काठमाडौं : भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले देशको पुरानो ऐतिहासिक विरासत बोकेको मालपोत र नापीलाई सूचना प्रविधियुक्त कार्यालयका रूपमा रुपान्तरण गर्दै लैजाने योजना अघि सारेको छ । परम्परागत शैलीका अभिलेख र कार्यप्रणालीलाई विद्युतीय प्रणालीमा रुपान्तरण गरिएमा मात्र सेवा प्रवाहलाई प्रभावकारी र चुस्त बनाउन सकिने उद्देश्य राखेर मन्त्रालयले उक्त अभियान अघि सारेको हो । मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले मालपोत र नापीमा प्रयोगमा ल्याइएका भू–सूचना प्रणाली र भूसेवा केन्द्र सबै कार्यालयमा विस्तार गरी जग्गाधनीलाई विद्युतीय नम्बर प्रदान गरिने लक्ष्य रहेको बताए । उनले भने, ‘नापी विभाग र कार्यालयको मेरो कित्ता प्रणालीबाट जग्गाधनीले घरबाटै आफ्नो जग्गाको नक्सा लिन सक्नेछन् । मालपोत कार्यालयका एक करोड बढी कागजी अभिलेखलाई शीघ्र विद्युतीय अभिलेखमा रुपान्तरण गर्ने काम बजेट अभावका कारणले चुनौतीपूर्ण छ ।’ चालु आर्थिक वर्षमा मालपोत र नापी विभागको सूचना प्रणालीलाई एकीकृत गरी भूमि प्रशासनको सेवालाई प्रभावकारी बनाउन मन्त्रालयले मातहतका विभागलाई निर्देशन दिइसकेको छ । वैदिककालदेखि नै भूमिलाई राज्यको अधीनमा राखी भूमिको उपभोग गर्नेले निश्चित कर राज्यलाई बुझाउनुपर्ने चलन छ । महिषपाल तथा किराँतकालमा भने जग्गाधनीपूर्जा जस्तै ‘लेख्य’ नामको प्रमाण दिइने र उत्पादनअनुसार जग्गाको कुत तिर्नुपर्ने व्यवस्था थियो । माल अड्डामा घरजग्गाको रजिष्ट्रेशन पारित गर्ने कार्यको सुरुआत भने १९७९ वैशाख १ गतेदेखि सुरु भएको हो । भूमिको समुचित व्यवस्थापन गर्ने क्रममा नेपालमा १९८५ देखि १९९० सालसम्ममा जग्गा नापजाँच गर्ने कार्य भएको थियो । विसं १९९६ मा काठमाडौँमा नापी गोश्वाराको स्थापना भई भूमिको वास्तविक लगत तयार पार्ने काम भएको हो । सचिव डा रेग्मीका अनुसार हाल मुलुकमा २१ भूमि सुधार र एक सय १० मालपोत कार्यालय छन् । मुलुकमा एक सय ३१ नापी कार्यालय र सातवटा विशेष नापी कार्यालय छन् । ती कार्यालयले वार्षिक रु डेढ खर्ब राजस्व उठाउने गरेकामा त्यसमध्ये रु ५० अर्ब सङ्घमा, रु ६० अर्ब स्थानीय तहमा र रु ४० अर्ब प्रदेशसित रहने सचिव रेग्मीले जानकारी दिए।
काठमाडौं: प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले संवैधानिक आयोगहरूको कामको प्रकृति र दक्ष जनशक्तिको निरन्तर उपलब्धताका लागि बेग्लै कर्मचारी सेवा समूह आवश्यक रहेको बताउनुभएको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा आयोगको सचिवालयमा रही कार्य गर्ने कर्मचारीहरूलाई धन्यवादसहित कदरपत्र वितरण गर्न आज (बुधबार) आयोगमा आयोजित कार्यक्रममा प्रमुख आयुक्त थपलियाले निर्वाचन सकिएपछि आयोगका कर्मचारीमा विचलन आउने र सरुवा खोज्ने प्रवृत्ति अन्त्य गर्न बेग्लै सेवा समूहको आवश्यकतामा जोड दिनुभयो । उहाँले निर्वाचनपछि नीतिगत र कानुनी सुधारका लागि आयोगले काम गरिरहेको बताउँदै उहाँले सचिवालय र काजमा रहेर काम गर्ने कर्मचारी, सुरक्षाकर्मीलगायतलाई धन्यवाद व्यक्त गर्नुुभयो । सो अवसरमा आयोगका सचिव गोकर्णमणि दुवाडीसहित कर्मचारी, संयुक्त निर्वाचन सञ्चालन केन्द्रका पदाधिकारी, विज्ञलगायतलाई निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र निष्पक्षरूपमा सम्पन्न गराउन महत्वपूर्ण निर्वाह गरेकामा कदरपत्र प्रदान गरिएको थियो ।
भोजपुर: राष्ट्रपति विद्यादेवी भण्डारी गृह जिल्ला भोजपुरको उत्तरी क्षेत्र साल्पासिलिछो गाउँपालिकाको कुलुङ आउनुभएको छ । साल्पासिलिछो गाउँपालिका र षडानन्द नगरपालिकामा हुने विभिन्न कार्यक्रममा सरिक हुन उहाँ भोजपुर आउनुभएको हो । साल्पासिलिछो गाउँपालिका र योगमाया स्मृति प्रतिष्ठानले आयोजना गर्ने कार्यक्रममा राष्ट्रपति भण्डारीले वडा नं १ कुलुङमा योगमाया न्यौपानेको सालिक अनावरण गर्नुहुनेछ । साथै पूर्वको पशुपति भनेर चिनिने पशुपतिधाम गौडेनीमा पूजाअर्चनाको गर्नुहुने गाउँपालिका अध्यक्ष दौलत कुलुङ राईले जानकारी दिनुभयो । राष्ट्रपति भण्डारीले स्मृति प्रतिष्ठानको अवलोकन समेत गर्नुहुनेछ । वि.सं १९२४ सालमा भोजपुरमा जन्मिनु भएकी योगमाया न्यौपाने सामाजिक आन्दोलनकर्ता हुनुहुन्थ्यो । राष्ट्रपति भण्डारीले षडानन्द नगरपालिका–१ मझुवाबेँसीमा रहेको योगमायाको समाधिस्थलमा माल्यार्पण, गर्नुका साथै वडा नं ७ मा रहेको बालागुरु षडानन्द अधिकारीको सालिक अनावरण तथा माल्यार्पण गर्ने कार्यक्रमसमेत रहेको नगर प्रमुख सुरेन्द्र उदासले जानकारी दिनुभयो । प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समाधिस्थल पार्कको शिलान्यास गर्नुहुनेछ ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (यूएसएआईडी) प्रमुख सामन्था पावरबीच भेटवार्ता भएको छ। बुधबार दिउँसो सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डसँग यूएसएआईडी प्रमुख पावर नेतृत्वको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको हो। यसअघि उहाँले उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेटवार्ता गरिसक्नुभएको छ। अर्थ मन्त्रीसँगको भेटमा नेपालको अर्थतन्त्र, नेपाल र अमेरिकाबीचको सम्बन्ध विस्तारका साथै अमेरिकी सहयोग परियोजना (एमसीसी) को कार्यान्वयनमा जोड दिनुभएको छ। उहाँले मङ्गलबार परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग पनि भेटवार्ता गरिसक्नु भएको छ। दुई दिने नेपाल भ्रमणमा मङ्गलबार काठमाडौं आइपुग्नुभएकी उहाँले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। भेटवार्ता सकेर उहाँ आजै स्वदेश फर्किनु हुनेछ।
दाङ: राष्ट्रियसभा उपनिर्वाचनमा सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा (एमाले) का उम्मेदवार कुमार दशौदी विजयी हुनुभएको छ । खसेको कुल मतको मतभार ७ हजार ९ सय मध्ये ४ हजार २६ मत प्राप्त गरी दशौदी राष्ट्रियसभा सदस्यमा विजयी हुनुभएको हो । दशौदीले प्रदेशतर्फ २०६४ र स्थानीय तहतर्फ १९६२ गरी जम्मा ४ हजार २६ मतभार प्राप्त गर्नु भएको छ । नेपाली कांग्रेसका उम्मेदवार माधवप्रसाद आचार्यले प्रदेशतर्फ १७७६ र स्थानीय तहतर्फ १९४४ जम्मा ३७२० मत प्राप्त गर्नुभयो। नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर रायले १ सय ९२ मतभार प्राप्त गर्नुभएको निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिनुभएको छ । प्रदेश सभातर्फ १ सय ४४ मतभार बदर भएको छ । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा रिक्त एक सदस्य चयन गर्नका भएको मतदानमा प्रदेशसभाका ८७ जना र स्थानीय तहका प्रमुख–उपप्रमुख २ सय १७ जनाले मतदान गर्नुभएको थियोे । प्रदेशसभा सदस्य र स्थानीय तह प्रमुख उपप्रमुख गरी ३०५ जना मतदाता रहेकोमा रुपन्देही जिल्लाको मर्चवार गाउँपालिका उपप्रमुख आशा सिंह मतदानमा सहभागी हुनु भएन । सिंह नेपाली प्रगतिशील पार्टीबाट स्थानीय तह उपप्रमुखमा निर्वाचित हुनुभएको थियो। राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले राजीनामा दिएपछि उपनिर्वाचन भएको थियो ।
काठमाडौं: टर्कीमा गएको विनासकारी भूकम्पपछि राहत र पुनस्र्थापनाका लागि नेपाल सरकारले मेडिकल टिम र अत्यावश्यक सामग्री पठाउने भएको छ। बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको दशौं बैठकले उक्त निर्णय गरेको हो। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टर्की नेपालको असल मित्रराष्ट्र भएकाले नेपालका तर्फबाट सम्भव भएसम्म सहयोग गर्नुपर्ने बताउनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, ‘‘नेपाल हाम्रो असल मित्र राष्ट्र हो। हिजो हामीलाई अप्ठ्यारो पर्दा टर्की सरकारले सहयोग गरेको हो। टर्की सरकारको दुःखमा हामीले पनि सहयोग गर्नुपर्छ। त्यसैले छिटोभन्दा छिटो टोली र प्राविधिक सामान पठाएर सहयोग गरौँ।” बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, मुख्यसचिव शंकरदास बैरागी, नेपाली सेनाका प्रधानसेनापतिलगायत समितिका पदाधिकारी र सदस्य उपस्थित हुनुहुन्थ्यो। बैठकले आवश्यक तयारी गरेर छिटोभन्दा छिटो मेडिकल टोली, मेडिकल सामग्री, लजिष्टिक सामग्री र टर्कीको वातावरणसँग मिल्ने खाद्य सामग्री पठाउने निर्णय गरेको छ।
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालमै बसेर केही गर्छु भन्ने व्यवसायीहरू टाट पल्टिन थालिसकेको बताएका छन् । काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा चन्दले वित्तिय संस्थाहरूले प्रवाह गरेको ऋणका कारण व्यवसायीहरू संकटमा पर्दै गएको बताएका हुन् । नेकपाका महासचिव चन्दले वित्तिय संस्थाबाट लिएको ऋणका कारण किसानहरू उठिबास लाग्ने अवस्था आएको दावी गरे । चन्दले भने,‘सरकारको गलत नीतिका कारण मध्यम वर्गीय व्यवसायीहरू जल्न बाध्य भएका छन् ।’ राष्ट्रिय उद्योगीहरू समेत आर्थिक भारका कारण आन्दोलन गर्न बाध्य भएका छन् । तराईमा मिटर ब्याजी र पहाडमा लघुवित्तको आतंकबाट सर्वसाधारण जनताहरू आतंकित भएको उनको भनाइ छ । राज्यसमेत वित्तिय संस्थाहरूको आतंक रोक्न उदासिन भएको उनको आरोप छ।
नवलपुर: पूर्वपश्चिम राजमार्गअन्तर्गत विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडक खण्डको काम चार वर्ष पूरा हुँदा २५ प्रतिशत मात्रै पूरा भएको छ । विसं २०७५ माघ २४ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडसँग ठेक्का सम्झौता भएर सुरु सडक विस्तारको प्रगति चार वर्षमा २५ प्रतिशत मात्रै सकिएको आयोजनाले जनाएको छ । नारायणगढ–बुटवल सडक विस्तार योजना पूर्वीखण्ड प्रमुख इन्जिनियर रमेशकुमार दिष्टीका अनुसार गत साउन २२ मा सडक विस्तारको काम सक्नुपर्नेमा विभिन्न कारण देखाउँदै निर्माण कम्पनीले तीन सय ८६ दिन म्याद थप गराएको छ । “सडक विस्तारको काम सक्नुपर्ने समयसम्म १८ प्रतिशत भौतिक प्रगति देखिएको थियो”, इन्जिनियर दिष्टीले भन्नुभयो, “म्याद थप भएको छ महिनामा थप सात प्रतिशत भौतिक प्रगति भएको छ ।” अहिले सडक विस्तारका लागि सबै प्रकारका कामहरु भइरहेका योजनाको पूर्वीखण्ड प्रमुख दिष्टीले बताउनुभयो । नारायणगढ–बुटवल सडक विस्तार योजनाको पूर्वीखण्डका सूचना अधिकारी इन्जिनियर धिरज ढकालले अहिले व्यवस्थित तरिकाले सडक विस्तारको काम भइरहेको बताउनुभयो । “अहिले यस खण्डमा कल्भर्ट निर्माण, साना पुल निर्माण, ठूला पुल निर्माणका कामहरु भइरहेका छन्”, उहाँले भन्नुभयो, “गैँडाकोटको भेँडाबारी क्षेत्रमा करिब एक किलोमिटर क्षेत्रमा अक्स्पाल्ट (कालोपत्र)को काम गरिएको छ ।” भेँडाबारी क्षेत्रमा एकतर्फी अक्स्पाल्टको काम भइरहेको भन्दै इन्जिनियर ढकालले सबबेस (कालोपत्र गर्नुपूर्वको अवस्था)को काम एकतर्फी १४ किलोमिटर क्षेत्रमा सकिएको बताउनुभयो । सडक विस्तारको कामसँगै सडक विस्तारका लागि सडक किनारमा रहेका अवरोधहरु हटाउने काम भइरहेको उहाँको भनाइ छ । “सडक मापदण्डमा पर्ने दाउन्ने क्षेत्रका २५ वटाबाहेक सम्पूर्ण रूख कटानको काम सकिएको छ”, इन्जिनियर ढकालले भन्नुभयो, “बिजुलीको पोल सार्ने काम पनि ३५ प्रतिशत सकिएको छ ।” सडक विस्तारका लागि २७ किलोमिटर क्षेत्रफलमा बिजुलीको पोल सारेर सकिएको जानकारी दिँदै ढकालले खानेपानीको पाइप सार्ने काम अन्तिम चरणमा पुगेको बताउनुभयो । यस सडकको पूर्वीखण्डमा ९३ वटा कल्भर्टको निर्माण सम्पन्न भइसकेको भन्दै ढकालले ४८ वटा कल्भर्ट निर्माणको काम भइरहेको जानकारी दिनुभयो । “पूर्वीखण्डमा २२ वटा माइनर ब्रिज (साना पक्की पुल) निर्माण हुनुपर्नेमा १२ वटाको निर्माण सम्पन्न भइसकेको छ, पाँचवटामा निर्माण भइरहेको छ भने दुईवटामा काम हुनै बाँकी छ”, उहाँले भन्नुभयो, “यहाँ १२ मेजर ब्रिज (ठूला पुल) निर्माणको काम भइरहेको छ । जसमध्ये अहिले बेल्डिहा, मुकुन्दे, गिरुबारी र विजयी खोलामा पुल निर्माणको काम भइरहेको छ । साना फलामे पुल र ठूला पुल दुई लेनका मात्रै भएकाले ती पुल विस्थापित गर्नेगरी चार लेनमा नयाँ पुल निर्माणको काम सडक विस्तारसँगै भइरहेको हो । सूचना अधिकारी ढकालले हासम्म योजनाको भौतिक प्रगति करिब १८.७ प्रतिशत भएको जानकारी दिनुभयो । ढकालका अनुसार सडक विस्तारका क्रममा पूर्वी खण्डमा रु एक अर्ब ७१ करोड ३६ लाख खर्च भएको छ । यस खण्डको कूल बजेट रु नौ अर्ब १५ करोड ७२ लाख ४६ हजार रहेकामा ८५ प्रतिशत ऋण सहयोग एसियाली विकास बैंक (एडिबी)ले उपलब्ध गराउनेछ । सडक निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडका कन्ट्र्याक्ट म्यानेजर (ठेक्का व्यवस्थापक) राजेश झाले प्रतिमहिना तीन प्रतिशतभन्दा बढीका दरले प्रगति भेट्ने गरी काम गरिरहेको बताउनुभयो । “अहिले हाम्रो साइटमा दैनिक एक हजार बढी कामदारले काम गरिरहेका छन्”, उहाँले भन्नुभयो, “यो आर्थिक वर्षमा आयोजनाको ५० प्रतिशत प्रगति हुने गरी काम भइरहेको छ ।” पहिले कोभिड, रूख कटान तथा खानेपानीका पाइप र बिजुलीका पोलले सडक विस्तारमा ढिलाइ गरेको भए पनि अब सम्पूर्ण अवरोध सकिएकाले लक्ष्यअनुसारको प्रगति हासिल गरिने उहाँले बताउनुभयो । “परीक्षण कालोपत्र सफल भएपछि अब हामीले थप ठाउँमा कालोपत्रको काम अगाडि बढाउँछौँ”, ठेक्का व्यवस्थापक झाले भन्नुभयो, “पहिलो चरणको ६ सेन्टिमिटर र दोस्रो चरणमा चार सेन्टिमिटरको थप कालोपत्रको काम हुन्छ ।” ठूला पुलहरुमध्ये ११ वटामा फाउन्डेसन (पिलर उठाउनका लागि जमिनमा गरिने ढलान) का सकिएको भन्दै झाले त्यसमध्ये छवटा पुलको सबस्ट्रक्चर (जमिनबाट माथि पिलर उठाउने काम) सकिएको बताउनुभयो । “आगामी असारसम्म सबै पुलको सब स्ट्रक्चर सक्नेगरी मेजर ब्रिजको काम भइरहेको छ, अरुण खोलामा माटोमा समस्या आएर काम रोकिएको छ ।” यस खण्डमा दुई सय १५ वटा कल्भर्ट निर्माण हुनेमा दाउन्ने खण्डमा कल्भर्ट निर्माणको काम सुरु भएको छैन । “दाउन्ने खण्डको पाँच किलोमिटरमा ३० वटा कल्भर्ट बन्छन्”, झाले भन्नुभयो, “त्यहाँ डाइभर्सन गरेर सवारीसाधन चलाउने अवस्था नभएकाले अहिले एक्साभेटर प्रयोग गरेर दाउन्नेको भित्तो काट्ने काम भइरहेको छ, भित्तो काटेर सकेपछि कल्भर्ट निर्माणको काम सुरु गर्छौं ।” यो वर्ष ५० प्रतिशत काम सकाएर आगामी वर्ष आयोजनाको काम सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गर्ने गरी काम भइरहेको झाले बताउनुभयो । नारायणगढ–बुटवल खण्डको एक सय १४ किलोमिटरमध्ये पूर्वीखण्डमा ६५ किलोमिटर सडक पर्दछ । यस खण्डको सहरी क्षेत्रमा चारलेन सडकको अतिरिक्त १७.४ किलोमिटर सडकमा सर्भिस लेन निर्माण गरिनेछ भने दाउन्नेको ४.१ किलोमिटर उकालोमा तीन लेनको सडक विस्तार हुनेछ । सडक विस्तारका लागि ३६ हजार दुई सय ३२ रूख काटिँदैछन् ।
काठमाडौं : नेपाली कांग्रेस सांसद प्रदीप पौडेलले नयाँ संसद 'चुनावी सभा'जस्तो लागेको बताएका छन्। आफू पहिलो पटक संसद प्रवेश गरेको भन्दै त्यो संसद हो कि चुनावी सभा हो छुट्याउन गाह्रो भइरहेको उनको भनाइ छ। बुधबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित कार्यक्रममा बोल्दै सांसद पौडेलले संसदमा सांसदहरूले सामान्य कुरामा समेत ख्याल नगरेको पाइएको बताए। 'विभिन्न पार्टीबाट सांसदहरू संसदमा आउने भएपनि सबैको उद्देश्य समग्र व्यथितिका विरूद्ध लड्ने होला सोचेको तर त्यो अनुमान फेल खायो त्यो निरासामा परिणत भयो,'उनले भने कुनै तथ्यमा आधारित भएर बोल्नुपर्दैन। सबैको नजर केन्द्रित भएको संसदमा झुटो बोल्नुहुँदैन,यसलाई खण्डन गरिनेछ। यसले मेरो व्यक्तित्वमा आँच आउनेछ भनेर कसैले महशुस गरेको देखिएन।' संसदजस्तो गरिमामय संस्थामा सांसदहरूले एकले अर्कोलाई गाली गर्ने,मर्यादा कायम नगरेको भन्दै आपत्ती जनाए। उनले भने,'एकले अर्कालाई गाली गर्ने। कुनै पनि मर्यादा कायम नगर्ने। म हुँदा सबै ठिक हुन्छ, म नहुँदा सबै बर्बाद भयो भन्ने तर्क तथ्यमा आधारित होइन दम्भ प्रस्तुत जुन खालको प्रवृत्ति देखिएको छ। यही संस्कारको विकास भयो भने लोकतन्त्रमाथि धेरै ठूलो खतरा हुने स्थिति छ।' उनले गणतन्त्र प्राप्तिका लागि नेपाली कांग्रेसको ठूलो त्याग,तपस्या र योगदान रहेको बताए। संघर्षबाट थुप्रै उपलब्धि प्राप्त भएको भन्दै उनलेव्यवस्था परिवर्तन भएपनि अवस्थालाई अनुभूति गर्नेगरी परिवर्तन गर्न नसकिएको बताए। उनले भने,'गणतन्त्र प्राप्तिको आन्दोलनमा जंगलमा बसेर हतियार बोकेर नभइ नारायणीहिटी दरबारको नाकैमुनि बसेर तमाम बेथितिको अन्त्यका लागि आफूलाई जोखिमा राखेर संघर्ष गरेका थियौं। त्यो संघर्षबाट उपलब्धि भएनन् भन्ने होइन। थुप्रै उपलब्धी भए। तर,अनुभूति हुनेगरी स्थिति बनेन।' अहिलेको आवश्यकता शालिक व्युताउने नभइ देशलाई समृद्धि बनाउन रहेको उनको भनाइ छ।'आज फेरि भत्किएका, ढालिएका शालिकहरू व्युताउन खोजिएको छ। आजको आवश्यकता शालिक व्युताउने होइन देशलाई समृद्धि बनाउने हो।'