मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का वडाध्यक्ष डुकके विष्टको ७५ वर्षको उमेरमा निधन भएको छ ।   लामो समयदेखि पेटसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष विष्टको उपचारका क्रममा काठमाडौँमा निधन भएको गाउँपा...

काठमाडौं:   प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा छलफल भइरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच अहिले छलफल जारी रहेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।     नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच वर्तमान राजनीतिक विषय तथा गृह मन्त्रालयको जिम्मेवारीका विषयमा केन्द्रित भएर छलफल भइरहेको सचिवालयको भनाइ छ । अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न आज बुधबार बिहान १०ः३० बजे बालुवाटार पुग्नुभएको शर्माले बताउनुभयो । छलफलमा राष्ट्रपति तथा उपराष्ट्रपतिकोे निर्वाचन बारेमा पनि दुई अध्यक्षबीच परामर्श हुनसक्ने सचिवालयका सदस्यको बुझाइ छ । पूर्व गृहमन्त्री रवि लामिछानेले गृह मन्त्रालयको जिम्मेवारी आफ्नै दलले पाउनुपर्ने माग गर्दै सो विषयमा उहाँले मङ्गलबार प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीसँग अलग अलग छलफल गर्नुभएको थियो । सो मन्त्रालय आफ्नो दलले नपाए सत्ता साझेदार दलसँग अलग हुन सक्ने चेतावनी पनि उहाँले दिनुभएको छ । 

काठमाडौँ:   नेकपा (माओवादी केन्द्र)का निवर्तमान भक्तपुर जिल्ला संयोजक देवीप्रसाद (डीपी) ढकाल बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलको मुख्य राजनीतिक सल्लाहकार नियुक्त हुनुभएको छ । मंगलबार बिहान बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले राज्यमन्त्री सरहको सुविधासहित उहाँलाई मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकार नियुक्त गरिएको बागमती प्रदेशका सदस्य देवन्द्र श्रेष्ठले जानकारी दिनुभएको हो ।      माओवादी केन्द्रका नेता वर्षमान पुन अर्थमन्त्री हुँदा उहाँसँग स्वकीय सचिव रही मन्त्रालय हाकेको अनुभव समेत छ । अखिल (क्रान्तिकारी)को नेतृत्व गर्नुभएका ढकाल जेलजीवन बिताउन बाध्य हुनुभएको थियो । भक्तपुर जिल्लाको विकाशमा टेवा पुग्ने विश्वास लिइएको छ।  उहाँलाई नेकपा (माओवादी केन्द्र)को बागमती प्रदेश समितिले सिफारिस गरेको अर्का बागमती प्रदेश सदस्य सरल सहयात्रीले जानकारी दिनुभयो ।                                        

पोखरा:  लैगिंक हिंसा विरुद्ध पुरुषहरुको ऐक्यवद्धता महिला पुरुष सचेतना कार्यक्रम पोखरा महानगर वडा नम्वर ७ मा सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नम्वर ७ का अध्यक्ष राममोहन आचार्यले यस कार्यक्रमले महिला पुरुष विच सम विकासको सिद्धान्त लागु गराउने बताउनुभयो । साथै उहाँले कार्यक्रममा सक्रिय सहभागिता जनाउनका लागि सम्पूर्णलाई अनुरोध गर्नुभयो ।  कार्यक्रम संयोजक तथा वडा सदस्य सुनिता सुनारले यस कार्यक्रमले समाजमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो । कार्यक्रममा लिङ्ग र लैङ्गिकताको विाष्मा अधिवक्ता गिता कुमारी लामिछाने, महिलाको अवस्था र कानुनी व्यवस्थाको बारेमा अधिवक्ता लक्ष्मण शर्मा र लैंगिक हिंसाको परिचय, कारण र न्यूनीकरणमा महिला तथा पुरुषको भूमिकाको विषयमा रेडियो सफलताका प्रवन्ध निर्देशक दुर्गा अधिकारीले सहजीकरण गर्नुभएको थियो ।  कार्यक्रममा वडा नम्वर ७ भित्रका विभिन्न टोल विकास, आमा समुह, युवा क्लव र महिला क्लवबाट करिव ४० जनाको सहभागिता रहेको थियो ।   

 काठमाडौं:   अनावश्यक हर्न बजाएर ध्वनी प्रदूषण गर्ने ५२ चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । आज (मङ्गलबार) उपत्यकाका विभिन्न स्थानमा गरिएको विशेष चेकिङको क्रममा ट्राफिक प्रहरीले अनावश्यक हर्न बजाएर ध्वनी प्रदूषण गर्ने ५२ चालकलाई कारबाही गरेको हो । विसं. २०७४ वैशाख १ गतेदेखि नै काठमाडौं उपत्यकामा हर्न निषेध गरिएको थियो । तर, पछिल्लो समय हर्नको दूरुपयोग बढेका कारण कारबाहीलाई तीव्रता दिइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्ष राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो । ध्वनि प्रदूषणका कारण श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्न गइ हृदयघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा समेत कमी आउने, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई यसको असर बढी हुने भएकाले अत्यावश्यक अवस्था बाहेक हर्न नबजाउन प्रवक्ता भट्टले आग्रह गर्नुभएको छ ।

काठमाडौं:  नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले नेपालका विश्वविद्यालयहरु दलीयकरणको मारमा परेको बताएका छन् । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको मंगलबार बसेको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।  उनले नेपाली विश्व विद्यालयहरुमा स्वायत्तताको विषय ठुलो बनेको बताए । उनले विश्वविद्यालयहरु दलीयकरणको मारमा पर्दा शैक्षिक गुणस्तरमा सुधार हुन नसकेको बताए ।  उनले विश्वविद्यालयहरु दलीयकरण हुँदा विद्यार्थीहरुले उच्च गुणस्तरको शिक्षा ग्रहण गर्न नसकेको बताए । उनले उच्च गुणस्तरीय शिक्षा प्राप्त नहुँदा नेपाली विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरु दक्षिण एशियाली विद्यार्थीहरुसँग पनि प्रतिष्पर्धामा पछि परिरहेको बताए । उनले देशभित्र सरकार बाहेकका क्षेत्रबाट शिक्षा क्षेत्रमा आउने पुँजीलाई प्रोत्साहन गर्नुपर्ने बताए ।   समितिको बैठकमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) की राष्ट्रिय सभा सांसद गंगाकुमार बेल्वासेले शिक्षामा सार्क राष्ट्रहरुमध्ये नेपाललाई आकर्षणको केन्द्र बनाउनुपर्ने बताइन् । उनले विद्यार्थीहरुमा सानैदेखि विदेश पढ्न जाने मानसिकता विकास भइरहेको भन्दै त्यसलाई रोक्नेगरी अघि बढ्नुपर्ने बताइन् ।   

काठमाडौं:  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सर्वोच्च अदालतबाट फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयको नेतृत्वबारे निर्णय नगर्ने बताएका छन् । मंगलबार पार्टीको स्थायी कमिटी बैठकमा उनले गृह मन्त्रालयबारे तत्काल निर्णय नगर्ने जानकारी गराएका हुन् । उपाध्यक्ष कृष्णबहादुर महराले भने, ‘अदालतको फैसलाको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयबारे निर्णय हुँदैन, प्रधानमन्त्रीसँगै रहन्छ ।’ रवि लामिछानेले अमेरिकी नागरकता त्यागेपछि नेपाली नागरिकता लिन प्रक्रिया पूरा नगरेको भन्दै सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरिदिएको थियो । त्यसपछि उनी उपप्रधानमन्त्री तथा गृहमन्त्रीबाट पदमुक्त भएका थिए । गत आइतबार नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि रविले गृह मन्त्रालय आफैंले पाउनुपर्ने अडान राखिरहेका छन् । तर प्रधानमन्त्री प्रचण्डले गृह मन्त्रालय आफैंसँग राखिरहेका छन् ।

काठमाडौं:   नेपाल राष्ट्र बैंकले अन्तरबैंक एटीएम शुल्क घटाएको छ । एउटा बैंकको एटीएम कार्ड अर्को बैंकको एटीएममा प्रयोग गरी पैसा झिक्दा लाग्ने शुल्क घटेको हो । राष्ट्र बैंकले ‘भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०७९’ जारी गर्दै बैंक तथा वित्तीय संस्थाले जारी गरेका भुक्तानी कार्ड स्वदेशभित्रै अर्को बैंक तथा वित्तीय संस्थाको एटीएम प्रयोग गर्दा प्रतिकारोबार बढीमा रू १५ सम्म शुल्क लिन सकिने जनाएको छ । यसअघि एउटा बैंकले जारी गरेको एटीएम कार्ड अर्को बैंक तथा वित्तीय संस्थाको एटीएम प्रयोग गर्दा मासिक न्यूनतम दुईवटा कारोबारसम्म निःशुल्क हुने र दुईभन्दा बढी कारोबारको हकमा प्रतिकारोबार रू २० सम्म शुल्क लिन सकिने व्यवस्था थियो । तर अहिले मासिक दुई वटासम्म कारोबार निःशुल्क पाउने व्यवस्था भने हटाइएको छ । राष्ट्र बैंकले विद्युतीय वालेटको माध्यमबाट गरिने रकमान्तर तथा भुक्तानीको सीमामा पनि संशोधन गरेको छ । यसअघि बैंक खाताबाट वालेटमा प्रतिदिन रू ५० हजारसम्म रकमान्तर गर्न सकिने व्यवस्था रहेकोमा त्यसलाई बढाएर प्रतिदिन रू दुई लाखसम्म रकम पठाउन सकिने व्यवस्था ल्याइएको छ । त्यस्तै, वालेटबाट अन्य बैंकको खातामा पनि प्रतिदिन रू दुई लाखसम्म पठाउन सकिनेछ । यसअघि प्रतिदिन रू ५० हजार मात्रै पठाउन सकिने व्यवस्था थियो । एक वालेटबाट अर्को वालेटमा पैसा पठाउँदा यसअघि एकदिनमा रू २५ हजारसम्म मात्रै पठाउन सकिने व्यवस्था रहेकोमा त्यसलाई बढाएर प्रतिदिन रू ५० हजारसम्म पठाउने सकिने व्यवस्था ल्याइएको छ । यद्यपि प्रतिमहिना गर्न सकिने कारोबारको सीमा भने थयावत राखिएको छ । मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङको माध्यमबाट गरिने भुक्तानी कारोबारको सीमा पनि बढाइएको छ । मोबाइल बैंकिङ (क्युआर कोड समेत) बाट यसअघि प्रतिदिन रू दुई लाखसम्म कारोबार गर्न सकिने व्यवस्था रहेकोमा त्यसलाई बढाएर प्रतिदिन रू तीन लाखसम्म कारोबार गर्न सकिने बनाइएको छ । सरकारको राजस्व व्यवस्थापन सूचना प्रणाली ९आरएमआइएस०मा आवद्ध भएका भुक्तानी सेवा प्रदायकले सञ्चालन गरेको वालेटमार्फत् सञ्चालन गरिने राजस्व भुक्तानी सम्बन्धी कारोबारमा लाग्ने शुल्कसम्बन्धी व्यवस्था पनि संशोधन भएको छ । यसअघि रू तीन हजारसम्मको कारोबारमा रू पाँच शुल्क लाग्ने गरेकामा अब सोही शुल्कमा रू पाँचहजार सम्मको कारोबार गर्न सकिनेछ । त्यस्तै रू पाँच हजार एकदेखि रू १० हजारसम्मको कारोबारमा रू आठ शुल्क लाग्नेछ । यसअघि रू तीन हजार एकदेखि रू १० हजारसम्मको कारोबारमा रू आठ शुल्क लाग्ने गरेको थियो । रू १० हजार एकभन्दा माथिको सबै कारोबारमा रू २० शुल्क लाग्ने गरेकोमा त्यस्तो शुल्क घटाएर रू १० बनाइएको छ । बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई उपलब्ध गराउने विभिन्न कार्डका बारेमा जानकारी गराई क्रेडिट, डेविट र प्रिपेड कार्डलगायतका विद्युतीय भुक्तानी कार्ड आफै छनौट गर्न पाउनेछन् । यस्तो कार्ड जारी गर्दा ग्राहकहरुसँग आवेदन फारमसँगै कार्ड जारी गर्दा र कारोबारमा लाग्ने शुल्क, कारोबारको सीमा, कार्डको प्रयोग गर्दा लाग्ने ब्याजदर र कार्डबाट प्राप्त हुने अन्य सुविधालगायत विषय समेटिएको सूचनामूलक सामाग्री प्रदान गर्नुपर्नेछ । विद्युतीय कार्डबाट हुने कारोबारको सेटलमेन्टसम्बन्धी व्यवस्थामा पनि परिवर्तन गरिएको छ । बैंक तथा वित्तीय संस्थाहरुले जारी गरेका विभिन्न भुक्तानी कार्डबाट नेपालमा नेपाली रुपैयाँमा गरिने कारोबारको फछ्र्यौट नेपालभित्रै गर्ने व्यवस्था मिलाउनुपर्नेछ । साथै यस्तो प्रयोजनका लागि अन्तर्राष्ट्रिय स्वीचहरुको लागि कुनै जमानत÷बन्ड जारी गर्नुपर्ने भएमा नेपाली रुपैयाँमै गर्नुपर्ने व्यवस्था पनि राष्ट्र बैंकले ल्याएको छ । निर्देशिकामार्फत् भुक्तानी सेवा प्रदायक संस्थाले विप्रेषण कम्पनीसँग सम्झौता गरी विदेशबाट आप्रवाह हुने रकम नेपालमा सञ्चालित विद्युतीय वालेटमा जम्मा हुने गरी रेमिट्यान्स गर्न सकिने व्यवस्था ल्याइएको छ । यसरी रेमिट्यान्स प्राप्त गर्दा भने वालेटमा रकम जम्मा गर्न तोकिएको सीमाको हदबन्दी लाग्नेछैन ।

जनकपुरधाम:  धनुषाको क्षिरेश्वरनाथ नगरपालिकास्थित इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट फरार भएका ६ जना थुनुवामध्ये एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा मिथिला नगरपालिका ६ का २८ वर्षीय रोशन महतो रहेका छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्षबाट भित्ता फोडेर सोमबार बिहान ६ जना थुनुवा फरार भएका थिए । हिरासत कक्षबाटै थुनुवाहरू फरार भएपछि जिल्ला प्रहरी कार्यालय धनुषा र मधेस प्रहरी कार्यालयको संयुक्त टोलीले सर्च अपरेशन टोली खटाएर खोजतलास तीव्र पारेको छ । सो टोलीले फरार थुनुवामध्ये महतोलाई पक्राउ गर्न सफल भएको हो । महतोमाथि हातहतियार खरखजाना मुद्दा चलिरहेको छ । उनलाई हतियारसहित प्रहरीले गत शनिबार मात्रै पक्राउ गरेर  सार्वजनिक गरेको थियो । यता फरार रहेका बाँकी ५ जनाको खोज तलाश तीव्ररूपमा भइरहेको प्रहरीले जनाएको छ ।

राँझा:  श्रीमानले पेट्रोल छर्केर आगो लगाइदिँदा गम्भीर घाइते हुनुभएकी कोहलपुर नगरपालिका–२ की गङ्गा विकको स्वास्थ्य अवस्था स्थिर रहेको भेरी अस्पतालले जनाएको छ । उहाँको घाँटी, हात, कान, खुट्टालगायत शरीरको करिब २० प्रतिशत भाग जलेको छ भने उहाँको अहिले भेरी अस्पतालको सघन उपचार केन्द्रमा उपचार भइरहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा। बद्री चापागाईँले बताउनुभयो । “घाँटी वरिपरि पनि जलेको घाउको असरले श्वासप्रश्वासमा समस्या आउँछ कि भन्ने चिन्ता छ”, डा। चापागाईँले भन्नुभयो, “उहाँको अवस्था अहिले स्थिर छ, छोरो गुमाउँदा मानसिक रूपमा तनावमा हुनुहुन्छ ।” कोहलपुर नगरपालिका २ निवासी भानुभक्त विकले आइतबार साँझ श्रीमती गङ्गा र छोरालाई आगो लगाउँदा घाइते भएका थिए । उपचारका क्रममा छोराको मृत्यु भएको थियो । “बरु मलाई मात्रै आगो लगाइदिएको भए हुन्थ्यो, मैले छोरालाई बचाउन सकिन”, अस्पतालको शय्याबाट विकले भन्नुभयो । कोठा थुनेर आफूलाई धेरै कुटपिट गरेपछि माइत जान हिँडेकी आफू र छोरालाई श्रीमानलाई पछाडिबाट पेट्रोल छ्यापेर आगो लगाइदिएको उहाँको भनाइ छ । कालिकोटबाट बसाइँसराइ गरी कोहलपुर–२ शक्तिनगरमा बसोबास गर्दै आउनुभएका भानुभक्त गलैँचाको व्यापार गर्ने काम गर्छन् । उहाँका अनुसार श्रीमानले हरेक दिनजसो झगडा र कुटपिट गर्दै आएका थिए । श्रीमती र छोरालाई आगो लगाएर फरार भएका भानुभक्तलाई भारतको सीमावर्ती क्षेत्रबाट नियन्त्रणमा लिएर अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक ऐनबहादुर मल्लले बताउनुभयो ।