काठमाडौं: नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेपालका लागि अमेरिकी राजदूत डी.आर. थम्प्सनले बधाई दिएका छन् । उनले आज बिहान सामाजिक सन्जाल ट्वीटरमार्फत् प्रचण्डलाई बधाई दिएका हुन् । उनले लेखेका छन्, ‘प्रधानमन्त्री नियुक्त भएकोमा प्रचण्डलाई हार्दिक बधाई । प्रजातन्त्र, मानवअधिकार र आर्थिक समृद्धिका लागि ७५ वर्ष लामो द्विपक्षीय सम्बन्ध थप प्रगाढ हुने अपेक्षा छ ।’ हालसालै नियुक्त भएका राजदूत थम्प्सनले निर्वाचन सम्पन्न भएलगत्तै राजनीतिक दलका नेताहरुसँग बाक्लो भेटघाट गरेका थिए । भेटका क्रममा उनले सत्ता समीकरणका विषयमा चासो राखेका थिए । प्रचण्डलाई प्रधानमन्त्री बनेकोमा भारत र चीनले आइतबार नै बधाई दिएका थिए ।
काठमाडौँ: चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा १२ हजार २८४ विभिन्न विद्युतीय सवारीसाधन आयात भएका छन् । भन्सार विभागले तयार पारेको गत साउनदेखि मङ्सिरसम्मको तथ्याङ्कअनुसार पाँच अर्ब ५८ करोड ६४ लाख रुपियाँ मूल्यका ठूला बसदेखि विद्युतीय साइकलसम्म आयात भएको हो । सरकारले गत वैशाखदेखि नै पेट्रोलियमका चारपाङ्ग्रे सबै र १५० सीसी क्षमताभन्दा माथिका मोटरसाइकल आयातमा रोक लगाएको थियो । चालू आर्थिक वर्षको बजेट वक्तव्यमार्पmत विद्युतीय सवारीसाधनमा सरकारले कर छुट उपलब्ध पनि गराएकाले यो परिमाणमा विद्युतीय सवारीसाधन आयात भएको हो । नेपालमा सबैभन्दा धेरै आयात हुने विद्युतीय सवारीसाधनमा स्कुटर तथा मोटरसाइकल छन् । पेट्रोलियम सवारीसाधन आयातमा गरिएको निषेध र विद्युतीय सवारी प्रवद्र्धनका लागि दिइएको विभिन्न खाले कर छुटका कारण चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा सो परिमाणका विभिन्न विद्युतीय सवारीसाधन नेपाल आयात भएको देखिएको छ । विद्युतीय सवारीमा सबैभन्दा धेरै दुईपाङ्ग्रेकै आयात उच्च देखिन्छ । ५४ करोड ८४ लाख रुपियाँको चार हजार ४८३ थान बाइक र स्कुटर आयात भएका छन् । विद्युतीय मोटरजडित दुई हजार ४९० थान साइकल पनि यो अवधिमा आयात भएको देखिन्छ । आयातको प्रवृत्ति हेर्दा साना सार्वजनिक यातायात तथा ढुवानी प्रयोजनमा प्रयोग हुने तीनपाङ्ग्रेको पनि उल्लेख्य आयात भएको देखिन्छ । यस्ता सवारीसाधन तीन हजार ८२७ थान आयात भएका छन् । यीमध्ये ३४८ वटा नेपालमै एसेम्बल गर्ने गरी आयात भएको छ । बजारमा धेरै चासो हुने विद्युतीय कार तथा जिप भने एक हजार ३५३ थान आयात भएको देखिन्छ । सरकारले आर्थिक ऐनमार्फत कर छुट दिएकाले एक सय किलोवाटभन्दा कम क्षमताका मात्रै यस्ता साधन एक हजार ३२० थान छन् । एक सयदेखि दुई सय किलोवाट क्षमताका ३० थान कार आयात भएका छन् । त्योभन्दा माथिका तीन थान मात्रै आयात भएका छन् । कार, जिप तथा भ्यान आयातमा तीन अर्ब ८३ करोड रुपियाँ खर्च भएको छ । भन्सार विभागको तथ्याङ्कअनुसार मङ्सिरसम्ममा ठूला ३७ वटा विद्युतीय बस आयात भएका छन् भने ७८ वटा विद्युतीय माइक्रो बस पनि आयात भएका छन् । ३७ ठूला बसको भन्सार मूल्याङ्कन ४५ करोड ६७ लाख रुपियाँ मूल्याङ्कन भएको छ भने ७८ माइक्रो बसको मूल्याङ्कन १८ करोड ८९ लाख रुपियाँ गरिएको छ । यो अवधिमा पेट्रोलियम र विद्युत् दुवैले चल्ने हाइब्रिड सवारीसाधन पनि १० थान आयात भएको भन्सारको तथ्याङ्कले देखाउँछ ।
हुम्ला: हिमाली जिल्ला हुम्लाका स्थानीयलाई अझै पनि काठेपुलबाट खोला र नदी तर्नुपर्ने बाध्यता कायमै रहेको पाइएको छ । ती खोला तथा नदीहरूमा झोलुङ्गे पुल निर्माण हुन नसकेको कारण स्थानीयले आफ्नै प्रयासबाट निर्माण गरिएको काठेपुल तर्नुपर्ने बाध्यता आइलागेको हो । नाम्खा गाउँपालिका–६ को हिमाल पारिको गाउँ लिमीका वडाध्यक्ष पाल्जोर तामाङले लिमीमा अहिले पनि स्थानीय र चौपाया २५ वटा काठेपुलबाट तर्दै आएको बताउनुभयो । लिमीका ती पुलहरु केही स्थानीयले जनश्रमदानबाट निर्माण गर्नुभएको हो भने केही वडाको बजेटबाट निर्माण गरिएका हुन् । उहाँले लिमीमा मानिस र चौपाया हिँड्न काठेपुल नभई गाडी गुडाउन पनि काठे पुल नै निर्माण गरिएको बताउनुभयो । उहाँले मानिस, चौपाया र यातायातका साधन काठे पुलमा ओहोरदोहोर गर्दा जोखिम भने बढी हुने गरेको बताउँदै बर्सेनि काठेपुल तर्दा चौपाया खस्ने समस्या भोग्नु स्थानीयका लागि सामान्य भएको बताउनुभयो । नाम्खा गाउँपालिकाका अध्यक्ष प्रेम लामा आफ्नो गाउँपालिकाका काठेपुल स्थानीयले तर्दै आएको बताउनुभयो । उहाँले स्थानीयको माग झोलुङ्गे पुल निर्माणको भए पनि कतैबाट सो पुल निर्माण हुन नसकेको पछि बाध्य भएर स्थानीयले काठेपुल निर्माण गरी तर्नु परिरहेको बताउनुभयो । उहाँले अति आवश्यक स्थानमा झोलुङ्गे पुल निर्माणका लागि गाउँपालिकाले ध्यान दिने बताउनुभयो । सिमकोट गाउँपालिकाकी उपाध्यक्ष शुशिला रोकायाले आफ्नो गाउँपालिकामा अहिले पनि १५ भन्दा बढी कोठेपुल प्रयोग गर्न स्थानीय बाध्य हुँदै आएको बताउनुभयो । काठेपुल तर्नु पर्दाका जोखिमका बारेमा बताउँदै उहाँले दुई वर्ष अगाडी चुवा खोला क्षेत्रमा एक जना मानिस काठे पुलबाट खसेर मृत्यु भएको बताउनुभयो । चौपाया बोकाएका सामानहरू खस्नु त सामान्य जस्तै भएको बताउँदै उहाँले धेरै मानिस तथा चौपायाको आउजाउ हुने खोलामा झोलुङ्गे पुल निर्माण गर्नु अति आवश्यक भए पनि हालसम्म निर्माण हुन नसकेको कारण स्थानीयले क्षति बेहोर्दै आएको बताउनुभयो । यता खार्पुनाथ गाउँपालिकामा यस्ता काठेपुलको सङ्ख्या सत्र, सर्केगार्ड गाउँपालिका २३, चङ्खेली गाउँपालिकामा १९, अदानचसली गाउँपालिकामा ११ र ताँजाकोट गाउँपालिकामा १३ वटा छन् । खार्पुनाथ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुबहादुर शाहीले विशेष गरी खोलाहरू र खर्कहरूमा काठेपुलको निर्माण बढी हुने गरेको बताउनुभयो । उहाँले बर्सेनि काठेपुल तर्दा मानवीय र चौपायाको क्षति हुने घटनाहरू भइरहने भएको कारण गाउँपालिका अति महत्त्वपूर्ण स्थानमा झोलुङ्गे पुल निर्माणका लागि पहल गर्ने कार्य भइरहेको बताउनुभयो ।
विराटनगर: प्रदेश १ प्रदेशसभाका नवनियुक्त प्रदेश सांसदहरुको शपथग्रहण आज हुँदैछ । शपथग्रहण प्रदेशसभा सचिवालय प्रदेश १ विराटनगरमा साढे १ बजे हुने संसद सचिवालयले जनाएको छ । नेपालको संविधानको धारा १७९ बमोजिम प्रदेशसभा सदस्यले प्रदेशसभा वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनु अघि प्रदेश कानून बमोजिम शपथ लिनुपर्ने व्यवस्था छ । जेष्ठ सदस्य गयानन्द मण्डलले प्रदेश प्रमुख पर्शुराम खापुङ समक्ष आजै साढे १२ बजे प्रदेश प्रमुखको कार्यालयमा शपथग्रहण गर्ने कार्यक्रम छ । उनै मण्डलले प्रदेशसभाका अरु सांसदहरुलाई शपथ खुवाउने छन् । नेपालको संविधानको धारा १८२ को उपधारा (५), प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ र प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ को दफा १९ बमोजिम जेष्ठ सदस्य गयानन्द मण्डलले प्रदेशसभाको अध्यक्षता गर्नेछन् ।
पोखरा: गण्डकी साहित्य संगमको १५ औं साधारणसभा तथा अधिवेशनबाट साहित्यकार भीम रानाभाट सर्वसम्मत अध्यक्षमा चुनिएका छन् । संगमको उपाध्यक्षमा पद्मराज ढकाल, सचिव नारायण मरासिनी र कोषध्यक्षमा विजया सुवेदी चयन भएका छन् । त्यसैगरी नयाँ कार्यसमितिको सदस्यहरूमा छविलाल आचार्य, शोभाकान्त गौडेल, कल्पना चिलुवाल, काजी गाउँले र सुरज उपाध्याय रहेका छन् । ११ सदस्यीय कार्यसमितिका दुई सदस्य पछि मनोनयन गर्ने जनाइएको छ । नवनिर्वाचित अध्यक्ष भीम रानाभाटले प्रगतिवादी र प्रगतिशील वाङ्मयको उत्थानका लागि नयाँ कार्यसमिति सक्रिय र क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरे । रानाभाटले सबैलाई समेटेर प्रतिवादी साहित्यको उत्थान र विकासमा लाग्दै नयाँ संस्कार र संस्कृति निर्माणमा वाङ्मयिककर्मीलाई क्रियात्मक अभियानमा आवद्ध गर्ने जनाएका छन् । संगमका अध्यक्ष डा. कृष्णराज अधिकारीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा उपाध्यक्ष पद्मराज ढककाल, वाम बुद्धिजीवीहरू झलकपाणी तिवारी, पीताम्बर नेपाली, यादवचन्द्र भुर्जेल, कृष्ण के.सी., यामबहादुर सुर्खाली, सन्तबहादुर घिसिङ, नुमराज बराल, छविलाल आचार्य, लक्ष्मण गौतम लगायतका वक्ताहरूले शुभकामना मन्तव्य राखेका थिए । वाम बुद्धिजीवी रामराज रेग्मीको संयोजकत्वमा रघुनाथ अधिकारी, नारायण परिश्रमी सदस्य रहको निर्वाचन समितिले भीम रानाभाटको अध्यक्षतामा नयाँ कार्यसमिति गठनका लागि सर्वसम्मत रूपमा पहल गरेको थियो । विजय ढकाल सहिद स्मृति प्रतिष्ठानको घनश्याम ढकाल कक्षमा आयोजित संगमको साधारणसभामा संगमका सचिव भीम रानाभाट र कोषाध्यक्ष विजया सुवेदीले पेश गरेको प्रतिवेदनहरू अनुमोदन गरेको छ ।
पोखरा: पोखरामा पहिलोपटक जेट विमान अवतरण भएको छ । सौर्य एयरलाइन्सले आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बम्बार्डियर सिआरजे २०० विमान अवतरण गराएको हो । हाल सञ्चालनमा रहेको पोखरा विमानस्थलमा उक्त विमान अवतरण गर्न नसक्ने भएकाले पोखरा उडान भएको थिएन । आज ‘प्रुभन फ्लाइट’ भएसँगै एयरलायन्सले २०२३ जनवरी १ देखि नियमित उडान गर्ने छ । विगत ८ वर्षदेखि आन्तरिक उडानमा सक्रिय यस एयरलाइन्सले काठमाडा–पोखरा–काठमाडौँ दैनिक २ उडान गर्ने समेत जनाएको छ । यूरोप, अमेरिका तथा अन्य देशमा आन्तरिक उडानका लागि लोकप्रिय सिआरजे २०० जहाजमा जेट इन्जिन भएकाले सुरक्षित, आरामदायी एवं द्रुत गतिको मानिन्छ । आज प्रुभन फ्लाइट सम्पन्न भएसँगै काठमाडौँ–पोखरा–काठमाडौँ फ्लाइट नियमित गरिने एयरलाइन्सका अध्यक्ष दिपक पोखरेलले जानकारी दिए । सेवा शुभारम्भसँगै आन्तरिक तथा बाह्य पर्यटकको मन जित्ने विश्वास अध्यक्ष पाखरेलको छ । ‘हाम्रो सेवाले पर्यटनको राजधानी पोखराको पर्यटनमा टेवा पुग्ने विश्वास लिएको छु । आन्तरिक उडानका लागि लोकप्रिय हाम्रा जहाजको सेवाले यात्रुको मन जित्नेमा आशावादी छु’, अध्यक्ष पोखरेलले भने । यात्रुको सुरक्षालाई पहिलो प्राथमिकता बनाएको यस एयरलाइन्सले पर्यटनका गतिविधिलाई थप सशक्त बनाउन काठमाडौँ र पोखराका पर्यटन व्यवसायीहरुसँग समन्वय गर्दै सेवालाई थप चुस्त बनाउने पोखरा स्टेसनका स्टेसन इन्चार्ज जितेन्द्र यादवले बताए । पोखराको इतिहासमै पहिलोपटक जेट विमानमार्फत यात्रुलाई सेवा गराउन पाउनु कम्पनी र यात्रुका लागि खुशीको कुरा भएको उनको भनाई छ । ‘पोखराको इतिहासमा पहिलोपटक जेट विमानमार्फत यात्रा गराउन लागेका छौँ’, स्टेसन इन्चार्ज यादवले भने,‘हाम्रा लागिमात्र नभई यो यात्रुका लागि समेत खुशीको कुरा हो ।’ सुरुवातमा न्यूनतम भाडा ४ हजार १ सय रुपैयाँ तोकिएको छ । यात्रुको चाप अनुसार अन्य एयरलाइन्स सरह मूल्य तोकिने इन्चार्ज यादवले जानकारी दिए ।
पोखरा: नेपाल लिट्रेचर फेस्टिभलमा पुस्तक र पुस्तकालयको वर्तमान अवस्था तथाव आश्यकताका विषयमा छलफल भएको छ। किन पुस्तक र पुस्तकालय शिर्षकको सत्रमा लाइब्रेरियन इन्दिरा दली, बाल साहित्य लेखक अनुराधा र पुस्तक पारखी जसना गुरुङसँग पत्रकार विमल आचार्यले उक्त विषयमा कुरा गरेका हुन्। भुकम्पले भत्काएका भौतिक संरचना बन्दा ठूलो उपलब्धि मान्दा राष्ट्रिय पुस्तकालयका पुस्तकहरू बोरामा कोच्नु परेको प्रसंगबाट सत्रको सुरुवात भएको थियो। मेरो घर नजिकै जम्प भन्ने एउटा ठाउँ दुई तिन महिना लगाएर खोल्यो। त्योे बच्चाहरूलाई स्पोन्जको भर्याङमा लडाउने उफार्ने ठाउँ रहेछ। त्यहाँ एक घण्टाको एक हजार लिने रहेछ, मान्छेहरूको भिड उस्तै थियो। लामो समयदेखि पुस्तकालय निर्माणका लागि अभियानमा लागेकी दलीले भनिन्, तर, नेपालमा एक त पढ्ने बानी विकास भएकै छैन। राज्यले सिरियसली लिएकै छैन। राज्य रेस्पोन्सिवल छ त्यसका साथै हामी पब्लिक पनि रेस्पोन्सिवल छौँ। भुकम्पपछि राष्ट्रिय पुस्तकालय बनाउनका लागि पटक पटक मन्त्रालय धाउँदा पनि निराश हुनु परेको अनुभव उनले सुनाइन्। त्यति वेला नै पुस्तकालयलाई लिएर राज्य कत्तिको गम्भिर छ भन्ने कुरा महशुश भएको पनि उनले जिकिर गरिन्। नेपालमा पुस्तकालय एकदमै कम छन् र भएका मध्ये पनि अधिकांशको अवस्था नाजुक छ। यस्तोमा तपाईं कसरी पढिरहनुभएको छ? भन्ने आचार्यको प्रश्नमा जसनाले भनिन्, पहिले जब नहुँदा पकेट मनी जम्मा गरेर बुक किन्ने गर्थेँ। जन्मदिनमा अरु कुरा दिनुभन्दा एक अर्कालाई किताब दिने गथ्र्यौँ। अहिले चाहिँ जब भएकाले आफ्नो स्यालरी आउँदा निश्चित पैसा किताबका लागि नै छुट्टाउने गरेको छु। तर, किताब महंगा हुने भएकाले महिनाको ३ हजार छुट्टाउँदा पनि तीनवटा किताब आउँदैन। त्यसैले पुस्तकालयहरू एकदमै इम्पोर्टेन्ट छन्। नेपालीको पढ्ने बानी नरहेका कारण पुस्तकालय निर्माणमा चासो नदेखाएकाले पनि अहिलेको अवस्था आएको आचार्यले बताए। उनले भने,पुस्तकालयका लागि बजेट छुट्टाइरहेको हुन्छ। लेखक, पाठकले त्यहाँ गएर मलाई यो पुस्तक चाहियो भनेर भनेको भए यो सात वर्षमा पुस्तकालय बन्थ्यो होला। किताब बोरामा थन्किएर बस्थेन होला। राज्यको मात्रै दोष कि हाम्रो पनि? आचार्यको प्रश्नलाई सम्बोधन गर्दै इन्दिराले भनिन्, सरकारले दिने गरेको स्कुलका लागि हो। नेपालमा पब्लिक लाइब्रेरि सिस्टम डेभलभ भएकै छैन। जे जति लाइब्रेरी खुलेको छ त्यो समूदाय तवरबाट भइरहेको छ। गोभरमेन्टले रेगुलर बजेट दिएर खोलेको लाइब्रेरी होइन। आफूहरूले सरकारसँग राष्ट्रीय स्तरको एउटा, प्रदेशमा प्रदेश स्तरको सातवटा त्यस्तै नगरपालिका र वडा स्तरमा पनि लाइब्रेरी बनाउन तथाम हरेक लाइब्रेरीमा बनाएर बच्चाहरूको लागि, युवाहरूको लागि विभिन्न सेक्सन छुट्टाउनका लागि प्रस्ताव गरेको र त्यसको कार्यान्वयनमा सरकारले कुनै चासो नदेखाएको उनले बताइन्। साथै यस्तो हुनुमा एउटा कारण मानिसहरू सचेत नहुनु पनि रहेको उनले जोडिन्। मान्छेहरू सचेत नहुनुको कारण पनि बताउँदै उनले भनिन्, पब्लिकमा पढ्ने बानी किन भएन भने हामीलाई बच्चैदेखि लाइब्रेरी जाने किताब पढ्ने बानी सिकाइएन। त्यसकै कारण हाम्रोमा लाइब्रेरी चाहियो भनेर मान्छेहरूले जुलुस गरेको छैन। साथै पुस्तकालय निर्माणमा राजनीतिक नेताहरूको गम्भिरता देखेर उनीहरू मान्छेले पढुन्, शिक्षित होउन भन्ने पक्षमा नरहेको कुरा आफूले खुलेर भन्न सक्ने पनि बताइन्। बालबालिकालाई पुस्तक पढाउनुपर्छ भनेर अभिभावक कत्तिको सचेत छन् भन्ने प्रश्नमा अनुराधाले भनिन्, हाम्रो समाज, शिक्षा प्रणाली यसरी बसेको छ कि घोकेर, रटेर पढ्ने विद्यालाई मात्रै हामी महत्व दिन्छौँ। कथाका पुस्तकलाई हामीले खासै महत्व दिँदैनौँ। त्यसमा दोष अभिभावकको मात्रै पनि छैन। कति अभिभावकले आफू सानो हुँदा साहित्य पढ्ने अवसर पाउनुभएन। तर, अहिले भने अवस्था फेरिँदै गएको उनले बताइन्। उनले भनिन्, धेरैले बुझ्दै पनि जानुभएको छ। विद्यालयले पनि कथाका पुस्तकलाई कोर्समा राखेर पढाइराख्नुभएको छ। कोर्स बाहेकका पुस्तकलाई महत्व नदिँदा पनि समस्या आएको भन्दै बाल साहित्यलाई भिटामिनको रुपमा प्रयोग गर्नूपर्नेमा उनले जोड दिइन्। बाल पत्रिकाहरूले बालबालिकाको सिर्जनात्मकता बढाउनुका साथै उनीहरूको मानसिक स्वस्थ्यमा पनि सकरात्मक प्रभाव पार्ने जनाउँदै आचार्यले त्यस्ता पत्रिका बन्द हुनु दुखद रहेको जिकिर गरे। साथै ठूला मिडिया हाउसहरूले त्यस्ता पत्रिका पूनः सुचारु गर्नुपर्नेमा उनले जोड दिए।
पारिजात दिदीसँगको परिचयको मसँग सानो कथा छ। म तेह्रथुमको चुहानडाँडामा आइए पढ्थेँ। त्यो बेला पारिजात नामको कुनै पात्रले मदन पुरस्कार प्राप्त गरेकी थिइन्। मेरो क्याम्पस चिफ बामदेव पहाडी, ठूला लेखक तथा समीक्षक। पारिजातको पुरस्कार प्राप्त कृतिबारे उहाँको टिप्पणी, मान्छे भनेको टोपी हो कि टाउको? आशय के भने, शंकर लामिछानेको भूमिकाको व्यापक आलोचना भयो, त्यो त टोपी हो। त्यसको चर्चा यसरी भयो मानौं टोपी पनि त्यै हो। टाउको पनि त्यै हो। २०२३ सालको बीचमा आइएको परिक्षा दिन काठमाडौं आएँ। काठमाडौं आएपछि पारिजातबारे अरु कुरा सुनियो। पछि, मैले बिएको जाँच दिएपछि, त्योबेला राल्फा आन्दोलन चलिरहेको थियो। पारिजात दिदी राल्फाको नायिका हुनुहुन्थ्यो। पारिजातको नजिकको विमल भन्ने मान्छे। उहाँले भन्नुहुन्थ्यो पारिजात तपाईंको रचना नियमित पढ्नुहुन्थ्यो। तपाईंलाई रुचाउनु हुन्छ, तपाईं राल्फामा किन नआउने? राल्फाको घोषणापत्र मकहाँ पुर्याउनुभो। त्यो घोषणापत्रको शीर्षक गजब थियो, सेतो वन, नीलो जुन, आकाशका नुनिला निश्वासहरु। केही बुझिन्थ्यो, केही बुझिँदैनथ्यो। त्यसपछि विमलको पछि लागेर पारिजातदिदीकहाँ म पहिलो पटक पुगेँ। दुर्भाग्यवश विमलको होइन अरु कोही अरुको पछि लागेर। दुर्भाग्यवश पारिजात र विमलको बीचमा प्रेम सम्बन्ध थियो। त्यही दिन वा त्यो दिन भन्दा अगाडि विमलले पारिजातलाई धोका दिएका थिए। मलाई पारिजातको अगाडि पुर्याइयो। पारिजात दिदी एकदम उद्घिन हुुनुहुन्थ्यो। अत्यन्तै निराश हुनुहुनुहुन्थ्यो। उहाँले मलाई भन्नुभयो, तपाईंलाई भेट्न पाएकोमा मलाई खुसी लाग्यो। फेरि आउनुहोला। मेरो पहिलो भेट त्यही हो। पारिजात दिदीसँग मेरा केही रोचक र तीता संस्मरणहरु छन्। पहिला त मीठा संस्मरण नै सुनाउनु पर्ला। काठमाडौंको ल क्याम्पसमा साहित्य संध्या भन्ने एउटा कार्यक्रम हुन्थ्यो। एकदिन त्यो कार्यक्रममा जानुअघि, म अलि ढिला पुगेँ। पारिजात दिदी हरिवंश राय बच्चनको मधुशाला क्यासेटमा सुनिरहनुभएको थियो। वहाँको वरिपरि मधुशालाका फ्यानहरु थिए। म जाने बित्तिकै दिदीले भन्नुभयो। संग्रौलाजी आउनुभयो है। वहाँलाई यो मधुशाला मन पर्दैन । उहाँ त बडो शुद्ध मान्छे हो। त्यो सुनेपछि मलाई के लाग्यो भने पारिजातको नजरमा म बाहुनजस्तै शुद्ध रहेछु जस्ले प्रेमगीत सुन्नु हुँदैन। प्रत्येक शुक्रबार पारिजात दिदीकोमा गुड फ्राइडे हुन्थ्यो। ललिजन रावल भन्ने एक जना गजलकार हुनुहुन्थ्यो। उहाँ सोल्टीमा काम गर्नुहुन्थ्यो। सोल्टीमा काम गर्दा त्यहाँ कहिलेकाहीँ दारु प्राप्त हुन्थ्यो त्यो पनि स्कच रक्सी। कहिले आधा बोतल, कहिले एक पेग, कहिले एक क्वार्टर। हरेक शुक्रबार पारिजात दिदीको महफिलमा गुड फ्राइडे हुन्थ्यो र स्कच खाइन्थ्यो। संजोगले एक दिन स्कच चलिरहेको बेला म पुगेँ। पारिजात दिदीले भन्नुभयो, ए, संग्रौलाजी आउनुभो, गिलास लुकाऊ। उहाँ त बडो चोखो माक्र्सवादी हुनुहुन्छ। मलाई के लाग्यो भने पारिजात दिदीको नजरमा म विशुद्ध टुप्पी, जनै पालेको, दारु छुँदा जात जाने । पछि मैले पनि एउटा अभिनय गरेँ। खुकुरी रम एक बोतल बोकेर म दिदीकोमा गएँ। त्यो देखेपछि पारिजात दिदी जिल पनुभयो। संग्रौला के गरेको यो? उपहार टक्र्याउन ल्याएको। आफू त खाने होइन के रे? अनि मैले दिदीकै अगाडि बोतल खोलेँ। दुइटा गिलास ल्याएँ। अनि उहाँसँगै मैले मदिराको मोर्चा खोलेँ। त्यसपछि दिदीलाई के विश्वास भयो भने बाहुन त बाहुन हो, धेरै शुद्धचाहिँ रहेनछ। पारिजात दिदी त कुञ्जिनी भएको थियो। साहित्य संन्ध्या वा कुनै कार्यक्रममा लैजाँदा स्नेह सायमी अथवा मुरारी अर्याल वा कसैको मोटरसाइकल वा ट्याक्सीमा लगिन्थ्यो। मेरो त्यो बेलामा जापानी होन्डा थियो, त्यो पनि फेन्सी टाइपको। म गोराहरुलाई नेपाली भाषा दान गर्थें। तिनले भनेको बेला तिनको घरमा जानुपर्ने भएको हुनाले मैलो जापानी होन्डा किनेको थिएँ। दिदीले गुनासो गर्नुभएछ। संग्रौलाको त्यस्तो राम्रो होन्डा छ। त्यसले कार्यक्रममा जाँदा वा आउँदा मलाई त कहिले चढाएन। पारिजात दिदीको जीवन यति मूल्यवान छ। मैले कतै जाँदा वा आउँदा मैले मोटरसाइलमा राख्दा कदाचित दुर्घटना भयो भने मलाई ठूलो अपगाल पर्नेछ। त्यसैले पारिजात दिदीलाई मोटरसाइकलमा बोक्न मलाई कहिल्यै पनि आँट आएन। पछि, ल क्याम्पसको बाहिरपट्टि कसैले वहाँलाई पुर्याउँथ्यो। ल क्याम्पसको तलामाथि प्रतिभा प्रवाह भन्ने कार्यक्रम हुन्थ्यो महिनैपिच्छे। पारिजात दिदीलाई बोकेर तलबाट माथि लैजानु पथ्र्यो। एक दिन मैले नै काँध थापेँ। दिदी, तपाईंलाई बोक्न मलाई अनुमति चाहियो। दिदीलाई बोकेर माथि लगेँ। अनि भनेँ, यो क्षतिपूर्ति हो। मैले तपाईंलाई मोटरसाइकलमा त बोक्न सकिनँ। त्रास थियो, डर थियो। त्यसको क्षतिपूर्ति हो यो। त्यसपछि हरेक कार्यक्रममा बाहिर आएपछि संग्रौलाजी क्षतिपूर्ति त बाँकी छ नि ? अनि मेरो काम उहाँलाई बोकेर माथि लैजाने भयो। हामीले वामपन्थी साहित्य र चिन्तनलाई प्रवर्धन गर्न भनेर हामीले श्रष्टा प्रकाशन खोल्यौं। श्रष्टा प्रकाशनअन्तर्गत कृष्णमणि पुरस्कार राख्नुभएको थियो। पारिजात दिदीले उपन्यास लेख्न थाल्नुभयो। लेख्न थालेपछि ढोका बन्द गरेर चुकुल लाएर बस्ने उहाँकै बानी थियो। अनि लेखिएको चिज प्रकाशित हुनुअघि कसैलाई पनि नदेखाउने। सप्र्राइज दिने भन्नुहुन्थ्यो। हामीलाई के लाग्यो भने पारिजात दिदीको उपन्यास त हामीले छाप्ने हो। किनभने हाम्रो उद्देश्य वामन्थी साहित्य र सिर्जना प्रवर्धन गर्ने हो। पारिजात दिदी त हाम्रो सम्पत्ति हो। हामीले बुक गर्यौं। पारिजात दिदीको उपन्यास हाम्रो हातमा पर्यो। अध्यक्ष थिएँ। साहित्यसम्बन्धी हाम्रा केही मानकहरु थिए। ती मानकहरु त्यो बेला अलि कडै थिए भन्ने लाग्छ। हाम्रा शुद्धताका केही आग्रहहरु थिए। प्रगतिशील के हो? प्रगतिशील के होइन? पुस्तक पढेपछि मैले र मुरारी अर्यालले .. पारिजात दिदीको जुन प्रवृत्तिसँग हामी सहमत थियौं। त्यो उपन्यासमा पारिजात दिदीको त्यो प्रवृत्तिभन्दा फरक चिज थियो। हामीलाई के लाग्यो भने हाम्रो प्रकाशनको मापदण्ड अनुसार छैन। पारिजातसँग त हामीले नै अतिरिक्त अनुरोध गरेर पुस्तक मागेको हो। हामीलाई संकट भयो। अब त्यो टार्ने कसरी? म त स्रष्टा प्रकाशनको अध्यक्ष। मलाई धेरै अप्ठ्यारो भयो। मैले कसैको हातमा सानो चिठी लेखेर त्यो पाण्डुलिपी फर्काएँ । यो यो कारणले तपाईंको पुस्तकसँग हामी सहमत हुन सकेनौं। माफ गर्नुहोला दिदी दुर्भाग्यवश हामी यो छाप्न सक्दैनौं। पारिजात दिदी खुब रिसाउनुभयो। पारिजात दिदी आफ्नो सिर्जनमाथि, चिन्तन र व्यक्तित्वमाथि भएका टिप्पणी र समीक्षाहरुलाई त्यति सहज किसिमले पचाउने मान्छे होइन। हामी सबै त्यस्तै होला, सबैलाई मन पर्ने त प्रशंसै हो। टिप्पणी, समीक्षा, आलोचना प्रायः मन पर्दैन। पारिजातमा टिप्पणीप्रति, आलोचनाप्रति सहिष्णुता थिएन। दिदीसँग बोलचाल नै बन्द त भएन तर केही समय सम्बन्ध अत्यन्तै तिक्त भयो। यस्ता अरु पनि सन्दर्भहरु पनि छन् जसमा पारिजात दिदीसँग मतान्तर र तिक्तता भएका छन्। सँगै काम गरेपछि ती जब व्यक्त भयो केही समय दुरी पनि बढ्यो। आइजाइ पनि कम भयो। तथापि त्यो मतान्तर र दुरीको आयु सधैं लामो रहेन। केही समय बितेपछि हाम्रा सम्बन्ध पुनस्र्थापित भए। सहकार्य पुनः प्रारम्भ भयो। म जुन बेला प्रगतिवादमा प्रवेश गरेँ, त्यो बेलाका धुरन्धर प्रगतिवादीहरुमा स्खलन आएको थियो। ताना शर्मा विचलित भइरहेका थिए। कृष्णचन्द्रसिंहको बाटो फरक भएको थियो। डिपी अधिकारी लगभग राजावादीजस्ता भएका थिए। त्यो वैचारिक संकटको बेलामा नेपालको वामपन्थी प्रगतिशील साहित्यको पारिजातबाटै भएको थियो, प्रत्यक्ष रुपमा वा अप्रत्यक्ष रुपमा। वैचारिक दृष्टिकोणबाट, सिर्जनाको दृष्टिकोणबाट, अभिनयको दृष्टिकोणबाट र नयाँ पुस्तालाई प्रशिक्षण दिने कोणबाट पारिजात दिदी आफ्नो समयको नायिका हुनुहुन्थ्यो। उहाँ मेरो दिदी हुनुहुन्थ्यो। मेरो साथी हुनुहुन्थ्यो र मेरो कमरेड पनि हुनुहुन्थ्यो। वहाँको विचारप्रतिको निष्ठा, जिद्दीको हदसम्मको जुन दृढता थियो मैले त्यसबाट धेरै सिकेको छु। म जिद्दीवाल मान्छे हो, मलाई छुचो मान्छे भन्छन् । कुनै कुरा मलाई लागेपछि त्यसमा के के जोखिम होला म त्यो कहिले पनि सोच्दिनँ। आफ्नो निष्ठाको निम्ति लड्ने हो। तपाईं न्यायको पक्षमा, सत्यको पक्षमा उभिनुहुन्छ भने आलोचित हुनमात्र होइन निन्दित हुन पनि तयार हुनुपर्छ। पारिजात दिदी तयार हुनुहुन्थ्यो। मैले उहाँबाट धेरै सिकेको छु।
पोखरा: पोखरामा जारी दसौँ संस्करणको नेपाल लिटरेचर फेस्टिबलमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सम्भावना र समस्याबारे चर्चा गरिएको छ । ‘संघारमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल’ सेसनमा सरकार, अर्थ र पर्यटन क्षेत्रका विज्ञले विमानस्थलबारे बहस गरेका हुन् । उक्त सेसनमा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, पूर्व अर्थसचिव रामेश्वर खनाल, पूर्वपर्यटन सचिव एवं हवाई विभागका पूर्व महानिर्देशक वीरेन्द्रबहादुर देउजा र पर्यटन व्यवसायी वसन्तराज मिश्र सहभागी थिए । वरिष्ठ पत्रकार प्रतीक प्रधान सेसनका सहजकर्ता थिए । महानिर्देशक अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलले पोखराको पर्यटन र यस क्षेत्रलाई मात्र नभई देशकै आर्थिक अवस्थामा योगदान गर्ने दाबी गरे । ‘सुरु गर्दै जाँदा आउने समस्यालाई त्यही तहबाट समाधान गर्दै जानुपर्छ । पोखरालाई पर्यटनको राजधानी भन्छौँ । पोखरा विमानस्थलमा राति उडान हुँदैन,’ उनले भने, ‘त्यो भएकाले यो विमानस्थल आवश्यक थियो । यो विमानस्थलले पोखरामात्रै होइन देशको आर्थिक अवस्थामा पनि योगदान गर्छ भन्ने विश्वास छ । यो पोखरा र देशको लागि गर्व आयोजना हो ।’ कोभिड संक्रमणले गर्दा सन् २०१९ कै जस्तो पर्यटक आउन सन् २०२५ सम्मको समय लाग्ने बताए । पर्यटन क्षेत्रलाई मात्र विमानस्थल चलाएको हो भन्ने भाष्य निर्माण गरे विमानस्थल चल्न सम्भव नहुने उनको भनाइ थियो । पूर्व अर्थसचिव रामेश्वर खनालले पोखरा विमानस्थलका सबै पूर्वाधार नयाँ भएकाले हालसालै बनेका अन्य विमानस्थलको तुलनामा खर्च बढी भएको बताए । पूर्वाधार लामो समयलाई सोचेर बनाइने भएकाले आत्तिन नहुने उनको भनाइ थियो । सोचेअनुसार पर्यटक आए चिनियाँ ऋण ९ वर्षभित्र उठ्ने खनालको दाबी छ । ‘परिकल्पना गरिएअनुसारको पर्यटक संख्या वृद्धि हुन सक्यो भने वर्षमा एक अर्ब जति खुद नाफा गर्छ । २२÷२३ अर्बको लागत ८÷९ वर्षमा उठाउँछ,’ उनले भने । पोखरामा पर्यटकको संख्या बढाउन अहिले चलिरहेकोभन्दा फरक पर्यटक ल्याउनुपर्ने उनले सुझाए । ठूला कम्पनीका सेमिनार, गोष्ठी गर्नुपर्ने खनालको भनाइ थियो । ‘अहिलेसम्म पोखरामा रमाउन, ट्रेकिङ जान आउँछन् । पोखरा अहिलेसम्म नलागेको अर्को क्षेत्र मिटिङ, कन्फेरेन्सतिर हो । त्यसको लागि सरकार हामीसँग हुनुप¥यो । त्यो पर्यटन विकास गरे बढी लगानी भएको होइन,’ उनले भने । विमानस्थल चलाउन सरकारले एक ठाउँबाट अर्को ठाउँसम्मको पूर्वाधारको कनेक्टिभिटी बनाइदिने र निजी क्षेत्रले खोजेको सम्भावना पहिल्यै पहिचान गर्न सक्नुपर्ने बताए । प्रदेश सरकारको पर्यटन मन्त्रालयले पनि विमानस्थलको अपनत्व लिएर विभिन्न देशसँग उडानका लागि पहल गर्नुपर्ने पूर्वसचिव खनालले बताए । पूर्वपर्यटन सचिव वीरेन्द्रबहादुर देउजाले विमानस्थलले पोखराको समृद्धिको ढोका खुलेको दाबी गरे । ‘संसारमा पर्यटन ९० प्रतिशत पर्यटन हवाइ माध्यमबाटै हुन्छ । यसले पोखराको पर्यटनलाई धेरै सहयोग गर्छ,’ उनले भने, ‘पर्यटन क्षेत्रबाट पनि धेरै सहयोग गर्नुपर्छ । विमानस्थलले पोखराको समृद्धिको ढोका खोलेको छ ।’ कुनै पनि देशको विकास हुन प्रभावकारी पूर्वाधार चाहिने भएकाले हवाइ र सडक पूर्वाधार नभई देशको अवस्था विकास नहुने उनको भनाइ थियो । विमानस्थल बनेकाले अब सडक बनाउने, सहर विकास गर्ने काम अन्य सरकारी संयन्त्रले लिनुपर्ने देउजाले बताए । विमानस्थल बनिसकेकाले महँगो भएको भन्ने विषयमा बहस आवश्यक नरहेको उनले सुनाए । ‘पहिला मुआब्जा दिनै पहाड थियो । चिनियाँसँग इपीसी मोडलमा मिलेर बनाउने भएपछि पैसाको समस्या समाधान भयो । इपीसीमा नबनेको भए अझै लम्बिन सक्थ्यो,’ देउजाले थपे, ‘महँगो भयो भन्ने कुरा होइन । महत्वपूर्ण कुरा अब कसरी सञ्चालनमा राम्रोसँग ल्याउने भन्ने हो ।’ पर्यटन व्यवसायी बसन्तराज मिश्रले पनि विमानस्थल गर्वको विषय भएकाले खर्चबारे वादविवाद गर्न सुझाव दिए । ‘एअरपोर्ट गर्वको चिज हो । खर्चबारे वादविवाद नगरौँ । पर्यटनलाई उडान र उडानलाई पर्यटनको साथ भएन भने दुवै बाँच्न सक्दैनन् । हामीले २१६ मिलियन डलर खर्च ग¥यौँ,’ उनले थपे, ‘१३ वर्षमा २६ किस्ता तिर्नुपर्दा १८.२ मिलियन डलर तिर्नुपर्छ । विश्वमा विमानस्थलले १८.४९ प्रति यात्रु कमाइरहेको छ । मिलियन पर्यटक भयो भने हामी बाँच्न सक्छौँ ।’ विमानस्थल र पोखरा आसपास भएका गन्तव्यको प्रचार हुन सके विमानस्थल चल्न सक्ने मिश्रले देखेका छन् । त्यसका लागि विमानस्थलको उद्घाटन विदेशी पाहुना बोलाएर भव्य गर्नुपर्ने बताए ।