बागलुङ : बागलुङमा एक जना पुरुषले घरभित्रै आत्मदाहको प्रयास गरेका छन्। बागलुङ नगरपालिका-८, सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले बुधबार आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी गंगाबहादुर थापाले बताए। जिसीले घरमा कोही नभएको अवस्थामा जिसीले पेट्रोल छर्केर शरीरमा आगो लगाएको प्रहरीले जनाएको छ। पेट्रोल छर्केर घाइते अवस्थामा रहेका जिसीको अहिले धौलागिरी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय बागलुङका सूचना अधिकारी थापाले बताए। आत्मदाहको कारणबारे केही खुलेको छैन। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कावासोती: राष्ट्रिय गौरव आयोजनाको रुपमा रहेको नारायणगढ बुटवल सडक योजनाको काम चाँडो सम्पन्न गर्न सडक निर्माण र सरोकारवालाले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको ध्यानाकर्षण गराएका छन् । पूर्ब–पश्चिम राजमार्गको सडक ठेक्का लिएर लामो समयसम्म काम नसकेको आरोप खेप्दैआएको चाइना स्टेट कम्पनीले विविध कारण देखाउँदै हालसम्म २३ प्रतिशत सडक विस्तारको कार्य सम्पन्न गरेको जनाएको छ । नारायणगढ–बुटवल सडक निर्माणको ठेक्का लिएको चाइना स्टेट कम्पनीको प्रतिनिधिलाई प्रमुख जिल्ल्ला अधिकारी लम्सालले निर्माणको काममा ढिलाई हुँदा यात्रु र स्थानीयले सास्ती पाएको हुँदा तत्काल काम अगाडि बढाउन निर्देशन दिनुभएको छ । तीन वर्ष हुँदासम्म अपेक्षित काम हुन नसकेकाले यसप्रति तदारुकताका साथ लाग्नुपर्नेमा जोड दिनुभयो । नारायणगढ–बुटवल सडक योजना नवलपरासी पूर्वका प्रमुख रमेश दृष्टिले काम शुरु गरेको पहिलो र दोस्रो वर्ष कोरोनाका कारणले समस्या भएको र पछिल्लो समय माटोको उपलब्धता कम भएको कारणले सडक विस्तारमा समस्या भएको बताउनुभयो । उहाँले भन्नुभयो “आफुहरुले कम्पनीको आन्तरिक ब्यवस्थापनमा व्यापक सुधारगरी आबश्यक उपकरण र जनशक्ति थप गरेर कामका लागि अघि बढेका छौं ।” चाइनाबाट आएका नयाँ विभागीय टिमका साथ कम्पनी निर्माणमा जुटेको बताउनुभयो । सडक निर्माणको कामले २३ प्रतिशत पार गरेको, अधिकांश साना कल्भर्ट बनिसकेको, पूर्वको १० देखि १७ किमीसम्म माटो फिलिङ् र साइडको काम भएको दाबी गर्नुभयो । उहाँले १७ किलोदेखि पश्चिम दाउन्नेसम्म सडकमा फिलिङ् गर्न माटोको समस्या रहेकाले स्थानीय निकायहरूसँग माटो प्राप्तिका लागि पहल भइरहेकाले माटो पाएको ठाउँमा काम छिटो अघि बढ्ने आश्वासन दिनुभयो । अहिलेसम्म रुख कटानको काम ९९ प्रतिशत मात्रै सकिएको छ, विद्युत् पोल सार्ने काम ३० प्रतिशत मात्रै पूरा भएको छ, सडक विस्तारमा समस्या भएको उहाँले बताउनुभयो । नारायणगढ–बुटवल सडक योजनाको पूर्वी खण्डका आठ स्थानमा वन्यजन्तुमैत्री पुल निर्माण भइरहेको छ । प्रमुख जिल्ला अधिकारी लम्साल कम्पनीलाई काममा ढिलाइ नगर्न र बाटोलाई धुलोरहित बनाई आवागमन सहज पार्न र यात्रुलाई परिवर्तनको अनुभूति गर्नसक्ने बनाउन चाइनिज ठेकेदारलाई आग्रह गर्नुभयो । प्रजिअ लम्साल केही दिन अगाडि नवलपुर सरुवा भई आउनुभएको हो । ठेकेदार कम्पनीले भने स्थानीय तहहरुसँग समन्वय भइरहेको र साइडमा माटो पुर्नका लागि माटो प्राप्तिका लागि पहल भएकाले काममा प्रगति हुने प्रतिबद्धता जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछाने, जिल्ला प्रहरी प्रमुख भुवनेश्वर तिवारी, राष्ट्रिय अनुसन्धानका प्रकाश शाह, सडक विभाग आयोजना निर्देशनालयका उपआयोजना निर्देशक शोभा गिरी, इन्जिनियर उमेशराज सुवेदी, इन्जिनियर राकेशकुमार झा, पत्रकार महासङ्घ नवलपुरका अध्यक्ष वीरेन्द्र पराजुलीलगायत सरोकारवालाको सहभागिता थियो ।
बलेवा: मध्य पहाडी लोक मार्गको बागलुङ–पोखरा खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । बागलुङ– पोखरा खण्डको स्तरोन्नतिको कामका लागि यातायात बन्द गरेर काम अघि बढाइने भएको हो । मध्य पहाडी राजमार्ग आयोजनाले बागलुङ–पोखरा खण्ड फराकिलो बनाउने कार्य सुरु गरेसँगै कामलाई तीव्रता दिन राजमार्गमा यातायातका साधन बन्द गरेर काम गर्न लागिएको जनाएको छ । आयोजनाका अनुसार प्रत्येक दिन बिहान ११ देखि अपराह्न ३ बजेसम्म र राति ९ देखि बिहान १ बजेसम्म सवारी साधनलाई रोकेर आयोजनाको कामलाई तीव्रता दिइनेछ । रोकिएका सवारी साधनलाई आधा घण्टाको फरकमा सञ्चालनको व्यवस्था मिलाइएको आयोजना कार्यालयले जनाएको छ । पोखरा—बागलुङ राजमार्गअन्तर्गत हाल पोखराको हरिचोकदेखि याम्दी पुलसम्मको सडक स्तरोन्नतिको काम भइरहेको हो । सो खण्डको निर्माणका लागि मोतिदान कन्स्ट्रक्सन प्रालिसँग ठेक्का सम्झौता गरिएको थियो । चौवारीबाट ५० मिटरअगाडि हेमजातर्फ भिरको उचाइ धेरै भएकाले भिर कटान कार्य भइरहेकाले सडक सुरक्षालाई ध्यानमा राखेर यातायात सञ्चालनमा रोक लगाइएको मध्य पहाडी लोकमार्ग आयोजना कार्यालय कुश्माका प्रमुख नारायणदत्त भण्डारीले बताए । उनका अनुसार उक्त सडकमा चल्ने सवारी साधनलाई वैकल्पिक मार्गको प्रयोग गर्न भनिएको छ । बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङलाई प्रदेशको राजधानी पोखरा र देशको राजधानी काठमाडौँलगायत देशका ठुला सहरसँग जोड्ने मुख्य राजमार्ग भएकाले यहाँका सर्वसाधारण प्रभावित हुनेछन् । यो सडक खण्डमा दैनिक हजारौँ सवारी साधन ओहोरदोहोर गर्ने गरेका छन् ।
काठमाडौँ: रेपिड जेनस् बिजनेस पाटनर्स मिटअप–२०२३ थाइल्याण्डको पुकेटमा सम्पन्न भएको छ । जिनस इनोभेसन लिमिटेड भारतको आधिकारिक बिक्रेता रहेको रेपिड ग्रुप प्रालि काठमाडौंले जिनस ब्राण्डका युपिएस ब्याट्री, सोलार सम्बन्धी सामग्री नेपालभर बिक्री बितरण गर्दै आइरहेको छ । नेपालभरिका ४१ डिलरलाई थाइल्याण्डको पुकेटमा जमघट गराएर जिनस बिजनेस पार्टनर मिट गरेको हो । जिनस इनोभेसन लि. इण्डियाको तर्फबाट प्रतिनिधि हेड इन्टरनेसनल बिजनेस अनुप श्री वास्तव तथा इन्टरनेशनल हेड म्यानेजर प्रमोद दुवेले कम्पनीको तर्फबाट जानकारी गराएका थिए । जिनस इनोभेसनका सीईओ पंकज रासतोगीले भर्चुअल मार्फत् स्वागत तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए । साथै आर एण्ड डि हेड तरुण गुप्ताले जिनस ब्राण्डका उत्पादन, नयाँ ब्राण्डिङ, नयाँ प्रविधिबारे जानकारी गराए । योजना तथा उत्पादन प्रमुख पारमाभिर सिंहले भर्चुअल माध्यमबाट ४१ डिलरलाई फ्याक्चेमा उत्पादन हुने ब्याट्री,युपिएस तथा सोलार प्यानल ब्याट्री भिजिट लाइभ मार्फत जानकारी गराए । नेपालका तर्फबाट रेपिड गु्रप प्रालिले जिनस इनोभेसन लि.का प्रतिनिधि अनुप श्री वास्तवा र प्रमोद दुवेलाई रेपिड गु्रपका डाइरेक्टरद्धय राजु दाहाल, गणेश पौडेल र अध्यक्ष बुद्धिराज तिमिल्सिनाले सम्मान गरेका थिए । साथै, ४१ जना नेपालका डिलरलाई थप सहकार्य र प्रगतिको शुभकामना सहित मायाको चिनो प्रदान गरिएको थियो । साथै, बिक्री पछिको सेवालाई मध्यनजर गरेर हाल काठमाडौं र इटहरीमा सर्भिस सेन्टर रहेको र अबका दिनमा बुटवल, नेपालगञ्जमा समेत सर्भिस सेन्टर राखेर सेवामुलक बिक्री वितरण गर्ने प्रतिवद्धता समेत व्यक्त गरिएको थियो ।
पोखराः नेपाल क्रिकेट संघ (क्यान)का निवर्तमान कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लले नैतिकता भए सेभेन थ्री स्पोर्ट्सलाई नेपालमा भित्र्याउने १८ जना कार्यसमितिका सबैले राजीनामा दिनुपर्ने बताएका छन्। ‘नेपाल टी २० लिग असफल भयो, गभर्निङ काउन्सिलमा भएको मैले राजीनामा दिएँ, अरुले किनदिने, सेभेन थ्री स्पोर्ट्सलाई नेपालमा भित्र्याएको १८ जनाको कार्यसमितिले हो, नैतिकता छ भने सबैले राजीनामा दिनुपर्यो नि त,’ मंगलबार बसेको क्यानको बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा मल्लले भने। संघलाई नै राजीनामा गराएर नेपाली क्रिकेटलाई समाप्त पारिन खोजेको आरोप मल्लले लगाएका छन्। केन्द्रीय कार्यसमितिमा भएका सात जनाले हिजो बैठक सुरु भएपछि राजीनामा माग गर्दै बैठक बहिस्कार गरेका थिए। ‘क्यानको राम्रो काम देखेर आईसीसीले बजेट बढाइरहेको र इभेन्ट पनि दिइरहेको छ,’ आक्रामक शैलीमा प्रस्तुत हुँदै मल्ले भने, ‘यो टिमले यसअघि आर्थिक पक्षमा उठ्ने गरेका प्रश्नलाई पनि दुरुस्त पारेको छ। ’ एउटा मानिस बद्नियतसहित नेपाल क्रिकेटमा प्रवेश गरेको चिन्न नसक्दा एउटा घटनामा क्यान असफल भएको उनले बताएका छन्।
काठमाडाैँ: नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले उपप्रधान एवं ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री राजेन्द्र लिङ्देनसँग भेट गर्नुभएको छ । ऊर्जा, जलस्राे तथा सिंचाइ मन्त्रालयमा आज बुधबार भएको भेटमा उहाँहरूबीच आपसी सहयोग र चासोका विविध विषयमा छलफल भएको थियो । भेटका क्रममा उपप्रधानमन्त्री लिङ्देनले ऊर्जाको विकाश, प्रसारण र व्यापार आफ्नो प्राथमिकतामा रहेको उल्लेख गर्दै ऊर्जाको ट्रान्समिसन लाइन विस्तारमा अमेरिकी सरकारको सहयाेग रहने विश्वास व्यक्त गर्नुभयो । उपप्रधानमन्त्री लिङ्देनले भ्रष्टाचार शून्यको सिद्धान्तमा आफूले काम गर्न चाहेको बताउँदै नेपालको आर्थिक तथा सामाजिक विकासमा अमेरिकाको महत्वपूर्ण योगदान रहेको चर्चा गर्नुभयो । विगत लामो समयदेखि अमेरिकाले नेपालको विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको प्रसङ्ग उल्लेख गर्दै राजदूतले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो । पूर्वाधार, विकासको मेरुदण्ड भएकाले सरकारको प्राथमिकता पनि पूर्वाधार विकासमै रहेकाले त्यसमा सहकार्य गर्न इच्छुक रहेको उपप्रधानमन्त्री लिङ्देनले बताउनुभयो । केही सरकारी नीति नियमको कारण विदेशी लगानीमा समस्या आएको देखिए पनि त्यसलाई समयसापेक्ष बनाउँदै लगिने उहाँको भनाइ थियो ।
काठमाडौं: भारतले नेपाललाई दिने अनुदान सहायता कटौती गरेको छ । वित्त वर्ष २०२३/२४ का लागि वित्त मन्त्री निर्मला सीतारमणले युनियन बजेट बुधबार प्रस्तुत गरकी छिन् । जसमा भारतको विदेश मन्त्रालयमार्फत नेपालसहित छिमेकी मुलुकहरुलाई दिने अनुदान सहायता बजेट विनियोजन गर्ने गरिन्छ । तथ्यांक अनुसार यस वर्षका लागि भारतले नेपाललाई ५ अर्ब ५० करोड भारु दिने भएको छ । यो गत वर्षको विनियोजित बजेट भन्दा कम हो । गत आवमा भारतले नेपालका लागि ७ अर्ब ५० करोड भारतीय रुपैयाँ विनियोजन भएको थियो । वित्त वर्ष २०२१/२२ मा ४ अर्ब ४६ करोड भारु विनियोजन भएको थियो । वैदेशिक अनुदानमा भारतले सबैभन्दा धेरै खर्च भुटानका लागि खर्च गर्ने भएको छ । यस वर्ष भुटानले २४ अर्ब भारु सहायता भारतबाट पाउने भएको छ । अफगानिस्तानले २ अर्ब पाउने भएको छ । बंगलादेशले २ अर्ब। श्रीलंकालाई १ अर्ब, माल्दिभ्सलाई ४ अर्ब, म्यानमारलाई ४ अर्ब र मंगोलियालाई ७ करोड भारु सहायता दिने भएको छ । अफ्रिकी मुलुकहरुलाई २ अर्ब ५० अर्ब रुपैयाँ सहायता पाउने भएका छन् ।
दमौली: तनहुँको बन्दीपुर गाउँपालिकामा सुन्तला उत्पादनमा वृद्धि भएको छ । गाउँपालिकाले सुन्तला खेतीलाई प्राथमिकता दिएर कार्यक्रम सञ्चालन गरेपछि उत्पादन वृद्धि भएको हो । अघिल्ला वर्ष सुन्तलामा लाग्ने भाइरसका कारण बिरुवा मर्दै जान थालेपछि सुन्तला उत्पादनमा ह्रास आएको थियो । केही वर्षयता पुनः बन्दीपुरमा सुन्तला उत्पादनमा वृद्धि हुन थालेको गाउँपालिकाका कृषि शाखाप्रमुख सुलभ अधिकारीले जानकारी दिनुभयो । “सुन्तला उत्पादनमा वृद्धि गराउन गाउँपालिकाले योजनाबद्ध कार्यक्रम सञ्चालन गरेपछि त्यसको प्रतिफल देखिन थालेको छ,” उहाँले भन्नुभयो । केही वर्षयता गाउँपालिका लगायतका विभिन्न निकायबाट सुन्तला पकेट क्षेत्र घोषणा गरी विभिन्न कार्यक्रममार्फत उक्त भाइरसको निदान गरी सुन्तला जोगाउन थालिएको छ । बन्दीपुर–३ स्थित रामकोट, तामुङडाँडा, वडा नं ५ को झारगाउँ, फलामडाँडा र ६ को काफलस्वाँरा, लखनबारी, घमलछाप, आँङटारीलगायत ठाउँहरु सुन्तला खेतीको पकेट क्षेत्र हुन् । बर्सेनि व्यावसायिक रूपमा उत्पादन हुँदै आएको सुन्तला गत वर्षभन्दा २५ प्रतिशतले वृद्धि भएको छ । यस वर्ष बन्दीपुरमा मात्रै एक सय ५० मेट्रिक टन सुन्तला उत्पादन भएको छ । जसको बजार मूल्य करिब रु एक करोड बराबर रहेको गाउँपालिका कृषि शाखाप्रमुख अधिकारीले बताउनुभयो । काफलस्वाँरा कृषक समूहबाट मात्रै करिब छ सय क्विन्टल सुन्तला उत्पादन भएको समूहका अध्यक्ष धनराज गुरुङले जानकारी दिनुभयो । बन्दीपुर मध्यपहाडी क्षेत्रमा पर्ने हुँदा यो क्षेत्र सुन्तला उत्पादनका लागि उत्तम ठाउँ मानिएको छ । यहाँको हावापानी र माटो सुन्तला खेतीका लागि उपयुक्त रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “केही वर्ष पहिले बोटमा किरा लाग्यो, उपचार पाएनन् त्यसले गर्दा उत्पादनमा कमी आयो, तर अहिले त्यो समस्या छैन, मौसमले पनि साथ दियो ।” उहाँका अनुसार अघिल्लो वर्षका तुलनामा यस वर्ष २५ प्रतिशतले बढी उत्पादन भएको छ । बन्दीपुरका ग्रामीण क्षेत्रमा सुन्तला उत्पादनका लागि सुन्तला जोन घोषणा गर्ने तयारी गरिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताउनुभयो । “व्यावसायिक रुपमा सुन्तला खेती गर्ने कृषकलाई अनुदानको व्यवस्था मिलाउँछाँै”, उहाँले भन्नुभयो ।
गोरखपुर: भारतको अयोध्यामा निर्माणाधीन राममन्दिरमा राख्नका लागि भगवान रामको मूर्ति बनाउन नेपालको कालीगण्डकीबाट उत्खनन् गरी पठाएको शिलाको गोरखपुरमा पूजाआजा गरिएको छ । शिला पूजामा गोरखनाथ मन्दिरका साधुसन्तलगायत सर्वसाधारणको ठूलो उपस्थिति रहेको थियो । धनुषाको जनकपुरधामस्थित जानकी मन्दिरबाट शोभायात्रासहित अयोध्या प्रस्थान गरेको शिला मङ्गलबार राति गोरखपुर पुर्याइएको हो । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै माघ १६ गते नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिसहितका नेपाली देवशिलासहित अयोध्या हिँडेका हुन् । शिला आज (बुधबार) अयोध्या पुयाएर विशेष समारोहका बीच पूर्व उपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहनुभएको कांग्रेस नेता निधिले मन्दिर व्यवस्थापन पक्षलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । हिन्दू धर्मावलम्बीले भगवान विष्णुको अवतारका रूपमा मान्ने शिलाबाट भगवान रामको बालस्वरुपसहितको मूर्ति बनाइने भएपछि भारतका लाखौँ श्रद्धालु बाटोमा निस्केर मध्यरातिसम्म दर्शन तथा अभिनन्दन गरेका थिए । नेता निधिले देवशिलाको आदान–प्रदानपछि नेपाल र भारतको धार्मिक, सांस्कृतिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन अतुलनीय योगदान पुगेको बताउनुहुन्छ । यही माघ १२ गते म्याग्दीको बेनी नगरपालिका–६ ठूलोपहिरोस्थित कालीगण्डकी नदी किनारबाट निकालिएका दुई शिला माघ १५ गते जनकपुरधाम पुर्याइएका थिए । जानकी मन्दिरका महन्थ दास र नेता निधिको नेतृत्व रहेको नेपाली प्रतिनिधिमण्डलमा तीन सयभन्दा बढी नेपाली छन् ।