पोखरा:  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सभा भवनको शिलान्यास गरेका छन् ।  पोखरा महानगरपालिका–३ नदीपुरमा बन्ने प्रदेश सभा भवनको आज मंगलबार मुख्यमन्त्री पाण्डेले शिलान्यास...

काठमाडौं:  राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकमा विद्यमान भ्रष्टाचार अन्त्यका लागि राजनीतिक दलबीच राष्ट्रिय सहमति आवश्यक रहेको बताउनुभएको छ। संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दल र राज्यको माथिल्लो निकायमा रहेका प्रमुखले भ्रष्टाचारीलाई कारबाही गर्नेगरी सहमति गर्नुपर्ने पनि स्पष्ट पार्नुभयो।    भ्रष्टाचारविरुद्ध सांसदको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले २०४६ सालयताका भ्रष्टाचारलाई छानबिन गरेर कारबाही गर्न दल तयार हुनुपर्ने बताउनुभएको हो।    अध्यक्ष तिमिल्सिनाले राजनीतिक दलले मुलुकमा सुशासन ल्याउन राष्ट्रिय सहमति नै गरेर अघि बढ्नुपर्ने बताउनुभयो। भ्रष्टलाई जेलमा पठाउनका लागि पनि राजनीतिक नेतृत्व प्रतिबद्ध हुन नसकेको खण्डमा मुलुकमा भ्रष्टाचार नियन्त्रण हुने उहाँको भनाइ छ।    अध्यक्ष तिमिल्सिनाले भन्नुभयो, ‘‘भ्रष्टाचारलाई निमिट्यान्न पार्नका लागि एउटा राष्ट्रिय सहमति आवश्यक छ। संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख, पदाधिकारी, राज्यको माथिल्लो निकायमा रहने प्रमुख तथा पदाधिकारीबीच एउटा राष्ट्रिय सहमति गरौं।’’    उहाँले त्यो सहमतिमा भ्रष्टाचार नियन्त्रण गर्ने, भ्रष्टाचारीलाई कारबाही गर्नुपर्ने बताउनुभयो। उहाँले  विमान खरिददेखि जग्गासम्मका भ्रष्टाचारलाई स्वतन्त्र ढंगले छानबिन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले सुशासनका लागि सहमति आवश्यक भएकोमा जोड दिनुभएको हो।    अध्यक्ष तिमिल्सिनाले भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता निकायलाई सशक्त बनाउनुपर्नेमा जाेड दिनुभयो।  

काठमाडौं:  नेकपा (एमाले)का तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बन्नुभएका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन आवश्यक रहेको बताउनुभएको छ । राज्य प्रमुखमा आफ्नो उम्मेदवारीका सन्दर्भमा पूर्वसभामुखले आफू निर्वाचित भएमा सडकमा निस्कदा जनताले जाम भोग्नु नपर्ने र उडानमा रहँदा आकाश अवरुद्ध नहुने विश्वास दिलाउनुभयो । उहाँले भन्नुभयो, “अघिल्ला अप्ठ्यारालाई अनुभवका रूपमा ग्रहण गर्दै जनभावना बुझेर साँच्चिकै जनताको राष्ट्रपति बन्ने मेरो प्रयास हुनेछ ।”   संविधानसभाका अध्यक्ष नेम्वाङले अर्को प्रसङ्गमा विगतमा सभामुख र संविधानसभाको जिम्मेवारीमा रहँदै पटक–पटक निष्पक्ष र तटस्थताको परीक्षा उत्तीर्ण भइरहेको जिकिर गर्दै राष्ट्राध्यक्षको पद र गरिमाप्रति पनि आफू सचेत रहेको स्पष्ट गर्नुभयो । प्रस्तुत छ मुलुकको संसदीय अभ्यास र प्रक्रियामा अनुभवी र परिपक्व राजनीतिकर्मीको छवि बनाउनुभएका एमाले नेता नेम्वाङसँग राष्ट्रिय समाचार समिति (रासस)का उपप्रमुख समाचारदाता नारायणप्रसाद न्यौपाने र भीष्मराज ओझाले मुलुकको सर्वोच्च राजकीय पदको निर्वाचन, उम्मेदवारी र राष्ट्राध्यक्षको भूमिकालगायत विषयमा लिएको अन्तर्वार्ताको सम्पादित अंश :     आगामी नयाँ राष्ट्रपतिको उम्मेदवार भइरहँदा मतदातासमक्ष यहाँ के–कस्ता कार्यसूची लिएर जाँदै हुनुहुन्छ ?   मुलुकको संसदीय प्रक्रिया, आन्दोलन र लोकतान्त्रिक अभ्यासमा मैले जसरी काम गरेँ, जे भूमिका रह्यो, जनता र देशसमक्ष प्रस्ट छ । मनमोहन अधिकारी नेतृत्वको सरकारमा कानुन तथा संसदीय व्यवस्थामन्त्री, प्रतिनिधिसभा, सार्वजनिक लेखा समितिको सभापतिदेखि विसं २०६२/६३ को आन्दोलनपछि सर्वसम्मतिले  सभामुख र संविधानसभाका अध्यक्ष चयन भई निर्वाह गरेको भूमिका अवगत नै छ । मैले सबै राजनीतिक दलको विश्वास जितेर त्यस ठाउँमा पुगेर निर्वाह गरेको भूमिकाले एक प्रकारले म परीक्षणमा समेत सफल भएको अतीत छ । यी सबै सन्दर्भलाई सामुन्नेमा राखेर मैले राष्ट्रपतिमा उम्मेदवारी दिएको छु । मेरो पार्टीले यसपटक मलाई राष्ट्रपतिको उम्मेदवारमा अघि सारेको छ । म सबै दल र सांसदसँग पुगेको छु । उहाँहरूसँगको भेटघाटबाट म अत्यन्त उत्साहित छु ।   एमालेभित्र अरू धेरै वरिष्ठ नेताहरू पनि हुनुहुन्छ, तर तपाईंलाई नै किन यस पदका लागि सर्वसम्मत छानियो  होला ?   राष्ट्रपति भनेको देशको राष्ट्राध्यक्ष र अभिभावक हो । यो संस्था मेची–महाकाली, तराईदेखि हिमालसम्म सबै जाति, भाषा, संस्कृतिका जनताको साझा अभिभावक हो । उसले राष्ट्रिय एकताको संवद्र्धन तथा संविधानको संरक्षण र पालना गर्नुपर्छ । मेरो अध्यक्षतामा ३१ राजनीतिक दलको विश्वास जितेर संविधान निर्माण गरेको इतिहास छ । यस  अवस्थामा सबैभन्दा उपयुक्त पात्र म नै हुन्छ भनी ठानेर होला अध्यक्षको प्रस्तावलाई छलफल गरी पार्टीले सर्वसम्मतिले पारित गर्‍यो । त्यसपछि देश, जनता र सांसदबीचमा जुन माहोल देखियो । त्यसबाट मेरो मनोबल एकदम बढेको छ ।   राष्ट्रपति आलङ्कारिक पद हो, यहाँ एमालेको सक्रिय नेता र उपाध्यक्ष हुनुहुन्छ, पदको गरिमा जोगाउन कसरी सन्तुलन कायम गर्नुहुन्छ ?   त्यो मेरा लागि यो अप्ठेरो कुरा छैन । सभामुख र संविधानसभाका अध्यक्ष हुँदा नै म यस्तो परीक्षामा उत्तीर्ण भइसकेको व्यक्ति हुँ । त्यतिबेला अन्य दलहरूले मलाई अर्को दलको भनी कहिल्यै प्रश्न उठाएनन् । बरु मेरै दलभित्र अलि–अलि उठाइयो होला तर आफूले गरेको काम ठीक रहेछ भनेर म निरन्तर लागेँ । त्यसैले दाबीका साथ भनिरहेको छु “म अलरेडी टेस्टेड व्यक्ति हुँ ।” मेरो अध्यक्षतामा रहेको संविधानसभाबाट संविधान जारी भयो, मीठो संयोग भन्नुस्, संविधानको संरक्षण र पालना गर्ने जिम्मेवारीमा रहेको राष्ट्रपति पदमा नै म अहिले उम्मेदवार छु । मेरो उम्मेदवारी उपयुक्त छ, त्यही ठानेर अघि बढाइएको हो भन्ने बुझाइ र विश्वास छ ।   पछिल्लोपटक राष्ट्रपतिमा दलको आकर्षण बढेको देखिन्छ, यसलाई यहाँले कसरी नियाल्नुभएको छ ?   राष्ट्रपति पदमा पहिलेदेखि नै आकर्षण हो । यसलाई सबैले सम्मानका रूपमा लिएका छन् । अहिलेसम्म दुई जना राष्ट्रपति भइसक्नुभएको छ । उहाँहरूको अनुभवलाई ध्यानमा राखी आउने दिनमा काम गर्नुपर्छ । राष्ट्राध्यक्ष आलङ्कारिक हुँदाहुँदै पनि उसले सिङ्गो देशलाई एकताबद्ध बनाई संविधानको संरक्षण र पालना गर्न महत्वपूर्ण भूमिका खेल्छ, यसको महत्व स्वयंमा प्रस्ट छ ।   आफ्नो परीक्षण विगतमा भइसकेको छ त भन्नुभयो, निर्वाचन हो, प्रतिस्पर्धामा हुनुहुन्छ, चुनाव जित्ने आधार के छ त ?   सर्वप्रथम त उम्मेदवारी घोषणा भइसकेपछि दलहरूको प्रतिक्रियालाई पनि हेरौँ । जनताको पनि सकारात्मक प्रतिक्रिया छ, यसबीचमा म आफैँ ठाउँ–ठाउँमा पुगेको छु । दोस्रो, राष्ट्रपति भनेको सिङ्गो देशको राष्ट्रिय एकताको संवद्र्धन गर्ने पद हो । सबै धर्मावलम्बी, जाति र भाषाका जनताको एकताको प्रतीकका रूपमा यसलाई लिइन्छ । मेरो क्रियाशीलताको लामो जीवनमा यस सन्दर्भमा कहिले पनि अन्यथा व्यवहार र टिप्पणी गरेको छैन । मैले संविधानसभा निर्वाचनमा आफ्नो चिह्नमा नभई संविधानसभाका पक्षमा मात्र मत मागेँ । त्यतिबेला आममतदाताले मलाई यो कस्तोखाले निर्वाचन भनी जिज्ञासा राख्दै प्रशंसा गर्नुभयो । मेरो अध्यक्षताको संविधानसभाले ‘जनताले जनताका लागि पहिलोपटक संविधान’ भन्ने मान्यताका साथ निर्माण गरी जारी ग¥यो । यो संविधानको संरक्षक र पालना गर्न मेरो उम्मेदवारी उपयुक्त छ, यही आधारमा मलाई विजय प्राप्त हुन्छ भन्ने विश्वास छ ।   विगतमा शीतलनिवास र सरकारबीच यदाकदा केही महत्वपूर्ण विषयमा पनि मतैक्यता नभएका घटना बाहिर आएको देखियो, त्यसलाई यहाँले कसरी लिनुहन्छ ?   यसअघिका दुवै राष्ट्रपतिको राम्रो अनुभव छ । उहाँहरूले सामना गरेको चुनौती र अनुभव हाम्रा पनि हुन् । चुनौती सहजतापूर्वक सामना गर्न सक्छौँ भन्ने मेरो विश्वास छ । संविधान जारी गर्दा मैले भनेको थिएँ, “हामीले राम्रो संविधान बनायौँ, कार्यान्वयन पनि राम्रोसँग गर्छौँ, मलाई दल र दलका साथीमाथि विश्वास छ, तर जतिसुकै राम्रो संविधान लेखिए पनि बुद्धि, विवेक र क्षमता भने दिँदैन, त्यो हामीले नै देखाउनुपर्छ ।” कहिलेकाहीँ त्यस्तो क्षमता नपुगेर देखापरेका चुनौतीलाई अनुभवका आधारमा सम्बोधन गर्नुपर्छ । त्यसो भएमा समस्या आउँदैनन् ।   आगामी राष्ट्रपतिको जिम्मेवारी सम्हाल्ने अवसर मिल्यो भने विगतभन्दा फरक अनुभूति र सन्देश जनताले के प्राप्त गर्लान् ?   अहिलेसम्म भएका दुईवटै राष्ट्रपतिले मेहनतका साथ काम गरिसक्नुभएको छ । यसअघि निश्चित कुलमा जन्मिएको जेठो छोरालाई राजाका रूपमा अभिभावक स्वीकारेका थियौँ । त्यो शासन प्रणाली परिवर्तनपछि जुनसुकै कुलमा जन्मिएको छोरा वा छोरी राष्ट्रपति उम्मेदवार हुने व्यवस्था अपनाएका छौं  । अघिल्ला अप्ठ्यारालाई अनुभवका रूपमा ग्रहण गर्दै जनताको भावना बुझेर साँच्चिकै तिनको राष्ट्रपति बन्ने मेरो प्रयास हुनेछ ।   नेपाल संवेदनशील भू–राजनीतिक अवस्थामा छ, दुवै छिमेकी र वैदेशिक सम्बन्धलाई ठीक ढङ्गबाट अघि लैजान राष्ट्रपतिको के–कस्तो भूमिका हुनसक्छ ?   राष्ट्रपतिले सबै काम संविधान र कानुनबमोजिम गर्छ । संविधानमा प्रस्ट लेखिएको छ– निश्चित निकाय वा संस्थाले सिफारिस गरेबमोजिम गर्ने भनेकामा त्यहीबमोजिम गर्ने, नभनेकामा मन्त्रिपरिषद्को परामर्शमा राष्ट्रपतिले गर्ने र त्यस्तो सिफारिस प्रधानमन्त्रीले गर्ने । वैदेशिक सम्बन्धलगायत कतिपय विषय राष्ट्रपतिलाई जानकारी गराइने वा राष्ट्रपतिबाट जानकारी माग्ने भन्ने कुराभित्र पर्छ । संविधान र कानुनबमोजिम चल्दै देशको अभिभावक, संविधानको संरक्षक र  एकताको प्रतीकका रूपमा काम गरेर राष्ट्रपतिले सरकार र देशलाई सहयोग गर्न सक्ने ठाउँ छ । त्यसअनुसार म क्रियाशील बन्नेछु ।   अन्त्यमा, निर्वाचनमा विजयी भएमा राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनतालाई शीतलनिवासबाट कस्तो शीतलता दिनु हुनेछ ?   उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्नुपर्छ, तिनले आफ्नो अभिभावक आफूबीचमा आएको अनुभूति गर्नुपर्छ । हाम्रो कुरा उहाँमार्फत सरकारसमक्ष पुग्छ भन्ने हुुनुपर्छ । यी सबै कुरा जनताको राष्ट्रपतिले गर्न सक्छ भन्ने मलाई विश्वास छ । त्यही गर्ने प्रयास मेरातर्फबाट हुनेछ । 

काठमाडौँ: थोलेदेम्वा अल्ट्रा ट्रेल रेस (४२ किलोमिटर) को उपाधि पुरुष तर्फ सोलुखुम्बुका धावक सुमन कुलुङ र महिला तर्फ जुम्लाकी सानुमाया बुढाले हात पारेको छ । बिहीबार सम्पन्न दौडमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी ५८ जना धावकलाई पछि पार्दै उपाधि हात पारेको हो ।    पर्यटकीय क्षेत्र पिके डाँडा क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रत्येक वर्ष आयोजना हुने म्याराथनमा केन्या र इङल्याण्डका खेलाडीले समेत दौडमा सहभागिता जनाएको थियो ।    प्रतियोगितामा पुरुष तर्फ भोजपुरका तीर्थ तामाङ द्धितिय हुनु भएको थियो भने सोलुखुम्बुकै अर्जुन कुलुङ तृतीय हुनु भएको थियो । यता महिला तर्फ भने जुम्लाकै मञ्जु रावत द्धितिय र खोटाङकी प्रिया राई तृतीय हुनु भएको थियो ।    प्रतियोगितामा स्थानीय स्तरमा खेलाडी उत्पादन गर्ने लक्ष्यले स्थानीय विजेताका लागि समेत पुरस्कारको व्यवस्था गरिएको थियो उक्त प्रतियोगितामा पुरुष तर्फ त्रृति राई प्रथम, रवीन्द्र तामाङ द्धितिय र देवराज तामाङ तृतीय हुनु भएको थियो भने महिला तर्फ पदमकुमारी सुनुवार प्रथम, खिनुमाया भुजेल द्धितिय र अनिता सुनुवार तृतीय हुनु भएको थियो ।    ओखलढुङ्गा पर्यटन विकास समितिले आयोजना गरेको उक्त प्रतियोगितामा खिजीदेम्वा गाउँपालिका ओखलढुङ्गा र नेपाल पर्यटन बोर्डले प्रायोजन गरेको थियो । पर्यटन गन्तव्यको प्रवर्द्धनसँगै साहसिक खेलबाट पर्यटन क्षेत्रको प्रवर्द्धन गर्ने लक्ष्यसँगै खेलाडी उत्पादन गर्न प्रतियोगिता वार्षिक रूपमा आयोजना गर्दै आएको स्थानीय एवं नेपाल पर्यटन बोर्डका सदस्य ङवाङङिमा शेर्पाले जानकारी दिनुभयो । अल्ट्रा रेस पाँच हजार मिटरको उचाइ सम्म रहेको थियो । विजेता खेलाडीहरूलाई ७० हजार, ५५ हजार र ४५ हजार नगद सहित मोडेल, प्रमाणपत्रले सम्मानित गरिएको शेर्पाले जानकारी दिनुभयो ।     

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवालाई उद्यमशील र स्वरोजगार बनाउनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रिय युवा परिषद् आठौँ वर्षमा प्रवेश गरेका अवसरमा आज (शुक्रबार) शुभकामना सन्देश दिनुहुँदै प्रधानमन्त्री प्रचण्डले युवा आत्मनिर्भर र स्वावलम्बी भएमा आर्थिक समृद्धि हासिल गर्न सकिन्छ भन्नुभयो ।    राजनीतिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक परिवर्तनको संवाहक मानिने युवाको शक्तिलाई सकारात्मक रुपमा परिचालन गर्न परिषद्ले युवा केन्द्रित नीति तथा कार्यक्रम निर्माण र कार्यान्वयन गर्दै अगाडि बढ्न आवश्यक रहेको उहाँले बताउनुभयो ।    प्रधामन्त्री प्रचण्डले भन्नुभएको छ, “परिषद्ले सरकारका विभिन्न निकायलाई आवश्यक नीति तथा कार्यक्रमको नमुना विकास गरी हस्तान्तरण गर्दै आएको छ ।” उहाँले शुभकामना सन्देशमा  सीमित बजेट र स्रोतसाधनका बाबजुद स्थापना भएको परिषद्ले छोटो अवधिमा युवाको जागरण, सशक्तीकरण र नेतृत्व विकासका क्षेत्रमा सकारात्मक अगुवाइ गरिरहेको उल्लेख गर्नुभयो ।   प्रधानमन्त्री प्रचण्डले युवाको बृहत्तर विकासका लागि परिषद्ले गरिरहेको सकारात्मक पहलको उच्च प्रशंसा गर्नुभएको छ । “परिषद् सबै युवाको अभिभावकीय सरकारी संस्थाका युवाको बृहत्तर हित र राष्ट्र निर्माणको कार्यभारमा अझ प्रभावकारिताका साथ अगाडि बढ्नेछ”, उहाँले शुभाकामना सन्देशमा भन्नुभएको छ ।   यसैगरी, परिषद्का अध्यक्ष सुरेन्द्र बस्नेतले समृद्ध राष्ट्र निर्माणको मेरुदण्डका रुपमा रहेका लागि युवालाई स्वरोजगार र आत्मनिर्भर बनाउनुपर्ने बताउनुभयो ।   उहाँले शिक्षालाई श्रमसँग, श्रमलाई सीपसँग, सीपलाई उत्पादन, रोजगारी र उद्यमशीलतासँगै जोड्दै युवाशक्तिलाई विकास र समृद्धिको अभिन्न अङ्ग बनाएर समाजवादोन्मुख राज्य प्रणाली निर्माण गर्नु आवश्यक छ भन्नुभयो । युवाको हकहित, युवा नेतृत्वको विकास गर्नका लागि सरकारले २०७२ फागुन १९ गते परिषद् स्थापना गरेको हो । अहिले परिषद्को प्रदेश, जिल्ला र स्थानीय तहमा संरचना  छ । 

काठमाडौं:  राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ९ को रजिष्ट्रेसन फर्म खुला गरेको छ । कार्यालयले विद्यालयलाई विद्यार्थीको फर्म भर्दा पछिसम्म फरक नपर्ने गरी भर्न/भराउन अनुरोध गरेको छ ।   शैक्षिक सत्र २०७९ मा कक्षा ९ मा साधारण, परम्परागत संस्कृत/वेदविद्याश्रम/गुरुकुल/मदर्सा/गोन्पा र प्रविधिक धारतर्फ नियमित रुपमा अध्ययनरत विद्यार्थीहरुले २०८० सालको नियमित माध्यमित शिक्षा परीक्षा (एसइई) मा सहभागी हुनका लागि फारम भर्नुपर्ने छ । फर्म फागुन १९ देखि वैशाख १५ गते भित्र भर्नुपर्ने छ ।   ‘विद्यालयहरुले विद्यालयमा अध्धयनरत विद्यार्थीहरुको नाम, थर, जन्ममिति, आमा, बाबुको नाम ठीकसँग भरे–नभरेको रुजु गर्ने, गराउने र पछिसम्म फरक नपर्ने गरी प्रमाणित गर्ने ।’ परीक्षा नियन्त्रण कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।   यसैगरी, धेरै विद्यार्थीहरु शैक्षिक प्रमाणपत्रमा नाम, थर, जन्ममिति, आमा, बाबुको नाम गलत भएको भन्दै सच्याउन आउन गरेकाले अगाडि नै बोर्डले सचेत गराएको छ ।  

गोरखा:  गोरखाको लिगलिगमा तेस्रो लिगलिगे साइकल दौड प्रतियोगिता हुने भएको छ । प्रतियोगिता ०७९ साल चैत्र ४ गते सञ्चालनमा आउने आयोजक संस्थाले जानकारी दिएको छ । लिगलिग भिलेज स्पोर्टस आयोजनामा हुन लागेको साइकल दौड ५३ किलो मिटरको रहेको अध्यक्ष बिनोद श्रेष्ठले जानकारी दिए । नेपालकै ठुलो साइकल दौड मानिएको यो प्रतियोगितामा बिदेशीहरुको समेत सहभागीता हुने गरेको छ । दौड पालुङटार नगरपालिकाको लिगलिगमा रहेको राष्ट्रिय झण्डा भएको स्थानबाट सुरु भएर पुनः सोही स्थानमा फर्किएर समापन हुने आयोजक संस्थाका सचिव प्रमिला राना मगर गुरुङले बताईन । दौड लिगलिगकोटबाट हर्मी भञ्ज्याङ–मकुन डाडाँ–आँपपिपल अस्पताल–बिरबारी–ओख्ले पुल हुदै लमजुङको राईनास–गरमबेशी हुदै पुनः गोरखाको चेपेघाट–हवाई ग्राउण्ड–तालपोखरी–ठाटीपोखरी–लुईटेल–बडडाडाँ–मैबल–बिजुली डाडाँहुदै पुनः लिगलिगकोट पुगेपछि दुरी समाप्त हुने सचिव गुरुङले जानकारी दिईन ।   प्रतियोगितालाई ३ फरक भागमा विभाजन गरेर आयोजना गरिएको छ । पुरुष कुलिन, पुरुष मास्टर र स्थानिय गरी ३ विधामा पुरस्कारको ब्यवस्था गरिएको कोषाध्यक्ष बिजय पाण्डेले बताए । पाण्डेका अनुसार पुरुष कुलिन तर्फ  समूहका सहभागीहरु तर्फ प्रथमदेखी पाँचौ स्थानसम्मलाई ७५, ५०, ३०, १५ र ७ हजार ५०० रुपैयाँ नगद पुरस्कार पाउने छन् ।   त्यस्तैगरी, पुरुष मास्टर समूहमा प्रर्थम हुनेलाई १५ हजार, दोस्रोलाई १० हजार र तेस्रो हुनेलाई ५ हजार नगद प्रदान गरिने छ । भने स्थानिय तर्फ पालुङटार, गोरखा नगरपालिका र सिरानचोक गाउँपालिका तथा लमजुङको राईनास र भानु नगरपालिका सहभागीहरु भने क्रमश प्रर्थम, द्वितिय र तृतिय हुनेलाई ।५, ३ र २ हजार नगद प्रदान गरिने भएको छ । गत बर्षको दौडमा २ जना विदेशी सहित ८५ जनाले सहभागीता जनाएकोमा यस बर्षको दौडमा १० जना विदेशी सहित १०० जनाले सहभागीता जनाउन सक्ने आयोजकले अनुमान गरेको छ । दौडलाई पालुङटार र गोरखा नगरपालिका साथै प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशले प्रायोजन गरेको छ भने मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, उद्योग, पर्यटन बन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेश, गोरखाको सिरानचोक गाउँपालिका, लमजुङको राइनास नगरपालिका र तनहुँको भानु नगरपालिकाले सह–प्रायोजन गरेको छ । आयोजकले दौडमा सहभागी हुनका लागी प्रति ब्यत्ती १ हजार ५०० रुपैयाँ दस्तुर तोकेको छ । दौडको प्रर्बद्दक नेपाल पर्यटन बोड र प्राविधिक सहयोग नेपाल साइक्लिङ संघ र राष्ट्रिय खेलकुद परिषद रहेका छन् ।

काभ्रेपलाञ्चोक: सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सुरक्षण मुद्रण केन्द्र (सेक्यूरिटी प्रिन्टिङ प्रेस) बाट चैत मसान्तभित्र अन्तःशुल्क ‘स्टिकर’ छाप्ने व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ ।   काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ मा रहेको सुरक्षण मुद्रण केन्द्रको निरीक्षण गर्नुहुँदै मन्त्री शर्माले अर्थमन्त्रालयबाट आवश्यक बजेट व्यवस्था भएकाले यो वर्षभित्रै काम सुरु गर्ने गरी चैत मसान्तसम्म अन्तःशुल्क छाप्न निर्देशन दिनुभएको हो ।   एक चरणको परिणाम आयो भने बाँकी काम अघि बढाउन आगामी आर्थिक वर्षका लागि आवश्यक बजेट व्यवस्था गर्ने पनि मन्त्री शर्माले जानकारी दिनुभयो । यसको प्रभावकारिताको आधारमा थप काम अघि बढाइने पनि उहाँले बताउनुभयो ।   यो केन्द्रबाट सुरुमा अन्तःशुल्क स्टिकर, दोस्रो चरणमा राहदानी, राष्ट्रिय परिचयपत्र हुँदै केही समयपछि बैंक नोट छाप्ने योजना छ ।   केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलले केन्द्र कागजमा आधारित मुद्रण गर्न सकिने अवस्थामा पुगेको जानकारी दिनुभयो । अब लगत्तै आवश्यक मुद्रण सामग्री ल्याउने र आवश्यक जनशक्तिलाई तालिम दिएर मुद्रण सुरु गर्ने मन्त्रालयको तयारी छ ।   प्रेस सञ्चालनमा आएपछि सुरक्षित मुद्रणवापत नेपालबाट वार्षिक बाहिरिने रु. १० अर्ब जोगिने सरकारको अपेक्षा छ 

काठमाडौं : पर्वतीय पर्यटनका लागि दोर्दी गाउँपालिकामा नयाँ रूट सार्वजनिक गरिएको छ । दोर्दीको नौथरसेराबाट सुरू गरेर इलमपोखरी, लिपे लेकहुँदै दाम्राबबाट फेरि नौथरसेरा झर्ने ४ दिने ट्रेक गर्न सकिने छ । काठमाडौंबाट पोखराहुँदै दोर्दी गाउँपालिका पुग्न सकिनेछ ।    मानव वस्ती नभएको सो क्षेत्रमा ट्रेकिङ गरिरहेका पर्यटकलाई सहजका लागि  पालिकाले रुटमा पर्ने भेडिगोठहरूलाई सेल्टरको रुपमा विकसित गर्ने कार्य गरिरहेको गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीले बताए ।    ‘यस गाउँपालिका अत्यन्त्यै सम्भावना भएको क्षेत्र हो । केही दिनको क्याम्पिङ ट्रेकका लागि अत्यन्तै उपयुक्त गन्तव्यको रुपमा यस गाउँपालिकाभित्र अनेकौं स्थानहरू छन्।’ अधिकारीले बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा भने ।   नौथर शेरा इलमपोखरी,लिपे लेक, नौटांचे, मुल्मचे, उखण्ड ताँजे नौथर शेरापुग्ने ८ दिनको रूट छ । यस्तै, नौथर शेरा ईलमपोखरी, लिपे लेक, नौटांचे, मुल्मचे, उखण्डबाट मेमे पोखरी, कुम्रो डाँडा बाह्र पोखरी हुँदै हिलेटक्सार, पुरानो दुवार वा पिसहिल तर्फबाट बेसीसहर ११ दिनको ट्रेकिङ रुट रहेको बताइएको छ ।   तर,अहिलेलाई ४ दिने रुटलाई गाउँपालिकाले खुल्ला गरेका छ । यस रुटमा ट्रेकिङको क्रममा आवश्वक पर्ने पानी,हिँड्न उपयुक्त बाटोको प्रबन्ध गाउँपालिकाले गरेको छ । पर्यटनका लागि चालु आर्थिक वर्षमा गाउँपालिकाले ५९ लाख रुपैयाँ छुटाएको र आगामी वर्ष थप रकम व्यवस्था गरिने अध्यक्ष अधिकारीले जानकारी दिए ।    लिपेको सिधै अगाडि देखिने मिमालचुलि हिमाल (७८८३ मि.) पनि दोर्दी गाउँपाकिकामा पर्दछ । हिमाल चड्ने सम्भावनाको खोजि गाउँपालिकाले गरिरहेको छ । लिपे लेकबाट नौटाँचे,दूध पोखरी हुँदै गोर्खाको अजिरकोट निस्केर रुबिनाला पास हुँदै लार्केपास छिचोलेर मनाब निस्कन सकिन्छ ।   मानव वस्ती नभएकाले यो रूटमा मोटरबाटो छैन । जसकारण यस रुटमा ट्रेकिङका लागि सवारीसाधनले हुने कुनै अवरोध हुँदैन । पश्चिमतिरको रुट बाह्रपोखरी हुँदै मेमे पोखरी जान सकिन्छ । पूर्वतिरको रुट इलमपोखरीहुँदै लिपे जान सकिन्छ । पूर्वी रुटको लिपे र पश्चिम रुटको मेमेपोखरी जोड्नका लागि अहिले काम भइरहेको बताइएको छ ।    इलमपोखरी–लिपे–दाम्राब छोटो समयको उत्कृष्ट ट्रेकिङ जान रुचाउने व्यक्तिका लागि र हिमाल आरोहण अघिको वार्मअप ट्रेकिङको रुपमा पनि जान सकिन्छ । यी रुटहरूमा ट्रेकिङ गर्दै गर्दा लालिगुराँसको जंगलै जंगल हिँड्न पाइन्छ । गुराँस फुल्ने समयमा विभिन्न रङ्गका गुराँसको जंगल छिचोल्नुको मजा बेग्लै हुन्छ । यहाँको रुटहरू राउण्ड ट्रेक भएकाले यात्रा सकिँदासम्म उत्साह कायम रहन्छ ।    पालिकाको समन्वयमा भेडिगोठका मालिक तथा भेडा गोठालाहरूलाई पर्यटन संस्कृति विकासका साथै अतिथिको स्वागत गर्ने लगायतका विषयमा आवश्यक प्रशिक्षण गराउने काम यस पालिकाले गर्दै आइरहेको छ । यसो हुँदा सो रुटमा ट्रेकिङ गरिरहेका पर्यटकहरू हावाहुरी वा हिमपात भइरहेको अवस्थामा भेडिगोठलाई सेल्टर बनाएर बस्न सक्नेछन् ।    मोटरबाटो विस्तार हुने अवस्था नरहेकोले ट्रेकिङको अर्गानिक स्वाद लिन सकिने यी रुटहरु छोटो ट्रेकका लागि अत्यन्तै उत्तम रुट रहेको छ । यी रुटहरूबाट धौलागिरी, माछापुच्छ्रे, अन्नपूर्णदेखि मनास्लुसम्मको हिमशृङ्खलाहरू निकै मनमोहक देखिन्छ । 

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा  हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज विद्यार्थी सङ्गठन  दर्ता गराउँदै छन् ।    बिहान १० बजदेखि दिउँसो ३ बजेसम्म स्ववियु निर्वाचनमा सहभागी हुनका लागि सबै क्याम्पसमा विद्यार्थी सङ्गठनले आ–आफ्नो सङ्गठन दर्ता गराउनुपर्ने छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले आज दर्ता भएका विद्यार्थी सङ्गठनले मात्र निर्वाचनमा भाग लिन पाउने बताए।    यस्तै निर्वाचन कार्यतालिका अनुसार विद्यार्थी सङ्गठनले यही फागुन २७ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समानुपातिक तथा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता गराउने छन् ।    यस्तै स्ववियु निर्वाचनका लागि आगामी चैत ५ गते बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म समय तोकिएको तोकिएको छ । देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुने छ ।