माधव नेपाल वा अरूले उम्मेदवारी दिए पनि कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिन्छ, जित्छ: शेखर कोइराला
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राष्ट्रपतिमा कांग्रेसले उम्मेदवारी दिने र जित्ने बताएका छन्। संसदको सबैभन्दा ठूलो दल कांग्रेस भएकोले राष्ट्रपतिमा उम्मेदवारी दिने कोइरालाले बताए। तर अहिलेसम्म उम्मेदवार भने टुंगो नलागेको कोइरालाको भनाइ थियो। राष्ट्रपति चुनावका लागि फागुन १३ गते मनोनयन दर्ता गर्ने कार्यतालिका छ। ‘हिजोदेखि एउटा कुरा आएको छ- केपी ओलीजीले माधवकुमार नेपालजीलाई भेट्नुभयो भन्ने। उहाँहरू पहिले एउटै पार्टी (एमाले) मा हुनुहुन्थ्यो, २ वर्षजति भयो उहाँहरूले अर्को पार्टी (एकीकृत समाजवादी) बनाउनुभयो। त्यसरी जाँदा फेरि एकै ठाउँमा उभिने 'चान्स' हुन्छ भन्ने पनि होला, ठिकै हुन्छ,’ कोइरालाले मंगलबार सिन्धुलीमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘तर नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिन्छ र त्यो उम्मेदवारले जित्छ। ढुक्क हुनुस्।’ एमाले अध्यक्ष ओली र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच भेटघाट भएका विषय बाहिर आउँदैमा कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी नदिई बस्ने भन्ने कुरा नआउने पनि कोइरालाले बताए। ‘माधव नेपालजी वा अरूको कुरा, ओलीले भेट्नुभयो भन्दैमा हामीले उम्मेदवार नदिने भन्ने सोच राख्या पनि छैन राख्दा पनि राख्दैनौं,’ उनले भने। उनले चुनावका बेला पाँचदलीय गठबन्धन गरे पनि यसबीचमा कांग्रेसका तर्फबाट केही कमीकमजोरी रहेको र त्यो स्वीकार गरिएको पनि बताए। उनले दलका नेताका नाममा राष्ट्रिय सहमति हुने अवस्था आफूले नदेखेको बताए। ‘संसदमा भएका दलका नेताका नाममा राष्ट्रिय सहमति हुनुपर्यो, भएन भने के गर्ने?,’ उनले भने, ‘राष्ट्रपति पार्टीभित्रबाट लिने कि बाहिरबाट भन्ने पनि छ। पार्टीभित्रबाट दिँदा कांग्रेस उम्मेदवारलाई अर्को पार्टीले स्वीकार नगर्न पनि सक्छ। माओवादीका उम्मेदवारलाई अर्को पार्टीले स्वीकार नगर्न सक्छ। यसरी त राष्ट्रिय सहमति बन्दैन। राष्ट्रिय सहमति बनाउन बाहिरबाट गयो भने बन्न सक्छ, यो मेरो व्यक्तिगत कुरा हो। नत्र गाह्रो हुन्छ। सबै राजनीतिक दलले स्वीकार गरेको व्यक्ति म चाहिँ देख्दिनँ।’
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगत २ वर्षदेखि साउदी जेलमा रहेका दिनेश कार्कीलाई नेपाल ल्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मंगलबार बिहान कार्कीका बुवा गणेशबहादुर कार्कीसहितको टोलीलाई बालुवाटारमा भेट्दै प्रधानमन्त्रीले कार्कीलाई जेलमुक्त गरी नेपाल ल्याउने कार्यको तत्काल पहल गर्न परराष्ट्र मन्त्रालयको ध्यानाकर्षणसमेत गराएका हुन् । भेटमा प्रधानमन्त्रीले भने, ‘वर्तमान सरकार विदेशमा रहेका नेपाली श्रमिक तथा कामदारको हकहित र सुरक्षामा सबैभन्दा बढी संवेदनशील छ। विदेशमा रहेका नेपालीहरूले राष्ट्रिय अर्थतन्त्रको ठुलो हिस्सा धानेका छन्, उनीहरूको हकहित र सुरक्षाको प्रबन्ध गर्नु राज्यको जिम्मेवारी हो। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको आत्मस्वाभिमान र उनीहरूले आर्जन गरेको पुँजी, सीप र प्रविधिलाई नेपालको हित अनुकूल परिचालन गर्न सरकार प्रतिबद्ध छ।” धनकुटा जिल्लाको चौबिसे गाउँपालिका वडा नं.–४ निवासी कार्की २ वर्षअघि ट्राफिक नियम उल्लङ्घन गरेको कसुरमा साउदी जेलमा रहेका छन्।
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल'प्रचण्ड'ले विज्ञान र प्रविधिको विकास नभइ नेपालको विकास नहुने बताएका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महावीर पुनसँगको छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले विज्ञान र प्रविधिको विकासमा जोड दिएका हुन्। वर्तमान युग विज्ञान र प्रविधिको भएकाले कुनै पनि देशको अस्तित्वका लागि यसको विकास अपरिहार्य भएको बताए। प्रधानमन्त्रीले भने,' अहिलेको युग नै विज्ञान र प्रविधिको हो । जसले लगानी र प्रगति गर्छ त्यो टिक्छ,जसले गर्दैन त्यो टिक्दैन ।' विज्ञान र प्रविधिको क्षेत्रमा राज्यको यथेष्ट लगानी गर्नुपर्ने विषयमा ध्यानाकर्षण भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले अहिले विद्यमान ऐन कानुन तथा कार्यान्वयनमा देखिएका समस्या हल गर्दै अघि बढनुपर्नेमा जोड दिए। आविष्कार केन्द्रका प्रमुख महावीर पुन नेतृत्वको टोलीले नेपालको विकासका लागि विज्ञान र प्रविधिका क्षेत्रमा संस्थाले खेल्दै आएको भूमिकाबारे प्रधानमन्त्रीलाई जानकारी गराएको थियो । कृषि, शिक्षा,स्वास्थ्यलगायतका क्षेत्रमा नवीनतम आविष्कारका माध्यमबाट आत्मनिर्भर नेपालको निर्माण गर्न सकिने अनुभव राख्दै पुनले राज्यका तर्फबाट यो क्षेत्रलाई विशेष प्राथमिकतामा राख्नुपर्ने बताएका थिए।
काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले ग्याल्पो ल्होसारजस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने विश्वास लिनुभएको छ । ग्याल्पो ल्होसार, २०७९ को अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले “ग्याल्पो ल्होसार पर्वले सबैलाई एकताबद्ध भएर आर्थिक, सामाजिक र सांस्कृतिकरूपले समुन्नत मुलुक निर्माणका लागि अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस्” भनी कामना गर्नुभयो । “नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्र हो, शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु”, सन्देशमा भनिएको छ । नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पालगायत महायान बौद्ध धर्मावलम्बी समुदायद्वारा फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षका रूपमा ग्याल्पो ल्होसार मनाइन्छ । पर्वको अवसरमा शेर्पा समुदायले आफ्नो घरआँगन, बाटोघाटो तथा पानीका स्रोतको सरसफाइ गर्ने, घरको छतलगायत गुम्बा र चैत्यमा नयाँ ध्वजा राख्ने, गुथुक र खाप्सेजस्ता परिकार खाने अनि आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा रहेको छ ।
काठमाडौं: प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होछार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ । नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५०औँ ग्याल्पो ल्होछार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन ९मेघ०, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । ग्याल्पो ल्होछार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्यरुपमा मनाइन्छ । ग्याल्पो ल्होछार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो । समय क्रममा ग्याल्पो ल्होसार नामकरण भएको अनुसन्धानदाता टीका शेर्पाको भनाइ छ । उनका अनुसार ल्होसारलाई कसैले ग्याल्पो र कसैले ग्याल्बो उच्चारण गर्ने गर्छन् । विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइँ सराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो । पुस १५ मा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाइसकेका छन् । ग्याल्बो ल्होछारको अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।
पोखरा: पोखरा विश्वविद्यालयको १८औँ दीक्षान्त समारोहमा छ हजार नौ सय ९९ विद्यार्थी दीक्षित भएका छन् । पोखराको ढुङ्गेपाटनस्थित पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा सोमबार आयोजित दीक्षान्त समारोहमा उक्त सङ्ख्यामा विद्यार्थी दीक्षित भएका हुन् । विसं २०७९ माघ २० गतेसम्म ट्रान्सक्रिप्ट लिएका विभिन्न शैक्षिक कार्यक्रममा उत्तीर्ण विद्यार्थीलाई उक्त विश्वविद्यालयका कूलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दीक्षित गर्नुभएको हो । पोखरा विश्वविद्यालयले यस वर्ष व्यवस्थापन सङ्कायबाट विद्यावारिधि गर्ने एक विद्यार्थीलाई कुलपति पदक, स्नातकोत्तर तहका विभिन्न कार्यक्रममा सर्वोकृष्ट अङ्क प्राप्त गर्ने ११ विद्यार्थीलाई कुलपति पदक र स्नातक तहमा सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने एक विद्यार्थीलाई उपकुलपति पदकबाट विभूषित गरिएको थियो । उक्त अवसरमा विभिन्न विधाका पाँच सय ७२ विद्यार्थीलाई डीन लिष्टको उपाधिबाट सम्मानित गरिएको थियो । व्यवस्थापन सङ्कायअन्तर्गत आङ्गिक महाविद्यालयबाट स्नातकोत्तर तहमा एमबिए प्रोग्राममा सर्वोकृष्ट नतिजा हासिल गर्ने एक विद्यार्थीलाई लक्ष्मी स्वर्ण विद्या पदक, २०७९ बाट सम्मान गरिएको छ । विज्ञान तथा प्रविधि सङ्कायअन्तर्गत स्नातक तहमा बिसिए प्रोग्राममा सर्वोकृष्ट नतिजा हासिल गर्ने एक विद्यार्थीलाई असिम गोल्ड मेडल, २०७९ बाट सम्मान गरिएको छ । पोखरा विश्वविद्यालयका ६६ महाविद्यालयमा विभिन्न प्राविधिक एवं साधारण विषयमा स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि तहका पठनपाठनका साथै विश्वविद्यालयमा ६४ कार्यक्रम सञ्चालनमा रहेको विश्वविद्यालयका उपकुलपति प्रा डा प्रेमनारायण अर्यालले जानकारी दिनुभयो । यी कार्यक्रममा शैक्षिक सत्र २०७९ मा ३७ हजार छ सय ४५ विद्यार्थी अध्ययनरत छन् । पोखरा विश्वविद्यालयमा हाल व्यवस्थापन, विज्ञान तथा प्रविधि, स्वास्थ्य विज्ञान र मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत शैक्षिक कार्यक्रम सञ्चालनमा छन् । पोखरा विश्वविद्यालयका देशैभरि चार आङ्गिक, चार संयुक्त आङ्गिक र ५८ सम्बन्धनप्राप्त महाविद्यालय सञ्चालनमा रहेको जानकारी सो अवसरमा दिइएको थियो । आङ्गिक महाविद्यालयमा स्नातक तहमा १७, स्नातकोत्तर तहमा १७, एमफिल तहमा एक र विद्यावारिधि तहमा तीनसहित ३८ कार्यक्रम सञ्चालनमा रहेको जानकारी पनि उक्त अवसरमा दिइएको थियो । पोखरा विश्वविद्यालयले एक वर्षयता शिक्षण अस्पताल सञ्चालनमा ल्याएको छ । दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको राजनीतिक, आर्थिक, सामाजिक एवं शैक्षिक रूपान्तरणका लागि आवश्यक जनशक्ति पोखरा विश्वविद्यालयले उत्पादन गर्ने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले राष्ट्रिय शिक्षा नीति, २०७६ को उद्देश्यअनुरूप ज्ञानमा आधारित समाज र अर्थतन्त्र निर्माणका लागि उच्च शिक्षाको पहुँच र गुणस्तर अभिवृद्धि गरी विभिन्न क्षेत्रमा सक्षम नेतृत्व प्रदान गर्न योग्य, दक्ष, वैज्ञानिक, नवप्रवर्तनात्मक, अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी र अनुसन्धानमुखी मानव संशाधन विकास गर्ने दिशामा विश्वविद्यालय अगाडि बढ्नुपर्नेमा उहाँको जोड थियो । प्रधानमन्त्री दाहालले नेपालको संविधानले व्यवस्था गरेबमोजिम निःशुल्क शिक्षाको हकलाई व्यवहारमा कार्यान्वयन गर्न सङ्घीय शिक्षा ऐनको अन्तिम तयारी भइरहेको जानकारी पनि दिनुभयो । भारतको नोएडा अन्तर्राष्ट्रिय विश्वविद्यालय ९एनआइयू० का उपकुलपति प्रा डा उमा भारद्वाजले गुणस्तरीय शिक्षाबाट विश्व बजारमा प्रतिस्पर्धी उच्चस्तरीय जनशक्ति उत्पादन गरी देशको विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो । उच्तस्तरीय जनशक्ति उत्पादन गर्नका लागि अध्ययन, अध्यापन, अनुसन्धान तथा अन्य पक्षलाई अगाडि बढाउँदै लानुपर्नेमा उहाँको जोड थियो । विश्वविद्यालयका उपकुलपति प्रा डा अर्यालले विश्वविद्यालयले विद्यार्थी अध्ययनका लागि विदेश जानबाट रोक्न आकर्षक छात्रवृत्तिको व्यवस्था गरेको जानकारी दिनुभयो ।
काठमाडौंः नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले दल विशेषका व्यक्तिलाई राष्ट्रपति बनाउन नसकिने बताएका छन्। पार्टीको पदाधिकारी बैठक बस्नु अघि पत्रकारसँग कुरा गर्दै गुरुङले संविधानमा दलको व्यक्तिलाई राष्ट्रपति बनाउने कल्पनानै नगरिएको बताए। गुरुङले भने, ‘दल विशेषलाई राष्ट्रपति बनाउन सकिँदैन। राष्ट्रपति राष्ट्रिय एकताको प्रतिक हो। दलहरुको सिफारिस हुन्छ तर, साझा सहमति बन्न सक्ने व्यक्ति हुनुपर्छ। सबैले समर्थन गर्न सक्ने व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्छ। दलको क्यान्डिडेटलाई मान्न सकिँदैन।’
काठमाडौं : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले अब संसदको ध्यान प्रभावकारी ऐन कानुन निर्माण गर्नेतर्फ केन्द्रीत हुनुपर्ने बताएका छन्। राष्ट्रिय समावेशी आयोग दिवसका अवसरमा राष्ट्रिय समावेशी आयोगले सोमबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले संसदको पहिलो कार्यकालको अनुभवलाई आत्मसात गर्दै अब प्रभावकारी ऐन कानुन निर्माण गर्नेतर्फ संसदको ध्यान दिनुपर्ने बताए। संसदको भूमिकालाई प्रभावकारी पार्नका लागि सांसदहरुको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ । सभामुख घिमिरेले सरकारलाई गतिशिल बनाउनका लागि प्रतिपक्षीको भूमिका महत्वपूर्ण हुने र बहुमत हुँदैमा सरकारलाई पनि संसदप्रति उत्तरदायी नहुने छुट नरहेको धारणा राखे । उनले आयोगले सिमित स्रोत साधनका बाबजुत धेरै काम गर्न खोजेको र त्यसको लेखाजोखा संसदीय समिति मात्रै नभइ फुल हाउसमा छलफल हुनुपर्ने धारणा राखे। विभिन्न संवैधानिक आयोगका प्रतिवेदन दर्ता गर्ने र राख्ने काम मात्रै भएकाले आयोगका कामहरूप्रति सरकार जवाफदेही हुने परिपाठी सिर्जना गर्नुपर्ने आवश्यकता रहेको बताए। त्यस्तै राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमल्सेनाले समावेशीताको बुझाइमा एकरुपता आवश्यक पर्ने बताए । मुलुकमा बस्ने प्रत्येक व्यक्तिहरु, समुदाय सबैलाई न्याय गर्न सक्ने परिकल्पना राज्यले गरेको अवस्थामा केहि समुदायको मात्रै प्रतिनिधित्वलाई समावेशिता भन्न नमिल्ने उनले बताए। कार्यक्रममा अन्य संवैधानिक आयोगका अध्यक्षहरूले विभिन्न आयोगको कामकारबाहीलाई प्रभावकारी बनाउनका लागि समन्वयात्मक भूमिका आवश्यक रहेको धारणा राखेका थिए । सामाजिक न्याय प्राप्तिका लागि सबै अवरोध हटाऔं र यसका अवसरहरूको उपयोग गरौं भन्ने नारासहित सोमबार राष्ट्रिय समावेशी आयोग दिवस मनाइएको हो ।
गुल्मी: गुल्मीमा १३ प्रजातिका नयाँ चराहरू भेटिएका छन् । चरा सर्वेक्षणको क्रममा जिल्लाको रेसुङ्गा र मदाने वन संरक्षण क्षेत्रमा नयाँ प्रजातिका चराहरू भेटिएका नेपाल पक्षी संरक्षण सङ्घ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले जानकारी दिनुभयो । १९ हजार २८१.६५ हेक्टर क्षेत्रफलमा फैलिएको रेसुङ्गा वन संरक्षण क्षेत्रमा पाँच प्रजातिका नयाँ चराहरू भेटिएका छन् । जसमा कोटेरो मुनियाँ, तिलहरी चरा, चखेवाचखेवी, चञ्चले सुड्सुडिया र टुइँसी सुगा प्रजातिका चराहरू रहेका छन् । १३ हजार ७६१ हेक्टर क्षेत्रफलमा फैलिएको मदाने वन संरक्षण क्षेत्रमा भने आठ प्रजातिका नयाँ चराहरू भेटिएका छन् । जसमा हिमाली मलेवा, खरलाहाँचे, लामोठुँडे चाँचर, लघु बगेडी, कण्ठे सुगा, खोले टिकटिके, फुस्रो टिकटिके र ठूलो छिरबिरे माटीकोरे प्रजातिका चराहरू भेटिएका हुन् । यहाँ बर्सेनि चराहरूको सङ्ख्या बढिरहेको छ । हालको सर्वेक्षणसम्म रेसुङ्गा वन संरक्षण क्षेत्रमा २५८ प्रजातिका चरा छन् । यता, मदाने वन संरक्षण क्षेत्रमा २७२ प्रजातिका चरा छन् । दुवै क्षेत्रमा २१८ प्रजातिका चराहरू छन् । अहिलेसम्म यस जिल्लामा ३१२ प्रजातिका चरा छन् । रेसुङ्गा र मदाने वन संरक्षण क्षेत्रमा यस अघिको सर्वेक्षणमा ३०५ प्रजातिका चराहरू रहेका थिए । हालसम्म नेपालमा पाइएका ८९२ प्रजातिका चरामध्ये करिब ३५ प्रतिशत प्रजातिका चराहरू यहाँ फेला परेको सङ्घले जनाएको छ । गुल्मी जिल्लामा विश्वकै दुर्लभ छ प्रजातिका चराहरू पाइन्छ । जसमा रेसुङ्गा वन संरक्षण क्षेत्रमा चिर, रणमत्त महाचील, सेतो गिद्ध, सुन गिद्ध, गोमायु महाचील, डंगर गिद्ध छन् । मदाने वन संरक्षण क्षेत्रमा चिर, सेतो गिद्ध, सुन गिद्ध, गोमायु महाचील छन् । यहाँ रहेका दुर्लभ चराहरूको संरक्षणका लागि विभिन्न चुनौती देखिएको परियोजना अधिकृत पन्थीले बताउनुभयो । बेला–बेलामा हुने वन डढेलो, वासस्थान परिवर्तन, चोरी सिकारी, बढ्दो रासायनिक पदार्थको प्रयोग, अव्यवस्थित ग्रामीण सडक जस्ता समस्याहरू चरा संरक्षणका लागि चुनौती बनेको उल्लेख गर्नुभयो । सङ्घले रेसुङ्गा र मदाने वन संरक्षण क्षेत्रमा चराहरूको अनुसन्धान र गणना गर्दै आएको परियोजना अधिकृत पन्थीले बताउनुभयो । चराचुरुङ्गीको संरक्षणका लागि परियोजनाका माध्यमबाट विभिन्न संरक्षण पोखरी निर्माण, स्थानीयको जनचेतना अभिवृद्धि गर्ने तथा वनमा आश्रित जनताहरूलाई विभिन्न खालका जीविका पार्जनसँग सम्बन्धित कार्यक्रमहरूलाई जोड दिएको उहाँले उल्लेख गर्नुभयो ।

