काठमाठौं : नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक भोलि १ बजेसम्मका लागि स्थगित भएको हो। पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको व्यस्तताका कारण बैठक स्थगित भएको माओवादी केन्द्रले जनाएको छ। बैठकमा पार्टीको आन्तरिक गतिविधि,सरकार सञ्चालनमा पार्टीको भूमिका,पार्टीका नेताको जिम्मेवारी हेरफेर लगायतका विषयमा छलफल हुने जनाइएको थियो। बिहीबार पनि स्थायी कमिटी बैठक बसेको थियो।
काठमाडौं: सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा कैफियत प्रतिवेदन झिकाउने आदेश दिएको छ । आज (शुक्रबार) सर्वोच्चका न्यायाधीश हरि फुँयालको एकल इजलासले सन्दीपविरुद्धको मुद्दामा सो आदेश दिएको हो । सन्दीपविरुद्ध दर्ता भएको मुद्दादेखि धरौटीमा रिहा गर्ने पाटन उच्च अदालतको आदेशसम्मका सबै कागजात (कैफियत प्रतिवेदन) झिकाउने आदेश न्यायाधीश फुँयालले दिनुभएको छ । गत पुस २८ गते उच्च अदालत पाटनले लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । त्यसको भोलिपल्ट पुस २९ गते लामिछानेले जिल्ला अदालत काठमाडौंमा २० लाख धरौटी बुझाएर थुनामुक्त भएका थिए । उक्त आदेशबदर गर्न माग गर्दै महान्यायाधिवक्ता कार्यालयले मङ्गलबार सर्वोच्चमा निवेदन दिएको थियो । यता, धरौटीमा रिहा हुनुभएका लामिछानेलाई क्रिकेट संघ (क्यान) ले निलम्बन फुकुवा गर्दै राष्ट्रिय टोलीमा समावेश गरिसकेको छ ।
काठमाडौं: प्रतिनिधि सभा सदस्यका लागि बिहीबारबाट सुरु भएको दुईदिने अभिमुखीकरण कार्यक्रम आज (शुक्रबार) पनि सुरु भएको छ । आज बिहान ११ बजेबाट सुरु भएको अभिमुखीकरण कार्यक्रममा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले योजना तर्जुमा, बजेट निर्माण प्रक्रिया, आर्थिक कार्यविधि र संसदको भूमिकाबारे जानकारी दिनुभएको छ । त्यस्तै, आजको कार्यक्रमको कार्यतालिका अनुसार १२ः१० देखि १२ः४५ सम्म कानुन निर्माण प्रक्रियाबारे नेपाल कानुन आयोगका पूर्व अध्यक्ष माधव पौडेलले जानकारी दिनुहुनेछ । यसैगरी, नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष डा. विष्णुराज उप्रेतीले सार्वजनिक नीति र विधेयक र सङ्घीय संसद् सचिवालयका सचिव डा. रोजनाथ पाण्डेले सचिवालयको साङ्गठनिक संरचना र सेवा प्रवाहबारे सांसदहरुलाई जानकारी दिनुहुनेछ ।
काठमाडौं: विश्वको सबैभन्दा ठूलो मानवीय सेवा गर्ने सञ्जाल भएको सङ्गठन रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)का महासचिव जगन्नाथ चापागाईंले शनिबारदेखि नेपाल भ्रमण गर्नुहुने भएको छ । प्रथम नेपाली महासचिव चापागाईंले आफ्नो पद सम्हालेपछि दोस्रो पटक चारदिने नेपाल भ्रमण गर्न लाग्नुभएको हो । भ्रमणका क्रममा उहाँले आइएफआरसीको नेपालस्थित राष्ट्रिय प्रतिनिधिमण्डल र नेपाल रेडक्रस सोसाइटीका गतिविधिका बारेमा जानकारी लिनुहुने बताइएको छ । उहाँले भ्रमणका क्रममा राजनीतिक दलका शीर्ष नेतासँग समसामयिक विषयमा छलफल गर्नुहुने बताइएको छ । साथै भ्रमणका क्रममा उहाँ आइएफआरसीद्वारा नेपाल रेडक्रस सोसाइटीलाई प्रदान गर्न लागिएका ३० नयाँ एम्बुलेन्स र १५ स्तरोन्नति गरिएका एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा सहभागी हुनुहुने छ । आपत्कालीन मानवीय सेवामा तल्लीन सर्वोच्च परोपकारी सङ्गठन आइएफआरसीले सन् २०२२ मा नेपाल रेडक्रसलाई ‘डबल क्याबिन’ भएका १० ‘पिकअप गाडी’ हस्तान्तरण गरेको थियो । साथै आइएफआरसीद्वारा प्रकाशित ‘ग्लोबल डिजास्टर रिपोर्ट’ सार्वजनिकीकरण कार्यक्रममा उहाँ सहभागी हुने जनाइएको छ । विगत २५ वर्षदेखि रेडक्रस अभियानमा निरन्तर क्रियाशील चापागाईँले १ फेब्रुअरी २०२० देखि आइएफआरसीको महासचिवको जिम्मेवारी सम्हाल्नुभएको थियो । सो जिम्मेवारी सम्हालेपछि उहाँले विसं २०७८ माघ १८ मा पहिलो नेपाल भ्रमण गर्नुभएको थियो । विश्वका १९२ देश आइएफआरसीका सदस्य छन् । आइएफआरसीको ३ डिसेम्बर २०१९ मा बसेको विशेष गभर्निङ बोर्ड बैठकले एशियाबाटै पहिलोपटक उहाँलाई सो पदमा निर्वाचित गरेको थियो । बोर्डमा विश्वका शक्तिशाली २९ देश छन् । आइएफआरसीमा आबद्ध देशीय रेडक्रस र रेडक्रिसेन्ट सोसाइटीमा आबद्ध स्वयंसेवक तथा कर्मचारी अझै पनि कोभिड–१९ प्रतिकार्यमा अग्रपङ्तिमा जुटिरहेका छन् । आइएफआरसीले आफ्नो कार्यादेशअनुसार जलवायु परिवर्तनले निम्त्याएका र प्राकृतिक तथा मानव सिर्जित विपद् न्यूनीकरण निरन्तर मानवीय सहायता पुर्याउने गर्दछ । विशेष गरी कोभिड–१९ बाट उत्पन्न विश्वव्यापी आर्थिकमन्दीका बाबजुद पनि महासचिव चापागाईंले सङ्कटासन्न समुदायलाई मानवीय सहायता पुर्याउन निर्वाह गर्नुभएको नेतृत्वले आइएफआरसीका सदस्य देशमा उच्च प्रशंसा कमाएको जनाइएको छ । निरन्तर सहयोग आइएफआरसीको नेपालस्थित राष्ट्रिय प्रतिनिधिमण्डललले कोभिड–१९ प्रतिकार्यमा आफ्नो सहयोगलाई अहिले पनि जारी राखेको छ । पछिल्लो समय उसले विशेष गरी कोभिड–१९ को विरुद्धको खोप सर्वसाधारणसम्म पहुँच पुर्याउन नेपाल रेडक्रसलाई निरन्तररुपमा सहयोग उपलब्ध गराइरहेको हो । आइएफआरसीले नेपालमा कोरोना सङ्क्रमणको जोखिमका अवस्थादेखि नै ‘कोभिड–१९ प्रतिकार्य’ योजना बनाई जोखिमका बारेमा सञ्चार तथा सामुदायिक संलग्नता र जवाफदेहीतासम्बन्धी अवधारणाका माध्यमबाट सहयोग गरेको थियो । सुरक्षित र उत्थानशील समुदाय निर्माण गर्नका लागि रोकथामका उपाय, अत्यावश्यक मेडिकल सेवामा सहयोग, सामाजिक आर्थिक प्रभावलाई सम्बोधन र खोप अभियानमा सहयोगजस्ता नेपालमा कोभिड–१९ कार्य सञ्चालनका उसका मुख्य क्षेत्र छन् । अहिले २२ जिल्लामा खोपसम्बन्धी गतिविधिमा नेपाल रेडक्रसलाई सहयोग जारी राखेको नेपालस्थित आइएफआरसी कार्यालयले जनाएको छ । आइएफआरसीका नेपालस्थित राष्ट्रिय प्रतिनिधिमण्डल प्रमुख अजमत उल्लाले भन्नुभयो, “सुरक्षित र उत्थानशील समुदाय निर्माण गर्नका लागि कोभिड–१९ प्रतिकार्यमा सहयोग जारी छ । यसका अतिरिक्त विपद् तथा स्वास्थ्यसँग सम्बन्धित आपत्कालीन परिस्थितिभन्दा पहिले, त्यस्ता परिस्थितिहरुका अवधिमा र त्यस्ता परिस्थिति पछाडि सङ्कटासन्न मानिसका आवश्यकता परिपूर्ति गर्ने एवं उनीहरुको जीवनस्तरमा सुधार ल्याउने किसिमका मानवीय सेवाका कार्यक्रम जारी छ ।” रणनीतिक प्राथमिकता र सहयोग आइएफआरसीका नेपालस्थित राष्ट्रिय प्रतिनिधिमण्डल प्रमुख उल्लाले भन्नुभयो, “आइएफआरसीको रणनीति २०३० ले १९२ रेडक्रस तथा रेडक्रिसेन्टको सामूहिक महत्वकाङ्क्षा प्रतिनिधित्व गर्दछ र भविष्यमा लागि सङ्गठनको दूरदृष्टि खाका प्रस्तुत गर्दछ ।” नेपाल रेडक्रसले आइएफआरसीको सहयोगमा सन् २०२२ मा आफ्ना कार्यक्रम तथा सेवाद्वारा पाँच मुख्य रणनीतिक प्राथमिकतामाथि जोड दिँदै सङ्कटासन्न समुदायलाई मानवीय सहायता उपलब्ध गराएको थियो । यसमा जलवायु तथा वातावरणीय सङ्कटमा १२ हजार दुई सय ५९, विकसित हुँदै जाने सङ्कट तथा विपद्मा एक लाख २२ हजार चार सय ४१, स्वास्थ्य तथा कल्याण तीन लाख चार हजार तीन सय चार, मूल्य, शक्ति तथा समावेशीता बाट १५ हजार एक सय २३ लाभान्वित भएका थिए । नेपालमा आइएफआरसी आइएफआरसीको सचिवालय स्वीट्जरल्याण्डको जेनेभामा छ । सङ्गठनले मानवीय हितका लागि करिब एक करोड ५० लाख स्वयंसेवकलाई सङ्गठित गरी एक सय ९२ भन्दा बढी मुलुकमा स्थानीय रेडक्रस तथा रेडक्रिसेन्टका क्रियाकलापको सहयोग उपलब्घ गराउँछ । सन् २०१५ अप्रिल २५ मा नेपालमा गएको अकल्पनीय ‘गोरखा भूकम्प’ पश्चात् आइएफआरसीले भूकम्प प्रभावितको खोज, उद्धार तथा राहत वितरणको क्षेत्रमा नेपाल सरकारलाई महत्त्वपूर्ण सहयोग गरेको थियो । साथै उसले भूकम्प अतिप्रभावित १४ जिल्लामा आवास निर्माण, स्वास्थ्य, खानेपानी सरसफाइ तथा स्वच्छता प्रवर्द्धन तथा जीविकोपार्जनका साथै नेपाल रेडक्रसको सस्थागत क्षमता अभिवृद्धिमा सहयोग गरेको थियो । आइएफआरसीका राष्ट्रिय प्रतिनिधिमण्डल प्रमुख उल्लाले भन्नुभयो, “नेपालमा आइएफआरसीले नेपाल रेडक्रस सोसाइटीसँग घनिष्ठरुपमा मिलेर काम गर्दछ ।” नेपाल रेडक्रसको स्थापना सन् १९६४ मा भएको थियो । उसले मुलुकका सात प्रदेश तथा ७७ जिल्ला शाखा तथा एक हजार पाँच सयभन्दा बढी उपशाखाका माध्यमबाट विपद् पूर्वतयारी, आपत्कालीन परिस्थिति, स्वास्थ्य तथा समावेशीताका क्षेत्रमा सरकारको सहयोगीका रुपमा काम गर्दछ । एक लाख २५ हजारभन्दा बढी सक्रिय स्वयंसेवकले नेपाल रेडक्रसका माध्यमबाट मानवीय हितमा योगदान पुर्याउँदछन् । पछिल्लो समय आइएफआरसीको आर्थिक सहयोगमा नेपाल रेडक्रसले डोटी, अछाम र बझाङका भूकम्प अति प्रभावित घरपरिवारलाई अस्थायी आवास निर्माण, अत्यावश्यक वस्तु खरिद र शौचालय निर्माणका लागि आर्थिक सहयोग प्रदान गरिरहेको छ । डोटीको पूर्वीचौकी गाउँपालिका–३ गैरगाउँ केन्द्रबिन्दु बनाएर गत कात्तिक २३ गते बिहान गएको ६ दशमलव ६ म्याग्नेच्युडको भूकम्पबाट सो गाउँका छ जनाको अकालमा मृत्यु भएको थियो भने आठ जना घाइते भएका थिए ।
रुकुम पश्चिम: रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ खरखरे डाँडामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका १० बस्ने अन्दाजी ७९ वर्षीया धनी वलीको मृत्यु भएको हो । प्रदेश ३–०२–००१ ब ८५७ नम्बरको मोटरसाइकलले हिजो साँझ ५ बजे ठक्कर दिएको थियो । मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएकी उनको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुर बाँकेमा गएराति साढे १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।
नवलपरासी: नेपाली इतिहासको पहिलो राजनैतिक पार्टी प्रजा परिषद्का अध्यक्ष टङ्कप्रसाद आचार्यको नवलपरासी स्थित जन्म घरलाई संग्राहलय बनाइने भएको छ । राणा शासन विरुद्धका प्रजातान्त्रिक योद्धा एवं पूर्व प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको परासी स्थित जन्म घरलाई लुम्बिनी प्रदेश सरकारले संग्राहलय बनाउनका लागि लुम्बिनी प्रदेशबाट ५० लाख रुपियाँ रकम विनियोजन गरेको टङ्क प्रसाद आचार्य प्रतिष्ठानका सदस्य एवं प्रदेश सरकारका पुर्वमन्त्री बैजनाथ चौधरीले बताउनु भयो । पूर्व प्रधानमन्त्री टङ्क प्रसाद आचार्यले राणा शासन विरुद्ध सङ्घर्ष गर्नका लागि विक्रम सम्बत १९९३ मा प्रजा परिषद नामको नेपालको पहिलो राजनैतिक पार्टी गठन गर्नु भएको थियो । पूर्व प्रधानमन्त्री आचार्य नेपालको राजनैतिक इतिहासमा छोटो अवधिको पार्टी भए पनि राणा शासनको अन्त्यका लागि गरिएको सङ्घर्षको आधारशिला थियो । नेपाली राजनैतिक इतिहासमा नेपाल प्रजापरिषद पहिलो राजनैतिक पार्टी थियो जसका संस्थापक अध्यक्ष आचार्य हुन् हुन्थ्यो । पश्चिम नवलपरासीको सदरमुकाम परासी स्थित आचार्य जन्मेको घर अहिले जिर्ण अवस्थामा रहेको भए छ भने यो इतिहासको सम्मानका लागि आचार्यको नवलपरासीको जिल्ला मालपोत कार्यालय परिषरमा रहेको जन्म घरलाई टङ्क प्रसाद आचार्यको संग्राहलय बनाउने योजनामा काम अघि बढेको लुम्बिनी प्रदेश पुर्वमन्त्री एवं प्रतिष्ठानका सदस्य चौधरीले बताउनु भएको छ । प्रजातान्त्रिक आन्दोलनका अभियन्ता स्वर्गीय टङ्कप्रसाद आचार्य जन्मेको घरलाई पुरातात्त्विक स्मारकको रूपमा संरक्षण गर्नका लागि दुई वर्ष पहिला प्रदेश सरकारले बजेट विनियोजन गरे पनि रामग्राम नगरपालिकाले समयमा काम नगरे पछि संरक्षणको काम अलपत्र परेको थियो । प्रजातान्त्रिक आन्दोलनका अगुवा टङ्कप्रसाद आचार्यको जन्म विक्रम सम्बद्ध १९६९ मङ्सिर १७ गते नवलपरासीको सदरमुकाम परासीमा भएको थियो । वहाँका बुवा परासी अड्डामा जागिरे भएको बेलामा टङ्क प्रसाद आचार्यको जन्म परासी मालपोत कार्यालय परिषरमा रहेको घरमा भएको थियो । उक्त भवनलाई ऐतिहासिक स्मारकको रूपमा विकास गरिने गरी प्रदेश सरकारले योजना बनाएको पुर्वमन्त्री चौधरीले बताउनु भयाे । आर्थिक वर्ष २०७७-०७८ मा लुम्बिनी प्रदेश सरकारले सो स्मारकको जीर्णोद्धारका लागि सशर्त अनुदानका रूपमा भनेर रामग्राम नगरपालिकालाई ५० लाख रकम उपलब्ध गराएको भए पनि नगरपालिकाले समयमा काम नगरेका कारण उक्त भवनको जीर्णोद्धार हुन सकेको थिएन । टङ्क प्रसाद आचार्य प्रतिष्ठान, लुम्बिनी प्रदेश सरकार र रामग्राम नगरपालिकाको सहकार्यमा टङ्क प्रसाद आचार्यको जन्म घरलाई संग्राहलय बनाउने योजना बनाइएको रामग्राम नगरपालिका प्रमुख धनपत यादवले बताउनु भयो । राणा शासनको विरोधमा चेतना फैलाए बापत राणा सरकारले धर्मभक्त माथेमा, गङ्गालाल श्रेष्ठ, शुक्रराज शास्त्री र दशरथ चन्दलाई फासी दिएका थिए भने ब्राह्मण परिवारका भएकाले रामहरि शर्मा र टङ्क प्रसाद आचार्यलाई आजीवन कारावासको सजाय सुनाएका थिए । आचार्यका बुवा राणा सरकार कै कर्मचारी गर्ने भए पनि टङ्क प्रसादले राणाको कार्य प्रति विरोध गर्ने गर्नु भएको थियो ।
दमक: झापाको शिवसताक्षी नगरपालिकामा भएको सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । दुइवटा ट्रक एकआपसमा ठक्कर भएको थियो । पुर्व पश्चिम लोकमार्ग अन्तर्गत झापाको शिवसताक्षी नगरपालिका १ धरमपुरमा शुक्रबार विहान भएको सडक दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो । पश्चिम बाट पुर्व जादै गरेको ना ६ ख ८८९५ नम्वरको मालवाहक ट्रक लाई सोहि दिशातर्फ जादै गरेकोे ना ३ ख ८३११ नम्वर ट्रकले ठक्कर दिइएको जनाइएको छ। ठक्कर दिने ट्रकका चालक ईटहरी उपमहानगरपालिका बकलौरी निवासी वर्ष ३५ का मदन चौधरीको र पहिचान नखुलेका सह चालकको घटना स्थलमै मृत्यु भएको हो । दुर्घटना बाक्लो हुस्सुका कारण भएको हुनसक्ने प्रहरीले जनाएको छ ।
काठमाडौं: काठमाडौंसहित देशका धेरै ठाउँमा अहिले हुस्सु लागेको छ । अहिले बिहान लागेको हुस्सु बिस्तारै हट्दै जाने र पारिलो घाम लाग्ने मौसमविद्ले बताएका छन् । मौसमविद् राजु प्रधानाङ्गका अनुसार आज दिउँसो देशभरका धेरै ठाउँको मौसम सामान्यतया सफा रहने अनुमान छ । तराईका जिल्लामा लागेको हुस्सु कुहिरो भने दिउँसोपछि मात्रै हट्ने अनुमान छ । बिहानको मौसम धुम्मिएजस्तो देखिए पनि पश्चिमी न्यून चापीय प्रणाली सक्रिय नभएकाले अबको तीनरचार दिनसम्म नै पानी पर्ने सम्भावना नरहेको मौसमविद् प्रधानाङ्गले बताउनुभयो । यसपालिको हिउँदमा वर्षा र हिमपात खासै हुन सकेको छैन । यसले गर्दा डढेलो र आगजनीका घटना बढ्न थालेका छन् । हिउँ नपरेपछि हिमाल कालापत्थरमा परिणत भएका छन् । यस्तै कृषि बालीमा पनि क्षति पुगेको छ भने विद्युत् उत्पादनमा पनि असर परेको छ ।
काठमाडौं: नेपाल एयरलाइन्सको टिकट यात्रुको सहज पहुँचका लागि भन्दै नेपाल वायु सेवा निगमलेआजबाट ई सेवाबाट समेत काट्न मिल्ने व्यवस्था गरेको छ । ई सेवा मार्फत नेपाल एयरलाइन्सको टिकट सिस्टममा गएर उडान गर्ने गन्तव्य छनौट गरी टिकट काट्न सकिने व्यवस्था सुरु भएको हो । एयरलाइन्सले अन्तर्राष्ट्रिय र डोमेस्टिक यात्रुका लागि टिकट सिस्टम छुट्टा छुट्टै बनाएको छ । एयरलाइन्सले डोमेस्टिक उडानका लागि भोजपुर, दाङ, इलाम, काठमाडौँ, फाप्लु, ताप्लेजुङ, बाजुरा, डोल्पा, जुम्ला, खानिडाँडा, नेपालगन्ज, रुकुम, सिमकोट, ताल्चा, धामकर्ख विमानस्थलका लागि टिकट उपलब्ध गराएको छ । त्यसै गरी अन्तर्राष्ट्रिय चीन, भारत, जापान, मलेसिया, कतार, साउदी अरविया, थाङल्याण्ड, युएइका लागि टिकट उपलब्ध गराएको छ ।