म्याग्दी: गाउँघरमा हिजोआज नौमती बाजा लोप हुँदै जान थालेकाले सरोकारवालाहरूलाई चिन्तित तुल्याएको छ। अहिले धार्मिक कार्य र सभा समारोहमा नौमती बाजा बिरलै देख्न सकिन्छ। पाका पुस्तामा लोकप्रिय नौमती बाजा बजाउने कला तन्नेरी पुस्ताले सिको नगर्दा कला लोप हुन थालेको छ। प्रायःजसो पुरुषले मात्र बजाउने नौमती बाजा अहिले महिलाले पनि बजाउन थालेपछि बाजाको महत्व बढेको छ। बेनी नगरपालिका–४ स्थित राक्सेका आमाहरूले बजाउने नौमती बाजा गाउँघरमा लोकप्रिय हुन थालेको छ। सो समूहका महिला नौमती बाजाका वाद्यवादन कर्नाल, सहनाई, नरसिङ्गा, झ्याली, मादल, दमाहा, ट्याम्को, ढोलकी सबै आफैँले बोक्छन्, आफैँले बजाउँछन्। यो समूहमा २५ देखि ५५ वर्षसम्मका महिला आबद्ध छन्। गाउँघरमा हुने विवाह, व्रतबन्धलगायतका कार्यमा उनै आमाहरू वाद्यवादनका सामग्री बोकेर पुग्छन्। विवाह, व्रतबन्ध, धार्मिक कार्य र विभिन्न सभा समारोहमा प्रयोग गरिने नौमती बाजाको संरक्षणमा यहाँका आमाहरू जुट्न थालेका छन्। परम्परागत नौमती बाजा संरक्षणका साथै आमाहरूले राम्रो आम्दानीको स्रोत पनि बन्न थालेको छ। नौमती बाजा बजाउन तीन वर्षअघि एक महिनाको तालिम लिएपछि आमाहरूले नौमती बाजा बजाउन पोख्त भएका हुन्। आमाहरूले नौमती बाजा संरक्षणका लागि नवजागरण आमा समूह गठन गरेका छन्। समाजमा हुने विवाह, व्रतबन्ध तथा धार्मिक कार्य र बेनीमा आयोजना हुने विभिन्न कार्यक्रममा आमाहरूको नौमती बाजा नै पहिलो प्राथमिकतामा पर्छ। “सुरु–सुरुमा कर्नाल फुक्न कठिन थियो,” नौमती बाजा समूहकी माया शर्माले भन्नुभयो, “अहिले त राम्रोसँग कर्नाल फुक्न सक्ने भएकी छु। कर्नल फुक्न थालेपछि आजभोलि गाउँघरमा कर्नाले आमाको पहिचान बनेको छ।” विष्णु रसाइलीले नरसिङ्गा बजाउनुहुन्छ भने रुक्सना रुचाल ट्याम्को बजाउन सिपालु हुनुहुन्छ। “बजाउँदा बजाउँदै अहिले त सिपालु भएको छु,” ट्याम्को बजाउने रुक्सनाले भन्नुभयो, “बाजामा नाच्नेहरूले लामो ताल लगाउँदा अलि कठिन हुन्छ। छोटो–छोटो तालमा त सजिलै बजाउन सक्ने भएकी छु।” “नौमती बाजा हाम्रो परम्परागत कला र संस्कृति हो, यसको संरक्षणमा पुरुषले चासो नदेखाएपछि हामी महिला जुटेका हौँ,” विष्णु रसाइलीले भन्नुभयो, “सिजनका समयमा भ्याइनभ्याइ हुन्छ। सबैतिरबाट माग आउने गर्छ।” तीन वर्षअघि वडा कार्यालयले आमाहरूलाई एक महिने नौमती बाजासम्बन्धी तालिम दिएको थियो। तालिम पाएपछि आमाहरू अहिले नौमती बाजा बजाउन सिपालु भएका छन्। म्याग्दीमा मात्र होइन, आमाहरू बाजा बोकेर छिमेकी जिल्ला पर्वत, बागलुङ र ठूला सहर पोखराका साथै राजधानीसम्म पुग्ने गरेका छन्। “विवाह, व्रतबन्ध र चौरासी पूजाको सिजनमा म्याग्दीका साथै ठूला सहरबाट पनि माग आउन थालेको छ,” नवजागरण आमाकी अध्यक्ष लक्ष्मी खत्रीले भन्नुभयो, “समाजमा नौमती बाजा लोप हुँदै जान थालेकाले हाम्रो पुरानो कला र संस्कृतिको संरक्षणमा आमाहरू जुटेका हौँ। समूहमा १० जना महिला छौँ, सबै जना बजाउन सक्ने भएका छौँ। हाम्रो बाजा बजाउने सीप देखेर टाढा–टाढाबाट पनि माग आउने गरेको छ।” हाम्रो यो अभियानमा घरपरिवारबाट पनि साथ सहयोग मिलेको छ, उहाँ बताउनुहुन्छ। “जिल्लाभित्र १५ देखि २० हजारसम्म र बाहिर जानु परे ३० देखि ४० हजार रुपियाँसम्म समूहले दररेट तोकेको छ,” आमा समूहकी अध्यक्ष खत्रीले भन्नुभयो, “बाजा बजाएबापतको आधा रकम कोषमा राख्छौँ र आधा समूहका सदस्यले बाढेर लिने गरेका छौँ।” कोषमा जम्मा भएको रकम बाजा मर्मत सम्भार र नयाँ खरिद गर्न प्रयोग गरिने खत्रीको भनाइ छ।
पोखराः सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणका लागि गठित समितिले उच्चस्तरीय संयन्त्रलाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका संयोजक उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले उच्चस्तरीय संयन्त्रका संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको हो । न्यूनतम साझा कार्यक्रमको मस्यौदा गर्न गठित समितिमा उपप्रधानमन्त्री पौडेल, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकाल, राप्रपाका महामन्त्री धवलशम्शेर राणा, जसपाका नेता रकम चेम्जोङ सदस्य छन् ।
काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्रीलाई विश्वासको मत दिने कि नदिने भनेर छलफल गर्ने विषय नै नभएको बताएका छन् । कांग्रेस प्रतिपक्षमा बस्ने र त्यसअनुसार नै भूमिका खेल्ने उनले बताए । शनिबार बसेको संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस महामन्त्री थापाले भने, ‘कांग्रेसले विश्वासको मतको खिलापमा मतदान गर्छ, प्रतिपक्षमा बस्छ ।’ यसबारे प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने दिन २६ पुसको विहान निर्णय गर्ने उनले बताए ।
काठमाडौं: नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरले भगवान राजकुमार स्मृति पुरस्कार लेखक तथा फोटो पत्रकार भरतबन्धु थापालाई प्रदान गरेको छ । शाखाको २६ औं स्थापना दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रममा थापालाई १० हजार रुपैयाँसहित पुरस्कृत गरेको हो । यस्तै शाखाले पत्रकार प्रवीणराज जोशीलाई अग्रज पत्रकार सम्मानसहित नगद ५ हजार रुपैयाँ प्रदान गरेको छ । मैयाँदेवी शिल्पकार स्मृति पुरस्कारबाट नविना खबुर्जा श्रेष्ठ र क्रियाशील महिला पत्रकारिता पुरस्कारबाट कविता थापा पुरस्कृत भएका छन् । उनीहरुले जनही २५ सय रुपैयाँ पाएका छन् । पुरस्कृत चारै जना पत्रकारलाई पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रमाणपत्र र नगद प्रदान गरे । सो अवसरमा पत्रकार महासंघ भक्तपुर शाखाले ४ मंसिरमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ भक्तपुरबाट निर्वाचित प्रतिनिधि सभा र प्रदेश सभाका १४ जना सदस्यलाई सम्मान गरेको थियो ।
स्याङ्जा: स्याङ्जा, पाल्पा र गुल्मीको संगमस्थल रिडीमा देशकै पहिलो तीन मुखे झोलुङ्गे पुल निर्माणले पूर्णता पाएको छ । धार्मिक तथा पर्यटकीय हिसाबले महत्त्व बोकेको रिडीमा ठेक्का सम्झौता गरेको साढे आठ वर्षमा पुल निर्माण भएको हो । तीन वर्ष भित्रमा पुल निर्माण सम्पन्न गर्नेगरी नयाँ बाटो, रुबिना, मना जेबीले २०७१ साल असार १० गते ठेक्का सम्झौता गरेका थिए । निर्माण कम्पनीले नौ करोड ८८ लाख २६ हजार ३३२ रुपियाँमा स्थानीय पूर्वाधार विभाग सस्पेन्सन ब्रिज डिभिजन श्रीमहल पुलचोकसँग पुलको ठेक्का सम्झौता गरेर काम अगाडि बढाएको थियो । देशकै पहिलो तीनमुखे झोलुङ्गे पुलले स्याङ्जाको कालिगण्डकी –१ कारिकोट चण्डिभञ्ज्याङ, पाल्पाको तानसेन नगरपालिका –१४ अर्गली र गुल्मीको रुरु गाउँपालिका –१ रिडी जोडेको छ । देशकै पहिलो र नयाँ पुल भएकाले डिजाइन गर्न, काम सम्पन्न गर्न समय लागेको निर्माण व्यवसायी महेन्द्र अधिकारीले बताउनुभयो । पुल निर्माण कार्य ढिलाइ हुँदा यहाँका नागरिक निराश बने पनि निर्माण सम्पन्न भएपछि अहिले हर्षित बनेको गाउँपालिका वडा १ का वडा अध्यक्ष कृष्ण लामिछानेले बताउनुभयो । पुल निर्माण सँगै आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बनेको बताउँदै लामिछानेले सोलार बत्तिका कारण दिनमाभन्दा रातमा पुल राम्रो मनोरम देखिएको बताउनुभयो । थाहा पाउने जोकोही तीनमुखे झोलुङे पुलमा आउनेगरेको बताउँदै लामिछानेले दैनिक संयौले फोटो खिच्ने र सेल्फि खिच्नेगरेको उहाँले बताउनुभयो । कालिगण्डकीमा बनाएको झोलुङ्गे पुलको मुख्य पिलर तीन जिल्लाको मध्य भागको दुरीमा बनाइएको छ । पुलको मध्यभागमा रहेको पिलरबाट हरेक जिल्लामा पुग्न ५९.१३ मिटरको दूरी पार गर्नुपर्छ । मध्यभागबाट तीन तिरबाटै जोड्दा पिलर १७७.४ मिटर रहेको छ । मुख्य पिलर जमिनमुनी १६ मिटर वेल फाउण्डेन गरी थप १२ मिटरमा वाकवे निर्माण गरिएको छ । वाकवेबाट २५.२३ मिटरको उचाइको टावरमा लठठा कसिएको छ र एक मिटर १५० सेमीमा ढलान गरी रेलिङ राखिएको छ । रेलिङ हेर्न र हिँड्नको लागि नभई सोलार प्रयोजनका लागि बनाइएको छ ।
काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारी साझा यातायातको विद्युतीय बस चढेर पाटन पुग्नुभएको छ । शनिबार राष्ट्रपति भवनबाट साझा बसमा चढेर राष्ट्रपति भण्डारी त्यहाँस्थित मदन पुस्तकालयलगायत स्थानको अवलोकनका लागि पाटन पुग्नुभएको हो ।
काठमाडौं: काठमाडौं महानगरपालिकाले तीन नमुना विद्यालयलाई रु ९० लाख रकम उपलब्ध गराएको छ । कामपाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै नमुना विद्यालय घोषणा गरेको ऐतिहासिक दरबार हाइस्कुल हाताभित्र सञ्चालित भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालय तथा क्षेत्रपाटीस्थित कन्या माध्यमिक विद्यालयलाई रु ३० लाखका दरले रकम उपलब्ध गराएको हो । कामपाले चालु आवमा नमुना विद्यालयको लागि रु एक करोड बजेट विनियोजन गरेको थियो । विशेष गरी नमुना विद्यालयमा प्रविधिको सहज पहुँच, विद्यार्थीको अनुपातमा विषयगत शिक्षक दरबन्दी, प्रविधिमैत्री तथा गुणस्तरीय शिक्षा, अन्य विद्यालयमा भन्दा आकर्षक आन्तरिक कार्यक्रमजस्ता विषय समावेश हुनुपर्छ । तीनवटै विद्यालयले उपलब्ध रकमबाट थप भौतिक पूर्वाधार सुधार र अन्य केही फरक किसिमको सिकाइका कार्यक्रम गर्नुपर्ने कामपा शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयले उक्त रकम कुन शीर्षकमा खर्च गर्ने भनी तयार पारेको प्रस्ताव कामपामा बुझाइ सकेका छन् । अब प्रस्तावअनुसार काम भयो भएन भने कामपाले अनुगमन गर्नेछ । कामपाका नमुना विद्यालयमा ऐतिहासिक सम्पदा, कृषि र कलाको बारेमा पठनपाठन गराइने तयारी छ । नमुना विद्यालयअन्तर्गत कन्या माध्यमिक विद्यालयमा ऐतिहासिक सम्पदा र वातावरण संरक्षण कसरी गर्ने भन्नेबारे अध्ययन गराइन्छ । त्यसैगरी संस्कृत विद्यालयमा सहरी खेती कार्यक्रमलाई कसरी प्रभावकारी बनाउन सकिन्छ । जुन हाम्रो दैनिक जीवनमा उपयोगी हुनसक्छ । सहरमा प्रशस्त खुला स्थान छैन थोरै ठाउँमा पनि कसरी कृषि कार्य गर्न सकिन्छ भन्ने बारे सिकाइन्छ । त्यस्तै, भानु माविमा भने कला र संस्कृतिको विषयमा पठनपाठन गर्ने तयारी रहेको छ । पछिल्लो समय कलाको आवश्यकता यसको संरक्षणजस्ता विषय यसमा समावेश हुनेछन् । जसको लागि ललितकलासँग समन्वय गरेर अघि बढ्ने तयारी कामपाको रहेको छ । हाल कामपामा ८९ वटा सामुदायिक विद्यालय छन् । जसमा ५९ माध्यमिक विद्यालय छन् भने ३० प्राथमिक विद्यालय छन् जसमा ५२ हजार विद्यार्थीले अध्ययन गर्दछन् । त्यसैगरी पाँच सय ४० निजी विद्यालयमा एक लाख ५० हजार विद्यार्थी अध्ययनरत छन् ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वादी समुदायको आत्मसम्मानको रक्षा तथा जीविकोपार्जनका लागि पहल गर्ने बताएका छन् । शनिबार बिहान बालुवाटारमा वादी समुदायका अगुवाहरुसँगको छलफलमा उनले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा वादी समुदायको आत्मसम्मान, जीविकोपार्जन र व्यक्तिगत पुनर्स्थापनाको लागि निर्णय गरेको भन्दै निर्णय कार्यान्वयनमा समस्या देखिएको भए हल गर्ने बताए । ‘इतिहासमै पहिलोपटक राज्यले औपचारिकरुपमा वादी समुदायलाई सम्बोधन गरेको पुस २३ को दिनलाई विजयोत्सवका रुपमा मनाउनुपर्छ’ उनले भने, ‘ वादी उत्थान विकास समितिलाई सक्रिय बनाउँदै समुदायले भोग्नुपरेका समस्या हल गर्न हामी सरकारका तर्फबाट प्रभावकारी पहल गर्छौं ।’ वादी समुदायका प्रतिनिधिहरुले शिक्षा, स्वास्थ्य, रोजगारी, नागरिकता, पुनर्स्थापना र विकास समितिको सक्रियता जस्ता विषयमा प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका थिए ।
म्याग्दी: हिमाली जिल्ला म्याग्दीको सदरमुकाम बेनी बजारको सडक शनिबार पखालिएको छ । बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीको अगुवाइमा बेनी नगरपालिका–७ र ८ नम्बर वडा पर्ने बजार क्षेत्र पखालिएको हो । म्याग्दी उद्योग वाणिज्य सङ्घको अगुवाइमा पुस २८ देखि माघ ७ गतेसम्म हुने सातौँ म्याग्दी महोत्सव एवम् माघे सङ्क्रान्ति मेला तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०७९ को पूर्वसन्ध्यामा बजार सरसफाइस्वरुप बजार क्षेत्रको धुलो पखालिएको नगरप्रमुख केसीको भनाइ छ । सुन्दर नगरी बेनी बजारको सुन्दरतालाई अझै मजबुत बनाउन बजार क्षेत्रमा सरसफाइ गरिएको उहाँले बताउनुभयो । महोत्सवमा आन्तरिक तथा बाह्य पर्यटकको जमघट म्याग्दीमा हुने र बेनी नगरपालिका क्षेत्रमै बढी बसाइ हुने हुँदा पनि बजारको सुन्दरतालाई ध्यान दिइनु आफूहरूको दायित्व रहेको उहाँले जानकारी दिनुभयो । वि.सं. २०६० मा पहिलो पटक भएको महोत्सव त्यसपछि २०६३, २०६५, २०६८, २०७१ र २०७४ मा भएको र अहिले सातौँ पटक आयोजना गरिएको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो । उद्योग व्यापार र कलाको विकास गरौँ, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गरौँ भन्ने नारासाथ आयोजना गर्न लागिएको महोत्सवको तयारीस्वरुप बेनी नगरपालिकाले दमकल उपलब्ध गराएर बजार पखाल्ने काम भएको उहाँको भनाइ छ । नगरपालिकाको सहयोगमा नगरप्रमुख केसीले नै बजार सरसफाइमा खटेर पर्यटन प्रवर्द्धन गर्ने तथा पाहुनाको सत्कारमा नगरपालिका कति जिम्मेवार तबरले लागेको छ भन्ने उदाहरण नगरप्रमुखले पेस गर्नुभएको म्याग्दी उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष सुविन श्रेष्ठले बताउनुभयो । पुस २७ देखि हुने म्याग्दी महोत्सवमा एक लाख ११ हजार एक सय ११ रुपियाँ प्रथम पुरस्कार रहेको खुल्ला लोकदोहोरी गीत प्रतियोगिता हुँदैछ । त्यस्तै गण्डकी प्रदेश भित्रका स्थानीय तह स्तरको पुरुष भलिबल एवम् खुल्ला महिला भलिबल प्रतियोगिता, बास्केटबल प्रतियोगिता, महिला पुरुष छेलो, महिला पुरुष लाठो तान्ने प्रतियोगिता एवम् मौलिक रत्यौली प्रतियोगिताको पनि आयोजना गरिएको म्याग्दी महोत्सवका मूल संयोजक म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष कटुवालले बताउनुभयो ।