मुस्ताङको लोमन्थाङ गाउँपालिका–५ का वडाध्यक्ष डुकके विष्टको ७५ वर्षको उमेरमा निधन भएको छ ।   लामो समयदेखि पेटसम्बन्धी समस्याबाट ग्रसित वडाध्यक्ष विष्टको उपचारका क्रममा काठमाडौँमा निधन भएको गाउँपा...

डडेल्धुरा:  डडेल्धुराको परशुराम नगरपालिकामा आज सोमबार जिप दुर्घटना भएको छ । दुर्घटनामा परी एक जनाको घटनास्थलमै मृत्यु भएको छ । ११ जना घाइने भएका छन् ।   कञ्चनपुरको दैजीबाट डडेल्धुराको भागेश्वर गाउँपालिकाको रुपालतर्फ आउँदैगरेको म १ ज २३८ नम्बरको जिप दुर्घटना हुँदा भागेश्वर गाउँपालिका –२ का ५० वर्षीय बाशुदेवी तिरुवाको मृत्यु भएको छ । चालकसहित ११ जना घाइते भएको प्रहरीले जनाएको छ ।   ग्रामीण कच्चि सडकको परशुराम नगरपालिका –३ मट्यौलामा जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक मनोहर भट्टले बताउनुभयो । उहाँका अनुसार जिप सडकमा पल्टिएको थियो । जिपमा चालकसहित ११ जना यात्रु सवार रहेका थिए ।    जिप पछाडि गर्नेक्रममा दुर्घटना भएको प्रहरीको भनाइ छ । दुर्घटनास्थल परशुराम नगरपालिका मुकाम जोगबुडा लालढुङ्गाबाट करिब २५ किलोमिटरको दूरीमा पर्छ । लालढुङ्गा बजारमा ईलाका प्रहरी कार्यालय रहेको छ । ईलाका प्रहरी कार्यालयबाट उद्धारमा खटिएको टोलीले प्रारम्भिक जानकारी दिएको डिएसपी भट्टले बताउनुभयो । घटनाबारे विस्तृत जानकारी आउन बाँकी छ ।

काठमाडौं:  संयुक्त अरब इमिरेट्स (युएई) मा जारी आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय सिरिजमा नेपाललाई जितका लागि पपुवा न्युगिनी (पीएनजी) ले दुई सय चार (२०४) रनको लक्ष्य दिएको छ ।   दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा साेमबार टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पीएनजीले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय तीन रन बनाएको छ ।    पीएनजीका लागि चाड सोपारले अविजित ३६ रन बनाउनुभयो । कप्तान असद भालाले पनि ३६, सेसे बाउले ३१, किप्लिन डोरिगाले २९, नर्मन भानुवाले २५ र हरि हरिले १० रन बनाउनुभयो ।   बलिङमा नेपालका गुलशन झाले तीन विकेट लिनुभयो । कुशल मल्लले दुई तथा करण केसी, सोमपाल कामी, प्रतिश जिसीले एक एक विकेट लिनुभयो । प्रतिशले पीएनजीविरुद्ध यही खेलबाट डेब्यु गर्नुभएको हो ।   सिरिजमा नेपालले फागुन १८ गते युएई, १९ गते पीएनजी र २२ गते युएईसँग खेल्नेछ । 

काठमाडौं: परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले परराष्ट्र नीति पुनरावलोकनको काम अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।  राष्ट्रियसभाको आजको बैठकमा समय लिएर उहाँले नीति अनुसन्धान प्रतिष्ठानले पुनरावलोकन गरिरहेको नीति एक महिनाभित्र सार्वजनिक हुने सो अवसरमा जानकारी दिनुभयो ।   “दुई वर्षअघि नीति बनेको, कार्यान्वयन अलिअलि भएको तर सार्वजनिक नभएको अवस्था थियो । वर्तमानमा विदेशीका विभिन्न रणनीति आएको परिप्रेक्षकमा हाम्रो परराष्ट्र नीति पुनरावलोकन हुनुपर्छ । यसलाई समयसापेक्ष बनाउनुपर्छ, सबै राजनीतिक दलहरूले यसलाई अपनत्व लिनुपर्छ भन्ने ‘मिसन’ थियो”, उहाँले भन्नुभयो, “सोही उद्देश्यअनुरूप प्रतिष्ठानले अहिले हाम्रो नीतिलाई पुनरावलोकन गरिरहेको छ ।”   क्षमता अभिवृद्धि, नीतिमा भएको प्रष्टता र दिगोपनलाई सुनिश्चितता गर्नुपर्ने जोड दिँदै उहाँले परराष्ट्र क्षेत्रले सार्वभौमसत्ताको संरक्षण र राष्ट्रियताको प्रवर्द्धन गर्नुपर्ने बताउनुभयो । “परराष्ट्रको काम त्यतिमात्रै होइन रहेछ, राहत र उद्धार पनि महत्त्वपूर्ण रहेछ, मैले त्यही गएर बुझेँ”, उहाँले भन्नुभयो, “विदेशमा रहेका नेपालीको यति धेरै राहत र उद्धार गर्नुपर्ने रहेछ, त्यसबारेमा हाम्रो परराष्ट्र नीति बोलिरहेको छैन ।”   उहाँले नीतिमा प्रष्टसँग आप्रवासन र यसले पारेको असरलाई सम्बोधन गर्नुपर्ने बताउनुभयो । “ट्र्याक टु र पब्लिक डिप्लोमेसी, सुरक्षा निकायका भूमिकालाई अब बन्ने परराष्ट्र नीतिमा राख्नुपर्नेछ”, उहाँले भन्नुभयो, “त्यहीअनुसार हामीले पुनरावलोकन गर्दछौँ  ।” आफूले पदभार सम्हालेलगत्तै सेवा प्रवाहलाई प्रमुखता दिएर काम गरेको जानकारी दिँदै उहाँले जिम्मेवारीका अवधिमा आफूले राहदानी, कन्सुलर र राहत तथा उद्धार सेवा प्रभावकारी बनाएको दाबी गर्नुभयो । 

काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ । सोमबार बसेको पार्टीको केन्द्रीय समिति बैठकपछि रास्वपाका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने जानकारी दिए।   बुर्लाकोटीले भने,‘सरकारका विषयमा पार्टीको पूर्वनिर्णय कायम छ । तत्काल हामीले समर्थन फिर्ता लिदैनौं।’ सरकारबाट भने रास्वपा बाहिरिएको छ।   नेपालको राजनीतिमा अर्को घटनाक्रम विकसित नभएसम्म सरकारलाई दिएको समर्थन कायमै रहेको उनको भनाइ  छ। राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमति गर्ने प्रयास भइरहेको र उम्मेदवारले उम्मेदवारी फिर्ता दिने समय रहेकाले कसलाई मतदान गर्ने भन्नेबारे कुनै निर्णय नभएको उनले बताए।    बैठकले चितवन २ को प्रतिनिधिसभा उपनिर्वाचनमा भाग लिने निर्णय गर्दै निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको बुर्लाकोटीले जानकारी दिए।   बैठकले उक्त उपनिर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवारको मनोनयनको औपचारिक पत्र प्रदान गर्ने अधिकार सभापति रवि लामिछानेलाई दिने निर्णय गरेको छ ।  

दुबईः आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको पहिलो खेलमा पपुवा न्युगिनी (पीएनजी)विरुद्ध नेपालका लागि दोस्रो विकेट गुल्शन झाले लिएका छन्।   नेपालका लागि सोमपाल कामीले चार ओभरमा ६ रन खर्चेर एक मेडनसहित एक विकेट लिएका छन्। यस्तै करण केसीले पाँच ओभरमा सात रन खर्चेर दुई मेडन राख्दा डेब्यूट्यान्ट प्रतिश जिसीले चार ओभरमा २३ रन खर्चिएका छन्। दीपेन्द्रसिंह ऐरीले एक ओभरमा मेडन राखेका छन्।   पीएनजीका लागि ओपनर टोन उरा १३ बलमा दुई रन जोडेर आउट हुँदा विकेटकिपर किप्लिन डोरिगा ५९ बलमा चार चौकासहित २९ बनाएर पेभेलियन फर्केका हुन्। डोरिगा गुल्शनको बलमा करण केसीको हातबाट क्याच आउट भए। सेसे बाउ १८ रन बनाएर खेलिरहेका छन्। गुल्शनले चार ओभरमा १७ रन खर्चेर एक विकेट लिएका हुन्।   पीएनजीले १८ ओभर सकिँदा दुई विकेट गुमाएर ६१ रन बनाएको छ।

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको मुख्य प्राथमिकता सुशासन र विकास नै भएको बताएका छन्। बालुटारमा आज विकास हाइड्रोको विद्युतिय माध्यमबाट उद्घाटन गर्दै उनले सामाजिक न्याय र विकासका काममा केन्द्रित भएको बताएका हुन्।   उनले भने, ‘हामी सुशासन, सामाजिक न्याय र विकासका काममा केन्द्रित भएर लाग्ने छौं।’   उनले गोरखा जिल्लाको हाइड्रोको उद्घाटन विकासको शुरुवात भएको उल्लेख गर्दै  स्थानीयलाई रोजगारको प्रत्याभूत गएको बताए। प्रधानमन्त्रीले विगतका दिनहरुमा राजनीतिक स्थिरता कायम गर्ने कुरा चुनौतिपूर्ण हुने गरेको बताउँदै यसपटक स्थायित्व दिनेमा आफूहरुको विश्वास रहेको बताए।    उनले भने, ‘यो वर्ष चुनावी वर्षका रुपमा बित्यो। बैशाखदेखि स्थानीय तहको निर्वाचन त्यसपछि प्रदेश र संघको निर्वाचन र अब राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन सकिएपछि निर्वाचन प्रक्रिया ५ वर्षका लागि सकिएको हुन्छ। यसले संविधान कार्यान्वयन प्रक्रिया र विकास निर्माणलाई गति दिनका लागि एउटा नयाँ आधार तयार भएको छ। मैले गोरखाको जनप्रतिनिधिको हैसियतले तपाईंहरुलाई विशेष धन्यवाद दिन्छु। गोरखाबाटै विकासका लागि यस हाइड्रोको उद्घाटन गर्ने अवसर जुटाइदिनुभयो। यसको सफलता र आगामी दिनमा कम्पनीले अन्य आयोजनाहरु पनि अगाडि बढाउने बिश्वास दिलाउन चाहन्छु।’

काठमाडौं:  नेकपा (एमाले)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । साथै एमालेले सरकारबाट पनि फिर्ता हुने निर्णय गरेको छ ।   बैठकपछि सञ्चारकर्मीहरुसँग कुर गर्नुहुँदै नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पुस १० मा भएको सहमतिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नगएको र प्रधानमन्त्री प्रचण्डले नेकपा एमालेलाई सरकारबाट बाहिरिन दबाब दिएको बताउनुभयो ।   उहाँले प्रधानमन्त्रीले एमाले सरकारबाट नबाहिरिए तत्काल मन्त्रीहरुलाई बर्खास्त गर्ने वा बिना विभागीय मन्त्री बनाउनेसम्मको चेतावनी दिएको आरोप लगाउनुभयो । उहाँले प्रधानमन्त्री प्रचण्डले जेनेभा भ्रमणमा जान लाग्नुभएकी परराष्ट्रमन्त्री डा. विमला राई पौड्याललाई अन्तिम समयमा रोकेर प्रधानमन्त्रीले अपरिपक्वता देखाएको र नेकपा एमालेमाथि प्रतिशाेध साँधेको आरोप लगाउनुभयो । उहाँले अन्तिम समयमा राष्ट्रको प्रतिनिधित्व गर्नबाट रोक्दा राष्ट्रको इज्जतमाथि नै प्रतिकूल असर परेको दाबी गर्नुभयो ।   ‘‘आजको बैठकले वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट अलग हुने निर्णय गरेको छ । हामीले विशिष्ट परिस्थितिमा यो सरकारमा सहभागी भएका थियौँ । राष्ट्रपतिमा भएको सहमति कार्यान्यन गर्नुभएन र अरु दलको समर्थनमा कांग्रेसको उम्मेदवारलाई सघाउने निर्णय गर्नुभयो । तर पनि हामीले मुलुकको अवस्थालाई विश्लेषण गरेर राष्ट्रपतिमा सहमति नभए पनि देशको परिस्थिति हेरेर अघि बढिरहेका थियौँ ।,’’ उपाध्यक्ष पौडेलले भन्नुभयो, ‘‘तर प्रधानमन्त्रीले पछिल्लो समय नेकपा एमालेमाथि जुन किसिमको व्यवहार गर्नुभयो, जेनेभा जान लाग्नुभएकी मन्त्री विमला राई पौड्याललाई रोक्नुभयो, उहाँले एमाले सरकारबाट नहटे बिना विभागीय मन्त्रीको रुपमा राख्ने जस्ता अभिव्यक्ति दिनुभएपछि हामी सरकारमा बस्न सकेनौँ । त्यसैले सरकारबाट फिर्ता हुने निर्णय गरेका छौँ । राष्ट्रको इज्जतमाथि नै यसले प्रतिकूल असर पारेको छ ।’’   उहाँले प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा भएको सहमति कार्यान्वयन नगरेर देशमा राजनीतिक स्थिरता नचाहेको आरोप लगाउनुभयो ।

काठमाडौं:  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ८ दलको गठबन्धन आगामी चुनावसम्मै टिक्ने बताएका छन्।   सुर्खेतमा आज पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले आँट भएका र दृष्टिकोण भएकाहरू रहेकोले यो गठबन्धन चुनावसम्म टिक्ने दाबी गरेका हुन्।   ‘८ दलीय गठबन्धन चुनावसम्मै टिक्छ। हामीले पहिले गठबन्धन बनाउँदा पनि टिक्दैन भनेका थिए तर चुनावसम्मै रह्यो,’ उनले भने, ‘हामी आँट भएका, आत्मविश्वास र दृष्टिकोण भएका मानिसहरू हौं, गठबन्धन चुनावसम्मै टिक्छ।’   गत शुक्रबार राष्ट्रपतिमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई समर्थन गर्न ८ दलबीच सहमति बनेको थियो।

काठमाडौ: सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको सञ्चार क्षेत्रमा परिवर्तनको अनुभूति गराउन कानुन परिवर्तनमा जोड दिने नीति लिएको बताउनुभएको छ । सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब)को कार्यालय निरीक्षण तथा भेटघाटका क्रममा उहाँले यस्तो धारणा राख्नुभएको हो ।    ठूलो राजनीतिक परिवर्तनपछि संविधान निर्माण भए पनि सो अनुकूल पर्याप्त कानुन नभएकाले आफू कानुन निर्माणमा केन्द्रित भएको बताउनुभयो । नेपाली समाज धेरै अगाडि बढे पनि कतिपय क्षेत्रमा पञ्चायतकालीन कानुन रहेकाले यसको परिवर्तन गर्न सरकार लागेको पनि उहाँले जानकारी दिनुभयो ।   नेपालको परिवर्तन र जागरणमा रेडियोहरुको ऐतिहासिक भूमिका रहेको उल्लेख गर्दै उहाँ अब सङ्ख्यामा भन्दा गुणस्तरीय सामग्री निर्माणमा जोड दिन आग्रह गर्नुभयो ।   अहिले समाजमा पर्याप्त कानुनी चेतनाको अभावमा बहुविवाह, छुवाछुतजस्ता जघन्य अपराधहरु भइरहेको उल्लेख गर्दै उहाँले सञ्चारमाध्यमहरुले कानुन साक्षरतामा सहयोग पुने सामग्री निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो ।   अकोराबका अध्यक्ष अर्जुन गिरीले सङ्घीय कानुन निर्माण गरी सामुदायिक रेडियोमा सहजीकरण गरिदिन आग्रह गर्दै ध्यानाकर्षणपत्र बुझाउनुभएको थियो । सो क्रममा मन्त्री शर्माले सामुदायिक सूचना नेटवर्क (सिआएन)को पनि निरीक्षण गर्नुभएको थियो ।