संसद भवनमा पत्रकारलाई रोक्नुपर्ने कुनै कारण छैन: सभामुख घिमिरे
काठमाडाैं | माघ १६, २०७९

काठमाडौं: सभामुख देवराज घिमिरेले संसदमा पत्रकारहरुलाई सहज रुपमा रिपोर्टिङ गर्ने वातावरण बनाउने बताउनुभएको छ । सोमबार संसदीय मामिला पत्रकार समाजसँग आवद्ध पत्रकारहरुसँग परिचयात्मक भेटघाट गर्नुहुँदै सभामुख घिमिरेले पत्रकारहरुलाई संसदमा सहज रुपमा रिपोर्टिङ गर्ने वातावरण बनाउने बताउनुभएको हो ।
उहाँले मिडियाले समाजलाई समयमै सूचना तथा समाचारहरु सम्प्रेषण गर्ने र समाजलाई परिवर्तन गर्न भूमिका खेल्ने भन्दै संसद भवनमा पत्रकारहरुलाई रोक्नुपर्ने कुनै कारण नभएको बताउनुभयो । पत्रकारहरुलाई परेको असहजतालाई हटाउनका लागि आफूले ध्यान दिने उहाँको भनाइ छ । सभामुख घिमिरेले पत्रकारले सम्प्रेषण गर्न लागेको कुरालाई संसद सचिवालय अथवा सभामुखले रोक्ने स्थिति आउन नदिने प्रतिवद्धता जनाउनुभयो ।
‘‘मिडिया भनेकै के होला त भन्दा भइरहेका कुराहरुलाई, समाजलाई समयमै सम्प्रेषण गरेर सचेत गराउने होला । अब हुने कुराहरु भनेको देश निर्माणका लागि, समाजलाई परिवर्तन गर्नका लागि, अग्रगति दिनका लागि गरिएका प्रयत्नहरु र गरिएका निर्णयहरु हुन् । ति निर्णयहरुलाई, पत्रकारहरुलाई रोक्नुपर्ने, छेक्नुपर्ने, असजिलो पार्नुपर्ने, अप्ठ्यारो पार्नुपर्ने हुँदैन । पत्रकारहरुले पनि नभएका, नचाहिँदा, नहुने कुराहरु गर्न लागेको भए पो ति कुराहरु कसरी प्राप्त गर्ने ? के गर्दा प्राप्त गर्ने ? कोसँग बसेर प्राप्त गर्ने ?कोसँग जुधेर प्राप्त गर्ने ? कोसँग मिलेर प्राप्त गर्ने ? अनेक बाटाहरु खोज्नुपर्ने होला ।,’’ सभामुख घिमिरेले भन्नुभयो, ‘‘तर त्यो नभएपछि यि कुराहरु सहज ढंगले जाने कुराहरु हुन् । हाम्रो हलको अवस्था, त्यहाँ भित्रको सुरक्षाको कुरा, त्यहाँ भित्रका अन्य प्रवन्धका कुराहरुलाई मिलाउने सन्दर्भमा भएका अप्ठ्याराहरुलाई सहजता गर्न सकिने के छ त्यसलाई अपनाउने कुरा सामान्य कुरा हो ।’’
उहाँले थप्दै भन्नुभयो, ‘‘पत्रकार जनताका बीचमा सही कुरा सम्प्रेषण गर्न लाग्ने । सही कुरा रोक्नको लागि चाहीँ संसद, संसद सचिवालय, सभामुख आदि लाग्नुपर्ने यस्तो स्थिति आउनुपर्ने कारणहरु छैन, आउँदैन, आउनु हुँदैन । जहाँसम्म गोप्य राख्दाखेरी त्यो फाइदा हुन्छ भने त्यसलाई नै प्रशारण गर्दाखेरी फाइदाको विरुद्धमा बेफाइदा हुँदैन र? मानिलिनुस् कुनै एउटा कुरा मैले गोप्य राख्नुपर्छ यसलाई कुनै खास समयसम्म भन्ने ठाने तर यसलाई छिटो बाहिर लानैपर्छ भन्ने ठान्यो भने यो त बुझाबुझमा न समस्या भयो ।’’
उहाँले समाजलाई सचेत गराउन पत्रकारहरुको भूमिका महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले समाजलाई सचेत बनाउने भूमिकामा पत्रकारितालाई लानुपर्नेमा जोड दिनुभयो । पत्रकारिता क्षेत्रमा देखिएका कमी, कमजोरीहरुलाई अन्त्य गर्नुपर्ने पनि उहाँको भनाइ छ । उहाँले पत्रकारितालाई राज्यको तेस्रो आँखाको रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘पत्रकारहरुले खेलेको भूमिकाले नेपाली समाजलाई सचेत गर्छ । त्यो चेतनाको आधारमा संगठित गर्छ । संगठनको आधारमा उसले अगाडि बढ्ने बाटो तय गर्छ । यो मामिलामा पत्रकारहरुको धेरै ठूलो भूमिका हुन्छ भन्ने म ठान्दछु । तर, हाम्रो पत्रकारिता ति उद्देश्यमाथि कत्तिको गइरहेको छ ? हाम्रो पत्रकारिता त्यो दिशामा हामी कत्तिको लान सकिरहेका छौँ ? जसको कारणले भए पनि त्यो दिशामा हामी कत्तिको जान सकिरहेका छौँ ? यसलाई कसरी त्यो दिशामा लैजान सकिन्छ । यहाँ रहेका कमी कमजोरीहरुलाई कसरी अन्त्य गर्न सकिन्छ ? त्यो गर्नु हाम्रो दायित्व हो । राज्यको तेस्रो आँखा भनेर चर्चा गरिएको हाम्रो पत्रकारितालाई वास्तवमा तेस्रो अंगकै रुपबाट विकास गर्नलाई हामीले के गर्नुपर्ला ? संसदको तर्फबाट के गर्नुपर्ला ?पत्रकारहरुको तर्फबाट के गर्नुपर्ला ?हाम्रो साझा दायित्व हो ।’’
सभामुख घिमिरेले शहीद दिवसको अवसरमा शहीदहरुप्रति श्रद्धाञ्जली पनि व्यक्त गर्नुभयो । उहाँले शहीदहरुको सपना साकार पार्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्नुभयो ।
काठमाडौं: लगातार स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक शुक्रबार पनि सूचना टाँस गरेर जेठ २५ गते आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ । विपक्षी दलले गृहमन्त्रीको राजीनामा सहितका माग गर्दै सदन सञ्च...
धनुषा: नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ । आज पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्...
दैलेख: भरुवा बन्दुकको छर्रा लागेर दैलेखमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा यहाँको महाबु गाउँपालिका–४ काप्रिखोलाका अन्दाजी ३४/३५ वर्षीय पूर्ण बहादुर थापा सलामी मगर रहेका छन् । स्थानीय ब...