मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का वडाध्यक्ष डुकके विष्टको ७५ वर्षको उमेरमा निधन भएको छ ।   लामो समयदेखि पेटसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष विष्टको उपचारका क्रममा काठमाडौँमा निधन भएको गाउँपा...

काठमाठौं : राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदभार ग्रहण गरेकी छन्।   पदभार लिनुअघि उपाध्यक्ष अर्यालले राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट पद तथा गोपनीयताको शपथ लिएकी थिइन्।   पदभार गरेलगत्तै उपाध्यक्ष अर्यालले संघीय संसदमा महिला सांसदहरूका लागि संसदीय भूमिका प्रभावकारी बनाउने सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णयमा हस्ताक्षर गरेको संघीय सचिवालयले जनाएको छ।   माओवादी केन्द्रबाट राष्ट्रियसभा सदस्य रहेकी अर्याल सोमबार उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी हुन्।

नवलपरासी:  पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ सडकखण्डको कामले तीव्रता पाएसँगै भेडाबारी सडकखण्डको एक किलोमिटर सडक परीक्षणका रूपमा कालोपत्रे गरिएको छ ।   कालोपत्रे गरिएको सो सडकको नमुना परीक्षणसमेत सफल भएको छ । अब सडक कालोपत्रेको काम अघि बढाइने बुटवल–नारायणगढ सडकखण्डको ठेकेदार कम्पनी चाइना कन्स्ट्रक्सनका इन्जिनियर रोकश झाले बताउनुभयो ।    राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको यो सडकको काम अहिले पनि तीव्र गतिमा भइरहेको दाबी गरिएको छ भने विभिन्न ठाउँको माटो भर्ने र सम्याउनेलगायतका काम सकिएको छ । ती ठाउँमा पनि तरुन्तै कालोपत्रे गरिनेछ ।    आगामी असार मसान्तसम्म ५० प्रतिशत काम सक्ने लक्ष्यका साथ काम अघि बढेको परियोजनाका इन्जिनियर झाले बताउनुभयो । चिनियाँ ठेकेदार कम्पनीले निकै चासोका साथ बुटवल–नारायणगढ सडकखण्ड निर्माण गरिरहेको बताइएको छ ।    चीनबाट समेत ठेकेदारले एक अर्ब ५४ करोड रकम ल्याएर यो सडक निर्माण कार्यलाई थप तीव्रता दिएको इन्जिनियर झाको भनाइ छ । ४८ महिनाअघि सम्झौता भई निर्माण कार्य अघि बढेको सो आयोजनाको ३० प्रतिशतभन्दा बढी काम सकिएको छ । सडकमा पर्ने रुख कटान, बिजुलीको पोल गाड्ने, राजमार्गमा रहेका ठूला पुल र साना कल्भर्ट निर्माणको कामसमेत अन्तिम चरणमा पुगेको छ ।    कालोपत्रेको काम मात्रै बाँकी रहने र त्यो काम पनि सकिएको विभिन्न ठाउँमा कालोपत्रे गर्ने काम सुरु भइसकेको आयोजनाले जनाएको छ ।    निर्धारित मितिअनुसार ४२ महिनामा सम्पन्न हुन नसकेर पुनः एक वर्ष म्याद थपिए पछि बुटवल–नारायणगढ सडकखण्डको निर्माण कार्यले तीव्रता पाउन थालेको हो । सर्वसाधारणमा अब भने सो सडक निर्माण पूरा हुने आशा पलाएको छ । अहिले ३० प्रतिशत बढी काम सकिएको र छ महिनाअघि सरकारले ३८६ दिनका लागि पुनः म्याद थपेपछि सडक निर्माणले तीव्रता पाएको बुटवल–नारायणगढ सडकखण्डको सरकारी पक्षका प्रमुख इन्जिनियर रमेश दृष्टि बताउनुहुन्छ ।    सो सडकखण्डमा दिनरात निर्माण कार्य भइरहेको छ, ठेकेदार पक्षले धमाधम कामलाई तीव्रता दिइरहेको छ भने अहिले आयोजना सम्पन्न हुनेमा स्थानीयवासीमा समेत आशा पलाएको देवचुलीका राजन अधिकारीले बताउनुभयो ।  सो आयोजनाको गैँडाकोट दाउन्ने पहिलो खण्ड र दाउन्ने बुटवल दोस्रो खण्डका रूपमा स्वीकृत भई झन्डै १६ अर्ब ९९ करोडमा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनले ४२ महिनाअघि ठेक्का पाएको थियो । ठेक्का सुरु भएको एक हजार २७८ दिन अर्थात् ७ जुलाई २०२२ मा ११३ किलोमिटर बुटवल–नारायणगढ सडक निर्माण सक्ने सम्झौतामा उल्लेख भए पनि सुरुको ४२ महिनामा १८ प्रतिशत काम भएको थियो ।    एसियाली विकास बैङ्कको आर्थिक सहयोगमा सुरु भएको यो आयोजना राष्ट्रिय गौरबका आयोजनका रूपमा रहे पनि कामले गति लिन नसक्दा सम्झौता अवधिभन्दा झन्डै दुई वर्ष आयोजना धकेलिने र सन् २०२४ सम्म आयोजना सम्पन्न हुने जनाइएको छ  ।   सो आयोजनाले सडकमा रहेका दुईतर्फी गरेर चार हजार ८३९ विद्युत्को पोल सार्ने काम भइरहेको, एक हजार २५ वटा टेलिफोनको पोल, २०२ सोलार पोलसमेत सार्ने कार्य भइरहेको आयोजनाका सरकारीस्तरका सडक विभागका प्रमुख इन्जिनियर रमेश दृष्टिले बताउनुभयो ।    यो आयोजनामा ४३ वटा ठूला पुल, ३९ वटा साना पुल ४६२ वटा कल्भर्ट पुल निर्माण अन्तिम चरणमा पुुगेको छ भने बजार क्षेत्रमा छ लेन, जङ्गल क्षेत्रमा चार लेन र दाउन्ने क्षेत्रमा तीन लेनको सडक निर्माण भइरहेको चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सनका इन्जिनियर रोकश झाले बताउनुभयो ।    अहिले यो सडकखण्डमा ६५ जना चिनियाँ र २६५ जना नेपाली प्राविधिकले काम गरिरहेको आयोजनाले जनाएको छ । आयोजनाको सरकारी पक्षको काम हेर्ने सडक डिभिजनल कार्यालय बुटवलले आयोजनाको काम र त्यसको निरूपण गर्ने निकाय ठेकेदार र मन्त्रालय भएकाले सडक डिभिजनले निरीक्षण गरी समयमा सडक निर्माणको काम अगाडि बढेको जनाएको छ ।    

 काठमाडौं:  राष्ट्रिय सभाका नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।   उपाध्यक्ष अर्यालले शीलत निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट शपथ लिएकी हुन् ।   माओवादीबाट राष्ट्रिय सभा सदस्य रहेकी अर्याल सोमबार निर्विरोध रुपमा उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।

भक्तपुर :भक्तपुरको सुर्यबिनायक नगरपालिका -९ पलासेमा दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।    बनेपाबाट भक्तपुरतर्फ आउँदै गरेको लु ८८ प ६२०८ नम्बरको मोटरसाइकललाई बिपरित दिशाबाट जाँदै गरेको प्रदेश २–००१च ०४११ नम्बरको गाडीले  ठक्कर दिँदा मोटरसाइकल चालक काभ्रे बनेपाका  १९ वर्षीय आयुष न्यौपानेको मृत्यु भएको हो ।   दुर्घटनामा घाइते भएका न्यौपानेलाई उपचारका लागि मध्यपुर अस्पताल ठिमी लगेको थियो। त्यहाँ उपचारका क्रममा उनको मृत्यु भएको भक्तपुर प्रहरी परिसरका एसपी प्रजित केसीले जानकारी दिए।   बस र बस चालक वृत्त जगातीको नियन्त्रणमा रहेको प्रहरीले जनाइएको छ । 

सन्धिखर्क : ‘म अरूबाट त सजिलै बच्न सक्छु तर मलाई आफन्तबाट बचाउनुस्’, यो भनाइ अर्घाखाँची जिल्लामा चरित्रार्थ भएको छ। जिल्लामा आफ्नैले नै सबैभन्दा नजिकका आफन्तलाई नै शंकास्पद तरिकाले आफन्तको हत्या गरेका छन्। सबैभन्दा नजिकको नाता पतिले पत्नीको, पत्नीले पतिको, दाजुले भाइको, साथीले साथीको हत्या गरेको भेटिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले जानकारी दिए।    घटना–१ : पत्नीद्वारा पतिको हत्या गएको मंसिर २४ गते राति अर्घाखाँचीको छत्रदेव गाउँपालिका–१ चिदिका तुमचौर बस्ने लक्ष्मी नेपालीले आफ्नै पति बलबहादुर सार्कीको झुन्डाएर हत्या गरिन्। बलबहादुरको झुन्डिएर मरेको भन्ने सूचनाका आधारमा प्रहरी घटनास्थल पुगि शंका लागेर अनुसन्धान गर्दै जाँदा पत्नी लक्ष्मीले पटुकाले घाँटीमा पासो लगाइ कर्तव्य गरी मारेको प्रहरी समक्ष स्वीकार गरिन्। पतिको हत्या गर्ने लक्ष्मीलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।   घटना–२ : दाजुद्वारा भाइको हत्या गएको कात्तिक २ गते भूमिकास्थान नगरपालिका–१ साम्ने गाउँ बस्ने ६९ वर्षीय वीरबहादुर गमालको  आफ्नै दाजु ७६ वर्षीय  हिमबहादुर गमालले सोही वडाकै घोप्टेसाल भन्ने स्थानमा रहेको भीरबाट धकेलेर भाइको हत्या गरे। गिठा खोला साम्ने गाउँ सडक  खण्ड (मोटरबाटो) देखि अन्दाजी ८० मिटर तल खस्न गई मृत्यु भएको भन्ने सूचना प्राप्त भई निजको मृत्यु सम्बन्धमा अनुसन्धान गर्दै जाँदा निजको आफ्नै दाजु हिमबहादुरले धकेलेर हत्या गरेको प्रहरी समक्ष स्वीकार गरे। भाइको हत्यामा संलग्न रहेको अभियोगमा हिमबहादुरलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।    घटना –३ : पतिद्वारा पत्नीको हत्या गएको असोज ७ गते बेलुका अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिका–३ बस्ने ५४ वर्षीय पिताम्बर भुसालले आफ्नै घरको सुत्ने कोठामा पत्नी ५० वर्षीया मनकला भुसाललाई ढुंगाको गोलो डल्लो (लोहोरो) ले टाउकोमा हानी हत्या गरे। महिलाको घटनास्थलमा नै मृत्यु भएको सम्बन्धमा गोप्य सूचनाको आधारमा मृतकका पति पिताम्बरलाई पक्राउ गरी थप अनुसन्धान गर्दा पत्नीको हत्या गरेको स्वीकार गरे। उनी अहिले पुर्पक्षको लागि कारागार चलान गरिएको जिप्रकाले जनाएको छ।    घटना –४ : साथीद्वारा साथीको हत्या गएको साउनमा अर्घाखाँचीको पोखराथोकमा आफ्नै साथीको घरमा आएका विष्णुबहादुर पाण्डेको हत्या भयो। गाडी किनेको पैसा लिन भनी आफ्नै साथीसँग साथीको घर अर्घाखाँचीको पोखराथोकमा आएका पाण्डेको रूपन्देहीको बुटवलमा गाडिको कारोबार गर्दै आएका कुलचन्द्र गौतम (दीपक)ले हत्या गरे।    माथिका यी चार त प्रतिनिधिमूलक घटना मात्र हुन्। अर्घाखाँची प्रहरी प्रमुख रिजालका अनुसार चालू आर्थिक वर्षमा मात्र ६७ प्रतिशत हत्या आफन्तबाट भएको छ। जिल्लामा ६ महिनामा ६ जनाको हत्या भएको छ। जसमा चार जनाको हत्यारा आफन्त नै भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। यद्यपि मुद्दाको फैसला हुन बाँकी नै छ। यी घटनाले पछिल्लो समय आफन्तबाटै आफन्तलाई सुरक्षा पाउन कठिन भएको छ।

धनुषा : पाचौं साहना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिता धनुषामा सुरु भएको छ। स्वर्गीय सहाना प्रधानको स्मृति दिवसको अवसर पारेर विगत चार वर्षदेखि हुँदै आएको महिला राष्ट्रिय हक्की प्रतियोगिताको पाँचौ संस्करण सोमबारबाट धनुषाको मिथिला नगरपालिकामा सुरु भएको हो।    नेपाल हक्की संघ तथा स्थानीय मिथिला नगरपालिकाको आयोजनामा नक्टाझिजस्थित हिमालय युवा क्लबको खेल मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन मधेस प्रदेशका प्रदेशसभा सदस्य हरिनारायण महतोले गरेका हुन्।   सोमबार भएका तीनवटा खेलमा लुम्बिनी, नेपाल आर्मी र मधेस प्रदेशले जित हात पारेको छ। प्रदेश १ र लुम्बिनीबीच भएको पहिलो खेलमा लुम्बिनी २–० गोल अन्तरले विजयी भएको हो। लुम्बिनीका लागि पुजा कुमारीले गरेको दुई गोल जितका लागि निर्णायक बन्यो। खेलको म्यान अफ दि म्याच घोषित उनले दुई हजार नगद पुरस्कार पाइन्।   यस्तै, विभागीय टोली नेपाल आर्मी र सुदुरपश्चिम प्रदेशबीच भएको दोस्रो खेलमा नेपाल आर्मी ६–० गोल अन्तरले जितेको छ। नेपाल आर्मीका लागि सितामाया बलले सर्वाधिक ३, सिमा खड्काले २ र सिता कुमारी चौधरीले १ गोल गरिन्। दोस्रो खेलका म्यान अफ दि म्याच सिता कुमारी बल घोषित भइन्।   त्यसैगरी, मधेस र गण्डकी प्रदेशबीच भएको तेस्रो खेल रोमाञ्चक बनेको थियो। त्यस खेलमा कडा प्रतिस्पर्धाकाबीच मधेस प्रदेशले गण्डकीलाई ४–२ गोल अन्तरले पराजित गरेको छ। मधेस प्रदेशका लागि कुमकुमले सर्वाधिक २, मुस्कान र अन्जली साहले समान १ गोल गर्दा गण्डकीकी सोनु बरालले दुई गोल गरिन्। मधेस प्रदेशकी कुमकुम म्यान अफ दि म्याचको पुरस्कार पाईन्। ​ प्रतियोगिताको दोस्रो दिन पनि तिन खेल हुने टुर्नामेन्ट डाइरेक्टर अशिम शर्माले जानकारी दिए। उनका अनुसार मंगलबारको पहिलो खेल बागमतीविरुद्ध सुदुरपश्चिम, दोस्रो खेल प्रदेश १ बिरुद्ध गण्डकी प्रदेश र तेस्रो खेल लुम्बिनीबिरुद्ध मधेस प्रदेशबीच हुनेछ।   माघ २८ गतेसम्म चल्ने प्रतियोगितामा कर्णाली बाहेक ६ वटा प्रदेश र एक विभागीय टोली (नेपाल आर्मी) सहभागी रहेको हक्की खेलका राष्ट्रिय प्रशिक्षक बाबुराम नेपालले जानकारी दिए।  उनका अनुसार प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमशः ७५ हजार, ४० हजार र ३० हजार नगद पुरस्कार र डमी शील प्रदान गरिने छ। प्रतियोगितामा विभिन्न ५ वटा विधामा उत्कृष्ट हुने खेलाडीलाई पुरस्कार दिइने नेपालले जनाए। 

काठमाडौं:  बङ्गलादेशमा जारी साफ यू-२० महिला च्याम्पियनसिप फुटबल अन्तर्गत राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले आज (मङ्गलबार) भारतसँग प्रतिस्पर्धा गर्नेछ ।   ढाकामा दिउँसो २:४५ बजे सुरु हुने खेलमा नेपाल भारतलाई हराएर फाइनलमा स्थान बनाउने लक्ष्यमा छ । फाइनलमा पुग्न नेपाललाई भारतविरुद्ध जित निकाल्नैपर्ने बाध्यता छ ।   पहिलो खेलमा बङ्गलादेशसँग पराजित भएको नेपालले दोस्रो खेलमा भुटानलाई हराएर उपाधि दौड कायम राखेको थियो । नेपाल अहिले दुई खेलबाट तीन अङ्क जोड्दै तेस्रो स्थानमा छ । चार अङ्क बनाएको भारत शीर्ष स्थानमा छ ।   भारतलाई फाइनल पुग्न बराबरी नतिजा पनि प्रयाप्त छ । दोस्रो स्थानमा रहेको आयोजक बङ्गलादेशको पनि चार अङ्क छ । दुवै खेलमा हार खेपेको भुटान अन्तिममा छ । आजै अर्को खेल बङ्गलादेश र भुटानबीच हुनेछ ।   बङ्गलादेश र भुटानको नतिजाले पनि फाइनल पुग्ने समीकरणको तय हुनेछ । चार टोलीबीच राउन्ड रोबिन लिगका आधारमा सञ्चालित प्रतियोगितामा शीर्ष दुई टोलीबीच बिहीबार फाइनल खेल हुनेछ ।

जुम्ला:   जुम्लामा भएको आगलागीमा एक बालिकाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्मराज जोशीकाअनुसार चन्दननाथ नगरपालिका वडा नम्बर १ ठिन्केका  लोकबहादुर भण्डारीको घरमा आगलागी हुँदा १४ वर्षीया छोरी बन्दनाको जलेर ज्यान गएको हो । गएराति साढे १० बजेतिर भएको आगलागीबाट तीन तले घरमा पूर्ण रुपमा क्षति पुग्नुका साथै बन्दनाको जलेर ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ३ तले घरमा बालिकासहित ७ जना सुतेका थिए । आगलागी भएपछि अरु घर बाहिर भागे पनि बन्दना तेस्रो तलामा रहेकाले निकाल्न नसकिएको परिवारलाई उदृत गर्दै प्रहरीले जनाएको छ । टिनले छाएको ढुङ्गा र काठले बनेको घरमा आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीमा ज्यान गुमाएकी बन्दनाको शव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पोष्टमार्टमका लागि राखिएको प्रहरीले जनाएको छ । 

काठमाडौं:  लोकसेवा आयोगले शाखा अधिकृतको लिखित परीक्षा स्थगन गरेको छ ।   सोमबार एक सूचना जारी गर्दै आयोगले अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगन गरेको जनाएको हो ।   आयोगले माघ १० गते तोकेको प्रथम चरण र चैत २१ गतेदेखि सञ्चालन हुने भनेको दोस्रो चरणको परीक्षा अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगन गरेको जनाएको छ ।   सर्वोच्च अदालतको माघ २० गतेको जारी अन्तरिम आदेश कार्यान्वयनका लागि आयोगको सोमबार बसेको बैठकले परीक्षा कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।