काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार विशेष मनसुन बुलेटिन जारी गर्दै आगामी दुई दिन देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। ...

काठमाडौं: नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले नेपाली आठ दलीय गठबन्धनमा कांग्रेसका तर्फबाट राष्ट्रपतिमा उम्मेदवार दिनुभएका वरिष्ठ नेता रामचन्द्र पौडेलको जित सुनिश्चित भएको दाबी गर्नुभएको छ ।   बिहीबार काठमाडौंमा भएको आठ दलीय गठबन्धनका सांसदहरुको अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्नुहुँदै सांसद पौडेलले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्नुभएका पौडेलको पक्षमा मत मागनका लागि यो कार्यक्रम गरिएको पनि उल्लेख गर्नुभयो ।   सांसद पौडेलले भन्नुभयो, ‘‘राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बन्नुभएका रामचन्द्र पौडेलको पक्षमा मत माग्ने, विशेष गरी आठ दलसँग सम्बन्धित प्रतिनिधि सभामा सांसदहरु र प्रदेश भित्रका सांसदहरुलाई बोलाएर अभिमुखीकरण कार्यक्रममा सहभागी गराएर आठ दलको तर्फबाट उम्मेदवार बन्नुभएका पौडेललाई जिताएर सबै एकै ठाउँमा बसेर मत माग्न यो कार्यक्रम गरिएको हो । आठ दलका नेताहरु आफ्नो उम्मेदवारलाई मत मागिरहनुभएको छ ।’’   उहाँले अभिमुखीकरण कार्यक्रममा आठ दलका शीर्ष नेताहरुले आफ्ना सांसदहरुलाई उम्मेदवार पौडेलका लागि मत मागिरहेको उल्लेख गर्नुभयो । उम्मेवार पौडेल राष्ट्रपति भइसकेपछि राष्ट्रपति पदको मर्यादा कायम राख्ने र संविधानलाई अक्षुण्ड राख्दै संविधानको संरक्षकका रुपमा काम गर्ने, राष्ट्रियता राष्ट्रिय स्वाभिमानका साथ अघि बढ्नेमा विश्वस्त रहेको बताउनुभयो ।   सांसद पौडेलले भन्नुभयो, ‘‘राष्ट्रपति पदको मर्यादा कायम राख्ने र संविधानलाई अक्षुण्ड राख्दै संविधानको संरक्षकका रुपमा काम गर्ने, राष्ट्रियता राष्ट्रिय स्वाभिमानका साथ अघि बढ्ने प्रतिवद्धता रामचन्द्र पौडेलले गर्नुभएको छ । मतका हिसावले उहाँले निर्वाचन जित्ने निश्चित छ ।’’   सांसद पौडेलले राष्ट्रपति पद देशको अभिभावकको रुपमा र संविधानको संरक्षकको रुपमा राष्ट्रपति रहनुपर्ने भन्दै राष्ट्रपतिले हस्तक्षेपकारी भुमिका खेल्नु नहुने बताउनुभयो ।

कञ्चनपुर:  कञ्चनपुरमा यस वर्ष कात्तिक महिनामै हुस्सु लाग्यो । आँपमा पुस महिनामै फुल फुल्यो । आँपको फूलमा अघिल्ला वर्षका तुलनामा रोग किराको समस्या अत्यधिक देखियो । यी सबै कार्य जलवायुमा परिवर्तनका कारण भएका जनाइएको छ । जिल्ला वन समन्वय समिति कञ्चनपुरका सहसचिव पुनाराम चौधरी प्राकृतिक सम्पदाको अत्यधिक दोहन, वन विनाश, खेती प्रणालीमा गरिएको परिवर्तन, द्रुत सहरीकरणसँगै प्रदूषणको कारणले जलवायु परिवर्तन आएको बताउनुहुन्छ ।   “जलवायु परिवर्तनले बाली चक्रको पात्रोमै परिवर्तन गरिदिँदा हुस्सु मङ्सिर महिनाको अन्तिम र माघ महिनामा लाग्दथ्यो”, उहाँले भन्नुभयो, “कात्तिक महिनामै हुस्सु लाग्न थालेको छ, आँपमा फागुन, चैत महिनामा फूल लाग्ने गरेकोमा पुस महिनामै फूल लाग्न थालेको छ ।”   ढिलो गरी अत्यधिक वर्षा हुनु, हिउँदमा समयअघि नै चिसो बढ्नु, वन जङ्गल क्षेत्रमा मिचाहा प्रजातिका बिरुवा प्रशस्त रूपमा देखिनु, पशुमा नयाँ रोग देखा पर्नु जलवायु परिवर्तनको असर भएको उहाँले बताउनुभयो । “वर्षा र सुख्खा यामको दुरी बढ्दै गइरहेको छ”, उहाँले भन्नुभयो, “जसले गर्दा विगतको तुनलामँ तापक्रम बढ्दो छ ।   उहाँका अनुसार खेतबारीमा पहिला झारपातको धेरै समस्या हुने गरेको थिएन । हाल झारपातसँगै नयाँ रोग देखिन थालेका छन्, जति विषादीको प्रयोग गरे पनि रोग कीरा नियन्त्रण गर्न गाह्रो भएको छ । धानमा बाला नलाग्ने समस्या बल्झिँदै गएको छ । तापक्रम बढ्दै जाँदा बालीनालीको उत्पादन प्रभावित भएको उहाँको भनाइ छ । यस कार्यले खाद्यान्न सङ्कटलाई निम्त्याउन सक्ने उहाँले उल्लेख गर्नु भयो ।   “वर्षा हुने क्रममा आएको परिवर्तन चुनौतीका रूपमा रहेको छ”, महाकाली सामुदायिक वनका अध्यक्ष वीरबहादुर राजवंशीले भन्नुभयो, “वर्षातका दिन घट्दै जान थालेका छन्, औसत वर्षा कम हुने गरेको छ, एकैपटक धेरै वर्षा हुँदा बाढी, भूक्षय र डुबानको समस्या केही वर्षदेखि जटिल रूपमा देखिन थालेको छ ।” अप्रत्याशित रूपमा हुने वर्षाले बर्सेनि धनजनको क्षतिलाई बढाउँदै लगेको उहाँले बताउनुभयो । वन क्षेत्रमा पहिला देखिने गरेका रैथाने प्रजातिका केही बिरुवा अहिले देखा नपर्ने गरेको उहाँले बताउनुभयो ।   उहाँका अनुसार वन क्षेत्रमा पहिला प्रशस्त रूपमा पाइने सानुन, विजयसाल लोपोन्मुख अवस्थामा पुगेको छ । हर्रो, बर्रोदेखि नै छाडेको छ । वन क्षेत्रमा प्रशस्त रूपमा देखिने जनावर देखिन छाडेका छन् । वन्यजन्तुको वासस्थानमा फेदरवदल भएको छ । डिभिजन वन कार्यालय कञ्चनपुरका सूचना अधिकारी शिवराज अवस्थी तराईमा तापक्रममा वृद्धि हुँदै जाँदा जीवजन्तुले वासस्थान सार्न थालेको बताउनुहुन्छ ।   “उष्ण हावापानीमा पाइने जनावर अहिले चुरे क्षेत्र र महाभारत क्षेत्रमा पाइन थालेका छन्”, उहाँले भन्नुभयो, “पाटे बाघ महाभारत क्षेत्रमा देखिनु यसको उदाहरण हो ।” तराईमा पाइने बिरुवा अहिले चुरे क्षेत्रमाथि देखिन थालेको उहाँले बताउनुभयो । जलवायुको असर कम गर्न वन क्षेत्र जोगाउने, प्रदूषण कम हुने किसिमका उद्योग धन्दालाई प्रोत्साहित गर्ने, वातावरणमैत्री ऊर्जा र सवारी साधनको प्रयोगमा जोड दिने, वनमा लाग्ने डढेलो कम गर्नका लागि प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने उहाँले बताउनुभयो ।   जिल्ला वन समन्वय समिति कञ्चनपुरका सहसचिव चौधरी पराल जलाउने कार्य रोक्ने, नदीजन्य पदार्थको व्यवस्थित रूपमा प्रयोग गर्ने, वैकल्पिक ऊर्जाको प्रयोगमा जोड दिने, दाउराको खपत कम गर्ने, प्लास्टिकजन्य पदार्थको प्रयोगलाई निरुत्साहित गर्न सके वातावरणलाई सन्तुलित राख्न सकिने बताउनुहुन्छ ।   जमिनमुनिको पानीको सतह घट्दै गएको छ । हिउँदै वर्षा हुने क्रममा कमी आउन थालेको छ । जसले गर्दा प्राकृतिक स्रोतमा आश्रित समुदाय र सीमान्तकृत समुदायलाई यसले नराम्ररी असर गरेको छ । “मानव स्वास्थ्यमा जलवायु परिवर्तनको अवसर देखिन थालेको छ”, शुक्लाफाँटा नगरपालिका स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले भन्नुभयो, “स्वास्थ्यको समस्या लिएर आउने बिरामीमा श्वासप्रश्वास, छाला, बेमौसमी ज्वरोका बिरामी रहने गरेका छन्, पहिलेको तुनामा बिरामीको सङ्ख्या बढ्दो रूपमा रहेको छ, बढ्दो प्रदूषण, खानपानमा आएको परिवर्तनले बिरामी हुने क्रमलाई बढाएको छ ।” उहाँ जलवायु परिवर्तनलाई चुनौती मात्रै नभएर भविष्यमा आइपर्ने खतराका रूपमा औँल्याउनुहुन्छ ।

यूएई : देव खनालको अर्धशतकप्रेरित नेपाल यू १९ ले आईसीसी यू १९ विश्वकपको एसिया रिजन छनोटमा यूएईलाई एक सय ९२ रनको लक्ष्य दिएको छ। अज्मानस्थित इडेन गार्डेन ओभलमा जारी खेलको ४.५ ओभरमा सबै विकेट गुमाएर नेपालले एक सय ९१ रनको योगफल तयार गर्यो।   नेपालका लागि ८४ बलको सामना गरेका कप्तान देवले तीन चौका र एक छक्कासहित ५१ रनको इनिङ खेले। यस्तै, उत्तम रङ्गु थापा मगरले ३६,विशाल विक्रम केसीले ३८ रन बाहेक अन्य ब्याटरको प्रदर्शन उल्लेख्य रहेन।   यूएईका लागि ध्रुव पराशरले सर्वाधिक तीन तथा आयान अफ्जल खान र हरित हरिस सेट्टीले दुई–दुई विकेट लिए। यस्तै, हर्सित सेठ र अमार बदामीले एक–एक विकेट लिए।   नेपालले आजको खेलमा जित निकाल्न सके अर्को वर्ष श्रीलंकामा हुने यू १९ विश्वकपमा स्थान बनाउने छ। नेपालले पछिल्लो पटक सन् २०१६ मा पछिल्लो पटक यू १९ विश्वकप खेलेको थियो।

कास्की: पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान सफल भएको छ । विमानस्थलमा बुधबार राति सौर्य एयरलाइन्सको जहाज काठमाडौँदेखि पोखरा अवतरण गरेको हो । उक्त जहाज राति ८ बजेर ४५ मिनेट पोखरा विमानस्थलमा अवतरण भएको हो ।    पोखरा विमानस्थलका प्रमुख विक्रम गौतमका अनुसार काठमाडौंदेखि ३३ जना यात्रु लिएर आएको जहाज पोखराबाट ४६ यात्रु लिएर फर्केको हो । सौर्य चढेर पोखरा उत्रिएका यात्रु मोहन भण्डारीले सफल अवतरण गरेको भन्दै फेसबुकमा व्यक्त गर्नुभएको छ ।   उहाँले लेख्नुभएको छ, ‘‘‘खराब मौसमका कारण ढिलाइ भए पनि सौर्य एयरलाइन्सले पोखरा विमानस्थलमा पहिलो आइएफआर उडान सफलतापूर्वक सम्पन्न गरेको छ । सौर्य एयरलाइन्सको समर्पित टोलीले कडा मिहिनेत गरेर यो सम्भव बनायो । यस ऐतिहासिक क्षणको एक हिस्सा हुन पाउँदा रोमाञ्चित छु ।’’   फागुन ११ गतेदेखि पोखरा विमानस्थलमा आइएफआर प्रणाली लागू भएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणले बुद्ध एयरलाई रात्रिकालीन उडानको लागि अनुमति दिइसकेको छ । आगामी २५ फागुनमा रात्रिकालीन उडान गर्ने बुद्धको तयारी रहेको छ ।    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुद्ध एयरका ४ जहाज रात्रिकालीन समयमा विमानस्थलमा हुनेछन् । ती विमानले बिहान ४ स्थानमा उडान भर्नेछन् । काठमाडौ, भैरहवा, नेपालगञ्ज नियमित उडान भइरहेका छन् ।   बुद्धले फागुन २५ गतेदेखि नै पोखरा भद्रपुर उडानको तयारी समेत गरेको छ । पोखराबाट बिहान ६ः१५ मा जहाज भद्रपुरका लागि उड्नेछ । भद्रपुरबाट पोखराका लागि भने बेलुकी ६ः५५ मा उडान हुने जनाइएको छ । हवाई उडान दूरी १ घण्टा १० मिनेटको हुनेछ ।

तनहुँ: पृथ्वी राजमार्गअन्तर्गतको याम्पाफाँट–घाँसीकुवा खण्ड आज (बिहीबार)देखि दैनिक चार घण्टा बन्द गरिने भएको छ । मुग्लिङ–पोखरा सडकखण्ड चार लेनमा विस्तार गर्ने कामलाई तीव्रता दिन रातिको समयमा बन्द गर्ने निर्णय गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले जानकारी दिनुभयो ।    उक्त सडकखण्ड आजदेखि फागुन २७ गतेसम्म गरी १० दिन राति १२ बजेदेखि बिहान ४ बजेसम्म गरी पाँच बन्द गरिने गैरेले जानकारी दिनुभयो । निमित्त प्रजिअ गैरेका अनुसार काम छिटोछरितो गर्नका लागि मुग्लिङ–पोखरा खण्ड योजना (पूर्वी खण्ड)बाट अनुरोध भई आएको विषयमा छलफल गरी दैनिक रूपमा अत्यावश्यक सवारी बाहेक अन्य सवारी साधनहरू पूर्णरुपमा रोकी काम गर्ने निर्णय भएकाले बन्द गरिने भएको हो ।   ‘‘चार लेन सडक विस्तारका क्रममा यस खण्डमा भित्ता काट्ने काम गर्नुपर्ने भएकाले रातको समयमा सो खण्ड बन्द गर्ने निर्णय भएको छ,’’ उहाँले भन्नुभयो । यात्रुलाई यात्रा सहज बनाउन दिउँसो बन्द नगरी रातिको समय बन्द गर्ने निर्णय  गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।   चाइना कम्पनीले पृथ्वी राजमार्गअन्तर्गतको पोखरा–मुग्लिङ सडकलाई तीन चरणमा विस्तार गर्ने क्रममा भित्ता काट्ने र खाल्टो पुर्ने कार्य भइरहेको छ ।   हाल पृथ्वीराजमार्ग दुई लेनको रहेको छ । चाइना एण्ड कम्युनिकेशनले उक्त सडक तीन चरणमा पुरा हुने गरी योजना बनाएको छ ।   आँबुखैरेनीदेखि जामुनेसम्म, जामुनेदेखि पोखरा र आँबुखैरेनीबाट मुग्लिङसम्म गरी तीन चरणमा सडक फराकिलो गरिरहेको छ मुग्लिङदेखि पोखरासम्मका सडक फराकिलो पार्न चिनियाँ कम्पनीले ठेक्का पाएर निर्माण कार्य सुरु भइरहेको छ । सो कम्पनीले सडक फराकिलो गर्न छ अर्ब १४ करोड रुपियाँको ठेक्का पाएको छ ।

काठमाडौं : राष्ट्रपति निर्वाचनबारे छलफल गर्न  एमाले नेताहरूले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेका छन् । नेपाललाई भेट्न एमाले नेताहरू बिहीबार बिहान आलोकनगरस्थित एकीकृत समाजवादीको पार्टी कार्यालय पुगेका थिए।   राष्ट्रपति पदका उम्मेदवार एमाले उपाध्यक्ष सुवास नेम्बाङ,उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव पृथ्वीसुब्बा गुरूङ,रघुविर महासेठ र विमला राईले अध्यक्ष नेपाललाई भेटेका हुन् । सो क्रममा राष्ट्रपति निर्वाचनका विषयमा छलफल भएको थियो । भेटमा नेताहरूले राष्ट्रपतिमा नेम्वाङलाई सहयोग गर्न आग्रह गरेका थिए ।   छलफलमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित उपाध्यक्ष प्रमेश हमाल, महासचिव डा. वेदुराम भुसाल,उपमहासचिव प्रकाश ज्वालालगायत नेताहरू सहभागी थिए।   राष्ट्रपति निर्वाचन यही फागुन २५ गते हुँदैछ। नयाँ गठबन्धनबाट नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेबाट सुवास चन्द्र नेम्बाङले राष्ट्रपतिमा उम्मेदवारी दिएका छन्। एकीकृत समाजवादीले भने कांग्रेस नेता पौडेललाई राष्ट्रपतिमा समर्थन गरेको छ। 

ताप्लेजुङ: ताप्लेजुङमा बिहीबार बिहान एक महिला मृत फेला परेकी छन् । सदरमुकाम फुङ्लिङ बजारको न्यूरोड लाइनमा डेरा गरी बस्दै आएकी महिला मृत फेला परेकी हुन् ।   जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कुशराम कार्कीका अनुसार मृत भेटिएकी महिला अन्दाजी ३५ वर्षीया शर्मिला तामाङ भएको खुलेको छ । फुङ्लिङ नगरपालिकाको दोखु घर भई हाल आफ्ना दुई छोरी पढाउनलाई तामाङ फुङ्लिङ बजारमा बस्दै आउनुभएको बुझिएको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो ।   मृतक महिलाका घर र मैवाखोला माइती गाउँका आफन्त आइपुगेपछि कानुनी प्रक्रियाको कार्य अघि बढाइने भएकाले त्यसपछि मात्र बाँकी विस्तृत विवरण आउने उहाँले जानकारी दिनुभयो । डेरा गरी बसेको कोठामा ओछ्यानमै ती महिलाको शव फेला परेको छ । मृतक महिलाकी श्रीमान् वैदेशिक रोजगारीमा रहनुभएको बुझिएको पनि प्रहरीले जानकारी दिएको छ ।       

काठमाडौं : आज प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।    प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।    महाशाखाका अनुसार हाल मुलुकमा पश्चिमी वायुको सामान्य प्रभाव रहनुका साथै स्थानीय वायुको आंशिक प्रभाव छ । आज राति पनि प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

चितवन: एक करोड रुपियाँभन्दा बढी मूल्य पर्ने गरगहना र तीन भारतीय नागरिकलाई चितवन प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयद्वारा गरिएको पत्रकार सम्मेलनमा चितवन प्रमुख तथा प्रहरी उपरीक्षक रामेश्वर कार्कीले सोबारे जानकारी गराउनुभएको हो ।   सुराकीको आधारमा भारतीय डब्लु बी १२ ए–भी ५५६६ नम्बरको टाटा कम्पनीको नेक्सन गाडीमा लुकाई छिपाई ल्याएका ती गहनासहित तिनीहरूलाई प्रहरीले पक्राउमा गरेको थियो ।   पक्राउ पर्नेमा कार चालक भारत, उत्तर प्रदेश, बलिया जिल्ला, फेफना थाना बस्ने वर्ष ४२ का विनोद प्रसाद, भारत पश्चिम बङ्गाल, हौडा जिल्ला गोलावाडी पुलिस थाना, सल्किया स्कुलरोड कलकत्ता बस्ने वर्ष ५१ का गणपतकुमार तोसावर र सोही स्थानका वर्ष ४२ का नरेश बर्मा छन् ।   उनीहरूले गाडीको सिट मुनी र विभिन्न स्थानमा लुकाई छिपाई ल्याएका सुनका ६३.८९८ तोला र हिरा जडित २२.८७८ तोला गहना बरामद गरेको प्रहरीले जानकारी दिएको छ । ती गहना सुनचाँदी व्यवसायीसँगको रोहभरमा तौल र गुणस्तर जाँच गर्दा एक करोड १० लाख रुपियाँ बराबरको भएको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।   पक्राउ परेका व्यक्तिहरू, गाडी र गरगहना राजश्व अनुसन्धान विभागमा पठाउने तयारी भएको प्रहरीले जानकारी दिएको छ ।