काठमाडौं: विशेष अदालतले पूर्वमन्त्री संचार तथा सूचना प्रविधि मन्त्री एवम् नेपाली कांग्रेसका सांसद मोहन बस्नेतलाई २५ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ । विशेष अदालतका न्यायाधीश तेज नारायण सिंह राई, र...

पोखराः  निल हिरा समाजकी संयोजक पिटर राईले यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायलाई नागरिकता लिन विभेद भएको बताएकी छिन् ।  निल हिरा समाजद्वारा आज (शुक्रबार) यौनिक तथा लैङ्गीक अल्पसंख्यकबारे मिडिया अभिमुखिकरण कार्यक्रममा बोल्दै निल हिरा समाजकी कार्यक्रम संयोजक  राईले नागरिकता लिनलाई यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायलाई विभेद गरेको बताएकी हुन् ।  ‘नागरिकता लिँदा लिङ्गमा अन्य लेख्न पाइने व्यवस्था भएपनि निकै झन्झटिलो र ठूलो विभेद छ । डाक्टरको प्रमाणपत्र पेश गर्नुपर्ने र निवस्त्र भएर अंगहरु देखाउनु पर्ने जस्ता ठूलो विभेद भएका छन् ।’ उनले भनिन् ।  यौनिक तथा लैगिंक अल्पसंख्यक समुदायका व्यक्तिले आफनो पहिचान नहुदै नामसहितको नागरिकतामा महिला वा पुरुषको महलमा राखेर बनाएपछि आफनो पहिचान शारीरिक बनावट परिवर्तन गरेपछि नाम परिवर्तन गर्न नमिल्ने खालको कानुनी जटिलता रहेको छ । तरपनि राज्यले पछिल्लो समय समुदायप्रति चासो व्यक्त गरेको बताईन् ।  उनले समाजमा सबैलाई सम्मानजनक व्यवहार हुनुपर्नेमा जोड दिईन् ।‘ यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायलाई समाजमा सम्मानजनक व्यवहारको आवश्यकता छ, उनले भनिन् ‘समाजमा समाजमा यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायलाई होच्याउने, अपशब्द बोल्ने, गालीगलौज गर्नेलगायत शारिरिक र मानसिकरुपमा हिंसा हुने गरेको छ । सबै क्षेत्रबाट सम्मानजनक व्यवहार अझै हुन सकेको छैन । यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायले पिडा भोग्नुपरेको परेको छ ।’  संयोजक राईले यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायको मुद्दालाई विशेष प्राथमिकतामा राखेर सञ्चारकर्मीले कलम चलाउन आग्रह गरिन । साथै समाचार लेख्दा गोपनियताको ख्याल राख्दै अध्ययन गरेरै लेखिदिन उनले अनुरोध गरिन । त्यसैगरि संचारकर्मी बविता बस्नेतले यौनिक तथा लैङ्गीक अल्पसंख्यकहरुलाई सम्मानजनक भाषाशैलीको प्रयोग आवश्यक रहेको बताईन ।  ‘यौनिक तथा लैङ्गीक अल्पसंख्यकहरुलाई सम्मानजनक भाषाशैलीको प्रयोग गर्न आवश्यक छ, उनले भनिन्, ‘यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायका व्यक्तिहरुलाई स्वतन्त्र जीवनयापन गर्न शिक्षा, स्वास्थ्य, रोजगारीलगायतको सवालमा राज्यले प्राथमिकता दिनुपर्नेमा जोड दिनुपर्छ । यस समुदायका समस्या, चुनौती र भोग्नुपरेको कानुनी र सामाजिक जटिलतालाई समेत संचारकर्मीहरुले महत्वका साथ उजागर गर्न जरुरी छ ।’ पोखरामा यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायका व्यक्तिहरु आउँदा उनीहरुलाई बस्ने बासको व्यवस्था गर्न सम्मान गृह सञ्चालन गरिएको नौलो बिहानीकी कार्यालय प्रमुख रजनी थकाली ‘फुपु’ले जानकारी दिइन । कुनै काम विशेषले, उपचार गर्न वा आर्थिक समस्या भएका उक्त समुदायका व्यक्तिलाई सहज होस् भनी सम्मान गृह सञ्चालन गरिएको उनको भनाई थियो । हाल नेपालमा करिब ९ देखि १० लाख जना यौनिक तथा लैङ्गीक अल्पसंख्यक समुदायका रहेको तर सबै खुल्न नचाहेको नौलो बिहानी पोखराकी अध्यक्ष बिन्दीया गौतमले जानकारी दिइन् ।  

धनगढीः   धनगढीमा ग्रेडरको ठक्करबाट साथीको ज्यान गएपछि विद्यार्थीले दोषीलाई कारबाही गर्नुपर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग गर्दै आन्दोलन गरिरहेका छन् । आन्दोलनले उग्र रूप लिएपछि जिल्ला प्रशासन कार्यालय धनगढीले घटनास्थल आसपासको क्षेत्रमा हिजो बिहीवारदेखि नै निषेधाज्ञा लागू गरेको छ । विद्यार्थीले निषेधाज्ञा तोडेर प्रदर्शन गरेपछि स्थिति तनावग्रस्त बनेको छ । प्रहरीले अश्रु ग्यास प्रहार गरेपछि स्थानीय र विद्यार्थी तितरबितर भएका छन् । प्रदर्शनमा सहभागी २१ जना विद्यार्थीलाई प्रहरीले पक्राउसमेत गरेको छ । धनगढीको पञ्चोदय माध्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत चेतना साउदको सडक निर्माणका क्रममा ग्रेडरको ठक्करबाट हिजो ज्यान गएपछि विद्यार्थी आन्दोलित भएका हुन् । अहिले जिल्ला प्रशासन कार्यालयमा पीडित पक्षसँग छलफल भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिनुभयो ।

दोलखाः  दोलखामा मतपत्र हराएपछि रोकिएको मतगणना पुनः सुरु भएको छ । प्रतिनिधिसभातर्फको मतगणनाको क्रममा १४७ वटा मतपत्र नभेटिएपछि केहीबेर मतगणना रोकिएको थियो । सर्वपक्षीय छलफलपछि दलीय सहमतिमा मतगणना अगाडि बढाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । एउटा गाउँपालिकाको वडा नम्बर १ को १४७ वटा मतपत्र नभेटिएको एक प्रतिनिधिले बताएका छन् । मुचुल्कामा उल्लेख मतपत्रको संख्याभन्दा कम भेटिएपछि नेकपा एमालेले आपत्ति जनाएको थियो । प्रदेशसभातर्फको मतगणना जारी छ । 

काठमाडौंः   नेपाल प्रहरीले बूढानीलकण्ठ क्षेत्रमा चार लाख ८८ हजार रुपैयाँ चोरी गर्ने एक जनालाई पक्राउ गरेको छ ।  प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीकलकण्ठ नगरपालिका–१० आसपासका क्षेत्रमा चोरी गर्ने गोकर्णेश्वर नगरपालिका–४ सुन्ताखानका ४२ वर्षीय राजु गुरुङलाई हिजो बेलुका पक्राउ गरेको हो । गुरुङ यसअघि पनि पटक–पटक चोरी गर्ने कार्यमा संलग्न रहेको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो । गुरुङ यसअघि २०६९ सालमा जिल्ला प्रहरी परिसर ललितपुरबाट चोरी मुद्दामा २५ लाख रुपैयाँ धरौटीमा छुटेको, २०७२ मा प्रहरी वृत्त स्वयम्भूबाट सार्वजनिक अपराध मुद्दामा पक्राउ, २०७५ मा प्रहरी वृत्त बौद्धबाट चोरी मुद्दामा पक्राउ परी अदालतबाट १८ लाख रुपैयाँ धरौटीमा छुटेको र गएको साउनमा प्रहरी वृत्त बानेश्वरबाट चोरी मुद्दामा पक्राउ परी अदालतबाट तीन लाख रुपैयाँ धरौटीमा छुटेका व्यक्ति हुन् । गुरुङबाट एक हजार दरको नोट चार सय नौ थान, पाँच सय दरको नोट ८० थान, एक सय दरको नोट एक सय ७५ थान, ५० दरको नोट एक सय ७५ थान, २० दरको नोट तीन सय ५० थान, १० दरको नोट चास सय ४० थान र पाँच दरको नोट एक सय ८० थान बरामद गरेको छ । पक्राउ परेका गुरुङलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद–२० को चोरीसम्बन्धी कसुर मुद्दामा काठमाण्डौ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको प्रवक्ता मैनालीले बताउनुभयो 

कपिलवस्तुः   कपिलवस्तुको चाकरचौडामा भारतीय नागरिकमाथि गोली प्रहार भएको छ । कपिलवस्तुको मायादेवी गाँउपालिका–४ चाकरचौडामा भारतीय नागरिकमाथि गोली प्रहार भएको हो । चाकरचौडासँग सीमा जोडिएको सिद्धार्थनगर जिल्लाको अलिगढवाका बिहीबार राति ३५ वर्षीय ईरशाद खानमाथि दुई गोलि प्रहार भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । कपिलवस्तुका प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले नेपाली सीमा क्षेत्रको चाकरचौडा बजारको एक होटलमा रहेका भारतीय नागरिक खानमाथि दुई जना अज्ञात व्यक्तिले गोली प्रहार गरेको खुल्न आएको जानकारी दिनुभयो । उहाँका अनुसार खानलाई काँध र कम्मरमा गरी दुई गोली लागेको छ । गोली लागेर घाइते हुनुभएको खानलाई उपचारका लागि भारतको नौगढ लगिएको थियो । त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि गोरखपुर मेडिकल कलेज लगिएको छ । घटनाबारे भारतीय प्रहरीसँगको समन्वयमा अनुसनधान अगाडि बढाइएको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिनुभयो । अहिले जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको अनुसन्धान टोली घटनास्थलमा रहेका छन् ।

बागलुङः   शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले निर्वाचनमा जनतासँग गरेको वाचा आगामी पाँच वर्षमा पूरा गर्ने गरी आफू काममा लाग्ने बताउनुभएको छ ।  नवनिर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका मन्त्री पौडेलले आफ्नो निर्वाचन क्षेत्र बागलुङको ढोरपाटन नगरपालिकाका मतदातालाई धन्यवाद दिँदै पाँच वर्षमा जनतासँग गरेको विकास र समृद्धिको वाचा पूरा गर्ने बताउनुभएको हो । उहाँले निर्वाचनमा आफूले सार्वजनिक गरेका विकास र समृद्धिका योजनालाई पाँच वर्षमा पूरा गर्न हदैसम्मको प्रयासमा लाग्ने बताउनुभयो ।  “अधुरा काम पूरा गर्दै नयाँ विकासे आयोजना थप गर्ने छु, आगामी पाँच वर्षमा जनताको आधारभूत विकास शिक्षा, स्वास्थ्य, खानेपानी र सडकजस्ता योजना हदैसम्म सफल बनाइने छ”, मन्त्री पौडेलले भन्नुभयो, “पाँच वर्षमा बागलुङको पश्चिम क्षेत्रमा धेरै विकासका ढोका खोलिनेछन् ।” उहाँले अबको केन्द्रीय र प्रदेश सरकारसमेत अहिलेको गठबन्धबाटै बन्ने जिकिर गर्नुभयो । चुनावपछि जनताको साझा प्रतिनिधि भएको उल्लेख गर्दै मन्त्री पौडेलले पूर्वाधार विकासमा समान वितरण प्रणली लागू गरिने जानकारी दिनुभयो ।  उहाँले ढोरपाटन–साल्झण्डी सडक निर्माणलाई तीव्रता दिने, केन्द्रीय प्रसारण लाइनलाई विस्तार गरिने, आफ्नो क्षेत्रका ठूला सडकमा पक्की पुल निर्माण गर्ने र ढोरपाटनको आलुलाई प्रवद्र्धन गर्ने बताउनुभयो । 

पाल्पाः  आधुनिकताका नाममा परम्परागत गुन्द्री बुन्ने, दुनाटपरी बनाउने चलन हराउँदै गएको अवस्थामा पाल्पाको एक विद्यालयले प्रयोगात्मकसँगै व्यवहारिक ज्ञान, सीप सिकाउने अभियान थालेको छ । कक्षाकोठाभित्र पढाइने सैद्धान्तिक ज्ञानले मात्रै सिकाइ पूर्ण हुन नसक्ने वास्तविकतालाई आत्मसात् गर्दै पाल्पाको रामपुरस्थित भूपू सैनिक राइजिङ इङ्लिस स्कुलले विद्यार्थीमा व्यवहारिक ज्ञान, सीप सिकाउने उद्देश्यका साथ परम्परागतरूपमा चलनचल्तीका सीप सिकाउने कार्य गरिरहेको छ । यहाँ गाउँघर, समाजमा दैनिक प्रयोगमा आउने गुन्द्री, दुनाटपरी तयार पार्नेजस्ता सीप सिकाउन थालिएको हो ।   हाललाई कक्षा ९ का विद्यार्थीलाई मात्रै सिकाउने गरिएको छ । विद्यालयको प्रांगणमा तान लगाएर गुन्द्री बुन्ने, दुनाटपरी तयार पारेको दृश्यले शिक्षक, अभिभावक, विद्यार्थीमा नयाँ कुरा सिक्ने र सिकाउने कार्यमा उत्साह थपिएको छ । बढ्दो आधुनिकताले गर्दा गाउँघरमा सबैले पुराना कुरा बिर्सिंदै गएको अवस्थामा विद्यालयमा सीप सिक्न पाउने अवसर मिलेको छात्रा नमूना गौतमले बताइन् । ‘नियमित प्रयोग गर्दै आएका वस्तुका लागि अहिले बजारका प्लाष्टिकजन्य सामग्रीमा निर्भर रहनुपर्ने अवस्था छ,’ उनले भनिन्, ‘आफैंले घरमै तयार पारेर प्रयोग गर्न मिल्ने सामग्री हामी अन्यत्र आश्रित हुनुहुँदैन, विद्यालयले हाम्रो जीवनोपयोगीमा अति उपयोगी हुने सीप सिक्ने वातावरण बनाइदिएको छ ।’ गुन्द्री, दुनाटपरी समाजमा अनिवार्यरूपमा प्रयोग भइरहने वस्तु हुन् । सैद्धान्तिक सिकाइले कण्ठ गर्ने मात्र हुन्छ । छात्रा सभ्यता जिसी घरमा प्रयोग गरिए तापनि सीप सिक्ने मौका नमिलेको अवस्थामा विद्यालमै आएर सिक्न पाउँदा रमाइलो लागेको बताउँछिन् । नेपाली भएर पनि आफ्ना संस्कार, संस्कृतिको जगेर्ना गर्न नसक्दा परम्परागत संस्कृति लोपोन्मुख हुँदै गएको छ । अहिलेलाई कक्षा ९ का विद्यार्थीलाई मात्र सिकाइएको सीप क्रमिकरूपमा अन्यलाई पनि सिकाइनेछ । घरमा प्रयोग हुने गरे पनि सिक्ने समय नमिल्ने अर्थात् नयाँ पुस्तामा सीप हस्तान्तरण नहुँदा अहिले गुन्द्री बुन्ने, दुनाटपरी बुन्नेजस्ता कार्यमा नयाँ पुस्ता अन्योलमा छ । उनीहरूलाई मध्यनजर गर्दै दैनिक प्रयोगमा आउने र पुरानो चलनचल्तीलाई नयाँ पुस्तामा ज्ञान, सीप सिकाउन विद्यालयभित्रै प्रयोगात्मक ज्ञान, सीप सिकाउने गरिएको हो । शिक्षण सिकाइमा प्रयोगात्मक सिकाइअन्तर्गत विद्यार्थीलाई नयाँ कुरा सिकाउने र प्राचीनरूपमा घरमा प्रयोग हुँदै आएको तर अहिलेका पुस्तामा सीप हस्तान्तरण नहुँदा प्रयोग कम हुँदै गएको अवस्थामा विद्यालयमा नै सीप सिकाउने कार्य सुरु गरिएको प्रिन्सिपल गोपी सिग्देलले बताए । ‘विद्यार्थीले असाध्यै उत्साहित भएर ज्ञान, सीप सिक्ने गरिरहेका छन्, अभिभावकले पनि घरमा सिकाउने समय नमिलेको अवस्थामा विद्यालयमा नै सिकाइएको यस सीपलाई सकारात्मकरूपमा लिनुभएको छ, छात्राहरू यससम्बन्धी सीप सिक्न पाउँदा खुसी छन्,’ उनले भने । थोरै समयमा आफ्नो समयतालिकाअनुसार उत्साहित भएर विद्यार्थीले सीप सिक्ने गरेको शिक्षक ईश्वरीदेवी श्रेष्ठ बताउँछिन् । उनका अनुसार दैनिक ४० मिनेटको समय पालैपालो सिकाइने गरिएको छ । लोप भएको कुरालाई उजागर गर्दै विद्यार्थीको पढाइमा असर नपर्ने गरी पुराना सीप जुन अनिवार्य प्रयोगमा आइरहन्छन्, सो सीपलाई सिकाउन थालिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार श्रेष्ठले बताए । अहिलेलाई छात्रालाई दुनाटपरी, गुन्द्री बुन्नेजस्ता सीप सिकाइएको छ । विस्तारै बत्ती काट्ने सीप सिकाउने विद्यालयले जनाएको छ । छात्रलाई वायरिङ, प्लम्बिङजस्ता तालिम सिकाउने विद्यालयले योजना बनाएको छ । कक्षा ९ मा हाल ४० विद्यार्थीमध्ये १३ छात्रा र २७ छात्र अध्ययनरत छन् । मन्टेश्वरीदेखि कक्षा १२ सम्म पठनपाठन हुने यस विद्यालयमा हाल एक हजार २० विद्यार्थी अध्ययनरत छन् । कक्षा ६ देखि ८ सम्मका विद्यार्थीलाई विभिन्न खाजा, खानाको परिकार बनाउने कार्य, बिरुवा रोपण, विद्यालय प्रांगणमा करेसाबारी निर्माण, सरसफाइजस्ता कार्यक्रम भइरहेका छन् । विद्यालयको आन्तरिक स्रोत र नेपाल–भारत सहयोगमा दुई स्कुल बस नियमित सञ्चालनमा छन् । विद्यालयमा रामपुरबाहेक स्याङ्जाको दामाचौर, माडी, साँखर र तनहुँको अत्रौली, पुट्टार क्षेत्रका विद्यार्थी दैनिकरूपमा बसमा विद्यालय आउँछन् । स्कुल बसको सुविधा भएपछि टाढाका विद्यार्थी घरबाटै यहाँ पढ्न आउने गरेका छन् । मन्टेश्वरीदेखि कक्षा १ सम्मका विद्यार्थीलाई विद्यालयमा नै एक कर्मचारी व्यवस्था गरी खाजा बनाएर खुवाउने गरिएको छ । यहाँ ५२ शिक्षक कर्मचारी कार्यरत छन् ।

सिरहाः   सिरहाको गोलबजारबाट कटुवा पेस्तोलसहित दुई युवक पक्राउ परेका छन् । गोलबजार नगरपालिका–११ बलकवा मैनाबती पुलबाट कटुवा पेस्तोल एक थानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा गोलबजार–४ बस्ने १९ वर्षीय कृष्णाकुमार यादव र सोही नगरपालिका–११ बलकवा बस्ने २१ वर्षीय मोहम्मद अरमान खान रहेको जिल्ला प्रहरीले सिरहाले जनाएको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई पेस्तोलसहित पक्राउ गरेको हो । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक प्रवक्ता सुवास बुढाथोकीले बताउनुभयो ।

नवलपरासीः   नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को धौवादीमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।  दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश ०४–००१ ज–०००६ नम्बरको जिप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । दुर्घटनामा दुई महिला र दुई पुरुष गरी चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी९बर्दघाट सुस्ता पूर्व०का प्रमुख एसपी भुवनेश्वर तिवारीले पुष्टि गर्नुभयो ।  दुर्घटना परी घाइते भएकाको उद्धार गर्ने क्रममा थप दुईको शव फेला परेको प्रहरीले जनाएको छ । मृतकको सनाखत भइसकेको छैन । घाइते सात जनालाई उद्धार गरी अस्पताल लगिएको छ । सडकबाट करिब तीन सय मिटर तल खसेको जिप ब्रेक फेल भएका कारण दुर्घटनामा परेको अनुमान गरिएको छ । साँझ साढे ५ बजे भएको दुर्घटनामा घाइते तथा मृतकको उद्धार साढे ८ बजेसम्म जारी रहेको थियो ।   घाइते तथा मृतकको उद्धार गर्न निकै कठिन भएकाले मृतकको सङ्ख्या बढेको जनाइएको छ । घटनास्थल दुर्गम पहाडी क्षेत्र भएकाले उद्धारमा कठिनाइ भएको हुप्सेकोट गाउँपालिका–५ का वडाध्यक्ष पदमबहादुर रानाले बताउनुभयो ।