काठमाडौं: जनमत पार्टीका अध्यक्ष सिके राउतले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन्। मंगलबार उनले राष्ट्रपति कार्यालय पुगेर भण्डारीलाई भेटेका हुन्। उनले आफ्नो सामाजिक सञ्जालमार्फत् भेटको तस्बिर सार्वजनिक गरेका छन्। उनीहरूबीच शिष्टाचार भेटघाट भएको र देशको समसामयिक राजनीतिक निकासका विषयमा छलफल भएको जानकारी दिएका छन्। सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित राउतले पछिल्लो समय विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटघाट गरिरहेका छन्। यही शिलशिलामा उनले मंगलबार राष्ट्रपतिलाई समेत भेटेका हुन्।
काठमाडौं: धुम्बाराहीमा आफैंलाई पेट्रोल खन्याएर जलाएकी महिलाको मृत्यु प्रकरणमा पक्राउ परेका चार जनामध्ये तीनजना थुनामुक्त भएका छन् । मृतक नुवाकोटकी २७ वर्षीया पुष्पा न्यौपानेसँग इन्गेजमेन्ट गरेका युवक २९ वर्षीय सुधन संग्रौला चाहिं हिरासतमै छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार जिल्ला अदालत, काठमाडौंले सुधनबाहेक अन्यलाई हिरासतमा राख्न अनुमति दिएन । प्रहरीले सोमबार सुधनसहित उनका बुबा ५७ वर्षका दिनेश संग्रौला, आमा बिन्दु संग्रौला र २९ वर्षका मधु संग्रौलालाई पक्राउ गरेको थियो । जाहेरी आएपछि परिवारका अन्य सदस्यलाई पनि पक्राउ गरिएपनि अदालतले थुनामा राख्न अनुमति नदिएको प्रहरीले जनाएको छ । एसपी मैनाली भन्छन्, ‘हाजिर जमानीमा राखेर अनुसन्धान गर्न भनेपछि एकजनालाई मात्र नियन्त्रणमा राखेका छौं ।’
काठमाडौं: साताको तेस्रो कारोबार दिन सेयर बजार परिसूचकमा एकल अंकको सामान्य गिरावट भएको छ । मंगलबार बजार परिसूचक नेप्से ४.८७ अंक (०.२५ प्रतिशत) ले गिरावट भएर १९३३.८८ अंकमा बन्द भएको छ । जीवन बीमा, लघुवित्त र अन्य बाहेक बजारलाई लिड गर्ने बैंकिङ सहित अधिकांश उपसूचकमा गिरावट हुँदा बजार परिसूचक नेप्से पनि घटेको हो । अन्य उपसूचक सर्वाधिक ०.५७ प्रतिशतले वृद्धि हुँदा लघुवित्त उपसूचक ०.२८ प्रतिशत र जीवन बीमा उपसूचक ०.०१ प्रतिशतले वृद्धि भएको छ । लगानी उपसूचक सर्वाधिक ०.९१ प्रतिशतले गिरावट हुँदा बैंकिङ उपसूचक ०.३९ प्रतिशतले गिरावट भएको छ । नेप्सेसँगै मंगलबार कारोबार रकममा पनि संकुचन भएको छ । सोमबार डेढ अर्ब माथिको कारोबार भएको बजारमा मंगलबार १ अर्बको पनि कारोबार हुन सकेन । मंगलबार नेप्सेमा २५ लाख ८१ हजार ४२५ कित्ता सेयर किनबेच हुँदा ९६ करोड ५२ लाख ११ हजारको कारोबार भएको छ । जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक ८ करोड १२ लाख ३४ हजारको कारोबार हुँदा हिमालयन डिस्टिलरीको ५ करोड ५० लाख ८ हजार र रिडी पावरको ५ करोड २ लाख ७ हजारको कारोबार भएको छ । मंगलबार नेप्सेमा कुल १९९ कम्पनीको सेयर कारोबार भएकोमा १०९ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ । त्यस्तै ७८ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा १२ कम्पनीको सेयर मूल्य स्थिर छ । मंगलबार कारोबार भएकामध्ये धौलागिरी लघुवित्तको सेयर मूल्य सवार्धिक ८.१७ प्रतिशतले वृद्धि हुँदा सिटिजन्स म्युचुअल फण्ड १ को इकाइमूल्य ६.१२ प्रतिशत र सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य ५.८६ प्रतिशतले बढेको छ । यता एनएमबि बैंकको सेयर मूल्य सर्वाधिक ६.०७ प्रतिशतले गिरावट हुँदा एनएमबि ५० को इकाइमूल्य ३.८५ प्रतिशत र आईसीएफसी फाइनान्स डिबेञ्चर २०८३ को मूल्य ३.३२ प्रतिशतले गिरावट भएको छ ।
काठमाडौं: मेलम्चीको पानी सुन्दरीजल आइपुगेको छ। गत मंसिर १२ गते सिन्धुपाल्चोकको हेलम्बुस्थित अम्बाथानबाट सुरूङमा पानी छाडिएको थियो। अम्बाथानदेखि सुन्दरीजलसम्म २६ किमी सुरूङ छ। अम्बाथानबाट पानी पठाएको ८ दिनमा सुन्दरीजल आइपुगेको छ। सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रमा मेलम्चीको पानी आइपुगेको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले बताए। उनकाअनुसार अब केहि दिनमा मेलम्चीको पानी काठमाडौंका घर घरमा पठाइनेछ। ‘पानी सफा हुन केही समय लाग्न सक्छ। काठमाडौंका घरघरमा मेलम्चीको पानी पठाउन वितरण गर्ने सबै निकायहरूलाई जानकारी पनि गराइसकिएको छ,’ उनले भने। मेलम्ची खानेपानी विकास समितिका कर्मचारीले गत साउनदेखि पारिश्रमिक भने पाएका छैनन्। उनीहरूले पानी वितरण रोक्ने सक्ने चेतावनीसमेत दिइरहेका छन्। तर सरकारले मेलम्ची खानेपानी विकास समिति पुनर्गठन गर्ने तयारी गरेको छ। नयाँ बजेट ल्याउँदा सरकारले मेलम्ची खानेपानी विकास समिति खारेज गरी मेलम्ची आयोजनालाई खानेपानी विभागअन्तर्गत राख्ने भने पनि त्यसअनुसार खासै काम अघि बढेको थिएन। काठमाडौंका १० क्षेत्रमा निर्वाचित भएका सांसदहरूले आज मेलम्ची खानेपानी विकास समिति पुनर्गठन र मेलम्चीको पानी बाह्रै महिना काठमाडौं ल्याउनुपर्ने मागसहित प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षणसमेत गर्ने भएका छन्। ् केही दिनअघि काठमाडौं १ का सांसद प्रकाशमान सिंहले अम्बाथान पुगेर आयोजनाको अहिलेको अवस्थाबारे बुझेर फर्केका थिए।
काठमाडौं: थापाथालीको सुकुम्बासी बस्ती हटाउन माग गर्दै मेयर बालेन्द्र साह (बालेन) लाई ध्यानाकर्षण पत्र बुझाइएको छ । उपत्यकावासी व्यवस्थापन तथा सहयोग संघर्ष समितिले नक्कली सुकुम्बासीहरुले थापाथलीमा भूमि कब्जा गरेको भन्दै पहिचान गरेर कारबाही गर्न माग गर्दै ध्यानकर्षण पत्र बुझाएको हो । ‘कथित सुकुम्बासीको घर टहरा हटाई, राधाजनीको सौन्दर्यता,सुशान्ति र मैत्रीपूर्ण वातावरण सिर्जना गर्न एक इन्च पनि महानगर पछि नहटोस’ ध्यानाकर्षण पत्रमा भनिएको छ । समितिले सुकुम्बासी बस्तीमा दिउँसै घरेलु हतियारसहित नगर प्रहरी, महानगर प्रमुखलाई धम्कीदिनुले उपत्यकामा त्रास फैलिएको समेत बताएको छ । हेर्नुहोस् ध्यानाकर्षण पत्र:
पोखरा: बेनेली मोटरसाइकलको आधिकारिक वितरक केटीएम इन्टरनेशनल ट्रेडिङले सोमबार पोखराको नयाँ बजारमा बेनेली मोटरसाइकलको नयाँ एक्सक्लुसिभ शोरुम र सर्भिस सेन्टर खोलेको छ। बेनेलीले आफ्ना ग्राहकहरूको पहुँच बढाउन नेपालभर विभिन्न स्थानहरूमा शोरुमहरू खोल्ने प्रयास जारी राखेको बताएको छ। अहिले नेपालको विर्तामोड, दमक, विराटनगर, लहान, कल्याणपुर, गोलबजार, जनकपुर, मलंगवा, छपुर, हेटौंडा, सिमरा, वीरगञ्ज, चितवन, बुटवल, घोराही, नेपालगञ्ज, धनगढी, सुर्खेत, कुपण्डोल, भक्तपुर, गैरीधारा र पोखरा लगायतका २२ वटा शोरुम छन्। पोखरामा नयाँ शोरुम १८ सय वर्गफुटमा निर्माण गरिएको छ जसमा ५० वर्गफुट स्पेयर पार्ट्स र १५ सय वर्गफुट सर्भिस सेन्टरको लागि व्यवस्थापन गरिएको बताइएको छ। यो शोरुममा ३ एस सुविधा सम्पन्न रहेको छ र यहाँ सबै नयाँ बेनेली मोटरसाइकलहरू उपलब्ध हुने कम्पनीले बताएको छ। पोखरामा नयाँ शोरुम खोलेसँगै ग्राहकहरूलाई थप उपलब्धता र गतिशीलता प्रदान गर्ने कम्पनीको विश्वास छ। बेनेलीले नयाँ शोरुमको उद्घाटनको उपलक्ष्यमा ३० हजार रुपैयाँ छुट, एक्सचेन्जमा न्यूनतम मूल्यांकन ४० हजार न्यूनतम डाउन पेमेन्ट ६० हजार र ५० प्रतिशत डाउन पेमेन्टको साथ फाइनान्सिङमा ० ब्याजदर प्रदान गर्ने बताइएको छ। साथै, विद्यमान ग्राहकहरूका लागि बेनेलीले निःशुल्क वाश, श्रम शुल्कमा ५० प्रतिशत छुट र लुब्रिकेन्टमा १५ प्रतिशत छुट समावेश गर्ने सर्भिस क्याम्प सञ्चालन गर्ने भएको छ। बेनेली एक इटालियन प्रिमियम मोटरसाइकल ब्रान्ड हो जुन १९९१ मा स्थापित भएको हो र यसले प्रिमियम, बीग–बोर, स्पोर्टस्, र नेकेड बाइकहरू निर्माण गर्छ जुन बलियो र स्पोर्टी दुवै छ। यो इटालीको सबैभन्दा पुरानो मोटरसाइकल उत्पादक मध्ये एक हो। नेपाली बजारमा टिएनटी १३५, टीएनटि १५, पनेरा १२५, टिएनटी १५० आई, १८० एस, १८० एस नियोन, ३०२ एस, ३०२ एस नियोन, टिआरके २५१, ६०० आई र ७५२ एस मोडलहरू उपलब्ध छन्। यी मोडलहरू नेकेड, कम्युटर, स्कुटर र टुरिङ विधाका रहेका कम्पनीको भनाइ छ।
काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२औं तहको अतिरिक्त स्वास्थ्य सचिवका लागि बढुवा प्रक्रिया अघि बढाएको छ । १२ औँ तहका डा. श्यामसुन्दर यादव र डा. गुणराज लोहनीले अवकाश पाएपछि दुई दरबन्दी रिक्त छ । स्रोतका अनुसार ती दुई दरबन्दीमा प्रतिस्पर्धा गर्न योग्यता पुगेका २१ जनाले व्यक्तिगत विवरण बुझाएका छन् । मन्त्रालयको बढुवा समितिले गत ३० कात्तिकमा सूचना जारी गर्दै अतिरिक्त स्वास्थ्य सचिवका लागि योग्यता पुगेकाहरुलाई १५ दिनभित्र व्यक्तिगत विवरण बुझाउन भनेको थियो । विवरण बुझाउनेमा प्रदेश अस्पताल भद्रपुरका डा.टंक बराकोटी, राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. सुधा देवकोटा, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका महानिर्देशक डा. बासुदेव उपाध्याय, लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा. विकास देवकोटा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका डा. कृष्णप्रसाद पौडेल, राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक सुनिल शर्मा र गण्डकी प्रदेश स्वास्थ्य तालिम केन्द्रका डा.विनोदविन्दु शर्माले विवरण बुझाएका छन् । यसैगरी, बागमती स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्का, स्वास्थ्य विभाग नर्सिङ महाशाखा प्रमुख गोमा निरौला, नारायण ढकाल, डा. सञ्जय ठाकुर, कान्ति बाल अस्पतालका डा. अजित रायमाझी, स्वास्थ्य निर्देशनालय लुम्बिनीका डा. विनोदकुमार गिरी, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डा. मनिषा रावल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. श्रीकृष्ण श्रेष्ठ, वीर अस्पतालका डा. सरोज शर्मा, परोपकार प्रसुति अस्पतालका डा. आमिरबाबु श्रेष्ठले पनि व्यक्तिगत विवरण बुझाएका छन् । भेरी अस्पतालका डा. राजन पाण्डे, राष्ट्रिय ट्रमा सेन्टरका डा. रुद्र मरासिनी, भेरी अस्पतालकी दुर्गालक्ष्मी श्रेष्ठ, कर्णाली प्रदेश अस्पतालका डा. केशरबहादुर ढकालले पनि बढुवाका लागि व्यक्तिगत विवरण पठाएका छन् । निर्धारित समयमा विवरण बुझाउने २१ जनामध्ये बढुवा समितिले तीन जनाको नाम मन्त्रिपरिषदमा पठाउनेछ । जसमध्ये दुई जना बढुवा हुने छन् । १२ औं तहको अक्तिरिक्त स्वास्थ्य सचिवमा बढुवामार्फत मात्र पदपूर्ति हुने व्यवस्था छ । ११औं तहमा कम्तीमा ५ वर्ष सेवा गरेका विशेषज्ञहरू १२ औं तहमा बढुवाका लागि योग्य हुन्छन् । बढुवा कार्यक्षमता मूल्यांकनका आधारमा हुने व्यवस्था छ । पछिल्लो ५ वर्षको कार्यसम्पादन मूल्यांकन र अन्य ज्येष्ठता, भौगोलिक क्षेत्रमा काम तथा शैक्षिक योग्यता र तालिमबापत कर्मचारीले प्राप्त गरेको अंकका आधारमा योग्यताक्रममा अब्बल व्यक्तिलाई मन्त्रिपरिषद्ले १२ औं तहमा बढुवा गर्ने छ ।
लेखनाथ: पोखरा महानगरपालिका वडा नं. २६ स्थित प्रगतीटोलको सडक ढलान तथा नाला निर्माण योजनाको सोमबार वडाध्यक्ष नरेन्द्र थापाले शुभारम्भ गरेका छन् । सडक निर्माणको शुभारंभ कार्यक्रममा बोल्दै वडाध्यक्ष थापाले सडक तथा नाला निर्माणको गुणस्तरमा ध्यान दिन उपभोक्ता समितिलाई आग्रह गरे । अध्यक्ष थापाले वडा नंं २६ ले पिछडिएको क्षेत्रबाट विकास निर्माणको काम थालनी गरेको बताउँदै, सडक महानगरकै नमूना सडक हुने विश्वास व्यक्त गरे । वडाध्यक्ष थापाले सडक तथा नाला निर्माण सँगै हरियाली प्रवद्र्धनमा पनि बिशेष ध्यान दिन आग्रह गरे । सडक वडाले विनियोजन गरेको महानगरस्तरिय योजना मध्येको ठुलो योजना भएको उल्लेख गर्दै, निर्माणको गुणस्तर कायम गर्न वडाका प्राविधिकको सहयोग र जनप्रतिनिधिको निगरानी रहने बताए । कार्यक्रममा वडा सदस्य तीर्थबहादुर राजभाटले आर्थिक संकटको समयमा पनि उपभोक्ताले ठुलो हिस्सा रकम उठाएर योजना निर्माणमा चासो दिएको उल्लेख गरे । सडकका लागि वडा नं. २६ ले महानगरस्तरिय योजना अन्र्तगत ६५ लाख रुपैया विनियोजन गरेको छ । भने उपभोक्ताको तर्फबाट २७ लाख ८६ हजार रुपैया रुपैया गरी कुल ९२ लाख ८६ हजार रुपैयाको लागतमा सडक निर्माण हुन लागेको हो । ७ सय मिटर लम्बाई र ६ मिटर चौडाईको सडक निर्माणका लागि प्रसाद गुरुङ्गको अध्यक्षतामा उपभोक्ता समितिको गठन भएको छ । कार्यक्रममा निर्माण समितिका अध्यक्ष गुरुङ्गले वडाले स्थानीयको योजनालाई सम्वोधन गरेको उल्लेख गर्दै वडा सरकारको अनुभूति गर्न पाएको उल्लेख गरे । सडक निर्माण पछि त्यस क्षेत्रका झण्डै पाँचसय घरपरिवार सहितका उपभोक्ताहरु लाभान्वित हुनेछन् । पोखरा महानगरपालिका वडा नं. २६ मा चालु आर्थिक बर्षमा संचालन हुने योजनाहरु उपभोक्ता समिति गठन भै धमाधम शुरु भएका छन् ।
पोखराः स्वरसम्राट नारायणगोपाल गुरुवाचार्यको ३२ औंं पूण्य तिथीको अवसरमा सोमबार पोखरामा नारायणगोपाल स्मृति साँझ–२०७९ भव्य रुपमा सम्पन्न भएको छ । रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्ज, पोखरेली युवा सांस्कृतिक परिवार र पोखरा सांगीतिक कलाकार संघको संयुक्त आयोजनामा गैह«ापाटनस्थित पोखरा उद्योग वाणिज्य संघको अमृतकक्षमा आयोजित स्मृति साँझमा गायक/गायिकाहरु रामभक्त जोजिजु, विनोद बानियाँ, इतु जोजिजु, सन्तोष बस्याल, एमडी काफ्ले, रजनी राई र उषा गुरुङले स्वर्गीय स्वरसम्राट नारायणगोपालद्धारा संगीत तथा स्वरवद्ध गीतहरु प्रस्तुत गरे । उनीहरुले मलाई नसोध कहाँ दुख्छ घाउ, गल्ती हजार हुन्छन्, केहि मिठो बात गर, तिमिलाई म के भनुँ, मैले पुण्य मन पराएँ, तिम्रो जस्तो मुटु मेरोपनि, मेरो कथा खाली खाली, हिमाल सरी म अग्ली रहेछु, तिम्रो मनमा लुकेको कुरा, ए कान्छा ठट्टैमा यो बैंश जान लाग्यो, एउटा मान्छेको मायाले कति, पर्खि बसे आउँला भनि गरी एक दर्जन गीत प्रस्तुत गरे । उनिहरुलाई तबलामा राजा मुखिया, किबोर्डमा महिपाल लामा, बेस गीटारमा तेज के.सी. अक्टाप्याडमा विजय क्षेत्री र रिदम गीटारमा सुमन तामाङले साथ दिए । कार्यक्रममा बोल्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव एवं संस्कृतिकर्मी तीर्थ श्रेष्ठले भौतिक रुपमा नरहनेपनि नारायणगोपाल सबैको मन मनमा बस्न सफल भएको बताए । रेडियो अन्नपूर्णका प्रबन्ध निर्देशक सुनयना पालिखेले नारायणगोपाल र आफ्नो परिवारबिच राम्रो सम्बन्ध रहेको स्मरण गरिन् । उनिले सहयोगी सबै संस्थाप्रति धन्यबाद दिँदै कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने बताइन् । पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले पोखराले के गर्छ भनेर सिंगो देशले नै नियाल्ने गरेको भन्दै नारायणगोपाललाई सम्झने उद्देश्यले कार्यक्रम गरिएको बताए । वि.सं. १९९६ साल असोज १८ गते काठमाडौंको किलागलमा जन्मिएका उनको २०४७ मंसिर १९ गते ५१ बर्षको उमेरमा निधन भएको थियो । डिस्क र टेपमा गरी उनका १ सय ३६ वटा गीतहरु रेकर्ड छन् ।