मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का वडाध्यक्ष डुकके विष्टको ७५ वर्षको उमेरमा निधन भएको छ ।   लामो समयदेखि पेटसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष विष्टको उपचारका क्रममा काठमाडौँमा निधन भएको गाउँपा...

काठमाडौं:  राष्ट्रपति निर्वाचनबारे छलफल गर्न नेकपा (माओवादी केन्द्र) को बैठक बस्ने भएको छ।   अपरान्ह साढे ४ बजे पार्टी केन्द्रीय कार्यालाय पेरिसडाँडामा बस्ने बैठकमा अहिलेसम्म भएका वार्ता र छलफलबारे रिपोर्टिङ हुने पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले बताए।   ‘अहिलेसम्म भइरहेका छलफलबारे रिपोर्टिङ हुन्छ। अब कसरी अघि बढ्ने भनेर म्यान्डेट लिने काम हुन्छ होला,’ उनले भने।   अहिले प्रधानमन्त्री प्रचण्ड पोखरामा छन्। पोखरा विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन उनी पोखरा गएका हुन्। पोखराबाट फर्किएपछि माओवादी केन्द्रको पदाधिकारी बैठक बस्नेछ।   राष्ट्रपति निर्वाचनलाई लिएर सत्ता साझेदार दल माओवादी केन्द्र र नेकपा एमालेका नेताहरूको भिन्न मत छ।   नेकपा माओवादी केन्द्रले सहमतिको आधारमा राष्ट्रपति चयन गर्नुपर्ने अडान लिएको छ। उसले सहमति नभए एमालेलाई साथ दिन नसक्ने स्पष्ट पारेको छ।   एमालेले भने आफ्नो उम्मेदवार बाहेकमा सहमति हुन नसक्ने अडान राखेको छ।

काठमाडौं:  भारत सरकारले दुई सय वटा मिर्गौला डायलाईसिस मेसिन नेपाल सरकारलाई सहयोग स्वरुप उपलब्ध गराएको छ ।   सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक समारोहका बीच स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीलाई नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले सो मेसिन हस्तान्तरण गरेका हुन् ।     करिब एक वर्षअघि नेपाल सरकारले भारत सरकारसमक्ष सो मेसिन उपलब्ध गराउन अनुरोध गरेको थियो । समारोहमा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री गिरीले सो मेसिन उपलब्ध गराएकोमा भारत सरकारप्रति आभार व्यक्त गरे । उक्त अवसरमा उनले २०७२ सालमा गएको विनाशकारी भूकम्प र कोभिड संकटका बेला पनि भारत सरकारले गरेको मानवीय सहयोग नेपाल राष्ट्र र नेपाली जनताले सदास्मरण गरिरहने उल्लेख गरे ।   मन्त्री गिरीले नेपाल–भारतबीचको सम्बन्ध आर्थिक तथा सामाजिक रुपले घनिष्ट रहँदै आएको ऐतिहासिक तथ्यलाई भूल्न नसकिने पनि बताए ।   उनले भने, ‘दुई मुलुकबीच आर्थिक, सामाजिक सबै रुपले घनिष्ट सम्बन्ध छ । यो हाम्रो ऐतिहासिक पक्ष हो । भूकम्प र भोभिडको समयमा पनि भारत सरकारबाट जुन खालको सहयोग भयो । त्यो अत्यन्तै उल्लेखनीय छ । महत्वपूर्ण छ । यो कुरा नेपाली जनताले सधैंभरी सम्झनयोग्य छ । म यसका लागि भारतीय राजदुतावासमार्फत् भारत सरकार र भारतीय जनतालाई धन्यवाद दिन चाहन्छु । कृतज्ञता पनि व्यक्त गर्न चाहन्छु । स्वास्थ्य क्षेत्रमा पनि थप सहकार्य गरेर अघि बढने विश्वास दिलाउन चाहन्छु ।’   नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले नेपाली जनताको स्वास्थ्य अवस्थामा सुधार ल्याउने गरी नेपाल सरकारलाई सो मेसिन हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताए । उनले नेपालसँगको मित्रतापूर्ण सम्बन्ध र विकास साझेदारीको कामलाई तीव्रताका साथ अघि बढाउन भारत सरकार सदैव अग्रसर रहेको र रहिरहने प्रतिवद्धता समेत व्यक्त गरे ।   नेपालको स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा पनि भारतले सक्दो सहयोग गर्ने उनको भनाई थियो । राजदूत श्रीवास्तवले भने, ‘करिव एक वर्ष अघि नेपाल सरकारको तर्फबाट २ सय मृर्गौला डायलाईसिस मेशिनका लागि भारत सरकारलाई अनुरोध गरिएको थियो । सोही अनुसार मेसिन हस्तान्तरण गर्न पाउँदा खुशी लागेको छ । हामी नेपालको स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा पनि सहयोग गर्नेछौं ।’   नेपालको विकासको सबै क्षेत्रमा भारत सरकार सदैव मिलेर काम गर्दै आएको छ । नेपालको ट्रमा सेन्टर निर्माण, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणमा सहयोग भारत सरकारले गरेको छ ।   भूकम्पका बेला १३२ वटा हेल्थ पोष्ट निर्माणमा पनि भारतले सहयोग गरेको छ । कोभिड भ्याक्सिनमा पनि भारतले नेपाललाई सहयोग गरेको छ । भारत सरकारको तर्फबाट एक असल छिमेकीको तर्फबाट नेपालसँगको मित्रतापूर्ण सम्बन्ध र विकासका लागि सधैं अग्रसर रहनेछ ।’   भारतले कोभिड संकटका बेला मात्रै पनि १३२ वटा हेल्थ पोष्ट निर्माणमा आर्थिक सहयोग तथा कोभिड भ्याक्सिनसहितका स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको थियो ।

पोखरा:   पोखरा रिसर्च सेन्टरले सञ्चालन गरेको गण्डकी प्रदेशमा युथ इन पोलिसी एन्ड गभरनेन्स (वाइपिजी) फेलोसिप कार्यक्रम अन्तर्गत क्याम्प २ भएको छ । नेसनल इन्डोमेन्ट फर डेमोक्रेसीको सहयोगमा रिसर्च सेन्टरले सञ्चालन गरेको उक्त कार्यक्रम अन्तर्गत ४ दिने क्याम्प २ आइतबार सकिएको हो । २० देखि ३० वर्षका युवालाई कानुन तथा सार्वजनिक नीति निर्माणमा सहभागी गराउने उद्देश्यसँगै सञ्चालन गरिएको उक्त क्याम्प २ मा २६ युवायुवती सहभागी थिए । यसअघि रिसर्च सेन्टरले पुस ७ सम्मको मिति राखेर आवेदन दिन आग्रह गरेको थियो ।  आवेदकमध्येबाट पहिलो चरणमा ५० जना छनोट गरी गत माघमा पहिलो क्याम्प सञ्चालन भएको थियो । उक्त क्याम्पबाट २६ जनालाई छनोट गरी दोस्रो क्याम्पमा पठाइएको हो । अब रिसर्च सेन्टरले २६ जनाबाट १२ जनालाई अर्को राउन्डमा छनोट गर्नेछ । त्यसपश्चात् १२ जनालाई वाइपिजी फेलोको रुपमा गण्डकी प्रदेश सभाका सदस्यसँग ज्ञान सहायक भई ६ महिना काम गर्ने अवसर प्रदान गरिने रिसर्च सेन्टरका ‘एक्जुकेटिभ डाइरेक्टर’ सुजन रेग्मीले बताए ।  सामाजिक नीति नियम र सुशासनमा रुचि राख्ने २०-३० वर्षका गण्डकी प्रदेशमा बसोबास गरिरहेका २ सय ५० जना युवायुुवती यसका लागि आवेदन दिएका थिए । युथ इन पोलिसी एन्ड गभरनेन्स (वाइपिजी) अन्तर्गत रिसर्च सेन्टरले प्रदेश १, कर्णाली प्रदेशमा समेत कार्यक्रममा सञ्चालन गरिसकेको छ । गण्डकी प्रदेशमा यसअघि २ पटक यो कार्यक्रम सञ्चालन भइसकेको छ । 

काठमाडौं:   ग्यास सिलिण्डरबाट ग्यास चुहिएर कोठामा आगो लाग्दा जलेर गम्भीर घाइते हुनुभएका नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीको प्लाटिलेट्सको मात्रा बढेको छ ।   नेता भण्डारीको उपचारमा संलग्न चिकित्सक डा. मुकेश मिश्रा र डा. सिद्धार्थ केशवानीले प्लाटिलेट्सको मात्रा बढेको र पिसाबको मात्रा सामान्य रहेको जानकारी दिनुभएको कांग्रेस नेता योगराज कँडेलले बताउनुभयो ।    यसैगरी, एक्सरेकाे तल्लो भागमा हल्का अस्पष्ट रहेको छ भने ज्वरो नरहेको पनि चिकित्सकले जनाएको छ । साथै नेता भण्डारीको सबै अङ्गहरुले सामान्य काम गरिरहेको र कृत्रिम अक्सिजन बन्द गरी परीक्षण गरिएको कांग्रेस नेता कँडेलले बताउनुभयो ।   ग्यास चुहिएर भएको आगलागीबाट घाइते भएका सांसद भण्डारीको भारतको मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा उपचार भइरहेको छ । गत शुक्रबार दिउँसो भण्डारीको दुवै खुट्टाको शल्यक्रिया गरिएको थियो । सांसद भण्डारीलाई गत बिहीबार दिउँसो श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत मुम्बई लगिएको थियो ।   काठमाडौंको बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बजे ग्यास सिलिण्डर विस्फोट हुँदा भण्डारी र उहाँकी आमा जलेर घाइते हुनुभएको थियो । उहाँलाई बुधबार राति नै कीर्तिपुर अस्पताल लगिएको थियो । सांसद भण्डारीकी ८६ वर्षीया आमा हरिकला भण्डारीको भने बिहीबार बिहान उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको छ ।

वालिङ:  स्याङ्जाको वालिङमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जगतभन्ज्याङबाट मिर्दीतर्फ आउँदै गरेको ग १ त ६८८६ नम्बरको ट्याक्टर वालिङ–६ को आम्डालीमा दुर्घटना भएको हो ।   दुर्घटनामा परी गम्भीर घाइते भएका चालक चापाकोट–२ का नविन सुनार र वालिङ–८ का १४ वर्षका सोविन विकको उपचारका क्रममा ज्यान गएको हो ।   आइतबार राति ढुङ्गा बोकेको ट्याक्टर अनियन्त्रित भई सडकबाट १५ मिटर तल झरेर दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरिक्षक रविन्द्र खनालले जानकारी दिनुभयो । चालक नविनको उपचारका क्रममा वालिङ अस्पतालमा र सहचालक विकको पोखरामा मृत्यु भएको प्रहरीको भनाइ छ ।

   म्याग्दीः  म्याग्दीको मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौरमा ‘मङ्गलाइन्द्रेणी उद्यान’ निर्माण गरिएको छ । मङ्गला–२ बाबियाचौर निवासी समाजसेवी इन्द्रबहादुर अधिकारीको परिवारले निःशुल्क उपलब्ध गराउनुभएको जग्गामा गाउँपालिका, गण्डकी प्रदेश सरकार र डिभिजन वन कार्यालयसमेतको रु एक करोड लागतमा बहुउद्देश्यीय उद्यान निर्माण गरिएको हो ।  आइतबार एक समारोहका बीच उक्त उद्यानको गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, उपाध्यक्ष प्रेमकुमारी क्षेत्री र जग्गादाता अधिकारीले शुभारम्भ गर्नुभएको छ । आर्थिक वर्ष २०७५÷०७६ मा सुरु गरिएको उद्यानको निर्माण सकिएपछि औपचारिकरुपमा शुभारम्भ गरिएको हो  । उद्यानमा सङ्ग्रहालय, खानेपानी, गार्डेन, बालउद्यान, ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र, शौचालयलगायतका पूर्वाधार निर्माण गरिएको छ । गाउँपालिकाको केन्द्रमा आउने पर्यटकको आकर्षण र स्थानीय बालबालिका, युवायुवती र ज्येष्ठ नागरिकको फुर्सदको समयलाई उचित सदुपयोगका लागि उद्यान सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष रोकाले बताउनुभयो । “बजारमा शान्त वातावरणमा बालबालिकादेखि वृद्धवृद्धासम्मलाई एकै ठाउँमा रमाउने थलोको रुपमा उद्यान बनाएका हौँ, यसलाई अझै सौन्दर्यकरण गर्दै लैजाने हाम्रो योजना छ”, उहाँले भन्नुभयो । उद्यानको विभिन्न भागमा रेलिङ र सिँढी बनाइएको छ । शारीरिक व्यायामका लागि रनिङ स्पट बनाइएको छ । स्थानीय मौलिक संस्कृति र परम्परागत सामग्रीको संरक्षणका लागि सङ्ग्रहालयसमेत स्थापना गरिएको छ । उद्यान बनाउन समाजसेवी इन्द्रबहादुर अधिकारीको परिवारले तीन रोपनी, १५ आना, तीन पैसा दुई दाम क्षेत्रफलको जग्गा निःशुल्क उपलब्ध गराउनुभएको हो ।  त्यसैगरी थप पाँचआना क्षेत्रफलको जग्गा खरिद गर्न गाउँपालिका अध्यक्ष रोकाले रु एक लाख र मङ्गला युवा क्लबले रु दुई लाख आर्थिक सहयोग गर्नुभएको थियो । आइतबार उद्यान शुभारम्भका अवसरमा जग्गा दाता र सहयोग दातालाई सम्मानसमेत गरिएको थियो । बाजागाजासहित बाबियाचौर बजार परिक्रमापश्चात् उद्यानमा आयोजित समारोहमा जग्गदाता अधिकारीको परिवारसँगै जग्गा खरिदमा सहयोग गर्ने गाउँपालिका अध्यक्ष रोका र मङ्गला युवा क्लबका पदाधिकारीलाई दोसल्ला र सम्मानपत्र प्रदान गरिएको थियो । आफू जन्मेर हुर्केको ठाउँमा दीर्घकालीन उपयोगका लागि जग्गाको आवश्यकता परेपछि समग्र मङ्गलाको समृद्धिमा सघाउने उद्देश्यले आर्थिकरुपमा महँगो पर्ने जग्गालाई आफूहरुले निःशुल्क दान गरेको जग्गादाता अधिकारीले बताउनुभयो ।  “हामीले यहाँको विकासका लागि यो जग्गा निःशुल्क दान गरेका हौँ, खोलाको किनारको जग्गामा आज उद्यान स्थापना भएको छ, यसले दीर्घकालीनरुपमा मङ्गला गाउँपालिकाको विकासमा रचनात्मक सहयोग पुग्ने हामीले विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो । उद्यान निर्माण गर्न डिभिजन वन कार्यालयले रु १८ लाख, गण्डकी प्रदेश सरकारबाट सङ्ग्रहालय भवन बनाउन रु १६ लाख र ज्येष्ठ नागरिक आश्रयस्थलको लागि रु सात लाख बजेट उपलब्ध गराएका थिए । उद्यानको जग्गा व्यवस्थापनदेखि पूर्वाधार निर्माण र सङ्ग्रहालय भवनलाई पूर्णता दिन गाउँपालिकाले करिब रु ६० लाख बढी लगानी गरेको जनाइएको छ ।  उद्यानलाई निःशुल्क जग्गादाता अधिकारीको सम्मानमा उद्यान परिसरमा अर्धकदको सालिक बनाइएको छ भने सङ्ग्रहालयको नाम ‘मङ्गला खड्ग नन्द सङ्ग्रहालय’नामकरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पूर्णबहादुर खत्रीले जानकारी दिनुभयो । म्याग्दी नदी किनारमा निर्माण भएको उद्यान स्वच्छ र शान्त वातावरणसहित बालबच्चादेखि वृद्धवृद्धासम्म सबैलाई मनोरञ्जन र आनन्दको महसुस हुने गरी निर्माण गरिएको छ ।  उद्यानलाई हरियाली र आकर्षक बनाउन खण्ड खण्ड बनाएर विभिन्न प्रजातिका फूल रोपिएको छ भने बाह्रैमास हरियो हुने दुबो पनि सारिएको छ । उद्यान सञ्चालनमा आएसँगै मङ्गलामा आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको गाउँपालिकाका उपाध्यक्ष प्रेमकुमारी क्षेत्रीले जानकारी दिनुभयो ।

काठमाडौं : पूर्वस्वास्थ्यमन्त्री डाक्टर मथुराप्रसाद श्रेष्ठको ८८ वर्षको उमेरमा निधन भएको छ। श्रेष्ठको उपचारका क्रममा आज बिहान सवा ४ बजे अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।   उनी २०४६ सालको आन्दोलन पछाडि बनेको सरकारमा स्वास्थ्यमन्त्री भएका थिए। पछिल्लो समय उनी मानवअधिकार क्षेत्रमा सक्रिय थिए।   पारिवारिक स्रोत अनुसार उनका छोराछोरी विदेशमा रहेकाले मंगलबार ९ बजेपछि पशुपति आर्यघाटमा दाह संस्कार गरिनेछ। उनको पार्थिव शरीरलाई अन्नपूर्ण न्यूरो अस्पतालबाट शिक्षण अस्पतालको शवगृहमा लैजाने तयारी गरिएको छ। 

अर्घाखाँची :लुम्बिनी प्रदेशका खानेपानी ग्रामीण तथा सहरी विकासमन्त्री चेतनारायण आचार्यले  प्रदेशका सबै घरधुरीमा खानेपानीका धारा निर्माण गर्ने गरी काम अगाडि बढेको बताएका छन् ।   सन्धिखर्कमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री आचार्यले पाँच वर्षभित्रमा  प्रदेशका सबै घरधुरीमा खानेपानीको विस्तार गर्ने गरि काम अगाडि बढाउने  बताए ।   सरकारले बढ्दो खानेपानीको माग सम्बोधनमा देखिएका चुनौतीको व्यवस्थापन सहकार्यका लागि सबै क्षेत्रसँग सहकार्य गरेर काम गर्ने बताए ।   आवश्यताको आधारमा विभिन्न मापदण्ड तयार पारेर सबैको घर-घरमा खानेपानीका योजना सम्पन्न गर्ने योजनाका साथ  जिल्लामा थालनी गरेका कामलाई निरन्तरता दिँदै अधुरा कामलाई पनि क्रमश अगाडि बढाउने मन्त्री आचार्यको भनाइ छ ।   जिल्लामा बढ्दो बसाइसराइ रोक्नका लागि शिक्षा र स्वास्थ्यमा गुणस्तरीय पहुँच पुराउने गरी काम अगाडि बढाउनुपर्ने बताए । 

चरिकोट:  प्रचारप्रसारका लागि दोलखाको सैलुङ गाउँपालिका–८ झोर गाउँका बासिन्दाले पाहुनाहरूलाई काउलीको पातको गुन्द्रुक उपहार पठाउने गरेका छन् । मेहनती किसानहरूको गाउँ झोर काउली र आलु खेतीमा अब्बल रहेको छ । यो गाउँको प्रत्येक घरमा काउलीको पातको गुन्द्रुक बन्ने गरेको स्थानीय किसान दिनेश श्रेष्ठले बताउनु भयो ।    उत्पादित गुन्द्रुक अहिले घरमा खाने र पाहुनाहरूलाई उपहारको रूपमा दिने गरिएको छ । उहाँले भन्नु भयो, आगामी वर्षदेखि व्यावसायिक रूपमा गुन्द्रुक बनाउने सोच पलाएको छ । गुन्द्रुक राष्ट्रिय तरकारी भनिन्छ तर फैलावट हुन सकेको छैन । ठूल्ठूला तारे होटेलमा हाम्रो सम्पर्क हुन नसक्दा बजार अभाव देखिएको छ ।    उहाँले भन्नुभयो, काउलीको पातको स्वादिष्ट गुन्द्रुकको बिक्री वितरण सुरु भई नसकेको भए पनि घरमा खाने र काठमाडौँ तथा पोखरातिर उपहारको रूपमा पठाउने गरिएको छ । ढुवानीको असुविधाले माग आएको पनि छैन । अब व्यावसायिक बनेर गुन्द्रुक बिक्री वितरण गर्ने सोच आएको छ ।    करिब  १४० घरधुरी रहेको झोर गाउँमा प्रत्येक घरले काउलीको पातको गुन्द्रुक उपहारको रूपमा आफन्तलाई पठाउन र कहिलेकाहीँ घरमा आफै खान भनेर ८÷१० केजीसम्म बनाएर राख्ने गरेका छन् । सविन श्रेष्ठले भन्नु भयो, गुन्द्रुक प्रतिकिलो दुई सय रुपियाँसम्म पाउन थाले सबै व्यावसायिक बन्छन् ।    यति मिठो र स्वादिलो गुन्द्रुक बन्ने काउलीका पातहरू गाई भैँसीले खाइसक्दैनन् । खेर गइरहेको छ । किसान लालबहादुर श्रेष्ठले भन्नुभयो,  झोर गाउँका किसानहरूले प्रत्येकले कम्तीमा पनि २० रोपनीमा आलु र काउली लगाउने गरेका छन् । वार्षिक एक करोडसम्मको काउली र एक करोडकै आलु बिक्री वितरण गर्दै आएका छन् । आलु र काउली बिक्रीबाट एउटा परिवारले मासिक ७० हजारसम्म र वार्षिक ४÷५ लाखसम्म आम्दानी गर्दै आएको स्थानीय किसानहरूको भनाइ छ ।   काउली बिक्री गर्दा ठुला पातहरू छाँट्नुपर्ने भएकाले त्यसको उपयोगिताको लागि गुन्द्रुक बनाउने गरिएको हो । काउलीको पातको गुन्द्रुक स्वादिलो हुने भएकोले आफन्तले रुचाउने गरेका किसान दिनेशले बताउनुभयो ।    प्रचारप्रसार होस् भनेर  पनि झोर गाउँबाट काठमाडौँ, पोखरालगायतका ठाउँमा रहेका आफन्तलाई यो गुन्द्रुक उपहारको रूपमा पठाउने गरिएको छ । यसको माग राम्रो रहेकाले अब व्यावसायिक उत्पादन गर्नुपर्ने निष्कर्षमा पुगिएको उहाँले बताउनुभयो ।    यो गाउँमा वर्षमा एक पटक आलु र एक पटक काउली उत्पादन हुन्छ । उत्पादित वस्तु काठमाडौँ कालीमाटी र बल्खु लाने गरिएको छ । यातायातको सुविधा भए ढुवानीमा सरल आई मनग्गे आम्दानी हुने स्थानीयहरू बताउँछन् ।    वडाध्यक्ष मानबहादुर तामाङले झोरका किसानहरूले गुन्द्रुक उत्पादनका लागि सहयोग गर्न गाउँपालिकालाई अहिलेसम्म आग्रह नगरेको उल्लेख गर्दै त्यस्तो माग आयो भने गाउँसभामा निर्णय गरेर पालिकातर्फबाट केही सहयोग गर्न सकिने बताउनु भयो ।