टीकापुर: सरकारी अनुदानसहित करिब चार करोड रुपियाँको लागतमा टीकापुरमा बनेको केरा पकाउने च्याम्बर प्रयोगविहीन अवस्थामा छ। वि.सं. २०७६ फागुनमा निर्माणसम्पन्न भएको च्याम्बर परीक्षण गरेर बन्द भएको थियो। गत वर्ष च्याम्बर सञ्चालन गरे पनि घाटा भएपछि सञ्चालकले बन्द राखेका छन्। च्याम्बरमा कर्णाली कृषि सेवा प्रालिका तीन जना सञ्चालकका २०/२० लाख रुपियाँको सेयर र नेपाल बैङ्क लिमिटेडको एक करोड रुपियाँ ऋण लगानी छ भने रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि एकाइको एक करोड ९० लाख रुपियाँ अनुदान पनि खर्च भइसकेको छ। च्याम्बरका नाममा ६० लाख रुपियाँको १० कट्ठा जग्गा पनि किनिएको छ। च्याम्बरमा तीस टन क्षमताका पाँचवटा कोठा छन्। केरा पकाउन पाँच दिन लाग्ने भएकाले हरेक दिन पाकेका केरा निकाल्न पाँचवटै च्याम्बर चलाउनुपर्छ। च्याम्बर ठूलो र बजार सानो भएकाले सञ्चालन गर्न कठिनाइ भएको सञ्चालक शिलाकान्त झा बताउनुहुन्छ। “तीस टन केरा स्थानीय बजारमा मात्रै खपत हुँदैन, पकाएर काठमाडौँसम्म लैजाँदा बिग्रिन थाल्यो,” सञ्चालक झा भन्नुहुन्छ, “चलाउँदा घाटा हुने देखेपछि बन्द राखेका छौँ।” मुख्य सञ्चालक भानु बजगाईंको मृत्युपछि अर्का सञ्चालक वीरेन्द्र ढुङ्गाना आफू अलग भइसकेको र लगानीको हिसाबकिताब लिन बाँकी रहेको बताउनुहुन्छ। नेपाल विद्युत् प्राधिकरण टीकापुर वितरण केन्द्रका प्रमुख माधव महतका अनुसार प्रालिले २५ लाख रुपियाँ महसुल बुझाउन बाँकी रहेकोले लाइन काटेर कालोसूचीमा राखिएको छ। केरा उत्पादक किसान टेकेन्द्र धामी गत वर्ष च्याम्बर चलेपछि किसानले ३५ लाख रुपियाँको केरा दिएको र मूल्य नपाएको बताउनुहुन्छ। टीकापुर नगरपालिकाका उपप्रमुख खड्कबहादुर शाहले आफ्नो ठाउँमा उद्योग सञ्चालन होस् भनेर सहयोग गरेको उल्लेख गर्दै च्याम्बर सञ्चालनबारे सञ्चालकसँग छलफल गर्न बाँकी रहेको बताउनुभयो। योजना थप्दै झा सुरुका दुई सञ्चालक निष्क्रिय भइसकेपछि एक्ला सञ्चालक शिलाकान्त झा भने च्याम्बर चलाउन नयाँ योजना थप्ने तयारीमा हुनुहुन्छ। “च्याम्बरमा पकाएको केरा स्थानीयस्तरमै प्रयोग गर्न केराको पाउडर बनाउने र केराको वाइन बनाउने योजना छ,” झा भन्नुहुन्छ, “केरा छिल्ने र पेल्ने मेसिन जडान गरेर वैशाखसम्म वाइन उत्पादन गर्ने र केराको धुलोमा त्यत्तिकै मात्रामा गेडागुडीको धुलो थपेर असारसम्म बच्चाका लागि पोषण उत्पादन गर्ने तयारीमा छौँ।” उहाँका अनुसार वाइन बनाउने प्लान्ट बनाउन एक करोड रुपियाँ लाग्नेछ। यसका लागि पाँच लाख रुपियाँ भारतीय कम्पनीलाई बैना दिइसकेको उहाँले बताउनुभयो। यस क्षेत्रमा करिब ७०० बिघामा केरा खेती भइरहेको छ।
काठमाडौं: रिक्त रहेको राष्ट्रियसभा उपाध्यक्षका लागि आज मनोनयन दर्ता हुँदैछ। संघीय संसद सचिवालयका अनुसार दिउँसो १ बजेदेखि ४ बजेसम्म संसद भवन नयाँ बानेश्वरमा उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ। संघीय संसदका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार ४ः १५ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र भोलि २३ गते निर्वाचन गर्ने कार्यक्रम रहेको छ। राष्ट्रियसभा उपाध्यक्ष रहेकी शशीकला दाहालको कार्यकाल सकिएको लामो समयसम्म उपाध्यक्ष पद खाली रहेको थियो। राष्ट्रिय सभाको उपाध्यक्षका लागि सत्ता पक्ष र प्रतिपक्ष कसैले पनि उम्मेदवार तय गरेका छैनन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उम्मेदवार दिने जनाए पनि नाम सार्वजनिक गरेको छैन यता सत्तारुढ गठबन्धनले पनि उम्मेदवार टुंगो लगाएका छैनन्। यसैबीच राष्ट्रिय सभाको उपाध्यक्षमा साझा उम्मेदवार चयन गर्नका लागि बिपक्षी दलहरुको बैठक बस्दैछ। हिजो शनिबार सिंहदरवारस्थित नेपाली कांग्रेस संसदीय दलको बैठकमा साझा उम्मेदवार चयन गर्ने बारेमा प्रारम्भिक छलफल भएको थियो। उक्त छलफललाई निष्कर्षमा पुर्याउन आज कांग्रेसले पुनः बैठक बोलाएको छ।
काठमाडौं : परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले श्रीलंकाका राष्ट्रपति रणिल विक्रमासिंघेसँग शिष्टाचार भेट गरेकी छन्। श्रीलंकाको ७५औं स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन श्रीलंका भ्रमणमा रहेकी मन्त्री पौड्यालले राष्ट्रपतिसँग भेट गरी दुई देशबीचको आपसी हित र चासोका विषयमा छलफल गरेकी छन्। श्रीलंकका राष्ट्रपतिसँग परराष्ट्र मन्त्री पौड्यालले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसँग हवाइ सम्पर्क विस्तार, दुई देशबीच सांस्कृतिक आदानप्रदान, नेपालमा बौद्ध दर्शनको अध्ययनलगायतका विषयमा सहकार्य अघि बढाउन आग्रह गरेकी छन्। उनले श्रीलंकाको स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन कोलम्बोमा रहेएका भारतका विदेश राज्यमन्त्री, बंगलादेश, माल्दिभ्स र श्रीलंकाका विदेशमन्त्रीहरूसँग अलग-अलग भेटवार्ता गरेकी छन्। उनीहरूसँगको भेटमा उनले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का गतिविधिलाई सक्रिय बनाउने र सार्क मुलुकहरुबीच आपसी छलफल, सहकार्य सम्पर्क सञ्जाल विस्तार गर्नुपर्नेमा जोड दिइन्। परराष्ट्र मन्त्री पौड्याल श्रीलंकाको भ्रमण पूरा गरी भोलि स्वदेश फर्किँदैछिन्।
काठमाडौं: स्वास्थ्य पत्रकारको संस्था स्वास्थ्य पत्रकार मञ्च, नेपालको अध्यक्षमा सरोज ढुंगेल निर्वाचित हुनुभएको छ। ढुंगेल गोरखापत्रकर्मी हुनुहुन्छ।शनिबार काठमाडौंमा भएको मञ्चको आठौं वार्षिक साधारणसभा र पाँचौं राष्ट्रिय सम्मेलनबाट सर्वसम्मत नयाँ कार्यसमित निर्वाचित भएको हो। मञ्चको वरिष्ठ उपाध्यक्षमा भिषा काफ्ले, उपाध्यक्षमा अर्जुन अधिकारी र महेश तिमल्सेना निर्वाचित हुनुभएको छ। त्यसैगरी महासचिवमा सञ्जिता खनाल, सचिवमा कमला गुरुङ र कोषाध्यक्षमा तुलसा घिमिरे चयन हुनुभएको छ। मञ्चको नयाँ कार्यसमित सदस्यमा समृद्धा केसी, सपना पौडेल, उपेन्द्र खड्का, केदार गौतम, सिर्जना खत्री, प्रकाश बस्याल, मनिषा थापा, सिर्जना कार्की चयन हुनुभएको छ।त्यसैगरी प्रदेश संयोजकमा प्रदेश १ मा जुना भट्टराई, मधेश प्रदेशमा सुष्मा कर्ण, बागमती प्रदेशमा ज्योति अधिकारी, गण्डकी प्रदेशमा विना न्यौपाने, लुम्बिनी प्रदेशमा वासुदेव न्यौपाने, कर्णाली प्रदेशमा कृष्ण आचार्य चयन हुनुभएको छ। सुदूरपश्चिम प्रदेश संयोजक कार्यसमितिले तोक्ने निर्णय भएको छ।
देउखुी: लुम्बिनी प्रदेश सभा स्थापना भएको छ वर्ष पुगेको छ। स्थापनाको छ वर्षमा लुम्बिनी प्रदेश सभाले महत्वपूर्ण उपलब्धिको रुपमा प्रदेशको नाम र राजधानी टुंगो लगाएको छ। स्थापनाको पहिलो कार्यकाल प्रदेशको अस्थायी मुकाम बुटवलबाट कामको सुरुवात गरेको प्रदेश सभाले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) मा तोकेर स्थायी राजधानी देउखुरीमा आफ्नै प्रदेश सभा भवन निर्माण गरिसकेको छ। अहिले प्रदेश सभाको आफ्नै भवनमा बैठक चलिरहेको छ। २०७४ सालमा निर्वाचन सम्पन्न भएपछि प्रदेश सभाको पहिलो बैठक माघ २१ गते आजैको दिन बसेको थियो। जुन दिनलाई प्रदेश स्थापनाको दिन मानेर हरेक वर्ष स्थापना दिवस मनाउने गरिएको छ। प्रदेश सभा सचिवालयले शनिबार औपचारिक कार्यक्रम गरेर प्रदेश सभा स्थापना दिवश मनाएको हो। प्रदेश सभा सस्थापना दिवसको अवसरमा प्रमुख अतिथि लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले अहिले प्रदेशको दोस्रो कार्यकालसम्म आउँदा संघीयताको विरुद्धमा केही आवाज उठिरहेको बताउँदै संङ्घीता खारेजी अहिले असम्भव रहेको बताउनुभयो। लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले संघीयता दलको कार्यकर्ता पाल्ने थलो नभएको बताउनुभयो। संघीयता प्राप्त गर्नको लागि लामो संघर्ष गर्नुपरेको स्मरण गर्दै उहाँले आवश्यक कानुन निर्माणको काममा प्रदेश सभा सफल हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “अहिले संघीता राजनीतिक दलका कार्यकर्ता पाल्ने अथवा उनीहरुलाई संरक्षण गर्ने कुरा गरिएको छ, यो संङ्घीयता विरोधी तत्त्वको विचारले काम गरिरहेको हामीलाई लागि रहेको छ।” सभामुख तुलाराम घर्तीमगरले प्रदेश सभाले हालसम्म आवश्यक ७२ कानुन निर्माण गरेको जानकारी दिँदै अब प्रदेश सभाबाट प्रदेश र प्रदेशका नागरिकको हितमा हुने कानुन निर्माणमा जोड दिने बताउनुभयो। लुम्बिनी प्रदेश सभाले अघिल्लो कार्यकालमा ७२ वटा विधेयक पारित गरेको छ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै पक्षसँग आफूले संवाद गर्ने बताउनुभएको छ । प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उठाएको मागका सन्दर्भमा आफूले सबै पक्षसँग संवाद गर्ने र समस्याको समाधान हुने बताउनुभएको हो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज (शनिबार) सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले समस्याको समाधान हुने बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “अहिले मेरो कुरा हुँदैछ समस्या समाधान हुन्छ ।” गृह मन्त्रालय आफैँले पाउनुपर्ने भन्दै रास्वपाले दाबी गर्दै आएको छ । नागरिकता प्रकरणमा सर्वोच्च अदालतले निर्णय गरेपछि सो पार्टीका सभापतिसमेत रहनुभएका रवि लामिछानेको सांसद पदसँगै उपप्रधानमन्त्री एवम् गृहमन्त्रीको जिम्मेवारीसमेत खोसिएको थियो । पुनः नागरिकता प्राप्त गरेलगत्तै लामिछानेले आफूलाई पुनः सोही पदमा पुनःस्थापित गरिदिन माग गर्दै आउनुभएको छ । सोही प्रसङ्गमा प्रधानमन्त्रीले सबै पक्षसँग कुरा हुने बताउनुभएको हाे ।
काठमाडौं : चालु आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्ममा कूल एक सय ४५ उद्योग दर्ता भएका छन्। उद्योग विभागले सार्वजनिक गरेको अर्धवार्षिक अवधिको उद्योग दर्ता र विदेशी लगानी स्वीकृतिको तुलनात्मक विश्लेषण तथ्यांकअनुसार चालु आवको पुस मसान्तसम्ममा ३९ ठूला, ४१ मझौला र ६५ साना उद्योग दर्ता भएका हुन्। यी उद्योगमा स्वदेशी र विदेशी दुवै खालको लगानी रहेको छ। गत आवको अर्धवार्षिक अवधिको तुलनामा यस वर्षको उद्योग दर्ताको सङ्ख्या कम हो। गत आवको पुस मसान्तसम्ममा ४६ ठूला, ५७ मझौता र ५२ साना गरी कूल एक सय ५५ उद्योग दर्ता भएको विभागको तथ्यांकमा देखिन्छ। चालु आवको पुस मसान्तसम्ममा दर्ता भएका एक सय ४५ उद्योगमा एक खर्ब ३९ अर्ब बराबर लगानी प्रतिबद्धता आएको पनि विभागले जनाएको छ। यसवर्षको अर्धवार्षिक अवधिमा आएको लगानी प्रतिबद्धता पनि गत वर्षको भन्दा कम हो। गत आवको पुस मसान्तसम्ममा एक खर्ब ९० अर्ब बराबर लगानी प्रतिवद्धता आएको देखिन्छ। विभागका अनुसार हालसम्म नेपालमा कूल २७ खर्ब ६६ अर्ब लगानी प्रतिवद्धतासहित आठ हजार नौ सय नौ उद्योग दर्ता भएका छन्। यस्ता उद्योगमा ठूला उद्योग एक हजार तीन सय ४४, मझौता उद्योग दुई हजार ५८ र साना उद्योग पाँच हजार पाँच सय सात रहेका छन्। यसरी हालसम्म दर्ता भएका करिब नौ हजार उद्योगबाट प्रस्तावित रोजगारी छ लाख ६७ हजार तीन सय २३ जना रहेको पनि विभागले जनाएको छ। गत पुस मसान्तसम्ममा दर्ता भएका कूल एक सय ४५ उद्योगमध्ये एक सय ३३ उद्योगमा १७ अर्ब ३० करोड बराबर विदेशी लगानीको प्रतिबद्धता आएको छ। हालसम्म नेपालमा कूल पाँच हजार छ सय ६४ विदेशी लगानी स्वीकृति भएको पनि विभागले जनाएको छ। यसरी विदेशी लगानी स्वीकृत भएका उद्योगमा ठूला उद्योग तीन सय २४, मझौला उद्योग छ सय २२ र साना उद्योग चार हजार आठ सय १८ रहेका छन्। हालसम्म स्वीकृत कूल विदेशी लगानी प्रतिबद्धता भने चार खर्ब ३६ अर्ब बराबर रहेको विभागको तथ्यांकबाट देखिन्छ। यसरी विदेशी लगानी स्वीकृत गर्दा प्रस्तावित रोजगारीको सङ्ख्या दुई लाख ९९ हजार नौ सय ६१ जना छ। नेपालमा हालसम्म साढे पाँच हजारभन्दा बढी उद्योगमा विदेशी लगानी स्वीकृत भएकामा पर्यटन र सेवामूलक क्षेत्रका उद्योगमा तुलनात्मक रूपमा बढी लगानी भएको देखिएको छ। गत पुस मसान्तसम्म वैदेशिक लगानी भित्र्याउने द्योगमध्ये सेवा र पर्यटन क्षेत्रका उद्योगको सङ्ख्या मात्रै आधाभन्दा बढी छ। चालु आवको छ महिना अवधिमा एउटा प्याटेन्ट दर्ता, आठ वटा डिजाइन दर्ता र एक हजार पाँच सय ५१ ट्रेडमार्क दर्ता भएको पनि विभागले जनाएको छ। विभागमा हालसम्म भएको कूल पेटेन्ट दर्ताको सङ्ख्या भने ८१ छ। त्यस्तै तीन सय डिजाइन र ५७ हजार पाँच सय ६६ ट्रेडमार्क दर्ता भइसकेको विभागले जनाएको छ।
गुल्मी: जिल्ला प्रहरी कार्यालय गुल्मीले एक दम्पतीलाई कर्तव्य ज्यान मुद्दामा पक्राउ गरी सार्वजनिक गरेको छ । भारतको शेख अताहुसैइं–१८ लेन सुगौली पूर्वी चम्पारण बिहारका ४४ वर्षीय शेख आलिनामको हत्या आरोपमा पक्राउ परेका सत्यवती गाउँपालिका–१ रुद्रबेणीका छविलाल अधिकारी र उहाँकी श्रीमती विष्णु अधिकारीलाई आज (शनिबार) पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको हो । माघ १९ गते रुरुक्षेत्र गाँउपालिका–२ गुदेनबगरस्थित स्याङ्जा र गुल्मी जिल्लाको सिमाना भई बग्ने कालीगण्डकी नदीको किनारमा भारतीय नागरिक शेखको शव फेला परेको थियो । उक्त घटना अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक रविन्द्रकुमार श्रेष्ठको कमाण्डको टोली घटनास्थलमा खटिएको थियो । अनुसन्धानका क्रममा अधिकारी दम्पतीले नै भारतीय नागरिकको हत्या गरेको प्रहरीसमक्ष स्वीकारेका छन् । भारतीय नागरिक शेख कामको सिलसिलामा आउँदा सोही स्थानमा अधिकारी दम्पतीले सञ्चालन गरेको भुवन होटलमा बस्दै आएका थिए । मादक पदार्थ सेवन गरी आफ्नी श्रीमतीलाई जिस्काउने गरेको कारण छविलालले शेखको टाउकोमा हथौडा प्रहार गरी हत्या गरेको बयान दिएको प्रहरी उपरीक्षक रानाभाटले जानकारी दिनुभयो । भोलि (आइतबार) अधिकारी दम्पतीलाई जिल्ला अदालत गुल्मीबाट म्याद थप गरी अनुसन्धान गरिने प्रहरी उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिनुभयो । मृतक शेखको पहिचान उहाँका भिनाजुले कपडाको आधारमा गर्नुभएको छ ।
कलैया: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रेस स्वतन्त्रता नभए सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत नहुने बताउनुभएको छ । बाराको कलैयामा शनिबार आयोजित नेपाल प्रेस युनियन मधेस प्रदेशको प्रथम अधिवेशनको उद्घाटन गर्दै महामन्त्री थापाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत हुन नदिने खेल भइरहेको बताउनुभयो । संविधान मान्ने र नमान्ने दुई पक्ष मुलुकमा देखिएका उल्लेख गर्दै उहाँले संविधान पक्षधर सम्पूर्ण लोकतन्त्रवादी एकजुट हुनुको विकल्प नरहेको बताउनुभयो । “प्रेसलाई सङ्कुचन पारेर सङ्घीयतालाई समाप्त पार्ने खेल भइरहेको छ”, महामन्त्री थापाले भन्नुभयो, “सबैले सजग र सचेत भई सङ्घीयताको रक्षा गर्ने बेला आएको छ ।” कांग्रेसलाई कमजोर पार्नका निमित्त र मुलुकमा अधिनायकवाद लाद्न तथा अस्थिरता सिर्जना गर्ने प्रयास भइरहेको उहाँको भनाइ थियो । देशलाई विकास र समृद्धितर्फ उन्मुख गराउन तथा विधिको शासन सही दिशामा डोर्याउनका लागि पनि एमाले बाहेकका पार्टीको तर्फबाट राष्ट्रपति बनाउनुपर्ने महामन्त्री थापाको धारणा थियो । नेपाल प्रेस युनियनका उपाध्यक्ष अनिल कर्णको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल, नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयवाबु शिवाकोटी, पूर्व केन्द्रीय सदस्य गुरुराज बराल, नेपाली कांग्रेस मधेश प्रदेशका उपसभापति चन्द्रशेखर यादव, संविधानसभा सदस्य डा. शोभाकर पराजुली, युनियनका महासचिव दिलीप पौडेललगायतले प्रेसलाई अङ्कुश लगाउने कार्य सह्य नहुने बताउनुभयो ।

