काठमाडौं: नेकपा माओवादीका नेता तथा अर्थमन्त्री जनार्दन शर्माले कांग्रेस संसदीय दलको नेतामा निर्वाचित शेरबहादुर देउवालाई बधाई तथा शुभकामना दिएका छन् । प्रधानमन्त्रीसमेत रहेका देउवालाई बधाई दिन शर्मा बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका हुन् । बुधबार बिहान भएको निर्वाचनमा गगन थापालाई हराउँदै देउवा कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएका हुन् । ८९ सदस्यीय कांग्रेस संसदीय दलमा देउवाले ६४ मत ल्याएर नेतामा निर्वाचित भएका हुन् । थापाले २५ मत पाएका थिए । निर्वाचित भएको केही समयमै माओवादी नेता शर्मा देउवालाई बधाई दिन बालुवाटार पुगेका हुन् ।
काठमाडौं: राप्रपाका नेता तथा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहका बीच उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट ज्येष्ठ सदस्यको शपथ लिएका हुन् । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनालगायतको उपस्थिति रहेको थियो । राणाले शपथ लिएसँगै उनले प्रतिनिधिसभाका अन्य सदस्यहरुलाई बिहीबार शपथ गराउने कार्यक्रम रहेको छ।
काठमाडौं: अभिनेत्री सामन्था रुथ प्रभु पछिल्लो समय चर्चा भन्दा बाहिर छिन् । अहिले धेरै प्रोजेटबाट उनले हात झिकेको खबर समेत बाहिर आइरहेको छ । उनले आफ्नो स्वास्थ्यमा ध्यान दिन प्रोजेक्टबाट हात झिकेको बताइन्छ । हिन्दी वेब ‘द फैमिली सिजन २’ को ठूलो सफलतापछि सामन्थाले धेरै बलिउड फिल्म साइन गरेकी थिइन् । मिडिया रिपोर्टका अनुसार उनले अहिले धेरै निर्मातालाई लामो ब्रेक चाहिएको बताएकी छन् । केही समयअघि सामन्थाले आफू मायोसाइटिस नामक रोगबाट पीडित भएको खुलासा गरेकी थिइन् । त्यसयता उनी सामाजिक सञ्जालमा खासै सक्रिय छैनन् । मिडिया रिपोर्टका अनुसार सामन्थाले विजय देवरकोंडासँग फिल्म ‘कुशी’ को छायांकन छिट्टै सक्नेछिन् । त्यसपछि उनी फिल्मबाट टाढा रहनेछिन् । उनका सहयोगीले उनले अब कुनै पनि नयाँ प्रोजेक्ट साइन नगर्ने निर्मातालाई जानकारी दिएका छन् । ‘कुशी’ शिव निर्वाणले निर्देशन गरेको रोमान्टिक फिल्म हो । फिल्म २०२३ को फेब्रुअरीमा रिलिज हुनेछ । सामन्थाको गतवर्ष नागा चैतन्यसँग सम्बन्धविच्छेद भएको थियो । सामन्थाले अक्टोबर २ मा सामाजिक सञ्जालमार्फत आफ्नो सम्बन्ध विच्छेद भएको जानकारी दिएकी थिइन् । विवाहअघि सामन्था र नागा चैतन्यले करिब तीन वर्ष एक अर्कालाई डेट गरेका थिए । त्यसपछि दुबैले हिन्दू र क्रिस्चियन रिवाजअनुसार विवाह गरेका थिए ।
वीरगञ्ज: पर्सामा एक विवाह समारोहमा झगडा हुँदा एक युवकको मृत्यु भएको छ । जगरनाथपुर गाउँपालिका–३ ठेकरिया बड्गु टोल बस्ने ३६ वर्षीय सैमुल्लाह राउत गद्दीको मृत्यु भएको हो । बुधबार बिहान ४ बजे बिहान सैमुल्लाह घरमा गम्भीर घाइते अवस्थामा रहेको जानकारी प्रहरीकोमा आएको थियो । प्रहरी चौकी पाण्डेपुर र इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट प्रहरी निरीक्षक किशोर आचार्य नेतृत्वको टोली पुगेर उनलाई अस्पताल लगेको थियो । उपचारका लागि वीरगञ्ज स्थित नारायणी अस्पतालमा ल्याउँदा चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका थिए । घटनाबारे बुझ्दा सहरूम राउत गद्दीको छोरा २२ वर्षीय साबिर राउत गद्दीको विवाहमा झडप हुँदा सैमुल्लाहलार्ई कुटपिट भएको थियो । मंगलबार राति ११ बजेतिर साबिरको विवाहमा नाचगान गर्ने विषयमा विवाद भएको थियो । सैमुल्लाहले नाच्न नदिएको भन्दै विवाद हुँदा दुलाहा साबिर, काका जादुल राउत गद्दी लगायतले कुटपिट गरेको स्थानीयले बताएका छन् । सैमुल्लाहको शव नारायणी अस्पतालमा पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । ‘विवाहमा नाच्ने विषयमा विवाद हुँदा कुटपीट भएको देख्नेहरु छन्’, उनले भने ‘मृत्युको कारण पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै खुल्छ । घटनाबारे थप अनुसन्धान गरिरहेका छौं ।’
काठमाडौं: नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले नयाँ सरकारमा मन्त्री बन्ने लाइनमा आफू नरहेको स्पष्ट पारेका छन् । बुधबार काँग्रेस संसदीय दलको नेताको निर्वाचनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री शर्माले नयाँ सरकारमा मन्त्री बन्नेतिर आफू नलाग्ने बताए । उनले पार्टी कार्यालयमा बसेर गर्ने आफ्नो कामहरु धेरै भएको बताए । उनले पार्टीले महामन्त्री बनाएको वर्ष दिन मात्रै भएको भन्दै पार्टीलाई सुसंगठित गर्ने धेरै कामहरु आफ्नो जिम्मामा रहेको बताए । महामन्त्री शर्माले सरकारमा जाने पार्टीका नेताहरुलाई घोषणापत्रमा उल्लेख गरिएका प्रतिवद्धताअनुसार काम गर्न आग्रह गर्ने कुरामा आफू लाग्ने पनि बताए । महामन्त्री शर्माले सरकारमा जाने सांसदहरुको संयोजन लगायतका कामहरु अघि बढाउने कुरामा आफू लाग्ने बताए ।
काठमाडौं: नेकपा एमालेले आफ्ना सांसदहरुलाई शपथमा सहभागी हुँदा राष्ट्रिय पोशाकमा आउन भनेको छ । लिखित निर्देशन नै नभए पनि मौखिकरुपमा सांसदहरुलाई राष्ट्रिय पोशाक र नेपाली भाषामै शपथ लिन भनिएको एक सांसदले जानकारी दिए । संविधानमा समेत आफ्नो मातृ भाषा र पोशाकमा सपथ लिन सक्ने व्यवस्था गरेकोमा नेतृत्वले राष्ट्रिय भाषा र पोशाक अनिवार्यजस्तै गर्न खोजेको भन्दै केही सांसद असन्तुष्ट समेत बनेका छन् । ‘आफ्नो भाषा र पोशाकमा सपथ लिन पाउने भनेर संविधानले नै व्यवस्था गरेको छ,’ एक सांसदले अनलाइनखबरसित भने, ‘तर, नेतृत्वले ह्वीप लगाएर जसरी राष्ट्रिय भाषा र पोशाकमै सपथ लिनुपर्छ भनेको छ । हामीले आफ्नो भाषा र भुषा अनुसारको शपथ लिन पनि नपाउनु?’ असन्तुष्ट सांसदले उपाध्यक्ष सुवास नेम्वाङ र महासचिव शंकर पोखरेलसँग यसबारे असन्तुष्टि समेत पोखेका छन् । सांसदको गुनासोपछि नेम्वाङले आफूले बालकोट गएर अध्यक्षसँग कुरा राख्ने बचन दिएका थिए । एमालेका नेता लिलानाथ श्रेष्ठले भने सकभर राष्ट्रिय पोशाक र भाषामा सपथ लिंदा राम्रो हुने भनिएको तर अनिवार्य भने नगरेको बताए । ‘सकभर राष्ट्रिय पोशाक र सबैले बुझ्ने भाषामा सपथ खाँदा राम्रो हो,’ उनले भने, ‘त्यस्तो ‘हार्ड एन्ड फास्ट’ केही छैन ।’ प्रतिनिधि सभामा निर्वाचित सांसदहरुको शपथ ग्रहण बिहीबार दिउँसो १ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा हुँदैछ । उनीहरुलाई ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले शपथ खुवाउने छन् ।
पोखरा: पोखरा जनप्रिय बहुमुखी क्याम्पसको सञ्चालक समिति अध्यक्षमा वीरेन्द्रनारायण विजुक्छे विजयी भएका छन् । बिजुक्छेले २ सय ६९ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । बिजुक्छेले प्रतिस्पर्धी सोमनाथ बराललाई १ सय २५ मतले हराएका हुन् । बरालले १ सय ४४ मत ल्याए । निर्वाचन मंडलका अनुसार ४ सय १३ मत खसेकोमा १४ मत बदर भएको हो । अध्यक्ष विजुक्छे सहित ११ सदस्यीय कार्यसमिति चयन भएको छ । सदस्यमा अर्जुन श्रेष्ठ, ईन्द्रप्रसाद पौडेल, कृष्णप्रसाद तिमिल्सिना, गणेशबहादुर अधिकारी, धुव्रराज चालिसे, नम्रता बराल, युवराज पराजुली, रंगिला पौडेल आचार्य, राजेन्द्र पहारी, विजयराज आचार्य र शोभामोहन पौडेल चयन भएका हुन् ।
गण्डकी: पर्यटकीय नगरी पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने साढे चार दशकदेखिको सपना पूरा हुने अन्तिम चरणमा पुगेको छ । सरकारको घोषित कार्यक्रमअनुसार सन् २०२३ को जनवरी १ देखि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान हुनेछ । यस विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडानका लागि बुद्धएयरले आवश्यक तयारी गरिरहेको उक्त एयरलायन्सका प्रवक्ता दीपेन्द्र कर्णले राससलाई जानकारी दिनुभयो । उडान अनुमतिका लागि बुद्ध एयरले सम्बन्धित निकायमा निवेदन दिइसकेको उहाँले बताउनुभयो । एयरलायन्सले पोखराबाट पहिलो उडान पोखरा–बनारस–पोखरा गर्ने योजना बनाएको उहाँले बताउनुभयो । “हामी उडानको लागि लगभग तयारीमा छौँ, पोखरा–बनारसको उडानको अनुमति माग्नुका साथै त्यसअघि परीक्षण उडानका लागि पनि अनुमति मागिएको छ”, उहाँले भन्नुभयो । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको यान्त्रिक उडान ‘क्यालिब्रेसन फ्लाइट’ले यो विमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि तयार भएको पाइएको विमानस्थलका प्रवक्ता अनुप जोशीले जानकारी दिनुभयो । यान्त्रिक परीक्षणको प्रतिवेदन क्यानले स्वीकृत गरेपछि एरोनोटिकल इन्फर्मेसन पब्लिकेसन (एआइटी) मा प्रकाशन गरिनेछ । तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थल झण्डै रु २२ अर्ब लागतमा निर्माण गरिएको हो । विमानस्थलमा दुई हजार पाँच सय मिटर लम्बाई र ४५ मिटर चौडाइको धावनमार्ग छ । उडान सञ्चालनकै तयारीस्वरुप विमानस्थलको पूर्वतर्फको रिट्ठेपानीडाँडा कटानको पहिलो चरणअन्तर्गत १६ मिटर कटानकार्य सकिएको उहाँले जानकारी दिनुभयो । धावनमार्गको ‘अप्रोच’मा पर्ने डाँडाको ४० मिटर डाँडा काटेर समतल बनाउने गरी बाँकी २४ मिटर काट्ने काम पनि तीव्र रुपमा चलिरहेको उहाँले बताउनुभयो । “जनवरी १ मा बिहानैदेखि पोखराबाट हुने सबै उडान ९हेलिकोप्टर र अल्ट्रालाइट बाहेक० पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाटै गर्ने गरी तयारी भएको छ”, जोशीले भन्नुभयो । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट उडानको तयारी भइरहँदा पोखरेली पर्यटन व्यवसायी यसले पोखराको पर्यटनमा महत्वपूर्ण योगदान पुग्ने बताउँछन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट पर्यटकीय नगरी पोखराको सिधैँ विश्व बजारमा सम्पर्क हुने पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ बताउनुहुन्छ । आगामी दिनमा विदेशबाट पर्यटकहरू सिधैँ पोखरा आउनसक्ने भएकोले यहाँको पर्यटन प्रवद्र्धनमा थप योगदान पुग्ने बताउनुभयो । पोखरामा दैनिक २० हजार भन्दा बढी पर्यटकलाई स्तरीय होटेल तथा आवाशको सुविधा दिन सकिने बताउँदै उहाँले विमानस्थल सञ्चालनसँगै यससँग जोडिएका सडक लगायतका पूर्वाधारमा विशेष ध्यान दिनु जरुरी रहेको बताउनुभयो । “पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले आगामी दिनमा पोखरा र गण्डकी प्रदेशका विभिन्न जिल्लाका उत्पादनलाई पनि अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउन सकिन्छ”, उहाँले भन्नुभयो । पोखरामा विभिन्न देशबाट आउने पर्यटक साहसिक पर्यटनलाई पनि लक्षित गरेर आउने गरेको ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल९टान० पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष धर्म पन्थीले बताउनुहुन्छ । पोखराहुँदै अन्नपूर्ण चक्रिय पदमार्ग, अन्नपूर्ण आधार शिविर, धवलागिरि पदमार्ग, मर्दी पदमार्ग आदिमा पर्यटक जाने गरेको बताउँदै उहाँले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले पोखरा र यससँग जोडिएका पर्यटकीय गतिवधि बढ्ने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पोखराको पर्यटनका लागि बरदान सावित बन्ने नेपाल टुर एण्ड ट्राभल्स एजेन्ट्स९नाट्टा० गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारीले बताउनुभयो । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले पोखरालाई अन्तर्राष्ट्रिय सहरका रुपमा स्थापित गर्ने बताउँदै उहाँले विमानस्थल सञ्चालनसँग जोडिएका अन्य पूर्वाधारको विकास तथा विस्तारमा राज्यको ध्यान जानु जरुरी रहेको बताउनुभयो । पोखरेलीको लामो समयदेखिको सङ्घर्षको प्रतिफलस्वरूप विमानस्थल सञ्चालनको अवस्थामा आउनु पोखरेलीका लागि हर्षको विषय भएको विमानस्थल निर्माणका अभियन्तामध्येका एक विश्वशङ्कर पालिखे बताउनुहुन्छ । अभियन्ता पालिखेका अनुसार विमानस्थलको निर्माणका लागि पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सरोकार समितिले २०६८ देखि सङ्घर्षका कार्यक्रम सुरु गरेको थियो । विमानस्थल निर्माणका लागि पोखरेली जनताको लामो सङ्घर्षको इतिहास जोडिएको उहाँले बताउनुभयो । चार वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ वैशाख १ गते शिलान्यास गर्नुभएको थियो । निर्माणको जिम्मा चिनियाँ निर्माण कम्पनी सिएमसिइले पाएको थियो । करिब तीन हजार ७०० रोपनी क्षेत्रफलमा निर्मित विमानस्थलमा न्यारोबडी एयर बस तीन सय २० र बोइङ सातसय ३५ जहाज उडान र अवतरण गर्न सकिन्छ । यस विमानस्थलमा तीन ठूला र आठ साना गरी ११ वटा जहाज पार्किङ क्षमता रहेको छ । धावन मार्ग दुई हजार पाँचसय मिटरको रहेको विमानस्थलको चौडाइ ४५ मिटर छ । विमानस्थलमा १४ वटा आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल भवन रहेका छन् । विमानस्थलको ९३ प्रतिशत काम सम्पन्न भएपछि गत चैतमा चिनियाँ निर्माण कम्पनीले महत्वपूर्ण पूर्वाधार सकिएको भन्दै नेपाललाई हस्तान्तरण गरेको थियो । तथ्याङ्क अनुसार काठमाडौँ आएका विदेशी पर्यटकमध्ये ४० देखि ४५ प्रतिशत पर्यटक पोखरा आउने गर्दछन् । नेपाल आएकामध्ये करिब ६० प्रतिशत विदेशी पर्यटक मनोरञ्जनका लागि आउने गरेको र ४० देखि ४५ प्रतिशत पोखरा पुग्ने गरेका छन् ।
काठमाडौं: नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् । महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा दलको नेतामा निर्वाचित भएका हुन् । देउवाले ६४ मत पाउँदा गगनले २५ मत पाएका नेता वीरबहादुर बलायरले जानकारी दिए । निर्वाचनमा सबै ८९ जना सांसदहरुले मतदान गरेका थिए । नेपाली कांग्रेस संसदीय दलको निर्वाचनमा सांसद माया राईले अस्पतालबाटै भोट हालेकी छन् । उनी सुत्केरी भएर ओम अस्पतालमा भर्ना भएकी छन् । निर्वाचन समितिका प्रतिनिधिहरु अस्पतालमै पुगेर उनको मत संकलन गरेका थिए । गगन थापालाई नेता शेखर कोइराला, उपाध्यक्ष धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेल लगायतले समर्थन गरेका थिए ।