म्याग्दी:   म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको अडिट नम्बर १ (मुख्य सुरुङमा छिर्ने पहुँचमार्ग) मा पहिरो जाँदा आज दुई मजदुरको मृत्यु भएको छ । उक्त घटनामा परी पाँच जना घाइ...

म्याग्दी:  प्रमुख राजनीतिक दलका नेताहरुले आफ्नो प्रतिवद्धताअनुसार काम गरे देश बन्ने राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताउनुभएको छ । सातौं म्याग्दी महोत्सव–२०७९ को उदघाटन कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, “गएको स्थानीयतह निर्वाचन र आम निर्वाचनमा राजनैतिक दलहरुले जारी गरेको प्रतिबद्धता मात्रै पूरा गरेमा मुलुक समृद्ध बन्छ ।” अहिले मुलुक विकास र समृद्धिको मार्गमा अगाडि बढेको बताउँदै तिमिल्सिनाले दलहरुको प्रतिवद्धता व्यवहारमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो ।  देशमा सुशासन, पारदर्शीता, बिधिको सासन र भ्रष्टाचार अन्त्य हुनु पर्ने उहाँको भनाइ छ । संविधानसभाबाट संविधान बनेको र त्यसपछिका बिधिहरु अगाडि बढेकाले मुलुकको नेतृत्व गर्नेले कार्यान्वयनमा लानु पर्ने उहाँले बताउनुभयो ।  उद्योग ब्यापार र कलाको विकास गरौं संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवर्धन गरौं भन्ने मूल नाराका साथ सुरु भएको महोत्सव उदघाटन गर्दै अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, ‘विदेशमा रोजगार गर्नेलाई स्वदेशमै रोजगारी गर्ने वातावरण बनाउन राजनीतिक दलको प्रतिबद्धता पूरा हुन आवश्यक छ ।’ कालिगण्डकी करिडोर देशभरीकै महत्वपूर्ण योजना भएकाले सबैले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । मालढुङ्गा बेनी १३ किलोमिटर सडक ९९ करोड बजेटको कार्यक्रम भएको उहाँले चर्चा गर्नुभयो । टेण्डर प्रक्रिया पूरा भएर अगाडि बढेको भए पनि काम चुस्त हुन नसकेको उहाँको गुनासो छ ।  कालिगण्डकी करिडोर सडक आयोजनाको कोरला नाकासम्म पनि पुगेको बताउँदै तिमिल्सिनाले कोरला नाका सञ्चालनका लागि पहल गरिनु पर्ने बताउनुभयो । अपर मुस्ताङको नाका खुल्दा अन्तरदेशीय ब्यापार हुने बताउँदै नेपाल र चीन मात्रै नभएर नेपाल भारत र चीनको त्रिदेशीय नाकाको रुपमा कोरलाको बिस्तार भइरहेको बताउनुभयो । भन्सारका लागि सरकारले जग्गा पाएकाले अब काम चाँडै हुने विश्वास व्यक्त गर्नुभयो ।   बेनी–जोमसोम–कोरला कालिगण्डकी सडक आयोजनाको प्रमुखलाई नै सँगै लिएर आफू कोरला नाकासम्म पुगेकाले सडकले तिब्रता पाउने उहाँको भनाइ छ । अध्यक्ष तिमिल्सिनाले करिडोरको म्याग्दी खण्डमा भौगोलिक कारणले केही समस्या भएको बताउनुभयो । 

काठमाडौं:  उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रमा विश्व व्यापीरुपमा देखा परेको समस्या समाधान गर्न सामूहिक पहल जरुरी रहेको बताउनु भएको छ।  भ्वाइस अफ साउथ समिटअन्तर्गत अर्थमन्त्रीहरुको सत्रलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्नुहुँदै उपप्रधान तथा अर्थमन्त्री पौडेलले  यस्तो विचार व्यक्त गर्नुभएको हो।  उहाँले कोभिड–१९ को महामारीपछि विश्वव्यापी रुपमा आर्थिक मन्दीको संकेत देखिराखेको र त्यससँग जुध्न सामूहिक पहल गर्ने यो उपयुक्त समय भएको बताउनु भएको हो। मानव विकास र आर्थिक वृद्धि सँगसँगै हुने उल्लेख गर्नु हुँदै अर्थमन्त्री पौडेलले भन्नुभयो, ‘‘नेपाल सन् २०२६ सम्ममा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने बाटोमा छ। हामी समुद्ध नेपाल, सुखी नेपालीको मुद्दालाई अगाडि बढाउन केन्द्रित छौं।’’ आर्थिक रुपान्तरणका लागि नेपालले पूर्वाधार, शिक्षा, स्वास्थ्य सेवा र सामाजिक सुरक्षाजस्ता क्षेत्रलाई प्राथमिकता दिएको  र  दिगो विकास लक्ष्य हासिल गर्न सन् २०१६ देखि २०३० सम्मको अवधिमा वार्षिक ५८५ रुपियाँ अर्ब वित्तीय अभाव भएको उहाँको भनाइ छ। ‘‘सन् २०१९ लाई आधार वर्ष मान्दा यो कुल गार्हस्थ्य उत्पादनको १२।८ प्रतिशत हुन्छ। यो  कोभिड१९ महामारी पूर्वको अनुमान भएकाले हाल यो वित्तीय अभाव बढ्न सक्छ, उपप्रधान तथा अर्थमन्त्रीले भन्नुभयो।  उपप्रधानमन्त्री पौडेलले भन्नुभयो, ‘‘वित्तीय अभावलाई सम्बोधन गर्न हामीले उपयोगी उपकरणका रुपमा वित्तीय स्रोतका विभिन्न स्वरुपको समिश्रण गर्नुपर्दछ। नेपालले द्विपक्षीय र बहुपक्षीय  विकास साझेदारसँग सहयोगात्मक  सम्बन्ध  राखेको छ।’’ उपप्रधान तथा अर्थमन्त्री पौडेलले नेपालका विकास योजना र कार्यक्रम कार्यान्वयन गर्न पुर्‍याएको सहयोगप्रति आभार व्यक्त  गर्नुभयो।  नेपाल विकास वित्तका दायरा विस्तार गर्न दक्षिण–दक्षिण र त्रिकोणीय सहयोगबाट लाभ  प्राप्त गर्न इच्छुक रहेको बताउनुहुँदै उहाँले आर्थिक तथा सामाजिक विकासमा निरन्तर सहयोगका लागि भारत सरकारलाई धन्यवाद दिनुभयो। नेपालमा हामी वित्तीय सेवामा पहुँच फराकिलो बनाउने काम गरिराखेका जानकारी गराउनुहुँदै उपप्रधान पौडेलले विद्युतीय वित्तीय सेवाको प्रयोगमा उत्प्रेरित गर्नका लागि कार्यक्रम लागू गरेको जानकारी दिनुभयो।  नेपालको राष्ट्रिय वित्तीय समावेशीकरण रणनीति तयार हुँदै गरेको जानकारी गराउनुहुँदै उहाँले वित्तीय समावेशिकरण तथा डिजिटलाइजेशनमा भारतले ठूलो सफलता हासिल गरेको  र भारतको सफलताको कथाबाट सिक्न र नेपालको सन्दर्भमा कार्यान्वयन गर्न इच्छुक रहेको धारणा व्यक्त गर्नुभयो।  समिटमा नेपाल, भारत, श्रीलंका, कोलम्बियालगायत १५ देशका अर्थमन्त्रीको सहभागिता छ।

धनगढी:  नेपाल प्रेस युनियनको सुदूरपश्चिम प्रदेश समिति अध्यक्षमा  पत्रकार मनमोहन स्वाँर निर्विरोध निर्वाचित हुनुभएको छ । धनगढीमा भएको प्रदेश समितिको प्रथम अधिवेशनबाट उहाँ अध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको हो ।  यसैगरी, युनियनको खुला उपाध्यक्षमा टेकेन्द्र देउवा, महिला उपाध्यक्षमा गीता कुँवर, समावेशी उपाध्यक्षमा जगत खड्का निर्विरोध निर्वाचित हुनुभएको छ । महासचिवमा हरिश भट्ट, खुला सचिवमा राजेन्द्रबहादुर रोकाया, महिला सचिवमा बन्दना बम, समावेशी सचिवमा भीमबहादुर चौधरी र कोषाध्यक्षमा वीरबहादुर गडाल निर्विरोध चयन हुनुभएको छ ।  खुला सदस्यमा टेकबहादुर कुँवर, दीपक भण्डारी, हर्कबहादुर विष्ट, केशवदत्त भट्ट र चन्द्रप्रसाद खनाल चयन हुनुभएको छ । यसैगरी, महिला सदस्यमा कुमारी लक्ष्मी बम, सरस्वती भाट, करुणा जोशी, डालीकुमारी पाण्डेय निर्विरोध निर्वाचित हुनुभएको छ ।  दलित सदस्यमा लक्ष्मण विक, आदिवासी जनजाति सदस्यमा विनिता चौधरी, प्रेमकुमार चौधरी, मधेसी सदस्यमा रामदास राना, सागर कुश्मी, यौनिक अल्पसङ्ख्यक अपाङ सदस्यमा धनबहादुर बोहरा र पदम भाट गाउँले निर्विरोध निर्वाचित हुनुभएको छ । यसैगरी, लेखा समिति संयोजकमा कृतबहादुर विष्ट, सदस्यमा नवराज पनेरु र गगन अयडी निर्विरोध निर्वाचित हुनुभएको छ । 

सप्तरी:  सप्तरीमा चिसोले कठ्याग्रिएर मृत्यु हुनेको संख्या तीन पुगेको छ । राजविराज नगरपालिका(११ झल्लहीमा आज रामजानकी मन्दिरका ९२ वर्षीय महन्थ बालगोविन्द दासको चिसोका कारण कठ्याग्रिएर मृत्यु भएको हो । राति खाना खाएर सुतेका उनको चिसोले कठ्याग्रिएर मृत्यु भएको राजविराज नगरपालिका वडा नम्वर ११ का वडाध्यक्ष उदित यादवले जानकारी दिनुभयो । यसैगरी सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नम्बर ४ बेल्हामा सोमबार चिसोले कठ्यांग्रिएर ६५ बर्षीय कपलेश्वर सदा रहेको मृत्यु भएको छ । यसअघि सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ४ का ४५ वर्षिय देवु सदाको चिसोले कठ्याग्रिएर मृत्यु भएको थियो । बिगत केही समय यता सप्तरी सहित तराईका जिल्लाहरुमा बढेको अत्यधिक चिसोका कारणले यहाँको जनजीवन निकै कष्टकर बन्दै गइरहेको छ । चिसो बढेपछि जिल्लाका अधिकाश पालिकाहरुले केही दिनको लागि सामुदायिक तथा संस्थागत विद्यालय समेत बन्द गरेका छन् ।(

बुटवल:  लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पद तथा गोेपनियताको शपथ लिएका छन् । प्रदेश राजधानी दाङको देउखुरीस्थित प्रदेश प्रमुखको सम्पर्क कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई शपथ दिलाएका हुन् । लगत्तै शेरनले २ जना बिना विभागीय मन्त्रीलाई पनि शपथ गराएका छन् । मुख्यमन्त्री गिरीले नेकपा एमालेबाट अर्घाखाँचीका चेतनारायण आचार्य र सत्ता साझेदार माओवादी केन्द्रबाट बाँकेकी कृष्णा केसीलाई मन्त्री नियुक्त गरेका थिए । यसअघि माओवादी केन्द्रबाट संसदीय दलका नेता जोखबहादुर महरा मन्त्री नियुक्त हुने चर्चा भए पनि मन्त्रालय टुंगो नलागेपछि उनले बिना विभागीय मन्त्री बन्न इन्कार गरेका छन् । रुपन्देही २ को प्रदेश सभा १ बाट निर्वाचित नेकपा एमालेका गिरी प्रदेश सभाका १० मध्ये ७ दलका ५६ जना र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा संविधानको धारा १६८ को २ अनुसार बुधबार मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री गिरीले मन्त्री परिषद विस्तार गर्न थप समय लाग्ने बताएका छन् ।

काठमाडौं:  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि जर्मन राजदूत थोमस प्रिन्सले भेट गर्नुभएको छ । राजदूत प्रिन्सले बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगी प्रधानमन्त्रीसँग भेट गर्नुभएको हो । भेटमा प्रधानमन्त्रीले जर्मन सरकारको सहयोगमा सञ्चालित आयोजनाहरूले देशको विकास र समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताउनुभयो । प्रधानमन्त्रीले सामाजिक न्याय, सुशासन र समृद्धि आफ्नो सरकारको प्राथमिकता रहेको बताउँदै विगतझैँ अन्तर्राष्ट्रिय समुदायको पूर्ण सहयोग रहने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले नेपाल असंलग्न परराष्ट्र नीतिमा दृढ रहेको र अन्तर्राष्ट्रिय समुदायसँग समान कुटनीतिकसम्बन्ध रहने बताउँदै यसलाई आफूले प्रो–नेपाल पोसिली’को नाम दिएको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले नयाँ सरकार शान्ति प्रक्रियाको पूर्णता, दिगो आर्थिक विकास र सामाजिक सुरक्षा लागू गर्न प्रभावकारी रूपमा लागि पर्ने बताउनुभयो । भेटमा राजदूत प्रिन्सले संसदबाट झण्डै शतप्रतिशत मतका साथ विश्वासको मत प्राप्त गर्नुभएकोमा प्रधानमन्त्रीलाई बधाइ दिनुहुँदै नेपालको पूर्वाधार विकास र समृद्धिका क्षेत्रमा जर्मन सरकारको सहयोग पूर्ण रहने बताउनुभयो ।

पोखरा:  पोखरा मनिपाल कलेज अफ मेडिकल साइन्सेस्मा ‘ह्वाइट कोट सेरेमनी’ सम्पन्न भएको छ । कलेजमा अध्ययनरत एमबिबिएस ब्याच २०२१ का विद्यार्थीहरुलाई ‘ह्वाइट कोट‘(सेतो कोट) प्रदान गरिएको हो । आज (मंगलबार) दिपस्थित कलेज प्राङ्गणमा आयोजित सभामा डा. शिशिर गोख्ले र डा.अभिषेक मास्केले १ सय विद्यार्थीहरुलाई कोट प्रदान गरे । कोट प्रदान गर्दै उनिहरुले विद्यार्थीको उज्जवल भविष्यको कामना गरे । ह्वाइट कोटसँगै विद्यार्थीहरुमा समाजप्रतिको उत्तरदायित्व अझ बढ्ने भएकाले संवेदनशिलताका साथ अघि बढ्नुपर्ने उनिहरुको सुझाव थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पोखरेली शैक्षिक इतिहासका धरोहर जर्ज जोनले विद्यार्थीहरुलाई डाक्टरप्रति आम मानिसको मनोविज्ञान र त्यसमा खेल्नुपर्ने भूमिकाबारे धारणा राखे । उचित समयमा डाक्टरबाट प्राप्त गरिने सल्लाह सुझावले स्वास्थ्य जिवनशैलिका लागि महत्वपुर्ण हुने उनको भनाई थियो । पोखरा मनिपालका बोर्ड सदस्य नारायण पौडेलले कलेजको गुणस्तरबृद्धिका लागि कुनै कसर बाँकी नराखिने प्रतिबद्धता जनाए । सामाजप्रतिको उत्तरदायित्व बहन गर्दै सुविधासम्पन्न सेवा उपलब्ध गराइने उनको भनाई थियो । मनिपाल एजुकेशन एण्ड मेडिकल ग्रुपका सिइओ अनिल अडुविलले विद्यार्थीको उज्जवल भविष्यको कामना गरे ।  कलेजका डा. दयाराम पोखरेलले सेतो कोटलाई सम्मान गर्दै जिम्मेवार भएर सफल अध्ययनका लागि शुभेच्छा प्रकट गरे ।  कलेजका पहिलो ब्याचका विद्यार्थि डा. पदम बहादुर खड्काले विगत सम्झिदैँ मनिपालको विद्यार्थि हुनुमा गौरव रहिरहने सुनाए । डा. खड्काले विश्वकै स्वास्थ्य संस्थाहरुमा मनिपालबाट उत्तिर्ण विद्यार्थीहरुको बलियो प्रभाव पर्ने भएकाले मर्यादीत एवं जिम्मेवार भएर अघि बढ्न सुझाए । सो अवसरमा कलेजका विद्यार्थी एवं गोल्ड मेडलिस्ट डाक्टर जायज अधिकारीलाई सम्मान गरिएको थियो ।

काठमाडौं:   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डुसँग नेपालका लागि जर्मन राजदूत थ‍ोमस प्रिन्सले भेट गरेका छन्। प्रिन्सले बिहीबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबार पुगी प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन्। भेटमा प्रधानमन्त्रीले जर्मन सरकारको सहयोगमा सञ्चालित आयोजनाहरूले देशको विकास र समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याएको बताए। प्रधानमन्त्रीले सामाजिक न्याय,सुशासन र समृद्धि आफ्नो सरकारको प्राथमिकता रहेको बताउँदै विगतझैं अन्तर्राष्ट्रिय समुदायको पूर्ण सहयोग रहने विश्वास व्यक्त गरे। प्रधानमन्त्री प्रचण्डले नेपाल असंलग्न परराष्ट्र नीतिमा दृढ रहेको र अन्तर्राष्ट्रिय समुदायसँग समान कुटनीतिक सम्बन्ध रहने बताउँदै यसलाई आफूले प्रो९नेपाल पोलिसीको नाम दिएको बताए। प्रधानमन्त्री प्रचण्डले नयाँ सरकार शान्ति प्रक्रियाको पूर्णता,दिगो आर्थिक विकास र सामाजिक सुरक्षा लागू गर्न प्रभावकारी रूपमा लागिपर्ने बताए। भेटमा राजदूत प्रिन्सले संसदबाट झण्डै शतप्रतिशत मतका साथ विश्वासको मत प्राप्त गरेको भन्दै प्रधानमन्त्रीलाई बधाइ दिँदै नेपालको पूर्वाधार विकास र समृद्धिका क्षेत्रमा जर्मन सरकारको सहयोग पूर्ण रहने बताए।

विराटनगर:  प्रदेश १ को सभामुखमा बाबुराम गौतम निर्वाचित भएका छन् । सभामुखमा माओवादी केन्द्रका सांसद बाबुराम गौतमको मात्रै उम्मेदवारी परेको थियो । आज बसेको प्रदेश सभा बैठकले गौतमलाई निर्वाचित भएको घोषणा गरेको हो । माओवादी उम्मेदवार गौतमलाई सत्ता पक्ष र प्रतिपक्षी दलको पनि समर्थन थियो । माओवादी केन्द्रका केन्द्रीय सदस्य गौतम ओखलढुङ्गाको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ बाट प्रत्यक्ष निर्वाचित भएका थिए । प्रदेश १ को पहिलो कार्यकालमा एमाले सांसद प्रदीपकुमार भण्डारी सभामुख बनेका थिए । दोस्रो कार्यकालमा गौतम बन्नेछन् । सभामुख गौतमले आजै शपथ लिनेछन् । संसद् सचिवालयका प्रमुख गोपाल पराजुलीका अनुसार १ बजे शपथ ग्रहण गर्ने छन् । उनलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराउने छन् । प्रदेश १ को उपसभामुखको निर्वाचन भने पुस ३० गतेका लागि तोकिएको छ।  को हुन् गौतम ? ओखलढुंगाको लिखु गाउँपालिका–९ स्थायी ठेगाना भएका गौतम २०४६ सालको पञ्चायत विरोधी आन्दोलनबाट राजनीतिमा प्रवेश गरेका हुन् । बहुदलपछि सर्लाहीको महादेव जनता माविमा अखिलको इकाई अध्यक्ष भएका उनले त्यहीँबाट एसएलसी गरेका हुन् । त्यसपछि काठमाडौंको आरआर क्याम्पस अध्ययनको क्रममा उनले अखिलबाटै स्ववियुको राजनीति गरेका थिए । २०५२ साल फागुन १ गतेदेखि नै माओवादी जनयुद्धमा लागेका उनी त्यसबेला काठमाडौं–ओखलढुङ्गा सम्पर्क समितिको सचिव थिए । ०५४ सालदेखि ०५६ सालसम्म जेल परेका उनी ०५७ सालदेखि ०६० सालसम्म माओवादी कमाण्डरको रुपमा ओखलढुंगामा काम गरे । ०६० सालमा अखिल नेपाल ट्रेड युनियन महासंघको महासचिव भएका उनी शान्ति प्रक्रियापछि पनि मजदुर संगठनको केन्द्रीय उपाध्यक्ष भएका थिए । उनले मजदुर संगठनमा रहँदा झापा, मोरङ र सुनसरीमा लामो समय काम गरेका छन् । २०७० सालदेखि भने उनी ओखलढुङ्गा जिल्लामा पार्टी अध्यक्ष भएर भूगोलमा काम गर्न थाले । ०७२ सालदेखि अहिलेसम्म उनी ओखलढुङ्गाको इन्चार्जको भूमिकामा छन् । माओवादी केन्द्रको केन्द्रीय सदस्यसमेत रहेका उनी हालसम्म संसदीय राजनीतिमा प्रवेश गरेका थिएनन् । ०६४ साल र ०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिकतर्फ उम्मेदवार बनेका उनी सभासद् बन्न भने पाएनन् । ०७४ सालको निर्वाचनमा वाम गठबन्धन हुँदा पनि उनी उम्मेदवार बन्न पाएनन् । यो पटकको निर्वाचनमा भने ओखलढुङ्गाको प्रदेश निर्वाचन क्षेत्र २ बाट कांग्रेसको सहयोगमा निर्वाचित भएका गौतम पहिलो चरणमै प्रदेशसभाका नेतृत्व गर्ने ठाउँमा पुग्ने निश्चित भएको छ । राजनीतिशास्त्रमा आइएसम्मको अध्ययन गरेका उनी जनयुद्धको कारण शैक्षिक योग्यता थप्न नपाएको बताउँछन् । आफू निर्विरोध निर्वाचित हुने अवस्थामा पुग्दा नयाँ जिम्मेवारी थपिएको भन्दै उनी यो भूमिकालाई आफूले सफलतापूर्वक सम्पन्न गर्ने बताउँछन् । यद्यपि उनीसँग कानुन निर्माण र प्रक्रियाबारे पर्याप्त ज्ञान अभाव देखिन्छ । उनका लागि प्रदेश १ को अत्यन्तै तरल अवस्थामा रहेको संसदीय राजनीतिलाई सहज ढंगले डोर्याउने र सरकारसँग समन्वय गर्न उनलाई चुनौती देखिन्छ ।