काठमाडौं : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र नेपालका लागि चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता भएको छ। बिहीबार उपसभापति खड्का निवासमा भेटवार्ता भएको हो। उनीहरूबीच नेपाल र चीनबीच आपसी हित र चासोको विषयमा छलफल भएको खड्काको सचिवालयले जनाएको छ। राजदूत सोङ बुधबारमात्रै राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका थिए।
काठमाडौँ: साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से सूचक १८ अंकमाथिले घटेको छ । यसदिन नेप्से सूचक १८.१५ अंकले घट्दै १९ सय १५.१४ अंकको विन्दुमा झरेको हो । १८ अंकमाथिले नेप्से घट्दै गर्दा यता १ अर्ब ४१ करोड १३ लाख रुपैयाँ बराबरको ४३ लाख ४० हजार कित्ता सेयर कारोबार भएको छ । आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ । आज माया खोला हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने यूनिक्यू नेपाल लघुवित्त वित्तीय संस्थाको मूल्यमा ७.४६ प्रतिशतले घट्न पुगेको छ ।
काठमाडौं : सामाजिक सुरक्षा कोषमा सूचीकृत हुने योगदानकर्ताको संख्या चार लाख नाघेको छ। सामाजिक सुरक्षा योजना शुभारम्भ भएको चार वर्षमा चार लाख ३० श्रमिक कोषमा सूचीकृत भएका छन्। कोषले २०७५ मंसिर ११ गते सामाजिक सुरक्षा योजनाको घोषणा गरेको थियो। कोषमा आबद्ध हुनेमा सबैभन्दा बढी बागमती प्रदेशबाट तीन लाख सात हजार सात सय १८ श्रमिक सूचीकृत भएका छन्। कोशी प्रदेशबाट ३८ हजार नौ सय ५७, मधेस प्रदेशबाट २१ हजार दुई सय ५८, गण्डकी प्रदेशबाट १५ हजार दुई सय ४१, लुम्बिनी प्रदेशबाट १४ हजार ९९, सुदूरपश्चिम प्रदेशबाट एक हजार पाँच सय २९ र कर्णाली प्रदेशबाट एक हजार दुई सय २८ श्रमिक सूचीकृत भएका छन्। कोषले आगामी असार मसान्तसम्म पाँच लाख श्रमिकलाई सूचीकृत गराउने लक्ष्य लिएको छ। कोषमा १७ हजार सात सय ३९ रोजगारदाता आबद्ध भएका छन्। कोषले हालसम्म ३० अर्ब ११ करोड रुपैयाँ योगदान संकलन गरेको छ। कोषले विभिन्न योजनाबापत योगदानकर्तालाई तीन अर्ब ८३ करोड दाबी भुक्तानी गरेको छ। पछिल्लो समय कोषले सामाजिक सुरक्षाको दायरा विस्तार गर्दै लगेको छ। वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने क्रममा उक्त कार्य शुभारम्भ गर्न लागिएको कोषले जनाएको छ। औपचारिक क्षेत्रका श्रमिकलाई योजनामा आबद्ध गराउँदै आएको कोषले बुधबारदेखि वैदेशिक रोजगारीमा रहेका र विदेशमा स्वरोजगारमा रहेका श्रमिकलाई पनि कोषमा सूचीकृत गराउन थालेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार आयोजित एक कार्यक्रमबीच वैदेशिक क्षेत्रमा रहेका श्रमिकलाई कोषमा सूचीकृत गराउने कार्यको थालनी गरेका थिए।। वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई सूचीकृत गराउन सुरु भएसँगै विदेशमा रोजगारी र स्वरोजगारमा रहेका लाखौँ श्रमिक योजनामा समावेश हुने अनुमान गरिएको छ। गैरआवासीय नेपाली संघ (एनआरएन)ले लामो समयदेखि वैदेशिक रोजगारीमा रहेको श्रमिकलाई सामाजिक सुरक्षा योजनामा समेट्न सरकारसँग आग्रह गर्दै आएको थियो। कोषले नियमितरुपमा योगदान गर्ने योगदानकर्तालाई औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजना गरी विभिन्न योजना सञ्चालन गरिरहेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पत्रकारिता विकास कोष स्थापना गर्ने बताएका छन्। उनले सञ्चारमाध्यम सञ्चालन र स्थायित्वका लागि स्थायी प्रकृतिको पत्रकारिता विकास कोष स्थापना गरिने बताए। आज सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) ले गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले पत्रकार र सबै प्रकारका सञ्चार माध्यमको पेशागत र भौतिक सुरक्षाको प्रत्याभूति गरिने बताए। ‘सम्पूर्ण पत्रकारहरूको स्वास्थ्य, दुर्घटना तथा हुलदंगा वा आतंकको बीमा, साना लगानीमा सञ्चालित तथा मोफसलका सञ्चारमाध्यमको सञ्चालन र स्थायित्वका लागि स्थायी प्रकृतिको पत्रकारिता विकास कोष स्थापना गरिनेछ,’ उनले भने। उनले अहिलेको सरकार संविधान र लोकतन्त्रको रक्षा, सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा दृढतापूर्वक अगाडि बढिरहेको बताए। ‘सरकार प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा व्यक्त जनादेशका आधारमा राजनीतिक व्यवस्थापनको कामसहित विकास र समृद्धिको यात्रामा द्रूततर रूपमा अगाडि बढ्ने संकल्पमा छ,’ उनले भने, ‘मैले दृढताका साथ संकल्प गरेको छु, सम्पूर्ण तागतका साथ निरासा र आशंका चिर्दै आशाको रक्तसञ्चार गर्न, बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्ने सरकारको अठोटमा दर्बिलो ऐक्यवद्धता र सहयोगको अपेक्षा गरेको छु।’
काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री नडराएसम्म जनता डरबाट मुक्त हुन नसक्ने बताएका छन् । बिहीवार सामुदायिक रेडियो प्रसारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले प्रधानमन्त्री डराउनुपर्ने बेला आएको बताएका हुन् । उनले प्रधानमन्त्रीले नागरिक तर्साउने कुरामा नलागी नागरिक र देश विकासका लागि कसरी अघि बढ्ने भन्ने सोच्नुपर्ने बताए । उनले प्रधानमन्त्रीले एक्लै बस्दा डराउनुपर्ने स्थिति सिर्जना हुनु जनतामा नैराश्यता रहेको बताए । उनले भने, ‘म साँच्चिकै डराएको छु, मैले प्रधानमन्त्रीलाई पटक पटक भनेको छु, नागरिकलाई नतर्साउनुस् । तर प्रधानमन्त्री एक्लै बस्दा डराउनुपर्ने बेला भएको छ । एक्लै बिहान बेलुका बस्दै गर्दा डराउनुपर्ने बेला भएको छ ।’ महामन्त्री थापाले प्रधानमन्त्रीले अनावश्यक भेटघाटलाई बन्द गर्नुपर्ने सुझाव पनि दिए । उनले भने, ‘दिनमा कम्तिमा आधा घण्टा समय निकाल्नुहोस्, भेटघाट बन्द गर्नुहोस् र एक पटक सोच्नुहोस् । मसँग भएको एकएक क्षणको समयको कसरी प्रयोग गर्ने ? डराउनुस् । कुर्सीमा बसेको प्रधानमन्त्री डराउनुपर्ने बेला भएको छ । प्रधानमन्त्री डराउनुपर्छ । प्रधानमन्त्री डरायो भने बल्ल नागरिक डरबाट मुक्त हुने अवस्था हुन्छ ।’ महामन्त्री थापाले प्रधानमन्त्रीले आफूसँग पर्याप्त मत छ भनेर बस्ने छुट नरहेको बताए । उनले आफूले अहिलेसम्म जनतामा यस्तो किसिमको नैराश्यता नदेखेको भन्दै सरकारलाई काम नगर्ने छुट नरहेको बताए । उनले अहिलेसम्म यति धेरै मानिस निराश भएको नदेखेको बताउँदै भने, ‘प्रधानमन्त्रीले दायाँ हरेपनि भोट, बायाँ हरेपनि भोट मसँग १७२ छ, १७३ छ ढुक्क छ भन्दै गयो भने टाउको टाउको मात्रै बाँकी रहन्छ, हामीलाई सुन्ने मान्छे बाँकी नरहन सक्छ । मैले यत्ति धेरै तन्नेरीहरु आत्तिएको कहिल्यै देखेको थिइन । यतिधेरै मानिस निरास भएको देखेको थिएन ।’ महामन्त्री थापाले सामुदायिक रेडियोको उन्नयनका लागि आफूले सबै किसिमले सहयोग गर्ने प्रतिवद्धता जनाए । भ्रामक समाचारको प्रवाह रोक्न र समुदायलाई गलत सूचनाबाट जोगाउन सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण हुने स्पष्ट पारे ।
काठमाडौँ: नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले स्वदेशी उत्पादनको वृद्धि गर्न आग्रह गरेका छन् । आज सामुदायिक रेडियो प्रसारक सङ्घको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालीहरू स्वदेशी उत्पादन भन्दा विदेशी उत्पादनलाई प्राथमिकता दिने गरेको भन्दै सामुदायिक रेडियोहरूले स्वदेशी उत्पादनमा जोड दिने अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । उनले विदेशी उत्पादनलाई प्राथमिकता राख्दा अर्बौँ व्यापार घाटा भइरहेको उल्लेख गर्दै सबै नेपालीहरूले स्वदेशमा नै उत्पादित सामग्रीहरूको प्रयोग बढाउनुपर्ने बताए । उनले नेपालीहरूले आफ्नै देशमा उत्पादित सामग्रीहरूको प्रयोग गर्ने हो भने व्यापार घाटा नियन्त्रणमा आउने दाबी गरे । उपाध्यक्ष पाण्डेले रेडियोसँग सम्बन्धित ऐन बनाउँदा आफ्नो पूर्ण समर्थन र सहयोग रहने प्रतिबद्धता जनाए ।
झापा : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आज गृह जिल्ला झापा आउँदैछन्। जिल्लामा तीन दर्जन बढि आवास भवनको उद्घाटन गर्न अध्यक्ष ओली झापा आउन लागेका हुन्। उनी दिउँसो १ बजे झापा आउने कार्यक्रम तय भएको छ। उनले भोलि मेची सहकारी संस्थाले दमक २ मा निर्माण गरेका ४३ वटा आवास भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ। भोलि नेकपा एमाले झापाले आयोजना गरेको जिल्लास्तरीय प्रशिक्षण कार्यक्रममा सहभागी भएर अध्यक्ष ओली काठमाडौं फर्किनेछन्।
काठमाडौं : सुनको मूल्य आज १२ सय रुपैयाँले बढेको छ। अघिल्लो कारोबार दिन बुधबार दुई हजारले घटेर प्रतितोला सुन १ लाख ७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार १२ सय रुपैयाँले बढेर प्रतितोला सुन १ लाख ९ हजार रूपैयाँ कायम भएको हो। तेजाबी सुनको मूल्य १ लाख ८ हजार ५०० तोकिएको छ। सुनको मूल्य बढेसँगै चाँदी पनि बढेको छ। यसदिन चाँदी प्रतितोला १३ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदी तोलाको १ हजार ३३५ रुपैयाँमा कारोबार भएको थियो।
गण्डकी: पोखरा विश्वविद्यालयको शिक्षण अस्पतालले आगामी वैशाखदेखि आकस्मिक सेवा सुरु गर्ने तयारी गरेको छ । विसं २०७९ भदौ २२ गतेदेखि ओपिडी सञ्चालन गर्दै आएकामा अस्पताललाई पूर्णरूपमा सञ्चालन गर्ने तयारी गर्दै आकस्मिक सेवा सञ्चालन गर्न लागिएको हो । पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान सङ्कायका डीन डा अमर नागिलाले शिक्षण अस्पताल सञ्चालनको सम्पूर्ण प्रक्रिया अन्तिम चरणमा रहेको जानकारी दिनुभयो । गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिवको संयोजकत्वमा गठित वातावरणीय अध्ययन प्रतिवेदन जाँचबुझसम्बन्धी प्राविधिक समितिलाई विश्वविद्यालयले शिक्षण अस्पतालको वातावरणीय परीक्षण प्रतिवेदन प्रस्तुत गरिसकेको र मन्त्रालयले त्यसको चाँडै टुङ्गो लगाउने उहाँले बताउनुभयो । “मन्त्रालयले काम गर्दै गर्नुस् भनेको छ, तर सञ्चालन अनुमतिपत्र पाएपछि एक सय शय्याको अस्पतालको रूपमा हामी पूर्णरूपमा सेवा दिन्छौँ”, उहाँले भन्नुभयो । पोखरा विश्वविद्यालय शिक्षण अस्पतालका निर्देशक डा दीपेन्द्रकुमार यादवले अस्पताल सञ्चालनका लागि जनशक्ति व्यवस्थापन भइसकेको र आवश्यक फर्निचर तथा उपकरणको यथेष्ट व्यवस्थापन गरी वैशाखको पहिलो हप्तादेखि आकस्मिक सेवा सञ्चालन गर्ने तयारीमा रहेको जानकारी दिनुभयो । विश्वविद्यालयका इन्जिनियर सुदीप अधिकारीले अस्पतालको सम्पूर्ण निर्माण कार्य सम्पन्न भइसकेको बताउनुभयो । पोखरा विश्वविद्यालय शिक्षण अस्पताल पोखरा महानगरपालिका–३०, खुदी, ढुङ्गेपाटनमा अवस्थित पोखरा विश्वविद्यालय प्राज्ञिक भवन कम्प्लेक्सको पूर्वपट्टि रहेको ११ रोपनी तीन आना जग्गामा निर्माण गरिएको छ ।

