काठमाडौँ: नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग भारतीय विदेश सचिव विनयमोहन क्वात्राले भेटेका छन् । दुई दिने नेपाल भ्रमणमा हिजो आइपुगेका सचिव क्वात्रा नेपालको निवासमै गएर भेटेको नेपालस्थित भारतीय दूतावासले जनाएको छ । दुईजनाको बीचमा बहुपक्षीय र क्षेत्रीय सहकार्यका विषयमा पनि छलफल भएको बताइएको छ । जनता–जनताबीचको सम्बन्धको बारेमा दुईजनाको बीचमा कुरा आदान प्रदान भएको बताइएको छ । हिजो राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री प्रचण्ड, परराष्ट्र मन्त्री विमला राई पौडेल, काँग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि उनले भेटघाट गरेका थिए । नेपालका परराष्ट्र सचिव भरतराज पौड्यालसँग हिजो भएको छलफलमा विकास साझेदारी, ऊर्जा सहकार्य, व्यापार तथा आर्थिक सहकार्य, संस्थागत सम्पर्क र जनता–जनताबीचको सम्बन्ध लगायत भारत र नेपालबीचको बहु आयामिक सहयोगका विविध पक्षबारे छलफल भएको दूतावासले जनाएको छ । गत वर्ष प्रधानमन्त्रीको भ्रमणका क्रममा अन्तर देशीय कनेक्टिभिटी, जलविद्युत सहयोग, संस्कृति, व्यापार तथा वाणिज्य लगायत विविध क्षेत्रमा गरिएका प्रतिबद्धता कार्यान्वयनमा भएको प्रगतिको विषयमा पनि दुवै परराष्ट्र सचिवले समीक्षा गरेको बताइएको छ । रेलमार्ग कनेक्टिभिटीको सम्बन्धमा दुवै पक्षले जयनगर–कुर्था–बिजलपुर–बर्दिबास र जोगबनी–विराटनगर रेल परियोजनाका बाँकी खण्डको निर्माण चाँडै सम्पन्न गरी सञ्चालनमा ल्याउने सहमति जनाइएको छ । साथै दुई पक्षबीच प्रस्तावित रक्सौल–काठमाडौँ रेल परियोजनालाई अघि बढाउन आवश्यक पर्ने प्रक्रियागत कार्यलाई द्रुतरुपमा अगाडि बढाउने सहमति भएको भारतीय दूतावासले जनाएको छ । दुवै पक्षले गत वर्ष ऊर्जा सहकार्यमा भएको प्रगतिको चर्चा गर्यो जस अन्तर्गत नेपाल अहिले ४५२।६ मेगावाट विद्युत् भारततर्फ निर्यात गर्न सक्षम भएको छ । यसले भारतलाई बिजुली प्रदान गरेको छ भने नेपालमा थप राजस्व स्रोतको सिर्जना गरेको बताइएको छ । नेपाली पक्षले दीर्घकालीन रूपमा भारततर्फ विद्युत् निर्यातका लागि मार्ग प्रशस्त गर्न भारतीय पक्षसँग अनुरोध गरिएको बताइएको छ । भारत र नेपाल बीचको उर्जा व्यापारलाई थप सुदृढ बनाउन विनिमय बजारका सबै उत्पादनलाई उपयोग गर्न पनि नेपाली पक्षले भारतलाई अनुरोध गरेको बताइएको छ । सन् २०२२ अप्रिलमा भारत र नेपालबीच भएको ऊर्जा क्षेत्र सहकार्य सम्बन्धी संयुक्त दृष्टिकोण पत्रको पूर्ण कार्यान्वयनका लागि प्रतिबद्धता जनाउँदै दुई देशका परराष्ट्र सचिवले उपक्षेत्रीय सन्दर्भमा पारस्परिक लाभकारी सहकार्यका लागि हातेमालो गर्ने सहमति जनाएको छ । विश्वमा व्याप्त कठिनाइको समयमा नेपालमा कृषि उत्पादनको सहज आपूर्तिलाई सुनिश्चित गर्न विशेष गरी नेपालका लागि भनेर चिनी, गहुँ र धानको निर्यातमा भारतले गरेका विशेष व्यवस्थालाई नेपाली पक्षले प्रशंसा गरेको दूतावासले दाबी गरेको छ ।
काठमाडौं: नेपाल सरकार र यातायात व्यवसायीबीच भएको वार्ता सकारात्मक भएपछि यातायात बन्द फिर्ता भएको छ । सम्झौता गरिएका मागहरू पूरा नगरेको भन्दै आन्दोलनमा उत्रिएका यातायात मजदुर र व्यवसायीसँग सरकारले आजै वार्ता गरेको थियो। उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठको पहलमा भएको वार्तापछि बन्दा फिर्ता भएको जानकारी उपप्रधानमन्त्री श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले दिनुभयो । दुवै पक्षबीच भएका सहमतिलाई लिएर प्रेस वक्तव्य तयार हुँदै गरेको जानकारी पनि सल्लाहकार गिरीले दिनुभयो । यातायात व्यवस्था विभागका महानिर्देशक तुलसीनाथ गौतमका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रीसँग यातायात व्यवसायी र मजदुरबीच सिंहदरबारमा भएको वार्ता सकारात्मक भएको र यातायात बन्दका कार्यक्रम फिर्ता लिने निर्णय भएको बताउनुभयो । वार्तामा यातायात मजदुरलाई कुटपिट गर्नेहरूमाथि कारबाही गर्ने, ल्होत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्कमा गरेको भनिएको अनियमितता लगायतका विषयमा छानबिन गर्ने, बाँकी मुद्दाहरूबारे मन्त्रालयले गठन गरेको सर्वपक्षीय कार्यदलमा छलफल गर्ने सहमति भएको उहाँले जानकारी दिनुभयो ।
म्याग्दी: म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटीबाट सडकबत्ती जडान गरिएको छ । गलेश्वर बजारको २ दशमलव ५ किलोमिटर सडक र मन्दिर परिसरमा सोमवार ५५ सडकबत्ती जडान गरिएको हो । गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले मन्दिरमा भक्तजनले चढाएको भेटी परिचालन गरेर सडकबत्ती राखिएको जानकारी दिनुभयो । सडकबत्ती जडान गर्न कुल दुई लाख ३० हजार सात सय ५० रुपैयाँ खर्च भएको उहाँले जानकारी दिनुभयो । स्थानीयवासी, म्याग्दी र मुस्ताङ जाने पर्यटकलाई रातका समयमा पैदल र गाडीमा आवतजावतका लागि सहज भएको छ। ‘गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटीबाट बत्ती जडान गरिएको छ, अध्यक्ष रेग्मीले भन्नुभयो, ‘मर्मत र विद्युत् महसुल पनि मन्दिरको आम्दानीबाट व्यवस्थापन गर्छौँ ।’ सडकबत्तीले बजारलाई उज्यालोका साथै सुरक्षित बनाउन सहयोग पुगेको स्थानीयवासी बमबहादुर पुनले बताउनुभयो । गलेश्वर मन्दिरमा भक्तजनले चढाएको भेटी पुजारी, कर्मचारीको तलब, संस्कृत विद्यालय, ज्येष्ठ नागरिक आश्रम सञ्चालन र पूर्वाधार निर्माणमा परिचालन हुँदै आएको छ । भेटी, महायज्ञबाट सङ्कलन तथा तीर्थयात्रीले दिएको दानबाट पछिल्लो १२ वर्षको अवधिमा करिब १० करोड रुपैयाँको लागतमा विभिन्न भौतिक पूर्वाधार निर्माण भएको छ । गलेश्वरमा भक्तजनले चढाउने भेटी मेलाको भोलिपल्टै र अन्य समयमा मासिकरूपमा गनेर सार्वजनिक गर्ने गरिएको छ । कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको एउटै चट्टानमाथि रहेको गलेश्वरलाई पश्चिमको पशुपतिनाथ र मुक्ति क्षेत्रको प्रवेशद्वारका रूपमा चिनिन्छ । साउन महिनाको सोमवार, बालाचर्तुदशी, महाशिवरात्रि पर्वमा विशेष मेला लाग्ने गलेश्वरमा दैनिक पूजाआजा हुन्छ । गलेश्वरमा पूजाआजा र दर्शन गर्नाले पुण्य मिल्नुका साथै मनोकाङ्क्षा पूरा हुने जनविश्वास छ ।
तनहुँ: तनहुँको व्यास नगरपालिका–५ बेनीपाटनमा सञ्चालित ज्येष्ठ नागरिक आश्रममा नौ वृद्धवृद्धाले सहारा पाउनुभएको छ । विसं २०६८ मा स्थापित सो आश्रम राष्ट्रिय परोपकार महासङ्घ तनहुँ शाखामार्फत सञ्चालित छ । आश्रमले छोराछोरीविहीनलाई सहारा दिएर पालनपोषण गरिरहेको महासङ्घ तनहुँका उपाध्यक्ष बलबहादुर रानाभाटले जानकारी दिनुभयो । “जसको घरजग्गा छैन, जसको छोराछोरी हुनुहुन्न त्यस्ता ज्येष्ठ नागरिकलाई आश्रमले आश्रय दिइरहेको छ”, उहाँले भन्नुभयो । आश्रममा रहेका ज्येष्ठ नागरिक आफैँले तरकारी उत्पादन गर्नुहुन्छ । आश्रममा आठ गाई पालिएको छ । गाईको स्याहारसुसार पनि ज्येष्ठ नागरिकले गर्दै आउनुभएको छ । “आश्रम नजिक रहेको जग्गामा आफैँले तरकारी उत्पादन गर्नुहुन्छ, तरकारी बाहिरबाट किन्न पर्दैन”, उहाँले भन्नुभयो, “ज्येष्ठ नागरिकलाई बिहान–बेलुका नै दूधको व्यवस्था गरिएको छ ।” आश्रमका हरेक कोठामा नुहाउनका लागि तातोपानीको व्यवस्था गरिएको छ । यसका लागि आश्रममा सोलार जडान गरिएको छ । उक्त आश्रम दाताको सहयोगमा सञ्चालित छ । सरकारी तवरबाट कुनै सहयोग नरहेको र विभिन्न व्यक्ति तथा सङ्घसंस्थाको चन्दाबाट आश्रम सञ्चालनमा सहयोग पुगेको रानाभाट बताउनुहुन्छ । व्यास नगरपालिका–५ चापाघाटमा विसं २०७० वैशाख १ गतेदेखि वेदव्यास ज्येष्ठ नागरिक आश्रम सञ्चालित छ । दमौलीका विभिन्न क्षेत्रमा क्रियाशील महिलाको सक्रियतामा असहाय नागरिक संरक्षण गर्ने उद्देश्यसहित आश्रम सञ्चालन गरिएको थियो । आश्रममा हाल तीन जनाले आश्रय लिइरहनुभएको छ । आश्रम सञ्चालनका लागि मासिक करिब रु ३५–४० हजार खर्च हुने गरेको छ । वृद्धवृद्धाको स्याहारसुसारका लागि आश्रममा एक जनालाई रोजगारी पनि दिइएको छ । दाताको सहयोग विभिन्न व्यक्ति तथा सङ्घसंस्थाको सहयोगबाट आश्रम सञ्चालनमा सहज भएको आश्रमकी सचिव निर्मला मल्लले जानकारी दिनुभयो । “व्यक्तिले जन्मदिन, पुण्यतिथिलगायतको अवसर पारेर आश्रममा सहयोग गरिरहनुहुन्छ, त्यही सहयोगका कारण आश्रम सञ्चालनमा कठिनाइ भएको छैन”, उहाँले भन्नुभयो । विभिन्न पेसा व्यवसायमा आबद्ध महिला सङ्गठित भएर आश्रम सञ्चालन गरेको र ज्येष्ठ नागरिकलाई सेवा गर्न पाउँदा आत्मसन्तुष्टि मिलेको उहाँले बताउनुभयो । तीस जना महिलाबाट सुरु भएको वेदव्यास ज्येष्ठ नागरिक आश्रममा अहिलेको सदस्य सङ्ख्या तीन सय ३० पुगेको छ । असहाय एवं आर्थिकरूपमा विपन्न ज्येष्ठ नागरिकको संरक्षण गर्ने उद्देश्यले आश्रम स्थापना गरिएको जनाइएको छ । स्थापनाकालमा ३० महिलाले रु एक–एक हजार उठाएर रु ३० हजारको अक्षयकोष स्थापना गर्नुभएको थियो । आश्रमका ज्येष्ठ नागरिकलाई खुवाउनका लागि खाद्यान्नलगायतका सहयोग व्यक्ति तथा सङ्घसंस्थाले गर्दै आएको आश्रमकी कार्यवाहक अध्यक्ष शकुन्तला आलेले जानकारी दिनुभयो । “देश तथा विदेशमा रहने व्यक्ति तथा विभिन्न सङ्घसंस्थामार्फत आश्रमलाई सहयोग प्राप्त हुन्छ”, उहाँले भन्नुभयो, “दाताको सहयोगले आश्रम चलाउन सहज भएको छ ।” उहाँका अनुसार आश्रममा आश्रय लिइरहनुभएका ज्येष्ठ नागरिकको स्याहारसुसारमा कुनै कमी गरिएको छैन । केही वर्षसम्म भाडाको घरमा सञ्चालन हुँदै आएको आश्रमले अहिले आफ्नै जग्गा खरिद गरी भवन निर्माण गरेको छ । विसं २०७२ मा आयोजना गरिएको महायज्ञबाट सङ्कलन भएको रकमले दुई रोपनी क्षेत्रफल जग्गा खरिद गरी भवन निर्माण गरिएको छ ।
काठमाडौं: नेपाल सरकारले टर्कीका भूकम्पपीडितका लागि औषधि, चिकित्सा उपकरण, न्यानो कपडा र अन्य आधारभूत सामग्री राहतस्वरुप पठाएको छ । भूकम्पपीडितका लागि २२ टनभन्दा बढी राहत सामग्रीको पहिलो ढुवानी आज त्यसतर्फ पठाइएको हो । यही ६ फेब्रुअरीमा टर्कीमा गएको विनाशकारी भूकम्पपछि राहत तथा पुनःस्थापना कार्यमा ऐक्यबद्धता जनाउँदै राहत सामग्री पठाउने सरकारले निर्णय गरेको थियो । यसअघि ८ फेब्रुअरीमा परराष्ट्रमन्त्री डा. बिमला राई पौड्यालले टर्कीका समकक्षी मेभलुत काभुसोग्लुसँग टेलिफोन वार्तामा भूकम्पबाट भएको क्षतिमा टर्कीका जनता र सरकारप्रति गहिरो समवेदना प्रकट गर्दै ऐक्यबद्धताका लागि सक्दो सहयोग गर्न नेपाल सरकार तयार रहेको बताउनुभएको थियो । परराष्ट्र मन्त्रालयले राहत सामग्री सहयोगका लागि सम्बन्धित सरकारी निकाय, निजी क्षेत्र र मानवीय संस्था तथा ढुवानीका लगि टर्कीस एयरलाइन्सलाई धन्यवाद दिएको छ ।
काठमाडौँ: दुई दिने नेपाल भ्रमणमा आएका भारतीय सचिव विनयमोहन क्वात्रा याक एन्ड यती होटलमा पुगेका छन् । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा नेपाल आएका उनले सो होटेलमा नेपाल–भारत सचिवस्तरी बैठकमा सहभागी जनाउने कार्यक्रम रहेको छ । सीमा सम्बन्ध, वातावरण, पर्यटन, यातायात लगायत द्धिपक्षीय चासोको बिषयमा कुराकानी गर्नेछन् । त्यसपछि पराराष्ट्र मन्त्रालयले उनको सम्मानमा आयोजना गरेको दिवाभोजमा सहभागी हुनेछन् । नेपाल बसाइका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्र मन्त्रीसहित राजनीतिक दलका प्रमुख, सरकारी उच्च अधिकारीलगायतसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । आजै विदेश सचिव क्वात्राले परराष्ट्र मन्त्री विमला राईसँग द्विपक्षीय भेटघाट गर्नेछन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा भने भारतीय प्रधानमन्त्री नरेन्द मोदीले पठाएको निमन्त्रणा पत्र हस्तान्तरण गर्नेछन् । सोमबार नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम तय भएको छ । उनी त्यसका लागि बालकोट जानेछन् । विदेश सचिव क्ववत्राले मंगलबार भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटघाट गर्नेछन् । मंगलवार राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेपछि उनी स्वदेश फर्कने कार्यक्रम छ ।
काठमाडौं: उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले सामुदायिक रेडियोलाई पछि पार्ने नीति नलिएको स्पष्ट पार्नुभएको छ । विश्व रेडियो दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री पौडेलले सरकारले आजसम्म पनि सामुदायिक रेडियोलाई पछि पार्ने नीति नलिएको र आगामी दिनमा पछि पार्ने नीति नलिने बताउनुभयो । उहाँले सामुदायिक रेडियोहरु पछि नपर्ने गरी आफ्ना कार्यक्रम र समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभयो । मन्त्री पौडेलले सामुदायिक रेडियोहरुको नवीकरण, दर्ता र करका विषयमा रहेका समस्याहरुको समाधानका लागि प्रतिनिधिमूलक ढङ्गबाट मन्त्रालयमा छलफलका लागि आउन आग्रह गर्नुभयो । उहाँले रेडियोहरुको गति तिब्र रुपमा अघि बढ्न जरुरी रहेको बताउनुभयो । उहाँले नेपाल शान्ति क्षेत्र हो भन्ने सन्देश रेडियोमार्फत विश्वभर पु¥याउन सक्नुपर्ने बताउनुभयो । विगतका शान्तिप्रक्रिया र द्वन्द्वका घाउलाई मलमपट्टी लगाउँदै अघि बढ्न आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘सरकारले सामुदायिक रेडियोलाई पछि पार्ने नीति लिँदैन । यसमा स्पष्ट हुनुहोला यहाँहरु । पछि पर्ने कुरा सरकारको जिम्माको कुरा होइन । यो यहाँहरुको जिम्माको कुरा हो । सरकारले पछि पार्ने नीति लिँदैन र यहाँहरु पछि पर्नु पनि हुँदैन । कहिलेकाहीँ म्याराथनमा मान्छे पछि छुटे जस्तो लाग्छ, तर त्यो पछि छुटेको मान्छे, अन्तिम गन्तव्यमा अगाडि पुगिसकेको हुन्छ । एक सय मिटरको दौडमा यसो पछि हेर्दा पनि अर्कोले उछिनिसक्छ । यो यहाँहरु सय मिटरको रेसमा होइन । म्याराथनमा हुनुहुन्छ । त्यसकारण पछि पार्न कसैले सक्दा पनि सक्दैन, सरकारको त पछि पार्ने नीति रहँदै रहँदैन । नवीकरण, दर्ता, करका विषयमा समस्याहरु के हुन्, यहाँहरु प्रतिनिधिमूलक ढङ्गले आउनु होला । सबै समस्या छलफलबाट समाधान गर्न सकिन्छ ।’’ अर्थमन्त्री पौडेलले सामुदायिक रेडियोको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । यसवर्ष रेडियो र शान्ति भन्ने नारासहित यस वर्ष विश्व रेडियो दिवस मनाइएको छ ।
काठमाडौं: आज विश्व रेडियो दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदैछ । संयुक्त राष्ट्र सङ्घको आहृवानमा सन् २०१२ देखि विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो । नेपालमा विक्रम संवत् २००३ सालमा काठमाण्डौमा रेडियो नेपालको प्रसारण सुरु भए पनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको हो । एफएम प्रसारण भने २०५२ सालदेखि सुरु भएको हो । रेडियोलाई आमसञ्चारको प्रभावकारी माध्यमका रुपमा लिइन्छ, तर कोरोना महामारीपछि विश्वमा देखिएको आर्थिक सङ्कटको असर रेडियोमा पनि परेको छ । देशका सबैजसो जिल्लामा एफएम रेडियो स्थापना भएका छन् । तर, त्यसमध्ये केही आर्थिक सङ्कटका कारण बन्द भएका छन् भने अरु केही बन्द हुने अवस्थामा पुगेका छन् । अहिले धेरैजसो रेडियो सञ्चालक र रेडियोकर्मीको ध्यान आर्थिक सङ्कटबाट रेडियोलाई कसरी बचाउने भन्नेमा केन्द्रित छ। देशभर ७ सय ५० वटाभन्दा धेरै रेडियो सञ्चालनमा रहेको तथ्याङ्क छ । राजनीतिक परिवर्तनसँगै सामाजिक रूपान्तरणका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको रेडियोको योगदानलाई सरकारले बेवास्ता गर्ने गरेको गुनासो छ ।
काठमाडौं: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्ध महान् र युगान्तकारी भएको बताउनुभएको छ । २८ औँ जनयुद्ध दिवसको अवसरमा आज दिनु भएको शुभकामनामा उहाँले सो कुरा बताउनु भएको हो । उहाँले २०५२ फागुन १ गतेबाट सुरू गरिएको महान् जनयुद्धको २८ औँ वार्षिकोत्सवको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीहरू एवं विश्वभरिका परिवर्तनप्रेमी जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ । प्रधानमन्त्री प्रचण्डले भन्नु भएको छ, ‘‘यस ऐतिहासिक दिनमा देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति आफ्नो अमूल्य जीवनको बलिदान गर्नुहुने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु, सम्पूर्ण बेपत्ता योद्धाहरूको स्मरण गर्दै उच्च सम्मान व्यक्त गर्दछु, घाइते र अपाङ्ग योद्धाहरूमा स्वास्थ्यलाभको शुभेच्छासहित दीर्घजीवनको कामना गर्दछु।’’ नेपाली धर्तीमा सञ्चालित जनयुद्ध महान् र युगान्तकारी थियो भन्दै प्रधानमन्त्रीले साहस, वीरता र उत्सर्गको त्यो ऐतिहासिक क्रान्तिले राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, देशप्रेम एवम् राष्टियताप्रति समर्पित परिवर्तनको सपनालाई आत्मसात गरेको उल्लेख गर्नुभएको छ । शुभकामना सन्देशमा भनिएको छ, ‘‘वर्ग, जाति, लिंग, क्षेत्रमा विद्यमान असमानता, शोषण, उत्पीडन, विभेद र अन्यायका पर्खालहरू भत्काएर मुक्ति, परिवर्तन, स्वतन्त्रताको भावधारा प्रवाहित गर्न सफल जनयुद्धको परिणामस्वरूप उपेक्षित, उत्पीडित वर्ग र बस्तीमा उज्यालो राजनीतिक चेतना प्रवाहित भएको छ।’’ महान् जनयुद्धको जगमा ऐतिहासिक जनआन्दोलनको संयोजनबाट देशमा सामन्ती राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ। समावेशी लोकतन्त्र संस्थागत भएको छ। मधेसी, मुस्लिम, महिला, दलित, आदिवासी, जनजाति, थारू समुदाय लगायत उत्पीडित वर्ग, जाति, लिंग, क्षेत्र र समुदायमा उच्च राजनीतिक जागरणसहित उनीहरूको पहिचान र अधिकार स्थापित भएको कुरा पनि प्रधानमन्त्रीको सन्देशमा समावेश छ । जनयुद्धकै जगमा सामाजिक न्यायको उन्नत व्यवस्थासहित समाजवादोन्मुख संविधानको निर्माण र कार्यान्वयन सम्भव भएको उल्लेख गर्दै प्रधानमन्त्रीको शुभकामना सन्देशमा युग परिवर्तनको प्रतिनिधित्व गर्ने जनयुद्ध आफैमा ऐतिहासिक र गौरवशाली थियो भन्ने तथ्य प्रमाणित हुन्छ भनिएको छ । जनयुद्धको जगमा जुन अधिकार स्थापित भएका छन्, ती अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति हुन्। नेकपा (माओवादी) ले नेतृत्व गरेको भएतापनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तनप्रेमी नेपालीहरूको साझा दिवस हो। यही यथार्थलाई दृष्टिगत गरी नेपाल सरकारले फागुन १ गतेलाई जनयुद्ध दिवसका रूपमा मनाउँदै सार्वजनिक विदा दिने निर्णय गरेको छ। तसर्थ, जनयुद्ध दिवसलाई विभिन्न रचनात्मक कार्यक्रमसहित राष्ट्रिय उत्सव र गौरवको दिनका रूपमा मनाउन म सम्पूर्ण जनसमुदायमा हार्दिक अपील गर्दछु। देशको राजनीति र अर्थतन्त्रले संकटको सामना गरिरहेको परिस्थितिमा गठन भएको नयाँ सरकार राष्ट्रिय सहमतिसहित सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर अगाडि बढिरहेको भनाइ प्रधानमन्त्रीको छ । प्रधानमन्त्री प्रचण्डले सन्देशमा भन्नु भएको छ, ‘‘वर्तमान सरकार उल्लेखित कार्यभारसहित जनताको व्यवस्था बदल्न र समाजवादको आधार खडा गर्न दृढ संकल्पित छ। तसर्थ सहमति, सहकार्य र एकताका आधारमा राष्ट्रिय चुनौतीहरूलाई अवसरमा बदल्न सम्पूर्ण नेपालीमा सकारात्मक उर्जा र प्रेरणा पैदा होस् भन्ने कामनासहित २८ औँ जनयुद्ध दिवसको अवसरमा फेरि एकपटक समस्त नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु, धन्यवाद।’