मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का वडाध्यक्ष डुकके विष्टको ७५ वर्षको उमेरमा निधन भएको छ ।   लामो समयदेखि पेटसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष विष्टको उपचारका क्रममा काठमाडौँमा निधन भएको गाउँपा...

काठमाडौं : नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको छ। बिहीबारदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत भण्डारी खतरामुक्त रहेका छन्।   भण्डारीका सहयोगी योगराज शर्मा कँडेलले भण्डारीलाई  धरै नै सुधार देखिएकोले सोमबार भेन्टिलेटरबाट हटाउने योजना रहेको बताए।   उनले सामाजिक संजालमार्फत् भनेका छन्, ‘मुख र हातको जलेको भागमा आफ्नै छाला उम्रन सक्ने सम्भावना देखिएकोले हाललाई तुरून्तै अर्को सर्जरी गर्न नपर्ने भएको छ।’ भण्डारीको पहिलो शल्यक्रिया शुक्रबार सफलतापूर्वक सम्पन्न भएको थियो।   बुधबार राति आफ्नो निवासमा ग्यास सिलिन्डर चुहिएर सांसद डा भण्डारीसहित उनकी आमा हरिकला भण्डारी घाइते भएका थिए। घट्नालगत्तै दुवैजनाको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो। आमा हरिकलाको भने उपचारका क्रममा बिहीबार बिहान निधन भएको थियो।   नेता डा भण्डारीलाई नेपालमा यथोचित उपचार सम्भव नभएपछि बिहीबार नै श्री एयरलाइन्सको विमानमार्फत मुम्बइमा थप उपचारका लागि लगिएको थियो।

काठमाडौं:  महाशिवरात्रिका अवसरमा पशुपतिनाथ मन्दिरमा शनिबार बिहान ११ बजेसम्म साढे चार लाख भक्तजनले दर्शन गरेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।   यस अवसरमा पशुपतिनाथका चार ढोका बिहान ३ बजेदेखि नै खुला गरिएको थियो । ढोका खोल्नुअघिदेखि नै पशुपति क्षेत्रमा भक्तजनको लाम सुरु भएको कोष संस्कृति महाशाखा प्रमुख एवं सूचना अधिकारी गौरीशङ्कर पराजुलीले जानकारी दिनुभयो ।    बिहान छोटो लाम भए पनि अहिले लाइन बढ्न थालेको छ । उत्तरतर्फको लाम चाबहिल चोकभन्दा माथि पुगेको छ । पश्चिमतिरको लाम गौशाला चोक, दक्षिणतिरको लाम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक र पूर्वतर्फको लाम गौरीघाटसम्म पुगेको छ । घाम लागेसँगै दर्शनार्थीको सङ्ख्या बढ्न थालेको हो ।   महाशिवरात्रिका अवसरमा कोषको विशिष्ट अतिथिका रूपमा आउनुभएका जगन्नाथपुरीस्थित गोवर्द्धन मठका शङ्कराचार्य निश्चलानन्द सरस्वतीले अहिले पञ्चामृत स्नानसहितको विशेष पूजा गर्नुहुने कार्यक्रम छ । पशुपतिनाथमा विशेष पूजा सकेर उहाँले पशुपतिमन्दिरको पश्चिम ढोकाअघि रहेको आद्य शङ्कराचार्यको मन्दिर उद्घाटन गर्नुहुनेछ । यो मन्दिर वि.सं २०७२ वैशाख १२ गतेको भूकम्पले भत्किएको थियो ।   मन्दिर उद्घाटनपछि उहाँले त्यहीँ प्रवचन पनि गर्नुहुनेछ । बेलुकी नेपाल–भारत मैत्री धर्मशालामा शङ्कराचार्यसँग वैदिक सनातन धर्मसँग सम्बन्धित विषयमा जिज्ञासा राख्न सकिने कार्यक्रम रहेको छ । यो कार्यक्रममा जोसुकैले सहभागिता जनाउन सक्ने कोषले जनाएको छ ।   महाशिवरात्रिकै अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले बेलुकी पूजा एवम् दर्शन गर्नुहुने कार्यक्रम रहेको छ । यसैगरी, नेपाली सेना दिवसको कार्यक्रममा अतिथिका रूपमा आउनुभएका भारतीय सेनाका चार पूर्वप्रधानसेनापतिले पनि आज पशुपतिनाथ मन्दिरमा दर्शन गर्नुहुने कार्यक्रम रहेको कोषका सूचना अधिकारी पराजुलीले बताउनुभयो ।   महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा पाँच हजारभन्दा बढी साधुसन्तको आगमन भएको छ । नागाबाबालाई मूल मन्दिरभित्र राखिएको छ । साधुसन्तलाई बिहीबारदेखि नै कोषले भोजन, आवास र धुनीको व्यवस्था गरेको छ । यसमा गुठी संस्थानको पनि सहयोग रहेको छ ।   महाशिवरात्रिका लागि पशुपति क्षेत्र विशेषरुपमा सिँगारिएको छ । दर्शनार्थीलाई व्यवस्थितरुपमा दर्शन गराउन पाँच हजार सुरक्षाकर्मी र चार हजार स्वयंसेवक खटाइएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो । मूल मन्दिरभित्र भने नेपाली सेना र कोषका कर्मचारीको विशेष सुरक्षा रहेको छ ।   पशुपति क्षेत्रमा स्वास्थ्य शिविर, निःशुल्क खानेपानी सेवा, भोजन एवम् प्रसाद सेवा, रक्तदानजस्ता सेवामूलक काम गर्ने संस्थाको पनि भीड देखिन्छ । केही मानिसले विभिन्न साम्प्रदायिक पुस्तक वितरण गरेको भन्दै भक्तजनले आपत्ति जनाएका छन् । कोषले यस्ता काममा रोक लगाउने भने व्यवहारमा कार्यान्वयन नभएको गुनासो भक्तजनको छ । 

काठमाडौं : जेन ग्रीनको अविजित अर्धशतकप्रेरित नामिबियाले आईसीसी विश्वकप क्रिकेट लिग २ को त्रिदेशीय एकदिवसीय शृंखलामा नेपाललाई दुई सय ७५ रनको लक्ष्य दिएको छ।   कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नामिबियाले पाँच विकेट गुमाएर दुई सय ७४ रनको योगफल तयार गर्यो।   पहिलो विकेटका लागि ६४ रनको साझेदारी गरेका नामिबियन ओपनर लो हान्द्रे लौरेन्स ४१ तथा कार्ल बिर्केन्स्टोक २० रन जोडेरर आउट भए। लौरेन्सले ५४ बलको सामना गर्दा आठ चौका प्रहार गरेका थिए।   वान् डाउनमा क्रिजमा उत्रिएका माइकल भान लिङ्गेन ३५ बलमा दुई चौकासहित २२ रन जोडेर पेभेलियन फर्केका थिए।   कप्तान जेरार्ड एरास्मस र यान निकोल १५–१५ रनमा आउट हुँदा ग्रीनसँग ९४ रनको साझेदारी गरेका पिकी या फ्रान्स ३९ बलमा चार चौका र तीन छक्कासहित ४९ रनमा आउट हुँदा एक रनले अर्धशतक बनाउ चुके। रुबेन थ्रुम्पेल्मानले सात बलमा तीन चौका र दुई छक्कासहित अविजित २४ रन जोडे।   सुरुआती साझेदारी तोड्न संघर्षरत नेपालका लागि १५औं ओभरमा सन्दीप लामिछानेले बिर्केन्स्टोकको विकेट लिएका थिए। त्यसपछि १७औं ओभरमा सन्दीपले भ्रमणकारी टिमका अर्का ओपनर लौरेन्सलाई पनि पेभेलियन फर्काएका थिए।   तेस्रो विकेट नेपालले रन आउटमा निकालेको थियो। दीपेन्द्रसिंह ऐरीले फालेको २६औं ओभरको अन्तिम बलमा भान लिङ्गनेलाई सन्दीप जोरा र दीपेन्द्रले आउट गरेका थिए।   सन्दीप लामिछानेले २९औं ओभरको दोस्रो बलमा एरास्मसलाई बोल्ड गरेका थिए। करण केसीले ३८औं ओभरमा यान निकोललाई विकेटकिपर आसिफको हातबाट क्याच गराएका थिए।   ४९औं ओभरमा सोमपाल कामीले फ्रान्सलाई रन आउट गरेका थिए।

काठमाडौँ:  पशुपतिनाथलगायत मुलुकका सबै शिवालयमा शनिबार महाशिवरात्रि पर्व मनाइँदै छ । आराधना र स्तुतिबाट छिट्टै प्रसन्न हुने आशुतोष स्वभावका भगवान् शिवलाई यस दिन प्रसन्न राख्दा इहलोक र परलोक दुवैमा सुख र शान्ति हुने विश्वास रहेको छ ।   ज्योतिषी विशाल भण्डारीले आकार निराकार दुवै तवरबाट शिवको आराधना गर्न सकिने पूज्य देवताका रूपमा शिवलाई लिइने जानकारी दिनुभयो । उहाँले बडादशैँअघिको कालरात्रि, कृष्ण जन्माष्टमीको मोहरात्रि, लक्ष्मीपूजाको सुखरात्रि र महाशिवरात्रिको धार्मिक शास्त्रमा उच्चताका साथ महत्व  दर्शाइएको बताउनुभयो । जाडोमा जगत् रुवाउँदै रुखका पतझर उजाड गरेका शिवले महाशिवरात्रिमा पालुवा लागेर जगत्को कल्याण गरेको हुँदा यो पर्व धुमधामसाथ मनाउन थालिएको हो भनिन्छ । शिवलाई मन पर्ने पञ्चामृत, बेलपत्र, गाँजा, भाङ, धतुरो अर्पण गरेर खुसी पार्ने प्रयास भक्तजनबाट हुन्छ । धार्मिक आस्थामा यसो भए पनि आयुर्वेद क्षेत्रमा यी पदार्थलाई पाचन प्रणाली सन्तुलन, ज्वरो नाशक, पेटमा कृत्रिम रोग निवारणलगायतका औषधीय महत्व का साथ हेरिन्छ ।    बझाङको नौलोगाउँ, बाजुराको कैलाशमाडौँ,  ओखलढुङ्गाको नर्वदेश्वर, महोत्तरीको जलेश्वर, भक्तपुरको अनन्तलिङ्गेश्वर, काठमाडौँ डिल्लीबजारको वसन्तेश्वर, जयवागेश्वरीको महामृत्युञ्जय, अमालकोट कचहरीको खञ्जनेश्वर, लुभुको गोभ्रातेश्वर, सुनाकोठीको भृङ्गरेश्वरलगायत शिवालयमा विशेष उत्सवका साथ यो रात पूजा आराधना हुन्छ । पशुपति परिसरको पिण्डेश्वरमा अखण्ड दीपसहित सवा लाख बेलपत्र र पञ्चामृत पूजा आयोजना भएको नाथका कोटवाल पूर्णनारायण जोशीले बताउनुभयो । पशुपतिनाथमा चारै प्रहर अतिरुद्री, महादीप प्रज्वलन, अखण्ड दीपसहितको दीपोत्सव, लाख बेलपत्र र प्रशस्त पञ्चामृतद्वारा पशुपतिनाथको पूजा गर्ने तयारी भएको छ । यसैगरी महाशिवरात्रि पर्वमा नेवार समुदायमा ‘सिलाचःह्रे’ मनाइने गरिन्छ । यस दिन बाटो छेक्ने र घरघरमा गएर गीत गाउँदै दाउरा माग्ने चलन पनि छ । यो चलन अहिले लोप भइसकेको छ ।

काठमाडौं:  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भेटवार्ता सकिएको छ ।   माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड ओलीलाई भेट्न उनकै निवासमा पुगेका थिए । भेटमा राष्ट्रपति निर्वाचनबारे कुराकानी भएको थियो । भेटपछि प्रधानमन्त्री प्रचण्डले आफूहरु एकै ठाउँमा रहेको र केही दिनमा निष्कर्षमा पुग्ने बताए ।

काठमाडौं:  नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले ‘सङ्घीय शिक्षा ऐन’ तत्काल संसदमा पेश गर्न सरकारसँग माग गर्नुभएको छ । पूर्वमन्त्री समेत रहनुभएका महामन्त्री थापाले चालू संसद अधिवेशनबाटै सो ऐनलाई पारित गर्ने आफूहरुको चाहना भएको पनि स्पष्ट पार्नुभयो ।   शिक्षा पत्रकार समूहले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्नुहुँदै उहाँले कक्षा ११ र १२ को शिक्षामा अति राजनीतिकरण भएकाले त्यसलाई अनुगमन गर्नका लागि प्रदेशमा ‘शिक्षा लोकपाल’ को व्यवस्था हुनेगरी कानुनी व्यवस्था गर्न उपयुक्त हुने प्रस्ताव समेत राख्नुभयो ।   नेपालको संविधानले कक्षा ११ र १२ को शिक्षा पनि स्थानीय तह मातहतमा रहने व्यवस्था गरेको छ । तर यो राजनीतिकरणको शिकार हुने पुगेकाले यसको अनुगमनका लागि प्रदेशमा नै सो लोकपालको व्यवस्था गर्न आवश्यक रहेको महामन्त्री थापाको भनाइ छ । उहाँले संविधानले दिएको अधिकार तलमाथि नहुने गरी कक्षा १२ सम्मको शिक्षालाई अगाडि बढाउनका लागि पनि सो लोकपाल प्रदेशमा बनाउने गरी कानुनी व्यवस्था गर्नुपर्ने तर्कसमेत गर्नुभयो ।   ‘‘यो संसदको अहिलेको सत्रमै यो सङ्घीय शिक्षा ऐन आओस् भन्ने हाम्रो चाहना छ । सरकारमा जो हुनुहुन्छ उहाँहरुलाई त्यही कुरा भनिरहेका छौं । यो ऐनको अनुसूची बनाउने क्रममा राजनीतिक नेतृत्वले एक दिन पनि छलफल गरेको होइन । कक्षा १२ सम्मको शिक्षा स्थानीय सरकारलाई चलाउन दिने कुरा हामीले संविधानमा नै व्यवस्था गरेका छौं । तर त्यसलाई सञ्चालन गर्ने काममा अति राजनीतिकरण हुने भयो ।,’’ महामन्त्री थापाले भन्नुभयो, ‘‘स्थानीय तहका प्रमुख पनि कुनै राजनीतिक पार्टीको हुने भएकाले शिक्षामा राजनीतिकरण हावी भयो । त्यसकारण यसलाई अनुगमन गर्नका लागि प्रदेश सरकारको मातहतमा रहने गरी शिक्षा लोकपालको व्यवस्था गर्न उपयुक्त हुन्छ । यसो गर्दा संविधानले दिएको अधिकार पनि तलमाथि नहुने, आग्रहको आधारमा हुने व्यवहारलाई पनि नियन्त्रण गर्न सकिने व्यवस्था प्रदेशमा गर्न सकिन्छ कि भन्ने मेरो कुरा हो ।’’   कार्यक्रममा बोल्नुहुँदै शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालाले संवैधानिक व्यवस्था अनुसार ऐनहरु तर्जुमा नभएकाले विद्यालय तहको शिक्षा सहज ढङ्गले अघि बढन सक्ने अवस्था नरहेको बताउनु भयो । उहाँले विद्यालय तहको शिक्षालाई निःशुल्क र अनिवार्य भन्ने तर निजी विद्यालयले शुल्क लिने यस्तो अन्याेलको अवस्था तत्काल हटाउन पनि सरकारलाई सुझाव दिनुभयो ।     शिक्षाविद् कोइरालाले निजी विद्यालयको सञ्चालनका सम्बन्धमा ठोस धारणा ल्याउन पनि ढिलाइ गर्न नहुनेतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो । शिक्षाविद् कोइरालाले भन्नुभयो, ‘‘अहिले बनेको आधारभूत शिक्षा ऐनलाई हेर्नुभयो भने केन्द्रीकरणको आभास छ । नीतिलाई हेर्नु भयो भने जनवादी केन्द्रीयताको अभाव छ । र, संविधानलाई हेर्नु भयो भने विकेन्द्रीकरणको आभास छ । पहिलो समस्या यही हो । दोस्रो निजी विद्यालयलाई के गर्ने भन्ने विषयमा एकदमै अन्यौल भयो । यता निःशुल्क शिक्षा भन्ने, अनिवार्य शिक्षा भन्ने । अनि निजीले शुल्क लिने । यस्तो अवस्थाको अन्त्य हुनुपर्दछ ।’’   शिक्षाविद् कोइरालाले केन्द्रीकरणको आभास हुने खालका कानुनी व्यवस्थाका कारण विद्यालय तहको शिक्षा प्रभावकारी हुन नसकेको दावी गर्नुभयो ।

काठमाडौं: नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको नेशनल वर्न सेन्टरमा उपचार भइरहेको छ।    भण्डारीको पहिलो सर्जरी सफलतापूर्वक सम्पन्न भएको अस्पतालमा रहेका योगराज कंडेलले जानकारी दिए।    भण्डारीको उपचारमा खटिएका मुख्य सर्जन डा़ सुनिल केसवानीका अनुसार भण्डारीको दायाँ खुट्टामा एकदमै डिप ईन्जरी रहेकोले सोचेभन्दा धेरै समय लगाएर सर्जरी गर्नु परेको थियो। दायाँ खुट्टा माईल्ड रहेको डाक्टर केसवानीले बताएको कंडेलले जानकारी दिए।    भण्डारीको दुवै खट्टाको सर्जरी सम्पन्न भएको छ। दोस्रो सर्जरी गर्ने वा नगर्ने अव्जरवेसन पछि मात्र निर्णय हुने डाक्टर केसवानीले बताएका छन्।    बुधबार राति  ग्यास सिलिण्डर विस्फोट हुँदा भण्डारी घाइते भएका हुन्। उनको थप उपचारका लागि बुधबार नै भारतको नेशनल वर्न सेन्टर लगिएको हो। विष्फोटमा गम्भीर घाइते भएकी भण्डारीको आमा हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको छ।

काठमाडौंः प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट गर्न बालकोट पुगेका छन्।    राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा थप छलफल गर्न प्रचण्ड ओली निवास पुगेका हुन्। राष्ट्रपतिमा कसलाई अगाडी सार्ने भन्ने बारे अहिलेसम्म ठोस निर्णय हुन सकेको छैन।    नेकपा एमालेले पुस १०मा भएको सहमति अनुसार नै राष्ट्रपति उम्मेदवार एमालेले पाउनुपर्ने दावी गर्दै आएको छ। सत्ता गठबन्धनमा विगतको समझदारी अनुसार नै राष्ट्रपति उम्मेदवार चयन गर्ने एमाले नेताहरूले दावी गर्दै आएका छन्।    यता नेपाली कांग्रेसले पनि नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारलाई विश्वासको मत दिएको र संसदको ठूलो दल भएकाले आफूहरूले नै राष्ट्रपति पाउनुपर्ने दवाव प्रधानमन्त्रीलाई दिँदै आएको छ।    कांग्रेस नेताहरूले राष्ट्रपति उम्मेदवारका विषयमा प्रधानमन्त्रीलाई दवाव बढाएपछि प्रचण्ड-ओली भेट बाक्लिएको छ।

बाँके: बाँकेको कोहलपुरलाई स्वच्छ र सफा राख्ने अभियान अन्तर्गत जथाभाबी फोहर फाल्नेलाई पक्राउ गरी जरिवाना गर्न सुरु गरिएको छ । सुरुवाती चरणमा सम्झाई बुझाई छोडिए पनि अटेर गर्ने प्रवृत्ति देखिएपछि नगर प्रहरीले नगद जरिवाना गर्न थालेको नगर प्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिनुभयो ।    “यो नगर हामी सबैको हो, नगर सफा र सुन्दर बनाउने जिम्मेवारी पनि हामी सबैको हो” नगर प्रमुख आचार्यले भन्नुभयो, “हामी कसैलाई पनि जरिवाना तिराउन नपरोस् र पुरस्कृत गर्नुपरोस् भन्ने चाहना रहेको छ । कोहलपुर नगरलाई सुन्दर बनाउने जिम्मेवारी सम्पूर्ण नगरवासीको रहेको भन्दै उहाँले महिनौँदेखि बारम्बार विनम्रतापुर्बक अनुरोध गर्दा समेत अटेर गर्ने प्रवृत्ति बढे कारबाही गर्न थालिएको बताउनुभयो  ।   जथाभाबी फोहर फाल्ने व्यक्ति, सङ्घ संस्था, व्यावसायिक फर्म, सबैलाई कारबाहीको दायरामा ल्याइने उहाँको भनाइ छ । केही दिनअघि स्कुटरमा राखेर फोहर सडक छेउमा फाल्ने प्रवृत्ति बढेको भन्दै नगर प्रहरीले निगरानी गर्दैआएको छ । केही व्यक्तिलाई पक्राउ गरी जरिवाना पनि तिराएको छ ।   नगरपालिकाले सार्वजनिक स्थानमा फोहर फाल्न सूचना प्रकाशन गरी निषेध गरेको छ । लुम्बिनीसहित सुदूरपश्चिम र कर्णाली प्रदेशको प्रवेशद्वारको रूपमा कोहलपुर क्षेत्रलाई सुन्दर, सफा र रमणीय बनाउन नगरबासीको साथ र सहयोग चाहिएको भन्दै नगर प्रमुख आचार्यले सार्वजनिक स्थानमा जथाभाबी फोहर गर्ने कामलाई निरुत्साहित गर्न जरुरी भएको बताउनुभयो ।