पोखरा : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति एमालेबाट भए बर्बाद हुने दाबी गरेका छन्। पार्टीको शुभेच्छुक संस्था समाजवादी प्रेस संगठन कास्कीले पोखरामा गरेको कार्यक्रममा अध्यक्ष नेपालले एमालेलाई राष्ट्रपति दिन नहुने बताएका हुन्। ‘राष्ट्रिय सभा अध्यक्ष पनि एमालेकै, सभामुख पनि एमालेकै अनि राष्ट्रपति पनि दिए बर्बाद हुन्छ,’ उनले भने। राष्ट्रपतिमा सन्तुलनसहितको राष्ट्रिय सहमति हुनुपर्नेमा उनले जोड दिए। तर राष्ट्रपतिमा आफ्नो पार्टीबाट उम्मेदवार नहुने उनले बताए। अध्यक्ष नेपालले अहिलेको सरकार खिचडी भएको संज्ञा दिए। ‘यो संविधान मान्दैनौं भन्ने पनि त्यहाँ छन्, परिवर्तन उल्ट्याउँछौं भन्नेहरु छन्,’ उनले भने। यद्यपि अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल परिवर्तनको पक्षधर भएको हुँदा खुसी लागेको पनि सुनाए।
काठमाडौं : प्रतिनिधिसभा बैठक बस्दैछ। अहिले ११ बजे बस्ने बैठकमा सांसद प्रेम सुवालले सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको संघीय सचिवालयले जनाएको छ। बैठकमा कानुन ,न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले सम्पत्ति शुद्धिकरण निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ पेश गर्ने कार्यसूचीमा उल्लेख छ। यस्तै, कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वाला कुमारी साहले राष्ट्रिय सभाबाट सन्देशसहित प्राप्त खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७८ माथि विचार गरियोस भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।
पोखरा: प्रथम शहीद लखन थापा मगरको १४६औ स्मृति दिवसको अवसरमा पोखराको लखनचोकमा दीप प्रज्वलन गरिएको छ । नेपाल मगर विद्यार्थी संघ कास्की र पृथ्वीनारायण क्याम्पस समितिको संयुक्त आयोजनामा पोखरा लखनचोकस्थित शहीद लखन थापा मगरको शालिक छेउमा दीप प्रज्वलन गरिएको हो । दीप प्रज्वलन कार्यक्रममा नेपाल मगर संघका केन्द्रीय उपमहासचिव खेमबहादुर पुनमगर, नेपाल मगर संघ कास्कीका जिल्ला अध्यक्ष संगिता पुनमगर, नेपाल आदिवासी जनजाति पत्रकार संघ गण्डकी प्रदेश अध्यक्ष रुद्र श्रीस मगर, नेपाल मगर विद्यार्थी संघका केन्द्रिय सदस्य प्रेम बुढा मगर, प्रदेश सचिव सुशील थापामगर, पत्रकार गोविन्द थापामगर लगायत अन्य विद्यार्थीहरुको सहभागिता रहेको थियो । को हुन् लखन थापा मगर ? वि।सं। १८९१ मा गोरखा जिल्लाको शहिद लखन गाउँपालिका वडा नं. ७, काहुले भङ्गार, बुंकोटमा जन्मिएका लखन थापा मगरको वास्तविक नाम लक्ष्मणसिंह थापा मगर हो । उनले राणा शासन विरुद्ध जनविद्रोह सञ्चालनका क्रममा मनकामना देवीको पहिलो पूजारी सिद्ध लखन थापाको प्रसिद्धिलाई उपयोग गरी विद्रोहमा ठूलो जनसमर्थन जुटाउने रणनीतिका साथ ‘लखन’ भन्ने नाम ग्रहण गरेका थिए । वि।सं। १९११ मा नेपाली सेनाको पुरानो गोरख गण (मगर पल्टन) मा भर्ना भएका लखन थापा मगर ई.सं. १८५७ को भारतीय स्वन्त्रता संग्राम (सिपाही विद्रोह) दबाउन भारतको लखनउ पुगेका थिए (प्रमोद शमशेर राणा, राणा शासनको वृतान्त, तेस्रो संस्करण वि.सं. २०७०, पृ. ८८० । त्यतिबेला जंगबहादुरको निर्णय बमोजिम भारतको सिपाही विद्रोह दवाउनलाई नेपालले सैन्य सहयोग गरेको थियो । उक्त सिपाही विद्रोह दबाउन नेपाली सेनाका २५ वटा पल्टन जंगबहादुरकै नेतृत्वमा भारत जाँदा लखन थापा पनि बाध्य भएर लखनउ गएका थिए । नेपाली सेनामा कार्यरत रहँदा उनी तत्कालीन युवराज त्रैलोक्य बिक्रम शाहका अंगरक्षक थिए (नेपालको सैनिक इतिहास, भाग २, वि.सं. २०६५, पृ। ३६४) । वि.सं. १९२५ मा नेपाली सेनाको कप्तान पदमा पुगेका लखन थापा मगरले वि.सं. १९२७ सालमा तीन महिनाको घरबिदा लेखाएर नेपाली सेनाको जागिर छाडे । सेनाको जागिर छाडेपछि उनले राणाशासन विरुद्ध जनसंगठन गरी पहिलो जनविद्रोहको नेतृत्व गरे (मुक्ता श्रेष्ठ, नवयुवा, वर्ष १, अंक १०, वि.सं. २०५३ माघ) । उनलाई जंगबहादुरको आदेशमा वि.सं. १९३३ मा हालको शहिद लखन गाउँपालिका, वडा नं. ७ काहुले भङ्गारमा निर्मित विद्रोही किल्ला परिसरभित्रको रुखमा झुण्ड्याएर मृत्युदण्ड दिइयो । onlinekhawar
काठमाडौं: नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन भत्काउन र देशमा स्थिरता र स्थायित्व हुन नदिनका लागि अनेक प्रकारका षड्यन्त्र भइरहेका बताउनुभएको छ। मंगलबार अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो। उहाँले संसदको बनावट अस्थिरताको कारक हुनेखालको रहेको भन्दै गठबन्धन भत्किनेप्रति शंका व्यक्त गर्नुभयो। उहाँले देशभित्रका र बाहिरका शक्ति देशलाई बर्बाद पार्न लागेका बताउनुभयो। एमाले देशलाई बर्बाद पार्नबाट रोक्ने ‘गेट पाले' भएको भन्दै उहाँले सबैभन्दा पहिले एमालेलाई प्रहार हुनसक्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘हामीले पाँच दलीय गठबन्धन तोडेर अर्को एउटा सरकार बनाएका छौँ। यो सफलताको कुरा हो। तर आम पार्टीका साथीहरु प्रशन्न भएको देखिन्छ। यो स्थिति फेरियो भने संसदको बनावट नै अस्थिरताको कारक हुनेखालको बनावट छ। बहुमत कसैको छैन। हाम्रो पार्टीसँग बहुमत छैन। हामीसँग बहुमत भन्दा निकै तल सिट छ। अनेक प्रकारका, भित्रका, बाहिरका अनेक शक्ति क्रियाशिल छन्। अनेक प्रकारका षड्यन्त्र भइरहेका छन्। यहाँ स्थिरता, स्थायित्व हुन नदिने खालका प्रयास भइरहेका छन्।’’ अध्यक्ष ओलीले विगतमा नेपालको शिक्षालाई बुर्जुवा शिक्षा भनेर प्रचार गरिनु गलत भएको बताउनुभयो। कसैले पनि संस्थागत रुपमा शिक्षालाई बुर्जुवा शिक्षाको उपमा दिएर बहिष्कार गर्न नभनेको भए पनि कुनै व्यक्तिको लहडको भरमा त्यसो भनिएको बताउनुभयो। उहाँले अनेरास्ववियुमा आवद्ध विद्यार्थी राम्रोसँग पढेर राम्रो नतिजा ल्याउनेखालको हुनुपर्ने बताउनुभयो। कुनै पनि बाहानामा आफ्नो पढ्ने काम नछोड्न उहाँले विद्यार्थीलाई आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, ‘‘पहिले पहिले हाम्रो समयतिर खुब चल्यो, बुर्जुवा शिक्षा बहिष्कार गरौँ भन्ने नारा वास्तवमा त्यो बुर्जुवा शिक्षा बहिष्कार गरौँको नारा बिल्कुल नचाहिने काम थियो। म तपाईहरुलाई भन्न चाहन्छु, हाम्रा विद्यार्थी भाइबहिनी, अनेरास्ववियुका भाइबैनीहरु ट्यालेन्ट हुनुपर्दछ। परीक्षामा प्रथम, द्वितीय, तृतिय, चौंथो हुने को हो भन्दा अनेरास्ववियुका विद्यार्थी। आन्दोलनले गर्दा पढ्नै पाइएन। त्यस्तो कहिल्यै पनि हुँदैन।’’ अध्यक्ष ओलीले आगामी स्ववियु निर्वाचनमा अनेरास्ववियु विजयी हुनेकुरामा विश्वास व्यक्त गर्नुभयो। उहाँले नेपाल विद्यार्थी संघले अनेरास्ववियुसँग प्रतिस्पर्धा गर्न नसक्ने र अन्य विद्यार्थी संगठन भर्खरै सिक्दै गरेका भनेर टिप्पणी गर्नुभयो। उहाँले नेविसंघलाई अनेरास्ववियुले जहिले पनि छक्का हान्दै आएको बताउनुभयो। अध्यक्ष ओलीले भन्नुभयो, ‘‘नेविसंघलाई हामीले जहिल्यै पनि छक्का हान्दिने गरेको हो। त्यसकारण मैले विश्वास लिएको छु यसपल्ट पनि तपाईंहरुको ब्याटिङ डरलाग्दो हुनेछ। तपाईंहरुले स्ववियु निर्वाचनमा अरुको बलिङलाई छक्का हानेर दर्शक दीर्घामा पु¥याइदिनुहुनेछ। हरेक क्याम्पसमा अनेरास्ववियु, यसरी तपाईंहरु जानुहुन्छ भन्ने मैले विश्वास लिएको छु।’’ अध्यक्ष ओलीले अनेरास्ववियुको नेतृत्वका लागि सहमतिको प्रयास गर्न आग्रह गर्नुभयो। उहाँले अनेरास्ववियु उद्देश्य बोक्ने संस्था भएको भन्दै महत्वकांक्षा बोक्नु नहुने बताउनुभयो।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषिमा आधारित उद्योग नै नेपालका लागि दिगो हुने बताउनु भएको छ । मङ्गलबार नेपाल घरेलु तथा साना उद्योग महासंघले आयोजना गरेको १६ औं अन्तर्राष्ट्रिय व्यापार मेलालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा अन्य उद्योगहरुभन्दा पनि कृषिमा आधारित उद्योगको विस्तारले नै अर्थतन्त्रका लागि दिगो हुने धारणा राख्नुभयो । मौलिक संस्कृति परम्परा अनुसार घरेलु उत्पादनलाई प्रबर्धन र विकसित गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । ‘‘पहिलो कुरा हाम्रो सोचमा नेपाली पन बनाउन जरुरी छ । नेपालले ५० वर्ष पहिले खाद्यान्न आयात नभएर निर्यात गर्ने गरेका थियौं । अर्बौं विदेशी रकम भित्र्याउने गरेका थियौं तर अहिले धेरै वर्षको अध्ययन अनुसन्धान र मेहनत गरी आधुनिकताका कुरा गरेर परनिर्भर भएर किन गयौं । त्यसको खोजी गर्नुछ । त्यसको निम्ति सोच बदल्नु जरुरी छ ।,’’ प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘राज्यका कतिपय नीतिगत वैधानिक कारणले नेपालको घरेलु उत्पादनलाई प्रबर्धन गर्ने आत्मनिर्भर बनाउन सहयोग गर्ने उद्योगमा लगानी बढाउने र ऐनले पनि संरक्षण गर्ने विषयको पनि अभाव छ । ऐनको अभावले पनि अफ्ठ्यारो स्थितिमा गएका छौं । यसलाई बदल्न जरुरी छ । कृषिमा आधारित उद्योगहरु नै नेपालका लागि सस्टेनेवल उद्योग हुनसक्छ । लघु घरेलु तथा साना उद्योगभन्दा पनि कृषिमा आधारित उद्योग नै हो ।’’ प्रधानमन्त्री प्रचण्डले नेपालको मौलिक तरिकाबाट कृषि उत्पादनमा वृद्धि गरी कृषिमा आधारित उद्योगको विस्तार र रोजगारी सिर्जना गर्नेमा उच्च प्राथमिकता नदिई नेपाललाई आत्मनिर्भर अर्थतन्त्रसहितको सामाजिक न्याय र समाजवादउन्मुख राज्यको परिकल्पना पूरा नहुने दाबी गर्नुभयो । उहाँले सबै नेपालीहरुको सोचमा नेपाली पन ल्याउन जरुरी रहेको बताउनुभयो । ‘‘हाम्रो मौलिक संस्कृति परम्परा त्यसलाई जर्गेना वा प्रबर्धन र विकसित गर्ने र नेपालको मौलिक तरिकाबाट कृषि उत्पादनमा वृद्धि गर्ने र त्यसैमा आधारित भएर उद्योग र रोजगारी सिर्जना गर्ने विषयमा उच्च प्राथमिकता नदिई हामीले नेपाललाई आत्मनिर्भर अर्थतन्त्र सहितको सामाजिक न्याय र समाजवादउन्मुख राज्यको सपना देखेका छौं ।,’’ उहाँले भन्नुभयो, ‘‘पूरा हुनसक्ने स्थिति छैन । यो पटक वर्तमान सरकारलाई असफल हुने छुट छैन । सरकारले राष्ट्र र जनताको पक्षमा र अर्थतन्त्रमा देखापरेका संकटलाई समाधान गर्ने, सुशासनको पक्षमा र समृद्धिको नयाँ अभियानमा हामी सफल हुनुपर्छ । त्यसको लागि निजी क्षेत्रको समेत सामुहिक पहल नभई देशको आर्थिक क्षेत्रका समस्या समाधान गर्न सक्दैन । सरकारको जोड त्यसैमा छ ।’’ प्रधानमन्त्रीले नेपालले ५० वर्ष पहिले खाद्यान्न आयात नभएर निर्यात गर्ने गरेको भन्दै अहिले किन परनिर्भर हुनुपर्ने अवस्था आयो त्यसको खोजी गर्नु आवश्यक रहेको धारणा औंल्याउनुभयो । उहाँले राज्यका कतिपय नीतिगत वैधानिक कारण र ऐनले घरेलु उत्पादनलाई प्रबर्धन गरी आत्मनिर्भर बनाउन नसकिएको स्वीकार गर्नुभयो । प्रधानमन्त्री प्रचण्डले घरेलु उत्पादनलाई प्रबर्धन गर्न ऐनको अभावले पनि अप्ठ्यारो भएको भन्दै यसलाई बदल्न जरुरी रहेको बताउनुभयो । उहाँले वर्तमान सरकारलाई असफल हुने छुट नभएको भन्दै अहिले अर्थतन्त्रमा देखापरेको संकटलाई समाधान गरी सुशासन कायम गर्ने पनि जानकारी दिनुभयो । प्रधानमन्त्री प्रचण्डले तत्कालका लागि मुलुकमा वित्तीय सङ्कट देखिएको बताउनुभयो । बैंकको ब्याजदरमा भएको वृद्धिको कारणले देखापरेका समस्या समाधानको लागि अर्थमन्त्री र राष्ट्र बैंकका गभर्नरसँग बैंठक राखेर तत्काल व्यवासायीहरुलाई राहतका निम्ति कोशिस गरिहेको उहाँको भनाइ छ । प्रधानमन्त्रीले महामारीको कारणले बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावले समस्या सिर्जना गरेको लघु, घरेलु अथवा साना उद्योगमा थप लगानी गर्ने पुँजीको अभावलाई सरकारले समाधान गर्न विशेष पहल गरेको उल्लेख गर्नुभयो । उहाँले वित्तीय अस्थिरताका कारण लघु घरेलु अथवा साना उद्योगीहरुले उपभोग गरेको कर्जामा अत्यधिक बैंकको ब्याज वृद्धि हुन गई उद्योगीहरुमा परेको समस्या तत्काल समाधान गर्नको लागि सरकारले उपायहरु खोजिरहेको बताउनुभयो । प्रधानमन्त्री दाहालले लघु, घरेलु अथवा साना उद्योगीले प्रयोग गरेको कर्जालाई नवीकरण गरी थप पुन कर्जा प्राप्त गर्ने बनाउन पनि सरकार लागि रहेको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले सरकारका केही नीतिगत, सोच, व्यावहारिक र संस्कारका कारणले अहिलेको स्थितिबाट गुज्रिएको बताउनुभयो । उहाँले नेपाल आत्मनिर्भर हुने आफ्नै स्रोत र साधनको अधिकतम प्रयोग गरी आत्मनिर्भर अर्थतन्त्र बनाउने सोचमा त्रुटि रहेको पनि बताउनुभयो ।
काठमाडौं : कुशल भुर्तेलको शतकप्रेरित नेपालले विश्वकप क्रिकेट लिग २ अन्तर्गत एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा नामिबियाविरुद्ध कीर्तिमानी दुई विकेटको जित निकालेको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपालले दुई सय ८६ रनको लक्ष्य पाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४७.४ ओभरमा आठ विकेट गुमाएर दुई सय ८७ रन बनाउँदै कीर्तिमानी लक्ष्यसहित जित निकाल्यो। यो नेपालले एकदिवसीय अन्तर्राष्ट्रियमा चेज गरेको सबैभन्दा ठूलो लक्ष्य हो। यसअघि सन् २०१९ मा यूएईविरुद्ध कीर्तिपुरमै दुई सय ५४ रनको लक्ष्य चेज गरेको थियो। नेपालका लागि एक सय १३ बलको सामना गरेका कुशलले १० चौका र चार चौकासहित एक सय १५ रनको शानदार शतकीय इनिङ खेले। यस्तै, कप्ता रोहित पौडेल ७२ रन जोडेर पेभेलिन फर्किँदा सन्दीप जोरा २८ रन जोडेर पेभेलियन फर्किँदा करण केसी २० रन बनाएर अविजित रहे। त्यसअघि ओपनर आसिफ शेख शून्य, ज्ञानेन्द्र मल्ल २५, कुशल मल्ल ६ र दीपेन्द्रसिंह ऐरी सात रन बनाएर आउट भएका थिए। नामिबियाका लागि रुबेन थ्रुम्पेल्मान र यान निकोलले सर्वाधिक तीन–तीन विकेट लिए। पहिलो इनिङमा नामिबियाका लागि तेस्रो नम्बरमा क्रिजमा उत्रिएका लिगेनले एक सय १८ बलमा ६ चौका र चार छक्कासहित १०० रन पूरा गरेका लिगेनले एक सय ३६ मा ९ चौका र पाँच छक्कासहित एक सय ३३ रन बनाएर पेभेलियन फर्के। यसअघि लिगेनले तेस्रो विकेट कप्तान जेरार्ड इरास्मससँग १२४ रनको साझेदारी गरेका थिए। कुशल मल्लले गरेको ३७औं ओभरको पहिलो बलमा सन्दीप लामिछानेबाट क्याच हुनुअघि इरास्मसले ७९ बलमा दुई चौका र तीन छक्कासहित ५६ रन बनाएका थिए। त्यसबाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। बलात्कारको अभियोगमा तकरीबन ६ महिना बाहिर रहेका सन्दीप लामिछानेले पनि आजको खेलबाट मैदानमा पुनरागमन गरेका थिए। उनले आफ्नो क्वोटाको पूरा १० ओभर बलिङ गर्दै ६६ रन खर्चेर तीन विकेट लिए। करण केसीले १० ओभरमा ६१ रन खर्चेर एक मेडनसहित सर्वाधिक पाँच विकेट लिएका थिए। यस्तै, कुशल मल्ल र सोमपाल कामीले एक–एक विकेट लिएका थिए। गत महिना नेपाली टिमको प्रमुख प्रशिक्षक नियुक्त भएका भारतीय प्रशिक्षक मोन्टी देशाईको नेतृत्वमा यो पहिलो खेल हो। नेपालले शृंखलाअन्तर्गत शुक्रबार नेपालले स्कटल्यान्डसँग खेल्ने छ। यस्तै, शनिबार नामिबिया र अर्को मंगलबार स्कटल्यान्डसँग खेलेर शृंखला टुङ्ग्याउने छ।
काठमाडौं: कालिकोटबाट २० वर्षअघि उपचारका लागि काठमाडौं आउनुभएकी लालकला सुनारको शरीर रोगले गल्दै र खल्तीमा पैसा रित्तिदै गएपछि छिमेकीले सल्लाह दिए, “खाली बस्नुभन्दा भद्रकाली मन्दिर परिसरमा पूजासामग्रीको पसल राख्नू ।” कमजोर शारीरिक अवस्था भएकी उहाँलाई पैसा कमाउनका लागि यो काम उपयुक्त लाग्यो । त्यसपछि उहाँ श्रीमानसँगै यही ठाउँमा बसी पूजासामग्री बिक्रीको व्यवसाय सुरु गर्नुभयो । अहिले यसबाट राम्रो आम्दानी भइरहेको भन्दै उहाँले सन्तोष व्यक्त गर्नुभयो । “गाउँमा भने जस्तो उपचार नहुँदा काठमाडौं आइराख्नुपर्ने मलाई यो काम पाएपछि आम्दानीको गतिलो बाटो भेटिएको छ, यसबाट मेरो उपचार खर्च र अन्य खर्च गर्न पुगेको छ”, उहाँले भन्नुभयो । मन्दिर परिसरमा पूजा सामग्री बिक्री गर्ने बर्दियाका भीमबहादुर महतरा पनि यसबाट हुने आम्दानीबाट सन्तुष्ट हुनुहुन्छ । आमा नमकला महतराले ४५ वर्षसम्म मन्दिर परिसरमा चलाएको पूजासामग्री पसल यतिबेला आफूले सम्हालेको उहाँको भनाइ छ । “लामो समय आमाले पसल चलाउनुभयो, अहिले उमेर बढ्दै गएपछि २०७२ सालयता मैले हेरिरहेको छु”, उहाँले भन्नुभयो । मन्दिरमा विशेष गरी सामान्य पूजाका साथै सवारी साधन पूजा गर्न आउनेको बढी भीड लाग्छ । मन्दिर परिसरमा सवारी साधन ल्याउन र पार्किङ गर्न सहज भएकाले भीड लाग्ने गरेको उहाँको अनुभव छ । “बिहान ३ बजेदेखि बेलुका ८ बजेसम्म राम्रो बिक्री हुने हो भने त महिनाको रू. दुई लाखसम्मको व्यापार हुन्छ तर हरेक दिन एकनास हुँदैन”, उहाँले भन्नुभयो, “शनिबार बढी भीड लाग्छ, औसतमा मासिक रू. ६० देखि ७० हजारसम्म आम्दानी हुन्छ ।” यहाँ बिक्रीका लागि राखिने पूजासामग्री धेरैजसो भारतबाट आयात हुन्छ । पूजा गर्न आउनेले फूल तथा माला आफैँ पनि ल्याउने गरेको महतराको भनाइ छ । महतरा जस्तै पूजासामग्री बिक्री गर्दै आउनुभएकी सिन्धुपाल्चोककी रेनु अधिकारीले यसबाट हुने आम्दानीले सानिमाकी छोरी र बहिनीको खर्च पूरा गर्नुभएको छ । उहाँले पनि आमाको कामलाई निरन्तरता दिएको सुनाउनुभयो । “पूजासामग्री बिक्रीबाट मासिक करिब रू. ७० हजार आम्दानी भइरहेको छ”, उहाँले भन्नुभयो, “कमाइ राम्रो भएरै दुई जनाको बसाइ र पढाइ खर्च धान्न पुगेको छ ।” उहाँ विवाह, गाडी, बाइक पूजा, भाकल र सामान्य पूजाका लागि छुट्टाछुट्टै पूजासामग्री तयार गर्नुहुन्छ । मन्दिरमा भेटिनुभएकी दोलखाकी सरिता श्रेष्ठले पनि आमाले छाडेको पूजासामग्री पसल चलाउनुभएको छ । विगत २५ वर्षदेखि पूजासामग्री बेच्दै आउनुभएकी उहाँ हाल बबरमहलमा बस्नुहुन्छ । “श्रीमान् ज्यालादारी मजदुर हुनुहुन्छ, मेरो कमाइले छोराछोरीको पढाइ खर्चलगायतका खर्च पुग्छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार राम्रो कमाइ हुने दिन रू. तीन हजारसम्म बचत हुन्छ भने कुनै दिन रू. सात/आठ सयमै चित्त बुझाउनुपर्छ । पछिल्लो ३५ वर्षदेखि मन्दिर परिसरमै पूजासामग्री बेच्दै आउनुभएका मदन बुुढा पनि यसबाट हुने आम्दानीले सन्तुष्ट हुनुहुन्छ । उहाँलाई सहयोग गर्न भाइ भरत बुढा पनि सँगै हुनुहुन्छ । मन्दिर व्यवस्थापन समितिले तोकेअनुसारका मानिसले मात्र मन्दिरमा पूजासामग्री बिक्रीवितरण गर्ने गरेकोमा छ महिनाअघि सडक छेउमा सामान बिक्रीमा महानगरपालिकाले रोक लगाएपछि उहाँहरु मन्दिरछेउमा बस्न सुरु गर्नुभएको छ । पहिलाको तुलनामा अहिलेको ठाउँ साँघुरो रहेकाले व्यापारमा असहजता भएको उहाँहरुको गुनासो छ ।
दमौली: तनहुँको व्यास नगरपालिका–५ बेनीपाटनमा सञ्चालित ज्येष्ठ नागरिक आश्रममा नौ वृद्धवृद्धाले सहारा पाउनुभएको छ । विसं २०६८ मा स्थापित सो आश्रम राष्ट्रिय परोपकार महासङ्घ तनहुँ शाखामार्फत सञ्चालित छ । आश्रमले छोराछोरीविहीनलाई सहारा दिएर पालनपोषण गरिरहेको महासङ्घ तनहुँका उपाध्यक्ष बलबहादुर रानाभाटले जानकारी दिनुभयो । “जसको घरजग्गा छैन, जसको छोराछोरी हुनुहुन्न त्यस्ता ज्येष्ठ नागरिकलाई आश्रमले आश्रय दिइरहेको छ”, उहाँले भन्नुभयो । आश्रममा रहेका ज्येष्ठ नागरिक आफैँले तरकारी उत्पादन गर्नुहुन्छ । आश्रममा आठ गाई पालिएको छ । गाईको स्याहारसुसार पनि ज्येष्ठ नागरिकले गर्दै आउनुभएको छ । “आश्रम नजिक रहेको जग्गामा आफैँले तरकारी उत्पादन गर्नुहुन्छ, तरकारी बाहिरबाट किन्नुपर्दैन”, उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिकलाई बिहान–बेलुका नै दूधको व्यवस्था गरिएको छ ।” आश्रमका हरेक कोठामा नुहाउनका लागि तातोपानीको व्यवस्था गरिएको छ । यसका लागि आश्रममा सोलार जडान गरिएको छ । उक्त आश्रम दाताको सहयोगमा सञ्चालित छ । सरकारी तवरबाट कुनै सहयोग नरहेको र विभिन्न व्यक्ति तथा सङ्घसंस्थाको चन्दाबाट आश्रम सञ्चालनमा सहयोग पुगेको रानाभाट बताउनुहुन्छ । व्यास नगरपालिका–५ चापाघाटमा विसं २०७० वैशाख १ गतेदेखि वेदव्यास ज्येष्ठ नागरिक आश्रम सञ्चालित छ । दमौलीका विभिन्न क्षेत्रमा क्रियाशील महिलाको सक्रियतामा असहाय नागरिक संरक्षण गर्ने उद्देश्यसहित आश्रम सञ्चालन गरिएको थियो । आश्रममा हाल तीन जनाले आश्रय लिइरहनुभएको छ । आश्रम सञ्चालनका लागि मासिक करिब रु. ३५–४० हजार खर्च हुने गरेको छ । वृद्धवृद्धाको स्याहारसुसारका लागि आश्रममा एक जनालाई रोजगारी पनि दिइएको छ । दाताको सहयोग विभिन्न व्यक्ति तथा सङ्घसंस्थाको सहयोगबाट आश्रम सञ्चालनमा सहज भएको आश्रमकी सचिव निर्मला मल्लले जानकारी दिनुभयो । “व्यक्तिले जन्मदिन, पुण्यतिथिलगायतको अवसर पारेर आश्रममा सहयोग गरिरहनुहुन्छ, त्यही सहयोगका कारण आश्रम सञ्चालनमा कठिनाइ भएको छैन”, उहाँले भन्नुभयो । विभिन्न पेसा व्यवसायमा आबद्ध महिला सङ्गठित भएर आश्रम सञ्चालन गरेको र ज्येष्ठ नागरिकलाई सेवा गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको उहाँले बताउनुभयो । तीस जना महिलाबाट सुरु भएको वेदव्यास ज्येष्ठ नागरिक आश्रममा अहिलेको सदस्य सङ्ख्या तीन सय ३० पुगेको छ । असहाय एवं आर्थिकरूपमा विपन्न ज्येष्ठ नागरिकको संरक्षण गर्ने उद्देश्यले आश्रम स्थापना गरिएको जनाइएको छ । स्थापनाकालमा ३० महिलाले रु. एक–एक हजार उठाएर रु. ३० हजारको अक्षयकोष स्थापना गर्नुभएको थियो । आश्रमका ज्येष्ठ नागरिकलाई खुवाउनका लागि खाद्यान्नलगायतका सहयोग व्यक्ति तथा सङ्घसंस्थाले गर्दै आएको आश्रमकी कार्यवाहक अध्यक्ष शकुन्तला आलेले जानकारी दिनुभयो । “देश तथा विदेशमा रहने व्यक्ति तथा विभिन्न सङ्घसंस्थामार्फत आश्रमलाई सहयोग प्राप्त हुन्छ”, उहाँले भन्नुभयो, “दाताको सहयोगले आश्रम चलाउन सहज भएको छ ।” उहाँका अनुसार आश्रममा आश्रय लिइरहनुभएका ज्येष्ठ नागरिकको स्याहारसुसारमा कुनै कमी गरिएको छैन । केही वर्षसम्म भाडाको घरमा सञ्चालन हुँदै आएको आश्रमले अहिले आफ्नै जग्गा खरिद गरी भवन निर्माण गरेको छ । विसं २०७२ मा आयोजना गरिएको महायज्ञबाट सङ्कलन भएको रकमले दुई रोपनी क्षेत्रफल जग्गा खरिद गरी भवन निर्माण गरिएको छ ।
काठमाडौं: सरकार र यातायात मजदुर सङ्गठनहरुबीच पाँचबुँदे सम्झौता भएको छ । सरकारले सोमबार साँझदेखि आन्दोलनमा उत्रिएका सङ्गठनहरूसँग पाँचबुँदे सम्झौता गरेको हो । मङ्गलबार बिहान भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको वार्तापछि दुई पक्षबीच पाँचबुँदे सम्झौता भएको मन्त्रालयले जनाएको छ । सङ्गठन र मन्त्रालयबीच आन्दोलनका क्रममा लुटपाट र आक्रमणमा संलग्न दोषीलाई कारबाही गर्न सहमति भएको छ । त्यस्तै, यातायात मजदुर सङ्गठनल राखेका १० बुँदे माग सम्बोधन गर्ने, उच्चस्तरीय यातायात समिति गठन गर्ने लगायतका विषयमा दुई पक्षबीच सम्झौता भएको छ ।