काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले शनिबार विशेष मनसुन बुलेटिन जारी गर्दै आगामी दुई दिन देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। ...

काठमाडौं:  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपराष्ट्रपति पदको निर्वाचनमा मतदान गर्नुभएको छ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा रहेको मतदान केन्द्रबाट प्रधानमन्त्री प्रचण्डले मतदान गर्नुभएको हो ।   यसैगरी, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले पनि उपराष्ट्रपति पदको निर्वाचनमा मतदान गर्नुभएको छ ।   उपराष्ट्रपतिको निर्वाचनअन्तर्गत मध्याह्न १२ बजेसम्म ६१० मत खसेको छ । सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले संघतर्फ २१८ र प्रदेशतर्फ ३९२ मत खसेको जानकारी दिनुभयो ।   उपराष्ट्रपतिको निर्वाचनका लागि शुक्रबार बिहान १० बजेदेखि सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा मतदान सुरु भएको हो । निर्वाचनमा नेकपा (एमाले) का अष्टलक्ष्मी शाक्य (बोहरा), जनमत पार्टीका ममता झा र जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव उम्मेदवार हुनुहुन्छ ।   अपराह्न ३ बजेसम्म मतदानको समय तोकिएको छ । सङ्घीय संसद्का सदस्य र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्र तय गरिएको छ । निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभाका पाँच सय ५० सांसद मतदाता हुनुहुन्छ । मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु हुने र आजै साँझसम्म मतपरिणाम सार्वजनिक गरिने बताइएको छ  ।

ढल्केबर: धनुषाको मिथिला नगरपालिका–९, बडहरीका २५ वर्षीय युवा शङ्कर महतोमाथि शुक्रवार बिहान छुरा प्रहार भएको छ । छुरा प्रहारबाट महतो गम्भीर घाइते भएका छन् ।    उनको उपचार धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेजमा भइरहेको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक कविन राईले छुरा प्रहार घटनाको पुष्टि गर्नुहुँदै अनुसन्धानको क्रममा तीन जनालाई नियन्त्रणमा लिइएको बताउनुभयो ।    उहाँले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो । 

पोखरा:    जिल्ला समन्वय समिति कास्कीले प्रमुख लिलाधर पौडेलको नेतृत्वमा बिहीबार  गण्डकी प्रदेश  सरकारको एक निर्बाचन क्षेत्र एक सडक कार्यक्रम अन्तर्गत काहुखोला (सिक्लेस) दूध पोखरी  सडकको १० कि मि निर्माणाधिन पहिलो सडक खण्डको अनुगमनको गरेको छ। अनुगमनका क्रममा प्रमुख पौडेलले  कास्कीका कुनै पनि बिकास निर्माणका योजनामा गुणस्तर लगायतका बिषयमा जन गुनासो नआउने गरि काम समयमै सम्पन्न गर्ने सरोकारवाला निकाय लाई आग्रह गर्नु भयो । केन्द्र  सरकार , प्रदेश सरकार र स्थानिय सरकारबिच समन्वय र सहकार्य अति आबश्यक भएको भन्दै पौडेलले निर्माण कम्पनीले कुनै लापरबाही गरेको भेटिएमा तुरुन्तै खबर गर्न स्थानीय उपभोक्तालाई आग्रह गरे। बिकासका आयोजनामा जुनसुकै बेला पनि अनुगमन हुन सक्ने र कमि कमजोरी भेटिएमा तत्काल कारबाही हुने तर्फ निर्माण कम्पनी लगायत सरोकारवालाहरूलाइ ध्यानाकर्षण गराएका थिए। अनुगमनमा जि स स कास्कीका उपप्रमुख सरिता माल ,सदस्य राजु अधिकारी ,स्थानिय जनप्रतिनिधि , प्रदेस तथा स्थानिय तह सहित प्राबिधिक र संचारकर्मीहरूको सहभागिता रहेको कास्कीका निमित्त जिल्ला समन्वय अधिकारी एबम सूचना अधिकारी  झबिश्वर  रेग्मीले जानकारी दिए।

काठमाडौं: आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम तथा निर्णायक खेलमा संयुक्त अरब इमिरेट्स (युएई) लाई हराउँदै नेपालले एकदिवसीय विश्वकपमा छनोट भएको छ ।   नेपालले युएईलाई डिएल मेथोडमा ९  रनले हराउँदै विश्वकपमा छनोट भएको हो । 

काठमाडौं: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक पाँच दशमलब ३२ अङ्कले ओरालो लागेर एक हजार नौ सय ३३ दशमलब ३१ मा सीमित  भएको छ ।   ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य  दशमलब ५१ अङ्कले ओरालो लागेर  तीन सय ६४ दशमलब ७८ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने नौ उपसमूहको शेयर मूल्यमा भने ओरालो लागेको छ ।   विभिन्न कम्पनीका कूल ३४ लाख दुई हजार दुई सय ६७ कित्ता शेयर रू एक अर्ब १४ करोड १४ लाख ५५ हजार ६२ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबारपछि बजार  पुँजीकरण रू २७ खर्ब ९३ अर्ब ४१ करोड ८७ लाख ६२ हजार दुई सय ७८ पुगेको छ ।   कारोबारका आधारमा एनआइसी एशिया बैंक शीर्ष स्थानमा छ । सो बैंकको रू चार करोड ९४ लाख ९२ हजार छ सय १९ बराबरको कारोबार भयो । नविल बैंक रू तीन करोड ९६ लाख ८३ हजार सात सय ३१, हिमालयन डिस्टिलरी रू तीन करोड ८३ लाख दुई हजार पाँच सय ८५, नेपाल लाइफ इन्स्योरेन्स रू तीन करोड ३० लाख तीन हजार आठ सय ६१ र सिद्धार्थ बैंकको संस्थापक शेयर रू दुई करोड ५६ लाख बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।   नेप्सेका अनुसार युनिक नेपाल लघुवित्त, शुभम पावरको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । लिवर्टी इनर्जी चार दशमलव ९८,किसान लघुवित्त चार दशमलब ९३ र विन नेपाल लघुवित्तका लगानीकर्ताले चार दशमलब २५ प्रतिशतले शेयर मूल्य बढेको छ ।   त्यस्तै, लक्ष्मी लघुवित्त पाँच दशमलव ७६, नयाँ सारथी लघुवित्त चार दशमलब ८०,प्रभु लाइफ इन्स्योरेन्स चार दशमलब ७४, ग्रीन डेभलपमेन्ट बैंक चार दशमलब ६८ र सानिमा ग्रोथ फण्डका लगानीकर्ताले चार दशमलव २० प्रतिशतले शेयर मूल्य बढेको छ ।

काठमाडौं:  काठमाडौं महानगरपालिका ३२ वटै वडामा आज (बिहीबार) बाट निःशुल्क कानुनी सहायता सुरु भएको छ । काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरले विवादहरू समाधानका लागि महानगरका ३२ वटै वडामा निःशुल्क कानुनी सहायता सुरु गरिएको बताउनुभयो ।   जसका लागि महानगरले नेपाल ल क्याम्पसँग सम्झौता गरेको छ  । क्याम्पसका स्नातक उत्तीर्ण गरेका ३२ जना कानुनी परामर्शका लागि वडामा खटिने छन् ।   प्रवक्ता मानन्धरका अनुसार महानगरका वडाका सामान्य विवादहरू महानगरको न्यायिक समितिसम्म आउने गरेका कारण वडामै विवाद समाधान गर्नका लागि यो व्यवस्था गरिएको हो ।   उहाँले भन्नुभयो, ‘‘महानगरका वडाहरूबाट सामान्य किसिमका विवादहरू समाधानका लागि न्यायिक समितिमा आउने प्रवृत्ति बढी भयो । सबै समस्या समाधानका लागि समय धेरै लाग्ने देखियो । त्यसकारण चाप कम गर्न वडामै समाधान गर्नका लागि यो व्यवस्था गरिएको हो ।’’   वडामा खटिने कानुनी व्यक्तिले पनि विवाद समाधान गर्न नसकेको विषयमा महानगरको न्यायिक समितिले समाधान गरिदिने उहाँको भनाइ छ ।

म्याग्दी:    मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक शुक्रबारदेखि दैनिक छ घण्टा बन्द हुने भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, बेलिब्रिज निर्माण र सडक विस्तारका लागि दैनिक छ घण्टा यातायात आवतजावत बन्द हुने जिल्ला प्रशासन कार्यालय म्याग्दीले जनाएको छ । म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तले २०७९ चैत ३ देखि १४ गतेसम्म रुप्से खण्डमा बिहान ६ देखि ९ र दिउँसो १ देखि ३ बजेसम्म यातायात आवतजावत बन्द गरेर निर्माणको काम गरिने जानकारी दिनुभयो । “चैते दशैंको समयमा कागबेनीमा स्नान गर्न जाने आउने तीर्थयात्रीलाई लक्षित गरेर चैतको ६, ७ र ८ गते यातायात सञ्चालन हुनेछ,” उहाँले भन्नुभयो “पहिरोले क्षति गरेको साँघुरो सडकमा यातायात सञ्चालन, सडक, पुल निर्माण र पहिरो व्यवस्थापनको कामसँगै गर्दा जोखिम भएकाले यातायात रोकेर काम गर्ने समय तालिका बनाइएको हो ।” निर्माण व्यवसायीले बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत जिल्ला प्रशासन कार्यालय म्याग्दीमा समय व्यवस्थापनका लागि पत्राचार गरेका थिए । म्याग्दीबाट मुस्ताङ जाने र मुस्ताङबाट म्याग्दीतर्फ आउने सवारी साधनले सडक बन्द हुने समय अगावै रुप्से खण्ड पार गर्नुपर्नेछ । एम्बुलेन्स र अत्यावश्यक सवारी साधनको हकमा भने सडकमा सहज आवतजावतको व्यवस्था मिलाउने प्रशासनले जनाएको छ । यसैबीच बेनी–जोमसोम–कोरला सडकको बेनी-गलेश्वर खण्डमा फागुन १ गतेदेखि लागू गरिएको समय तालिका बुधबारदेखि हटाइएको छ । बेनी–गलेश्वर सडक विस्तारका लागि फागुन १ देखि ३० गतेसम्म सवारी आवतजावत बन्द गर्ने समय तालिका बनाइएको थियो । राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोर बेनी-जोमसोम-कोरला सडक आयोजनामार्फत पर्वतको मालढुङ्गादेखि म्याग्दी हुँदै मुस्ताङको कोरला नाका जोड्ने सडक स्तरोन्नति, विस्तार र कालोपत्र गर्ने काम विभिन्न खण्डमा भइरहेको छ ।

काठमाडौं : आईसीसी विश्वकप लिग २ को शीर्ष तीनमा रहँदै विश्वकपको ग्लोबल छनोटमा पुग्न तीन सय ११ रनको लक्ष्य पछ्यारहेको नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतक बनाएका छन्। पहिलो ओभरमा ओपनर आसिफ शेखलाई गुमाएको नेपालले दोस्रो ओभरमा कुशल तेस्रो नम्बरमा क्रिजमा उत्रिएका कुशल मल्ललाई पनि गुमाएको थियो।   यद्यपि, तेस्रो विकेटका लागि भीम सार्कीसँग ६१ रनको साझेदारी गर्दै कुशलले एकदिवसीय करिअरको पाँचौं अर्धशतक बनाएका हुन्। दोस्रो ओभरमै दुई महत्त्वपूर्ण विकेट गुमाएको नेपाल कठिन अवस्थामा पुगेको थियो। त्यसपछि कप्तान रोहित पनि १६ रन बनाएर आउट भएका थिए। भीम ३० बलमा २४ रन बनाएर खेलिरहेका छन्।   नेपालले १६ ओभरमा तीन विकेट गुमाएर ९८ रन बनाएको छ। नेपाललाई जितका लागि ३४ ओभरमा दुई सय १३ रन आवश्यक छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको यूएईले ६ विकेट गुमाएर तीन सय १० रनको योगफल तयार गरेको थियो।   यूएईका लागि छैटौं नम्बरमा क्रिजमा उत्रिएका आसिफ खानले ४१ बलमा चार चोका र ११ छक्कासहित आक्रमक शतक बनाएर अविजित रहे। आसिफसँग छैटौं विकेटका लागि एक सय ३५ रनको साझेदारी गरेका वृत्या अरविन्दले एक सय ३८ बलमा आठ चौका र दुई छक्कासहित ९४ रनको इनिङ खेले।   त्यसअघि कप्तान मुहम्मद वासिम ४९ बलमा दुई चौका र ६ छक्कासहित ६३ रनको अर्धशतकीय इनिङ खेलेर पभिलियन फर्केका थिए। त्यसबाहेक यूएईका अन्य ब्याटरले उल्लेख्य संख्यामा रन बनाउन सकेनन्।  नेपालका लागि दीपेन्द्रसिं ऐरीले आठ ओभरमा १९ रन खर्चेर दुई मेडनसहित दुई विकेट लिए। यस्तै,ललित राजवंशी, सोमपाल कामी र सन्दीप लामिछानेले एक–एक विकट लिए।   सन्दीपले १० ओभरमा ८०,सोमपाल कामीले ९ ओभरमा ७४ र गुल्शन झाले ६३ रन खर्चेका थिए। आजको खेलमा जित निकाले नेपालले लिग २ को शीर्ष तीन रहँदै जुनमा जिम्बाब्वेमा हुने विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छ। नेपालले शीर्ष चारमा रहँदै एकदिवसीय मान्यता जोगाइसकेको छ।

काठमाडौं : जनता समाजवादी पार्टी नेपालले मञ्जु अन्सारीलाई प्रतिनिधिसभा सदस्यका लागि सिफारिस गरेको छ ।      बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अन्सारीलाई समानुपातिक सांसदका लागि सिफारिस गर्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले अन्नपूर्णलाई जानकारी दिए। उनी सप्तरी निवासी हुन् ।   गत फागुन १३ गते जसापका सांसद सहनाज रहमानको निधन भएपछि एक सांसद पद रिक्त थियो।  सोही रिक्त स्थान पदपूर्तिका लागि अन्सारीलाई सिफारिस गरेको हो।