काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायपूर्ण, समतामूलक एवं सुसंस्कृत समाज र समृद्ध राष्ट्र बनाउने शहीदको सपनालाई मूर्त रूप दिन आआफ्नो तर्फबाट निर्वाह गर्नुपर्ने भूमिकालाई इमानदारीसाथ पूरा गर्न आग्रह गर्नुभएको छ । शहीद दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले सो आग्रह गर्नुभएको हो । शहीदको बलिदानबाट प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै शहीदप्रति सच्चा श्रद्धाञ्जलि हुने उहाँले सन्देशमा उल्लेख गर्नुभएको छ । यसैगरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीदहरूको सपना पूरा गर्न हातेमालो गर्दै अघि बढ्न आह्वान गर्नुभएको छ । उहाँले चुनौतीपूर्ण परिस्थितिमा गठन भएको नयाँ सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अघि बढ्न दृढ सङ्कल्पित रहेको बताउनुभएको छ । शहीद दिवसका अवसरमा सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले आजको दिन नेपाल र नेपालीहरूको आत्मसम्मान र स्वतन्त्रताका लागि आफ्नो जीवन बलिदान गर्ने शहीदहरूप्रति विशेष सम्मान व्यक्त गर्ने दिन भन्दै उहाँले परिवर्तनका पक्षमा भएका सम्पूर्ण आन्दोलनमा आफ्नो जीवन अर्पण गर्ने महान् शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्नुका साथै सम्पूर्ण बेपत्ता योद्धाहरूको स्मरणसहित उच्च सम्मान तथा आन्दोलनका क्रममा घाइते भएका योद्धाहरूको शीघ्र स्वास्थ्यलाभसहित दीर्घायुको कामना गर्नुभएको छ । यसैबीच नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शहीद दिवसका अवसरमा सन्देश जारी गर्दै देश र लोकतन्त्रको हित रक्षाका निमित्त सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपनामा रूपान्तरणका लागि सङ्कल्प गर्न सबैसँग आग्रह गर्नुभएको छ ।
काठमाडौं: आज शहीद दिवस । प्रजातन्त्र स्थापना एवम् पुनर्स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा आज विविध कार्यक्रम गरी मनाइन्छ । विसं २०१२ सालदेखि हरेक वर्ष शहीदको सम्झनामा माघ १० देखि १६ गतेसम्म सप्ताहव्यापी कार्यक्रम गरिन्छ । जहानियाँ राणा शासनविरुद्ध लड्दालड्दै ज्यान बलिदान दिएका शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्ठको सम्झनामा हरेक माघ १६ गते शहीद दिवस मनाइन्छ । पछिल्ला वर्षहरुमा शहीद दिवसको दिन अन्य जनआन्दोलनमा प्राण आहुति दिने योद्धाहरूको पनि सम्मान गरिन्छ । अहिले बिहान शान्तिवाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी हुँदैछ । प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्यान्ड टोली र मार्चपाससम्मिलित टोलीले लैनचौर पुगेर ज्ञात अज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्नेछ । यसैगरी लखन थापादेखि पछिल्ला स्वतन्त्रताका आन्दोलनमा शहादत प्राप्त गरेका शहीदको सम्झनामा काठमाण्डौको गोकर्णेश्वरमा निर्माण भइरहेको राष्ट्रिय शहीद स्मारकमा पनि आज कार्यक्रम हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गोकर्णको शहीद स्मृति स्तम्भमा शहीद तथा बेपत्ता अभिलेख शुभारम्भ र राष्ट्रिय शहीद स्मारक उद्घाटन गर्ने तयारी छ । २०६३ सालअघि शहीद दिवसका दिन राज्यका तर्फबाट शहीदगेटमा विशेष कार्यक्रम गरी दिवस मनाइन्थ्यो । त्यसपछि भने लैनचौरमा रहेको शहीद स्मारकमा विशेष कार्यक्रम हुन थालेको छ । शहीदगेटमा पनि विभिन्न सङ्घसंस्थाले कार्यक्रम गरी दिवस मनाउने गरेका छन् । पछिल्लो समय नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा निर्माण भएको गणतन्त्र स्मारकमा शहीदप्रति श्रद्धाञ्जली गर्ने स्थल राखिने घोषणा गरिएको छ । तर, त्यो सञ्चालनमा आउन सकेको छैन । शहीदको स्पष्ट परिभाषा नगरि पछिल्लो समय जो सुकैलाई घोषणा गरिँदा शहीदको गरिमा नै घटेको टिप्पणी पनि हुने गरेको छ । स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाण्डौको टेकुमा रहेको पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवम् दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।
बागलुङ: बागलुङको विद्या मन्दिर माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीको निःशुल्क आँखा परीक्षण गरिएको छ । प्रेस सेन्टर नेपाल बागलुङले १९ औँ स्थापना दिवसको अवसरमा आयोजित निःशुल्क शिविर सञ्चालन गरेको हो । शिविरमा कक्षा १ देखि १२ सम्म अध्ययनरत १३६ जना विद्यार्थीको आँखा जाँच गरिएको छ । आँखा परीक्षण गरिएका विद्यार्थीमध्ये ११ जनामा कम देख्ने, टाढा र नजिकको नदेख्ने समस्या पहिचान भएको नेत्र सहायक गणेश महतोले जानकारी दिनुभयो । उनीहरुलाई समस्याअनुसार चश्मा तथा औषधी प्रयोग गर्न सुझाइएको छ । विद्यार्थीको उज्यालो भविष्यका लागि शिविर आयोजना गरेको प्रेस सेन्टर बागलुङका अध्यक्ष थामन थापाले बताउनुभयो । सो अवसरमा माघ १ गते पोखरामा भएको विमान दुर्घटनामा परी मृत्युवरण गर्नुभएका पत्रकार त्रिभुवन पौडेलको स्मृतिमा ‘पत्रकार त्रिभुवन पौडेल स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गर्ने घोषण गरिएको छ । पौडेल पत्रकार महासंघ गण्डकी प्रदेशको संस्थापक अध्यक्ष तथा हालको केन्द्रीय सदस्य र प्रेस सेन्टर नेपालको केन्द्रीय उपाध्यक्ष हुनुन्थ्यो । हरेक बर्ष एक जना पत्रकारलाई पुरस्कृत गर्नेगरी पुरस्कार घोषण गरिएको सेन्टरले जनाएको छ ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीले पुनः सभापतिको जिम्मेवारी रवि लामिछानेलाई दिएको छ । आइतबार लामिछानेले नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई पुनः सभापतिको जिम्मेवारी दिएको एक नेताले जानकारी दिए । रविले आइतबार नै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए । रविले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै शुक्रबार सर्वोच्च अदालतले उनको सांसद पद खारेज गरेको थियो । सँगै उनी राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिबाट पदमुक्त भएका थिए भने उपप्रधानमन्त्री तथा गृहमन्त्री पद पनि गुमेको थियो ।
पर्वत: पुस्तौँदेखि खानेपानीको लागि कष्ट भोग्दैआएका पर्वतको फलेवास नगरपालिका –३ सङ्करपोखरीका बासिन्दाको खानेपानी समस्या अहिले आएर पूरा हुनेभएको छ । गाउँमा खानेपानीको स्रोत नहुँदा गाउँभन्दा तल रहेको लमाय खोलाको पानी लिफ्ट प्रणालीबाट गाउँमा लगिएपछि खानेपानीको समस्या समाधान भएको हो । लमाय खोलाबाट करिब १७ सय मिटर उचाइमाथि लिफ्टिङ गरी मैदानस्थित लिमिकोटमा पानी पुर्याइएको आयोजनाका सचिव कमल भुसालले जानकारी दिनुभयो । यसरी ल्याइएको पानी फलेवासको २ र ३ नम्बर वडाका १३ सय ४१ घरधुरीमा वितरण गरिने उहाँले जानकारी दिनुभयो । गण्डकी प्रदेश सरकारको ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयको सहयोगमा उक्त आयोजना सञ्चालन भएको हो । आयोजनाको ट्याङकी निर्माण, विद्युतीकरण, मुख्य पाइपलाइन बिस्तार लगायतको काम पुरा भइसकेको र वितरण पाइप जडान पछि घर–घरमा खानेपानी वितरण गरिने सचिव भुसालले जानकारी दिनुभयो । उपभोक्ता समितिका अनुसार आयोजनाको परीक्षण सफल भइसकेकाले पहिलो चरणमा पुरानो खानेपानी आयोजनाको लाइनमार्फत वितरण गरिनेछ । आयोजनाको मुख्य काम सकिए पनि घरघरै पाइपलाइन बिस्तार गरी उपभोक्तामा विद्युत मिटरसहितको धारा जडान गर्न अझै केही समय लाग्ने भुसालले बताउनुभयो । आर्थिक वर्ष २०७५–७६ देखि सुरु भएको आयोजनाको १८ करोड ८८ लाख ८५ हजार रुपियाँ लागत स्टिमेट गरिएको छ । आयोजनाबाट पाँच हजार ७२ उपभोक्ता लाभान्वित हुने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय अन्तर्गतको इकाई कार्यालय कुश्माका प्रमुख इन्जिनियर शिवकुमार शाहले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म चार करोड तीन लाख रुपियाँ मात्र खर्च भएको छ । आयोजनाको भौतिक प्रगति धेरै भए पनि मन्त्रालयले पर्याप्त बजेट विनियोजन नगर्दा वित्तीय प्रगति २१.३४ प्रतिशत मात्रै भएको कार्यालयले जनाएको छ । बाँकी काम गर्न बजेट अभाव भएको इन्जिनियर शाहले जानकारी दिनुभयो । उहाँका अनुसार धेरै जनसङ्ख्या लाभान्वित आयोजना भएकाले प्रदेश सरकारले समेत विशेष महत्त्वका साथ हेरेको र आवश्यक बजेट समयमै विनियोजन गर्ने प्रतिबद्धता आएकाले छिटो काम सम्पन्न गर्नेगरी बजेट विनियोजन हुने गण्डकी प्रदेश सरकारको ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालयका सचिव सन्तोष कैनीले बताउनुभयो । उहाँले आयोजनाको काम छिटो सक्नेगरी कार्यविधिले मिल्नेसम्म बजेट थप गर्ने प्रतिबद्धता जनाउनुभयो । संवैधानिक अधिकारभित्रै पर्ने स्वच्छ खानेपानीको पहुँच आम सर्वसाधारणसम्म पुर्याउन मन्त्रालयले समेत सक्दो सहयोग गर्ने बताउनुभयो । मन्त्रालयले २०७५ फागुनमा लमाय खोला लिफ्ट खानेपानी आयोजना सुरु गरेको थियो । बजेट अभावका कारण उक्त आयोजनाको पानी बस्तीसम्म ल्याउन समस्या परेको थियो । आयोजनामा आवश्यक पर्ने विद्युत ल्याउन विद्युत प्राधिकरण लगायतका विभिन्न निकायसँग समन्वय र सहकार्य गरी काम अघि बढाउनुपर्ने भएकाले आयोजनाको काम केही ढिलाइ भएको उपभोक्ता समितिले जनाएको छ । लमाय खोलाको पानी मैदानमा ल्याएर घरघरै वितरण हुने भएपछि पुस्तौँदेखिको समस्या सहज हुने भन्दै उपभोक्ताहरू खुसी भएका छन् । सङ्करपोखरीको डाँडामा पानीको समस्याका कारण यहाँका स्थानीयहरू १ घण्टा लगाएर एक गाग्री पानी बोक्न बाध्य थिए । खानेपानी समस्या समाधानका लागि डहरे लेकबाट पनि पानी ल्याएको भए पनि दिगो रूपमा सञ्चालन हुन नसक्दा आकाशे पानीको भरमा बस्नुपरेको स्थानीय चित्राकुमारी क्षेत्रीले बताउनुभयो ।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालयमा आफ्नो दावी रहने स्पष्ट पारेको छ । नागरिकता विवादमा मुछिएपछि लामिछानेले गृहमन्त्रीबाट राजीनामा दिएका थिए । लामिछानेले आज पुनः नेपाली नागरिकता प्राप्त गरेका छन्। पार्टी प्रवक्ता मुकुल ढकालले गृह मन्त्रालयमा आफ्नो दावी यथावत रहेको बताए । गृह मन्त्रालयमा दावी रहेपनि कसलाई पठाउने भन्ने विषयमा छलफल नभएको ढकालको भनाइ छ । सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध भएको ठहर गरेपछि ३३ दिनमै राजीनामा दिनुपरेको थियो । सर्वोच्चको आदेश पछि लामिछानेको सांसद र मन्त्री पद दुवै गुमेको थियो। लामिछाने गत ११ पुसमा उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएका थिए। नागरिकता विवादमा आएपछि उपप्रधान एवं गृहमन्त्री लामिछानेले पदबाट राजीनामा दिएका छन्। । गृहमन्त्रीको जिम्मेवारी प्रधानमन्त्री पु्ष्पकमल दाहाल प्रचण्डलाई दिइएको छ। कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की,न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ,ईश्वरप्रसाद खतिवडा,डा.आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले लामिछानेको नागरिकतासम्बन्धी फैसला गरेको हो। लामिछानेको नागरिकतामाथि प्रश्न उठाउँदै अधिवक्ता रविराज बसौला र युवराज पौडेलले सर्वोच्चमा रिट हालेका थिए। मंसिर ४ मा सम्पन्न निर्वाचनमा लामिछाने चितवत(२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिती बैठक केहिबेरमै बस्दैछ । समसामयिक विषयमा धारणा बनाउन रास्वपाको केन्द्रीय समिति बैठक बस्न लागेको हो । बैठकबाट लामिछानेलाई पार्टी सभापति बनाउने तयारी छ। उनको नागरिकता प्राप्त भएमा लामिछानेलाई सभापति बनाइने केन्द्रीय समितिको तयारी छ। रास्वपाका प्रवक्ता मुकुल ढकालले पार्टी सभापति नागरिकता विवादमा मुछिएपछि त्यसपछिको धारणा बनाउन पार्टीको बैठक बस्न लागेको बताए। नागरिकता विवादमा आएपछि लामिछानेले गृहमन्त्रीबाट राजीनामा दिएका छन्। गृहमन्त्री जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको छ। शुक्रबार सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध भएको ठहर गरेको थियो। सर्वोच्चको आदेशपछि लामिछानेको सांसद र मन्त्री पद दुवै गुमेको थियो। लामिछाने गत ११ पुसमा उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएका थिए। नागरिकता विवादमा आएपछि उपप्रधान एवं गृहमन्त्री लामिछानेले पदबाट राजीनामा दिएका छन्। । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की,न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ,ईश्वरप्रसाद खतिवडा,डा।आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले लामिछानेको नागरिकतासम्बन्धी फैसला गरेको हो। लामिछानेको नागरिकतामाथि प्रश्न उठाउँदै अधिवक्ता रविराज बसौला र युवराज पौडेलले सर्वोच्चमा रिट हालेका थिए। मंसिर ४ मा सम्पन्न निर्वाचनमा लामिछाने चितवत–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए।
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नेतृत्वको सरकारले एकल महिलाका माग र मुद्दा सम्बोधन गर्ने बताउँदै त्यसका लागि सामाजिक चेतना र जागरण जरूरी भएको बताउनुभएको छ । मानव अधिकारका लागि महिला समूहद्वारा आज यहाँ आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्रीले भन्नुभयो, “तपाईंहरूको यो कार्यक्रम अन्य कार्यक्रमभन्दा पृथक र मौलिक लाग्यो । यहाँ तपाईंहरूले एकल महिलाका हकअधिकारका पक्षमा जे–जति मुद्दा उठाउनुभएको छ त्यसलाई सम्बोधन गर्ने मेरो प्रयास हुनेछ ।” प्रधानमन्त्रीले संविधानमा एकल महिलाका लागि कोटा छुट्टाउनुपर्ने माग न्यायोचित भएको पनि बताउनुभयो । “यो न्यायोचित माग हो । यसमा हामी छलफल गर्नेछौँ । एकल महिलाको सामाजिक सुरक्षाबारे तपाईहरूले जेजति प्रश्न उठाउनुभएको छ, ती गम्भीर प्रकृतिका छन् । तिनीहरू सम्बोधन गरिनेछ ।” सत्ताइस वर्षको अवधिमा एकल महिला समूहले प्राप्त गरेको उपलब्धि र ख्यातिको प्रधानमन्त्रीले प्रशंसा गर्नुभयो । प्रधानमन्त्री दाहालले भन्नुभयो, “यस अवधिमा तपाईंहरूले प्राप्त गरेको उपलब्धि, एकल महिलाको एकता र सहकार्यका निम्ति गरेको प्रयास र अन्तर्राष्ट्रियस्तरबाट प्राप्त गरेको ख्याति र सम्मानको म उच्च प्रशंसा गर्दछु ।” महिला अधिकारका लागि नेपालमा ठूलो बलिदानी भएको उल्लेख गर्दै प्रधानमन्त्रीले हजारौँ महिलाले मुक्ति र परिवर्तनका निम्ति सङ्घर्ष गरेको स्मरण गर्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “गरिब, पिछडिएका महिलाले आफ्नो पहिचान, अधिकार र मुक्तिका निम्ति गरेको सङ्घषघर्षकै कारण समाज र राजनीति यहाँसम्म आएको छ । उहाँहरुले सङ्घर्ष र बलिदानीको उच्च कीर्तिमानी नराखेको रगत नबगाएको भए हामी यहाँसम्म आउने थिएनौँ ।” महिलाको सहभागिता र भूमिकाबिना संसारमा कहीँ पनि परिवर्तन नभएको भन्दै उहाँले महिलाको सङ्घर्षका कारण आज राज्यका सबै अङ्गमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित भएको बताउनुभयो । “स्थानीय तहदेखि केन्द्रसम्म प्रतिनिधित्व भए पनि यो अझै पर्याप्त छैन । पुरूष सरह महिलाका हकअधिकार स्थापित गर्न थप प्रयत्न आवश्यक छ”, उहाँले भन्नुभयो । प्रधानमन्त्रीले कानुनमा भएको प्रगतिशिल व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि सबैको साथ र सहयोग जरुरी रहेको बताउनुभयो । उहाँले कानुनको प्रभावकारी कार्यान्वयनमा अहिले पनि चुनौती रहेको स्पष्ट पार्नुभयो । “हाम्रो समाज र संस्कृतिमा रूपान्तरण ल्याएर मात्र यसको प्रभावकारी कार्यान्वयन गर्न सकिन्छ । त्यसका लागि सामाजिक जागरणको अभियान जरुरी छ”, प्रधानमन्त्रीले भन्नुभयो ।
म्याग्दी: पछिल्लो समय भाइरल बस्ती भनेर चिनिने बेनी नगरपालिका –१ रत्नेचौरको तोरीको फाँटनजिकै रहेको चिता हाउस सञ्चालनको छोटो अवधिमै पहिचान बनाउन सफल भएको छ । दुई दाजुभाइले सुरु गरेको चिता हाउस सञ्चालनको दुई वर्षको अवधिमा आफ्नो पहिचान बनाउन सफल भएको हो । कुनै समय स्याल र चितुवाको बासस्थान मानिने तल्लो रत्नेचौरमा भारतीय सेनाबाट सेवा निबृत्त हुनुभएका बीरबहादुर र करिब १२ वर्ष बैदेशिक रोजगारीमा भौतारीनु भएका भाइ हरिबहादुर खत्रीले थाल्नुभएको व्यवसाय अहिले फष्टाउँदैगएको छ । दुई जनाले आफ्नो झण्डै खेर गएको अवस्थामा रहेको जग्गामा कटेजसहितको रेष्टुरेण्ट तथा बार सञ्चालनमा ल्याएपछि अहिले रत्नेचौर क्षेत्रमा आउने पर्यटकका लागि सुविधासहितको खाने बस्ने व्यवस्था भएको छ । चिता निकै द्रुत गतिमा दौड्ने मांसाहारी जनावर हो । भारतीय सेनामा निकै दुर्गम स्थानमा ड्युटीमा रहेको समयमा एपेण्टीसाइडले च्याप्दा भारतीय सेनाको चीता नामक हेलिकोप्टरले रेस्कु गरेर आफूलाई जिवनदान दिएको हुँदा त्यही छिटो दौड्ने चिताकै नामबाट व्यवसायको नाम राखेको बीरबहादुरको भनाइ छ । बैदेशीक रोजगारीमा जाँदा सोचेजस्तो कमाइ हुन नसकेपछि दाजुभाइ मिलेर नेपालमै व्यवसाय गर्ने सोचले यस क्षेत्रमा लागेको हरिबहादुर खत्रीले बताउनुभयो । दुई भाइसँगै ३ जना कुक र ६ जना सहयोगी गरी ११ जनाले चिता हाउसबाट प्रत्यक्ष रोजगारी पाएका छन् । ४० लाख रुपियाँको लागतमा २०७७ कात्तिक २६ गतेबाट सञ्चालनमा आएको चिता हाउसमा अहिलेसम्म झण्डै दुई करोड लगानी भएको बीरबहादुर खत्रीको भनाइ छ । नयाँ पुस्ताले एकान्त साथै सुविधा खोज्ने भएकाले नै रत्नेचौरको यस क्षेत्रमा आफूहरुले व्यवसायको स्थान पहिचान गरेको उहाँले बताउनुभयो । १२ रोपनी क्षेत्रफलमा फैलिएको चिता हाउसमा तीन वटा क्याम फायर, ४ एट्याच रुमसहित ५० जनाको बास बस्न मिल्छ । चिता हाउसकै कम्पाउण्डमा फरक फरक स्थानमा दुई वटा बनभोज स्थल रहेकाले पनि म्याग्दी तथा बागलुङका बासिन्दाहरुलाई बिदा मनाउन नजिकै आरामदायी स्थान मिलेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको धौलागिरी क्षेत्रीय शाखा प्रबन्धक देवेन्द्र क्षेत्रीले बताउनुभयो । यस क्षेत्रमा सुविधासहितको व्यवसायको आवश्यकतालाई चिता हाउसले परिपूर्ति गरेको म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवालले बताउनुभयो ।