काठमाडौं: नेपाल टेलिकमले आफ्नै नाममा दर्ता भएका मोबाइल नम्बरमात्र प्रयोग गर्न आह्वान गरेको छ । टेलिकमले बुधबार एक विज्ञप्ति जारी गर्दै मोबाइल नम्बर अत्यन्तै संवेदनशील वस्तुका रूपमा स्थापित हुँदै गएको भन्दै यस्तो आग्रह गरेको हो । ‘हालको अवस्थामा मोबाइल नम्बर (सिमकार्ड) कुराकानी गर्ने, सन्देश पठाउने र इन्टरनेट चलाउने सजिलो माध्यमका रूपमा मात्र नरही राष्ट्रिय परिचय पत्र, नागरिक एप, बैंकिङ कारोबार, शेयर कारोबार, नगद लेनदेन तथा सामाजिक सञ्जाल लगायत विभिन्न डिजिटल गतिविधिहरूमा मोबाइल नम्बरको प्रयोगले जीवनशैली सहज बन्दै गएको छ’, टेलिकमले भनेको छ, ‘यसका साथै मोबाइल नम्बरको माध्यमबाट सम्पूर्ण व्यक्तिगत तथ्यांकदेखि कागजातहरू, बचत तथा अन्य मूल्यवान र दैनिक प्रयोगमा रहने सामग्री र सूचनाहरूमा पहुँच पु¥याउन सक्ने अवस्थाका कारण मोबाइल नम्बर अत्यन्तै संवेदनशील वस्तुका रूपमा पनि स्थापित हुन गएको छ । आफूले प्रयोग गरिरहेको÷गर्ने मोबाइल नम्बर आफ्नै नाममा दर्ता रहेको अवस्थामा उल्लेखित सम्पूर्ण कार्यहरू सुरक्षित ढंगले सम्पन्न गर्न सकिने अवस्था रहेको छ ।’ टेलिकमले प्रयोगकर्ता ग्राहक स्वयंको नाममा दर्ता नरहेको वा अरू कसैको नाममा दर्ता रहेको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल नम्बरमा रहेका सम्पूर्ण तथ्यांक, बैंकिग कारोबार र अन्य कतिपय महत्त्वपूर्ण व्यक्तिगत सामग्रीहरू असम्बन्धित व्यक्तिको पहुँचमा पुग्नसक्ने जोखिम सधैं रहन सक्ने जनाएको छ । यस अवस्थामा प्रयोगकर्ताको मोबाइल बैंकिगको दुरुपयोग भई नगद गुमाउनुपर्ने, सामाजिक सञ्जालको अनधिकृत प्रयोग भई सुरक्षाको जोखिम लगायत अनेक कानुनी झमेलामा समेत पर्ने सम्भावना रहने टेलिकमको विज्ञप्तिमा उल्लेख छ । ‘यस्तो अवस्थाको सिर्जना नहोस् भनी नेपाल टेलिकम सम्पूर्ण ग्राहक वर्गमा आफ्नै नाममा दर्ता मोबाइल नम्बर प्रयोग गर्न तथा सिमकार्ड हराएको÷बिग्रिएको खण्डमा आफू स्वयं उपस्थित भई सिमकार्ड प्राप्त गर्न अनुरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ । टेलिकमले अगाडि भनेको छ, ‘मोबाइल नम्बरमार्फत गरिने आर्थिक कारोबारलाई थप सुरक्षित र भरपर्दो बनाउन सम्बन्धित वित्तीय संस्थाहरुले ग्राहकको वित्तीय सुरक्षा प्रत्याभूतिका लागि सिमकार्डमा प्राप्त हुने ओटिपी (वन टाइम पासवर्ड)को मात्र भर नपरी टू फ्याक्टर अथेन्टिकेसन प्रणालीलाई अनिवार्य प्रयोगमा ल्याई दिनुहुन पनि नेपाल टेलिकम अनुरोध गर्दछ ।’
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डिप्रेजले आज (बुधबार) शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटवार्तामा उहाँहरुबीच आपसी हितका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यस्तै, आजै प्रधानमन्त्री दाहालसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भन क्याप्लरले पनि शिष्टाचार भेट गर्नुभएको छ । सो क्रममा उहाँहरुबीच द्विपक्षीय सम्बन्धका बारेमा कुराकानी भएको थियो ।
काठमाडौं: मङ्गलबार सामान्य अङ्कले घटेको नेप्से परिसूचक बुधबार उच्च अङ्कले वृद्धि भएको छ । आज नेप्से परिसूचक ६४.८७ अङ्कले बढेर २१२५.९४ बिन्दुमा पुगेको हो । नयाँ सरकार बनेर अर्थमन्त्री विष्णु पौडेल आएसँगै शेयर बजार निरन्तर रुपमा उकालो लाग्दै आएको छ । त्यस्तै, नेप्से परिसूचकसँगै सेन्सेटिभ इण्डेक्स पनि १४.०९ अङ्कले बढेको छ भने फ्लोट इण्डेक्स ४.२८ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.८८ अङ्कले बढेको छ । कारोबारमा आएका २५८ कम्पनीको ८७ लाख ३३ हजार कित्ता शेयर तीन अर्ब ५० करोड ११ लाख रुपियाँ बराबरको खरिद बिक्री भएको छ । मङ्गलबारको तुलनामा बुधबार कारोबार रकम पनि बढेको छ । मङ्गलबार तीन अर्ब ४५ करोडको शेयर खरिद बिक्री भएको थियो । नेप्सेका १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये व्यापार उपसमूहको परिसूचक सबैभन्दा बढी ९.७४ प्रतिशत बढेको छ । त्यस्तै, लगानी, उत्पादन तथा प्रशोधन र लघुवित्त उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी बढेको छ । यता विकास बैंक, वित्त र जलविद्युत उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढीले बढेको छ । नेप्से परिसूचक बढेसँगै २४ भन्दा बढी कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । जसमा कालिका लघुवित्त, साल्ट ट्रेडिङ्ग कर्पोरेशन, किसान लघुवित्त, नाडेप लघुवित्त, पिपुल्स पावर, हिमालयन डिस्टिलरी, खप्तड लघुवित्त, मिर्मिरे लघुवित्त, बाराही हाइड्रोपावर, आरएसडीसी लघुवित्त, विन्ध्यवासिनी हाइड्रो, हिमालयन हाइड्रोपावर, र आशा लघुवित्तको मूल्य ९.९ देखि १० प्रतिशतसम्म बढेको छ । कारोबार रकमका आधारमा बुधवार हिमालयन डिष्टिलरीले ११ करोड ५२ लाख रुपियाँ बराबरको शेयर खरिद बिक्री गरेको छ ।
काठमाडौं: नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारमा आफ्नो पार्टीको सहभागिताबारे निर्णय लिन हतार नभएको बताउनुभएको छ। पुस २६ गते सरकारले विश्वासको मत लिने भएकाले त्यसअघि सरकारमा आफ्नो पार्टीको सहभागिताबारे निर्णय लिन हतार नगर्ने उहाँको प्रष्ट पार्नुभएको हो। पार्टीको भ्रातृ सङ्गठन युवा सङ्घ, नेपाल काठमाडौं जिल्ला कमिटीले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले राजनीतिको दृश्य स्पष्ट नभएकाले आफ्नो पार्टीको पोलिटब्युरो बैठकले सो सम्बन्धमा निर्णय नलिएको स्पष्ट पार्नुभयो। प्रचण्डको अनुहार हेरेर भन्दा पनि सरकारको नीति तथा कार्यक्रमलाई हेरेर, त्यहाँ रहेका राजनीतिक दलको गतिविधिलाई हेरर पुस २६ गते नै सो निर्णय गर्न आफूहरु तयार रहेको अध्यक्ष नेपालको भनाइ छ। अध्यक्ष नेपालले भन्नुभयो, ‘‘अहिलेसम्म हामीले यो सरकारले कस्तो नीति र कार्यक्रम लिन्छ भन्ने कुरा हेर्नै पाएका छैनौं। मान्छेको अनुहार हेरेर गर्ने हो भने प्रचण्डजीको अनुहार हेर्दा ल समर्थन गरिदिउँला भनौंला। तर, अनुहारले मात्रै हुँदैन। त्यहाँ अनेक छन्। के–के गर्छन ? थाहा छैन। हामी पनि नेपालको राजनीतिमा छौं। हामीलाई केही पनि जानकारी छैन। अनि त्यत्तिकै अगाडि सरेर बोल्ने कुरामा के को हतार ? पुस २६ गतेसम्म यो विषय सस्पेन्समै रहोस्। दुनियाँ कुदिरहून्। वास्तवमा यो पार्टीले के भन्छ ? भनेर भनिरहून्। त्यसो हुनाले हामीले हतार नगरेको हो।’’ अध्यक्ष नेपालले सरकारमा जाने बेलामा आफूसँग प्रधानमन्त्री पुष्पकमल दाहालले छलफल नगरेको भन्दै गुनासो गर्नुभएको छ। उहाँले सबैको रायसुझाव सुनेर पार्टीले आधिकारिक कमिटीले निर्णय गर्ने उहाँको भनाइ छ। अध्यक्ष नेपालले भन्नुभयो, ‘‘सबैको रायसुझाव सुनिन्छ। अनि हाम्रो पार्टीको आधिकारिक कमिटीले निर्णय गर्छ। अनि कसैकसैलाई सरकारमा जाने हतार, सरकार बनाउँदा खेरी कसैले सोधेकै छैन। नीति, कार्यक्रम तर्जुमा गर्ने कुरामा मतलबनै राखेको छैन। तैपनि सरकारमा जाने हतार। यी सबै भनेका कुरा के हुन् भने सत्ताबाहेक अरु केही पनि नदेख्ने चिन्तन हो। हाम्रो पार्टी भिन्न छ।’’ अध्यक्ष नेपालले आफ्नो पार्टी सत्तामा जानका लागि मरिहत्ते गर्ने पक्षमा नरहेको पनि बताउनुभयो। उहाँले पार्टीका सांसदलाई दलको ह्वीप लाग्ने भन्दै सचेत गराउनुभयो। सरकारलाई विश्वासको मत दिने समय आइरहेका बेला अध्यक्ष नेपालले पार्टीका सांसदलाई दलको ह्वीप लाग्नेतर्फ सचेत गराउनु भएको हो। उहाँले राष्ट्रिय मान्यता नपाएका दलले पनि पार्टीका सांसदलाई ह्वीप लगाउन पाउने कानुनी र संवैधानिक व्यवस्था रहेको जिकिर गर्नुभयो। राष्ट्रिय मान्यता नपाएका राजनीतिक दलका सांसदलाई ह्वीप लाग्दैन भन्ने भ्रम कसैले पनि नछरे हुने अध्यक्ष नेपालको भनाइ छ। उहाँले भन्नुभयो, ‘‘हामीलाई सोचेजस्तो परिणाम निर्वाचनमा आएन। कतिपय मान्छेको अनुहार कताकता खिस्रिक्क परेजस्तो देखिएको छ। केको आत्तिएको ? प्रत्यक्ष निर्वाचनबाट आएको हाम्रो सिट सङ्ख्या भनेको १०। संसदमा १० सिट आएको भने पनि संसदमा आएको यसको हैसियत कमजोर छैन।’’ अध्यक्ष नेपालले आफ्नो दलले राष्ट्रिय मान्यता प्राप्त गरेन भनेर नआत्तिन पनि पार्टीका नेता, कार्यकर्तालाई आग्रह गर्नुभएको छ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बुधबार सिंहदरबारस्थित नेकपा (माओवादी केन्द्र)को संसदीय दलको कार्यालयमा प्रधानमन्त्री प्रचण्ड र नेकपा एसका अध्यक्ष नेपालबीच भेटवार्ता भएको हो ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमाल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारमा रहेका विभिन्न संरचनाको अवलोकन गरेका छन् । प्रधानमन्त्रीले उक्त भवनमा रहेका एक्सन रुम, स्टुडियो, भवनको पाँचौ तलामा निर्माणाधीन हल, मन्त्रालयका अन्य कार्यकक्ष लगायतका संरचनाको निक्षण तथा अवलोकन गरेका हुन् । यस्तै प्रधानमन्त्रीले भवनको छतमा पुगेर सिंहदरबास्थित अन्य भवन तथा संरचनाहरुको समेत अवलोकन गरेका छन् । मुख्य सचिव शंकरदास बैरागीले प्रधानमन्त्रीलाई सिंहदरबारमा निर्माणाधीन संसद भवन, जीर्ण अवस्थामा रहेको पुरानो संसद भवन, मन्त्रालयका अन्य निर्माणाधीन संरचना तथा भावी परिरकल्पना गरिएका संरचनाका बारेमा विस्तृत जानकारी दिएका थिए ।
कावासोती: पूर्वी नवलपरासी जिल्लामा सडक दुर्घटनाबाट हुने मृत्युदरमा वृद्धि भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार दुर्घटनाबाट मृत्यु हुनेको दर वार्षिक रूपमा बढ्दो छ । दुर्घटनामा कमी आए पनि मृत्युदर भने बढेको कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०७७र०७८ मा जिल्लामा ५२ दुर्घटना हुँदा १३७ जनाको मृत्यु भएको जिल्ला कार्यालयको तथ्याङ्कमा देखिन्छ । यही अवधिमा दुर्घटनाबाट ८२ गम्भीर र १३९ सामान्य घाइते भएका छन् । गत आव २०७८र७९ मा ९५ दुर्घटना हुँदा ३९ जनाको मृत्यु भएको थियो । यो चालु आवभन्दा कम हो । आव २०७९र०८० को पाँच महिनामा ३६ सवारी दुर्घटनामा १८ जनाको मृत्यु भएको कार्यालय प्रमुख प्रहरी निरीक्षक प्रदीप थापाले जानकारी दिनुभयो । उहाँका अनुसार मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा, सवारीलाई उछिन्न खोज्ने, यान्त्रिक गडबडी, तीव्रगतिमा सवारी चलाउँदा, सडक चौपाया, क्षमताभन्दा बढी यात्रु बोकेर सवारी चलाउँदा, ट्राफिक नियम उल्लङ्घन, बढ्दो सवारी चापका कारण दुर्घटना हुने र दुर्घटनाबाट मानिसको मृत्युदर बढेको हो । दुर्घटनाको अनुसन्धान गर्दा जिल्लामा भएका अधिकांश सवारी दुर्घटनामा चालककै बढी गल्तीका कारण हुने गरेको प्रहरीले जनाएको छ । यसका कारण वार्षिक धेरै मानिसले अकालमा ज्यान गुमाउनुपरेको छ । जिल्ला सबैभन्दा बढी दुर्घटना मोटरसाइकल, साना चारपाङ्ग्रे सवारीसाधन, यात्रुवाहक बस र टिपर रहेका छन् । यसबाहेक अटो, रिक्सा, साइकलयात्री पनि दुर्घटनामा परेर ज्यान गुमाउनुपरेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।
कालीकोट: पुस २० गते । कालीकोटमा चिसो निकै वढेको छ । चिसोका कारण केही स्थानीय तहका बिद्यालय समेत बन्द भएका छन् । आउजाउ गर्न समेत कठिन भइरहेको छ । रास्कोट नगरपालिका –८ का सुना सुवेदी घरबाट सदरमुकाम मान्म आउँदा पाँचदेखि सात ठाउँसम्म आगोको साहरा लिनुपरेको बताउनुभयो । दिनमा घाम लागेको छ, तर हावा पनि उतिकै चलेकाले चिसो हुँदा गाडी रोकेर यात्रुले आगो ताप्ने गरेको उहाँले सुनाउनुभयो । चिसोका कारणले जिल्लाका तिलागुफा नगरपालिका भित्रका सबै बिद्यालय माघ १५ गतेसम्मका लागि बन्द भएका छन् । कोरोना पछि जिल्लाभरी एक शैक्षिकसत्र अर्थात वर्षातको समयमा मात्र बिदा गर्ने पालिकाहरुले निर्णय गरे पनि चिसोका कारणले तिलागुफा नगरपालिकाले हिउँदे बिदालाई निरन्तरता दिनुपरेको बताएको छ । नगरपालिका शिक्षा शाखामा कार्यरत बिद्यालय निरिक्षक नविन हमालले जुम्लासँग सीमा जोडिएको र यो समयमा बग्ने पानी समेत जम्न थालेपछि बिद्यालय बन्द गर्नुको बिकल्प नभएको बताउनुभयो । कालीकोटमा तापक्रम माइनस ५ रहेको छ । अत्यधिक चिसो बढेकाले जिल्ला प्रशासन कार्यालयले समेत सचेत हुन सार्वजनिक सूचना गरेको छ । प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले चिसो देशभरी बढिरहेकाले सूचनाअनुसार जिल्लामा पनि सचेत हुन सूचना जारी गरिएको बताउनुभयो । पुस महिना जान लाग्दा समेत पानी नपरेकाले झन चिसो बढेको स्थानीयको भनाइ छ । खाँडाचक्र नगरपालिका वडा ३ का भक्ती पाण्डेले पानी मात्र होइन हिमपात भएर मौसम सफा हुने बितिकै तातो हुने बताउनुभयो । उहाँले पानी नपर्दा हुस्सु लाग्ने र हावा पनि उस्तै चल्ने भएकाले अनुमानभन्दा वढी चिसो हुनेगरेको सुनाउनुभयो । गोरखापत्र अनलाइन
धनगढी: नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता चयन गर्नका लागि आज निर्वाचन गरिदैंछ । सर्वसम्मतले दलको नेता चयन गर्न नसकिएपछि चुनाव हुन लागेको सो दलले जनाएको छ । दलका नेताका लागि सात जना आकाङ्क्षी रहनुभएको छ । संसदीय दलका नेताका लागि शिवराज भट्ट, कमलबहादुर शाह, प्रकाशबहादुर देउवा, दिवानसिंह विष्ट, बहादुरसिंह थापा, मेघराज खड्का र मानबहादुर रावलको दाबी छ । दलको नेता सर्वसम्मतले चयन गर्नकालागि मङ्गलबारसम्मको समय सीमा दिइएको थियो । तोकिएको समय सीमाभित्र संसदीय समितिले दलको नेता चयन गर्न नसकेपछि निर्वाचनबाट नेता चयन गर्न लागिएको प्रदेश सभा सदस्य प्रकाश बमले जानकारी दिनुभयो । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश दलको नेता एवम् संसदीय दल कार्यसमितिको निर्वाचन गराउन कांग्रेस प्रदेश उपसभापति लोकराज अवस्थीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । समितिले आज अपराह्न ४ देखि ५ बजेसम्म मतदान हुने कार्यपालिका प्रकाशन गरेको छ । प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको नेपाली कांग्रेसका १९ जना सदस्य हुनुहुन्छ ।