काठमाडौं: सांसद धनराज गुरुङले सरकारले जनतालाई सेवा दिन कन्जुस्याई गरेको बताएका छन्। नेपाली कांग्रेसका नेतासमेत रहेका सांसद गुरुङले नेताको आचरणकै कारण मुलुक बन्न नसकेको भन्दै नेता नै सच्चिनुपर्ने बताए। नेताको व्यवहार नसच्चिएसम्म नेपालमा भ्रष्टाचार नरोकिने बताए। उनले सरकारले जनतालाई सेवा दिन सरकारी निकाय गम्भीर नभएको भन्दै उनले सरकारी सुविधा पनि नेताका लागि मात्रै भएको बताए। उनले भने, 'गरिब जनताको स्वास्थ्य उपचार तथा अरु कुनै कामका लागि आर्थिक सहयोग दिनुपर्यो भने सरकारले पालिकाको सिफारिस ल्याउ भन्छ। सिफारिस ल्याए पनि निकासा हुँदैन। तर नेताका लागि कुनै सिफारिस चाहिँदैन सजिलै पाउँछ। यो अवस्था किन ? यसलाई सुधार गर्नुपर्छ।' गोरखापत्र अनलाइन
काठमाडौं: श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने नेपालीलाई कानुनी व्यवस्था विपरित ठगी गरे तत्काल कारबाही गर्ने बताउनुभएको छ। आइतबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अर्यालले कुनै पनि म्यानपावर र व्यक्तिगत रुपबाट वैदेशिक रोजगारीमा जाने नेपालीलाई ठगी गरे सरकारले कठोरतापूर्वक तत्काल कारबाही गर्ने बताउनुभएको हो। उहाँले सरकारले सुध्रन चाहने म्यानपावर व्यवसायीलाई सुध्रनको लागि समय दिएको पनि बताउनुभयो। उहाँले सुध्रन दिएको समयभित्र सुधार नभए सरकारले कानुनी कारबाही गर्ने बताउनुभयो। उहाँले मन्त्रालय ठगी गर्ने म्यानपावरलाई कारबाही गर्न कसैको दबाबबाट पछाडि नहट्ने बताउनुभयो। मन्त्री अर्यालले पछिल्लो समय म्यानपावर संस्थाको नामबाट भन्दा व्यक्तिगत रुपमा पैसा लिएर ठगी गरेका गुनासो बढेकाले मन्त्रालयले त्यही अनुसार अनुसन्धान गरिरहेको बताउनुभयो। उहाँले वैदेशिक रोजगार क्षेत्रका समस्या समाधानको लागि मन्त्री भएर मन्त्रालयमा प्रवेश गरेदेखि लागिपरेको जिकिर गर्नुभएको छ। मन्त्री अर्यालले भन्नुभयो, ‘‘म्यानपावर र व्यवसायीलाई सुध्रिनको लागि समय दिन्छौं। दिएको समयमा पनि नसुध्रिए निर्मम भएर मन्त्रालयले कारबाही गर्छ। कारबाही श्रम, रोजगारी ऐनमा जे व्यवस्था गरेको छ त्यो कारबाही गर्छौं। वैदेशिक रोजगारीमा पठाउने नाममा नागरिकलाई ठगी गर्ने म्यानपावर र व्यवसायीलाई कारबाही गर्न कसैले रोकेर मन्त्री र मन्त्रालय रोकिँदैन। म मन्त्री भएर मन्त्रालयमा भएसम्म यस्तो काम हुँदैन। म्यानपावरले ठगी गरेको सुनेको छु तरपनि कानुनले सिधा गएर आक्रमण गर्न दिँदैन। कानुनी रुपमा कारबाही गर्ने हो। त्यसमा मैले काम गरिरहेको छु।’’ मन्त्री अर्यालले श्रम मन्त्रालयमा कुनै पार्टीको मन्त्री नभएर तीन करोड नेपाली जनताको मन्त्रीको रुपमा मन्त्रालयमा काम गर्न आएको बताउनुभयो। उहाँले मन्त्रालयमा सम्पूर्ण मापदण्ड पूरा गरेर मन्त्री भएर आएको भन्दै श्रममन्त्री भएर मन्त्रालयमा रहँदासम्म पार्टीको मन्त्री नभएर जनताको काम गर्ने प्रतिबद्धता जनाउनुभयो।
काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक पार्टी कार्यालयमा सुरु भएको छ । यसअघि शनिबार साँझ बसेको निर्णयक भनिएको बैठक निष्कर्षविहीन भन्दै आज (आइतबार)का लागि तय भएको थियो । संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकलगत्तै सभापति रवि लामिछानेले विशेष पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ । पार्टी कार्यालय बसुन्धारामा आइतबार दिउँसो साढे १ बजे सभापति लामिछानेले विशेष पत्रकार सम्मेलन गर्न लाग्नुभएको हो । चितवन–२ बाट निर्वाचित लामिछानेले नागरिकता विवादमा दोषी ठहर भएपछि उक्त पद गुमाउनुभएको छ । पुनः नागरिकता लिनुभएपछि उहाँ गैरसांसद गृहमन्त्री बन्ने कसरतमा हुनुहुन्छ । आजै सभापति लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नुभएको छ ।
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर राणाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनीप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । प्रधानमन्त्रीले शोकसन्तप्त परिवार, शुभेच्छुकमा गहिरो समवेदना प्रकट गरेका छन् । प्रधानमन्त्रीले सामाजिक सञ्जालमार्फत् भने “नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमशेर जबराको ९५ वर्षको उमेरमा दुखद् निधन भएकोमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । सम्पूर्ण शोकसन्तप्त परिवार, शुभेच्छुकमा गहिरो समवेदना प्रकट गर्दै राष्ट्रका निम्ति उनले पुर्याउनुभएको योगदानप्रति उच्च सम्मान व्यक्त गर्दछु ।” नेपाल राष्ट्र बैंकका संस्थापक गभर्नर एवम् पूर्व अर्थसचिव राणाको उपचारको क्रममा आज बिहान निधन भएको हो ।
काठमाडौँ: साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको दोस्रो खेलमा नेपालले आज आइतबार भुटानसँग प्रतिस्पर्धा गर्ने भएको छ । ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुने नेपाल र भुटानबीचको खेल दिउँसो ३ः१५ बजे सुरु हुनेछ । आजको खेलमा नेपाल पहिलो जित निकाल्ने योजनामा छ । पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको थियो । यता पहिलो खेलमा भारतसँग फराकिलो गोल अन्तरले पराजित भएको भुटान पनि पहिलो जित निकाल्ने योजनमा छ ।भुटान पहिलो खेलमा भारतसँग १२–० ले पराजित भएको थियो । प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।
काठमाडौं : राष्ट्रियसभा उपाध्यक्षका लागि सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालले उम्मेदवारी दिने भएकी छन्। नेपाली कांग्रेसले राष्ट्रियसभामा उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेको छ। योसँगै राष्ट्रियसभा उपाध्यक्षमा अर्याल निर्विरोध चयन हुने पक्का भएको छ। उपाध्यक्षको मनोनय आज हुँदैछ। राष्ट्रियसभामा हाल ५८ सांसद छन्। जसमा एमालेबाट १८ र माओवादीबाट १६ सांसद छन्। नेपाली कांग्रेसका ११, नेकपा एकीकृत समाजवादीका ७, लोकतान्त्रिक समाजवादी पार्टीका १ र जनमोर्चाको १ सिट गरी २० सिट रहेको छ। अध्यक्षले मतदान नगर्ने भएकाले बहुमतका लागि २९ सांसद आवश्यक हुन्छ।
काठमाडौं: नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन भएको छ। थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज बिहान साढे ६ बजे राणाको निधन भएको हो। ९५ वर्षीय राणा निमोनिय संक्रमण भएपछि अस्पताल भर्ना भएका थिए। लामो समयदेखि स्वासप्रश्वासको समस्या झेल्दै आएका राणा उपचारका लागि केही दिनअघि नर्भिक अस्पताल भर्ना भएका थिए। नेपाल राष्ट्र बैंकका संस्थापक राणा नेपालको पहिलो अर्थसचिवसमेत हुन्। पछिल्लो समय उनी नागरिक समाजको अगुवाका साथै आमनिर्वाचन पर्यवेक्षक समितिका संस्थापकका रूपमा क्रियाशील थिए। १४ वर्षमा मेट्रिक पास गरेका उनी राष्ट्र बैंकको गभर्नरको नियुक्ति हुँदा २९ वर्ष पुगेका थिए। उनले सन् १९६२ देखि १९८६ सम्म संयुक्त राष्ट्र विकास कार्यक्रमअन्तर्गत विभिन्न देशमा आवासीय प्रतिनिधिका रूपमा काम गरेका थिए। राणाको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ। उनका दुई छोरा र दुई छोरी छन्।
टीकापुर: सरकारी अनुदानसहित करिब चार करोड रुपियाँको लागतमा टीकापुरमा बनेको केरा पकाउने च्याम्बर प्रयोगविहीन अवस्थामा छ। वि.सं. २०७६ फागुनमा निर्माणसम्पन्न भएको च्याम्बर परीक्षण गरेर बन्द भएको थियो। गत वर्ष च्याम्बर सञ्चालन गरे पनि घाटा भएपछि सञ्चालकले बन्द राखेका छन्। च्याम्बरमा कर्णाली कृषि सेवा प्रालिका तीन जना सञ्चालकका २०/२० लाख रुपियाँको सेयर र नेपाल बैङ्क लिमिटेडको एक करोड रुपियाँ ऋण लगानी छ भने रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि एकाइको एक करोड ९० लाख रुपियाँ अनुदान पनि खर्च भइसकेको छ। च्याम्बरका नाममा ६० लाख रुपियाँको १० कट्ठा जग्गा पनि किनिएको छ। च्याम्बरमा तीस टन क्षमताका पाँचवटा कोठा छन्। केरा पकाउन पाँच दिन लाग्ने भएकाले हरेक दिन पाकेका केरा निकाल्न पाँचवटै च्याम्बर चलाउनुपर्छ। च्याम्बर ठूलो र बजार सानो भएकाले सञ्चालन गर्न कठिनाइ भएको सञ्चालक शिलाकान्त झा बताउनुहुन्छ। “तीस टन केरा स्थानीय बजारमा मात्रै खपत हुँदैन, पकाएर काठमाडौँसम्म लैजाँदा बिग्रिन थाल्यो,” सञ्चालक झा भन्नुहुन्छ, “चलाउँदा घाटा हुने देखेपछि बन्द राखेका छौँ।” मुख्य सञ्चालक भानु बजगाईंको मृत्युपछि अर्का सञ्चालक वीरेन्द्र ढुङ्गाना आफू अलग भइसकेको र लगानीको हिसाबकिताब लिन बाँकी रहेको बताउनुहुन्छ। नेपाल विद्युत् प्राधिकरण टीकापुर वितरण केन्द्रका प्रमुख माधव महतका अनुसार प्रालिले २५ लाख रुपियाँ महसुल बुझाउन बाँकी रहेकोले लाइन काटेर कालोसूचीमा राखिएको छ। केरा उत्पादक किसान टेकेन्द्र धामी गत वर्ष च्याम्बर चलेपछि किसानले ३५ लाख रुपियाँको केरा दिएको र मूल्य नपाएको बताउनुहुन्छ। टीकापुर नगरपालिकाका उपप्रमुख खड्कबहादुर शाहले आफ्नो ठाउँमा उद्योग सञ्चालन होस् भनेर सहयोग गरेको उल्लेख गर्दै च्याम्बर सञ्चालनबारे सञ्चालकसँग छलफल गर्न बाँकी रहेको बताउनुभयो। योजना थप्दै झा सुरुका दुई सञ्चालक निष्क्रिय भइसकेपछि एक्ला सञ्चालक शिलाकान्त झा भने च्याम्बर चलाउन नयाँ योजना थप्ने तयारीमा हुनुहुन्छ। “च्याम्बरमा पकाएको केरा स्थानीयस्तरमै प्रयोग गर्न केराको पाउडर बनाउने र केराको वाइन बनाउने योजना छ,” झा भन्नुहुन्छ, “केरा छिल्ने र पेल्ने मेसिन जडान गरेर वैशाखसम्म वाइन उत्पादन गर्ने र केराको धुलोमा त्यत्तिकै मात्रामा गेडागुडीको धुलो थपेर असारसम्म बच्चाका लागि पोषण उत्पादन गर्ने तयारीमा छौँ।” उहाँका अनुसार वाइन बनाउने प्लान्ट बनाउन एक करोड रुपियाँ लाग्नेछ। यसका लागि पाँच लाख रुपियाँ भारतीय कम्पनीलाई बैना दिइसकेको उहाँले बताउनुभयो। यस क्षेत्रमा करिब ७०० बिघामा केरा खेती भइरहेको छ।
काठमाडौं: रिक्त रहेको राष्ट्रियसभा उपाध्यक्षका लागि आज मनोनयन दर्ता हुँदैछ। संघीय संसद सचिवालयका अनुसार दिउँसो १ बजेदेखि ४ बजेसम्म संसद भवन नयाँ बानेश्वरमा उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ। संघीय संसदका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार ४ः १५ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र भोलि २३ गते निर्वाचन गर्ने कार्यक्रम रहेको छ। राष्ट्रियसभा उपाध्यक्ष रहेकी शशीकला दाहालको कार्यकाल सकिएको लामो समयसम्म उपाध्यक्ष पद खाली रहेको थियो। राष्ट्रिय सभाको उपाध्यक्षका लागि सत्ता पक्ष र प्रतिपक्ष कसैले पनि उम्मेदवार तय गरेका छैनन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उम्मेदवार दिने जनाए पनि नाम सार्वजनिक गरेको छैन यता सत्तारुढ गठबन्धनले पनि उम्मेदवार टुंगो लगाएका छैनन्। यसैबीच राष्ट्रिय सभाको उपाध्यक्षमा साझा उम्मेदवार चयन गर्नका लागि बिपक्षी दलहरुको बैठक बस्दैछ। हिजो शनिबार सिंहदरवारस्थित नेपाली कांग्रेस संसदीय दलको बैठकमा साझा उम्मेदवार चयन गर्ने बारेमा प्रारम्भिक छलफल भएको थियो। उक्त छलफललाई निष्कर्षमा पुर्याउन आज कांग्रेसले पुनः बैठक बोलाएको छ।