काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार विशेष मनसुन बुलेटिन जारी गर्दै आगामी दुई दिन देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। ...

काठमाडौं:    प्रहरीले डाक्टर कुटेको विरोधमा भोलि देशभरका अस्पताल र स्वास्थ्य संस्थामा अत्यावश्यक बाहेकका सेवा बन्द हुने भएका छन् ।  आफ्ना आजीवन सदस्य एवम् राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डाक्टर जनिथलाल सिंह लगायत अन्य डाक्टर तथा स्वास्थ्यकर्मीहरु माथि प्रहरीले लाठी चार्ज गरी घाइते बनाएको घटनाप्रति विरोध जनाउँदै नेपाल चिकित्सक संघले भोलि देशभरका सरकारी र निजी अस्पताल तथा स्वास्थ्य संस्थामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको हो । राष्ट्रपतिको सुरक्षाका नाममा स्वास्थ्य सेवा जस्तो संवेदनशील क्षेत्रमा कार्यरत डाक्टर र स्वास्थ्यकर्मीलाई प्रहरीले कुटपिट गर्नु प्रहरी प्रशासनको गैर जिम्मेवारीपन र बिरामीको जीवनसँगको खेलबाड भएको चिकित्सक संघले जनाएको छ । लोकका लागि स्थापित गरिएको लोकतान्त्रिक गणतन्त्रमा नागरिकलाई सास्ती दिने, सवारीको नाममा घण्टौँ जाम गरेर दैनिक जीवन यापनमा अत्यन्तै असहज परिस्थितिको सिर्जना गर्ने जस्ता कार्य न्यायोचित नभएको नेपाल चिकित्सक संघको ठहर छ । सरकारी लापरबाहीको विरोध र भीभीआईपीको सुरक्षाको नाममा नागरिकलाई दुख नदिन माग गर्दै देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठान लगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरिएको चिकित्सक संघले जनाएको छ । यस कदमबाट नागरिकलाई पर्न गरेको अप्ठेरोप्रति क्षमा माग्दै चिकित्सक संघले यो अवस्थाको जिम्मेवार सरकार नै भएको पनि दाबी गरेको छ । 

पोखरा:  साहित्यकार लक्ष्मण थापालाई नवनित साहित्य सागरले आफ्नो नियमित काव्य वाचन तथा श्रवण कार्यक्रमका २३८ औं श्रृङ्खलामा सम्मान गरेको छ । कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ वरिष्ठ साहित्यकार सरुभक्तले सम्मान पत्र, दोसल्लाले उनलाई सम्मान गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद लम्सालले अविर लगाएर सम्मान गरेका थिए । छोरेपाटन माविको सभाहलमा भएको कार्यक्रममा विभिन्न साहित्यिक संस्थाका अध्यक्ष, प्रतिनिधि, शिक्षक, विद्यार्थीहरुले पुष्पगुच्छा प्रदान गरी वधाई दिएका थिए । साहित्यकार थापा नवनीत साहित्य सागरका संस्थापक अध्यक्ष हुन । साथै सोही विद्यालयका पुर्व प्रधानाध्यापक हुन । शिक्षण पेशा संगै साहित्यको विकासमा उनले गरेको योगदानको उच्च मुल्याङ्कन गर्दै संस्थाले सम्मान गरेको हो । सो अवसरमा संस्थाका अध्यक्ष तथा विद्यालयका प्रधानाध्यापक डिल्लिराम शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष मेघनाथ पौडेलले स्वागत र कार्यक्रम संचालन सचिव सीता बरालले गरेकी थिईन भने सम्मानित ब्यक्तिको परिचय लक्ष्मी देबकोटाले दिएकी थिईन । 

काठमाडौं:   राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा उपलब्ध साधन, श्रोतको अधिकतम प्रयोग गरी आर्थिक एवम् भौतिक विकास क्षेत्रमा लक्षित नतिजा हासिल गर्न भ्रष्टाचार नियन्त्रण हुन अपरिहार्य रहेको बताउनुभएको छ ।   अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै शनिबार राष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो ।   उहाँले मुलुक र संविधानप्रतिको अविचल निष्ठा एवम् जनताप्रतिको समर्पणबाट मात्र हरेक व्यक्तिमा लैङ्गिकता, इमान्दारी र सदाचारको भावना विकास हुने भन्दै मुलुकको उच्चतम हीत र कल्याणका लागि आफ्नो कर्तव्यलाई अवसरको रूपमा लिई कार्य सम्पादन गरेको खण्डमा भ्रष्टाचार न्यूनीकरण हुँदै जाने दाबी गर्नुभयो ।   राष्ट्रपतिले भ्रष्टाचार राज्यविरुद्धको अपराध भएको उल्लेख गर्नुहुँदै भ्रष्टाचारले मुलुकको समृद्धि र दिगो विकासको लक्ष्य हासिल गर्न बाधा पुर्‍याउने बताउनुभयो । राष्ट्रपति भण्डारीले भ्रष्टाचारका कारण नागरिकहरूमा सार्वजनिक निकाय र पदाधिकारीप्रतिको विश्वास र भरोसा गुम्नुका साथै समाजमा आर्थिक असमानता र विषमताको खाडल सिर्जना हुने बताउनुभयो ।     ‘‘मुलुकमा उपलब्ध साधन, स्रोतको अधिकतम प्रयोग गरी आर्थिक एवम् भौतिक विकास क्षेत्रमा लक्षित नतिजा हासिल गर्न भ्रष्टाचार नियन्त्रण हुन अपरिहार्य छ । मुलुक र संविधानप्रतिको अविचल निष्ठा एवम् जनताप्रतिको समर्पणबाट मात्र हरेक व्यक्तिमा लैङ्गिकता, इमान्दारी र सदाचारको भावना विकास हुन्छ । त्यसैले मुलुकको उच्चतम हीत र कल्याणका लागि आफ्नो कर्तव्यलाई अवसरको रूपमा लिई कार्य सम्पादन गरेको खण्डमा भ्रष्टाचार न्यूनीकरण हुँदै जान्छ ।,’’ राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘‘भ्रष्टाचार राज्यविरुद्धको अपराध हो, त्यसले मुलुकको समृद्धि र दिगो विकासको लक्ष्य हासिल गर्न बाधा पुर्‍याउँछ । भ्रष्टाचारका कारण नागरिकहरूमा सार्वजनिक निकाय र पदाधिकारीप्रतिको विश्वास र भरोसा गुम्नुका साथै समाजमा आर्थिक असमानता र विषमताको खाडल सिर्जना हुन्छ ।’’   भ्रष्टाचारले सेवा प्रवाहमा अनियमितता, राष्ट्रिय सम्पत्तिको दोहन, द्वन्द्वको सिर्जना र अन्तर्राष्ट्रिय सम्मानमा समेत कुठाराघात गर्ने हुँदा भ्रष्टाचार नियन्त्रण अपरिहार्य रहेको राष्ट्रपतिको भनाइ छ । उहाँले संस्थागत रूपमा भ्रष्टाचार नियन्त्रण गर्ने राज्यको सबैभन्दा प्रभावकारी निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग रहेको उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन गर्ने कार्य आयोगको एकल प्रयासबाट मात्रै सम्भव नहुने बताउनुभयो ।     ‘‘भ्रष्टाचारले सेवा प्रवाहमा अनियमितता, राष्ट्रिय सम्पत्तिको दोहन, द्वन्द्वको सिर्जना र अन्तर्राष्ट्रिय सम्मानमा समेत कुठाराघात गर्ने हुँदा यसको नियन्त्रण अपरिहार्य छ । भ्रष्टाचार नियन्त्रणका लागि विभिन्न संवैधानिक एवम् कानुनी व्यवस्थाहरू विद्यमान छन् । संस्थागत रूपमा भ्रष्टाचार नियन्त्रण गर्ने राज्यको सबैभन्दा प्रभावकारी निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग हो । यद्यपि, भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन गर्ने कार्य आयोगको एकल प्रयासबाट मात्रै सम्भव नहुँदा सम्पूर्ण सरोकारवाला पक्षहरू एकजुट हुन जरुरी छ ।,’’ उहाँले भन्नुभयो, ‘‘यसका लागि कर्मचारीहरूमा सोही अनुरूपको पेसागत निष्ठा र व्यावसायिक दक्षता प्रतिविम्वित हुनुपर्छ । कानुनी राज्य, मानव अधिकार र सुशासनको प्रत्याभूति गराउनु राज्यको प्रमुख दायित्व हो । भ्रष्टाचार नियन्त्रणका लागि सुदृढ राजनीतिक प्रतिबद्धता आवश्यक छ ।’’   राष्ट्रपति भण्डारीले कानुनी राज्य, मानव अधिकार र सुशासनको प्रत्याभूति गराउनु राज्यको प्रमुख दायित्व भएको उल्लेख गर्नुहुँदै भ्रष्टाचार नियन्त्रणका लागि सुदृढ राजनीतिक प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो । उहाँले लोकतन्त्रमा राजनीतिक परिवेश बदलिने विषयलाई स्वाभाविक रूपमा लिँदै संविधान र कानुनले निर्दिष्ट गरेका दायित्वहरू पूरा गर्न आयोग सदैव अग्रसर रहनुपर्ने धारणा व्यक्त गर्नुभयो ।     उहाँले प्रशासनिक सेवालाई जनमुखी बनाउन समयअनुकुल सुधार गर्ने, सेवाप्रवाहलाई डिजिटल माध्यमबाट सञ्चालन गर्ने तथा सार्वजनिक निकायबाट गरिने खरिद प्रक्रियामा उत्तरदायित्व स्थापित गर्ने कार्यबाट भ्रष्टाचार नियन्त्रणमा महत्त्वपूर्ण उपलब्धि हासिल हुने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रपति भण्डारीले प्रशासनिक निकाय र नेतृत्वको जिम्मेवारी एवम् जबाफदेहिता अभिवृद्धिका लागि विद्यमान ऐन, कानुनको पालनामा जोड दिनु आवश्यक रहेको उल्लेख गर्नुहुँदै राजनीतिक नेतृत्व, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रशासनिक नेतृत्वको सङ्गठित एवम् एकताबद्ध प्रयासले भ्रष्टाचार नियन्त्रणमा सफलता हासिल गर्न सक्नुपर्ने बताउनुभयो ।   राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘‘राष्ट्र सेवकहरूले अनुशासन र पारदर्शिता अभिवृद्धितर्फ प्रतिबद्ध भई सोही अनुरूपको कार्य व्यवहारमा उतारेमात्रै मुलुकमा सुशासन कायम हुनसक्छ । राजनीतिक नेतृत्व, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रशासनिक नेतृत्वको सङ्गठित एवम् एकताबद्ध प्रयासले भ्रष्टाचार नियन्त्रणमा सफलता हासिल गर्न सकिन्छ । आयोगले भ्रष्टाचारका सम्भाव्य जोखिमका बारेमा सार्वजनिक निकाय र पदाधिकारीलाई बोध गराइ भ्रष्टाचार नियन्त्रणका लागि अग्रणी भूमिका निर्वाह गर्नुपर्छ । राजनीतिक नेतृत्वले जनभावनाको कदर गर्दै नागरिकको भरोसा अभिवृद्धि गर्नुपर्छ ।’’   राष्ट्रपति भण्डारीले सार्वजनिक निकाय र पदाधिकारीले सदाचार पद्धतिको अवलम्बनमा जोड दिनुपर्ने बताउनु भयो । उहाँले जननिर्वाचित तीन तहकै सरकार, राज्यका सबै अङ्गहरू र निजी क्षेत्र, नागरिक समाज तथा सर्वसाधारण नागरिकको सहयोग र सहकार्यबाट भ्रष्टाचार नियन्त्रणमा ठोस प्रगति हाँसिल हुनसक्ने बताउनु भयो । राष्ट्रपति भण्डारीले भ्रष्टाचारमुक्त समाज स्थापना र सुशासनको प्रत्याभूतिका लागि सबैले आफ्नो क्षेत्रबाट तत्परता, सक्रियतासाथ काम गर्न आह्वान गर्नुभयो ।

ढल्केवर:  पाँचौं महिला राष्ट्रिय हक्की प्रतियोगिताको फाइनल खेल आज हुँदैछ। धनुषाको नक्टाझिजमा जारी पाचौं साहाना प्रधान स्मृति महिला राष्ट्रिय हक्की प्रतियोगिताको उपाधिका लागि विभागीय टोली नेपाल आर्मी र लुम्बिनी प्रदेश भिड्दैछ ।   सेमिफाईनलमा मधेस प्रदेशलाई हराउँदै नेपाल आर्मी र सुदुरपश्चिम प्रदेशलाई पराजित गर्दै लुम्बिनी प्रदेश फाइनलका लागि छनौट भएको थियो। नेपाल हक्की संघ तथा मिथिला नगरपालिकाको आयोजनामा भईरहेको प्रतियोगिताको फाईनल खेल नक्टाझिजस्थित रहेको हिमालय युवा क्लबको खेलमैदानमा आज साढे २ बजे हुने नेपाल हक्की संघका केन्द्रीय सदस्य समेत रहेका टुर्नामेन्ट डाइरेक्टर अशिम शर्माले जानकारी दिए।   उनका अनुसार प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टिमलाई क्रमश ७५ हजार, ४० हजार र २५ हजार नगद पुरस्कारसहित शिल्ड प्रदान गरिने छ। प्रतियोगिताको तृतीय स्थानमा मधेस प्रदेशले आफ्नो स्थान जमाई सकेका छन्। शुक्रबार भएको लुजर फाईनल खेलबाट सुदुरपश्चिम प्रदेशलाई हराउँदै मधेस प्रदेशले तृतीय स्थान कब्जा गरेको हो।   स्वर्गीय सहाना प्रधानको स्मृति दिवसको अवसर पारेर हुँदै आएको महिला राष्ट्रिय हक्की प्रतियोगिताको पहिलो संस्करण नेपाल आर्मीको टोलीले जितेको थियो भने दोस्रो संस्करणको उपाधि लुम्बिनी प्रदेशले हात पारेको थियो। त्यस्तै, तेस्रो र चौथो संस्करणको उपाधि पनि विभागीय टोली नेपाल आर्मीले जितेको थियो।

पोखरा:  प्राज्ञिक विद्यार्थी परिषद्,नेपाल पोखरा महानगर एकाइ समितिले  तीन महिने निशूल्क कम्प्युटर प्रशिक्षण तालिम दिँदै आएको छ ।  परिषद्ले सिक्न इच्छुक विद्यार्थी तर विभिन्न समस्याका कारण सिक्न नपाएका विद्यार्थीहरुका लागि उनीहरुको समयअनुकुल कम्प्युटर प्रशिक्षण तालिम दिँदै आएको हो ।  भिमकालीपाटन बगर–१  मा अवस्थित आफ्नै कार्यालयमा ५ जनाको समूह बनाई १ दिनमा ६ समुहलाई अर्थात १ दिनमा ३० प्रशिक्षार्थीलाई प्रशिक्षण तालिम दिदै आइरहेको परिषद्का कास्की जिल्ला संगठन सचिव भूपेन्द्र महराले बताए ।  अबको पुस्तामा कम्प्युटर ज्ञान अनिवार्य हुनु पर्छ । महराले भने, ‘हामि कम्प्युटर युगबाट गुज्रिरहेका छाँ । जतिसुकै शिक्षित व्यक्ति भएपनि कम्प्युटरको ज्ञान छैन भने निरक्षरको रुपमा गनिएको महशुस गर्दछन । त्यस्तै धेरै जनाले गर्ने काम कम्प्युटरबाट एक्लै थोरै समयमा गर्न सकिन्छ । त्यसैले कम्प्युटर ज्ञान अनिवार्य हुनपर्छ ।’ प्राज्ञिकले कम्प्युटर तालिम मात्र नभई विभिन्न सीममूलक प्रशिक्षण तालिम, व्यक्तित्व नेतृत्व विकास तालिम, बाल संस्कार, संस्कृत सम्मेलन, शिक्षक कार्यशाला, कानुन सम्मेलन, निरामय(मेडिकल) सम्मेलन, संकल्प(इन्जिनियरिङ) सम्मेलन, स्वाध्य मण्डल, रक्तदान कार्यक्रम, उद्वार तथा राहत कार्यक्रम, समय व्यवस्थापन, अभ्यास वर्ग, आदर्श क्याम्पस र विश्वविद्यालयको वातावरण निर्माण जस्ता सम्पूर्ण निकायहरुको सरोकारको विषयमा ठोस नीतिगत सुझाव जस्ता तमाम कुराहरुमा केन्द्रित रहेर कार्य गरिरहेको महराले बताए ।  प्राज्ञिक०५२ सालमा स्थापना भई २८ वर्ष देखि राष्ट्र पुननिर्माणको कार्य गर्दै आइरहेको छ । महराले भने, ‘ राष्ट्र पुननिर्माणको कार्य मूलतः रचानात्मक एवम् पुण्यको कार्य हो । आफू स्वयंमबाट परिवर्तनको प्रारम्भ गर्नुपर्छ । त्यसैले म परिवर्तन हुन्छु, समाज र राष्ट्र परिवर्तन हुने छ । भन्ने भावका साथ सकारात्मक सोचाई, इमान्दारिता, परिश्रमशीलता, सामाजिक संवेदना, त्याग आदि गुणहरुले युक्त  व्यक्तिको निर्माण एवम् विकास होस भन्ने दृष्टिले विभिन्न प्रकारका रचानात्मक कार्यक्रमहरु गर्दै आइरहेका छौँ ।’

काठमाडौं:  राष्ट्रपति विद्यादेवी भण्डारीले अब हाम्रो ध्यान विकास, समृद्धि र नागरिकलाई सुखी बनाउनतर्फ केन्द्रित हुनुपर्ने बताउनुभएको छ। शुक्रबार संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो।    प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘‘अब हाम्रो ध्यान विकास, समृद्धि र नागरिकलाई सुखी बनाउनेतर्फ केन्द्रित हुनुपर्छ। संविधानले मार्गदर्शन गरे अनुसार स्वतन्त्र ढंगले राज्यका अगंहरुले आफूलाई परिचालित गर्नुपर्छ।’’    राष्ट्रपति भण्डारीले आफूलाई दुई कार्यकाल राष्ट्रपतिको जिम्मेवारी दिएकोमा सबैलाई धन्यवाद दिनुभयो।  उहाँले अर्थतन्त्रको सुदृढीकरणका लागि गम्भीर पाइला चाल्नुपर्नेसमेत बताउनुभएको छ। देशको अर्थतन्त्रप्रति चिन्ता व्यक्त गर्दै राष्ट्रपति भण्डारीले भन्नुभयो, ‘‘कोभिड–१९ का कारण विश्व अर्थतन्त्रमा परेको प्रभावबाट नेपाल मात्र अछुतो रहको छैन। अर्थतन्त्रको सुदृढीकरणका लागि हामीले गम्भीर पाइला चाल्नुपर्ने देखिएको छ। औपचारिक अर्थतन्त्रलाई प्रवर्द्धन गर्न र संस्थागत गर्न वृत्त नीति निर्देशित हुनुपर्ने देखिएको छ।’’ 

काठमाडौँ:  नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशको सरकारमा सहभागी हुने भएको छ ।   एमाले नेतृत्वको सरकार ढलेपछि सुदूरपश्चिम प्रदेशमा कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्रीमा बिहीबार नियुक्त भएका थिए । आज मुख्यमन्त्री शाहले शपथ लिँदैछन् । मुख्यमन्त्री शाहले शपथ लिएलगत्तै कांग्रेसका एक र एकीकृत समाजवादीका एक मन्त्रीले शपथ लिने कार्यक्रम रहेको समाजवादीका नेता दीर्घ सोडारीले जानकारी दिए ।    ‘हाम्रो पार्टी सरकारमा जान्छ, व्यक्ति को भन्ने तय भैसकेको छैन’, सोडारीले  भने । यसैबीच मुख्यमन्त्री शाहले साढे ३ बजे शपथ लिने भने पनि आधा घण्टा पर सरेको छ । चार बजेमात्रै मुख्यमन्त्रीले शपथ लिने कार्यक्रम तय भएको बुझिएको छ । ५३ सदस्यीय प्रदेश सभामा एकीकृत समाजवादीका ४ सांसद छन् ।

काठमाडौं : साफ यू-२० महिला च्याम्पियनसिपको उपविजेता नेपाली टिम स्वदेश फर्किएको छ। टिम विमान बंगलादेशबाट बिहीबार नेपाल आइपुगेको हो|   बिहीबार भएको फाइनलमा बंगलादेशसँग ३-० गोलको नतिजामा पराजित भएपछि आज स्वदेश फर्किएको हो। बंगलादेशको ढाकास्थित वीर श्रेष्ठ सहिद सिपाही मुस्तफा कमल रंगशालामा शाहिदा अख्तर रिपा,शामसुनाहार जुनियर र उन्नती खातुनले एक-एक गोल गर्दै घरेलु टिमलाई च्याम्पियन बनाएका थिए।   शाहिदाले ४२औं मिनेटमा  गरेको गोलसँगै बंगालदेशले अग्रता लिएको थियो। पहिलो हाफको इन्जुरी समयमा शामसुनाहारले गरेको गोलसँगै पहिलो हाफमा २-० ले अगाडि रहेको बंगलादेशले दोस्रो हाफमा एक गोल थप्यो।    निर्धारित ९० मिनेटको खेल सकिन तीन मिनेट बाँकी रहँदा उन्नतीले गरेको गोलसँगै बंगलादेशले ३-० को सहज जित सुनिश्चित गर्यो । राउन्ड रोबिन पद्धतिमा सम्पन्न प्रतियोगिताको लिग चरणबाट शीर्ष दुई टिम नेपाल र बंगलादेशले फाइनल यात्रा तय गरेका थिए।    लिग चरणमा पनि बंगलादेशसँग ३-१ ले पराजित भएको नेपालले फाइनलमा त्यसको बदला लिन सकेन। नेपाल र बंगलादेशसँगै च्याम्पियनसिपमा भुटान र भारत पनि सहभागी थिए।

तनहुँः   तनहुँको बन्दिपुर गाउँपालिका-५ याम्पामा रहेको कुमालटारी बाख्रा फार्ममा आगलागी हुँदा करिब ६० लाख रुपैयाँ बराबरको क्षति भएको छ । स्थानीय चेतप्रसाद तिवारी, कुलप्रसाद तिवारी र विष्णु अम्गाईले सञ्चालन गरेको फार्ममा हिजो बिहीवार दिउँसो आगलागी भएको हो । आधुनिक बाख्राको खोर निर्माणका क्रममा विद्युत् सर्ट भएर आगलागी हुँदा फार्मको ८० प्रतिशतभन्दा बढी भाग जलेर नष्ट भएको छ ।  वडा अध्यक्ष ध्रुव लामिछानेका अनुसार फार्ममा करिब १ सय २० वटा बाख्रा र २ सय वटा कुखुरा पालिएको थियो । खोरमा रहेका बाख्रालाई बाहिर निकालिएको तर केही कुखुरा मरेका उहाँले जानकारी दिनुभयो ।  करिब दुई करोड रुपैयाँ लगानी रहेको फार्मलाई आधुनिक बनाउने क्रममा परालमा अचानक आगो सल्किँदा आगलागी भएको कुलप्रसाद तिवारीले बताउनु भयो । ट्याङ्कर, बन्दिपुर गाउँपालिका र व्यास नगरपालिकाको दमकल, स्थानीय, सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको सहयोगमा करिब चार घण्टा पछि आगो निभाइएको थियो । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।