कामाडौं: उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले उपचारका क्रममा निधन भएका इलामका प्रेमप्रसाद आचार्यलाई बचाउन नसकेको भन्दै दुःख व्यक्त गरेका छन्। गृहमन्त्री लामिछानेले हिजोदेखिको निराशा र पीडा नै आत्मदाहको मुख्य कारण भएको बताएका छन्। बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स लेख्दै उनले ‘एउटा नागरिकले आत्मदाह गर्नुपर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र,भनेका छन्। एउटा नागरिकले आत्मदाह गर्नु पर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र। यस्तै परिस्थितिका कारण शान्त बिद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौ। मलाई थाहा छ,आत्मदाहको निर्णय हिजो देखिको निराशा र पीडाको परिणाम हो। दुःख त मलाई यसमा लागेको छ कि हामी जस्ता नयाँ हरुको आगमनले समेत तपाईमा उत्साह थप्न सकेन,आशा जगाउन सकेन,आत्मदाहको निर्णय फेर्न सकेन। यसमा हामी दोषी छौं,म दोषी छु। प्रेम आचार्य जी,नयाँ राजनीतिक दल र नेताको रुपमा तपाईंमा आशा जगाउन सकिनौं,हामीलाई माफ गर्नु होला। तपाईंको आत्माले चिर शान्ति पाओस् ,परिवारलाई यो पीडा सहने शक्ति मिलोस्,ुउनले लेखेका छन्। मंगलबार बेलुका संसद भवन अगाडि आचार्यले शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका थिए। घाइते भएका आचार्यलाई कीर्तिपुरस्थित वर्न अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा उनको आज बिहान निधन भएको हो।
पर्वत: पर्वतको आर्थिक तथा पर्यटकीय क्षेत्रको विकासका लागि आजदेखि सदरमुकाम कुश्मा बजारमा सातौँ महोत्सव सुरु हुँदै छ । यही माघ २१ गतेसम्म सञ्चालन हुने उक्त महोत्सवको तयारी पूरा भएको आयोजकले जनाएको छ । गण्डकी प्रदेशस्तरीय व्यापार मेला तथा सातौँ पर्वत महोत्सवको आज स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । गिरी पर्वतबाट सांसदमा निर्वाचित भएका हुन् । महोत्सवमा दुई सय ५० कक्षमध्ये अधिकांश बुकिङ भइसकेका छन् । महोत्सवमा रु पाँच करोडभन्दा बढीको कारोबार हुने अनुमान गरिएको उद्योग वाणिज्य सङ्घले जनाएको छ । महोत्सवमा विश्वकै अग्लो बञ्जीजम्प, जिपफ्लाइङ, कालीगण्डकी नदीमा र्याफटिङ, नेपालकै अग्ला र लामा झोलुङ्गे पुल, कुश्मा बलेवा यान्त्रिक पुल, गुप्तेश्वर र अलपेश्वर गुफाको अवलोकन, अल्लोको कपडा, लोक्ताको नेपाली कागज, सुन्तलाको जुस, मह, जडीबुटी, अदुवा र लप्सीका परिकारको प्रदर्शनी मुख्य आकर्षण छन् । महोत्सवमा गण्डकी प्रदेश पालिकास्तरीय भलिबलसमेत आयोजना गरिएको छ । विद्यालयस्तरीय लोकनृत्य, रत्यौली, भजन, छेलो, खुला दौड, तीर हान्ने प्रतियोगिता राष्ट्रिय खानाका परिकार, स्थानीय उत्पादनहरूको बिक्री तथा औद्योगिक प्रदर्शनी, शैक्षिक, कृषि र फोटो प्रदर्शनीसमेत गरिने भएको छ । त्यस्तै राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुति, उत्कृष्ट स्टललाई पुरस्कारको व्यवस्था पनि गरिएको शार्थिक संयोजक ठाकुरबी पौडेलले जानकारी दिए ।
रुपन्देही: लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य पदका लागि आज बुधबार उपनिर्वाचन हुँदैछ । रिक्त रहेको राष्ट्रिय सभा सदस्य पदमा उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ । नेकपा (एमाले) बाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त पदमा माघ २५ गते उपनिर्वाचन गर्न प्रदेश निर्वाचन कार्यालयले मिति तय गरे अनुसार आज ११ गते उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । एक वर्ष अवधि रहेको राष्ट्रिय सभा सदस्यका लागि नेपाली कांग्रेस र सत्तारुढ नेकपा (एमाले)ले उम्मेदवार सिफारिस गरिसकेका छन् । कांग्रेसले दाङका वीरकेशरी गौतम, रोल्पाका माधवप्रसाद आचार्य र बर्दियाका अरुणप्रकाश रठौरको नाम सिफारिस गरेको कांग्रेस नेता शंकर डाँगीले बताए । तीमध्ये एकजनालाई उम्मेदवार बनाउन सहमति भएको छ । एमालेले भने रोल्पाका कुमार दशौदीलाई उम्मेदवार बनाउने लुम्बिनी प्रदेश कमिटीका सचिव लक्ष्मण आचार्यले जानकारी दिए । दशौदी एमालेका केन्द्रीय सदस्य हुन् । नेकपा एमालेबाट उनको मात्रै नाम सिफारिस भएको छ । आज मनोनयन दर्तापछि माघ १२ गते उम्मेदवारको विरोधमा उजुरी दिने र माघ १३ र १४ गते मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरिने प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए । माघ १६ गते उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने तालिका रहेको छ । राष्ट्रिय सभा सदस्य छनोट गर्न प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुखले मतदान गर्नेछन् । लुम्बिनीमा प्रदेशसभा सदस्य र स्थानीय तह प्रमुख, उप्रमुख गरेर जम्मा ३०५ जना मतदाता छन् ।
स्याङ्जाः पोखरा–सुनौली जोड्ने सिद्धार्थ राजमार्गको स्तरोन्नति गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग विकास सहायता कार्यान्वयन महाशाखाको पहलमा परामर्शदाताको उपस्थितिमा स्याङ्जाका विभिन्न ठाउँमा आयोजना गरिएका सार्वजनिक सुनुवाइ कार्यक्रममा सरोकारवालाले राजमार्ग स्तरोन्नतिको माग गरेका हुन् । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पोखरा सडकखण्डको एक सय ५७ किलोमिटर सडक स्तरोन्नतिका लागि वर्षौँदेखि आवाज उठदै आएको छ । स्याङ्जाको गल्याङ, वालिङ, भिरकोट, पुतलीबजारलगायत ठाउँमा सार्वजनिक सुनुवाइ गरी सरोकारवालाको राय तथा सुझाव सङ्कलन गरिएको सडक विभागका प्रतिनिधि युवराज सत्यालले बताउनुभयो । बुटवलबाट पोखरासम्म सुझाव सङ्कलन गरिएको उहाँले बताउनुभयो । “सिद्धार्थ राजमार्ग धेरै पुरानो, साँघुरो र जीर्ण हुँदै गएको छ, यसको स्तरोन्नति गर्नुको विकल्प छैन”, वालिङ नगरप्रमुख कृष्ण खाँण बताउनुहुन्छ । स्याङ्जालीको भविष्यसँगै जोडिएको उक्त राजमार्गको स्तरोन्नति अति अत्यावश्यक भएको उहाँको भनाइ छ । “सडक छेउछाउका बासिन्दा पटक–पटक आतङ्कित भइरहनुभन्दा एकपटक दीर्घकालीन हुने गरी सडक विस्तार गर्नु उपयुक्त हुन्छ”, खाँणले भन्नुभयो । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई जोड्ने उक्त सडकको स्तरोन्नति जरुरी छ । सिद्धार्थ राजमार्गको दायाँबायाँ रहेका घरटहरा बचाऔँ सङ्घर्ष समितिका अध्यक्ष पिताम्बर श्रेष्ठ सडक स्तरोन्नति नगरिए यसको प्रयोगमा कमी आउने बताउनुहुन्छ । “वैकल्पिक मार्ग प्रयोग गर्ने बढ्दै छन्, त्यसैले यो सडक स्तरोन्नति आवश्यक छ”, उहाँले भन्नुभयो । सिद्धार्थ राजमार्ग सञ्चालनमा आएको ५२ वर्ष भए पनि अहिलेसम्म स्तरोन्नति हुन नसक्नु दुःखद् भएको उहाँको भनाइ छ । सडकका घुम्ती काट्दा र चौडा बनाउँदा हालको सडकको लम्बाई करिब ३२ किलोमिटर कम हुने दाबी गरिएको छ । घुमाउँरो र साँघुरो भएकै कारण दुर्घटना बढी हुने गरेको पाइएको छ । सिद्धार्थ राजमार्ग स्तरोन्नति गरी बाह्रैमास सञ्चालन गर्न सकिने बनाउने योजना छ । भारतसँग जोड्ने व्यापारिक मार्गका रूपमा रहेको उक्त राजमार्गको सबैभन्दा बढी ६७ किलोमिटर क्षेत्र स्याङ्जामा पर्छ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेश जोड्ने तथा तराईलाई पहाडसँग जोड्ने मुख्य सडकको रूपमा यो राजमार्ग रहेको छ । हाल यो सडक ६ दशमलव ८ देखि ७ मिटर चौडा छ । अब स्तरोन्नति हुने सडक कुल १० मिटर चौडाइको हुने छ । स्याङ्जा अन्तर्गतको क्षेत्रमा ३७ पुल निर्माण गरिने छन् । विस्तारित सडकखण्डमा ४७ हेक्टर वन क्षेत्र पर्ट । यसमा ४३ सामुदायिक वन र एक धार्मिक वन रहेको बताइएको छ । सडक विस्तारका क्रममा दुई हजार आठ सय ८६ रुख कटान गर्नुपर्ने देखिएको छ ।
काठमाडौं: संघीय संसद भवनअगाडि मंगलबार दिउँसो आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा आचार्यको बुधबार बिहान ५:०० बजे निधन भएको डा। किरण नकर्मीले जानकारी दिनुभयो । डा. नकर्मीले भन्नुभयो, ‘‘उहाँलाई बचाउन सकिएन । उहाँको ८०प्रतिशत भाग जलेको थियो । उपचारको क्रममा आज बिहान मृत्यु भयो ।’’ नयाँ बानेश्वरमा आफ्नै शरीरमा आगो सल्काएर आचार्यले आत्मदाहको प्रयास गरेका थिए । शरिरमा आफै आगो लगाएका आचार्यलाई उपचारको लागि मंगलबार नै बर्न अस्पताल लगिएको थियो । आचार्यको स्वास्थ अवस्था बुझ्न स्वास्थ्य राज्यमन्त्री डा। तोषिमा कार्की समेत मंगलबार कीर्तिपुर अस्पतालमा पुग्नुभएको थियो ।
स्याङ्जाः फुटबल सञ्चालन भइरहेको अनुमति विना नै हेलिकप्टर अवतरण गर्ने प्रभु हेलिकप्टरका पाइलन रनेश डंगोल निलम्बित भएका छन् । स्याङ्जाको वालिङस्थित खेल मैदानमा हेलिकप्टर अवतरण गर्ने प्रभु हेलिकप्टरका पाइलट डंगोललाई नागरिक उड्डयन प्राधिकरणले निलम्बित गरेको छ। माघ ५ गते वालिङस्थित खेल मैदानमा खेल भइरहेकै अवस्थामा बिनाअनुमति हेलिकप्टर अवतरण गरेको ठहर गर्दै पाइलट डंगोललाई कारबाही गरिएको प्रधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए। ‘अहिलेलाई पाइलटलाई ग्राउन्डेड गरिएको हो। कति समयलाई भन्ने अहिले तोकिएको छैन। अर्को व्यवस्था नभइञ्जेललाई हो,’ निरौलाले भने, ‘अब पाइलटलाई सोधपुछ र छानबिन गरेपछि के गर्ने भन्नेबारे अर्को सूचना जारी गर्छौं।’ उनले अहिले पाइलट डंगोल घाइते भएपछि आराम गरिरहेको हुँदा ठिक भएपछि अनुसन्धानको काम सुरू गर्ने जनाए। डंगोल उक्त घटनामा स्थानीयको कुटाइबाट घाइते भएका थिए । पाइलट डंगोलमाथि कुटपिटमा संलग्न ६ जनालाई स्याङ्जा प्रहरीले पक्राउ गरेको छ। माघ ५ गते दिउँसो साढे २ बजेतिर प्रभुको हेलिकप्टरमा पाइलट डंगोल तीन जना यात्रु लिएर पोखराबाट वालिङका लागि उडेका थिए। सोही क्रममा हेलिकप्टर वालिङस्थित खेल मैदानमा खेल भइरहेकै अवस्थामा अवतरण गरेको थियो। पछि अनुसन्धानको क्रममा हेलिकप्टर कुनै अनुमतिबिना अवतरण गरिएको पाइएपछि प्राधिकरणले कारबाही प्रक्रिया अगाडि बढाएको थियो।
काठमाडौं: काठमाडौंको बालाजुस्थित रसुवा गंगाजल गेष्ट हाउसमा सेनाको जवान मृत अवस्थामा भेटिएका छन् । नेपाली सेनामा कार्यरत २५ वर्षीय विनय कार्की रसुवा गंगाजल गेष्ट हाउसमा झुण्डिएको अवस्थामा भेटिएको काठमाडौं प्रहरी परिसरका एसपी दिनेराज मैनाली बताए । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको एसपी मैनालीले बताए ।
बाजुरा: मंगलबार गएको भूकम्पका कारण बाजुरामा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गौमुल गाउँपालिका–२ की जमुना रोकाया रहेकी छन्। घाँस काट्न गएकी उनको भूकम्पपछि आएको ढुंगा लागेर मृत्यु भएको हो। यसैगरी जिल्लाको गौमुल गाउँपालिका(१ का रामदल बोहोरा घाइते भएका छन्। भूकम्पले घर भत्किँदा उनको टाउको, हात र खुट्टामा चोट लागेको छ। घाइते बोहोराको स्वास्थ्य चौकीमा उपचार भइरहेको स्थानीय सुभाष रोकायाले बताए। यसैगरी बझाङको जयपृथ्वी नगरपालिका(११ भोपुरमा पनि एक वृद्धा घाइते भएका छन्। बाजुरा केन्द्रविन्दु भएर ५।९ म्याग्नेच्युडको भूकम्प गएको हो। दिउँसो २ बजेर ४३ मिनेट भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
जुम्ला: जुम्लासहित कर्णालीका हिमाली जिल्लामा भारी हिमपातका कारण हवाई सेवा प्रभावित बनेको छ । सोमबार रातिदेखि जुम्ला मुगु, हुम्ला र डोल्पामा हिमपात भएपछि नेपालगञ्ज सुर्खेतदेखि उडान भर्ने सीता, समिट, तारा, नेपाल एयरलाइन्ट लगायत हवाई सेवा अवरुद्ध भएको नागरिक उडान प्राधिकरण जुम्लाका प्रमुख सन्तोष अधिकारीले बताए। एक्कासि हिमपात भइ हवाई सेवा बन्द हुँदा जिल्लादेखि तराई झर्ने सुर्खेत नेपालगञ्जबाट माथि जिल्लातिर जाने यात्रुहरु अलपत्र परेका छन् । जुम्लाको विमानस्थलमा एक फिटभन्दा बढी हिउँ जमेको छ अझै पर्ने क्रम जारी छ । उनले मंगलबार सुर्खेत नेपालगञ्जदेखि कुनै पनि हवाई उडान नभएको जनाए ।