तनहुँ: नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य शङ्कर भण्डारीसहितको जनप्रतिनिधिहरू सम्मिलित एक उच्च स्तरीय टोलीले निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण गरेको छ । आयोजना निरीक्षणका क्रममा सांसद भण्डारीले तनहुँ हाइड्रो राष्ट्रिय गौरवको आयोजना भएको हुँदा निर्धारित समयमा नै सम्पन्न गर्न निर्देशन दिनुभयो । देशमा सुक्खायाममा हुने ऊर्जा सङ्कट समाधान गर्न प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिसँग समन्वय गरेर काम अगाडि बढाउन उहाँले निर्देशन दिनुभएको हो । सोही अवसरमा गण्डकी प्रदेश सभा सदस्य जितप्रकाश आलेले आयोजनाले प्रभावित क्षेत्रका बासिन्दाका समस्यालाई सम्बोधन गर्ने विषयमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले स्थानीयलाई मुआब्जा उपलब्ध गराउने विषयदेखि आयोजनाका काम अगाडि बढाउँदा स्थानीयलाई कम असर गर्ने गरी काम सूचारु गर्न आग्रह गर्नुभयो । त्यस्तै व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरैले प्रभावित क्षेत्रका मागलाई सम्बोधन गर्ने विषयमा आयोजनाले ध्यान दिनुपर्ने बताउनुभयो । म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले आयोजनाले सामाजिक उत्तरदायित्वका काम समानुपातिक ढङ्गले नगरेको र रोजगारी उपलब्ध गराउने विषयमा समेत स्थानीय तहहरूसँग समन्वय नगरेको हुँदा आगामी दिनमा त्यसलाई सुधार गर्न जरुरी रहेको बताउनुभयो । वि.सं. २०६२ मा पहिचान भएको र वर्षैभरि १४० मेगावाट विद्युत् उत्पादन हुने नेपालकै दोस्रो जलाशययुक्त आयोजना हो । आयोजनाको क्षेत्रभित्र ऋषिङ गाउँपालिका १, ६ र ७ गरी तीनवटा वडा, म्याग्दे गाउँपालिकाको १, २, ३, ४, र ५ गरी पाँचवटा वडा, व्यास नगरपालिकाको वडा नम्बर ५, भिमाद नगरपालिकाको ५ र ६ पर्दछ । आयोजनाको लम्बाइ करिब १८ किलोमिटर र जलाशय क्षेत्र ७२६ वर्ग किलोमिटर रहेको छ । त्यस्तै जलाशयको कुल भण्डारण क्षमता २९५.१ मिलियन घन मिटर रहनेछ । सो आयोजनाको बाँधस्थल दमौली नजिकैको दुले पहरामा १४० मिटर अग्लो र २१५ मिटर लामो क्रङ्क्रिट बाँध बनाइनेछ ।
काठमाडौं: राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको रोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दर्ता गरिएको छ । संविधान विपरीत निर्वाचनको मिति तय गरेको उल्लेख गर्दै धिवक्ता ज्ञानेन्द्रराज आरणले आज रिट दायर गर्नुभएको हो । निवेदनमा निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ । रिटमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति घोषणा गर्दा कानुनको उल्लङ्घन भएको उल्लेख छ । रिट निवेदनमा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐनको दफा ४ ले कार्यकाल सकिनुभन्दा एक महिनाअघि चुनाव गर्नुपर्ने व्यवस्था गरे पनि आयोगबाट त्यसको अवज्ञा भएको उल्लेख छ । आयोगले आगामी फागुन २५ गते राष्ट्रपति र आगामी चैत ३ गते गर्ने उपराष्ट्रपतिका निर्वाचन गर्ने निर्णय गरेको थियो ।
रेसुङ्गा: गुल्मीकी पार्वता पाण्डेले पुस र माघ महिनामा डोकोमै सुन्तला बेचेर दुई लाख आम्दानी गरेकी छन् । जिल्लाको रेसुङ्गा नगरपालिका–४ की पाण्डेले मदन भण्डारी राजमार्गको तम्घास–छल्दी सडकखण्डको राँयढुङ्गामा बसेर सुन्तला बिक्री गर्छिन् । पुस पहिलो सातादेखि माघ दोस्रो सातासम्म डोकोमै सुन्तला बेचेर २ लाख रुपैयाँ कमाएको उनको भनाइ छ । उनले विगत सात वर्षदेखि पुस र माघ महिनामा सुन्तला बेच्दै आएकी छन् । यो वर्ष सुन्तलाको मूल्य प्रतिकिलो ८० देखि २०० सम्म रहेको पाण्डेले बताइन् । ‘सुन्तलाको बजारीकरणमा कुनै पनि समस्या छैन’, उनले भनिन्, ‘सवारीमा आवतजावत गर्नेले रोकिएर सुन्तला किनेर जानुहुन्छ ।’ पाण्डे सुन्तला बिक्रीको लागि घरदेखि १५ मिनेट पैदल हिँडेर राँयढुङ्गामा आउँछिन् । विहान ११ देखि दिउँसो ३ बजेसम्म सुन्तला बिक्री गर्छिन् । सामान्य जीविकोपार्जनका लागि विदेशकै बाटो रोज्नु गलत भएको पाण्डे बताउँछिन् । उनका श्रीमान् नारायण पनि सुन्तला खेती र भैँसी फार्ममा काम गर्छन् । उनीहरुको फार्ममा १५ वटा भैँसी छन् । जसबाट दैनिक ३५ लिटर दूध उत्पादन हुन्छ । उनीहरुले सदरमुकाम तम्घासमा दूध बेच्दै आएका छन् ।
बागलुङ: बागलुङमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका जिसीलाई थप उपचारका लागि पोखरा रिफर गरिएको छ । घाइते जिसीलाई धौलागिरी अस्पतालमा अतिआवश्यक उपचारपछि थप उपचारका लागि पोखरा रिफर गरिएको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत तेजप्रसाद निउरेले जानकारी दिए। बागलुङ नगरपालिका- ८ सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले बुधबार आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए । जिसीले घरमा कोही नभएको अवस्थामा पेट्रोल छर्केर शरीरमा आगो लगाएको प्रहरीले जनाएको छ । आत्मदाहको कारणबारे केही खुलेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं: रक्षामन्त्री हरिप्रसाद उप्रेतीले पूर्वधार विकास आयोजनालाई वस्तुगत यथार्थका आधारमा अघि बढाएमा मात्र समयमै सम्पन्न गर्न सकिने बताउनुभएको छ । रक्षा मन्त्रालयको दोस्रो त्रैमासिक प्रगति समीक्षा एवम् मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको आजको बैठकमा उहाँले लगानीअनुरुपको परिणाम र उपलब्धि हासिल गर्न सकिएन भने थप आर्थिक भार पर्न सक्नेतर्फ सबै निकायले समयमै ध्यान पुर्याउनुपर्छ भन्नुभयो । रक्षामन्त्री उप्रेतीले भन्नुभयो, “काठमाडौं तराई–मधेश द्रुतमार्ग मुलुक र जनताको आर्थिक समृद्धिका लागि सुनौलो आयोजना हो, यस्ता आयोजनालाई अघि बढाउने सन्दर्भमा आइपर्ने समस्या तत्काल सम्बोधन गर्न आवश्यक छ ।” मुलुक आत्मनिर्भर हुन नसक्दा अनेकौँ समस्या झेल्नु परेको अवस्थालाई बुझेर काम गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो,“सेनाको व्यवस्थापनमा अघि बढेका आयोजना समयमै पूरा हुन्छ भन्ने आमजनताको बुझाइले निरन्तता पाओस, विकास र परिवर्तन नगर्ने छुट अब हामीलाई छैन ।” राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठले मुलुकको आवश्यकता र जनताको अपेक्षाअनुरुप सेनालाई सुरक्षामा मात्र नभइ सडक पूर्वाधार विकासमा संलग्न गराइएको हुँदा आयोजना अघि बढाउने सिलसिलामा आएका चुनौतीलाई नयाँ शिराबाट सम्बोधन गर्न थप प्रयास र प्रयत्न गर्न सुझाव दिनुभयो । उहाँले भन्नुभयो, “सेनालाई सुरक्षा र विकाससँगै रोजगारी र कृषि उत्पादन वृद्धि गर्नेतर्फ संलग्न गराउनुपर्छ, कोभिड–१९ सङ्क्रमणका सन्दर्भमा सीमा नाका नजिक निर्माण गरिएका होल्डिङ सेन्टर त्यसको तालिमका लागि उपयोग गर्न सकिन्छ ।” प्रधानसेनापति प्रभुराम शर्माले नियम, कानुन, अदालत र निर्माण व्यवसायीले उठाएका विषय बस्तु यथासक्य सम्बोधन गर्दै द्रुतमार्गको काम अघि बढिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “हुम्लामा यसैवर्ष राष्ट्रिय सडक सञ्जाल जोड्न जिम्मेवारी बोधका साथ सक्दो कोसिस भइरहेको छ, द्रुतमार्गका सन्दर्भमा पनि खोकनावासीले उठाएका संवेदनशील पक्षलाई राज्यले आवश्यक ध्यान दिनुपर्छ ।” रक्षा सचिव किरणराज शर्माले मन्त्रालय र मातहतका निकायबाट सम्पादन भएको त्रैमासिक कार्यप्रगति कम देखिए पनि कतिपय संवेदनशील विषयमा उच्चस्तरको कार्य सम्पादन भएको बताउनुभयो । कार्यजिम्मेवारीअनुरुप विगतमा राष्ट्रिय सुरक्षा र खाद्य संकट सम्वन्धी कार्यक्रम गरिएझै राष्ट्रिय सुरक्षासँगै साइवर सेक्युरिटी र वातावरणसँग सम्वन्धीत विषयलाई पनि गहनरुपमा अघि बढाउनुपर्ने आवश्यकता उहाँले औल्याउनुभयो । प्रतिरक्षा विश्वविद्यालयका अध्यक्ष बालानन्द शर्माले विश्वविद्यालय निर्माण सम्बन्धी विस्तृत आयोजना प्रतिवेदन तयार भएकाले बार्षिकरुपमा करिव रु ३० देखि ४० करोड उपलब्ध हुने सुनिश्चितता आवश्यक रहेको बताउनुभयो । समिक्षा बैठकमा मन्त्रालयका सहसचिव बाबुराम अधिकारीले मन्त्रालय मातहत सञ्चालन भएका आयोजनाको प्रगति विवरण, समस्या, समाधनका लागि चालिएका कदम, विकल्पको खोजी र गरिएका सिफारिशबारे विस्तृत जानकारी गराउनुभयो । बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद, अर्थ, भौतिक पूर्वाधार तथा यातायात, वन तथा वातावरण मन्त्रालय र राष्ट्रिय योजना आयोगका सहसचिले राष्ट्रिय गौरवका आयोजनालाई अघि बढाउने सन्दर्भमा कुनै चूनौति देखिए आ–आफनो मन्त्रालयको कार्यजिम्मेवारीका क्षेत्रमा सहजिकरण गर्ने प्रतिबद्धता जनाउनुभयो । बैठकमा आब २०७९/८० को नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा उल्लेखित कार्यक्रम, विकास समितिको पछिल्ला बैठकका निर्णय, बजेट विनियोजन र खर्चको स्थिति, सम्पादित मुख्य काम, आयोजनाको प्रगति, बेरुजुको स्थिति र फछर्योट विवरण, समस्य समाधानकालागि गरिएका प्रयास र उपायलगायतका विषयमा गहन छलफल भयो । रक्षा मन्त्रालय मातहत सञ्चालनमा रहेको मुलुककै प्रमुख प्राथमिकतामा रहेको राष्टिय गौरवको आयोजना द्रुतमार्गको चालुआर्थिक वर्षको त्रैमासिक भौतिक प्रगति १३.६ र वित्तीय प्रगति १२.९३ रहेको सो अवसरमा जानकारी दिइयो । उक्त मन्त्रालय मातहत राष्ट्रिय गौरवका तीन वटा कोरिडोर, राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रम, प्रतिरक्षा विश्वविद्यालय र बङ्करदेखि व्यारेकसम्मजस्ता आयोजना सञ्चालनमा छन् ।
बागलुङ : बागलुङमा एक जना पुरुषले घरभित्रै आत्मदाहको प्रयास गरेका छन्। बागलुङ नगरपालिका-८, सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले बुधबार आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी गंगाबहादुर थापाले बताए। जिसीले घरमा कोही नभएको अवस्थामा जिसीले पेट्रोल छर्केर शरीरमा आगो लगाएको प्रहरीले जनाएको छ। पेट्रोल छर्केर घाइते अवस्थामा रहेका जिसीको अहिले धौलागिरी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय बागलुङका सूचना अधिकारी थापाले बताए। आत्मदाहको कारणबारे केही खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कावासोती: राष्ट्रिय गौरव आयोजनाको रुपमा रहेको नारायणगढ बुटवल सडक योजनाको काम चाँडो सम्पन्न गर्न सडक निर्माण र सरोकारवालाले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको ध्यानाकर्षण गराएका छन् । पूर्ब–पश्चिम राजमार्गको सडक ठेक्का लिएर लामो समयसम्म काम नसकेको आरोप खेप्दैआएको चाइना स्टेट कम्पनीले विविध कारण देखाउँदै हालसम्म २३ प्रतिशत सडक विस्तारको कार्य सम्पन्न गरेको जनाएको छ । नारायणगढ–बुटवल सडक निर्माणको ठेक्का लिएको चाइना स्टेट कम्पनीको प्रतिनिधिलाई प्रमुख जिल्ल्ला अधिकारी लम्सालले निर्माणको काममा ढिलाई हुँदा यात्रु र स्थानीयले सास्ती पाएको हुँदा तत्काल काम अगाडि बढाउन निर्देशन दिनुभएको छ । तीन वर्ष हुँदासम्म अपेक्षित काम हुन नसकेकाले यसप्रति तदारुकताका साथ लाग्नुपर्नेमा जोड दिनुभयो । नारायणगढ–बुटवल सडक योजना नवलपरासी पूर्वका प्रमुख रमेश दृष्टिले काम शुरु गरेको पहिलो र दोस्रो वर्ष कोरोनाका कारणले समस्या भएको र पछिल्लो समय माटोको उपलब्धता कम भएको कारणले सडक विस्तारमा समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो “आफुहरुले कम्पनीको आन्तरिक ब्यवस्थापनमा व्यापक सुधारगरी आबश्यक उपकरण र जनशक्ति थप गरेर कामका लागि अघि बढेका छौं ।” चाइनाबाट आएका नयाँ विभागीय टिमका साथ कम्पनी निर्माणमा जुटेको बताउनुभयो । सडक निर्माणको कामले २३ प्रतिशत पार गरेको, अधिकांश साना कल्भर्ट बनिसकेको, पूर्वको १० देखि १७ किमीसम्म माटो फिलिङ् र साइडको काम भएको दाबी गर्नुभयो । उहाँले १७ किलोदेखि पश्चिम दाउन्नेसम्म सडकमा फिलिङ् गर्न माटोको समस्या रहेकाले स्थानीय निकायहरूसँग माटो प्राप्तिका लागि पहल भइरहेकाले माटो पाएको ठाउँमा काम छिटो अघि बढ्ने आश्वासन दिनुभयो । अहिलेसम्म रुख कटानको काम ९९ प्रतिशत मात्रै सकिएको छ, विद्युत् पोल सार्ने काम ३० प्रतिशत मात्रै पूरा भएको छ, सडक विस्तारमा समस्या भएको उहाँले बताउनुभयो । नारायणगढ–बुटवल सडक योजनाको पूर्वी खण्डका आठ स्थानमा वन्यजन्तुमैत्री पुल निर्माण भइरहेको छ । प्रमुख जिल्ला अधिकारी लम्साल कम्पनीलाई काममा ढिलाइ नगर्न र बाटोलाई धुलोरहित बनाई आवागमन सहज पार्न र यात्रुलाई परिवर्तनको अनुभूति गर्नसक्ने बनाउन चाइनिज ठेकेदारलाई आग्रह गर्नुभयो । प्रजिअ लम्साल केही दिन अगाडि नवलपुर सरुवा भई आउनुभएको हो । ठेकेदार कम्पनीले भने स्थानीय तहहरुसँग समन्वय भइरहेको र साइडमा माटो पुर्नका लागि माटो प्राप्तिका लागि पहल भएकाले काममा प्रगति हुने प्रतिबद्धता जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछाने, जिल्ला प्रहरी प्रमुख भुवनेश्वर तिवारी, राष्ट्रिय अनुसन्धानका प्रकाश शाह, सडक विभाग आयोजना निर्देशनालयका उपआयोजना निर्देशक शोभा गिरी, इन्जिनियर उमेशराज सुवेदी, इन्जिनियर राकेशकुमार झा, पत्रकार महासङ्घ नवलपुरका अध्यक्ष वीरेन्द्र पराजुलीलगायत सरोकारवालाको सहभागिता थियो ।
बलेवा: मध्य पहाडी लोक मार्गको बागलुङ–पोखरा खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । बागलुङ– पोखरा खण्डको स्तरोन्नतिको कामका लागि यातायात बन्द गरेर काम अघि बढाइने भएको हो । मध्य पहाडी राजमार्ग आयोजनाले बागलुङ–पोखरा खण्ड फराकिलो बनाउने कार्य सुरु गरेसँगै कामलाई तीव्रता दिन राजमार्गमा यातायातका साधन बन्द गरेर काम गर्न लागिएको जनाएको छ । आयोजनाका अनुसार प्रत्येक दिन बिहान ११ देखि अपराह्न ३ बजेसम्म र राति ९ देखि बिहान १ बजेसम्म सवारी साधनलाई रोकेर आयोजनाको कामलाई तीव्रता दिइनेछ । रोकिएका सवारी साधनलाई आधा घण्टाको फरकमा सञ्चालनको व्यवस्था मिलाइएको आयोजना कार्यालयले जनाएको छ । पोखरा—बागलुङ राजमार्गअन्तर्गत हाल पोखराको हरिचोकदेखि याम्दी पुलसम्मको सडक स्तरोन्नतिको काम भइरहेको हो । सो खण्डको निर्माणका लागि मोतिदान कन्स्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता गरिएको थियो । चौवारीबाट ५० मिटरअगाडि हेमजातर्फ भिरको उचाइ धेरै भएकाले भिर कटान कार्य भइरहेकाले सडक सुरक्षालाई ध्यानमा राखेर यातायात सञ्चालनमा रोक लगाइएको मध्य पहाडी लोकमार्ग आयोजना कार्यालय कुश्माका प्रमुख नारायणदत्त भण्डारीले बताए । उनका अनुसार उक्त सडकमा चल्ने सवारी साधनलाई वैकल्पिक मार्गको प्रयोग गर्न भनिएको छ । बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङलाई प्रदेशको राजधानी पोखरा र देशको राजधानी काठमाडौँलगायत देशका ठुला सहरसँग जोड्ने मुख्य राजमार्ग भएकाले यहाँका सर्वसाधारण प्रभावित हुनेछन् । यो सडक खण्डमा दैनिक हजारौँ सवारी साधन ओहोरदोहोर गर्ने गरेका छन् ।
काठमाडौँ: रेपिड जेनस् बिजनेस पाटनर्स मिटअप–२०२३ थाइल्याण्डको पुकेटमा सम्पन्न भएको छ । जिनस इनोभेसन लिमिटेड भारतको आधिकारिक बिक्रेता रहेको रेपिड ग्रुप प्रालि काठमाडौंले जिनस ब्राण्डका युपिएस ब्याट्री, सोलार सम्बन्धी सामग्री नेपालभर बिक्री बितरण गर्दै आइरहेको छ । नेपालभरिका ४१ डिलरलाई थाइल्याण्डको पुकेटमा जमघट गराएर जिनस बिजनेस पार्टनर मिट गरेको हो । जिनस इनोभेसन लि. इण्डियाको तर्फबाट प्रतिनिधि हेड इन्टरनेसनल बिजनेस अनुप श्री वास्तव तथा इन्टरनेशनल हेड म्यानेजर प्रमोद दुवेले कम्पनीको तर्फबाट जानकारी गराएका थिए । जिनस इनोभेसनका सीईओ पंकज रासतोगीले भर्चुअल मार्फत् स्वागत तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए । साथै आर एण्ड डि हेड तरुण गुप्ताले जिनस ब्राण्डका उत्पादन, नयाँ ब्राण्डिङ, नयाँ प्रविधिबारे जानकारी गराए । योजना तथा उत्पादन प्रमुख पारमाभिर सिंहले भर्चुअल माध्यमबाट ४१ डिलरलाई फ्याक्चेमा उत्पादन हुने ब्याट्री,युपिएस तथा सोलार प्यानल ब्याट्री भिजिट लाइभ मार्फत जानकारी गराए । नेपालका तर्फबाट रेपिड गु्रप प्रालिले जिनस इनोभेसन लि.का प्रतिनिधि अनुप श्री वास्तवा र प्रमोद दुवेलाई रेपिड गु्रपका डाइरेक्टरद्धय राजु दाहाल, गणेश पौडेल र अध्यक्ष बुद्धिराज तिमिल्सिनाले सम्मान गरेका थिए । साथै, ४१ जना नेपालका डिलरलाई थप सहकार्य र प्रगतिको शुभकामना सहित मायाको चिनो प्रदान गरिएको थियो । साथै, बिक्री पछिको सेवालाई मध्यनजर गरेर हाल काठमाडौं र इटहरीमा सर्भिस सेन्टर रहेको र अबका दिनमा बुटवल, नेपालगञ्जमा समेत सर्भिस सेन्टर राखेर सेवामुलक बिक्री वितरण गर्ने प्रतिवद्धता समेत व्यक्त गरिएको थियो ।