म्याग्दी:   म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट नम्बर १ (मुख्य सुरुङमा छिर्ने पहुँचमार्ग) मा पहिरो जाँदा आज दुई मजदुरको मृत्यु भएको छ । उक्त घटनामा परी पाँच जना घाइ...

काठमाडौँ:  नेवाः पत्रकारको राष्ट्रिय सङ्गठन नेवाः पत्रकार राष्ट्रिय दबूको अध्यक्षमा पत्रकार नृपेन्द्रलाल श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएका छ । नेवाः पत्रकारको राष्ट्रिय सङ्गठन नेवाः पत्रकार राष्ट्रिय दबूको शनिबार सम्पन्न चौथौँ अधिवेशन तथा दसौँ वार्षिक साधारणसभाबाट श्रेष्ठको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।  दबूको वरिष्ठ उपाध्यक्षमा सुनिल महर्जन, खुला उपाध्यक्षमा सुरेन्द्रभक्त श्रेष्ठ, महिला उपाध्यक्षमा रचना श्रेष्ठ, उपत्यका क्षेत्रबाट प्रतिनिधित्व गर्ने उपाध्यक्षमा सन्दीपकुमार श्रेष्ठ चुनिनुभयो । यसैगरी महासचिवमा कृष्णकाजी (केके) मानन्धर, सचिवमा राजु नापित, कोषाध्यक्षमा बाबुकाजी साँछे श्रेष्ठ, खुला सहसचिवमा प्रजित शाक्य, महिला सहसचिवमा सुनिता महर्जन, उपत्यका क्षेत्रबाट प्रतिनिधित्व गर्ने सहसचिवमा विजयराम कर्माचार्य, सहकोषाध्यक्षमा तेजनारायण महर्जन निर्विरोध निर्वाचित हुनुभयो ।  यस्तै, सदस्यहरूमा रत्नकृष्ण श्रेष्ठ (उपत्यकाबाट), पूर्णभक्त दुवाल, दानदास श्रेष्ठ, अनिता डङ्गोल, अनुप प्रधान, मीरा बज्राचार्य र उत्तमकुमार श्रेष्ठ (गण्डकी प्रदेश) रहनु भएको छ । लेखा समिति संयोजकमा विगेन तुलाधर निर्विरोध निर्वाचित हुनुभयो ।  उद्घाटन समारोहमा उपप्रधान तथा भौतिक तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले समावेशी पत्रकारिताको विकास र मातृभाषाको पत्रकारितालाई विकास गर्नुपर्ने विषयमा राज्यको ध्यान जाने बताउनुभएको थियो । उपप्रधानमन्त्री श्रेष्ठले सोही अवसरमा पत्रकारिता पुरस्कार पाउने पत्रकारलाई नगदसहित सम्मान गर्नुभयो । महाधिवेशनका अवसरमा छ जना पत्रकार पुरस्कृत भएका छन् । अग्रज पत्रकार नरेशवीर शाक्यले ज्ञानदेवी–मणि स्मृति पत्रकारिता पुरस्कार, नेपाल समाचारपत्रकी सरस्वती कर्माचार्यले ज्ञानज्योति–लक्ष्मीप्रभा पुरस्कार प्राप्त गर्नुभयो । सोहीअनुसार नेपाः च्यानलमा आबद्ध अनुशा बज्राचार्यले भिक्षुकुमार काश्यप स्मृति पत्रकारिता पुरस्कार, भक्तपुरका फोटो पत्रकार सुरेश ख्वाखः श्रेष्ठले बाबुराजा ज्यापू फोटो पत्रकारिता पुरस्कार, हेटौँडाका पत्रकार सुरेश श्रेष्ठले श्रीराम स्मृति पत्रकारिता पुरस्कार र काभ्रेका पत्रकार सूर्यप्रसाद लाकोजुले वाङमय शताब्दी पुरुष सत्यमोहन जोशी पत्रकारिता पुरस्कार प्राप्त गर्नुभयो । उपप्रधानमन्त्री श्रेष्ठले दबूको स्मारिका ‘लुमन्ति पौँ’ पनि विमोचन गर्नुभयो । 

कपिलवस्तु:  जिल्लमामा अवैध रुपमा सञ्चालनमा रहेका १५ क्रसर उद्योग बन्द गराइएको छ । गत पुस २० गते गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई मापदण्ड विपरीतका क्रसर उद्योग बन्द गर्न परिपत्र गरेको थियो । जिल्लामा ३३ मध्ये १५ वटा यस्ता उद्योग बन्द गराइएका छन् भने बाँकी १८ वटा पहिलेदेखि नै बन्द अवस्थमा थिए । मन्त्रालयको परिपत्र प्राप्त गरेपछि गत पुस २१ गते जिल्लाका १५ क्रसर उद्योग बन्द गरिएको प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले बताए । ढुङ्गा, गिट्टी र बालुवा उत्खनन बिक्री, तथा व्यवस्थापन मापदण्ड २०७७ विपरित कतिपय क्रसर उद्योग सञ्चालन हुँदै आएका छन् । यस्तै तोकिएको अवधि सकिएर पनि नविकरण नगराएका कपितय कतिपय उद्योग पनि सञ्चालनमा छन् । त्यस्ता उद्योगलाई प्रहरीले स्थलगत अनुगमन र निरीक्षणपछि बन्द गराएको उनले जानकारी दिए । शिवराज नगरपालिकामा रहेको ११ वटा, विजयनगर गाउँपालिकामा रहेको दुई वटा र बुद्धभूमि नगरपालिका तथा कृष्णनगर नगरपालिकामा रहेको एक–एकवटा क्रसर उद्योग बन्द गराइएका हुन् ।

काठमाडौं:  त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मिति तोकेसँगै विद्यार्थी सङ्गठन पनि आन्तरिक तयारीमा जुटेका छन् । एक दशकदेखि हुन थालेको स्ववियु निर्वाचनमा त्रिविले मिति तोकेसँगै विद्यार्थी सङ्गठन आन्तरिक तयारीमा जुटेका हुन् । विद्यार्थी सङ्गठन निर्वाचन केन्द्रीत छलफलमा जुटेका छन् । यही पुस २२ गते बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले आगामी चैत ५ गते स्ववियु निर्वाचन गर्ने निर्णय गरेको थियो । नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पाले स्ववियु निर्वाचन गर्ने त्रिविको निर्णयको स्वागत गर्दै आफूहरु पूर्ण तयारी अवस्थामा रहेको बताए । ‘विगत लामो समयदेखि हुन नसकेको स्ववियु निर्वाचन गर्ने त्रिविको निर्णयको स्वागत गर्दछौं’, उनले भने, ‘अब हाम्रो सङ्गठन स्ववियु निर्वाचनको तयारीमा पूर्ण रुपमा लाग्छ।’ उहाँले विगत लामो समयदेखि हुन नसकेको स्ववियु निर्वाचनले विद्यार्थीको हकअधिकार स्थापित गराउने बताए । उनले त्रिविले स्ववियु कार्यतालिका प्रकाशन गर्नुभन्दा अगाडि सबै विद्यार्थी सङ्गठनसँग छलफल गर्नुपर्ने बताए । अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष पञ्चा सिंहले स्ववियु निर्वाचनको मिति तोक्नु स्वागतयोग्य कार्य रहेको बताइन् । उनले मिति तोकिएसँगै आफ्नो सङ्गठन स्ववियु निर्वाचनको तयारीमा जुटेको बताए । ‘विगत लामो समयदेखि हुन नसकेको स्ववियु निर्वाचनको मिति तोक्नु खुसीको कुरा हो’, उनले भने, ‘अब हामी स्ववियु निर्वाचनको वातावरण बनाउन लाग्छौँ ।’ उनले निर्वाचनले विद्यार्थी आन्दोलनलाई लोकतान्त्रिक बाटोमा डोर्‍याउनेसमेत बताए । अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले निर्णय हुनु स्वागतयोग्य रहेको बताए । उनले कक्षा भर्ना प्रक्रिया र नजिता प्रकाशन सबै कुरालाई व्यवस्थित गरेर निर्वाचन गर्नुपर्ने बताए । अनेरास्ववियुका महासचिव समिक बडालले त्रिविले स्ववियु निर्वाचनको मिति तोकेसँगै आफ्नो सङ्गठन तयारीमा जुटेको बताए । उनले केन्द्रीय पदाधिकारीको बैठक बसी स्ववियु निर्वाचनमा होमिने निर्णय गरेको बताए । ‘नेतृत्व निर्माण गर्ने रुपमा रहेको स्ववियु निर्वाचन गर्ने निर्णयले हामी उत्साही भएका छौँ’, उनले भने, ‘हामी अब हाम्रो आन्तरिक बैठक गरेर निर्वाचनमा होमिन्छौँ।’ यही पुस २१ गते त्रिवि विद्यार्थी कल्याण परिषद्को बैठकले आगामी चैत ५ गते स्ववियु निर्वाचन गर्नका लागि त्रिवि कार्यकारी परिषद्लाई सिफारिस गरेको थियो । त्रिविले स्ववियु निर्वाचन गर्न पटक–पटक पहल गरे पनि हुनसकेको छैन । त्रिवि क्याम्पसमा विगत एक दशकदेखि स्ववियु निर्वाचन हुनसकेको छैन । प्रत्येक दुई–दुई वर्षमा हुने निर्वाचन २०६५ साल यता नियमित हुन सकेको छैन । त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पस रहेका छन्। स्ववियु निर्वाचनमा २८ वर्ष उमेर हदबन्दी र मिश्रित निर्वाचन प्रणाली लागू गरिएको छ ।

चितवन:  देवघाटधाममा लाग्ने माघे सङ्क्रान्ति मेलालाई लक्षित गरी नारायणगढ–मुग्लिन सडक खण्ड दिउँसोको समयमा पनि खुलाइने भएको छ । आउँदो शनिवार ३० गते र माघ १ गते दुई दिन दिउँसोको समयमा सडक खुला गर्न लागिएको चितवनका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार यो दुई दिन दिउँसोको चार घण्टा सडक रोकेर गरिँदै आएको काम स्थगन गरिने छ। तीर्थालुको चाप बढी हुने भएकाले सडक खुला राख्न लागिएको उहाँले जानकारी दिनुभयो । अहिले यो सडक खण्डमा बिहान ११ देखि दिउँसो ३ बजेसम्म गाडी रोकेर पुल निर्माणका लागि भित्तो काट्ने काम भइरहेको छ । देवघाटमा स्नान गर्न विदेशीसहित देशैभरबाट भक्तजन पुग्ने गर्दछन् । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष बद्री अधिकारीका अनुसार पाँच लाखभन्दा बढी भक्तजन आउने अपेक्षा गरिएको छ । गएका वर्षहरूमा कोभिडका कारण आउन नपाएकाहरू यस वर्ष आउने अनुमानका साथ तयारी गरिएको उहाँले बताउनुभयो । देवघाटबाट त्रिशूली वारपार गर्ने झोलुङ्गे पुलको मर्मत गरिसकिएको छ । वेणीमा वारपार गर्न २२ वटा र्‍याफ्टिङको व्यवस्था गरिएको छ । दासढुङ्गामा पक्की पुल भएकाले देवघाटको वेणीमा स्नान र दर्शन गर्न चाहनेलाई त्यही पुल प्रयोग गर्न आह्वान गरिएको छ । यसका कारण झोलुङ्गे पुल र डुङ्गाको चाप घट्ने अनुमान छ । समितिले एक सय ५१ सदस्यीय मूल समिति र उपसमिति निर्माण गरेर काम गरिरहेको छ । मुख्यरूपमा स्नान गर्न आउनेहरू पानीमा डुब्न सक्ने भएकाले नेपाली सेना, नेपाल प्रहरी र क्षेत्र विकास समितिले तयार गरेका उद्धार टोली तयारी अवस्थामा राखिँदै छ । विद्युत्, खानेपानी, यातायात, पार्किङ, शौचालयलगायतलाई व्यवस्थित गर्न विभिन्न उपसमिति बनेका छन् । गाडीको अत्यधिक चाप हुने भएकाले पुस ३० गते बेलुकादेखि माघ १ गते बेलुकासम्म देवघाट आवतजावतका लागि एकतर्फी बाटो तय गरिएको छ । देवघाट जानेहरूलाई रामनगर हुँदै जानुपर्ने छ भने फर्किँदा आँपटारीको बाटो प्रयोग गर्नुपर्ने छ । दासढुङ्गाको पुलतर्फबाट भने जाने आउने दुवै सुविधा रहने छ ।पुस मसान्तको बिहान त्रिवेणीमा बाँसको लिङ्गो गाडी पूजा गरेर मकर सङ्क्रान्ति मेलाको शुभारम्भ गरिने छ । मकर मेलामा देवघाटमा स्नान गरेरमा पुण्य प्राप्ति हुने जनविश्वास रहिआएको छ ।

काठमाडौँ:  प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँग नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेट गर्नुभएको छ ।  आइतबार सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र)को संसदीय दलको कार्यालयमा प्रधानमन्त्री प्रचण्डसँग दुई शीर्ष नेताहरूले भेट गर्नुभएको हो । भेटपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहनुभएको प्रधानमन्त्री प्रचण्डले भेटमा दुई राजनीतिक दलहरू सकारात्मक रहेको र विश्वासको मत दिनेमा विश्वस्त रहेको बताउनुभयो । उहाँले छलफलमा विश्वासको मत लिने बारेमा नै छलफल भएको र दुई नेताहरू सकारात्मक रहेको बताउनुभयो । त्यस्तै, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने बारेमा छलफल चलिरहेको र पुनः छलफल हुने बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदै हुनुहुन्छ । 

पोखरा:  कपडा व्यवसायी एसोसिएसन कास्कीको अध्यक्षमा गजेन्द्रमान श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । शनिवार सम्पन्न एसोसिएसनको २१ औँ साधारण सभा तथा ११ औँ अधिवेशनले श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । यस्तै वरिष्ठ उपाध्यक्षमा लेखनाथ पौडेल, उपाध्यक्षमा रामचन्द्र तिमिल्सीना, महासचिवमा चोक बहादुर गुरुङ, सचिवमा पूर्ण बहादुर थापा र कोषाध्यक्षमा सुदर्शन बाटाजुलाई सर्वसम्मत चयन भएका छन् ।  एसोसिएसनको सदस्यहरूमा रजनी चापागाईँ, ममता गुरुङ, दीपेन्द्रराज आचार्य, मीनराज तिमिल्सीना, नारायण प्रसाद अधिकारी चयन भएका छन् । शनिवार नै बसेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले रोशन आचार्य र वीरेन्द्र आचार्यलाई सदस्यमा मनोनीत गरेको छ भने, बाबुलाल अग्रवाल र विकास भालोटियालाई आमन्त्रित सदस्यमा चयन गर्ने निर्णय समेत गरेको छ ।  यसअघि एसोसिएसनको २१ औँ साधारण सभा एवं ११ औँ अधिवेशनको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले व्यवसायीका समस्याहरू प्रति आफू जानकार रहेको बताए  । पोखरा महानगरपालिकाले यसअघि रहेको करको दरलाई घटाएको र व्यवसायमैत्री नीतिहरूको अवलम्बन गरेको उनले बताए । उनले भने, ‘व्यवसायीका समस्याहरू प्रति म जानकार नै छु, त्यस हिसाबले पनि यहाँलाई थाहा नै होला, हामीले सम्पत्ति कर घटाएका छौँ, व्यवसाय कर घटाएका छौँ, विज्ञापन कर खारेज गरेका छौँ, पार्किङ शुल्क खारेज गरेका छौँ, यद्यपि पार्किङ विषयमा थप व्यवस्थापन गर्न बाँकी छ ।’  महानगरपालिकाको क्षेत्राधिकार भित्र पर्ने व्यवसायीतक समस्याहरूको समाधानका लागि पोखरा महानगरपालिका प्रतिबद्ध रहेको प्रमुख आचार्यले बताए । ‘हामीले अर्को ठुलो काम पनि गरेका छौँ, घर बहाल करको दरमा धेरै घटाइएको छ, १५ प्रतिशतबाट व्यक्तिको हकमा ४ प्रतिशत र व्यवसायीको हकमा ५ प्रतिशतमा घटाइएका छौँ । प्रमुख आचार्यले भने, ४ प्रतिशतमा झर्दा पनि घरधनीहरूले तिर्दैनन् भने त्यो कारबाहीका लागि योग्य हुन्छ ।’ घर बहालमा बस्नेले नै तिर्नु पर्ने अवस्थाको अन्त्यका लागि पोखरा महानगरपालिका सचेत रहेको उनले बताए । घर बहालका सम्बन्धमा दुई थरी खाता राख्ने प्रवृत्तिको अन्त्य जरुरी रहेको उनले बताए ।  कार्यक्रममा मादी गाउँपालिका वडा नं।४ का वडा अध्यक्ष शिव प्रसाद सापकोटा, पोखरा उद्योग वाणिज्य सङ्घका कार्यसमिति सदस्य सुदि ओझा, पोखरा चेम्बर अफ कमर्सका अध्यक्ष यमनाथ तिमिल्सीना र साँघु मुख महेन्द्र पुल बजार समितिका अध्यक्ष नवराज कोइराला लगायतले बोलेका थिए ।  रजत उत्सव समेत मनाएको एसोसिएसनले सो अवसरमा विभिन्न सम्मानहरू समेत प्रदान गरेको छ । पुराना व्यवसायी सम्मान सिलसिला इम्पोरियमका प्रोप्राइटर ध्रुव बाटाजु, महिला उद्यमी सम्मान रजनी चापागाईँ र कपडा पत्रकारिता पुरस्कार युवा पत्रकार भीम थापालाई प्रदान गरिएको छ । एक दशक लामो समयदेखि पोखराको पत्रकारितामा क्रियाशील पत्रकार थापालाई नगद रु।११ हजार १ सय ११ सहित सम्मान पत्र र दोसल्ला प्रदान गरिएको हो ।  एसोसिएसनका अध्यक्ष विष्णु प्रसाद तिमिल्सीनाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत संस्थापक अध्यक्ष रामजी प्रसाद बास्तोला, धन्यवाद ज्ञापन निवर्तमान अध्यक्ष नवीन नापित र सञ्चालन महासचिव धर्ममान सिंह भण्डारीले गरेका थिए ।   

पोखरा:  पोखरा महानगरपालिका वडा नं १९ ले वडा भित्रका दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबास गरेका परिवारलाई जग्गा धनी दर्ताको निस्शा वितरण शुरु गरेको छ। राष्ट्रिय भुमि आयोगको निर्देशिको अनुसुची ६को प्रयोजनको लागि  सुकुम्बासी समस्या समाधान आयोगको सिफारिस अनुसार त्यस वडाका ३ सय ८ परिवारलाई निस्सा वितरण शुरु गरिएको वडा सचिव श्रीराम पौडेलले जानकारी दिनुभयो। वडा कार्यालयले आयोजना गरेको एक कार्यक्रमकाबीच वडाध्यक्ष पुष्पेन्द् पाण्डेले निस्सा वितरण कार्यको थालनी गर्नुभएको हो। कार्यक्रममा बोल्दै वडाध्यक्ष पाण्डेले सरकारले शुरु गरेको अभियानलाई सार्थक बनाउनु पर्नेमा जोड दिनुभयो। उहाँले पोखरा १९ मा कोही पनि भुमि हिन हुनुपर्ने अवस्था नआउने गरी आफुहरुले काम गर्ने बताउनुभयो। कार्यक्रममा एमाले पोखरा १९ का सचिव विकास गौतम, नेपाली कांग्रेसका विष्णु प्रसाद बास्तोला, वडा कार्यालयका सुर्य बहादुर नेपाली , वडा सदस्य दुर्गा देवी बस्नेत, विकास आचार्य, वडा सदस्य कल्पना सुनार लगायतले मन्तव्य राखेका थिए। कार्यक्रमको सञ्चालन सचिव श्रीराम पौडेलले गर्नुभएको थियो। उक्त वडामा ३०८ जना भुमि हिन  दलित, भुमि हिन सुकुम्बासी,  र अव्यवस्थित बसोबास गरेका छन्। कार्यक्रममा निस्सा प्राप्त गरेकाले अव छिट्टै जग्गा धनी प्रमाण पुर्जा पाउने विस्वास व्यक्त गरेका छन्।

पोखरा:  अम्विका भागवत् फाउण्डेशन नेपालको तेस्रो साधारण सभा तथा सम्मान अर्पण कार्यक्रम सम्पन्न भएको छ ।  कार्यक्रमको उद्घाटन गर्दै नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले संस्थालाई दिगो बनाउँनका लागि साधनस्रोत, अर्थ र जनशक्ति आवश्यकता रहेको बताउनुभयो । उहाँले फाउण्डेशनेले छोटो समयमा महत्वपूर्ण कार्य गरेकोमा खुसी व्यक्त गर्नुभयो । साथै संस्थालाई सफल बनाउनका लागि तन, मन, बचन र कर्मले लागि पर्नुपर्नेमा उहाँको जोड थियो । फाउण्डेशनले गर्दै आएको शान्ति मावि जुम्लेटीको कार्यक्रममा नेलम्बो नेपालले सहकार्य गर्ने घोषण समेत उहाँले गर्नुभयो ।  कार्यक्रममा मानार्थ सदस्यबाट सम्मानित व्यक्तित्व कुसुमकेशब पराजुलीले संस्थाले गरेका कामको खुलेर प्रशंसा गर्नुभयो । उहाँले संस्थासँग सहकार्य गरेर कार्य गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । पोखरा महानगरपालिका वडा नम्वर ९ का वडा अध्यक्ष दिपेन्द्र मर्सानीले सहकार्य गरेर कार्यक्रम गर्न सकिने बताउनुभयो । संस्थाका संरक्षक अम्विका नेपाल, रेडियो सफलताका प्रवन्ध निर्देशक दुर्गा अधिकारी, डाँफे मनास्लु कृषि फार्मका अध्यक्ष दावा कुमार लामा, संस्थाका उपाध्यक्ष अम्विका भण्डारी, बाल सदस्य निश्चल श्रेष्ठ लगायतले बोल्नुभएको थियो ।  फाउण्डेशनका अध्यक्ष भागवत् नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव देवी श्रेष्ठ गर्नुभएको थियो । कार्यक्रममा प्रगति प्रतिवेदन सचिव देवी श्रेष्ठ र आर्थिक प्रतिवेदन कोषाध्यक्ष माधवी नेपाल प्रस्तुत गर्नुभएको थियो । शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको संस्थाले शान्ति मावि जुम्लेटी, आनन्द ज्योती मावि बेगनास र वह्म ज्योति आधारभूत विद्यालय भरतपोखरी गरी १ सय २२ जना विद्यार्थीलाई अध्ययनका लागि सहायत गर्दै आएको छ ।  

काठमाडौं: राष्ट्रिय सभा उपनिर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता गर्न आह्वान गरेको छ । लुम्बिनी प्रदेश सभाबाट राष्ट्रिय सभामा रिक्त भएको स्थानमा आगामी माघ २५ गते हुन लागेको निर्वाचनका लागि आयोगले दल दर्ता आह्वान गरेको हो । तत्कालीन राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि उक्त स्थान रिक्त भएको थियो । सोही ठाउँमा हुने निर्वाचनका लागि यही पुस २८ गतेभित्र दल दर्ता गर्न आयोगले सूचना जारी गरेको छ । नेकपा एमालेका नेता भट्टराईले रुपन्देही(५ बाट चुनाव लड्न राष्ट्रिय सभा सदस्यबाट राजीनामा दिएका थिए । तर उनी उम्मेदवार बनेनन् ।