काठमाडौं:    गण्डकी प्रदेश प्रमुखसहित सातै प्रदेशका प्रदेश प्रमुखहरूले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेट गरेका छन्।   बुधबार बिहान राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा प्रदेश प्रमु...

काठमाडौँ:   साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको दोस्रो  खेलमा नेपालले आज आइतबार भुटानसँग प्रतिस्पर्धा गर्ने भएको छ । ढाकास्थित विर श्रेष्ठ शहिद सिपाही मुस्तोफा कमल स्टेडियममा हुने  नेपाल र भुटानबीचको खेल दिउँसो ३ः१५ बजे सुरु हुनेछ ।   आजको खेलमा नेपाल पहिलो जित निकाल्ने योजनामा छ । पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग ३–१ गोल अन्तरले पराजित भएको थियो ।   यता पहिलो खेलमा भारतसँग फराकिलो गोल अन्तरले पराजित भएको भुटान पनि पहिलो जित निकाल्ने योजनमा छ ।भुटान पहिलो खेलमा भारतसँग १२–० ले पराजित भएको थियो । प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भारत र भुटानको सहभागिता रहेको छ ।   राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् ।

काठमाडौं : राष्ट्रियसभा उपाध्यक्षका लागि सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालले उम्मेदवारी दिने भएकी छन्।   नेपाली कांग्रेसले राष्ट्रियसभामा उपाध्यक्षमा उम्मेदवारी नदिने निर्णय गरेको छ।   योसँगै राष्ट्रियसभा उपाध्यक्षमा अर्याल निर्विरोध चयन हुने पक्का भएको छ।   उपाध्यक्षको मनोनय आज हुँदैछ। राष्ट्रियसभामा हाल ५८ सांसद छन्। जसमा एमालेबाट १८ र माओवादीबाट १६ सांसद छन्।   नेपाली कांग्रेसका ११, नेकपा एकीकृत  समाजवादीका ७, लोकतान्त्रिक समाजवादी पार्टीका १ र जनमोर्चाको १ सिट  गरी २० सिट रहेको छ। अध्यक्षले मतदान नगर्ने भएकाले बहुमतका लागि २९ सांसद आवश्यक हुन्छ।

काठमाडौं: नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन भएको छ।     थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज बिहान साढे ६ बजे राणाको निधन भएको हो। ९५ वर्षीय राणा निमोनिय संक्रमण भएपछि अस्पताल भर्ना भएका थिए।    लामो समयदेखि स्वासप्रश्वासको समस्या झेल्दै आएका राणा उपचारका लागि केही दिनअघि नर्भिक अस्पताल भर्ना भएका थिए।    नेपाल राष्ट्र बैंकका संस्थापक राणा नेपालको पहिलो अर्थसचिवसमेत हुन्। पछिल्लो समय उनी नागरिक समाजको अगुवाका साथै आमनिर्वाचन पर्यवेक्षक समितिका संस्थापकका रूपमा क्रियाशील थिए।    १४ वर्षमा मेट्रिक पास गरेका उनी राष्ट्र बैंकको गभर्नरको नियुक्ति हुँदा २९ वर्ष पुगेका थिए। उनले सन् १९६२ देखि १९८६ सम्म संयुक्त राष्ट्र विकास कार्यक्रमअन्तर्गत विभिन्न देशमा आवासीय प्रतिनिधिका रूपमा काम गरेका थिए।   राणाको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ। उनका दुई छोरा र दुई छोरी छन्। 

टीकापुर:  सरकारी अनुदानसहित करिब चार करोड रुपियाँको लागतमा टीकापुरमा बनेको केरा पकाउने च्याम्बर प्रयोगविहीन अवस्थामा छ। वि.सं. २०७६ फागुनमा निर्माणसम्पन्न भएको च्याम्बर परीक्षण गरेर बन्द भएको थियो। गत वर्ष च्याम्बर सञ्चालन गरे पनि घाटा भएपछि सञ्चालकले बन्द राखेका छन्।    च्याम्बरमा कर्णाली कृषि सेवा प्रालिका तीन जना सञ्चालकका २०/२० लाख रुपियाँको सेयर र नेपाल बैङ्क लिमिटेडको एक करोड रुपियाँ ऋण लगानी छ भने रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि एकाइको एक करोड ९० लाख रुपियाँ अनुदान पनि खर्च भइसकेको छ। च्याम्बरका नाममा ६० लाख रुपियाँको १० कट्ठा जग्गा पनि किनिएको छ।   च्याम्बरमा तीस टन क्षमताका पाँचवटा कोठा छन्। केरा पकाउन पाँच दिन लाग्ने भएकाले हरेक दिन पाकेका केरा निकाल्न पाँचवटै च्याम्बर चलाउनुपर्छ। च्याम्बर ठूलो र बजार सानो भएकाले सञ्चालन गर्न कठिनाइ भएको सञ्चालक शिलाकान्त झा बताउनुहुन्छ। “तीस टन केरा स्थानीय बजारमा मात्रै खपत हुँदैन, पकाएर काठमाडौँसम्म लैजाँदा बिग्रिन थाल्यो,” सञ्चालक झा भन्नुहुन्छ, “चलाउँदा घाटा हुने देखेपछि बन्द राखेका छौँ।”    मुख्य सञ्चालक भानु बजगाईंको मृत्युपछि अर्का सञ्चालक वीरेन्द्र ढुङ्गाना आफू अलग भइसकेको र लगानीको हिसाबकिताब लिन बाँकी रहेको बताउनुहुन्छ। नेपाल विद्युत् प्राधिकरण टीकापुर वितरण केन्द्रका प्रमुख माधव महतका अनुसार प्रालिले २५ लाख रुपियाँ महसुल बुझाउन बाँकी रहेकोले लाइन काटेर कालोसूचीमा राखिएको छ।    केरा उत्पादक किसान टेकेन्द्र धामी गत वर्ष च्याम्बर चलेपछि किसानले ३५ लाख रुपियाँको केरा दिएको र मूल्य नपाएको बताउनुहुन्छ। टीकापुर नगरपालिकाका उपप्रमुख खड्कबहादुर शाहले आफ्नो ठाउँमा उद्योग सञ्चालन होस् भनेर सहयोग गरेको उल्लेख गर्दै च्याम्बर सञ्चालनबारे सञ्चालकसँग छलफल गर्न बाँकी रहेको बताउनुभयो।    योजना थप्दै झा सुरुका दुई सञ्चालक निष्क्रिय भइसकेपछि एक्ला सञ्चालक शिलाकान्त झा भने च्याम्बर चलाउन नयाँ योजना थप्ने तयारीमा हुनुहुन्छ। “च्याम्बरमा पकाएको केरा स्थानीयस्तरमै प्रयोग गर्न केराको पाउडर बनाउने र केराको वाइन बनाउने योजना छ,” झा भन्नुहुन्छ, “केरा छिल्ने र पेल्ने मेसिन जडान गरेर वैशाखसम्म वाइन उत्पादन गर्ने र केराको धुलोमा त्यत्तिकै मात्रामा गेडागुडीको धुलो थपेर असारसम्म बच्चाका लागि पोषण उत्पादन गर्ने तयारीमा छौँ।” उहाँका अनुसार वाइन बनाउने प्लान्ट बनाउन एक करोड रुपियाँ लाग्नेछ। यसका लागि पाँच लाख रुपियाँ भारतीय कम्पनीलाई बैना दिइसकेको उहाँले बताउनुभयो। यस क्षेत्रमा करिब ७०० बिघामा केरा खेती भइरहेको छ।    

काठमाडौं: रिक्त रहेको राष्ट्रियसभा उपाध्यक्षका लागि आज मनोनयन दर्ता हुँदैछ।    संघीय संसद सचिवालयका अनुसार दिउँसो १ बजेदेखि ४ बजेसम्म संसद भवन नयाँ बानेश्वरमा उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ।   संघीय संसदका सहायक प्रवक्ता दशरथ धमलाका अनुसार ४ः १५ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने र भोलि २३ गते निर्वाचन गर्ने कार्यक्रम रहेको छ।   राष्ट्रियसभा उपाध्यक्ष रहेकी शशीकला दाहालको कार्यकाल सकिएको लामो समयसम्म उपाध्यक्ष पद खाली रहेको थियो।   राष्ट्रिय सभाको उपाध्यक्षका लागि सत्ता पक्ष र प्रतिपक्ष कसैले पनि उम्मेदवार तय गरेका छैनन्। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उम्मेदवार दिने जनाए पनि नाम सार्वजनिक गरेको छैन यता सत्तारुढ गठबन्धनले पनि उम्मेदवार टुंगो लगाएका छैनन्।   यसैबीच राष्ट्रिय सभाको उपाध्यक्षमा साझा उम्मेदवार चयन गर्नका लागि बिपक्षी दलहरुको बैठक बस्दैछ।   हिजो शनिबार सिंहदरवारस्थित नेपाली कांग्रेस संसदीय दलको बैठकमा साझा उम्मेदवार चयन गर्ने बारेमा प्रारम्भिक छलफल भएको थियो। उक्त छलफललाई निष्कर्षमा पुर्‍याउन आज कांग्रेसले पुनः बैठक बोलाएको छ।

काठमाडौं : परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले श्रीलंकाका राष्ट्रपति रणिल विक्रमासिंघेसँग शिष्टाचार भेट गरेकी छन्। श्रीलंकाको ७५औं स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन श्रीलंका भ्रमणमा रहेकी मन्त्री पौड्यालले राष्ट्रपतिसँग भेट गरी दुई देशबीचको आपसी हित र चासोका विषयमा  छलफल गरेकी छन्।   श्रीलंकका राष्ट्रपतिसँग परराष्ट्र मन्त्री पौड्यालले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलसँग हवाइ सम्पर्क विस्तार, दुई देशबीच सांस्कृतिक आदानप्रदान, नेपालमा बौद्ध दर्शनको अध्ययनलगायतका विषयमा सहकार्य अघि बढाउन आग्रह गरेकी छन्।   उनले श्रीलंकाको स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन कोलम्बोमा रहेएका भारतका विदेश राज्यमन्त्री, बंगलादेश, माल्दिभ्स र श्रीलंकाका विदेशमन्त्रीहरूसँग अलग-अलग भेटवार्ता गरेकी छन्।    उनीहरूसँगको भेटमा उनले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का गतिविधिलाई सक्रिय बनाउने र सार्क मुलुकहरुबीच आपसी छलफल, सहकार्य सम्पर्क सञ्जाल विस्तार गर्नुपर्नेमा जोड दिइन्। परराष्ट्र मन्त्री पौड्याल श्रीलंकाको भ्रमण पूरा गरी भोलि स्वदेश फर्किँदैछिन्।

काठमाडौं:  स्वास्थ्य पत्रकारको संस्था स्वास्थ्य पत्रकार मञ्च, नेपालको अध्यक्षमा सरोज ढुंगेल निर्वाचित हुनुभएको छ। ढुंगेल गोरखापत्रकर्मी हुनुहुन्छ।शनिबार काठमाडौंमा भएको मञ्चको आठौं वार्षिक साधारणसभा र पाँचौं राष्ट्रिय सम्मेलनबाट सर्वसम्मत नयाँ कार्यसमित निर्वाचित भएको हो।    मञ्चको वरिष्ठ उपाध्यक्षमा भिषा काफ्ले, उपाध्यक्षमा अर्जुन अधिकारी र महेश तिमल्सेना निर्वाचित हुनुभएको छ। त्यसैगरी महासचिवमा सञ्जिता खनाल, सचिवमा कमला गुरुङ र कोषाध्यक्षमा तुलसा घिमिरे चयन हुनुभएको छ।    मञ्चको नयाँ कार्यसमित सदस्यमा समृद्धा केसी, सपना पौडेल,  उपेन्द्र खड्का, केदार गौतम, सिर्जना खत्री, प्रकाश बस्याल, मनिषा थापा, सिर्जना कार्की चयन हुनुभएको छ।त्यसैगरी प्रदेश  संयोजकमा प्रदेश १ मा जुना भट्टराई, मधेश प्रदेशमा सुष्मा कर्ण, बागमती प्रदेशमा ज्योति अधिकारी, गण्डकी प्रदेशमा विना न्यौपाने, लुम्बिनी प्रदेशमा वासुदेव न्यौपाने, कर्णाली प्रदेशमा कृष्ण आचार्य चयन हुनुभएको छ। सुदूरपश्चिम प्रदेश संयोजक कार्यसमितिले तोक्ने निर्णय भएको छ।

देउखुी:  लुम्बिनी प्रदेश सभा स्थापना भएको छ वर्ष पुगेको छ। स्थापनाको छ वर्षमा लुम्बिनी प्रदेश सभाले महत्वपूर्ण उपलब्धिको रुपमा प्रदेशको नाम  र राजधानी टुंगो लगाएको छ।    स्थापनाको पहिलो कार्यकाल प्रदेशको अस्थायी मुकाम बुटवलबाट कामको सुरुवात गरेको प्रदेश सभाले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) मा तोकेर स्थायी राजधानी देउखुरीमा आफ्नै प्रदेश सभा भवन निर्माण गरिसकेको छ। अहिले प्रदेश सभाको आफ्नै भवनमा बैठक चलिरहेको छ।    २०७४ सालमा निर्वाचन सम्पन्न भएपछि प्रदेश सभाको पहिलो बैठक माघ २१ गते आजैको दिन बसेको थियो। जुन दिनलाई प्रदेश स्थापनाको दिन मानेर हरेक वर्ष स्थापना दिवस मनाउने गरिएको छ।    प्रदेश सभा सचिवालयले शनिबार औपचारिक कार्यक्रम गरेर प्रदेश सभा स्थापना दिवश मनाएको हो। प्रदेश सभा सस्थापना दिवसको अवसरमा प्रमुख अतिथि लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले अहिले प्रदेशको दोस्रो कार्यकालसम्म आउँदा संघीयताको विरुद्धमा केही आवाज उठिरहेको बताउँदै संङ्घीता खारेजी अहिले असम्भव रहेको बताउनुभयो।    लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले संघीयता दलको कार्यकर्ता पाल्ने थलो नभएको बताउनुभयो। संघीयता प्राप्त गर्नको लागि लामो संघर्ष गर्नुपरेको स्मरण गर्दै उहाँले आवश्यक कानुन निर्माणको काममा प्रदेश सभा सफल हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “अहिले संघीता राजनीतिक दलका कार्यकर्ता पाल्ने अथवा उनीहरुलाई संरक्षण गर्ने कुरा गरिएको छ, यो संङ्घीयता विरोधी तत्त्वको विचारले काम गरिरहेको हामीलाई लागि रहेको छ।”    सभामुख तुलाराम घर्तीमगरले प्रदेश सभाले हालसम्म आवश्यक ७२ कानुन निर्माण गरेको जानकारी दिँदै अब प्रदेश सभाबाट प्रदेश र प्रदेशका नागरिकको हितमा हुने कानुन निर्माणमा जोड दिने बताउनुभयो। लुम्बिनी प्रदेश सभाले अघिल्लो कार्यकालमा ७२ वटा विधेयक पारित गरेको छ। 

काठमाडौं:  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै पक्षसँग आफूले संवाद गर्ने बताउनुभएको छ ।   प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उठाएको मागका सन्दर्भमा आफूले सबै पक्षसँग संवाद गर्ने र समस्याको समाधान हुने बताउनुभएको हो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज (शनिबार) सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले समस्याको समाधान हुने बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “अहिले मेरो कुरा हुँदैछ समस्या समाधान हुन्छ ।”   गृह मन्त्रालय आफैँले पाउनुपर्ने भन्दै रास्वपाले दाबी गर्दै आएको छ । नागरिकता प्रकरणमा सर्वोच्च अदालतले निर्णय गरेपछि सो पार्टीका सभापतिसमेत रहनुभएका रवि लामिछानेको सांसद पदसँगै उपप्रधानमन्त्री एवम् गृहमन्त्रीको जिम्मेवारीसमेत खोसिएको थियो ।   पुनः नागरिकता प्राप्त गरेलगत्तै लामिछानेले आफूलाई पुनः सोही पदमा पुनःस्थापित गरिदिन माग गर्दै आउनुभएको छ । सोही प्रसङ्गमा प्रधानमन्त्रीले सबै पक्षसँग कुरा हुने बताउनुभएको हाे ।