काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केही ढिला गरेर भए पनि चुनावमा व्यक्त भएको जनमतअनुसारको सरकार बन्न लागेकाले आशा जागेको बताएका छन् । उनले केन्द्र र सातै प्रदेशमा कांग्रेससहित आठ दलको गठबन्धनको सरकार बन्ने भन्दै अब छिटोभन्दा छिटो सरकारले केही गर्दै छ भनेर जनतामा भरोसा जगाउन सक्नुपर्ने बताए । मंगलबार आफ्नो निर्वाचन क्षेत्रमा सम्पर्क कार्यालयको उद्घाटन गर्दै महामन्त्री थापाले अब सबै दलहरू गठबन्धनमा भएको सहमतिअनुरुप इमानदार भएर अघि बढ्नुपर्ने बताए । ‘हामीले चुनावमा गर्न नमिल्ने गठबन्धन गर्यौँ, धेरैले असहमति पनि जनाउनुभयो । तैपनि कलममा भोट हाल्ने साथीहरूले रुखमा भोट हाल्नुभयो, रुखमा भोट हाल्नुपर्ने मैले कलममा पनि भोट हालेँ, फरक-फरक उद्देश्य भएका दलले गठबन्धन गरे पनि स्थायी सरकार दिन्छौँ, पाँच वर्षसम्म यो-यो काम गर्छौं भनेर जनताको बीचमा वाचा गर्यौँ,’ थापाले अघि भने, ‘त्यहीअनुसार चुनावमा जनमत व्यक्त भयो, तर पुस १० मा देशमा दुर्घटना भयो । हामीले चुनावमा गरेको वाचामा कायम रहेनौँ । अहिले ढिलो भए पनि हामी निर्वाचनका बेलाको गठबन्धनलाई एक ठाउँमा उभ्याउन सफल भएका छौँ ।’ उनले अबको गठबन्धन सरकारलाई काम गर्ने र जनताको अपेक्षाअनुसारको प्रतिफल दिनुको विकल्प नरहेको बताए । ‘जे भएको छ, त्यो हुनैपर्ने थियो । तर अब अगाडिको बाटोचाहिँ सजिलो छैन,’ उनले भने, ‘काम, काम र काम । र कामले परिणाम । अब हामीसँग ५/६ महिनामात्रै छ, त्यो अवधिमा हामीले जनतालाई हिजोभन्दा राम्रो गर्दै छौँ भनेर सन्देश दिन सकेनौँ भने फेरि अप्ठ्यारो आइहाल्छ । हामीले समय लगाएर भए पनि भरोसा गर्न सक्ने आधार दिनुपर्ने हुन्छ ।’ उनले सरकारले संख्यामा मात्रै बलियो भएर नहुने बताए । ‘अब संघमा र प्रदेशमा हाम्रो गठबन्धनको सरकार हुन्छ । स्थानीय तहमा हाम्रो सरकार छ,’ उनले भने, ‘तर यो हुनुको अर्थ तब हुन्छ, जब जनताले सरकार हुनुको अर्थ महसुस गर्न थाल्नेछन् । नभए हामीसँग संख्या त रहला, तर जनताको साथ रहँदैन । जनताको साथ नभएपछि फेरि प्रश्न गर्नेहरू नै माथि पर्नेछन् ।’
काठमाडौं: वैदेशिक रोजगारी सम्बन्धी विज्ञापन राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित भएपछि अब म्यानपावर कम्पनीको वेबसाइटमा समेत अनिवार्य राख्नु पर्ने भएको छ । वैदेशिक रोजगार विभागले सोमबार एक सूचना प्रकाशित गर्दै यस्तो व्यवस्थाबारे जानकारी गराएको हो । विभागका अनुसार इजाजत प्राप्त संस्थाबाट हुने वैदेशिक रोजगार सम्बन्धी विज्ञापन ‘अटो अप्रुभ’ हुने व्यवस्था गरिएको छ । अब इजाजत प्राप्त संस्थाले विभागबाट स्वीकृत बमोजिमको विज्ञापनको पहिलो पटकको हकमा राष्ट्रिय दैनिक र त्यसपछिको विज्ञापन आ–आफ्नो संस्थाको वेवसाइटमा अनिवार्य राख्नु पर्ने भएको छ । यस कामको नियमित अनुगमन समेत हुने भएको छ । त्यसो गरेको नपाइएमा कारवाही गर्ने चेतावनी समेत विभागले दिएको छ ।
काठमाडौं: राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनको आचारसंहिता बुधबारदेखि लागू हुने भएको छ । निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता शालिग्राम शर्मा पौड्यालले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि भोलि (बुधबार) देखि चैत ५ गतेसम्म आचारसंहिता लागू हुने जानकारी दिनुभयो । उक्त आचारसंहिता, भदौ १३ गते नै नेपाल राजपत्रमा प्रकाशन भइसकेको आयोगले जनाएको छ । यही फागुन २५ गते राष्ट्रपति र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन हुँदैछ । ‘‘दुवै पदको निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले २०७९ फागुन १७ गतेदेखि चैत ५ गतेसम्म कायम रहने गरी निर्वाचन आचारसंहिता, २०७९ जारी गर्ने निर्णय गरेको छ ।,’’ आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘‘उक्त आचारसंहिता, २०७९ मिति २०७९ भदौ १३ गतेको नेपाल राजपत्र खण्ड—७२, सङ्ख्या ३२ मा प्रकाशन भइसकेको छ ।’’ आयोगका अनुसार उम्मेदवारको अन्तिम नामावली आज (मङ्गलबार) प्रकाशन गर्ने कार्यक्रम रहेको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि राष्ट्रपति र उपराष्ट्रपति पदको उम्मेदवारहरूले प्रचारप्रसार गर्न पाउने आयोगले जनाएको छ । संवैधानिक व्यवस्था अनुसार उक्त निर्वाचनका लागि सङ्घीय संसद्मा हाल कायम रहेका ३३२ र प्रदेशसभाका ५५० गरी कूल ८८२ मतदाता रहेको निर्वाचक मण्डल रहने छ ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकार जनताको अवस्था बदल्न दृढ संकल्पित रहेको बताएका छन् । नेपालको आदिवासी जनजातिअन्तर्गत अल्पसंख्यक सीमान्तकृत जाति माझी समुदायले फागुन महिनाको साहिँली अर्थात् तेस्रो मंगलबार मनाउने लदी पर्वको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘वर्तमान सरकार बदलिएको व्यवस्थाअनुरूप जनताको जीवनमा गुणात्मक परिवर्तन ल्याउने संकल्पका साथ अवस्था बदल्न दृढ संकल्पित छ ।’ प्रधानमन्त्री प्रचण्डले सम्पूर्ण नेपालीलाई सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा हातेमालो गर्न पनि अपिल गरेका छन् ।
पोखरा: पोखरा महानगरपालिका वडा नं ३३ मा क्रियाशिल सिलिङ्गे महिला चेतना समूहको १६ औं वार्षिक साधारण सभा एवम् सातौं अधिवेशन एक कार्यक्रमकाबीच आज सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले सिलिङ्गे महिला चेतना समूहको सकृयता अनुकरणीय भएको बताउनुभयो । सामाजिक जागरणसँगै विकास निर्माणमा समूहले उल्लेख्य काम गरिहेको बताउँदै उहाँले समूहका हरेक गतिविधिमा वडाका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सिलिङ्गे महिला चेतना समूहका अध्यक्ष कर्णकुमारी महतले समूहको सकृयतामा सदस्यहरूलाई विभिन्न सिपमुलक तालीमका साथै ऐतिहासिक चौतारा, प्रतिक्षालय आदि निर्माण गरिएको बताउनुभयो । समूहले आगामी दिनमा पाण्डेबारीमा चौतारा निर्माणसँगै वातावरण संरक्षणका कार्यक्रम, चेतना एवम् सीपमुलक तालीम प्रदान लगायतका काम गर्ने बताउनुभयो । समूहका सचिव सीता केसी महतको सञ्चालन एवम् उपाध्यक्ष सरला महतले स्वागत गर्नुभएको कार्यक्रममा वडा सदस्य विनोदबाबु भण्डारी, रामचन्द्र पौडेल, गुरुप्रसाद पौडेल, चेतबहादुर महत लगायतले समूहले सामाजिक सचेतनासँगै ऐतिहासिक स्थलहरूको संरक्षण र विकासमा गरेको योगदान प्रशंसनीय भएको बताउनुभयो । उक्त अवसरमा समूहका संस्थापक सल्लाहकार एवम् पदाधिकारी एवम् रासस गण्डकी प्रदेश प्रमुख वासुदेव पौडेललाई कदरपत्र प्रदान गरी सम्मान गरिएको थियो । यसैबीच समूहको सातौं अधिवेशनले पुनः कर्णकुमारी महतको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ । नव गठित समितिको उपाध्यक्षमा सरला महत, सचिवमा सीता केसी महत, कोषाध्यक्षमा सविता आचार्य पौडेल, सहसचिवमा विष्णु पौडेल र सदस्यहरूमा लक्ष्मी जमरकटेल, गंगा क्षेत्री, जौमाया विक, सम्झना भट्टराई, विष्णुमाया विक, सुनिता अर्याल महत, जमुना महत र सविता पौडेल रहनुभएको छ । अधिवेशन सम्पन्न गर्नका लागि वासुदेव पौडेलको संयोजकत्वमा हेमबहादुर थापा र राधा पौडेल सदस्य रहनुभएको निर्वाचन समिति गठन गरिएको थियो ।
पोखरा: पोखराको हरित यातायात प्रणाली विकास परियोजना पोखरा महानगरपालिका र गणतन्त्र कोरियाको भूमि, पूर्वाधार र यातायात मन्त्रालयका प्रतिनिधिहरू बिच सम्झौता भएको छ । सम्झौता अनुसार पोखराको विद्यमान यातायात व्यवस्थालाई प्रविधिमैत्री बनाउँदै हरियाली प्रवर्द्धन गरिनेछ । परियोजना अन्तरगत कोरियाले विभिन्न साझेदार संस्थाहरूको समन्वयमा पहिलो चरणमा १५ लाख अमेरिकी डलर खर्च गर्नेछ । यसअघि नै पोखराको सार्वजनिक यातायात प्रणालीको विषयमा स्थलगत अध्ययन गरेका कोरियाली रेलमार्ग अनुसन्धान संस्थानका परियोजना प्रबन्धक जियोन ह्युन किमका अनुसार परियोजना अन्तरगत पोखराका ८४ वटा बस रुटहरूमा १ हजार २८६ स्थानमा बस स्टप निर्माण गरिनेछ । यस्तै ३ स्थानमा बस टर्मिनल निर्माण गरिने छ । यसका लागि पहिलो चरणमा १५ लाख डलर खर्च हुनेछ । यसको आधा रकम बस स्टप र बसहरूमा मेसिन जडान गर्दा खर्च हुनेछ । पोखराको मुख्य चोकपृथ्वी चोकलाई थप विस्तार समेत गरिनेछ । तिन चरणमा गरी सम्पन्न गरिने यस परियोजनाको पहिलो चरणमा सहरी यातायात व्यवस्थापनका लागि प्रारम्भिक चरणको काम सकिनेछ । यस्तै दोस्रो चरणमा हरित यातायात प्रणालीको विकास गरिने छ भने, तेस्रो चरणमा दिगो हरित यातायात प्रणालीको विकास गरिनेछ । विश्वमा भएको उत्कृष्ट सहरी यातायात व्यवस्थापनको नमुना पोखरामा हुने कोरियन टोलीले विश्वास दिलाएको छ । परियोजनाका दौरानमा हाल नेपालमा रहेका सवारीहरूको अवस्था र कोरियामा भइरहेको यातायात व्यवस्थापनको अनुभवलाई समेत प्रयोग गरिनेछ । टोलीका अनुसार परियोजनाको अन्त्यमा पोखराको सहरी यातायात व्यवस्थापन प्रविधिमैत्री र स्मार्ट हुनेछ । पोखरामा चल्ने सार्वजनिक यातायातको सेवाका बारे हरेक नागरिकहरूले डिजिटल माध्यमबाट जानकारी पाउने छन् । अहिले जस्तो कुनै पनि स्थानमा लामो समयसम्म बस कुर्नु पर्ने छैन भने, चालकहरूले समेत जथाभाबी यात्रु चढाउन र ओराल्न पाउने छैनन् । क्याम्पीङ्चोक देखी बगर ९बस स्टप १९०, निर निवास देखी शान्तिनगर चोक ९बस स्टप ११० र नुवारचोक देखी महिमा किराना ९बस स्टप १८० सम्म गरी तिन वटा मुख्य बस चल्ने रुटहरू हुनेछन् । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यस परियोजना मार्फत पोखरामा वातावरणमैत्री यातायात प्रणालीको विकासमा टेवा, बस चढ्ने यात्रुहरूको सङ्ख्यामा वृद्धि, कार्बन उत्सर्जनमा न्यूनीकरण र सार्वजनिक यातायातको सम्पूर्ण जानकारी प्राप्तिमा यात्रुहरू सहजता पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँका अनुसार पोखरामा बढ्दो सहरीकरण र ट्राफिक चापलाई व्यवस्थित गर्नका लागि पनि यो परियोजना प्रभावकारी हुनेछ । यस परियोजनाले पोखरामा समावेशी, दिगो र लचिलो, वातावरणमैत्री र प्रभावकारी यातायात प्रणालीको विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । परियोजनामा गणतन्त्र कोरियाको भूमि, पूर्वाधार र यातायात मन्त्रालय, कोरिया रेलमार्ग अनुसन्धान संस्थान, राष्ट्रिय यातायात विश्वविद्यालय कोरिया र तारकम को।लिमिटेड सहित विभिन्न दातृ निकायहरूले साझेदारी गरेका छन् ।
काठमाडौं: नेकपा (एमाले) का मन्त्रीहरूले राजीनामा दिनुभएको छ । सोमबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटार पुगेर एमालेबाट भएका मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष राजीनामा बुझाउनुभएको हो । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, कृषिमन्त्री ज्वालाकुमारी शाह, परराष्ट्रमन्त्री विमला राई पौड्याल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरी, रक्षामन्त्री हरि उप्रेती, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र भूमिसुधार मन्त्री राजेन्द्रकुमार राईले मन्त्री पदबाट राजीनामा दिनुभएको हो । आजै बिहान बसेको एमाले सचिवालय बैठकले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो ।
काठमाडौं: यस वर्ष हिउँद याम सकिनै लाग्दा अर्थात् करिब पाँच महिनापछि आइतबार राजधानी काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भयो । सामान्य नेपालमा हिउँदे वर्षा मङ्सिर दोस्रो सातामा सुरु भएर फागुन दोस्रो सातासम्म रहन्छ । हिउँदे याम सुरु भएको तीन महिनापछि अर्थात् फागुन १४ गते देशभर वर्षा भयो । मौसमी भाषामा यो वर्षालाई हिउँदे वर्षाकैरुपमा लिइन्छ । तर, यो वर्षा प्रि–मनसुनको जस्तो मेघगर्जन, चट्याङ र हावाहुरीसहितको वर्षा भएकाले मौसमविद् नै द्विविधामा छन् । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको जलवायु विश्लेषण शाखाका शाखा प्रमुख वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेलले यो वर्ष ढिलोगरी हिउँदे वर्षा भएको बताउनुभयो । उहाँले मङ्सिर १५ देखि फागुन १५ सम्म हिउँदे वर्षाकैरुपमा गणना गरिने भएकाले आइतबार भएको वर्षा हिउँदे वर्षा नै भए पनि यसको प्रकृति प्रि–मनसुनको जस्तो अर्थात् मेघगर्जन र चट्याङसहितको वर्षा भएको उहाँले उल्लेख गर्नुभयो । “हिउँदयामको अन्तिममा थोरै भए पनि वर्षा भयो, यसले किसानलाई राहत मिलेको छ, तर यो वर्षाको प्रकृति हेर्दा प्रि–मनसुनको वर्षा जस्तो छ । हिउँदयाममा चट्याङ र असिनारहितको वर्षा भएको छ”, मौसमविद् कँडेलले भन्नुभयो । नेपालमा मार्च, अप्रिल र मेसम्म तीन महिना प्रि–मनसुन मानिन्छ । यो वर्ष फागुन १६ सम्मलाई हिउँद याम मानिने उहाँले बताउनुभयो । यो वर्ष के कारणले हिउँदे वर्षा भएन भनी सोधिएको जिज्ञासामा मौसमविद् कँडेलले पश्चिमी वायुको सक्रियता र क्षमतामा ह्रास आएका कारणले हिउँदे वर्षा कम भएको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “पूर्वी प्रशान्त महासागरमा विकसित जलवायु प्रणाली विपरीत दिशातर्फ अर्थात् भूमध्ये रेखाको आसपास गएकाले समुद्रको पानी तातिनुपर्नेमा चिसो हुँदै गएकाले जलवाष्फको मात्रा जुन किसिमले विकसित हुनुपर्ने हो त्यो नहुँदा नेपालतर्फ पश्चिमी वायुको प्रभाव कम देखिएको हो ।” विभागअन्तर्गतको जलवायु विश्लेषण शाखाले हिउँद र वर्षायामको वर्षाको विश्लेषण गर्ने गरेको छ । मौसमविद् कँडेलका अनुसार यो वर्षको हिउँदयाममा आजसम्मको रेकर्डमा जम्मा १२ दशमलव ९ मिलिमिटर वर्षा भएको छ । हिउँदमा सरदर ६० दशमलव १ मिलिमिटर वर्षा हुन्छ । आइतबार विशेषगरी पहाडी क्षेत्रका भूभागमा भएको वर्षाले लामो खडेरी बेहोरिरहेका किसानलाई राहत मिलेको छ । पर्यावरण सन्तुलनमा समेत मद्दत पुगेको मौसमविद्को भनाइ छ । पश्चिमी वायुको सक्रियता नबढेका कारण हिउँदे वर्षा हुन नसकेको मौसमविद् गङ्गा नगरकोटी बताउनुहुन्छ । वरिष्ठ मौसमविद् कँडेल पनि नगरकोटीको भनाइमा सहमति जनाउँदै तुलनात्मकरुपमा पश्चिमी वायुको फैलावट राम्रोसँग हुन नसकेकाले हिउँदे वर्षा नभएको उल्लेख गर्नुभयो । सन् २०२२ को अक्टोबर १५ र १६ देखि खासै वर्षा भएको थिएन । नोभेम्बरमा केही स्थानमा र सन् २०२३ को जनवरीमा पनि विभिन्न स्थानमा छिटफुट मात्रै वर्षा भएको थियो । वर्षा नहुँदा सुक्खापन र खडेरी बढेको थियो । यो वर्ष विगतका वर्षमा भन्दा तापक्रम सरदरभन्दा बढी नै रहेको थियो । नेपालमा सामान्यतया फागुन लागेपछि मौसम न्यानो हुने गरेको छ । मौसमविद्को भनाइमा यस वर्ष हिउँदे वर्षा पर्याप्तमात्रामा हुन सकेन । राजधानी काठमाडौं उपत्यकामा त झन् यो वर्ष हिउँदे वर्षा भएन । उपत्यका बाहिर खासगरी देशका पश्चिमी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भयो भने पश्चिमदेखि पूर्वीभेगसम्मै उच्च हिमाली क्षेत्रमा हल्का हिमपात भएको छ । हिउँदे वर्षा नहुँदा हिउँदे बाली लगाएका किसान मर्कामा परेका छन् । लामो समयसम्म वर्षा नहुँदा वातावरण र पर्यावरणमा समेत असर परेको उनीहरूको विश्लेषण छ । गर्मी, जाडो, वर्षा जस्ता प्राकृतिक विशेषता मानवसँग प्रत्यक्ष जोडिन्छन् । यसले पर्यावरणमा सकारात्मक तथा नकारात्मक प्रभाव पार्ने बताइन्छ । जलवायु परिवर्तनको प्रभावले मौसममा उतारचढाव आउने अनुमान गरिएको छ । युरोपियन महादेशबाट क्यास्पियन सी ‘ब्ल्याक सी’ को बाटो हुँदै इरान, अफगानिस्तान, पाकिस्तान र उत्तरपश्चिम भारतबाट नेपाल भित्रिने वायुको प्रभावले हिउँदे वर्षा गराउने विज्ञ बताउँछन् । पश्चिमी वायुमा जलवाष्फको मात्रा वृद्धि भएपछि तथा वायुमण्डलीय चापमान घटेर यस मौसममा वर्षा हुने गरेको विज्ञको तर्क छ ।
काठमाडौं: युएईमा जारी आइसिसी यू–१९ पुरुष विश्वकप क्रिकेटको एसिया छनोट प्रतियोगितामा नेपालले हङकङमाथि सानदार जित निकालेको छ । प्रतियोगितामा लगातार तेस्रो जित निकाल्ने क्रममा नेपालले सोमबार हङकङलाई नौ विकेटले हरायो । युएईस्थिति मलेका क्रिकेट मैदानमा हङकङले दिएको एक सय २१ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २२ ओभरमा एक विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो । नेपालको जितमा आकाश त्रिपाटीले अर्धशतकीय पारी पूरा गर्नुभयो । उहाँले अविजित ५८ रन जोड्नुभयो । उत्तम थापाले अविजित ३९ र अर्जुन कुमाल १६ रन बनाउनुभयो । यसअघि पहिले ब्याटिङ गरेको हङकङले ४६.३ ओभरमा सबै विकेटको क्षतिमा एक सय २० रन बनाएको थियो । हङकङका लागि पर्थ भागवात ३६ रन बनाउनुभयो । मोहम्मद जाहिरले २९ र अहान त्रिवेदीले ११ रन बनाउनुभयो । अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बलिङमा नेपालका हेमन्त धामीले तीन विकेट लिनुभयो । आकाश चन्द र सुवास भण्डारीले दुई दुई तथा दीपेश कँडेलले एक विकेट झार्नुभयो । नेपालले पहिलो खेलमा सिंगापुरलाई ९६ रन र दोस्रो खेलमा कुवेतलाई दुई सय ४३ रनले हराएको थियो । नेपालले अर्को खेल मंगलबार मलेसिया र अन्तिम खेल बुधबार युएईसँग खेल्नेछ । छनोट खेलमा आयोजक युएईसहित नेपाल, हङकङ, कुवेत, मलेसिया र सिंगापुर सहभागी छन् । प्रतियोगिताको शीर्षस्थानमा रहने टोलीले सन् २०२४ मा श्रीलङ्कामा आयोजना हुने यू–१९ विश्वकपमा स्थान बनाउनेछ ।