पनि पढ्न मन लाग्छ ।” सबैका हातमा मोबाइल र ल्यापटप कम्प्युटर नाचिरहेका बेला सो पुस्तकालयमा भने परियार र कार्की जस्तै अध्ययनार्थीको भिड देखिन्छ । पुस्तक पढ्ने शान्त वातावरण खोज्दै पाठक उक्त पुस्तकालय पुग्ने क्रम बढ्दो छ । लोकसेवा आयोगका परीक्षा तयारी गर्नेदेखि कलेजका विद्यार्थीसहित दैनिक करिब ५० जना उक्त पुस्तकालय पुग्छन् । पुस्तकालयमा अपाङ्गता भएका, बालबालिकालगायत हरेक उमेर समूहका मानिस किताब पढिरहेका देखिन्छन् । आफूले खोजेका किताब÷पत्रपत्रिका निःशुल्क पढ्न पाउने भएपछि पुस्तकालयमा मानिसहरूको सधैँ भरिभराउ हुन्छ । मोबाइलमा फिल्म हेरेर र गेम खेलेर बिताउने पुस्ता पनि पुस्तकालयमा पुगेर ज्ञान बटुलिरहेको हुन्छ । पुस्तकालयमा इतिहास, साहित्य, राजनीतिकका साथै अनेक विषयका नेपाली र अङ्ग्रेजी भाषाका पुस्तक राखिएको छ । विभिन्न देशका राजदूतले पुस्तकालय अवलोकन गरेर सहयोग पनि दिने गरेका छन् । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई, माधवकुमार नेपाल, बाबुराम भट्टराई र पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता सुवास नेम्वाङले पनि पुस्तकालय अवलोकन गर्दै सहयोग गर्नुभएको थियो । पुस्तकालयले भने अझैसम्म आफ्ना लागि स्थायी घर भेटेको छैन । चारैतिर बजार क्षेत्र भए पनि पुस्तकालयलाई असर गरेको छैन । एकातिर किनमेलका लागि आउने मानिस हुन्छन् भने अर्कातिर किताब पढ्नैका लागि खाजा बोकेर आउने पनि छन् । कोलाहलयुक्त वातावरण नभएकाले शान्तसँग बसेर पढ्नैका लागि पुस्तकालय मानिसको आकर्षणको केन्द्र बनेको छ । राम्रो सुविधा भनेको पुस्तकालयको सदस्य बनिसकेपछि घरमै लगेर पनि पुस्तक पढ्न पाउनु पनि हो । यहाँ बाहिरबाट पुस्तक बोकेरसमेत पढ्न आउनेहरू छन् । लोकसेवा आयोगको परीक्षाको तयारी गर्दै गर्नुभएका ब्रज पटेल भन्नुहुन्छ, “म घरबाट किताब लिएर आउँछु, दिनभरी यहाँ मज्जाले पढ्न पाइन्छ । कोठामा अरू साथीहरू पनि बस्छन्, घरमा पढ्ने वातावरण हुँदैन । त्यसैले बिहान खाना खाएर आउँछु, दिनभरी किताब पढेर साँझ मात्रै कोठा फर्किन्छु ।” स्थापनाको कथा विसं २०६० मा वर्तमान परराष्ट्रमन्त्री डा नारायण खड्काबाट रु १० लाख योगदान भई स्थापित पुस्तकालयले अहिले सरकारबाट वार्षिक रु ५० लाख अनुदान पाउने गरेको छ । काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख केशव स्थापितले राष्ट्रियसभा गृहमा एउटा कोठा उपलब्ध गराएर सो पुस्तकालय सुरु गराउनु भएकामा पछि भृकुटीमण्डपमा सारी विस्तार गरिएको हो । ब्रिटिस स्कुल र ब्रिटिस काउन्सिलले आठ हजारभन्दा बढी पुस्तक उपलब्ध गराएपछि यसले अझै धेरै पाठकलाई तान्न सक्यो । पुस्तक बढेसँगै पुस्तकालयले ज्ञानको विस्तार पनि गर्न पायो । त्यस्तै एसिया फाउन्डेसनले पनि सुरुआती अवस्थादेखि नै किताब उपलब्ध गराई सहयोग गरेको थियो । प्रविधिको विकाससँगै हाल पुस्तकालयलाई कम्युटराइज्ड पनि गरिएको छ । विसं २०६४ मा पुस्तकालयको सदस्यता दिने निर्णय भएको थियो । अहिले रु एक हजार धरौटी राखेर सदस्य बन्ने नियम बनाइएको छ । हाल दुई हजार दुई सय जनाले यसको सदस्यता लिएका छन् । वार्षिक रु ३०० शुल्क तिरेपछि घरमा लगेर किताब पढ्न पाइने सुविधाले धेरैलाई आकर्षित पनि गरेको छ । सो अभियान सुरु गरिएपछि सदस्यता लिनेहरू बढ्दै गएको पुस्तकालयका व्यस्थापक जुजुभाइ डङ्गोल बताउनुहुन्छ । साठी जना साधारण सदस्य रहेको उक्त पुस्तकालयमा दुई–दुई वर्षमा कार्यसमितिको चुनाव गरेर नेतृत्व छनोट गरिन्छ । हालको आठ सदस्यीय कार्यकारी समितिका अध्यक्षमा मन्त्री डा खड्का, उपाध्यक्षमा पूर्वराज्यमन्त्री याङ्किला शेर्पा, महासचिवमा मोहनकुमार इङ्नाम र कोषाध्यक्षमा महेशकुमार अग्रवाल रहनुभएको छ । चुनौती दैनिक पाठकको भिड लाग्न थालेपछि अहिले यहाँ ठाउँ अभाव भई नयाँ पाठकलाई राख्न समस्या भएको व्यवस्थापक डङ्गोल गुनासो गर्नुहुन्छ । सुरुमा भवनको भाडामा ७५ प्रतिशत छुट भएकामा अहिले १०० प्रतिशत भाडा तिर्दा आर्थिक चुनौती थपिएको छ । यहाँ शनिबार सबैभन्दा धेरै भिड हुन्छ । आइतबार भने बन्द हुन्छ । व्यवस्थापक डङ्गोल भन्नुहुन्छ, “हामी विद्यार्थीलाई चिसो मौसमा तातोपानीसमेत उपलब्ध गराउँछौँ । सकेसम्म धेरै पढ्न सहज वातावरण बनाएका छौँ । चिसो मौसममा मिलेसम्म चिया पनि दिन्छौँ, तातोपानी छुटाउँदैनौँ, “सकेसम्म धेरै पढ्ने वातावरण मिलाएका छौँ तर हामीसँग जनशक्तिको अभावले समस्या भएको छ ।” “कोरोनाको महामारीभन्दा अगाडि हरेक महिनाको १५ गते यहाँ डा सनतकुमार बस्ती सम्मिलित ‘सिर्जना संवाद’ कार्यक्रम हुने गरेको थियो तर अहिले स्थान अभावका कारण त्यसलाई निरन्तरता दिन सकेका छैनौँ”, उहाँले भन्नुभयो ।
काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल कला, संस्कृतिको दृष्टिले विश्वकै धनी र समृद्ध मुलुक भएको बताउनुभएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १३औँ प्राज्ञसभाको उद्घाटन गर्दै उहाँले नेपालको प्राचीन वस्तु तथा स्थापत्यकला, मूर्तिकला, चित्रकला र सङ्गीत एवं नाट्य स्वदेशमा मात्र नभएर विदेशमा पनि उत्तिकै प्रसिद्ध र लोकप्रिय रहेको बताउनुभयो । कला साधक र सर्जक देशका अमूल्यनिधि भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री देउवाले कलाकारले सिर्जना गरेका कलाकृति देशका अमूल्य सम्पत्ति एवं मुलुकको पहिचानका महत्वपूर्ण प्रतीक भएकाले यसको संरक्षण गरिनुपर्नेमा जोड दिनुभयो । “कला र संस्कृतिको सिर्जनाको संरक्षण र सम्वद्र्धन गर्दै विश्व मानचित्रमा नेपालको विशिष्ट पहिचान बनाउँदै कला संस्कृतिको सम्वद्र्धनबाट आर्थिक सामाजिक विकासमा योगदान पु¥याउन हामी सबै प्रतिबद्ध हुन आवश्यक छ, ललितकला क्षेत्रको संरक्षण र सम्वद्र्धन, यस क्षेत्रमा अध्ययन अनुसन्धानलाई प्रवद्र्धन गर्ने तथा कलाकारको सिर्जना र प्रतिभालाई देश, विदेशमा प्रचारप्रसार गर्ने लगायतका उद्देश्यले प्रतिष्ठानको स्थापना भएको हो”, उहाँले भन्नुभयो । नेपाली कलाकारले बनाएका कलाकृति विश्वका विभिन्न देशका सङ्ग्रहालय तथा ग्यालरीमा रहेको जानकारी गराउनुहुँदै प्रधानमन्त्री देउवाले नेपाल विशिष्ट कलाकारको जन्मभूमिका रुपमा स्थापित भएको बताउनुभयो । छ÷सात सय वर्षअघि नेपालमा जन्मिएका प्रतिभाशाली कलाकार अरनिकोले नेपाली कलाकारको नेतृत्व गर्दै छिमेकीमुलुक चीन पुगेर थुप्रै कलाकृति सिर्जना गरी नेपाली वास्तुकलालाई व्यापक बनाएको प्रसङ्ग पनि उहाँले स्मरण गर्नुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो, “अरनिकोले चीनमा बनाएका कलाकृति आज पनि जीवन्त रहेर नेपाललाई चिनाइरहेको छ । कला, संस्कृतिलाई देशको मात्र नभई विश्वकै सम्पत्ति मानेर संरक्षण र सम्वद्र्धन गर्ने प्रचलन सुरु भएको छ । युनेस्कोलगायत अन्तर्राष्ट्रिय संस्थाले यसका लागि सहयोगसमेत गर्दै आइरहेका छन् ।” प्रतिष्ठानले पनि युनेस्कोलगायत यस सम्बन्धमा काम गर्ने अन्य संस्थासँग सहकार्य गर्दै अघि बढ्नुपर्ने उहाँको सुझाव छ । कला, संस्कृति र सम्पदाको संरक्षणबाट अहिलेको पुस्ताले मात्र नभई भावि पुस्ताले पनि फाइदा उठाउनसक्ने भएकाले विशेष ध्यान दिन प्रधानमन्त्री देउवाले आग्रह गर्नुभयो । यस क्षेत्रका सीप र प्रतिभालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न प्रतिष्ठानले जोड दिनुपर्नेमा उहाँले जोड दिनुभएको थियो । कलाकार अरनिकोको १७ फिट अग्लो मूर्ति निर्माणलाई सम्पन्न गर्न आवश्यकपर्ने बजेट सरकारले व्यवस्था गर्ने उहाँको प्रतिबद्धता छ । नेपालभर छरिएर रहेका कलाकारको खोजी गरी व्यक्तिवृत्त तयार गर्ने, तिनका कलाकृतिको संरक्षण गर्ने र सिर्जित कलाकृतिलाई स्वदेश तथा विदेशमा व्यवस्थित तवरले प्रचारप्रसार गर्न आवश्यक रहेकामा प्रधानमन्त्री देउवाले जोड दिनुभयो । यसमा प्रतिष्ठानले ध्यान दिनुपर्ने बताउनुहुँदै उहाँले सरकारले पनि यस काममा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
म्याग्दीः म्याग्दीमा टिमुर टिप्नका लागि जर्मन प्रविधि भित्र्याइएको छ । टिमुर टिप्न र बोट काँटछाँट गर्नका लागि जर्मनीमा विकास भएको सिकेचर र आरा भित्र्याइएको हो । काँडाबाट जोगिन किसानले हाँगा र बोटलाई काटेर फल टिप्दा बिरुवा नै नासिने खतरा बढेको थियो । बेनी नगरपालिका–९ को भूमेसिद्ध टिमुर सञ्जालमा आवद्ध किसानलाई बुधबार टिमुर टिप्ने मिल्ने सिकेचर र करौटी वितरण गरिएको छ । समूहका अध्यक्ष सागर बाँनियाले आधुनिक औजारले टिमुर टिप्न र काँटछाँट गर्न किसानलाई सहज, छिटो भएको र बिरुवा संरक्षणमा सहयोग पुग्ने बताउनुभयो । “फल टिप्दा काँडाले घोचेर घाउ बनाउने समस्या थियो,” उहाँले भन्नुभयो, “हाँगा काट्ने र बोटनै ढलाउँदा बिरुवा मासिने जोखिम बढेको थियो । यो औजार भएपछि काँडाबाट बच्न र बिरुवा जोगाउन सहज हुनेभएको छ ।” जर्मनीको गार्डेना कम्पनीले उत्पादन गरेका ४० थान सिकेचर र करौटी लुपथान्सा एअरलाइन्सले इको हिमाल अस्ट्रिया र इको हिमाल नेपालमार्फत् निःशुल्क उपलब्ध गराएको हो । इको हिमाल नेपालका कार्यकारी प्रमुख एकनारायण ढकालले रु दश लाख मूल्य बराबरका औजार उपलब्ध गराइएको बताउनुभयो । “म्याग्दीमा टिमुर खेतीको सम्भाव्यता अध्ययन गरी जर्मनीको प्रयोगशालामा परीक्षण गरेर अन्तर्राष्ट्रिय बजारमा पु¥याउन सघाएका थियौँ,” उहाँले भन्नुभयो, “अहिले ल्याएका औजार प्रभावकारी भयो भने थप ल्याउन पहल गर्छौँ ।” इको हिमाल अस्ट्रियाका अध्यक्ष कुर्ट, इको हिमाल नेपालका कार्यकारी प्रमुख ढकाल, डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत चन्द्रमणी सापकोटाले बेनपा–९ का वडा सदस्य झलक विक र सारदा विकमार्फत् औजार वितरण गर्नुभएको थियो । बेनी नगरपालिका–९ को तोरीपानी, धावा, धुपीबोट, ढोलथानका करिब एक सय ५० घरधुरीले व्यावसायिक टिमुर खेती गर्छन् । म्याग्दीमा २५ हेक्टर क्षेत्रफलमा टिमुर खेती भएको डिभिजन वन कार्यालयले जनाएको छ । सहायक वन अधिकृत सापकोटाका अनुसार हाल वार्षिक करिब ६ मेट्रिकटनको हाराहारीमा टिमुर उत्पादन हुन्छ । केही वर्षअघि वन डिभिजन कार्यालयले भूमेसिद्ध किसान समूहलाई टिमुर प्रशोधनका लागि रु दश लाख मूल्य बराबरको औजार उपलब्ध गराएको थियो । फूल खेल्ने समयमा परेको असिनाले यसपाली टिमुर उत्पादनमा कमी आएको किसानले बताएका छन् । म्यादीमा उत्पादन भएको टिमुर बेनी, पोखरा, काठमाडौँ, नारायणघाटलगायत बजारका साथै तिब्बत, जापान, बेल्जियम र कोरियामा निकासी हुन्छ । टिमुरलाई दाल र चटनीमा मसलाको रुपमा प्रयोग गरिन्छ । रमरम गर्ने स्वाद पाइने, शरीर न्यानो बनाउने र वास्नादार टिमुर प्रतिकिलो रु दुई हजार पाँच सयदेखि चार हजारका दरले बिक्री हुन्छ । बेनी नगरपालिका–९ धुपीबोटकी रसिला परियारले गत वर्ष १४ केजी टिमुर रु दुई हजार पाँच सयका दरले बिक्री गरेको बताउनुभयो । विगतमा असोज कात्तिकमा टिमुर टिप्ने उहाँले यसपाली पकाएर मङ्सिर लागेपछि मात्रै टिप्न थालेको बताउनुभयो । वार्षिक २० केजीको हाराहारीमा टिमुर उत्पादन गर्ने धुपीबोटकी रैमति परियारले पाखो, बारीको कान्ला र खेतबारीको छेउमा बारको रुपमा लगाएको टिमुर बेचेर घरखर्च चलाउन सहयोग पुगेको बताउनुभयो ।
वालिङः आँधीखोला बहुउद्देश्यीय जलविहार परियोजना निर्माणका विषयमा स्याङ्जाको वालिङ नगरपालिका र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) काठमाडौँबीच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ । वालिङस्थित आँधीखोलामा बाँध बाँधेर जलाशय निर्माण गर्ने र सोही जलाशयमा जलविहार गर्ने मुख्य उद्देश्यसहित अगाडि बढाइएको आँधीखोला बहुउद्देश्यीय जलविहार परियोजना निर्माणका लागि वालिङ नगरपालिका र निफ्राबीच बुधबार काठमाडौँमा समझदारीपत्रमा हस्ताक्षर भएको हो । वालिङ नगरपालिकाले आँधीखोलामा जलाशय निर्माण गरी जलविहारको व्यवस्था मिलाइ आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गर्नका लागि सार्वजनिक निजी साझेदारीमा विकास, लगानी, निर्माण एवं सञ्चालनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले बताउनुभयो । “यो दीर्घकालीन महत्व र वालिङको गौरवको योजना पनि हो”, उहाँले भन्नुभयो, “सरकारी निजी साझेदारी पिपिपि मोडेलअन्तर्गत आँधीखोलामा जलविहार सञ्चालन गर्ने र त्यसका लागि आर्थिक तथा प्राविधिक सहयोगीसँग समन्वय र स्रोतको व्यवस्थापन गर्ने विषयमा निफ्रासँग सहमति पत्रमा हस्ताक्षर भएको हो ।” नगरपालिकाले आँधीखोलामा बाँध बाँधेर जलविहार गर्न सकिने, आँधीखोलाको दुवै किनारमा रहेको कोरिडोरको सौन्दर्यकरणमा जोड दिने, निर्माण भएको जलाशयमा माछा पाल्ने र सीमान्तकृत अवस्थामा रहेको माझी जातीको पेसा व्यवसायको संरक्षण, आँधीखोलाको वातावरणीय संरक्षण साथै पर्यटकीयस्थल बाहुनथानदेखि वालिङ बजार नजिकै जिपलाइन निर्माण गर्नेजस्ता मुख्य कार्य यो परियोजनाअन्तर्गत रहेकाले पूर्वसम्भाव्यता अध्ययन गरिसकेको उहाँले बताउनुभयो । “नगरपालिकाको तर्फबाट पूर्वसम्भाव्यता अध्ययन गरिसकेका छौँ”, उहाँले भन्नुभयो, “हाम्रोतर्फबाट गरिएको अध्ययनका विषयमा निफ्रासँग छलफल ग¥यौँ, उहाँहरु यो परियोजनाका विषयमा आकर्षित हुनुभयो ।” नगरपालिकाका तर्फबाट परियोजना स्थलमा गर्नुपर्ने प्रक्रिया र निफ्राका तर्फबाट गरिने कार्य सहमति पत्रमा उल्लेख गरिएको छ । पूर्वाधारका क्षेत्रमा काम गर्दै आएको निफ्राले वालिङ नगरपालिकाले अगाडि सारेको परियोजनालाई ठोस रुप दिनका लागि सहमति पत्रमा हस्ताक्षर गरेको निफ्राको पब्लिक सेक्टर न्यू इनिसियटिभ प्रमुख स्मृति शर्माले बताउनुभयो । सरकारी निजी साझेदारी पिपिपि मोडेलअन्तर्गत रहेर उक्त परियोजनाको थप सम्भाव्यता अध्ययन गर्ने, विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने र अध्ययनबाट सम्भव देखिएमा लगानीको प्रक्रिया अगाडि बढाइने उहाँले बताउनुभयो । वालिङ नगरपालिकाले तयार पारेको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदनअनुसार वालिङ नगरपालिका वडा नं ८ र ९ मा रहेको खेलमैदान नजिकै एउटा बाँध, वालिङ ६ र ९ स्थित मजुवामा एक गरी दुई वटा बाँध बाँधी जलाशय निर्माण गरिने छ । परियोजना निर्माणका लागि करिब रु ४५ करोड लगानी लाग्ने पूर्वानुमान वालिङ नगरपालिकाले तयार पारेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
बलेवाः दोलखाका निकेस मानन्धर धौलागिरि आवासीय बहिरा विद्यालयमा तीनवर्षे कम्प्युटर इन्जिनियरिङ ‘कोर्ष’ गर्दैछन् । उहाँको छैटौँ सेमेस्टरको पढाइ भर्खर सुरु भयो, तर उहाँ दसैँअघि नै घर फर्किनुभएको छ । सिटिइभिटीबाट मान्यता प्राप्त कम्प्युटर इन्जिनियरिङको कक्षाका लागि सरकारले छात्रवृत्ति दिएको थियो । हरेक महिना प्रतिविद्यार्थी चार हजार रुपैयाँ दिएकाले टाढाबाट आएका विद्यार्थीले डेरा लिएर पढ्न सकेका थिए । कोरोना सङ्क्रमणका कारण समय लम्ँिबदा उनीहरुको अन्तिम सेमेस्टर बल्ल सुरु भयो, तर छात्रवृत्ति आउन भने छाड्यो । छात्रवृत्ति रकम नआएपछि मानन्धर जस्तै उहाँका धेरै साथीले कक्षा छाडेका छन् । उनीहरु घरमा गएर बसेका छन् । यता कक्षा रित्तो बन्न थालेको प्रधानाध्यापक रेशम श्रीषले बताउनुभयो । ‘‘पैसा तिरेर डेरा बस्ने, शुल्क तिर्ने काम गर्न सक्दैनन्, त्यसैले धेरैले विद्यालय छाडेका छन्”, उहाँले भन्नुभयो, “विद्यालयमा अनिवार्य उपस्थित हुन सूचना जारी गरेको छु, तर कति आउने हुन् थाहा छैन ।” विद्यालयले मङ्सिर १५ गतेभित्र सबै विद्यार्थीलाई हाजिर हुन सूचना प्रकाशित गरेको हो । प्राप्त छात्रवृत्तिमा अभिभावकले थपेर सदरमुकाममा डेरामा बस्ने खाने व्यवस्था गरेका थिए । रकम आउन छाडेपछि खानबस्न समस्या भएर अभिभावकले छोराछोरी फिर्ता लगेका हुन् । कोरोना सङ्क्रमणकालमा पढाइ बन्द भएकाले कोर्ष नसकिएको श्रीषले बताउनुभयो । ‘‘अन्तिम सेमेस्टरको पढाइ बल्ल सुरु भएको छ, तर विद्यार्थी छैनन्’’, उहाँले भन्नुभयो, ‘‘अभिभावकलाई फोन गरेर विद्यार्थी फर्काउन भनेको छु ।’’ यति लामो समयसम्म पढाइ सकेका अभिभावकले अन्तिम सेमेस्टर छाडेमा बालबालिकाको भविष्य अन्योल बन्ने उहाँले बताउनुभयो । यो विद्यालयमा देशभरका सुस्त श्रवणयुक्त विद्यार्थी पढ्छन् । कम्प्युटर इन्जिनियरिङ पढ्न पनि देशभरबाट नाम निकालेर आएकाहरु छन् । एउटा कक्षामा ४० जनाको कोटा छ । तीमध्ये अन्तिम सेमेस्टरका एकादुईबाहेक सबै विद्यार्थी घर गएकाले मङ्सिर १५ गतेभित्र हाजिर हुन आउन विद्यालयले सार्वजनिक सूचना जारी गरेको हो । उक्त सूचनापछि केही अभिभावकले चासो राखेर विद्यालयमा सम्पर्क गरेका छन् । तर कतिपयलाई जानकारीसमेत छैन । ‘‘आर्थिक अवस्था कमजोर भएकाले छात्रवृत्तिमा पढ्न गएका थियौँ, अहिले रकम नआएपछि समस्या भएको हो’’, दाङकी दुर्गा शर्मा ओलीले भन्नुभयो, ‘‘पढ्न नसकेपछि रोजगारीको खोजी गर्दैछौँ ।’’ उनीहरुले पढाइ नसक्दै काममा लाग्दा लामो समयको लगानी खेर जाने अभिभावकले बताए । कतिपय विद्यार्थीले काठमाडौँका होटलमा काम खोज्दै भाँैतारिएको बहिरा सङ्घ बागलुङका कोषाध्यक्ष यादव रेग्मीले बताउनुभयो । धौलागिरि बहिरा विद्यालयमा पाँच वर्षअघिदेखि कम्प्युटर इन्जिनियरिङको पढाइ सुरु भएको थियो । यहाँबाट तीनवर्षे ‘कोर्ष’ सकेर दुईवटा समूह छुटिसकेको छ । अहिले पनि एक सय २० विद्यार्थी कम्प्युटर इन्जिनियरिङ पढाइमा छन् । त्यसबाहेक कक्षा एक देखि १० सम्म पनि देशभरका विद्यार्थी पढ्दैछन् । आर्थिक अवस्था कमजोर भएका परिवारका सुस्त श्रवणयुक्त बालबालिका यो विद्यालयमा पढ्छन् । पछि दोभासे चाहिने भएकोले विद्यालयले कूल विद्यार्थीको १० प्रतिशत बालबालिका भने बिपन्न परिवारबाट पनि पढाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगरले बताउनुभयो । विद्यार्थीको भबिष्यमाथि नै खेलबाड हुने गरी रकम नआएकोप्रति उहाँले सिटिइभिटी र नेपाल सरकारका निकायमा कुरा गर्ने बताउनुभयो ।
पोखराः जहानियाँ राणाशासनको अन्त्य भई २००७ सालमा स्थापित प्रजातन्त्रपछि पोखरामा स्थापित यहाँको पुरानो संस्था हो पोखरा उद्योग वाणिज्य सङ्घ । उद्योग व्यवसायीको हकहितका लागि स्थापित सङ्घ स्थापनायता निरन्तर यहाँको शिक्षा, स्वास्थ्यलगायत विकास निर्माणमा साझेदार बन्दै आएको छ । तत्कालीन समयमा यहाँका व्यापारीले आफ्ना हक तथा अधिकारको संरक्षणका लागि २००८ सालमा स्व टेकबहादुर ढेवाजुको अध्यक्षतामा ३३ जना व्यवसायी सम्मिलित संस्था खोलिएको थियो । उक्त संस्थाले निरन्तरता पाउन नसके पनि उक्त प्रयासकै जगमा २०११ माघ २५ गते स्व अमृतप्रसाद शेरचनको अध्यक्षतामा पोखरा व्यापार सङ्घ विधिवत् स्थापना भएको हो । शेरचनको अध्यक्षतामा गठित अस्थायी समितिलाई २०१२ सालमा सु अन्ङ्गमान शेरचनको प्रयासबाट विधिवत् दर्ता भएको थियो । त्यही व्यापार सङ्घ अहिले पोखरा उद्योग वाणिज्य सङ्घका रुपमा क्रियाशील छ । पोखराका हरेक समाजिक गतिविधिमा नेतृत्वदायी भूमिका निर्वाह गरेको सङ्घले त्यसयता यहाँको औद्योगिक विकाससँगै शिक्षा, स्वास्थ्य, रोजगार प्रवद्र्धन आदिमा विशिष्ट भूमिका खेल्दै आएको पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवनकुमार प्रजापति बताउनुहुन्छ । सङ्घकै पहलमा २०३१ सालमा पोखरामा औद्योगिक क्षेत्रका लागि जग्गा अधिग्रहण गरेपछि तत्कालीन पोखरा व्यापार सङ्घले आफूलाई परिमार्जित गर्दै पोखरा उद्योग वाणिज्य सङ्घमा रुपान्तरित भएको हो । सङ्घको स्थापनासँगै व्यवसायीले पोखरा विमानस्थल अगाडि एउटा गोदाम घर निर्माण गरेका थिए । करिब १५ हजारको लागतमा निर्मित गोदाम घरमा विमानस्थलबाट आउने सामान थन्क्याउन थालिएसँगै सङ्घका गतिविधि बढ्दै गएका हुन् । व्यापार सङ्घ गठन हुँदादेखि नै यसले उद्योग व्यवसाय क्षेत्रको विकाससँगै शिक्षा, स्वास्थ्य, आवश्यक पूर्वाधार विकासमा जोड दिएको अध्यक्ष प्रजापतिले बताउनुभयो । पोखरामा २०१७ सालमा पृथ्वीनारायण कलेज चलाउन सङ्घले तत्कालीन अवस्थामा मासिक एक हजार तथा पोखरा विमानस्थलबाट सङ्कलन हुने सेवा शुल्कबाट समेत सहयोग गर्दै गरेको प्रयासको जगले अहिले पोखरा शिक्षाको केन्द्र जस्तै बनिसकेको छ । विसं २०४८ मा वाणिज्य शास्त्रमा स्नातकोत्तरको कक्षा चलाउने निर्णय गरेका अवस्थामा तत्कालीन समयमा सङ्घले दुई लाख रुपैयाँ सहयोग उपलब्ध गराएको थियो । सङ्घकै रु एक लाख ३२ हजार सहयोगमा २०२८ सालमा बालमन्दिरको भवन निर्माण भएको थियो । बालमन्दिरका लागि सङ्घको सहयोग अहिले पनि जारी रहेको छ । पोखरालाई शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिको व्यवसायीकरणका माध्यमबाट समृद्ध बनाउन सङ्घले ठूलो गुन लगाएको शिक्षा क्षेत्रका जानकारहरू बताउँछन् । सङ्घले २०४४ सालमा पोखरा बहुमुखी कलेज स्थापना गर्दा आवश्यकपर्ने रु तीन लाख रुपैयाँ धरौटीबापतको रकम सहयोग गरेको थियो । पोखरा उद्योग वाणिज्य सङ्घ तथा नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वध्यक्ष आनन्दराज मुल्मी सङ्घले यहाँका हरेक शैक्षिक संस्थामा केही न केही योगदान गरेको बताउनुहुन्छ । पोखरा विश्वविद्यालयको स्थापनाका लागि सङ्घले गरेको पहल महत्वपूर्ण छ । देशमा २०४० सालयता बहुविश्वविद्यालयको अवधारणा भित्रिएसँगै पोखरामा विश्वविद्यालयको आवश्यकता बोध गर्दै सङ्घका तत्कालीन अध्यक्ष हेमबहादुर प्रधानको नेतृत्वको प्रतिनिधिमण्डलले २०४१ सालमा प्रधानमन्त्री तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्षको ध्यानाकर्षण गराएको थियो । विसं २०४३ मा सङ्घका तत्कालीन अध्यक्ष रामचन्द्र बाँस्तोलाको संयोजकत्वमा समिति गठनका साथै त्यसयता विभिन्न चरणका छलफल र सुझाव सङ्कलनका काम बढाइएको थियो । पोखरा विश्वविद्यालय सम्पर्क समितिले सोही जगमा टेकेर २०४३ कात्तिक ११ गते स्व राजा वीरेन्द्रसामु विश्वविद्यालय स्थापनाका लागि बिन्तीपत्र प्रस्तुत गरेको थियो । सङ्घको अध्यक्षमा मुल्मी निर्वाचित भएपछि उहाँकै अध्यक्षतामा २०४३ सालमा प्रस्तावित पोखरा विश्वविद्यालय सम्पर्क समिति गठन भयो । विसं २०४६ मा राजाको पोखरा भ्रमणपछि विश्वविद्यालय स्थापनाका निम्ति सरकारलाई निर्देशन दिइएको थियो । विसं २०४७ मा सङ्घको अध्यक्षमा फणिन्द्रमान श्रेष्ठ निर्वाचित भएपछि उहाँकै संयोजकत्वमा प्रस्तावित पोखरा विश्वविद्यालय सम्पर्क समिति गठन भयो । विसं २०४९ मा भएको बृहत भेलाले प्रस्तावित विश्वविद्यालयको नाम पोखरा विश्वविद्यालय राख्ने निर्णय ग¥यो । सङ्घका तत्कालीन अध्यक्ष अशोक पालिखेको अध्यक्षतामा एक सय ६१ सदस्यीय मूल समिति गठन गरियो भने १३ सदस्यीय व्यवस्थापन समिति पनि गठन भयो । विभिन्न प्रयाससँगै २०५३ सालमा पोखरा विश्वविद्यालय विधेयक संसद्मा दर्ता भयो । विसं २०५३ मा नै सङ्घका तत्कालीन अध्यक्ष आजाद श्रेष्ठको अध्यक्षतामा २० सदस्यीय तयारी समिति गठन भयो । विसं २०५३ मा संसद्को दशौँ अधिवेशनमा पोखरा विश्वविद्यालय ऐन २०५३ पारित भयो । विश्वविद्यालयको प्रथम उपकुलपतिको रुपमा प्राडा पुरुषोत्तम बस्नेत नियुक्त हुनुभयो । त्यतिबेला विश्वविद्यालयको फर्निचर खरिदका लागि सङ्घले केही रकम सहयोग गरेको थियो । पोखरामा औद्योगिक क्षेत्रको स्थापनार्थ सङ्घको अगुवाइमा २०२७ सालदेखि विभिन्न प्रयास अघि बढाइएकामा २०३१ सालमा तत्कालीन पोखरा महानगरपालिका–१२ कुँडहरमा पोखरा औद्योगिक क्षेत्रको स्थापना भयो । पोखरा औद्योगिक क्षेत्रको स्थापनापछि यहाँका व्यवसायी क्रमशः उद्योग तथा व्यापारतर्फ आकर्षित हुँदै गए । पोखराको व्यावसायिक विकासका लागि विभिन्न संस्थासँगको प्रयासमा सङ्घले गरेका साझेदारीका कार्यक्रम प्रभावकारी बन्दै गएका छन् । पोखराको स्वास्थ्य क्षेत्रका लागि पनि महत्वपूर्ण योगदान गरेको सङ्घले पोखरामा मुटुरोग उपचार केन्द्र स्थापनादेखि यहाँका हरेक स्वास्थ्य क्षेत्रको विकासमा योगदान गरेको छ । पोखरालाई विश्वमाझ जोड्ने दीर्घकालीन लक्ष्यका साथ सङ्घले पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि धेरै पहिलादेखि अग्रसरता देखाउँदै आएको छ । विमानस्थलका लागि २०३२ सालमा जग्गा अधिग्रहण भए पनि निर्माणको काम नबढ्दा सङ्घकै अगुवाइमा विभिन्न सङ्घर्षका कार्यक्रम गरिएको थियो । सङ्घकै अगुवाइमा विमानस्थल निर्माणका लागि दबाब दिने उद्देश्यले २०६१ असोज ६ गतेका सम्बद्ध सबै पक्षको उपस्थितिमा सम्पन्न भेलाले सङ्घका तत्कालीन अध्यक्ष रमेश कर्माचार्यको अध्यक्षतामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सहयोग समिति गठन गरेको थियो । त्यसयताका विभिन्न चरणका छलफल अन्तक्र्रियासँगै सङ्घर्षका कारण अन्ततः पोखरा विमानस्थल निर्माण सम्पन्न भई यान्त्रिक उडानसमेत भइसकेको छ । विमानस्थल निर्माण हुनुपर्छ भन्ने सङ्घको अगुवाईसँगै २०४७ सालयता होटेल सङ्घ पोखराको पहलमा विमानस्थल सञ्चालनका अवस्थासम्म आइपुगेको होटल सङ्घ एवं पोखरा उद्योग वाणिज्य सङ्घका पूर्वध्यक्ष विश्वशङ्कर पालिखेले बताउनुभयो । उद्योग एवं व्यवसायको प्रवद्र्धनका लागि मेला औद्योगिक क्षेत्रको विकाससँगै व्यवसायको प्रवद्र्धनका लागि सङ्घले गर्दै आएको औद्योगिक व्यापार मेलालाई पोखरामा मात्र नभई देशमा नै महत्वका साथ हेर्ने गरिएको छ । यस वर्षको मेला समृद्धि स्टिल्सको मुख्य प्रायोजनमा हुन लागेको र यही मङ्सिर १६ देखि २५ गतेसम्म आयोजना हुन लागेको महासचिव बलराम आचार्यले बताउनुभयो । पोखरालगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पु¥याउने उद्देश्यका साथ मेलाको आयोजना गरिएको अध्यक्ष प्रजापतिले बताउनुभयो । ‘लगानीको सम्वद्र्धनः उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने मूल नारा रहेको मेला गण्डकी प्रदेशको व्यवसाय विस्तारको सम्भावनाको खोजीे तथा यो प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उद्देश्यसमेत रहेको उहाँको भनाइ छ । सङ्घका वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीका अनुसार यस वर्ष हुने मेलाअन्तर्गत डोमतर्फ ७८, अटोका ४५ र अन्य विभिन्न खालका १२० वटा कक्ष गरी करिब २५० कक्ष रहेका छन् । मेलाको आकर्षणका रुपमा औद्योगिक तथा व्यापार मेला, हस्तकला मेला, कृषिमेला, पुष्पमेला, अटोमेला, सूचना तथा प्रविधिको प्रदर्शनी, विभिन्न सरकारी तथा गैरसरकारी सङ्घसंस्थाको गतिविधिको प्रदर्शनीलगायत दैनिक उपभोग्य वस्तु घरायसी सरसामान, लत्ताकपडा, शृङ्गारका सामानको बिक्रीवितरण रहेका छन् । सिटीइभिटीको सहयोगमा कास्की जिल्ला हस्तकला सङ्घले मेला स्थलमा हस्तकलाका सामग्री बनाउने तालिम प्रदान गरिने कार्कीले बताउनुभयो ।
पोखराः पोखरा अन्तराष्ट्रिय विमानस्थलको सम्पूर्ण बैंकिङ कारोवार नेपाल बैंक लिमिटेड मार्फत हुने सम्झौता भएको छ । पोखरामा नेपाल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत समता पन्त र पोखरा अन्तरराष्ट्रिय विमानस्थल प्रमुख विक्रमराज गौतमका विचमा सो सम्झौतामा हस्ताक्षर भएको हो । हस्ताक्षर कार्यक्रमपछि बोल्दै बैंकका नायव प्रमुख कार्यकारी अधिकृत पन्तले बैंककातर्फबाट विमानस्थलमा हुने बैंकिङ सम्बिन्ध कारोवारमा कुनै गुनासो नआउने गरि सेवा प्रदान गने प्रतिवद्धता व्यक्त गरिन् । कार्यक्रममा नेपाल बैंक लिमिटेड प्रादेशिक कार्यलय गण्डकीका प्रमुख प्रतिमा श्रेष्ठ लगाएतका अन्य कर्मचारीहरुको सहभागिता रहेको थियो । केही दिनअघि परीक्षण उडान सकिएको पोखरा अन्तराष्ट्रिय विमानस्थलमा यही पुस १७ गतेदेखि व्यवसायिक उडान सञ्चालन गर्ने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले घोषणा गरिसकेको छ ।