पोखराः पोखरामा ड्युटीमा खटिएका प्रहरीको हात भाँचिदिएको आरोप लागेका शौरभ थापा ४ हजार जरिवाना तिरेर छुटेका छन् । अभद्र मुद्धामा प्रकाउ परेका थापालाई ४ हजार जरिवानामा छोडिएको जिल्ला प्रशासन कार्यालय कास्कीका मुद्धा शाखा प्रमुख शिवप्रसाद गौतमले जानकारी दिए । सौरभले ५ दिनअघि गाडी चलाउँदा ड्युटीमा खटिएका प्रहरीको हातै भाँचिएको आरोप लागेको थियो । प्रहरीका अनुसार २५ वर्षीय सौरभले मादक पदार्थ सेवन गरी गाडी चलाएका थिए । गत बिहीबार नै उनलाई पक्राउ गरी ५ दिनको म्याद थपिएको थियो । अभद्र मुद्धा लागेका उनलाई प्रशासनले छाडिदिएको हो । प्रहरीका अनुसार पोखरा रामबजार भारतीय पेन्सन क्याम्पअघि राती ३ बजे थापाले चलाएको गाडीको ढोकाले लागेर प्रहरी हवल्दार चित्रबहादुर वलीको हातै नै भाँचिएको छ ।
काठमाडौं: सभामुख देवराज घिमिरेले संसदमा पत्रकारहरुलाई सहज रुपमा रिपोर्टिङ गर्ने वातावरण बनाउने बताउनुभएको छ । सोमबार संसदीय मामिला पत्रकार समाजसँग आवद्ध पत्रकारहरुसँग परिचयात्मक भेटघाट गर्नुहुँदै सभामुख घिमिरेले पत्रकारहरुलाई संसदमा सहज रुपमा रिपोर्टिङ गर्ने वातावरण बनाउने बताउनुभएको हो । उहाँले मिडियाले समाजलाई समयमै सूचना तथा समाचारहरु सम्प्रेषण गर्ने र समाजलाई परिवर्तन गर्न भूमिका खेल्ने भन्दै संसद भवनमा पत्रकारहरुलाई रोक्नुपर्ने कुनै कारण नभएको बताउनुभयो । पत्रकारहरुलाई परेको असहजतालाई हटाउनका लागि आफूले ध्यान दिने उहाँको भनाइ छ । सभामुख घिमिरेले पत्रकारले सम्प्रेषण गर्न लागेको कुरालाई संसद सचिवालय अथवा सभामुखले रोक्ने स्थिति आउन नदिने प्रतिवद्धता जनाउनुभयो । ‘‘मिडिया भनेकै के होला त भन्दा भइरहेका कुराहरुलाई, समाजलाई समयमै सम्प्रेषण गरेर सचेत गराउने होला । अब हुने कुराहरु भनेको देश निर्माणका लागि, समाजलाई परिवर्तन गर्नका लागि, अग्रगति दिनका लागि गरिएका प्रयत्नहरु र गरिएका निर्णयहरु हुन् । ति निर्णयहरुलाई, पत्रकारहरुलाई रोक्नुपर्ने, छेक्नुपर्ने, असजिलो पार्नुपर्ने, अप्ठ्यारो पार्नुपर्ने हुँदैन । पत्रकारहरुले पनि नभएका, नचाहिँदा, नहुने कुराहरु गर्न लागेको भए पो ति कुराहरु कसरी प्राप्त गर्ने ? के गर्दा प्राप्त गर्ने ? कोसँग बसेर प्राप्त गर्ने ?कोसँग जुधेर प्राप्त गर्ने ? कोसँग मिलेर प्राप्त गर्ने ? अनेक बाटाहरु खोज्नुपर्ने होला ।,’’ सभामुख घिमिरेले भन्नुभयो, ‘‘तर त्यो नभएपछि यि कुराहरु सहज ढंगले जाने कुराहरु हुन् । हाम्रो हलको अवस्था, त्यहाँ भित्रको सुरक्षाको कुरा, त्यहाँ भित्रका अन्य प्रवन्धका कुराहरुलाई मिलाउने सन्दर्भमा भएका अप्ठ्याराहरुलाई सहजता गर्न सकिने के छ त्यसलाई अपनाउने कुरा सामान्य कुरा हो ।’’ उहाँले थप्दै भन्नुभयो, ‘‘पत्रकार जनताका बीचमा सही कुरा सम्प्रेषण गर्न लाग्ने । सही कुरा रोक्नको लागि चाहीँ संसद, संसद सचिवालय, सभामुख आदि लाग्नुपर्ने यस्तो स्थिति आउनुपर्ने कारणहरु छैन, आउँदैन, आउनु हुँदैन । जहाँसम्म गोप्य राख्दाखेरी त्यो फाइदा हुन्छ भने त्यसलाई नै प्रशारण गर्दाखेरी फाइदाको विरुद्धमा बेफाइदा हुँदैन र? मानिलिनुस् कुनै एउटा कुरा मैले गोप्य राख्नुपर्छ यसलाई कुनै खास समयसम्म भन्ने ठाने तर यसलाई छिटो बाहिर लानैपर्छ भन्ने ठान्यो भने यो त बुझाबुझमा न समस्या भयो ।’’ उहाँले समाजलाई सचेत गराउन पत्रकारहरुको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले समाजलाई सचेत बनाउने भूमिकामा पत्रकारितालाई लानुपर्नेमा जोड दिनुभयो । पत्रकारिता क्षेत्रमा देखिएका कमी, कमजोरीहरुलाई अन्त्य गर्नुपर्ने पनि उहाँको भनाइ छ । उहाँले पत्रकारितालाई राज्यको तेस्रो आँखाको रुपमा विकास गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘पत्रकारहरुले खेलेको भूमिकाले नेपाली समाजलाई सचेत गर्छ । त्यो चेतनाको आधारमा संगठित गर्छ । संगठनको आधारमा उसले अगाडि बढ्ने बाटो तय गर्छ । यो मामिलामा पत्रकारहरुको धेरै ठूलो भूमिका हुन्छ भन्ने म ठान्दछु । तर, हाम्रो पत्रकारिता ति उद्देश्यमाथि कत्तिको गइरहेको छ ? हाम्रो पत्रकारिता त्यो दिशामा हामी कत्तिको लान सकिरहेका छौँ ? जसको कारणले भए पनि त्यो दिशामा हामी कत्तिको जान सकिरहेका छौँ ? यसलाई कसरी त्यो दिशामा लैजान सकिन्छ । यहाँ रहेका कमी कमजोरीहरुलाई कसरी अन्त्य गर्न सकिन्छ ? त्यो गर्नु हाम्रो दायित्व हो । राज्यको तेस्रो आँखा भनेर चर्चा गरिएको हाम्रो पत्रकारितालाई वास्तवमा तेस्रो अंगकै रुपबाट विकास गर्नलाई हामीले के गर्नुपर्ला ? संसदको तर्फबाट के गर्नुपर्ला ?पत्रकारहरुको तर्फबाट के गर्नुपर्ला ?हाम्रो साझा दायित्व हो ।’’ सभामुख घिमिरेले शहीद दिवसको अवसरमा शहीदहरुप्रति श्रद्धाञ्जली पनि व्यक्त गर्नुभयो । उहाँले शहीदहरुको सपना साकार पार्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभयो ।
तनहुँ: तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको प्याकेज दुईअन्तर्गतको काम ५५ प्रतिशत सम्पन्न भएको छ । हालसम्म उक्त प्याकेजमा रु छ अर्ब ३९ करोड ७० लाख ५६ हजार खर्च भएको तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए । प्याकेज २ निर्माणका लागि सिनो हाइड्रो कर्पोरेशनसँग २०७५ साल असोज १५ मा रु तीन अर्ब ८३ करोड १३ लाख ६० हजार मा खरिद सम्झौता भएपछि २०७५ माघ ६ देखि निर्माण सुरु गरेको थियो । आयोजनाका अनुसार ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाइ भएको भूमिगत विद्युत् गृह खन्ने काम असार १० मा सम्पन्न भएको छ । “मङ्सिर मसान्तसम्म यस कार्यअन्तर्गतका सम्पूर्ण विद्युत् गृह खन्ने काम सम्पन्न भई कङ्क्रिटको काम पनि सम्पन्न भइसकेका छन्”, श्रेष्ठले भने । आयोजनाको एक हजार चार सय ५६ दशमलव नौ मिटर लामो मुख्य सुरुङ २०७८ साल कात्तिकदेखि खन्न सुरु गरेकोमा मङ्सिर मसान्तसम्म छ सय ८० मिटर काम सकिएको छ । दुई सय १० दशमलव नौ मिटर टेलरेस सुरुङ २०७७ फागुन २९ देखि काम सुरु गरेको थियो । हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिल कार्यअन्तर्गत पेनस्टक जडानको काम पनि सकिएको छ । प्याकेज १ अन्तर्गत हेडवक्र्स निर्माणका लागि सोङ दा कर्पोरेसन, भियतनाथ कालिका कन्स्ट्रक्सन प्रालि, नेपाल जेभीसँग विसं २०७७ चैत ९ मा रु २१ अर्ब ६६ करोड ४० लाख ४१ हजार आठ सय ७८ मा खरिद सम्झौता भएको थियो । यसअन्तर्गत मुख्य बाँध निर्माणका लागि नदी फर्काउन डाइभर्सन सुरुङ १ र २ को काम जारी रहेको आयोजनाले जनाएको छ । “डाइभर्सन सुरुङ १ अन्तर्गत इनलेट र आउलेट दुवैतर्फबाट खन्ने काम भइरहेको छ भने मङ्सिर मसान्तसम्म तीन सय ४१ मिटर खनिसकिएको छ”, श्रेष्ठले भने । सुरुङ २ को इनलेट र आउटलेटको हालसम्म तीन सय ६० मिटर निर्माण सकिएको छ भने बाँधको माथिल्लो भागको स्लोप अन्तर्गत चार सय ८० मिटर निर्माण सकिएको जनाइएको छ । बाँधको दायाँ तर्फको माथिल्लो भागको स्लोप अन्तर्गत चार सय ७० मिटर काम सकिएको आयोजनाले जनाएको छ । प्याकेज एक २०८३ साल जेठ १७ सम्म सम्पन्न गर्ने लक्ष्य लिइएको छ । यसअन्तर्गत हालसम्म रु दुई अर्ब २३ करोड ६८ लाख ४३ हजार खर्च भइसकेको छ । आयोजनाका अनुसार भौतिक प्रगति १२ दशमलव ६८ र वित्तीय प्रगति ११ दशमलव ६७ प्रतिशत छ । प्याकेज २ अन्तर्गत प्रसारण लाइन निर्माणका लागि ४८ वटा टावरको जग निर्माण सकिएको आयोजनाले जनाएको छ । ३४ दशमलव सात किमी प्रसारण लाइनमा ९४ वटा टावर राखिनेछ । सन् २०२२ मेसम्म निर्माण सम्पन्न गर्नेगरी सम्झौता भएपनि कोभिड महामारी तथा वन क्षेत्रको रुख कटानमा मन्त्रालयबाट ढिलागरी स्वीकृत प्राप्त भएकाले सम्झौताको म्याद सन् २०२४ डिसेम्बर १९ सम्म थपिएको छ । प्याकेज २ अन्तर्गत हालसम्म भौतिक प्रगति ५५ दशमलव शून्य छ र वित्तीय प्रगति ५३ दशमलव शून्य चार प्रतिशत रहेको आयोजनाले जनाएको छ ।
काठमाडौं: प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले समाजलाई अग्रगति दिने उद्देश्यलाई पूरा गर्न सबै मिलेर अघि बढ्नुपर्ने बताएका छन् । सोमबार सिंहदरबारमा सञ्चारकर्मीसँगको छलफलका क्रममा सभामुख घिमिरेले संसदको भूमिका समाजलाई अग्रगति दिने उद्देश्यलाई पूरा गर्ने भएकाले यसमा सञ्चार जगतलगायत सबै मिलेर अघि बढ्नुपर्ने बताएका हुन् । सभामुख घिमिरेले विभिन्न ऐन निर्माण गर्ने विधेयकमा छलफल वा नयाँ केहि निर्णय गर्ने विषयमा पनि आफू समझदारीमा नै अघि बढ्ने बताए । देश निर्माणका लागि यसअघि गरिएका प्रयत्नहरूई पनि आत्मसाथ गर्दै अघि बढ्नुको विकल्प नभएको सभामुख घिमिरेको भनाइ छ । सभामुख घिमिरेले संसदलाई प्रभावकारी बनाउनका लागि सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । संसदको रिर्पोटिङका क्रममा देखिएका समस्याहरूलाई पनि समाधान गर्दै लैजाने बताए।
बागलुङ: बागलुङबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा चार हजार आठ सय ३६ विद्यार्थी सहभागी हुने छन् । कक्षा १० को पठन पाठनमा परीक्षाका लागि आवश्यक हाजिरी पुर्याएका नियमिततर्फ चार हजार ५४४, ग्रेडवृद्धिमा ६२ जना र प्राविधिक धारका २३० विद्यार्थी परीक्षाका लागि योग्य भएका हुन् । परीक्षामा सहभागी हुन विद्यालय सञ्चालन हुने दिनको न्यूनतम ७० प्रतिशत हाजिरी हुनुपर्छ । शिक्षा विकास तथा समन्वय इकाई बागलुङका प्रमुख कुश्मराज उपाध्यायका अनुसार धौलागिरि बहिरा आवासीय मावि र शान्ति मावि कुश्मिसेरामा कम्प्युटर इन्जिनियर, धौलागिरि वीरेन्द्र माविमा भेटेरिनरी, भिमसेन मावि विहुँमा सिभिल इन्जिनियरिङ, गल्कोट मावि र त्रिभुवन माविमा कृषि विषयको पठन पाठन भइरहेको छ । जिल्लाको ६ वटा माध्यमिक विद्यालयले मात्रा कक्षा ९ र १० मा प्राविधिक सञ्चालन गर्दा प्राविधिकतर्फ विद्यार्थी सङ्ख्या न्यून रहेको उपाध्यायको भनाइ छ । बागलुङमा सामुदायिक विद्यालयले मात्रा कक्षा ९ र १० मा प्राविधिक विषयमा पठन पाठन गर्दै आएका छन् । यस जनताधन माध्यमिक विद्यालयबाट तीन जना दृष्टिविहीन र धौलागिरि बहिरा विद्यालयबाट १८ जना बाहिरा विद्यार्थी परीक्षामा सहभागी हुने शिक्षा विकास तथा समन्वय एकाइका शाखा अधिकृत विदुर शर्मा चापागाईँले जानकारी दिनुभयो । परीक्षा सञ्चालनको लागि गत वर्ष ३१ वटा केन्द्र निर्माण गरिएको थियो । यो वर्ष पनि त्यही सङ्ख्यामा परीक्षा कायम रहने छ । राष्ट्रिय परीक्षा बोर्डले एसइई परीक्षा चैत्र १७ गतेदेखि २९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन गर्ने परीक्षा तालिका सार्वजनिक गरेको छ ।
काठमाडौं: नेप्सेको तीव्र गिरावटको यात्रा पुनः सुरु भएको छ । ३२ सयको उच्च विन्दुमा पुगेर १८ सयमा झरेर पुनः उकालो लाग्दै गरेको नेप्से सूचक केही दिनयता फेरि घट्न थालेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार सोमबार नेप्से सूचक ४१.०१ अंकको गिरावट आउँदै २१२७.५२ अंकमा ओर्लिएको छ । अघिल्लो दिन १४ अंकले घटेको नेप्से सूचक २१६८ अंकमा अडिएको थियो । यद्यपि, नेप्सेमा तीव्र गिरावट आएपनि अघिल्लो दिनको तुलनामा आज कारोबार भने केही बढेको छ । अघिल्लो दिन आइतबार ३ अर्ब १ करोड ७० लाख रुपैयाँ बराबरको सेयर कारोबार हुँदा आज सोमबार ३ अर्ब ३० करोड २२ लाख रुपैयाँ बराबरको ८८ लाख ३६ हजार ४८८ कित्ता सेयर कारोबार भएको छ । आज १३ वटै नेप्सेका उपसूचकहरु ऋणात्मक हुँदै बजार नै राताम्मे हुन पुगेको छ । सबैभन्दा बढी होटल तथा पर्यटन समूहको उपसूचक ३.६१ प्रतिशतले घटेको छ भने फाइनान्स समूहको ३.४२ प्रतिशतले अन्य समूहहरुको उपसूचक क्रमशः १ देखि २.८९ प्रतिशतसम्मले घटेका छन् । यद्यपि, आज दुईवटा कम्पनी लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी ली। र आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
काठमाडौं: नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिका लागि कांग्रेसको दाबी कायमै रहेको बताउनुभएको छ । भरतपुरमा प्रेस युनियन चितवन शाखाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा नेता केसीले राष्ट्रपतिमा कांग्रेसको दाबी कायमै रहेको र त्यसका लागि जुनसुकै दलसँग सहयोग लिन सकिने बताउनुभयो । राष्ट्रपति कांग्रेसले लिन कोसिस जारी राखेको छ तर राष्ट्रपति पाएकै भरमा सरकारमा भने नजाने उहाँको भनाइ थियो । नेता केसीले राष्ट्रपतिका लागि राष्ट्रिय सहमति जरुरी रहेको छ भन्नुभयो । उहाँले राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने कुरा केन्द्रीय समितिको बैठक बोलाएर निर्णय गर्नुपर्नेमा जोड दिनुभयो । “कांग्रेसले सरकारको नेतृत्वको संयोजन गर्नुपथ्र्यो । आफ्नै त्रुटिका कारण प्रतिपक्षमा पुग्यौँ । अब प्रतिपक्षको धर्म निर्वाह गर्नुनै कांग्रेसको दायित्व र जिम्मेवारी हो”, उहाँले भन्नुभयो । कांग्रेस अहिलेको सत्ता गठबन्धन भत्काउने पक्षमा नरहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “कांग्रेस सशक्त प्रतिपक्षीबाहेक अन्य कुनै भूमिकामा हुनु हुँदैन ।”
काठमाडौं: बैंकहरुको चर्को ब्याजदरविरुद्ध उद्योगी व्यवसायीहरुले काठमाडौंको माइतीघरमा सोमबार प्रदर्शन गरेका छन् । भिखमागेर देश चलाउने अर्थ नीति बन्द गर, ब्याजदर घटाऊ गरिखान देऊ, गरिखाने मर्दैछ सरकारको राजस्व घट्दैछ लगायतका प्लेकार्ड बोकेर उनीहरुले प्रदर्शन गरेका हुन् । बैंकहरुको चर्को ब्याजदर, कालोसूची, धितोलिलामी जस्ता कारणले व्यवसायीहरू दिनप्रति निरुत्साहित बन्न बाध्य बनाएको उनीहरुको भनाइ छ ।
म्याग्दी: बेनी नगरपालिका –१, रत्नेचौरकी ८६ वर्षीया जसिकला कार्कीलाई परिवारका सदस्यहरुले घर बाहिर पारिलो घाममा बिस्तारा लगाएर सुताउनुभएको थियो । त्यत्तिकैमा वडा अध्यक्ष टेकबहादुर थापासहित वडा सदस्यहरु र कृषि बिकास बैंकका प्रतिनिधिहरु घरमै आइपुग्नुभयो । त्यसपछि जसिकलाको नाममा जारी भएको चेकमा ल्याप्चे लगाएर चेक तयार भयो । तीन महिनाको मासिक चार हजार रुपियाँका दरले १२ हजारको चेक बनाएर घरको आङ्गनमा सुतीरहनुभएकी जसिकलालाई कर्मचारीले रकम हस्तान्तरण गर्नुभयो । वडा अध्यक्ष थापासहित बैंकका प्रतिनिधिले रकम हस्तान्तरण गर्नुभयो । जसिकलाको उमेर बढेसँगै विभिन्न रोगले च्याप्दै गरेपछि नियमित रुपमा तीन थरी औषधी प्रयोग गर्दैआउनुभएको छ । तीन वर्षदेखि विरामी हुनुभएकी जसिकलाको परिवारका लागि सामाजिक सुरक्षाभत्ता घरमै पु¥याइदिँदा सहज भएको उहाँको भनाइ छ । गाडीमा हालेर बैंकसम्म लैजानुपर्ने बाध्यता थियो, वडाध्यक्ष टेकबहादुर थापाले पहल गरेर बैंकको टोली गाउँमै आएर भत्ता दिँदा हामी मात्रै नभई अरु बुढाबुढीलाई पनि सजिलो भयो, स्थानीय धनकुमारीले बताउनुभयो । बेनी नगरपालिका –१, रत्नेचौरका वडा अध्यक्ष अघिल्लो कार्यकालमा वडा सदस्य र त्यसभन्दा अगाडि साविक रत्नेचौर गाविसको सचिव र बेनी नगरपालिका भएपछिको वडानम्बर १ हुँदैगर्दा वडासचिव समेत रहनुभएका थापाले रत्नेचौरमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राही असक्त तथा अपाङ्गता भएका समेत धेरै भएकाले गाउँमै भत्ता वितरणको व्यवस्था मिलाएको बताउनुभयो । गएको वैशाखमा निर्वाचित भएर आएपछि चालु आर्थिक वर्षको पहिलो छ महिनाको भत्ता गाउँमै बितरणको व्यवस्था मिलाएको उहाँले बताउनुभयो । बेनी नगरपालिकाको वडानम्बर १, ७ र ८ मा सामाजिक सुरक्षा भत्ता वितरणको जिम्मेवारी लिएको सरकारी बैंक कृषि विकास बैंकले रत्नेचौरमै पुगेर भत्ता बाँडेको हो । बैंकको म्याग्दी शाखा प्रवन्धक शंकरदेव मल्लका अनुसार बेनी नगरपालिका –१, रत्नेचौरमा पोषण भत्ता पाउने बालबालिका समेत गर्दा कुल चार सय एक जनाले सामाजिक सुरक्षाभत्ता प्राप्त गर्छन् । ३५६ जनाले सामाजिक सुरक्षा भत्ता र ४५ जनाले पोषण भत्ता पाउने वडा अध्यक्ष थापाले बताउनुभयो । त्यसमध्ये रत्नेचौरको फाँटक्षेत्र अर्थात् माथिल्लो भेगको रत्नेचौर र अर्जम क्षेत्रमा २ सय १ जना सामाजिक सुरक्षाभत्ता प्राप्त गर्ने नागरिक भए पनि गाउँमै पुगेर वितरण गर्ने क्रममा १ सय ८० जनालाई १८ लाख ९५ हजार रुपियाँ वितरण गरिएको कृषि विकास बैक बेनी शाखाले जनाएको छ । चालु आर्थिक वर्षमा नवीकरण भएका रत्नेचौरको उपल्लो क्षेत्रका २०१ मध्ये १ सय ८० जनालाई घरमै पुगेर वितरण गरिएको र बाँकी १३ जनाको बैंक खातामै दाखिला गरिएको बैंकले जनाएको छ ।

