पोखरा: कास्कीको मादी गाउँपालिका–६ का स्थानीय बामदेव बरालका १९ वर्षीय विजय बराल करेन्ट लागेर गम्घिर घाइते भएका छन् ।  शनिबार बिहान करिव १०ः५० बजेको समयमा बारीमा मकैको ढोडको भारी बोक्दा सुुप...

काठमाडौं: नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सत्तारुढ गठबन्धनमा सामेल नहुने बताएका छन् । सोमबार काठमाडौंमा सुरु भएको पार्टी पोलिटब्यूरो बैठकमा बोल्दै उनले आफ्नो पार्टी कुनै पनि शक्तिको पछि नलाग्ने बताए । ‘देशको राजनीतिक आफ्नै जटिलताहरु छन् । हाम्रो पार्टी सत्तारुढ गठबन्धनमा सामेल हुन सक्दैन । कुनै पनि शक्तिको पछि लाग्दैन । हामी देशको हितलाई केन्द्रविन्दुमा राखेर अघि बढन चाहन्छौं । नेपाली जनताको भावनालाई केन्द्रविन्दुमा राखेर अघि बढन चाहन्छौं’ उनले भने । अध्यक्ष नेपालले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिको वस्तुनिष्ठ समीक्षा गरेर आफूहरु अघि बढ्ने तर आरोप प्रत्यारोपको राजनीति नगर्ने धारणा राखे । ‘यो आरोप प्रत्यारोप गर्ने बेला पनि होइन । कसैसामु लत्रिनु परेको पनि छैन । हामीले ठीक गरेको छौं । दृढताका साथ उभिएका छौं’ उनले भने । नेकपा एकीकृत समाजवादीको सोमबार सुरु भएको पोलिट्व्यूरो बैठकमा नेताहरुले सरकारमा सहभागी हुने वा नहुने भन्ने विषयमा पनि आ–आफ्नो धारणा राख्ने पार्टीका प्रचार विभाग प्रभुा जगन्नाथ खतिवडाले बताए ।

काठमाडौं:  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते विश्वासको मत लिने भएका छन् ।  प्रधानमन्त्री प्रचण्डले संघीय संसद्का महासचिवलाई पत्र लेख्दै त्यसको व्यवस्था मिलाउन आग्रह गरेका छन् । संघीय संसद्को पहिलो बैठक पुस २५ गते बोलाइएको छ। 

सर्लाही: सर्लाही प्रहरीले यहाँको अति दुर्गम भेगस्थित लालबन्दी नगरपालिका –१४, नारायण खोला किनारमा आठ बिघाभन्दा बढी क्षेत्रफलमा लगाइएको गाँजा खेती नष्ट गरेको छ ।  जिल्ला प्रहरी कार्यालय मलङ्गवामा नयाँ प्रहरी प्रमुख नरेशराज सुवेदीको नेतृत्वमा गाँजा खेती नष्ट गरिएको हो । गाँजा नष्ट गर्न सोमबार पनि जिल्ला प्रहरी कार्यालय मलङ्गवा र इलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी टोली नारायण खोलातर्फ गएको छ ।  प्रहरी टोलीले आइतबार पहिलो दिन नारायण खोलास्थित सत्रकठ्ठा क्षेत्रमा ८ बिघा बढीको तयारी हुन लागेको गाँजा फडानी गरेको छ । प्रहरी उपरीक्षक सुवेदीले आफू गत शुक्रबार जिल्लामा हाजिर हुनासाथ कानूनद्वारा निषेध गरिएको गाँजाखेती नष्ट गरेको बताउनुभयो ।  सूचना पाएको र शनिबार आफै सुक्ष्म अनुसन्धानमा जाँदा सूचना बमोजिमकै गाँजा खेती भइरहेको देखेपछि आइतबारदेखि प्रहरी टोली पठाएर फडानी गर्न शुरु गरेको उहाँले बताउनुभयो ।  स्थानीयले गाँजा खेती गर्न छाडेका छैनन् । सडक नपुगेको र खोलाको बगर भएर जानुपर्ने जिल्लाकै सबैभन्दा दुर्गम भेगमा पर्ने चुरे क्षेत्रस्थित नारायण खोलाका स्थानीयले केही वर्षदेखि अन्य बाली लगाउन छाडेर गाँजा खेती गर्दै आइरहेका छन् ।  अहिले त्यहाँ डाँडापाखाकामा गाँजा खेती गरिएको छ । नारायण खोला सत्र कठ्ठाका एक स्थानीयले तयार हुन लागेको गाँजा एक्कासी प्रहरी आएर नष्ट गरिदिँदा आफूहरु ठूलो मारमा परेको गुनासो गरेका छन् ।  गाँजा खेती कानुनद्वारा बर्जित हो भन्ने थाहा पाउँदा पाउँदै अन्य बालीको साटो आम्दानी राम्रो हुने देखेर स्थानीयले गाँजा खेती गर्दैआएका छन् । गोरखापत्र अनलाइन 

मनाङ:  जाडो बढेसँगै मनाङको जनजीवन प्रभावित बनेको छ । चिसोले जीवनयापन अझ कष्टकर हुनुका साथै विकास निर्माणका काम अघि बढ्न सकेका छैनन् । चिसो बढे पनि यसपटक हिउँ परेको छैन । मौसम विज्ञान विभागले हिमपात हुनसक्ने अनुमान गरेको भए पनि हालसम्म हिमपात भएको छैन । चिसो बढ्दै गएपछि यहाँका कतिपय बासिन्दा घर, गोठ र व्यापार हेर्ने मान्छे राखेर चिसो छल्न पहाड तथा तराईतर्फ झर्न थालेका छन् । गत वर्ष निरन्तरको वर्षाले क्षति पुर्‍याएको भौतिक संरचनाको निर्माण कार्य चिसोकै कारण रोकिएको पूर्वाधार कार्यालयले जनाएको छ । विशेषगरी माथिल्लो मनाङका सडक, पुल, जलविद्युत्लगायतका विकास निर्माणका काम रोकिएको प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेल खनालले बताए । ‘सदरमुकाम चामे, नासो गाउँपालिका क्षेत्रमा सिमेन्ट प्रयोग हुने कार्य रोकिएको छ, तर ङिस्याङ र नार्पाभूमि गाउँपालिकामा विकास निर्माण तथा संरचना निर्माणको काम गर्न सकिँदैन’, उनले भने । हिउँ नै नपरे पनि चिसोका कारण अहिले जिल्लाका चामे, नासों, नार्पाभूमि र ङिस्याङ गाउँपालिकामा विकास निर्माणको काम गर्न सकिने अवस्था नरहेको पूर्वाधार विकास कार्यालयका इञ्जिनीयर जय विष्टले बताए । ‘हिउँका कारण सिमेन्ट प्रयोग गरी निर्माण गरिने माथिल्लो मनाङको संरचनाका काम गर्न सकिँदैन, यहाँको काम वर्षमा तीन महिना मात्रै गर्न पाइन्छ’, उनले भने । मनाङको मेरुदण्डका रुपमा रहेको चामे–बेँसीशहर सडक खण्डको निर्माण कार्य पनि मौसम प्रतिकूलताका कारण रोकिएको उनले बताए। अन्य जिल्लाको दाजोमा प्रायःजसो मनाङको विकास निर्माणको काम गर्न कठिन रहेको उनको भनाइ छ । सो सडक खण्डको निर्माणका लागि बहुवर्षीय योजनाअन्तर्गत वार्षिक रुपमा बजेट विनियोजन हुँदै आएको छ । मनाङको सहज यातायातका लागि सङ्घ सरकारले विशेष रुपमा सडक तथा विकास निर्माणका लागि बजेट विनियोजन गर्दै आएको छ । रु तीन करोड १४ लाख बजेट विनियोजन भएर तल्लो मनाङ तालगाउँको संरक्षणका लागि तटबन्धन निर्माणको काम भने भइरहेको पूर्वाधार कार्यालयले जनाएको छ । मनाङको तिमाङमा रु २२ करोडको लागतमा सडक ढलानको काम अन्तिम चरणमा पुगेको छ । निर्माण कार्य सकिने अवस्थामा मौसम प्रतिकूल भएपछि केही ढिलाइ हुने भएको कार्यालयले जनाएको छ। सडक खण्डअन्तर्गतको जोखिम क्षेत्रको मर्मतसम्भारका लागि रु छ÷छ करोडमा नाना कन्सल्टेन्सीले ठेक्का लिएको डुम्रे–बेँसीशहर–चामे सडक योजना कार्यालयले जनाएको छ । डुम्रे–बेँसीशहर–चामे सडकखण्डको पक्की र दीर्घकालीन बनाउन सङ्घ सरकारले कूल रु ६० करोड विनियोजन गरेको छ । बहुवर्षीय रुपमा मनाङको मेरुदण्डको विकासका लागि बजेट विनियोजन हुँदै आएको छ । आगामी पाँच वर्षको अवधिमा डुम्रे–बेँसीशहर–चामे सडकखण्डलाई चौँडा, कालोपत्र, पक्की नालासहित सुरक्षित बाटो बनाउने योजनासहित बजेट विनियोजन भएको डुम्रे–बेसीशहर–चामे सडक योजना रहेको कार्यालयले जनाएको छ । मनाङका विद्यालय तीन महिना बन्द मनाङका विद्यालयले गत मङ्सिर अन्तिम सातामा परीक्षा सकाएर अहिले जाडो बिदा भएको छ । मौसम प्रतिकूलताले गर्दा यहाँका विद्यालय सञ्चालन गर्न सकिँदैन । यहाँका विद्यार्थीले अर्धवार्षिक परीक्षा दिएर जाडो छल्न बेँसी गएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख मतिलाल चपाईले बताउनुभयो । ‘परीक्षा सकाएर विद्यार्थी जाडो छल्न बेँसी झरेका छन्, अब करिब चैतको पहिलो साता मात्रै पठनपाठन गर्न आउँछन्’, उनले भने, ‘जाडोमा अभिभावकसँगै विद्यार्थी जाडो छल्न जान्छन्, जाडो छल्न जाने यहाँका मानिसको प्रचलन जस्तै बनेको छ । अर्धवार्षिक परीक्षा सकाएर बेँसी झरेका छन्, जाडो सकिएपछि फागुनको अन्तिम वा चैतको पहिलो साता मनाङ फर्किन्छन्।’ चामेमा दुई सय ४५ विद्यार्थीका लागि ३४ शिक्षक, नासोंमा एक सय ५८ विद्यार्थीका लागि ७७ शिक्षक र नार्पाभूमिमा २५ विद्यार्थीका लागि नौ गरी कूल एक सय ६१ शिक्षकले उनीहरूलाई पठनपाठन गराउँदै आएको एकाइले जनाएको छ । पर्यटकको आगमनमा कमी हिमपात नभए पनि यहाँ बढी चिसो हुँदासम्म पर्यटक आउने क्रम जारी छ । प्रतिदिन करिब १० देखि १५ जनाका दरले पर्यटक मनाङ भित्रिने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालयका प्रमुख लेखनाथ गौतमले जानकारी दिए । ‘चिसो अत्याधिक बढेको छ, पर्यटक प्रतिदिन १० जना आउने क्रम जारी छ, सुरक्षित भएर यात्रा गर्न सुझाएर गन्तव्यतर्फ पठाउने गरेका छौं’, गौतमले भने, ‘हिमपात नभए पनि चिसो अत्याधिक छ, खानेपानी जमेको अवस्था छ, तर पर्यटक आउन पूर्ण रुपमा रोकिएको छैन।’ पर्यटक आउँदा मनाङमा बसोबासका लागि समस्या हुनसक्ने भएकाले सचेत भएर यात्रा गर्न जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ । हिमपात नहुँदासम्म पर्यटकको आगमन जारी रहने बताइएको छ । हिमपात भएपछि भने मनाङ गाउँबाट माथि जान सक्ने अवस्था नहुने स्थानीयको भनाइ छ । ‘प्रायःजसो समूहमा आएका विदेशी पर्यटकलाई तिलिचो ताल, थोराङ्लापास जान अनुमति दिएका छौँ, हिउँ नपर्दा सुख्खापन बढेको छ, यसले कृषि बालीमा समेत समस्या हुने देखिएको छ’, प्रमुख जिल्ला अधिकारी खनालले भने, ‘पुसमा हिमपात हुने अवस्था देखिएको छैन, माघमा मात्रै हिमपात पर्न सक्ने मौसम विभागको अनुमान छ, सोहीअनुरुप पर्यटकको आवागमनलाई स्वीकृति दिइरहेका छौं।’ तिचिलो तालतर्फ एउटा होटल हिउँ नपरेकाले चिसोमा पनि सञ्चालनमा रहेको उनले जानकारी दिए । त्यस्तै थोराङ्लापासतर्फ पनि एउटा मात्रै होटल सञ्चालनमा रहेको जानकारी पाइएको एक्यापका प्रमुख गौमत बताउँछन् । होटेल व्यवसाय हेरचाहका लागि कुर्ने मान्छे राखेर यहाँका व्यवसायी बेसी झर्ने गरेका छन् । कम मात्रामा आएका पर्यटक तथा पाहुनालाई बस्न कुर्ने मान्छेले व्यवस्थापन गर्दै आएका छन् । मुख्य आम्दानीको स्रोत यहाँको मुख्य आम्दानीको स्रोत पर्यटन व्यवसाय र जङ्गली जडीबुटी हुन् । अझ मुख्य स्रोतका रुपमा जङ्गली जडीबुटीलाई लिने गरिएको छ । यहाँ देशकै महँगो जडीबुटी यार्सागुम्बा, वन लसुन, गुची च्याउलगायत पाइन्छन् । जिल्लाका चार स्थानीय तहमध्ये सबैभन्दा बढी मनाङ ङिस्याङ गाउँपालिकाबाट जङ्गली जडीबुटी सङ्कलन हुने गरेको छ । सबैभन्दा कम सडक सञ्जालबाट नजोडिएको नार्पाभूमि गाउँपालिकाबाट जङ्गली जडीबुटी सङ्कलन हुँदै आएको छ । मनाङ ङिस्याङको खाङ्सार, पिसाङ लेक, आइस लेक, याकखर्क, भ्राका लेक, छोङ्करलगायतका स्थानबाट जङ्गली जडीबुटी सङ्कलन गरिन्छ । चामे गाउँपालिकामा गुची च्याउ, वन लसुनलगायत पाइन्छन् । नासों गाउँपालिकामा नाम्गे, भिमताङ क्षेत्र, ड्रोना ताल, तिलिचे भीमथाङ क्षेत्र र नार्पाभूमि गाउँपालिकामा फु, नार, काङला, हुलाकी ओडार लगायतका क्षेत्रबाट जङ्गली जडीबुटी सङ्कलन गरिन्छ । ठेकेदारले जङ्गली जडीबुटी सङ्कलनका लागि ठेक्का लिने र बाहिरबाट सङ्कलनकर्ता ल्याएर टिपिने गरिन्छ । घर नजिकै गोठ लेकमा लगेर पालिँदै आएका पशुको गोठ जाडोमा घर नजिकै सारिएको छ । चिसो बढ्दै गएपछि यहाँका गाउँ रित्तिदै जान्छन् । चिसोमा भेडाच्याङ्ग्राका पाठापाठी र चौरीका बाच्छाबाच्छीलाई बचाउन बेँसी घर नजिकै गोठ बनाएर पाल्ने गरिन्छ। चिसोले जमेको पानी भेडाच्याङ्ग्रालाई खुवाउनै मुस्किल हुने गरेको मनाङ ङिस्याङ–१ का ७४ वर्षीय पशुपालक किसान याङ्दुङ गुरुङ बताउँछन् । भेडाच्याङ्ग्रा र चौँरीलाई यतिबेला सुकेका घाँस खुवाएर पालिने गरिएको उनी बताउँछन् । भेडाच्याङ्ग्रा र चौरीसहित गोठाला बेँसी झरेर घर नजिकै आएका छन् । नार्पाभूमिका निवर्तमान अध्यक्ष मिङ्मार छिरिङ लामा भन्छन्, ‘वस्तुभाउको व्यवस्थापन गरेर गाउँबाट यहाँका बासिन्दा बेँसी झरिसकेका छन्।’ जाडोमा पशुलाई गहुँ, फापरका नल खुवाएर राखिने गरिएको छ । मनाङका अधिकांश स्थानीय पशुपालनमा आवद्ध छन् । त्यसले गर्दा उनीहरू वर्षमा दुई पटक लेकबेँसी गर्ने गर्छन् । वर्षातको समय लेक र हिउँदको समय बेसी झर्ने उनीहरूको परम्परा जस्तै हो । अब चैत पहिलो साता मात्रै लेक चढ्ने गर्दछन् । घर नजिक ल्याइएका चौरी, भेडाच्याङ्ग्रा हिमलुङ हिमालको फेदी, आइसलेक, नाम्के लेकको फेदीसम्म चराउन लैजाने गरिन्छ । पुस र माघ दुई महिना भेडीगोठ गाउँ नजिकै राखिने र फागुन लागेपछि गाउँभन्दा माथिका खर्कमा लैजाने गरिन्छ । पानी नपरे पनि गोठ नै पुरिने गरी तुसारो परेपछि पशुपालक बेँसी झर्ने गर्दछन् । यसवर्ष छिट्टै चिसो बढेको मनाङवासीको भनाइ छ । विगतमा गाउँका अधिकांश मानिसले भेडाच्याङ्ग्रा र चौंरी पाल्ने गर्थे । युवाहरू पर्यटन व्यवसायतर्फ लाग्न थालेपछि पशुपालन कम हुँदै गएको छ । अरु व्यवसायको तुलनामा पशुपालन निकै चुनौतीपूर्ण भएकाले अहिलेका युवाले गोठमा नबस्ने र पशुचौपाया पाल्नतिर चासो दिन छाडेका छन् । यहाँका अधिकांश युवा वैदेशिक रोजगारीमा जान्छन् भने केहीले पशुपालन छाडेर पर्यटन व्यवसायतर्फ लागेका छन् । पर्यटन व्यवसाय सञ्चालनका लागि पनि पशुपालन आवश्यक हुने हुँदासम्म यहाँका युवा कृषि क्षेत्रबाट विमुख हुँदै गएका छन् ।

काठमाडौं:  दुई दिनदेखि जारी शीतलहर र हुस्सुका कारण बाँकेको जनजीवन कष्टकर हुन पुगेको छ । बिहान र साँझ शीतलहरसँगै बाक्लो हुस्सु लाग्ने गरेका कारण नेपालगञ्जको तापक्रम घट्दै गएको छ ।  चिसोले गर्दा दैनिक ज्यालादारी गरेर खानेलाई समस्या भएको छ । बिहान विद्यालय तथा कलेज जाने विद्यार्थी पनि मर्कामा परेका छन् ।  नेपालगञ्जमा आज बिहानको न्यूनतम तापक्रम नौ देखि १० डिग्री सेल्सियस रहेको राँझास्थित जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालयका इञ्चार्ज पलबहादुर विकले जानकारी दिए । शीतलहर र हुस्सुका कारण चिसो धेरै बढेपछि नेपालगञ्जका प्रमुख चोक बजारक्षेत्रमा चहलपहल घटेको छ ।  शीतलहर र चिसोबाट सबैभन्दा बढी रिक्सा चालक, ठेला चालक र मजदुरलाई समस्या हुनाका साथै बालबालिका र ज्येष्ठ नागरिकलाई पनि असर पारेको छ ।  चिसो बढ्दै गएकाले स्थानीय बासिन्दाले उपमहानगरपालिकासँग टोल–टोलमा दाउरा खसाल्न आग्रह गरेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले टोल–टोलमा दाउरा वितरण गरेर आगो बाल्ने व्यवस्था गर्ने तयारी गरेको त्यहाँका प्रवक्ता प्रमोद रिजालले जानकारी दिए । केही दिनयता चिसो बढ्दै गएका कारण नेपालगञ्जका अस्पतालमा चिसोका बिरामी पुग्ने क्रम फेरि बढेको जनाइएको छ । मेडिकल कलेजको नेपालगञ्जस्थित शिक्षण अस्पतालमा एक सातायता निमोनिया, ‘कोल्ड डायरिया’ रुघाखोकी लागेको बालबालिका र ज्येष्ठ नागरिक आउने क्रम बढेको उक्त अस्पतालका निर्देशक डा एम किदवाइले बताए । उनले चिसो बढेसँगै बिरामी पनि अस्पतालमा आउने क्रम बढेकाले चिसोबाट जोगिने उपाय अपनाउन सबैसँग आग्रह गर्नुभयो । भेरी अस्पतालमा पनि चिसोका बिरामी आउने क्रम दिनदिनै  बढ्दै गएको त्यहाँका सूचना अधिकारी डा सङ्केतकुमार रिसालले बताए ।

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति, उपराष्ट्रपति र रिक्त रहेको राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि निर्वाचन तयारी गर्न आयोगका पदाधिकारीलाई आग्रह गरेका छन् ।   सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा संविधान र कानुनमा व्यवस्था भएबमोजिम राष्ट्रपति, उपराष्ट्रपति र राष्ट्रिय सभा सदस्यको रिक्त रहेको १ स्थानमा निर्वाचनका लागि आवश्यक प्रक्रिया थाल्न आयोगका पदाधिकारीहरुलाई प्रचण्डले आग्रह गरेका हुन् । ‘रिक्त रहेको राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि आवश्यक प्रक्रिया अगाडि बढाउनुहोस, राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि हामी राजनीतिक दलहरुबिच छलफल गर्छौँ र एउटा निष्कर्षमा पुगौंला’, प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।  सो अवसरमा प्रधानमन्त्रीले स्थानीय तहको निर्वाचन, प्रदैश सभा सदस्य निर्वाचन र प्रतिनिधिसभा सदस्य निर्वाचन कुशलतापूर्वक सम्पन्न गरेकोमा आयोग पदाधिकारीहरुलाई धन्यवाद व्यक्त गरेका छन् । बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने लगायत उपस्थित थिए ।  बैठकमा आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलिया लगायत आयुक्तहरुले निर्वाचन आयोगको कामकार्वाही र निर्वाचन प्रक्रियाबारे जानकारी गराएका छन् ।

काठमाडौं:  शून्य लगानी (जिरो कस्ट) मा वैदेशिक रोजगारमा पठाउने नीति अनुसार पछिल्लो ५ महिनामा २ लाख ५४ हजार भन्दा बढी नेपाली मलेसिया गएका छन् ।  साउनदेखि मंसिर मसान्तसम्ममा २ लाख ५४ हजार २८९ जना नेपाली शून्य लागतमा मलेसिया गएको वैदेशिक रोजगार विभागले जनाएको छ । त्यस्तै १० प्रतिशत सेवा शुल्क बुझाएर १ लाख ५५ हजार ३१८ जना मलेसिया गएको विभागको तथ्यांकले देखाएको छ ।  सरकारले मलेसिया, साउदी, यूएई लगायतका मुलुकमा शून्य लागतमा कामदार पठाउने नीति लिएको छ । तर, उक्त नीति मलेसियाबाहेक अन्य मुलुकमा भने कार्यान्वयनमा आउन सकेको छैन ।  मेनपावर व्यवसायीहरूले मनलाग्दी शुल्क लिने र श्रमिकहरूलाई शून्य लागतमा पैसा लिएको भन्न लगाउने गरेका छन् । जसले गर्दा सरकारले उक्त नीतिको प्रभावकारी कार्यान्वयन गर्न सकेको छैन ।  विभागले नीति कार्यान्वयनका लागि सक्रिय भएर काम गर्दै आएको जनाएको छ । कामदारहरूबाट उजुरी नआउँदा बढी पैसा लिएर पठाउनेलाई कारबाही गर्न समस्या भएको विभागले जनाएको छ । शून्य लागत र १० प्रतिशत सेवा शुल्क लिएर बाहेक बढी पैसा तिरेको भए विभागमा उजुरी गर्नुपर्ने हुन्छ । त्यही उजुरीको आधारमा विभागले कारवाही प्रक्रिया अगाडि बढाउने विभागका महानिर्देशक उमाकान्त आचार्यले बताए ।   आर्थिक वर्ष २०७९८० को मंसिर मसान्तसम्ममा विभिन्न ७ मुलुकहरू बहराईन, कुवेत, मलेसिया, ओमान, कतार, साउदी अरेबिया र यूएईमा ३ लाख ४९ हजार ८२ जना वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका छन् ।  जसमा २ लाख ८९ हजार ७२ जना पुरूष र २४ हजार २२ जना महिला रहेका छन् ।

पोखरा:   गण्डकी प्रदेश भूमि व्यवस्था कृषि, सहकारी तथा गरीबी निवारण मन्त्री चन्द्र बहादुर बुढाले सहकारीहरुले निक्षेप संकलन र कर्जा प्रवाहलाई जोड दिदा अनुत्पादक क्षेत्रमा लगानी वढिरहेको वताउनुभएको छ ।  सहकारीहरु नाफामा केन्द्रीत हुंदा अनुत्पादक क्षेत्रमा लगानी वढिरहेको उहांको भनाइ रहेको थियो ।  आइतबार पोखरामा  सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशले आयोजना गरेको सहकारी सम्बन्धी समसामयिक विषयमा अन्तरक्रिया तथा समन्वय गोष्ठीको उद्घाटन गर्दै मन्त्री बुढाले सहकारीहरु नाफा कसरी हुन्छ भन्नेमा केन्द्रीत हुदा अनुत्पादक क्षेत्रमा लगानी वढिरहेको वताउनुभएको हो ।  गण्डकी प्रदेश पछिल्लो समयमा दूध अण्डा र मासुमा आत्मनिर्भर भएपनि त्यसलाई अगाडि बढाउन अझैपनि नसकिएको र त्यसको कारण ब्यापारीहरुको खेलोमेलोनै नरहेको बुढाले वताउनुभयो । सहकारीहरु अझैपनि केही सिमित वर्गका मानिसहरुमा मात्र निर्भर रहेको बताउदै मन्त्री बुढाले विपन्न वर्ग र शेयर सदस्यहरुलाई आत्मनिर्भर गराउनतर्फ सहकारीहरु लाग्नुपर्नेमा जोड दिनुभयो । भूमि व्यवस्था कृषि, सहकारी तथा गरीबी निवारण मन्त्रालयले गण्डकी प्रदेशका सहकारीहरुलाई सुदृढ बनाउन लागि परेको भएतापनि अझैपनि अधिकांश सहकारीहरु अपडेट नभइ रहेकोे र नियम संगत चल्न नसकेको वताउदै दर्तामा मात्र सिमित रहेका सहकारीहरुलाई खारेजी गर्नतर्फ सहकारी अभियनताहरुपनि लाग्नुपर्नेमा उहांको जोड रहेको थियो । गण्डकी प्रदेश भूमि व्यवस्था कृषि, सहकारी तथा गरीबी निवारण मन्त्रालय प्रशासन तथा सहकारी बिकास महाशाखाका प्रमुख धु्रव गिरीले संघ र प्रदेश वीच समन्वय हुन नसक्दा सहकारीहरुलाई सुदृढिकरण गरेर लैजान नसकेको भएतापनी यसलाई सुदृढ गराउनका लागी सहकारी संघहरु एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो । सहकारीहरुलाई डाटावेसमा लैजान आवश्यक रहेको वताउदै त्यसतर्फ सम्पूर्ण सहकारी संघ संस्थाहरुनै अगाडि वढ्नुपर्ने उहांको भनाइ रहेको थियो ।  कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका सहकारी रजिष्ट्रार रमेश घर्ती मगरले प्रदेश अन्तर्गत ९ सय ३६ वटा सहकारीहरु आवद्ध रहेको भएतापनि अधिकांश सहकारीहरु अपडेट नभएकाले त्यसको छानविन गरी दर्ता खारेजीको अभियानमा आफुहरु रहेको वताउनुभयो । कार्यक्रममा सहभागी सहकारी संघका प्रतिनिधीहरुले नेपालको संविधान र सहकारी ऐनमा सुधार गर्नुपर्ने, ऐन नियम मिच्ने संस्थालाई कारबाही गर्नुपर्ने, सहकारी ऐन २०४८ को नियमलाई विनियम संसोधन गर्नुपर्ने र संघमा आवद्ध नभएका सहकारीहरुका कारण समस्या उत्पन्न भएकाले त्यसतर्फ रजिष्ट्रारको कार्यालय र मन्त्रालयले ध्यान दिनुपर्ने सुझाव राख्नुभएको थियो ।  कार्यक्रममा गण्डकीका मनाङ र मुस्ताङ बाहेकका ९ जिल्लाका सहकारी संघका प्रतिनिधीहरुको सहभागीता रहेको थियोभने कार्यक्रमको संचालन सहकारी रजिष्ट्रारको कार्यालय गण्डकीका शाखा अधिकृत चोलाकान्त वाग्लेले गर्नुभएको थियो ।   

पोखरा:  कास्की जिल्ला शुटिङ संघको अध्यक्षमा श्यामकृष्ण श्रेष्ठ निर्वाचित हुनुभएको छ । कास्की जिल्ला शुटिङ संघको तेश्रो साधारण सभा तथा दोश्रो अधिवेशनबाट संघको अध्यक्षमा श्यामकृष्ण श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको हो । अधिवेशनबाट प्रथम उपाध्यक्ष राजु श्रेष्ठ, द्धितिय उपाध्यक्ष राम नारायण श्रेष्ठ, सचिवमा सुक बहादुर गुरुङ र कोषाध्यक्षमा राम कुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ ।  त्यसैगरी सदस्यहरुमा चिन्तामणी बास्तोला, विनोद प्रसाद श्रेष्ठ, बिजय कार्की, प्रकाश बज्राचार्य, शरण कुमार छन्त्याल र गृष्मा उदास निर्वाचित हुनुभएको छभने दुई सदस्य पछि मनोनित गरिने निर्वाचन अधिकृत कास्की जिल्ला खेलकुद बिकास समितिका कार्यालय प्रमुख डि बि नेपालीले जानकारी दिनुभयो ।  साधारण सभाको उद्घाटन गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेश गुरुङले शुटिङ संघ  कास्कीको कार्यालयका लागि पोखरा रंगशाला भित्र ठाउ  उपलब्ध गर्ने वताउनुभयो । शुटिङ खेलका लागि पर्याप्त मात्रामा सामाग्रीहरु नभएको वताउदै त्यसका लागि पनि आफुले पहल गर्ने वताउदै पर्याप्त सामाग्रीको अभावका बीच शुटिङ संघले पछिल्लो समय उदाहरणीय काम गरेकोे उहांको भनाइ रहेको थियो ।  शुटिङ संघ कासकीका सल्लाहकार तीर्थलाल श्रेष्ठले शुटिङ संघ कास्कीले खेलकुद सामाग्रीको अभावका बावजुद पनि आफुहरुले काम गरिरहेको वताउदै आगामी दिनमा संघलाई अगाडि वढाउन सम्पूर्ण एक भएर लाग्ने वताउनुभयो ।