सन्धिखर्क: नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले अबको निर्वाचनमा एमालेको बहुमत ल्याउने अभियानका साथ मिसन ग्रासरुट सञ्चालन गरेको बताएका छन्। आगामी हुने निर्वाचनमा एमाले एकल निर्वाचन लड्दा पनि बहुमत आउने गरी संगठन बनाउन पाटीले मिसन ग्रास रुट लिएर गाउँगाउँमा छिरेको जानकारी दिए। प्रेस चौतारी नेपाल अर्घाखाँची शाखाले सन्धिखर्क शाखाले गरेको पत्रकार सम्मलेनमा बोल्दै एमालेका नेता रायमाझीले राष्ट्रको लक्ष्य प्राप्त गर्न र सुखी नेपाली समृद्ध जनता बनाउन र एमालेले आफ्नो पालामा गरेका कामको जानकारी गाउँगाउँमा गराउन अभियान सञ्चालन भएको बताए। नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा विदेश विभाग प्रमुख डाक्टर राजन भट्टराईले राष्ट्रपतिको निर्वाचनमा पाटीको ह्वीप नलाग्ने भएकाले दुई पात्र हेरेर भोटिंग हुँदा राष्ट्रपतिमा सुवास नेम्वाङको जित हुने दाबी गरेका छन्। एमाले र माओवादीबीच राष्ट्रपतिमा एमालेले लिने भनेर भएको सहमति तोडेर माओवादी अध्यक्ष प्रचण्डले नयाँ गठबन्धन बनाएको बताउदै एमालेले पहिलाको सहमति अनुसारनै राष्ट्रपतिमा उम्मेदवार उठाएको बताए। वर्तमान गठबन्धनका कारण देशमा आर्थिक संकट उत्पन्न भएको बताए। वर्तमान गठबन्धनले देशमा संकट निम्ताउने उनको दावी छ। कार्यक्रममा नेकपा एमालेका पोलिट्ब्युरो सदस्य सूर्य थापा, विमला घिमिरे, जिल्ला अध्यक्ष पिताम्वर भुसाल लगायतको सहभागिता थियो।
काठमाडौं : नेकपा एमालेका केपी शर्मा ओलीले राम्रो गर्न खोज्दा एमालेमाथि प्रहार भइरहेको बताएका छन्। शनिबार भक्तपुरमा आयोजित नेपाल बुद्धिजीवी परिषद्को तेस्रो बैठकलाई सम्बोधन गर्दै ओलीले जनतालाई भ्रममा पार्ने र अल्मल्याउनेलाई बुद्धिजीवीले भ्रमजालबाट मुक्त बनाउनुपर्ने धारणा राखेका हुन्। ओलीले एमालेजस्तो पार्टी निर्वाचनमा हार्छ भने जनतालाई चेतनाको स्तर कहाँ छ भन्ने मूल्याङ्कन गर्नुपर्ने र जनतामा जागरण ल्याउनुपर्ने बताए। उनले राजनीतिमा हरेक प्रणाली गाँसिएको हुने बताए। सामाजिक परिवर्तनका विरोधीहरु जनता अल्मल्याउन सफल हुँदा एमालेले हार्नुपरेको उनको भनाई छ। उनले भने,‘जनतालाई दिग्भ्रमित पार्न विरोधीहरु लागि परेका छन्। उनीहरुलाई भ्रमबाट मुक्त पार्ने काम बुद्धिजीवीको हो। जनतालाई तर्साउने, धम्याउने कामहरु भइरहेका छन्, सचेतना जगाउनुस्।’ ओलीले रेलको डिब्बा र इन्जीनसँग तुलना गर्दै बुद्धिजीवी इन्जीन भएको बताए। उनले एउटा लेख लेखेपछि अरुको लागि प्रेरणादायी हुने र विचार प्रवाह हुने उल्लेख गरे। विचारसँग नकरात्मक टिप्पणी आए नआत्तिन आग्रह गर्दै उनले भने, ‘गलत प्रवृत्तिविरुद्ध निरन्तर लाग्नुहोस्।’ओलीले बिना मेहनत, बिना संघर्ष कोहीपनि विजेता बन्न नसक्ने धारणा राखे।
ढोरपाटन: ३७ वर्षीया अस्मिता आजभोलि हरेक बिहान बागलुङ कालिका मन्दिरको प्रवेशद्धार अगाडि ‘कटन क्यान्डी’ बेच्दै गरेको भेटिनुहुन्छ । अस्मिताको जीवनमा उमेरको मात्र सङ्ख्या बढेको छैन, सहज जीवनयापनका लागि गरेका सङ्घर्षको चाङ पनि थपिँदो छ । विसं २०४२ मा म्याग्दीको राखु भगवतीमा जन्मिनुभएकी अस्मिताको म्याग्दीकै मङ्गला गाउँपालिका–३ बराङ्जाका गणेश विकसँग विवाह भयो । विवाहलगत्तै विसं २०६३ मा सुनौलो भविष्यको सपना देखेर गरेर खानका लागि बागलुङ बजार छिरेका विक दम्पतीको सङ्घर्षका दिन सुरु भए । सुरुआती दिनमा अस्मिताले बागलुङ बजारको हल्लनचोकमा तरकारी बेच्नुहुन्थ्यो । उहाँका जेठा छोरा यतिबेला रुद्रेपिपल माध्यमिक विद्यालयमा कक्षा १० र कान्छा छोरा कक्षा ५ मा पढ्नुहुन्छ । विद्यालय जान नपाउनुभएकी अस्मितालाई छोराहरूले धेरै पढुन् भन्ने चाहना छ । छोरालाई पढाउनकै लागि उहाँले कालिका मन्दिर प्रवेशद्वारमा फूल–प्रसाद पनि बेच्नुभयो । सोचेजस्तो आम्दानी नभएपछि अस्मिताले कालीगण्डकी नदीबाट बालुवा निकाल्ने काम गर्नुभयो । अस्मिताका श्रीमान् गणेश वैदेशिक रोजगारीका लागि साउदीसमेत पुग्नुभयो ।लाई पढाउन र दुई छाक खुवाउन समस्या हुने देखेर अस्मिताले रु ५० हजार ऋण लिएर कटन क्यान्डी बनाउने मेसिन किन्नुभएको हो । छ वर्षयता सोही मेसिन अस्मिताको सुख, दुःखको साथी बनेको छ । बिरामी निको भएपछि घर निर्माणको काम सुरु गर्नुभएका गणेशले डेढ वर्षदेखि आफ्नै अटोरिक्सा चलाउन सुरु गर्नुभयो । छोराहरूको भविष्य उज्ज्वल बनाउने अठोटसहित अगाडि बढ्नुभएका विक दम्पतीले एक जनाको कमाईले घर खर्च चलाउने र अर्काको कमाइले अटोको किस्ता तिर्ने गर्नुहुन्छ । केही रकम सहकारीमा बचत गर्ने गर्नुहुन्छ । “कुनै कुनै दिन एउटा क्यान्डी बिक्री हुँदैन, कहिलेकाहीँ चार–पाँच हजार पनि हुन्छ, कमाएर सम्पत्ति जोड्ने रहर छैन, छोराले दुःख नपाउन्, धेरै पढुन् भन्ने चाहना छ”, अस्मिता भन्नुहुन्छ । अप्ठ्यारोमा पनि आँट, साहस र परिवारको मायाले हरेक चुनौतीसँग लड्न सहज भएको उहाँको भनाइ छ । सुरुका दिनमा निकै दुःख पाएको सुनाउने अस्मिताले अहिले दैनिकीमा थोरै परिवर्तन आएको बताउनुभयो । सङ्घर्षलाई निरन्तरता दिए सफलता मिल्ने उहाँ बताउनुहुन्छ । “खुसी जीवन जिउन श्रीमान्–श्रीमती एकअर्काको मुख ताकेर हुँदैन, परिवारमा सकेको काम सबैले गर्नुपर्छ, हामीजस्तो सामान्य परिवारका मान्छेले अवसर पाउन गाह्रो नै हुन्छ र पनि अवसर आफैँ खोजेर लागे सफलता मिल्छजस्तो लाग्छ, हामीलाई दुःखले सङ्घर्ष सिकायो ।”
सुर्खेत: नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पदकै लागि अहिलेको गठबन्धन नभत्किने बताउनुभएको छ । शुक्रबार सुर्खेतको वीरेन्द्रनगरमा राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई मत दिनेबारे छलफल गर्ने उद्देश्यसहित बसेको बैठकमा सो कुरा बताउनुभएको हो । उहाँले १० पुसमा बनेको एमालेसहितको गठबन्धन भत्किनु र चुनावी गठबन्धन बिउँतिनुबारे नेताहरूले जानकारी गराउनुभएको थियो । खड्काले सबै सांसदलाई रामचन्द्र पौडेलको पक्षमा मत दिन समेत अपिल गनुभयो । उहाँले अहिले नयाँ गठबन्धन बन्नुको उद्देश्य पनि प्रस्ट्याउनु भएको थियो । ‘एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटनबारे जसरी संसदमा मन्तव्य दिनुभयो, त्यो राम्रो थिएन,’ खड्काले भन्नुभयो, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विश्वासको मत लिने बेला निकै गर्जनका साथ ओलीले आफूले संसद् विघटन गरेको कुरा सही नै हो भन्ने तरिकाले धारणा राखेपछि स्वयं प्रधानमन्त्री प्रचण्ड झस्किएको बताउनुभयो । बैठकमा उपसभापति पूर्णबहादुर खड्का, नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्ति बस्नेतले गठबन्धनबारे सांसदहरूलाई प्रशिक्षण दिनुभएको थियो । यस्तै, नेकपा (माओवादी केन्द्र)का उपमहासचिव शक्तिबहादुर बस्नेतले १० पुसमा एमालेसहित बनेको गठबन्धन भत्किनुको प्रमुख कारण एमाले अध्यक्ष केपी ओली भएको प्रस्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘खासगरी केपीजीले विश्वासको मत दिँदा मैले प्रतिनिधिसभा विघटन गरेको ठिक थियो, फेरि पनि यस्तो हुन सक्छ, यो राजनीतिक कुरा हो, जायज कुरा हो भनेर जसरी प्रस्तुत हुनुभयो, त्यसबाट ओलीमाथि शङ्का उत्पन्न भएपछि नयाँ बाटो अपनाउनु परेको हो ।’ ओलीले मौका पाए फेरि पनि प्रतिनिधिसभा विघटन गर्नसक्ने आशङ्का उत्पन्न भएका कारण ओलीसहितको गठबन्धनमा विश्वास नभएर चुनावी गठबन्धन बिउँताउनु परेको बस्नेतले बताउनुभयो । यद्यपि, प्रदेश सरकारको भविष्यबारे भने एमालेमा निर्भर रहने खड्का र बस्नेतको भनाइ थियो । केन्द्रमा जस्तै प्रदेशमा पनि एमालेले समर्थन फिर्ता लिएको खण्डमा गठबन्धनलाई सहज हुने नेताहरूको भनाइ छ । कर्णालीमा एमाले सत्तारुढ दल हो । तर अहिलेसम्म प्रदेशमा एमालेले सरकार छाड्नेबारे निर्णय लिन सकेको छैन । बैठकमा कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मा पनि सहभागी हुनुहुन्थ्यो ।
पोखरा: पोखरा महानगरपालिका ३१ बेगनासमा स्थित श्री आनन्द ज्योति माध्यमिक बिद्यालयको ५० औं वार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न भएको छ । बिद्यालयले एक कार्यक्रमको आयोजना गरि ५० औं वार्षिकोत्सव एवं अभिभावक दिवस मनाएको हो । कार्यक्रममा गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले सामुदायिक बिद्यालयहरुको शैक्षिक गुणस्तर बढाउन अभिभावकको भुमिका सबैभन्दा महत्वपुर्ण हुने भन्दै हिजोको भन्दा आज केहि सुधार भएको भए पनि अझै आवस्यक सुधार हुन भने नसकेको बताउनुभयो । अभिभावकले आफ्ना बच्चाहरुलाई निजिमा लैजान प्रतिस्पर्धा गर्ने तर सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न प्रयास नगरेको कारण नै सामुदायिक बिद्यालयहरुको गुणस्तर कमजोर बन्दै गएको उहाँको भनाई थियो ।आफैले पढेको बिद्यालयको बार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथी बनेर पुग्नुभएका मुख्यमन्त्री अधिकारीले १८ बर्ष अगाडी बेगनासमा भएको सडक दुर्घटनामा परि गुमेका आफ्ना समकालिन साथीहरुको सम्झनामा गर्दै भाबुक बन्नुभयो भने बाल्यकालमा त्यही बिद्यालयमा भौतिक पुर्वधारको अभावका बिच अध्ययन गरेको स्मरण गर्नुभयो । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तिर्थराज अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अर्थ मन्त्रालयका उपसचिब बसन्तराज तिवारी, शिक्षक अभिभावक संघका अध्यक्ष सन्दिप अधिकारी, नेपाली काङ्ग्रेसका श्रीराम कँडेल, नेकपा एमालेका गणेश बहादुर थापा, राप्रपाका प्रकासचन्द्र तिवारी, अमरसिद्द माबि पचभैयाका प्रधानध्यापक बिष्णु पौडेल,शिक्षक सत्यराज कँडेल लगायतले बोल्नु भएको थियो । कार्यक्रमको संचालन शिक्षक बसन्त पहारीले गर्नु भएको थियो भने प्रध्यानाध्यापक शिबराज अधिकारीले विद्यालयको बार्षिक प्रतिवेदन प्रस्तुत गरेका गर्नु भएको थियो । सो अवसर १० लाख रुपैयाँको गुरु प्रसाद अक्षयकोष र १ लाख ११ हजार १ सय ११ रुपैयाँको छबिलाल सरास्वती अक्षयकोष स्थापना भएका छन् । इञ्जियर चिरञ्जिबी तिवारी र रमा तिवारीले बुबा गुरुप्रसाद तिवारीको नाममा १० लाख रुपैयाँको अक्षयकोष र डाक्टर श्रीप्रसाद कँडेल, शिवराज कँडेल, शुक्रराज कँडेल र श्रीराम कँडेलले बुबाआमा छबिलाल÷सरस्वती कँडेलको नाममा १ लाख ११ हजार १ सय ११ रुपैयाँको अक्षयकोष स्थापना गरेका हुन् । सोही कार्यक्रममा सागर पौडेलले बुबाआमा राकेश÷बिजया पौडेलको नाममा ५० हजार रुपैयाँ र शिक्षक अभिभावक संघका अध्यक्ष सन्दिप अधिकारीले हजुरआमा दमयन्ती अधिकारीको नाममा १५ हजार रुपैयाँ विद्यालयलाई चन्दा स्वरुप सहयोग गर्नुभएको प्रअ शिबराज अधिकारीले जानकारी दिनुभयो । कार्यक्रममा कक्षा नर्सरी देखि कक्षा १२ सम्मका शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार बितरण गरिएको भने विभिन्न शिर्षकमा स्थापना भएको अक्षयकोषबाट विद्यार्थीहरुलाई छात्रवृति समेत प्रदान गरिएको विद्यालयले जनाएको छ । कार्यक्रममा विद्यार्थीहरुले साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
स्याङ्जा: स्याङजाको कोल्मामा फागुनको २६ गते तेश्रो संस्करणको क्रसकन्ट्री दौड प्रतियोगिता हुने भएको छ । सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चको आयोजनामा हुने उक्त प्रतियोगिताको तयारी तीव्र पारिएको छ । स्वास्थ्यका लागि दौड, राष्ट्रका लागी दौड भन्ने मुल नाराका साथ कोल्मा क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको सात सय कोल्मा बहाकोट सम्पर्क मञ्चका अध्यक्ष सुवेदार मेजर जीत बहादुर गुरुङले जानकारी दिनुभयो । स्याङजाको पुतलिबजार नगरपालिका वडा नम्बर ९ को कोल्मा बहाकोट सहित, तनहुको शुक्लागण्डकी र बिरुवा गाँउपालिकालाई समेटेर उक्त क्षेत्रमा रहेको सांस्कृतिक तथा ऐतिहांसिक पक्षहरुलाई उजागर गर्ने उद्देश्यले क्रस कन्ट्री दौडको आयोजना गरिएको बताउदै अध्यक्ष गुरुङले ग्रामीण भेगमा आर्थिक बिकास गर्न सकेको खण्डमा गाँउ बस्ती रित्तिनबाट जोगिन सक्ने बताउनुभयो । दौड संगै स्थानीय कला संस्कृतीको प्रदर्शन र होमस्टे सांझ समेत उक्त कार्यक्रममा समेटिने छ । २० किलो मिटर खुल्ला पुरुष र २१ वर्ष मुनिका १० किलोमिटर पुरुष गरी दुई विद्यामा सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागीहरुले कोल्मा बराहचौरदेखी, काहुले, डाँडा स्वारा, नाम्चे, काल्खु, तनहुको शुक्लागण्डकी नगरपालिका ११ बिसाउना, विरुवा गाउपालिकाको खुदी, मड्किना हुदै कोल्मा बराहचौरमा पुग्नुपर्नेछ । प्रतियोगितामा खुल्ला पुरुषतर्फ प्रमथ हुनेले नगद ३५ हजार, मेडल र प्रमाण पत्र, द्धितिय हुनेले नगद २५ हजार, मेडल र प्रमाण पत्र र तृतीय हुनेले नगद २० हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछनभने २१ बर्ष मुनिका पुरुष १० किलोमिटर दौडतर्फ प्रथम, द्धितिय र तृतिय हुनेले क्रमश नगद १५ हजार, १० हजार र ७ हजार, मेडल र प्रमाणपत्र प्राप्तगर्नेछन । प्रतियोगितामा १० औ स्थान सम्म आउने प्रतियोगीहरुलाई मेडल र प्रमाण पत्रले सम्मान गरिने मञ्चका महासचिव मन बहादुर थापा मगरले जानकारी दिनुभयो । अघिल्लो संस्करणको ३१ किलोमिटर खुल्ला पुरुषतर्फ नेपाली सेनाका हवलदार राजन खत्रीले उपाधी चुमेका थिएभने १४ किलोमिटर दौडमा कलम प्रसाद श्रेष्ठले उपाधी चुमेका थिए । कार्यक्रममा एनआरएन युके र स्याङ्जा समाज युकेको संयोजन र कोल्मा बहाकोट युकेको प्रमुख प्रायोजकमा सञ्चालन हुने कार्यक्रममा सम्पर्क मञ्च विदेश विभाग प्रमुख क्याप्टेन दोलबहादुर गुरुङले जानकारी दिनुभयो । कार्यक्रममा कोल्मा बहाकोट चारथुम बासी, स्थानिय संघ सस्था, युवा क्लब, आमा समुह, स्थानीय सरकार, स्वयंसेवक एवं सुरक्षाकर्मीको विशेष सहयोग रहनेछ ।
काठमाडौं: गृहमन्त्रालयले बैंक तथा वित्तीय संस्थाविरुद्ध हुने गैरकानूनी गतिविधि रोक्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । गृहसचिव विनोदप्रकाश सिंहले कतिपय ठाउँमा वित्तीय संस्थाका प्रतिनिधिलाई कालोमोसोसमेत दलेका घटना सार्वजनिक भएकाले यस्ता अवैध गतिविधि रोक्न निर्देशन दिइएको जानकारी दिनुभयो । “त्यस्ता गतिविधि हुन नदिन र आवश्यक निगरानी बढाउन निर्देश गरिएको छ”, गृहसचिव सिंहले भन्नुभयो, “गृह प्रशासनको काम शान्ति सुरक्षा कायम गर्नु हो र निर्वाधरूपमा सेवा गर्ने वातावरण दिनु हो, सोहीअनुसारको निर्देशन गएको छ ।” पछिल्लो समयमा बैंक तथा वित्तीय संस्था र लघुवित्त विरुद्ध आन्दोलन जारी छ भने केहीअघि जाजरकोटमा लघुवित्तका कर्मचारीमाथि कालोमोसो दलिएको घटना सार्वजनिक भएको थियो ।
पोखरा: अन्नपूर्ण गाउँपालिका ११ छोम्रोङमा नवनिर्मित स्तुपा र गुम्बाको विधिवत उद्घाटन हुने भएको छ । फागुन २३ गते स्तुपा र गुम्बा उद्घाटन गरिने भएको हो । स्तुपा र गुम्बा निर्माण समितिका अध्यक्ष नजर मान गुरुङका अनुसार फागुन २३ गते गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री पञ्चराम गुरुङको प्रमुख आतिथ्यतामा स्तुपा र गुम्बाको उद्घाटन हुँदै छ । ुहिजोदेखि पूजा सुरु भएको छ । नयाँ घर बनाएपछि शुद्धिकरण पूजा गरेझैं हिजो हामीले स्तुपा र गुम्बाको शुद्धिकरण गर्यौ,’ उनले भने, ‘बौद्ध धर्मकी देवी ‘तारादेवी’को पूजा भयो । हिजैदेखि हिमपात ‘हिम’को पाठ पनि सुरु भएको छ यो २१ गतेसम्म चल्छ । २२ गते विधिवत पूजा हुन्छ । पाठ पढिँसकेपछि साँगे गर्न पूजा सकिइसकेपछि गाउँ परिक्रमा गर्छ लामाहरुले ।’ २३ गते औपचारिक उद्घाटन कार्यक्रममा सामाजिक विकास मन्त्री पञ्चराम गुरुङसहित गाउँपालिका अध्यक्ष, वडाध्यक्षसहित पूर्व गाउँपालिका अध्यक्ष र प्रदेश सरकारका सांसदहरुलाई समेत निमन्त्रणा गरिएको उनले सुनाए । ‘विजय स्तुपा’ र ‘पाल ङाघ्युर नमध्यल छ्योईलीङ गुम्बा’का लामा गुरु ख्येन्छेन साङध्ये राङज्युङ रिन्पोछेंले गर्नेछन् ।
पोखरा: पोखराका फोटोपत्रकार सुुरेश कुमार श्रेष्ठ (सुुरज श्रेष्ठ) अन्तर्राष्ट्रिय फोटो पत्रकारिता पुुरस्कारबाट पुरस्कृत भएका छन् । अमेरिकाबाट संचालित नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सन्जाल “इञ्जा” द्वारा काठमाडौंमा आयोजित इञ्जा फोटो पत्रकारिता पुरस्कारबाट श्रेष्ठलाई पुरस्कृत गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि नेपाल सरकारका प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले सम्मान पत्र, ५० हजार राशि सहित उनलाई पुरस्कृत गरेका हुन् । पोखरालाई कार्यक्षेत्र बनाएर फोटो पत्रकारितालाई निरन्तरता दिँदै आएका श्रेष्ठलाई फोटोपत्रकरिता मार्फत समाजमा खेलेको भूमिका प्रशंसनिय रहेको भन्दै पुरस्कृत गरिएको हो । पुरस्कार ग्रहण गर्दै श्रेष्ठले पत्रकारिता क्षेत्रमा लागिरहन आफुलाई प्रेरित गरेको अभिव्यक्ति दिए । उनले अन्तर्राष्ट्रिय स्तरको पुरस्कार पाउनु आफ्ना लागि पनि राम्रो अवसर भएको उल्लेख गरे । ‘पुरस्कारले मलाई फोटो पत्रकारिता क्षेत्रमा लागिरहन प्रेरित गरेको छ । काम गर्दै जाँदा सफलता मिल्ने रहेछ भन्ने विश्वास बढ्दै गएको छ । इञ्जा फोटो पत्रकारिता पुरस्कारका लागि मलाई छनोट गर्नुहुने जुरी टीमलाई धन्यवाद व्यक्त गर्दछु ।’, उनले भने । अन्तर्राष्ट्रिय स्तरको फोटो पत्रकारिता पुरस्कारका लागि पहिलो पटक नै पोखरालाई रोज्नु आफ्नो र समग्र पोखराका लागि नै राम्रो अवसर भएको उनको भनाई थियो । उनले पोखरा र आसपासका क्षेत्रलाई फोटोपत्रकारिता मार्फत प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन सँगै सामाजिक रुपान्तरणमा लागिरहने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा बोल्दै सभामुख देवराज घिमिरेले देश र जनताका हितमा खोजी र अनुसन्धानलाई आधार बनाएर पत्रकारिता गर्न सुझाव दिएका छन् । व्यवस्था परिवर्तन भएसँगै पत्रकारिता क्षेत्रको भूमिका र जिम्मेवारी पनि फेरिएको भनाई उनको छ । संसद र सरकारलाई प्रभावकारी तुल्याउन पत्रकारिता क्षेत्रको भूमिका महत्वपूर्ण भएको उनले बताए । कार्यक्रममा इञ्जा बौद्धिक पत्रकारिता पुरस्कार त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक जगत नेपाल र दैनिकी डटकम अनलाइनका सम्पादक माधव तिवारी तथा इञ्जा खोजी पत्रकारिता पुरस्कार कान्तिपुर दैनिकका मात्रिका दाहाल र आइएनएस डटकम अनलाइनका तारा वाग्लेलाई प्रदान गरिएको थियो । इञ्जा ग्रामीण पत्रिकारिता पुरस्कार रेडियो समग्र एफएम १०७ मेघाहर्ज लाहान र युवा पत्रकार सरिता चलाउनेलाई तथा इञ्जा फोटो पत्रकारिताबाट सुरज सँगै नरेन्द्र श्रेष्ठलाई प्रदान गरिएको थियो । ती सबै पुरस्कारको राशि जनही ५० हजार रुपैयाँ सहित सम्मानपत्र रहेको थियो । कार्यक्रममा वरिष्ठ पत्रकार रघु मैनाली, सम्पादक समाजका संरक्षक किरण वैद्य, वरिष्ठ पत्रकार कुमार यात्रु र जागरण मिडिया सेन्टरका अध्यक्ष कमला विश्वकर्मालाई इञ्जा अग्रज पत्रकारिता सम्मान अर्पण गरिएको थियो । यसै गरी समाजसेवामा योगदान पुर्याए बापत शङकर भट्टराई, महिला हक अधिकारका क्षेत्रमा क्रियाशिल विजया शाह र युवा व्यवसायी प्रदीप गुरुङलाई समेत विशेष सम्मान प्रदान गरिएको थियो । सो अवसरमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले इञ्जाले पत्रकारिताका सबै महत्वपूर्ण विधालाई समेट्दै पत्रकारिताको हित र कल्याणका लागि गरेको योगदान प्रशंसनीय रहेको बताए । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले नेपाली प्रेसले भोगेका समस्या सम्बोधन गर्ने विषयमा सरकार र सदनको ध्यान पुग्नुपर्ने अभिव्यक्ति दिए । न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्का, नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेत, क्रान्तिकारी पत्रकार संघका अध्यक्ष विष्णु सापकोटा र समाजवादी प्रेस सङ्गठनका अध्यक्ष शम्भु श्रेष्ठ र सञ्चारिका समूहकी अध्यक्ष विमला तुम्खेवाले पत्रकारिता क्षेत्रमा अवसर प्रदान गरिँदासमेत राजनीतिका छायाँ झल्कने भइरहेकोे अवस्थामा इञ्जा भने त्यसबाट मुक्त देखिएको उल्लेख गरे । इञ्जाका ग्लोबल अध्यक्ष गुणराज लुइँटेल, एसिया अध्यक्ष टङ्क पन्तलगायतले नेपाली पत्रकारिता क्षेत्रको श्रीवृद्धि र पत्रकारको उन्नयनका लागि विभिन्न फेलोसिप, पुरस्कार र सहयोग गर्दैैआएको जानकारी दिए । सुरज श्रेष्ठका बारेमा: पोखरालाई आफ्नो कार्यक्षेत्र बनाएर फोटो पत्रकारितालाई निरन्तरता दिँदै आएका श्रेष्ठ २०६२ सालबाट पत्रकारिता क्षेत्रमा क्रियाशील छन् । पोखरा सिटीडकम र ठीकठाक डटकमबाट फोटो पत्रकारिता शुुरु गरेका श्रेष्ठले कान्तिपुर, कान्तिपुर साप्ताहिक, नागरिक म्याग्जिनमा फोटो पत्रकारको रुपमा काम गरे । श्रेष्ठले खिचेका फोटो पोखराबाट संचालित पत्रिकाहरुमा पनि प्रकाशित भएका छन् । हाल श्रेष्ठको आफ्नै मिडिया एस टु प्रोडक्सन, ह्याप्पी पोखरा डटकम संचालनमा छ । २०७० सालमा आफ्नै प्रोडक्सन हाउस एस टु प्रोडक्सन संचालनमा ल्याई थुप्रै म्युजिक भिडियो, विज्ञापन,डकुुमेन्ट्री र प्रोमो निर्माण गर्दै आएका छन् । फोटो पत्रकारिता सँगै उनको अर्को परिचय भनेको गायन हो । २०५८ सालमा गायक बन्छु भनेर हिँडेका श्रेष्ठले ‘अन्जान मायालुु’ गीति एल्बम निकाले । उक्त एल्बमको ‘सम्झना छ छोडी जानेलाई, माया छ बिर्सी जानेलाई’ बोलको गीतले प्रसिद्धि कमायो । जुन गीत अहिले पनि उत्तिकै रुचाइन्छ । श्रेष्ठले नेपालको चर्चित ¥यालिटी शो हिमालयन रोडीजमा सिनेमेटोग्राफीको काम समेत गरेका छन् । सगरमाथा क्याम्पमा आयोजना गरिएको वल्र्ड भ्लग च्यालेन्जमा पनि उनले सिनेमेटोग्राफीको काम गरिसकेका छन् । अनुभवले खारिएका श्रेष्ठले राष्ट्रिय फोटो पत्रकार संघले २०७० सालमा आयोजना गरेको राष्ट्रिय स्तरको ‘नेपाल फोटो कन्टेस्ट’ बाट समेत सम्मान प्राप्त गरेका छन् । उक्त कार्यक्रममा उनले खिचेको फोटो उत्कृष्ट भएको थियो । नेपालका तत्कालिन उपराष्ट्रपति बाट उनले सम्मान र पुरस्कार पाएका थिए । २०७५ सालमा पोखरामा ट्रेनर नेपालले आयोजना गरेको फेशन अवार्ड नेपालमा श्रेष्ठले बेष्ट फेशन फोटोग्राफरको अवार्ड हात पारे । पोखरामा भएका सौन्दर्य प्रतियोगिताहरुमा निणार्यकको भुमिका समेत उनले निर्वाह गर्दै आएका छन् । सुरजको सक्रियता समाजसेवामा पनि देखिन्छ । श्रेष्ठ नेपाल पत्रकार महासंघ कास्की र चलचित्र पत्रकार संघ कास्कीमा पनि आबद्ध छन् । नेपाल फोटो पत्रकार संघ कास्कीको कोषाध्यक्षको जिम्मेबारी सम्हालेका श्रेष्ठको दैनिकी भनेकै फोटोग्राफी हो ।