काठमाडौं: नेपाली कांग्रेसका संसद सञ्जयकुमार गौतमले गुलरिया–मूर्तिया नाका तत्काल सञ्चालनमा ल्याउन सरकारसँग माग गर्नु भएको छ । १४ वर्ष अघि नेपाल–भारतबीच सो नाका सञ्चालन गर्ने सहमती भए पनि त्यसको अझै कार्यान्वयनमा ल्याउन सरकार तयार नभएकोमा सांसद गौतमको आपत्ति छ । शुक्रबारको प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बौलदै उहाँले सो नाका सञ्चालनका लागि भारत सरकारसँग पनि आग्रह गर्नुभयो । सांसद गौतमले छोटी भन्सारहरुको उचित व्यवस्था गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । छोटी भन्सारलाई अस्तव्यस्त बनाएर सरकार आफैंले चोरी पैठारीलाई प्रश्रय दिएको आशंका समेत उहाँले व्यक्त गर्नु भयो । ‘‘२७ अक्टोवर २००९ मा नेपाल–भारतबीच भएको वाणिज्य सन्धी अनुसार व्यापार र पारबहनका लागि गुलरिया–मूर्तिया नाका सञ्चालन गर्ने सहमती भएको थियो । तर, आज १४ वर्ष बितिसक्यो । म पनि यो संसदमा नौं वर्षदेखि छु । बारम्बार कुरा उठाउँछु । तर, अहिलेसम्म त्यो नाका सञ्चालन हुन सकेन सभामुख महोदय । त्यसकारण सभामुखमार्फत् मे नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउनु चाहन्छु–र, भारत सरकारलाई पनि विशेष आग्रह गर्न चाहन्छु–यो नाका सञ्चालनमा तदारुकता देखाइयोस् ।,’’ सांसद गौतमले भन्नुभयो, ‘‘र, तत्काल यो नाका सञ्चालनमा आओस् । सीमावर्ती जिल्लाहरुमा धेरै छोटी भन्सारहरु छन । त्यो व्यवस्थिति छैनन् । आज छोटी भन्सारहरु पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म अस्तव्यस्त अवस्थामा छन । यसप्रति पनि नेपाल सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु ।’’ सांसद गौतमले अर्थतन्त्र कमजोर भइरहेका बेला भन्सार कार्यालयको व्यवस्थापन गर्न पनि सरकार गम्भिर नभएको भन्दै आपत्ति समेत जनाउनु भयो ।
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरी र स्वीट्जरल्याण्डका राष्ट्रपति एलेन विरसेटबीच भेटवार्ता भएको छ । बिरामी सुरक्षासम्बन्धी मन्त्रिस्तरीय कार्यशालामा भाग लिन स्वीट्जरल्याण्ड पुग्नुभएका गिरीले आज (शुक्रबार) त्यहाँका राष्ट्रपतिसँग भेट गर्नुभएको हो । मन्त्री गिरीको सचिवालयलका अनुसार भेटमा मन्त्री गिरीले बिरामी सुरक्षासम्बन्धी मन्त्रिस्तरीय कार्यशालामा नेपाललाई आमन्त्रण गरेकोमा धन्यवाद ज्ञापन गर्नुभएको छ । त्यसैगरी, दुई देशबीच बिरामीको सुरक्षाका विषयमा सहकार्य गरेर अगाडि बढ्न प्रतिबद्धता व्यक्त गरेको मन्त्री गिरीको सचिवालयले जानाएको छ ।
काठमाडौं: नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले सरकारले सरकारी कार्यालयहरु बेवारिसे रुपमा राखिएका स्राेत, साधनहरुको सदुपयोग गर्न आग्रह गर्नुभएको छ । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा सांसद सिंहले यस्तो आग्रह गर्नुभएको हो । उहाँले देशभरकै नेपाल सरकारको कार्यालय र प्रहरी कार्यालय परिसरभित्र साधनस्राेत, मोटरसाइकलदेखि गाडीहरु पनि थुपारेर राखेको भन्दै आपत्ति जनाउनुभयो । सांसद सिंहले करोडौं मूल्य पर्ने साधनस्राेत कौडीको मूल्यमा बेच्न राखिएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘‘देशभरकै नेपाल सरकारको कार्यालय र प्रहरी कार्यालय परिसरभित्र थुपारिएर राखिएका साधन स्राेत, मोटरसाइकलदेखि गाडीहरु बेवारिसे रुपमा राखिएको छ । नियम नमिलेको हो भने नियम मिलाएर करोडौं मूल्य जाने सवारीसाधनहरु कार्यालयको परिसरमा कौडीको मूल्यमा बेच्नुको लागि राखिएको छ, यसले राम्रो भएन ।’’ सांसद सिंहले साधनस्राेतको सही सदुपयोका लागि ऐन, नियममा समस्या भए सच्याएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
काठमाडौं: राष्ट्रपतिबारे चार दलको बैठक सकारात्मक भएको नेताहरुले बताएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीका नेताहरुबीच शुक्रबार विहान बालुवाटारमा छलफल भएको थियो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस महामन्त्री गगनकुमार थापाले विभिन्न विकल्पबारे छलफल भएको बताए । आ-आफ्नो दलमा छलफल गरेर फेरि ५ बजे बैठक बस्ने भन्दै उनले भने, ‘हामी एउटै निर्णय गर्छौं, एकैठाउँमा उभिन्छौं ।’
काठमाडौं: सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी आज (शुक्रबार)का लागि तोकेको छ । लामिछानेले बिहीबार सर्वोच्चमा दायर गर्नुभएको मुद्दाको पेसी न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको हो । नाबालिग बलात्कारको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दाको पुर्पक्ष गरिरहेको क्रिकेटर लामिछाने बिहीबार सर्वोच्च पुग्नुभएको थियो । धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशमा प्रतिबन्धात्मक व्यवस्था रहेकाले उक्त आदेशको प्रतिबन्धात्मक व्यवस्था हटाउन माग गर्दै लामिछानेले सर्वोच्चमा मुद्दा दायर गरेको हो ।
गाईघाट: उदयपुरको बेलका नगरपालिका–९ भचुवाका २७ वर्षीय विनोद खत्रीले २३ वर्षीयाा श्रीमति युनिका पौडेल खत्रीलाई जङ्गलमा लगेर धारीलो हतियार प्रहार गरी हत्या गरेका छन् । ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाका अनुसार बेलका नगरपालिका–६ को जाप्पादेवी रमिते सामुदायिक वन क्षेत्र भित्र बिहीबार दिउँसो दुवै जना घरबाट घाँस काट्न गएकोमा श्रीमति युनिका पौडेल खत्रीको हत्या भएको अवस्थामा जङ्गलमा सव फेला परेको हो । ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट ३ किलोमिटर टाढा घटनास्थल भएकाले बिहीबार साँझ प्रहरीले त्यहाँ कानुनी प्रक्रिया पुरा गरी शव पोष्टमाड्मका लागि बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको बेलका नगरपालिका–९ का वडा अध्यक्ष पदम खड्काले बताउनुभयो । प्रहरीले श्रीमान बिनोद खत्रीलाई नियन्त्रणमा लिएर थप्प अनुसन्धान थालेको छ । विनोदका परिवारमा दुई वर्षको छोरा र आमाबुबा रहेको अध्यक्ष खड्काले बताउनुभयो ।
पोखरा: पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरामा अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि सङ्घ सरकारको ध्यानाकर्षण गराउन जरुरी रहेको बताउनु भएको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन हवाई सेवा सञ्चालन लगायत समग्र पोखराको पर्यटनका विषयमा आयोजित पत्रकार अन्तरक्रियामा प्रमुख आचार्यले यस्तो बताउनु भएको हो । “समग्रमा पोखरा सबै हिसाबले तयार छ, त्यस कारण केन्द्र सरकारलाई पनि पोखरामा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्नका लागि सकारात्मक दबाब सृजना गर्नु पर्यो, प्रमुख आचार्यले भन्नुभयो, यस विषयमा सरकारको ध्यानाकर्षण गराउनु पर्यो, यसमा मिडियाको पनि तागत हुन्छ ।” प्रमुख आचार्यले आन्तरिक उडानमा कुनै समस्या नभएको भन्दै अन्तर्राष्ट्रिय उडानमा पनि कुनै प्रकारको शङ्का गर्नु पर्ने अवस्था नरहेको बताउनुभयो । समग्र पोखराको पर्यटन प्रवर्द्धनका लागि सरकार र निजी क्षेत्र एकसाथ अगाडी बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो । पोखरा सबै हिसाबले सुरक्षित रहेको जनाउँदै प्रमुख आचार्यले कुनै घट्नालाई जोडेर सधैँ गलत र असुरक्षित भनेर प्रचार गरिरहनु आवश्यक नरहेको बताउनुभयो । नेपालको हवाई क्षेत्रमा कयौँ दुखद दुर्घट्नाहरु भएको स्मरण गर्दै उहाँले कुनै पनि विषयलाई अनावश्यक रूपमा उठाइरहनु उचित नहुने उल्लेख गर्नुभयो । स्थानीय सरकारका नाताले पोखराको समग्र पर्यटन विकासको विषयमा चिन्तन गर्नु आफ्नो प्रमुख दायित्व हुने उहाँले बताउनुभयो । पोखराको पर्यटनलाई चलायमान बनाउने विषय आम सरोकारको विषय भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले बताउनुभयो । “पोखरालाई कसरी चलायमान बनाउने, कसरी सुरक्षित बनाउने भन्ने कुरा यहाँहरूको पनि जिम्मेवारीको कुरा हो, प्रमुख गौतमले भन्नुभयो, उड्डयन क्षेत्रको प्रभाव केवल एक ठाउँमा मात्र केन्द्रित हुँदैन, यसले समग्र क्षेत्रमा प्रत्यक्ष असर पार्दछ ।” पोखराको आकाश सुरक्षित रहेको बताउँदै उहाँले कुनै प्रकारको शङ्का नपाल्न आग्रह समेत गर्नुभयो । संसार भरिका विमानस्थलहरूमा चराहरूको आवागमन भइरहने भन्दै उहाँले पोखरामा पनि त्यो हुनु सामान्य विषय भएको टिप्पणी गर्नुभयो । पोखरा महानगरपालिका सल्लाहकार परिषद्का संयोजक आनन्दराज मुल्मीले नेपालको आकाश सुरक्षित छैन भनेर बारम्बार गलत प्रचार भइरहेको भन्दै यसको संयुक्त प्रयास मार्फत प्रतिवाद आवश्यक रहेको बताउनुभयो । “नेपालको आकाश असुरक्षित होइन, तर विभिन्न बाहानाबाजीमा पोखराको आकाश समेत असुरक्षित भन्ने गरिएको छ, मुल्मीले भन्नुभयो, हामी यसलाई चुपचाप सह्यौ भने पोखराको एयरपोर्ट चल्न दिँदैनन्, त्यसैले पोखराको एयरपोर्ट चलाउनका लागि संयुक्त प्रयासको जरुरी छ ।” नेपाल उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष समेत रहनुभएका मुल्मीले नेपालका लागि थप हवाई मार्ग दिनका लागि छिमेकी मुलुकले गरेको कन्जुस्याइँ पनि अनौठो भएको टिप्पणी गर्नुभयो । नेपाल जस्तो सानो मुलुकका लागि हवाई रुट उपलब्ध गराउने विषयमा समेत आनाकानी गर्नुको कारणका बारेमा समेत गहन छलफल आवश्यक रहेको उहाँले बताउनुभयो ।
पोखरा: भदौं अन्तिम सातापछि पोखरामा पहिलो पटक पानी परेको छ । हिजो गण्डकी प्रदेशको जोमसोमतिर हल्का वर्षा भएको थियो । पानी परेपछि पोखरा लगायतका क्षेत्रका किसान खुशी भएका छन् । लामो समयसम्म पानी नपर्दा कृषि बालीमा नोक्सानी भोगिरहेका किसानलाई हल्का वर्षा हुँदा तोरी, गहुँलगायत बाली पनि सप्रिने किसानले आशा गरेका छन् ।
काठमाडौं: उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल भारत प्रस्थान गर्नु भएको छ । जी २० का अर्थमन्त्रीको सम्मेलनमा भाग लिन उहाँ भारत जानु भएको हो। जी २० अर्थमन्त्रीको सम्मेलन फागुन १२ र १३ गते भारतकाे बैङ्लोरमा हुँदैछ। सम्मेलनका अतिरिक्त उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भारत लगायत विभिन्न देशका समकक्षीसँग छलफल गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ। उपप्रधान तथा अर्थमन्त्री पौडेलसँगै अर्थमन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपालसमेत भारत जानु भएको छ। नेपाल जी २० को सदस्य नरहे पनि भारतले अध्यक्षता लिएको बेला सम्मेलनमा भाग लिन नेपाललाई निमन्त्रणा गरेको थियो। जी २० मा भारत, चीन, जापान, अमेरिका, बेलायत लगायतका राष्ट्र छन्। उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल फागुन १३ गते स्वदेश फर्कनु हुनेछ।

