पोखरा: मुस्ताङको लोमान्थाङ गाउँपालिकाद्धारा आयोजित एक हप्ते उद्घोषण तालिम आइतबार सम्पन्न भएको छ । लोमान्थाङका महिलाहरु तथा महिला जनप्रतिनिधीहरुलाई उद्घोषण शिक्षा दिन र नेतृत्व विकासका लागि तालिमको आयोजना गरिएको लोमान्थाङ गाउँपालिकाकी उपाध्यक्ष छ्युमी विष्ट गुरुङले जानकारी दिईन । तालिममो समापन कार्यक्रममा बोल्दै लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसि न्हर्वु गुरुङले तालिममा सिकेका कुरालाई व्यवहारमा लागु गर्न अनुरोध गर्दै लोमान्थाङका महिलाहरुको लागि यो तालिम निकै प्रभावकारी भएको बताए । कार्यक्रममा लोमान्थाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बुद्घिराम उपाध्यायले महिलाहरुको शसक्तिकरणका लागि यो तालिम निकै उपयोगी भएकाले आगामी दिनमा पनि निरन्तरता दिने बताए । लोमान्थाङ गाउँपालिकाकी उपाध्यक्ष छ्यूमी विष्ट गुरुङको अध्यक्षतामा भएको तालिममा प्रशिक्षार्थीहरुले पनि आफ्ना अनुभव र सिकाई बारे मन्तव्य राखेका थिए । सञ्चारकर्मी गोविन्द थापा सिञ्जाली र सुस्मा पौडेलले सहजीकरण गरेको तालिमको समापन समारोह लोमान्थाङ गाउँपालिकाकी उपाध्यक्ष छ्यूमी विष्ट गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो । यसैवीच एक समारोहका बीच लोमान्थाङ गाउँपालिकाले दिव्यदिप माध्यमिक विद्यालय लोमान्थाङबाट एसईई परीक्षा उत्तिर्ण गरी उच्च शिक्षा अध्ययरत १६ जना विद्याथीहरुलाई जनही ५० हजारका दरले छात्रवृति समेत प्रदान गरिएको थियो ।
पोखरा :अभिनेता पल शाहविरूद्धको बाल यौन दुराचारको मुद्दामा उच्च अदालत पोखराले दुवै पक्षलाई झिकाउने आदेश दिएको छ। उच्च अदालत पोखराका रजिष्ट्रार श्रीलाल पौडेलले शाहलाई १५ दिनभित्र झिकाउने आदेश भएको जानकारी दिए। उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषि राजभण्डारीको संयुक्त इजलासले शाहको मुद्दामा सुनुवाइ गर्दै सोमबार प्रत्यर्थी झिकाउने आदेश दिएको हो। नाबालिगलाई बालयौन दुराचार गरेको आरोपमा जिल्ला अदालत नवलपरासीले शाहलाई साढे २ वर्ष कैद र पीडितलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो। सो फैसलाविरूद्ध जिल्ला सरकारी वकिल कार्यालय र शाह दुवै पक्षले उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए। १७ वर्षीया नाबालिग गायिकामाथि जबरजस्ती करणी आरोपमा शाहमाथि जिल्ला अदालत नवलपरासी र जिल्ला अदालत तनहुँमा मुद्दा दायर भएको थियो। सो मुद्दामा अभिनेता शाहले जिल्ला अदालत तनहुँबाट सफाइ पाइसकेका छन्। बलात्कार आरोपमा शाह गत फागुन १५ गते पक्राउ परेका थिए। हाल उनी तनहुँ कारागारमा छन्।
जाजरकोट: ठेक्का लिएको सात वर्षसम्म पुल निर्माण नहुँदा जाजरकोट नलगाड नगरपालिका–१० र रुकुम पश्चिम आठबीसकोट–५ स्यालाखदी जोडिन सकेको छैन । वि.सं २०७३ असार ३१ गते मृत सञ्जीवनी गाल्वा जेभी बसुन्धारा काठमाडौंले भेरी नदीमा पुल निर्माण गर्ने भन्दै सडक डिभिजन चौरजहारीसँग सम्झौता गरेको थियो । पछिल्लो पटक थपिएको म्याद २०७७ पुस ३० गतेभित्र निर्माण हुनुपर्ने भए पनि हालसम्म सकिएको छैन । सडक डिभिजन चौरजहारीले २०७९ कात्तिक २९ गते ठेक्का किन नतोड्ने भन्दै अन्तिम पत्र पठाएको डिभिजन प्रमुख आशुतोष कर्णले बताउनुभयो । मौखिक तथा लिखित पटक–पटक ताकेता गर्दा पनि जेभीले सम्झौता अनुसारको काम नगर्दा आफूहरू हैरान भएर अन्तिम पटक पत्र लेखेको प्रमुख कर्णको भनाइ छ । तोकिएको समयमा स्पष्टीकरण पेस नभएमा सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ बमोजिम कारबाही गरिने पत्रमा उल्लेख छ । यस अवधिमा केही काम भए पनि मजदुरले ज्यालासमेत नपाएको नलगाड नगरपालिका –१० का सुरेन्द्र थापाले बताउनुभयो । रुकुम पश्चिम आठबीसकोट नगरपालिका– ५ गोतामकोटका करवीर बस्नेतले काम गरेको रकम नपाएको गुनासो गर्नुभयो । गोतामकोटकै गुमलाल विकको नेतृत्वमा काम गरेका मजदुरले १० लाख नपाएको बताएका छन् । स्थानीय मजदुर जयलाल भण्डारीको नेतृत्वमा काम गरेको मजदुरले रु ६ लाख रकम नपाएको बताउनुभयो । मृत सञ्जीवनी गाल्वा जेभी बसुन्धारा काठमाडौंको नामबाट आफूले काम गर्ने भन्दै छेडागाड नगरपालिकाका नगरप्रमुख रत्न खड्का बैङ्क ग्यारेन्टी समेत राखी काम सुरु गरेका थिए । तर सम्झौता मितिभन्दा बढी समय लगाएपछि पेश्की रकम कार्यालयले फिर्ता लिएपछि काम नगर्ने भन्दै प्रमुख खड्काले काम छोडेका थिए । कूल रु नौ करोडमा उक्त पुल निर्माण गर्ने सम्झौता भएको थियो ।
काठमाडौं: चालु आर्थिक वर्ष २०७९/८० मा विदेशिने युवाको संख्यामा भारी वृद्धि भएको छ । यसका कारण रेमिट्यान्स आप्रवाह पनि गत वर्षको तुलनामा उच्च दरमा सुधारिएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिना अर्थात् पुससम्म रेमिट्यान्स (विप्रेषण) आप्रवाह झण्डै २५ प्रतिशतले बढेको छ । पुसम्म गत वर्षको तुलनामा रेमिट्यान्स आप्रवाह २४.३ प्रतिशतले बढेर ५ खर्ब ८५ अर्ब ८ करोड रुपैयाँ बराबर पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा पनि विप्रेषण आप्रवाह १३.९ प्रतिशतले बढेर ४ अर्ब ५० करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.७ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ६४.६ प्रतिशतले बढेको छ , पुसम्म २ लाख ७५ हजार ६४३ जना श्रमिक नयाँ भिसा लिएर विदेशमा पुगेका छन् । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ९.५ प्रतिशतले बढेर १ लाख ४२ हजार ५४८ पुगेको छ ।
काठमाडौं : सेयर बजार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ४.५७ अंकले बढेर २१००.६५ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स ०.४४ प्रतिशतले बढेर ४०२.०१ विन्दुमा अडिएको छ। यसदिन २५९ कम्पनीको ३९ लाख २२ हजार २१६ कित्ता सेयर १ अर्ब ४७ करोड ४१ लाख ६१ हजार ६४५ रूपैयाँमा खरिदबिक्री भयो। कारोबार रकम अघिल्लो दिन आइतबारको तुलनामा घटेको हो। आइतबार नेप्से १.५४ अंकले बढेको थियो। सो दिन १ अर्ब ९३ करोड १७ लाख मूल्य बराबरको सेयर कारोबार भएको थियो। आज २९ हजार ८४६ पटक सेयर कारोबार भयो। सामान्य अंकले बढेको सेयर बजारमा एउटा मात्रै कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्यो। आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको हो। कारोबार रकमका आधारमा एनआईसी एसिया बैंक शीर्षस्थानमा रह्यो। सो बैंकको ६ करोड ४५ लाख ७३ हजार ६१ रूपैयाँको सेयर कारोबार भयो। युनिभर्सल पावर कम्पनीको ५ करोड र नेपाल लाइफ इन्स्योरेन्सको ४ करोड मूल्य बढिको सेयर कारोबार गरी क्रमश दोस्रो र तेस्रो स्थानमा रहे। कारोबारमा आएका १३ उपसमूहमध्ये ७ को मूल्य बढ्यो भने ६को घट्यो। बैंकिङ,फाइनान्स,होटल्स एन्ड टुरिजम,हाइड्रोपावर,इन्भेस्टमेन्ट,मनु एन्ड प्रो र माइक्रो फाइनान्सको सूचक बढ्दा डेभलपमेन्ट बैंक,लाइफ इन्स्योरेन्स,म्युचुअल ,ननलाइफ इन्स्योरेन्स र ट्रेडिङ उपसमूहको सूचक घटेको हो।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको छ । सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री प्रचण्डलाई ती दुबै मन्त्रालयको जिम्मेवारी दिनुभएको हो । आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट शिक्षा मन्त्री शिशिर खनाल र श्रममन्त्री डोलप्रसाद अर्यालले आइतबार राजीनामा दिनुभएको थियो । यसअघि प्रधानमन्त्री प्रचण्डले युवा तथा खेलकुद र वन तथा वातारण मन्त्रालयकाे पनि जिम्मेवारी लिनुभएको थियो । त्यस्तै, तत्कालीन उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पुरानाे नागरिकता कायम नरहेकाले उहाँको सांसद पद बदर भएको सर्वोच्च अदालतको फैसला गरेपछि लामिछानेले राजीनामा दिनुभएको थियो । लामिछानेले राजीनामा दिनुभएपछि गृह मन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री प्रचण्डले नै सम्हाल्दै आउनुभएको छ ।
काठमाडौं: राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभालाई प्रभावकारी बनाउन भूमिका खेल्ने बताउनुभएको छ ।सोमबार राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित भएसँगै सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उपाध्यक्ष अर्यालले राष्ट्रिय सभालाई प्रभावकारी बनाउन भूमिका खेल्ने बताउनुभएको हो । ‘‘मेरो भूमिका राष्ट्रिय सभालाई प्रभावकारी बनाउने कुराहरुमा एउटा एजेण्डा त्यो हो । प्रभावकारी नै छ पनि । सबै अनुभवी माननीयज्यूहरु हुनुहुन्छ । एउटा भोगाइ, अनुभव सबै बटुलिसकेको जस्तो लाग्छ मलाई राष्ट्रिय सभामा ।उहाँले भन्नुभयो, ‘‘त्यहाँ परिपक्व व्यवहार नै हुन्छ होला । तथापि त्यसमा अझ सहजीकरण के गर्दाखेरी अझ प्रभावकारी बनाउन सकिन्छ ? महिला माननीयज्यूहरुका बीचमा सहकार्यलाई कसरी विकास गरेर जाने यी तमाम चिजहरुमा सोच छ । मैले ०६२÷०६३ सालको आन्दोलनका अगुवाइ पनि गरेँ र त्यो बेलामा मैले एउटा पहल पनि गरेको थिएँ ।’’ उहाँले राष्ट्रिय सभाको भूमिकालाई प्रभावकारी बनाउनका लागि सहजीकरण गर्ने बताउनुभयो । उपाध्यक्ष अर्यालले राष्ट्रिय सभामा महिला सांसदहरुबीचको सहकार्यलाई विकास गर्दै जाने बताउनुभयो । आफू जिम्मेवारीमा रहँदासम्म कुनै पार्टी विशेषको पक्षमा नलागी समान व्यवहार गर्ने उहाँको भनाइ छ । त्यस्तै, महिलाहरुका लागि नयाँ नियम, कानुन बनाउने सन्दर्भमा पहलकदमी लिने उहाँले बताउनुभयो । ‘‘देशभरिका महिलाहरुलाई सबै पार्टीका एकजुट गराएर लाने । मलाई आज सौभाग्य पनि हो उहाँहरुले भन्नुभयो, मलाई उठ्नु भन्नुभयो मलाई हजुरको विरुद्ध लड्न मन लागेन । सर्वसम्मत गराउनुपर्छ भनेर हामी महिलाहरु नै लाग्यौँ भन्नुभयो । त्यो खुशीको कुरा हो । म यहाँ रहँदाखेरी म यो पार्टी, ऊ पार्टीभन्दा पनि किनभने हामी सबैको योगदान छ, यो देशमा परिवर्तन लिएर आउने हरेक पार्टीका महिलाहरुले जुन योगदान गर्नुभएको छ ।,’’ उपाध्यक्ष अर्यालले भन्नुभयो, ‘‘कति यो ठाउँसम्म नआउँदै हराउनुभयो । सिद्दिनु भयो । कति शहीद हुनुभयो । ती तमामलाई सम्झेर हामीले प्रतिबद्धताका साथ काम गर्नेछौँ । बाँकी महिलाहरुका लागि के कति काम, नयाँ नियम कानुनह बनाउनसक्ने कुरामा पहलकदमी लिने र सहकार्यलाई बढाएर जाने । त्यसको नीतिगत पहलहरुमा भूमिका खेल्ने ।’’ उपाध्यक्ष अर्यालले आफूले विगतमा महिलाहरुका निम्ति गरेको कामका कारण सबै पार्टीका महिलाहरुले आफूलाई सर्वसम्मत रुपमा निर्वाचित गराउन भूमिका खेलेकाे बताउनुभयो । आफूलाई सर्वसम्मत बनाउने कुरामा महिला सांसदहरुले आफ्नो पार्टीलाई पनि प्रभावमा पार्न सकेकाले आफू निर्विरोध हुन सकेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘‘हजुर सर्वसम्मत हुनुपर्छ भनेर उहाँहरुले नै धेरै पहल गर्नुभयो र आ–आफ्नो पार्टीका नेताहरुलाई कन्भिन्स् गर्ने कुरा जे भयो मलाई लाग्छ, मेरो सन्दर्भमा उहाँ अलि बायस हुनुहुन्न, पार्टी बायस पनि हुनुहुन्न र समग्रमा नेतृत्व गर्न सक्नुहोला भन्ने सोचले सायद मलाई सहयोग पनि गर्नुभयो मलाई । मभन्दा सक्षम नेत्रीहरू हुनुहुन्छ त्यहाँ । एउटा त्यो सदाशयता । मलाई सर्वसम्मत बनाउने कुरामा पार्टीलाई पनि उहाँहरुले प्रभावमा पार्नुभयो र म निर्विरोध हुने वातावरण बन्यो ।’’ उपाध्यक्ष अर्यालले आफूले कसैको पक्ष नलिई काम गर्ने कुरामा सबैको विश्वास रहेको बताउनुभयो ।
पोखरा: ‘जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार’ बाट पत्रकार रेम विक र राजाराम पौडेल पुरस्कृत हुने भएका छन् । चलचित्र पत्रकार संघ नेपाल, कास्कीले गण्डकी प्रदेशमा कार्यरत चलचित्र पत्रकारहरुमध्येबाट बर्षेनी एकजनालाई प्रदान गर्ने गरि यो पुरस्कार स्थापना गरेको हो । लामो समय चलचित्र पत्रकारितामा बिताएका रेम र राजाारामलाई क्रमशः जित प्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार २०७८ र ०७९ प्रदान गर्ने निर्णय भएको संघले जनाएको छ । रेम चलचित्र पत्रकार संघ कास्कीको पूर्व अध्यक्ष हुन् भने राजाराम संघका सल्लाहकार हुन् । आगामी माघ २८ गते संघको पाँचौ अधिवेशनको अवसरमा पुरस्कार प्रदान गरिने संस्थाले जनाएको छ । संघका अनुसार यो पुरस्कारको राशी २५ हजार रुपैयाँ रहेको छ । ‘हामीले यो पुरस्कारलाई ऐतिहासिक मानेका छौँ । पहिलोपटक हामीले हाम्रै संस्थाका संस्थापक अध्यक्षलाई पुरस्कृत गरेका थियौं । दोस्रो र तेस्रो पुरस्कार संघका पूर्व अध्यक्ष र सल्लाहकारलाई सम्मान गर्न पाउँदा खुशी लागेको छ ।’ चलचित्र पत्रकार संघ नेपाल, कास्कीका कार्यबाहक अध्यक्ष सन्तोष सुवेदीले भने–‘र, यो पुरस्कार स्थापना गर्न हामीलाई सहयोग गर्ने पोखराको पुरानो फिल्म व्यवसायी घराना जितप्रसाद द्वाको परिवारलाई पनि विशेष धन्यबाद दिन चाहन्छौँ ।’ सुवेदीले यो पुरस्कार पुराना चलचित्रकर्मी जितप्रसाद द्वाले नेपाली चलचित्र क्षेत्रमा पु¥याएको योगदानलाई चिरकालसम्म सम्झिरहन र यही क्षेत्रमा कलम चलाईरहेका पत्रकारहरुलाई थप हौसला प्रदान गर्न स्थापना भएको बताए । संघले प्रदान गर्न लागेको चलचित्र पत्रकारिता पुरस्कारको प्रतिभा छनौटका लागि नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष बिमला भण्डारीको सँयोजकत्वमा संघकै संस्थापक अध्यक्ष श्रीराम सिग्देल र गुरुङ फिल्म एशोसियसन नेपाल जिफानका अध्यक्ष गुञ्ज गुरुङ सदस्य रहेको समिति गठन गरेको थियो । सोही छनौट समितिले सिफारिश गरेअनुसार रेम र राजारामलाई पुरस्कार प्रदान गर्ने गरि संघको माघ १९ गते बसेको कार्यसमिति बैठकले निर्णय गरेको थियो । जितप्रसाद द्वा चलचित्र पत्रकारिता पुरस्कार निवर्तमान अध्यक्ष अरुण गिरी नेतृत्व कार्यसमितिले २०७७ सालदेखि प्रदान गर्न सुरु गरेको थियो । पहिलो पुरस्कार संघका संस्थापक अध्यक्ष श्रीराम सिग्देललाई प्रदान गरिएको थियो । गिरीले २०७९ मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कास्की क्षेत्र नं. २(२) बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएपछि संस्थाबाट राजीनामा दिएका थिए । २०६५ सालबाट बिग एफएमबाट पत्रकारिता शुरु गरेका रेम र २०६० सालबाट हिमचुली एफएमबाट पत्रकारिता शुरु गरेका राजाराम हालसम्म पनि चलचित्र पत्रकारितामा क्रियाशिल छन् ।हाल रेम मेनसमाचार डटकम र राजाराम रेडियो अन्नपूर्णमा आबद्ध छन् । पुरस्कारदाता द्वा परिवारले चलचित्रको उत्थानका लागि निरन्तर कलम चलाउने पत्रकारहरुलाई पुरस्कृत गर्न आफ्नो परिवारको नाममा पुरस्कार स्थापना गर्न पाउँदा निकै खुशी लागेको बताएको छ । ‘हामी तेस्रो पुस्तासम्म यही चलचित्र व्यवसायमै छौँ । र, चलचित्रकर्मीलाई पत्रकारिताको माध्यमबाट सदैव सहयोग गर्ने पत्रकारहरुलाई हौसला प्रदान गर्ने गरि पुरस्कार प्रदान गर्ने चलचित्र पत्रकार संघको अभियानसँग जोडिन पाउँदा हामीलाई खुशी लागेको छ ।’ पुरस्कारदाता द्वा परिवारका सदस्य तथा मिडटाउन सिनेमाज्का संचालक उत्तम द्वाले भने–‘चलचित्र पत्रकारहरुसँगको यो सहकार्य हाम्रो परिवारले सँधै गरिरहनेछ ।’ पुरस्कारदाता जितप्रसाद द्वा पोखराका पुराना चलचित्रकर्मी हुन् । द्वाले २०३६ सालमा बुटवलमा कालिका चलचित्र मन्दिर संचालन गरि चलचित्र व्यवसायमा हात हालेका थिए । हाल उनको नाती पुस्ताले यो व्यवसायलाई विस्तार गरिरहेको छ । पोखराको पुरानो चलचित्र घर ‘बिन्दबासिनी हल’सँगै उनकै नेतृत्वमा वाराही ‘क’, ‘ख’, श्रीकृष्ण र मिडटाउन सिनेमाज् हाल संचालनमा छन् । त्यो बाहेक नेपालकै अग्रणी चलचित्र वितरण कम्पनी ‘एफडी’ पनि द्वा परिवारले नै संचालन गरेको कम्पनी हो ।
जनकपुरधाम : सर्लाहीको चन्द्रनगर गाउँपालिकाले 'बालिका सम्मेलन २०७९' गर्ने भएको छ। चन्द्रनगर गाउँपालिकाले ऐतिहासिक तथा पर्यटकीय नाढीमन ताल परिसरमा सम्मेलन हुने भएको हो। नाढीमन ताललाई प्रदेश र देशव्यापी रूपमा चिनाउने तथा बालविवाह अन्त्यका लागि गाउँपालिकामा सन् २०३० सम्ममा बाल विवाहको अन्त्य विषय केन्द्रित राष्ट्रिय स्तरको सम्मेलन आयोजना हुन लागेको हो। २०७९ फाल्गुन २० गते शनिबार आयोजना हुने बालिका सम्मलन चन्द्रनगर गाउँपालिकाको पहल र आयोजनामा सञ्चालित हुने अध्यक्ष राजकुमार महतोले जानकारी दिए। अन्नपूर्णसँग कुरा गर्दै महतोले भने, ‘यस राष्ट्रिय स्तरको बालिका सम्मेलनमा सहभागी हुन र सहकार्य गर्न इच्छुक संस्था र व्यक्तिलाई गाउँपालिकामा सम्पर्क गर्नुहुन सादर आग्रह गर्दछौं।’ सन् २०३० सम्ममा बाल विवाहको अन्त्य जस्तो महत्वपूर्ण राष्ट्रिय दिगो विकास लक्ष्य र अन्तर्राष्ट्रिय प्रतिवद्धता पूरा गर्दै नेपालको बालिकालाई सक्षम बनाउने उद्देश्यमा योगदान गर्न सम्मेलन आयोजना गर्न लागेको गाउँपालिका अध्यक्ष राजकुमार महतोले बताए। उनले भने, ‘देशभरिका बालिका बोलाउन लागेका हौं। देशभरका बालिका बोलाऔं, अभियानमा अन्य संघ संस्थासँग समेत सहकार्यको पहल भइरहेको छ।’ उनका अनुसार सम्मेलनमा पालिका, जिल्ला, प्रदेश र राष्ट्रिय स्तरको बहुक्षेत्रीय सरोकारवालाहरूको सहभागिता र चारवटै तहका बालविवाह, दाइजो र शिक्षासम्बन्धी सवालहरू केन्द्रित प्राविधिक संवाद सञ्चालन हुनेछ।