ढल्केवर: धनुषाको महेन्द्रनगरस्थित इलाका प्रहरी कार्यालयको हिरासत कक्षबाट फरार भएका छ जना थुनुवाको खोजी कार्य तीव्र पारिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक प्रदिपबहादुर क्षेत्रीले थुनुवा कक्षको भित्ता फोडेर फरार भएका छ जनाको खोजी कार्य तीव्ररुपमा भइरहेको बताउनुभयो । उहाँले घटनासम्बन्धमा छानबिन समिति बनाएर समेत अनुसन्धान गरिने जानकारी दिनुभयो । प्रवक्ता क्षेत्रीले खोजी कार्यमा तालिम प्राप्त कुकुर र सशस्त्र प्रहरीलगायत सुरक्षाका सबै संयन्त्र परिचालन गरिएको जानकारी दिनुभुयो । आइतबार राति करिब ३ बजे विभिन्न मुद्दाका छ जना आरोपित हिरासत कक्षको दक्षिणी भागको भित्ता फोडेर फरार भएका थिए । फरार हुनेहरुमा जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका–५ का ३० वर्षीय विनोदकुमार शर्मा, सोही नगरपालिका–२ बस्ने २५ वर्षीय अमित मण्डल र २५ वर्षीय रोशन यादव, मिथिला नगरपालिका–२, बस्ने २५ वर्षीय हरिदीप सिंह, सोही नगरपालिका–६, बस्ने २८ वर्षीय रोशन महतो र ३६ वर्षीय शङ्कर सिंह रहेका छन् । फरारमध्ये विनोद लागूऔषध, अमित सावरी ज्यान, रोशन राष्ट्रसेवक कर्मचारीसँग अभद्र व्यवहार, हरिदीप कुटपिट तथा रोशन र शङ्कर अवैध हात हतियार मुद्दाका आरोपित हुन् । प्रहरी कार्यालयको भवन पुरानो रहेको र हिरासतपट्टिको पर्खाल कमजोर भएका कारण इट्टा फोडेर भागेको प्रहरीको भनाइ छ । उनीहरु फरार भएको घटना थाहा पाएलगतै खोजी कार्यमा सक्रिय भएका सुरक्षाकर्मीले भागेर जाने सम्भावित स्थान तथा जिल्लाबाट बाहिरीने सवारी साधनमा समेत जाँच बढाइएको छ ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आज भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान भएको भेटवार्तामा उहाँहरुबीच काठमाडौँ महानगरलाई सफा, सुन्दर र आकर्षक बनाउने तथा विकासको निर्माणको कामलाई कसरी गति दिन सकिन्छ भन्ने विषयमा कुराकानी भएको थियो । सो अवसरमा प्रधानमन्त्री दाहालले महानगरको काम कारबाहीको बारेमा चासो राख्नुभएको थियो । काठमाडौँका प्रमुख शाहले महानगरको काम कारबाहीका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराउनुभएको थियो ।
दमौली: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कृषि, पर्यटन र जलस्रोतको विकासले मात्र मुलुक समृद्ध बन्ने बताउनुभएको छ । शहीद दिवसका अवसरमा तनहुँको व्यास नगरपालिकाद्वारा आज आयोजित ‘अल्ट्रा म्याराथन’को शुभारम्भ गर्दै उहाँले आर्थिक समृद्धि हासिल गर्न राष्ट्रिय सहमति कायम गरेर अगाडि बढ्नुपर्छ भन्नुभयो । “ राष्ट्रको उन्नति र समृद्धिका लागि राष्ट्रिय एकताको खाँचो छ”, वरिष्ठ नेता पौडेलले भन्नुभयो, “राष्ट्रिय एकताको कुरा गर्दा कसैलाई मेरो भाग खोसिन लाग्यो कि भन्ने लागेको छ तर त्यस्तो होइन ।” गाउँका जनतालाई गाउँमै रोजगारी र आम्दानी सिर्जना गर्नुपर्ने जनाउँदै वरिष्ठ नेता पौडेलले पर्यटन प्रवर्धनबाट त्यो सम्भव रहेको बताउनुभयो । कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठ र जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले म्याराथनले दुई ऐतिहासिक गाउँ जोड्ने प्रयास गरेको बताउनुभयो । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले खेलकुदको माध्यमबाट पर्यटन प्रवर्धन गर्ने उद्देश्य राखिएको बताउनुभयो । व्यास नगरपालिका–५ मानुङदेखि व्यास नगरपालिका–८ पुलिमराङसम्म ४४ किमि दूरीको म्याराथनमा ५७ धावकको सहभागिता छ । प्रतियोगितामा प्रथम हुनेलाई नगद रु.६१ हजार, द्वितीय हुनेलाई रु.५१ हजार, तृतीय हुनेलाई रु.३८ हजार र सान्त्वना हुने तीन जनालाई जनही रु. १२ हजार पाँच सय प्रदान गरिनेछ । म्याराथन मानहुँकोट सिद्धमार्ग हुँदै अलैंचे–चापाघाट–अनशन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीबेंसी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै पुलिमराङमा पुगेर समाप्त हुनेछ ।
काठमाडौँ: कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आइतबार साँझसम्म २२ जनाको आवेदन परेको छ । बैंकले गत पुस २५ मा विज्ञापन प्रकाशित गरी माघ १५ गतेसम्म सीईओका लागि आवेदन दिन सकिने जनाएको थियो । आवेदन दिने अन्तिम दिनसम्म बैंकमा कार्यरत कर्मचारीसहित २२ जनाको आवेदन परेको बैंकका कम्पनी सचिव हिमलाल पौड्यालले जानकारी दिए । सिभिल बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, सीडीएस एण्ड क्लियरिङ लिमिटेड ९सीडीएससी० का प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्य, राष्ट्रिय वाणिज्य बैंकका पूर्वडेपुटी सीईओ कबिराज अधिकारी, भानु कँडेल, ताराखर अधिकारी, विष्णुदेव यादव, रमेशराज जोशी, प्रमेश कायस्थ, कुमार केसीको आवेदन परेको बैंकले जनाएको छ । यस्तैगरी, बैंकको सीईओका लागि बद्रि गुरागाईँ, रामराज उपाध्याय, नरेश कुमार रोका, विश्वप्रकाश सुवेदी, अशोककुमार पौडेल, सुन्दरराम बोहोरा, तिलराज पाण्डेय, भवानी शङ्कर चापागाईँ, अरुणकुमार ढुंगाना र प्रमोदबाबु तिवारीको पनि आवेदन परेको छ । उम्मेदवारको शैक्षिक योग्यता तथा कार्यानुभव र पेश भएको व्यावसायिक कार्ययोजनाको मूल्याङकनको आधारमा उम्मेदवारमध्ये ५ जनालाई ‘सर्ट लिष्टिङ्ग’ गरी अन्तरवार्ताका लागि छनौट गरिने बैंकले जनाएको छ । बैंकका पूर्व सीईओ अनिल उपाध्यायको कार्यकाल गत पुस १० गते सकिएको थियो ।
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)सँग संयुक्त राज्य अमेरिकाका राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बिहान प्रधानमन्त्री प्रचण्ड र भिक्टोरियाबिच भेटवार्ता भएको जानकारी प्रधानमन्त्रीका प्रेस संयोजक सूर्य किरण शर्माले दिनुभयो । भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालको विकास प्रयासमा संयुक्त राज्य अमेरिकाले पुराएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि अमेरिकी सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो । त्यसपछि अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएकोमा प्रधानमन्त्री प्रचण्डलाई हार्दिक बधाइ दिनुहुँदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । साथै उहाँले नेपालको विकासमा अमेरिकाले सुरु गरेका विकास परियोजनाहरूलाई अगाडि बढाउन अमेरिका प्रतिबद्ध रहेको धारणा राख्नुभयो । नुल्यान्ड दुईदिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आउनु भएको हो । उहाँले नेपालमा रहँदा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्नुहुने यहाँस्थित अमेरिकी राजदूतावासले जनाएको छ। साथै उहाँले नेपालको अनुपम सांस्कृतिक सम्पदाको अनुभव पनि सँगाल्नु हुनेछ। उहाँले सन् २०२१ को अप्रिलमा राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्रीका रूपमा शपथ लिनुभएको हो। त्यसअघि उहाँ वासिङ्टन डिसीमा अवस्थित विश्वव्यापी रणनीतिक परामर्श तथा वाणिज्य कूटनीति फर्म अल्ब्राइट स्टोनब्रिज ग्रुपमा वरिष्ठ परामर्शदाताका रूपमा कार्यरत हुनुहुन्थ्यो। उपविदेशमन्त्री नुल्यान्ड ब्रुकिङ्स इन्स्टिच्युसनमा गैरआवासीय सिनियर फेलो, येल विश्वविद्यालयमा बृहत् रणनीतिक विशिष्ट अभ्यासकर्ता र नेसनल इन्डाउमेन्ट फर डेमोक्रेसीको सञ्चालक समितिकी सदस्य पनि रहिसक्नुभएको छ। ३३ वर्षयता अमेरिकी कूटनीतिज्ञ रहनुभएकी उहाँ अमेरिकी राष्ट्रपति बाराक ओबामा र विदेशमन्त्री जोन केरी मातहत सन् २०१३ को सेप्टेम्बरदेखि २०१७ को जनवरीसम्म युरोपेली तथा युरेसियन मामिलासम्बन्धी सहायक विदेशमन्त्रीका रूपमा सेवारत हुनुहुन्थ्यो। उहाँ अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टनको कार्यकालताका विदेश मन्त्रालयकी प्रवक्ता हुनुहुन्थ्यो भने राष्ट्रपति जर्ज डब्ल्यु बुसको दोस्रो कार्यकालमा सन् २००५ देखि २००८ सम्म नेटोका लागि अमेरिकी राजदूत हुनुहुन्थ्यो। उपविदेशमन्त्री नुल्यान्डले सन् २०१० देखि २०११ सम्म युरोपमा पारम्परिक हतियार नियन्त्रण सन्धिसम्बन्धी विशेष दूत तथा प्रमुख वार्ताकारका रूपमा र सन् २००३ देखि २००५ सम्म अमेरिकी उपराष्ट्रपति डिक चेनीको उपराष्ट्रिय सुरक्षा सल्लाहकारका रूपमा सेवा गर्नुभएको थियो। उहाँले ब्रसेल्सस्थित नेटोमा दुई कार्यकालका साथै अमेरिका बाहिर रुस, चीन र मङ्गोलियाका साथै वासिङ्टनस्थित विदेश मन्त्रालयमा विभिन्न ओहोदामा रही काम गरिसक्नुभएको छ। उहाँले ब्राउन विश्वविद्यालयबाट इतिहास विषयमा स्नातक गर्नुभएको छ।
पोखराः कास्कीको मादी गाउँपालिकामा निर्माणधिन सुपर मादी हाइड्रोपावरको शाखा कार्यालयमा प्रभावित स्थानीयले लगाएको ताला चार दिनपछि खुलेको छ । ११ बुँदे सम्झौता कार्यान्वयन नगरेको भन्दै हाइड्रोपावरबाट प्रभावित स्थानीयले सुपर मादी हाइड्रोपावर ताङतिङ शाखा कार्यालयमा लगाएको ताला सम्झौता कार्यान्वय गर्ने सहमति पछि मादी नदी सरोकार समिति, ताङतिङ युवा क्लब, प्रभावित स्थानीयले सयुक्त रुपमा शाखा कार्यालयमा लगाएको ताला खुलाएका हुन् । ताङतिङ युवा क्लबका अध्यक्ष भोजबहादुर गुरुङले सम्झौता कार्यान्वयन गर्ने सहमतिपछि हाइड्रोपावरको शाखा कार्यालयमा लगाएको ताला खुलेको जानकारी दिए । ‘हाइड्रोपावर सञ्चालन पूर्व प्रभावित स्थानीयसँग भएको सम्झौता कार्यान्वयन हुन सकेको छैन्, हाइड्रोपावर निर्माणपछि गाउँमा गर्ने भनेको पूर्वाधारदेखि विभिन्न सम्झौता कार्यान्वयन भएन, गुरुङले भने, ‘सम्झौता कार्यान्वयन गर्न दवाव स्वरुप ताला लगाएका हौ, एक हप्ताभित्र सम्झौता कार्यान्वयन हुने सहमति छ, भएन भने पुनः आन्दोलनमा जान्छौं ।’ शनिबार सुुपर मादी हाइड्रोपावर, मादी नदी सरोकार समिति, ताङतिङ युवा क्लब, प्रभावित स्थानीय र जनप्रतिनिधिहरुको सर्वपक्षीय भेलाले ताला खोल्ने र सम्झौता कार्यान्वयन गर्ने सहमति भएको गुरुङले जानकारी दिए । सम्झौतामा प्रभावित स्थानीयलाई मुआब्जा दिने, सिकलेस ताङतिङको बीचमा मोटरेबल पुल खेलमैदान लगायतका पूर्वाधारका कामहरु अगाडी बढाउने सहमति भएको हो । सुपर मादी हाइड्रोपावर ताङतिङ शाखा कार्यालयमा नदी सरोकार समिति, ताङतिङ युवा क्लब र प्रभावित स्थानीयले माघ ११ गते ११ बुँदे सहमति कार्यान्वयन गर्न ताला लगाएका थिए ।
काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अब बलिदान नभई देशका लागि योगदान गर्नुपर्ने बताएका छन् । लैनचौरस्थित शहीद स्मृति पार्कमा सोमबार शहीद दिवसको अवसरमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै उनले अब देशका लागि योगदान गरेर देखाउनु पर्ने बताएका हुन् । शहीदहरुले भावी सन्ततिका लागि सुनौलो सपना देखेर आफ्नो बलिदान दिएकाले उनीहरुको सपनालाई पूरा गर्ने जिम्मेवारी र दायित्व अहिलेको पुस्ताको भएको उनको भनाइ छ । शान्त, समृद्ध र विकसित नेपाल बनाउसके मात्रै अमर शहीदहरुको आत्माले शान्ति पाउने मेयर साहले बताए । ‘अमर शहीदहरुको त्याग र बलिदानले नै आज स्वतन्त्र स्वाधिन र सार्वभौम राष्ट्र नेपालका नागरिकका रुपमा विश्वसामु परिचित हुन पाएका छौं । । यो दिनलाई मैले महत्वपूर्ण दिनका रुपमा लिएको छु ,’ उनले भने ।
पोखराः पोखरा महानगरपालिका ९ शिव टोल स्थित डल्फिन बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापकले आत्महत्या गरेका छन् । डल्फिन बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक ३८ वर्षीय लेखुराम खातीले आइतबार साँझ ७ बजेतिर घरमै झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। खातीमाथि बचतकर्ताको रकम फिर्ता गर्न नसकेको भन्दै सञ्चालक समिति र सेयर सदस्य दबाब दिएको र ऋणको बोझले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिरक अनुसन्धानमा खुलेको छ ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शहीदको सपना पूरा गर्न सबैले हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ । चुनौतीपूर्ण परिस्थितिमा गठन भएको नयाँ सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अघि बढ्न दृढ सङ्कल्पित उल्लेख गर्दै उहाँले शहीदका सपना पूरा गर्न आह्वान गर्नुभएको हो । शहीद दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले जीवनपर्यन्त आफ्नो सम्पूर्ण तागत देश र जनताको हितका खातिर समर्पित गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । “शहीदहरूले देखाएको बाटोमा शब्दमा मात्र होइन, कर्ममा समेत अनवरत रूपमा लामबद्ध हुन, उहाँहरूको त्याग र प्रेरणा राष्ट्र र जनताको विकास एवं समृद्धिका लागि खर्चिने सङ्कल्प गर्न म आम जनसमुदायमा हार्दिक अपिल गर्दछु”, सन्देशमा भनिएको छ । प्रधानमन्त्री दाहाललले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न तथा नयाँ संविधानको कार्यान्वयनमार्फत देशलाई समृद्ध र समुन्नत बनाउन शहीदहरूको सपना तथा योगदान सधैँ प्रेरणादायी हुनेछ भन्ने विश्वास पनि लिनुभएको छ । उहाँले दिवसको ऐतिहासिक दिनले देश र जनताको समुन्नत भविष्यका लागि सहकार्य गरी अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामनासहित शहीदको सपना पूरा गर्न हातेमालो गर्दै अघि बढ्न सबैमा आह्वान गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “तानाशाही र निरङ्कुश व्यवस्थाका विरूद्ध सङ्घर्षका क्रममा उच्च बलिदानी गर्नुहुने महान् शहीदहरूको बलिदानी भएको दिनलाई हामीले शहीद दिवसका रूपमा स्मरण गर्दै आएका छौँ, आजको दिन नेपाल र नेपालीहरूको आत्मसम्मान र स्वतन्त्रताका लागि आफ्नो जीवन बलिदान गर्ने शहीदहरूप्रति विशेष सम्मान व्यक्त गर्ने दिन हो ।” प्रधानमन्त्री दाहालले परिवर्तनका पक्षमा भएका सम्पूर्ण आन्दोलनमा आफ्नो जीवन अर्पण गर्ने महान् शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै सम्पूर्ण बेपत्ता योद्धाहरुको स्मरणसहित उच्च सम्मान व्यक्त गर्नुभएको छ । उहाँले आन्दोलनका क्रममा घाइते हुनुभएका योद्धाहरूको शीघ्र स्वास्थ्यलाभसहित दीर्घायुको कामना गर्नुभएको छ । “राणाकाल सुरु हुनुपूर्वका विभिन्न आन्दोलन, सङ्घर्ष, राणाकाल विरूद्धका चरणबद्ध आन्दोलन, २००७ सालको परिवर्तन, पहिलो र दोस्रो जनआन्दोलन, १० वर्षे जनयुद्ध, मधेस आन्दोलन लगायतका आन्दोलन, जनआन्दोलन तथा सङ्घर्षमार्फत नेपालले जे–जति उपलब्धि प्राप्त गरेको छ, ती महान् शहीदहरूको सङ्घर्ष र बलिदानीबाट मात्र सम्भव भएको हो”, सन्देशमा उल्लेख छ । शहीदहरूको बलिदानको उच्च सम्मानका साथ उहाँहरूको सपनालाई साकार पार्ने कार्यमा हामी सबै आ–आफ्नो ठाउँबाट निरन्तर प्रयत्नशील रहनु आवश्यक रहेको उहाँको भनाइ छ ।