पोखरा: कास्कीको मादी गाउँपालिका–६ का स्थानीय बामदेव बरालका १९ वर्षीय विजय बराल करेन्ट लागेर गम्घिर घाइते भएका छन् ।  शनिबार बिहान करिव १०ः५० बजेको समयमा बारीमा मकैको ढोडको भारी बोक्दा सुुप...

बारा:  तराईमा शीतलहरूसँगै अत्यधिक चिसो बढेपछि बारा, पर्सा र रौतहटलगायतका जिल्लामा अधिकांश सामुदायिक तथा निजी विद्यालयमा बिदा दिइएको छ ।  चिसो बढेपछि विद्यालयको पठनपाठन प्रभावित हुन थालेको तथा बालबालिकाको स्वास्थ्यमा समस्या देखिन थालेपछि विभिन्न जिल्लाका पालिकाहरूले सूचना प्रकाशित गर्दै हाललाई पठनपाठन बन्द गरिएको जनाएका छन् ।  यता चिसोको बिदालाई एउटा सामुदायिक विद्यालयले बिद्यार्थीहरुको जिउ, ज्यानको डर नमानी चार दिनको बिदालाई सदुपयोग गर्दै (टुर) भ्रमणमा निस्केका छन् । तराईका जिल्ला भन्दा पहाडमा गर्मीको महसुश हुने गरेको भ्रमणमा गएका कलैया उपमहानगरपालिका–१३ स्थित रहेका नेपाल राष्ट्रिय आधारभूत विद्यालय बलिरामपुरका प्रधानाध्यापक अवधकिशोर गिरीले बताउनुभयो । यातायात, बास, खाना, खाजा बापत प्रति विद्यार्थी एक हजार ५ सय रकम उठाउँदा ८४ हजार भएको र बाँकी रकम करिब ८० हजार विद्यालयबाट खर्चमा व्योहोरिने छ । कक्षा ७ र ८ का ५६ जना छात्रछात्रा तथा ८ जना शिक्षक र अन्य सहयोगी गरी ६८ जना एउटै बसमा सवार भई चार दिनको बिदामा पोखरा, मनकामना, सौराहा, देवघाटलगायतका ठाउँमा भ्रमणमा निस्केको उहाँले जानकारी दिनुभयो । कठ्याग्रिदो चिसोबाट बाँच्न बिना काम घर बाहिर ननिस्कन चिकित्सक तथा मौसम विभागले पटक पटक आग्रह गरे पनि त्यसको प्रवाह नगरी प्रधानाध्यापक गिरीले बिद्यार्थीहरुलाई उचालेर भ्रमणमा गएको कार्य अहिले उचित नभएको वडा अध्यक्ष राजेश महथा खत्रीले बताउनुभयो । एउटै गाडीमा सिट सङ्ख्या भन्दा दोब्बर सवार भई चिसोमा किन भ्रमण गएको कुरा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लोरिक यादव र प्रधानाध्यापक गिरीले जवाफ दिने हो, वडाध्यक्ष खत्रीले बताउनुभयो ।   कलैया उपमहानगरपालिकामा ७२ वटा सामुदायिक तथा ३४ वटा निजी विद्यालयमा समेत जाडो बिदा दिइएको छ । जाडोमा के, कसले के गरी रहेको बारेमा अभिभावकहरूले पनि जानी राख्नु विषय रहेको छ । सबैको जिम्मेवारी मैले एक्लै गरेर पनि सम्भव हुन नसक्ने कुरा रहेको शिक्षा शाखा संयोजक प्रह्लाद वर्णवालले भन्नुभयो । चिसो बिदामा बालबालिकालाई केही नहोस् भनी बिदा गरिएको छ, कोठा वा घरभित्र पठनपाठनमा समस्या सिर्जना हुने, तर, खुल्ला आकाश मुनी टुर, भ्रमण गर्न बच्चालाई पैसा दिने र घुम्दा केही नहुने यस्ता गैर जिम्मेवारी पूर्ण कार्यमा अभिभावकहरूले सहयोग गर्ने गरेका उहाँले बताउनुभयो ।  भ्रमणको जानकारी मलाई थाहा नभएको तथा जानकारी आएमा मैले स्वीकृत नगर्ने थिए । अब, कसरी सो विद्यालयका प्रधानाध्यापक गिरीले साना साना बालबालिकालाई पहाडको भ्रमण गर्न निस्केका हुन, उसैले जवाफ दिने हो, हुन त, निजी विद्यालयहरूले पनि पालिका प्रमुखको केही कमीकमजोरीका कारण पालिकाको आदेश अटेर गर्दै आएका शिक्षा संयोजक वर्णवालले भन्नुभयो । 

काठमाडौं:   नेकपा एमालेले नवनिर्वाचित सांसदहरुलाई आजदेखि प्रशिक्षण दिने भएको छ । शनिबार दिउँसो संघीय संसद भवनको ल्होत्से हलमा दिउँसो १ बजे एमालेका नवनिर्वाचित सांसदहरुलाई प्रशिक्षण दिने संसदीय विभाग प्रमुख डा.शिवमाया तुम्बाहाङफेले जानकारी दिइन्। एमालेले नेपालमा संसदीय प्रक्रिया तथा कानुन तर्जुमा विषायक अभिमुखिकरण सञ्चालन गर्न लागेको हो। उनका अनुसार पार्टी अध्यक्ष एवम् संसदीय दलका नेता केपी शर्मा ओलीले निर्देशनात्मक प्रशिक्षण एवम् सम्बोधन गर्नेछन्।  एमालेमा प्रत्यक्ष चुनावबाट ४४ जना र समानुपातिकबाट ३४ जना गरी ७८ जना प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए। एक जना स्वतन्त्र सांसद एमालेमा प्रवेश गरेपछि ७९ जना पुगेका छन्। 

वालिङ:  विगत तीन दशक स–साना बालबालिकासँगै रमाउँदै आउनुभएकी तारा अर्यालको अहिले दैनिकी फेरिएको छ । बालबालिकाको सुनौलो भविष्यको मार्गचित्र कोर्नमा समय खर्चिदै आउनुभएकी तारा अर्याल अहिले भने सुन्तलाको हेरविचारमा तल्लिन हुनुहुन्छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–११ मायाटारीकी ६६ वर्षीया अर्यालले गाउँको नजिकै पोखरीचौरमा रहेको महेन्द्र देववाणी आधारभूत विद्यालयमा शिक्षिकाको रुपमा २९ वर्ष सेवा गर्नुभयो । शिक्षण पेसाबाट अवकाश हुनुभएकी अर्यालको अहिलेको दैनिकी सुन्तला बगैँचामै बित्ने गरेको छ । विद्यालयमा जसरी बालबालिकालाई माया गरेर शिक्षा दिइयो त्यसरी नै सुन्तलाका बोटलाई स्याहारसुसार नियमित गरेकै कारण पनि आम्दानीको मुख्य स्रोतको रुपमा सुन्तला भएको उहाँ बताउनुहुन्छ । घरको आँगन, डिल तथा आसपासका बारी तथा कान्लामा सुन्तला लटरम्म फलेका छन् । घर वरिपरि रहेको सुन्तला बगैँचा पहेँलपुर छ । झट्ट हेर्दा जोकोही पनि मन आनन्दित र प्रफुल्लित हुने गर्छ । विगत वर्षको तुलनामा यस वर्ष सुन्तला अत्यधिक फलेकाले पनि बोटले फल धान्न नसकेर हाँगा लाछिएका छन् । केही बोटलाई एक दुई वटा टेका दिइएको छ । सुन्तला पाक्न थालेसँगै बर्सेनि यहाँ व्यापारी बगैँचा नै ठेक्का लिन आउने गरेका छन् । यस वर्ष पनि उहाँले ठेक्कामार्फत रु चार लाखको सुन्तला बिक्री गरिसक्नुभएको छ । बाँकी सुन्तला अहिले बोटबाट नै फुटकररुपमा बिक्री भइरहेको छ । पुतलीबजारको जैँसीडाँडामा शीतभण्डार सञ्चालनमा आएसँगै यहाँका सुन्तला उत्पादक किसानले सुन्तला भण्डारण गर्ने गरेका छन् । अहिले प्रतिकेजी रु ९० देखि सयमा बिक्री हुँदै आएको सुन्तलाको मूल्य बढी पार्न शीतभण्डारमा राख्ने चलन बढ्दै गएको छ । अर्यालको सुन्तला बगैँचामा उत्पादन भएको सुन्तला स्थानीय बजारसहित पोखरा, काठमाडौँ, बुटवललगायतका बजारमा बिक्री हुँदै आएको छ । सुन्तलाको मूल्य बढी पार्न अहिले शीतभण्डारमा सुन्तला उहाँले राखिसक्नुभएको छ । “अहिले फुटकरमा प्रतिकेजी रु ९० देखि सयमा सुन्तला बिक्री हुन्छ”, उहाँले भन्नुभयो, “दुई महिनापछि शीतभण्डारबाट झिकेर सुन्तला बिक्री गर्दा प्रतिकेजी झण्डै रु दुई सय पर्छ ।” सुरुका वर्षमा सुन्तलाका बोट नै कम भएकाले उत्पादन थोरै भयो । आम्दानी पनि थोरै भयो । केही वर्षदेखि निरन्तर सुन्तला बिक्रीबाट रु २५ लाख आम्दानी हुँदै आएको अर्याल दाबी गर्नुहुन्छ । सुन्तलाका नयाँ बोट थपिएकाले आगामी वर्षबाट उत्पादन बढ्नेछ । अनि आम्दानी पनि स्वभाविक बढ्ने विश्वासमा उहाँ हुनुहुन्छ । विसं २०४२ मा दुई सुन्तलाका बोट रोपेको सम्झना उहाँलाई छ । परीक्षणका लागि रोपेका बोटले केही वर्षपछि राम्रो उत्पादन दिन सुरु गरेपछि उहाँ व्यावसायिकरुपमा अगाडि बढ्नुभयो । “सुरुमा रोपेका दुई वटा बोटबाट राम्रो उत्पादन भएपछि सुन्तलाको सम्भावना देखेर बर्सेनि बोट थप्दै सुन्तला बगैँचा विस्तार गर्दै गएँ”, उहाँले भन्नुभयो, “अहिले सुन्तला बगैँचामा दुई हजार बढी सुन्तलाका बोट छन् जसमध्ये आधा बोटमा सुन्तला फलिरहेका छन् । आधा बोट नयाँ छन् ।” अर्यालले अझै दुई सय नयाँ बोट लगाउन तयारी गर्नुभएको छ । कूल ३६ रोपनी क्षेत्रफलमा अहिले सुन्तला बगैँचा फैलिएको छ ।

काठमाडौँ:  नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । दिउँसो १ बजे सिंहदरबारमा संसदीय दलको बैठक बोलाइएको सांसद सन्तोष चालिसेले जानकारी दिए ।  दलको बैठकमा प्रतिनिधि सभाको पहिलो बैठकमा कसरी प्रस्तुत हुने, संसदमा प्रधानमन्त्रीलाई विश्वासको मतको कार्यक्रममा कांग्रेसले खेल्ने भूमिका लगायतबारेमा छलफलका लागि बैठक बोलाइएको सांसद चालिसेले जानकारी दिए ।  यही पुस २५ गते प्रतिनिधि सभाको पहिलो बैठक बस्दैछ भने पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा विश्वासको मत लिने कार्यक्रम रहेको छ ।  

धनगढी:   कैलालीमा कपडा पसलमा आगलागी हुँदा ६० लाख बराबरको क्षति भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका–१९ को पच्चीस घर बजारमा स्थानीय लक्ष्मण चौधरीले सञ्चालन गरेको स्पर्ष सपिङ सेन्टरमा आगलागी हुँदा ६० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० वेदप्रकाश जोशीले शनिबार राति २ बजे चौधरीले सञ्चालन गरेको कपडा पसलमा आगलागी हुँदा दुई वटा कोठा, पसलमा रहेका लत्ता, कपडासहितका सामान जलेर नष्ट भएको बताए । इलाका प्रहरी कार्यालय बहुलियाका प्रहरी वरिष्ठ नायब निरीक्षक रमेशबहादुर शाहीको नेतृत्वको टोली, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको जोशीले बताए । आगलागीको कारण नखुलेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बागलुङ:  बागलुङको गलकोट नगरपालिका–३, हटियाको समपोखरामा रहेको समपोखरा ताल सुन्दर छ तर यहाँ दर्शक आकर्षित छैनन्।  हटिया बजारदेखि करिब सात किलोमिटरमाथिको समथर ठाउँ समपोखरामा रहेको ताल प्रचारप्रसार र संरक्षणको अभाव छ। यस क्षेत्रमा पानीका मुहानको प्रमुख स्रोत समपोखरा ताल हो। पर्यापर्यटन र आन्तरिक तथा बाह्य पर्यटकीय महत्व बोकेको तालको संरक्षण तथा प्रचारप्रसार हुन सकेको छैन। संरक्षण गर्न नसक्दा ताल पुरिएर विगतको क्षेत्रफल घट्दै जान थालेको स्थानीय जयबहादुर दर्जीले बताउनुभयो। ताल ५० मिटर लम्बाइ र १५ मिटर चौडाइ क्षेत्रमा फैलिएको छ। विगतमा उक्त ताल अझै ठूलो क्षेत्रमा फैलिएको थियो। बर्खाको भेलले ल्याउने माटो ढुङ्गाले तालको गहिराइ पनि पुरिएको दर्जीले बताउनुभयो।  उहाँले भन्नुभयो, “पहिले–पहिले तालले एक मान्छे डुब्याउँथ्यो, अहिले भल जति सबै यसमा पर्दा कम्मरसम्म पानी आउँछ।” समपोखरा ताल तल्लो बस्तीका लागि पानी मूलको रिचार्ज सेन्टर (पुनर्भरण केन्द्र) हो। तालमा पानी कम हुँदा ताल तल रहेका पानीका मूल सुक्ने तथा पानी कम आउने गरेको स्थानीय सन्तबहादुर खत्रीको भनाइ छ। ताल समुद्री सतहदेखि दुई हजार मिटरको उचाइमा छ। समपोखरा वरपरको जङ्गलमा रहेका चराचुरुङ्गीले प्यास मेट्ने प्रमुख थलो हो। गलकोट मन्दिरदेखि दुई किलोमिटरको दूरीमा रहेको ताल पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण भएको गलकोट नगरपालिका–३ का वडाध्यक्ष फमबहादुर खत्रीले बताउनुभयो।  तालको मौलिकता नमासिने तथा मूलमा क्षति नपुग्ने गरी त्यसको क्षेत्रफल वृद्धि तथा संरक्षणका लागि आवश्यक संरचना तयारको योजना बनाएको वडाध्यक्ष खत्रीले जानकारी दिनुभयो। उक्त तालमा पानीको स्रोत तालभित्रैकै मूल हुन्। “यो प्रकृतिको अनुपन उपहार हो,” वडाध्यक्ष खत्रीले भन्नुभयो, “कृत्रिम तालमा रमाउने पर्यटकलाई प्राकृतिक ताल देखाउने योजना छ। राज्यले प्राकृतिक सम्पदाको संरक्षण र विकासमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ।  यस क्षेत्रमा माओवादी सशस्त्र द्वन्द्व सुरु हुनुपूर्व चैतेदशैँमा ठूलो मेला लाग्ने गरेको थियो। द्वन्द्वको समयमा रोकिएको मेला अहिलेसम्म सुरु गर्न नसकिएको खत्रीले बताउनुहुन्छ। समपोखरा ताल पर्यटन गन्तव्य क्षेत्र बन्ने प्रचुर सम्भावना छ। परापूर्वकालमा यस क्षेत्रमा देवीदेवताको आश्रयस्थल रहेको स्थानीय बताउँछन्।

गलकोट: भिरालो जमिन खारेर बनाइएको चौरको छेउमा काठले बारेको तीन कोठ अस्थायी टहरा । टहराको एउटा  कोठामा कार्यालय र अर्का दुई कोठामा पठनपाठन । अन्य तीन कक्षा खुला आकाशमुनि । विद्यालयको प्राङ्गणमा कार्पेटमाथि चलिरहेको पठनपाठनको दृश्य बागलुङको जैमिनी नगरपालिकाभित्रको हो । दृश्यमा देखिएको जैमिनी नगरपालिका–१० राङ्खानी किटेनीस्थित जनता प्राथमिक विद्यालयका विद्यार्थीले घाम ताप्नका लागि प्राङ्गणमा पठनपाठन गराइएको भने हैन । कक्षाकोठा अभावका कारण जनता प्राथमिक विद्यालयका विद्यार्थीले खुला आकाशमुनि पठनपाठन गर्न बाध्य छन् । बाढी पहिरोका कारण केही पर काफ्ले भन्ने स्थानमा रहेको विद्यालय भवन भत्किएपछि दुई वर्षअघि सार्वजनिक चौरमा विद्यालय सारिएको थियो । दुई वर्षदेखि अस्थायी छाप्रोमा समस्याका बीच पठनपाठन भइरहेको विद्यालयको केही कक्षा खुला आकाशमुनि पठनपाठन भइरहेको विद्यालयका प्रधानाध्यापक कृष्णकुमारी श्रीसले जानकारी दिनुभयो ।  “तीन वर्षअघि भिरालो जग्गामा भएको विद्यालय पहिरोको जोखिममा पर्यो, विद्यालयको चार कोठे भवन भासिएर पढाउनै सकिएन, पहिरोको समस्याले दुई वर्षदेखि विद्यालय नजिकैको सार्वजनिक चौरमा अस्थायी छाप्रोसहित पठनपाठन गर्न थालिएको हो, साघुँरा टिनको छाप्रोमा पढाउन निकै समस्या छ”, प्रधानाध्यापक श्रीषले भन्नुभयो, “अहिले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत दुई कोठे विद्यालय भवन बनाउन अस्थायी छाप्रोको केही भाग हटाएपछि तीन वटा कक्षाका विद्यार्थीलाई प्राङ्गणमै पठनपाठन गराइन्छ । दुई वटा कक्षाका विद्यार्थीलाई अस्थायी टहरामै पठनपाठन गराइन्छ ।” विद्यालयमा १ देखि ५ कक्षासम्म ३१ विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा कक्षाकोठाको अभाव भएकाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत तत्कालका लागि दुई वटा पक्की कक्षा कोठा बनाइने र अर्को वर्ष थप दुई कक्षा कोठा माग गरिएको छ । कक्षाकोठा बन्न समय लाग्ने भएपछि अझै एक वर्ष विद्यालयमा विद्यार्थीलाई पठनपाठन गराउन समस्या भइरहने विद्यालयल व्यवस्थापन समितिका अध्यक्ष पदम छन्त्यालले बताउनुभयो । “यो वर्ष दुई वटा कक्षा कोठा निर्माण हुन्छन्, थोरै विद्यार्थी भएकाले कक्षाकोठालाई बाँडेर पढाउन सकिन्छ तर त्यो असारसम्म बनिसक्नेछ । त्यसबेलासम्म पुन अस्थायी छाप्रोमा विद्यार्थीलाई राखिन्छ”, छन्त्यालले भन्नुभयो “विद्यार्थीलाई खुला आकाशमुनि पढाउनु हाम्रो रहर हैन, तत्कालै अस्थायी छाप्रो सार्नका लागि प्राङ्गणमा पढाइएको हो, पक्की भवन बन्ने स्थान खाली भएपछि अस्थायी छाप्रो अन्यत्रै बनाइन्छ ।” छन्त्यालका अनुसार विद्यालयको भौतिक अवस्था नाजुक हुँदै गएपछि विद्यार्थीको सङ्ख्यामा समेत क्रमशः कमी हुँदै आएको छ । विद्यालयमा पक्की शौचालय निर्माण भइसकेको र शुद्ध खानेपानीको व्यवस्थापन भइसकेको छ ।  जाडो याममा प्राङ्ग्रणमा घाम ताप्दै पठनपाठन गराउन सहज भए पनि बर्खाको समयमा समस्या भएको विद्यालयका शिक्षक थम्मन श्रीषले बताउनुभयो । ठूलो पानी पर्दा अस्थायी टहरामै पानी पस्ने हुँदा पठनपाठन प्रभावित हुने गरेको छ । संयुक्त कक्षा सञ्चालन गर्न विद्यालय बाध्य भएको शिक्षक श्रीसले बताउनुभयो । विद्यालयको समस्या समाधानका लागि पक्की भवन निर्माण गर्न राष्ट्रपति शैक्षिक सुधारमार्फत बजेट आएर काम थाल्न लागिएको बताउँदै जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्माले भवन बनेपछि कक्षा कोठाको अभाव टर्ने बताउनुभयो । 

पाल्पा:  छ जना निर्दोष यात्रुको ज्यान जाने गरी भएको दुर्घटनामा चालकले गम्भीर लापरबाही गरेको पुष्टि भएको छ । चालकले मदिरा सेवन गरेर जबरजस्ती बस चलाउँदा छ जना यात्रुको ज्यान गएको पुष्टि भएको हो ।  बिहीबार राति १० बजेतिर रुपन्देहीको सालझण्डीदेखि पाल्पाको सत्यवतीतर्फ आउँदै गरेको ग १ ख ४९७७ नम्बरको बस रैनदेवी छहरा–८, खुर्सानेमा दुर्घटना भएको थियो । दुर्घटनामा एकै गाउँका छ जनाको ज्यान गयो भने १८ जना घाइते भएका थिए । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । दुर्घटनापछि सिङ्गो खुर्साने गाउँ शोकमा डुबेको छ ।  दुर्घटनामा परेको बसको चालकले मदिरा (रक्सी) सेवन गरेर बस गुडाएको घाइते यात्रुको भनाई छ । चालक तथा सवारी धनीले मादक पदार्थ सेवन गरेर झगडा समेत गरेका थिए । उक्त सडक खण्डको टारीमा डेढ घण्टा बस रोकेर मादक पदार्थ सेवन गरेको स्थानीय बासिन्दाको भनाई छ । ‘पहिले नै सवारी धनीले मादक पदार्थ सेवन गरेर आएका थिए, टारीमा पनि ड्राइभर बसबाट झरेर मादक पदार्थ सेवन गरेको एक जना प्रत्यक्षदर्शीले भन्नुभयो ।’  दुर्घटना हुनुभन्दा पाँच मिनेटअघि पनि चालकले ढिकमा बस चढाएपछि यात्रुले बस रोक्न अनुरोध गरेका थिए । तर चालकले जबरजस्ती गरेर बस गुडाएको केही समयमै बस दुर्घटनामा परेको घाइते लीला गाहाले बताउनुभयो । दुर्घटना हुनुभन्दा पाँच मिनेटअघि बस ढिकमा चढेपछि महिला यात्रुहरूले चालकलाई हामी हिडेर जान्छौँ, बस रोक्नुस् भनेका गाहाले बताउनुभयो ।  दुर्घटनाको विषयमा चालकले भने स्टेरिङमा आएको गडबडीका कारण दुर्घटना भएको प्रहरीलाई बताउने गरेका छन् । मदिरा सेवन गरेर बस हाँक्ने चालक समेत घाइते अवस्थामा उपचाररत छन् । बस दुर्घटनाको कारणबारे रैनदेवी छहरा–८ का वडा अध्यक्ष रेमबहादुर रानाले चालकले मादक पदार्थ सेवन गरेको बताउनुभयो । चालकले मदिरा सेवन गरेर बस चलाएको यात्रुले गुनासो गरेको वडाध्यक्ष रानाले बताउनुभयो । दुर्घटना हुने कल्पना नगरेको स्थानमा  बस दुर्घटनामा परेको उहाँले बताउनुभयो ।  मदिरा सेवन गरेर जबरजस्ती सवारीसाधन गुडाउनमा सवारी धनीको समेत हात रहेको घाइते यात्रुको आरोप छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले पनि चालकको स्वास्थ्य परीक्षणबाट मदिरा सेवन गरेको पुष्टि भएको जनाएको छ । ‘बसका चालकले  मदिरा सेवन गरेर सवारीसाधन चलाएको रिपोर्ट प्राप्त भएको छ प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले भन्नुभयो ।’

भरतपुर:  नेपालमा आजदेखि चरा गणना सुरु भएको छ । राष्ट्रिय निकुञ्ज विभागको नेतृत्वमा हिमालयन नेचरले सबै राष्ट्रिय निकुञ्ज, सिमसार क्षेत्र र जलाशयमा चरा गणना गर्न सुरु गरेको हो । गणनामा ३५० जना चरा विज्ञ र संरक्षणकर्मीको सहभागिता रहेको चरा गणनाका राष्ट्रिय संयोजक डा. हेमसागर बरालले जानकारी दिए । उनका अनुसार तीन हप्ता चरा गणनाको काम हुनेछ । गणनाको क्षेत्र विस्तार हुँदै जाँदा पनि चराको सङ्ख्या बर्सेनि घट्दै जानु चिन्ताको विषय भएको उनले बताए । चराको गुणस्तर बासस्थानको अभाव, बासस्थान क्षेत्रमा भइरहेका विकास निर्माण, खेती बालीमा बढ्दो विषादीको प्रयोग र मानवीय क्रियाकलापले चराको सङ्ख्या बर्सेनि घट्दै गएको उनको भनाइ छ । हरेक क्षेत्रमा जस्तै जलवायु परिवर्तनको प्रभाव पनि चराको बासस्थानमा परेको डा बरालले बताए । चितवनमा भने भोलिदेखि चरा गणना सुरु हुने वर्ड एजुकेशन सोसाइटी सौराहाका पूर्वअध्यक्ष वासु बिडारीले जानकारी दिए । पूर्वी चितवनमा वर्ड एजुकेशन सोसाइटी सौराहाको नेतृत्वमा र पश्चिम चितवनमा वर्ड एजुकेशन सोसाइटी मेघौलीको नेतृत्वमा चरा गणना हुनेछ । पश्चिम सेक्टर अन्तर्गत लोथर पुलदेखि कसरा पुलसम्म चराको गणना हुनेछ । जसमा चराको मुख्य बासस्थान रहेको ढुङ्ग्री खोला, बूढीराप्ती खोला, लामी ताल, तमोर ताल, बरुण ताल, बिसहजारी ताल र राइनो तालमा चराको गणना गरिनेछ । यस्तै चितवन राष्ट्रिय निकुञ्जको नवलपुर क्षेत्रमा छुट्टै समूहमार्फत चरा गणना गरिनेछ । नेपालमा पछिल्लो तथ्याङ्कअनुसार आठ सय ९२ प्रजातिका चरा छन् । जसमा दुई सय चरा पानीमा आश्रित छन् । चितवनमा मात्रै छ सय ५२ प्रजातिका चरा छन् ।