काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले ग्याल्पो ल्होसारजस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने विश्वास लिनुभएको छ । ग्याल्पो ल्होसार, २०७९ को अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले “ग्याल्पो ल्होसार पर्वले सबैलाई एकताबद्ध भएर आर्थिक, सामाजिक र सांस्कृतिकरूपले समुन्नत मुलुक निर्माणका लागि अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस्” भनी कामना गर्नुभयो । “नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्र हो, शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु”, सन्देशमा भनिएको छ । नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पालगायत महायान बौद्ध धर्मावलम्बी समुदायद्वारा फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षका रूपमा ग्याल्पो ल्होसार मनाइन्छ । पर्वको अवसरमा शेर्पा समुदायले आफ्नो घरआँगन, बाटोघाटो तथा पानीका स्रोतको सरसफाइ गर्ने, घरको छतलगायत गुम्बा र चैत्यमा नयाँ ध्वजा राख्ने, गुथुक र खाप्सेजस्ता परिकार खाने अनि आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने परम्परा रहेको छ ।
काठमाडौं: प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होछार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदैछ । नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१५०औँ ग्याल्पो ल्होछार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन ९मेघ०, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । ग्याल्पो ल्होछार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्यरुपमा मनाइन्छ । ग्याल्पो ल्होछार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरु गरिएको हो । समय क्रममा ग्याल्पो ल्होसार नामकरण भएको अनुसन्धानदाता टीका शेर्पाको भनाइ छ । उनका अनुसार ल्होसारलाई कसैले ग्याल्पो र कसैले ग्याल्बो उच्चारण गर्ने गर्छन् । विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइँ सराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो । पुस १५ मा गुरुङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाइसकेका छन् । ग्याल्बो ल्होछारको अवसरमा आज सरकारले सार्वजनिक बिदा दिएको छ ।
पोखरा: पोखरा विश्वविद्यालयको १८औँ दीक्षान्त समारोहमा छ हजार नौ सय ९९ विद्यार्थी दीक्षित भएका छन् । पोखराको ढुङ्गेपाटनस्थित पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा सोमबार आयोजित दीक्षान्त समारोहमा उक्त सङ्ख्यामा विद्यार्थी दीक्षित भएका हुन् । विसं २०७९ माघ २० गतेसम्म ट्रान्सक्रिप्ट लिएका विभिन्न शैक्षिक कार्यक्रममा उत्तीर्ण विद्यार्थीलाई उक्त विश्वविद्यालयका कूलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दीक्षित गर्नुभएको हो । पोखरा विश्वविद्यालयले यस वर्ष व्यवस्थापन सङ्कायबाट विद्यावारिधि गर्ने एक विद्यार्थीलाई कुलपति पदक, स्नातकोत्तर तहका विभिन्न कार्यक्रममा सर्वोकृष्ट अङ्क प्राप्त गर्ने ११ विद्यार्थीलाई कुलपति पदक र स्नातक तहमा सर्वोत्कृष्ट अङ्क प्राप्त गर्ने एक विद्यार्थीलाई उपकुलपति पदकबाट विभूषित गरिएको थियो । उक्त अवसरमा विभिन्न विधाका पाँच सय ७२ विद्यार्थीलाई डीन लिष्टको उपाधिबाट सम्मानित गरिएको थियो । व्यवस्थापन सङ्कायअन्तर्गत आङ्गिक महाविद्यालयबाट स्नातकोत्तर तहमा एमबिए प्रोग्राममा सर्वोकृष्ट नतिजा हासिल गर्ने एक विद्यार्थीलाई लक्ष्मी स्वर्ण विद्या पदक, २०७९ बाट सम्मान गरिएको छ । विज्ञान तथा प्रविधि सङ्कायअन्तर्गत स्नातक तहमा बिसिए प्रोग्राममा सर्वोकृष्ट नतिजा हासिल गर्ने एक विद्यार्थीलाई असिम गोल्ड मेडल, २०७९ बाट सम्मान गरिएको छ । पोखरा विश्वविद्यालयका ६६ महाविद्यालयमा विभिन्न प्राविधिक एवं साधारण विषयमा स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि तहका पठनपाठनका साथै विश्वविद्यालयमा ६४ कार्यक्रम सञ्चालनमा रहेको विश्वविद्यालयका उपकुलपति प्रा डा प्रेमनारायण अर्यालले जानकारी दिनुभयो । यी कार्यक्रममा शैक्षिक सत्र २०७९ मा ३७ हजार छ सय ४५ विद्यार्थी अध्ययनरत छन् । पोखरा विश्वविद्यालयमा हाल व्यवस्थापन, विज्ञान तथा प्रविधि, स्वास्थ्य विज्ञान र मानविकी तथा सामाजिक शास्त्र सङ्कायअन्तर्गत शैक्षिक कार्यक्रम सञ्चालनमा छन् । पोखरा विश्वविद्यालयका देशैभरि चार आङ्गिक, चार संयुक्त आङ्गिक र ५८ सम्बन्धनप्राप्त महाविद्यालय सञ्चालनमा रहेको जानकारी सो अवसरमा दिइएको थियो । आङ्गिक महाविद्यालयमा स्नातक तहमा १७, स्नातकोत्तर तहमा १७, एमफिल तहमा एक र विद्यावारिधि तहमा तीनसहित ३८ कार्यक्रम सञ्चालनमा रहेको जानकारी पनि उक्त अवसरमा दिइएको थियो । पोखरा विश्वविद्यालयले एक वर्षयता शिक्षण अस्पताल सञ्चालनमा ल्याएको छ । दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको राजनीतिक, आर्थिक, सामाजिक एवं शैक्षिक रूपान्तरणका लागि आवश्यक जनशक्ति पोखरा विश्वविद्यालयले उत्पादन गर्ने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले राष्ट्रिय शिक्षा नीति, २०७६ को उद्देश्यअनुरूप ज्ञानमा आधारित समाज र अर्थतन्त्र निर्माणका लागि उच्च शिक्षाको पहुँच र गुणस्तर अभिवृद्धि गरी विभिन्न क्षेत्रमा सक्षम नेतृत्व प्रदान गर्न योग्य, दक्ष, वैज्ञानिक, नवप्रवर्तनात्मक, अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धी र अनुसन्धानमुखी मानव संशाधन विकास गर्ने दिशामा विश्वविद्यालय अगाडि बढ्नुपर्नेमा उहाँको जोड थियो । प्रधानमन्त्री दाहालले नेपालको संविधानले व्यवस्था गरेबमोजिम निःशुल्क शिक्षाको हकलाई व्यवहारमा कार्यान्वयन गर्न सङ्घीय शिक्षा ऐनको अन्तिम तयारी भइरहेको जानकारी पनि दिनुभयो । भारतको नोएडा अन्तर्राष्ट्रिय विश्वविद्यालय ९एनआइयू० का उपकुलपति प्रा डा उमा भारद्वाजले गुणस्तरीय शिक्षाबाट विश्व बजारमा प्रतिस्पर्धी उच्चस्तरीय जनशक्ति उत्पादन गरी देशको विकासमा लाग्नुपर्नेमा जोड दिनुभयो । उच्तस्तरीय जनशक्ति उत्पादन गर्नका लागि अध्ययन, अध्यापन, अनुसन्धान तथा अन्य पक्षलाई अगाडि बढाउँदै लानुपर्नेमा उहाँको जोड थियो । विश्वविद्यालयका उपकुलपति प्रा डा अर्यालले विश्वविद्यालयले विद्यार्थी अध्ययनका लागि विदेश जानबाट रोक्न आकर्षक छात्रवृत्तिको व्यवस्था गरेको जानकारी दिनुभयो ।
काठमाडौंः नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले दल विशेषका व्यक्तिलाई राष्ट्रपति बनाउन नसकिने बताएका छन्। पार्टीको पदाधिकारी बैठक बस्नु अघि पत्रकारसँग कुरा गर्दै गुरुङले संविधानमा दलको व्यक्तिलाई राष्ट्रपति बनाउने कल्पनानै नगरिएको बताए। गुरुङले भने, ‘दल विशेषलाई राष्ट्रपति बनाउन सकिँदैन। राष्ट्रपति राष्ट्रिय एकताको प्रतिक हो। दलहरुको सिफारिस हुन्छ तर, साझा सहमति बन्न सक्ने व्यक्ति हुनुपर्छ। सबैले समर्थन गर्न सक्ने व्यक्तिलाई राष्ट्रपति बनाउनुपर्छ। दलको क्यान्डिडेटलाई मान्न सकिँदैन।’
काठमाडौं : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले अब संसदको ध्यान प्रभावकारी ऐन कानुन निर्माण गर्नेतर्फ केन्द्रीत हुनुपर्ने बताएका छन्। राष्ट्रिय समावेशी आयोग दिवसका अवसरमा राष्ट्रिय समावेशी आयोगले सोमबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले संसदको पहिलो कार्यकालको अनुभवलाई आत्मसात गर्दै अब प्रभावकारी ऐन कानुन निर्माण गर्नेतर्फ संसदको ध्यान दिनुपर्ने बताए। संसदको भूमिकालाई प्रभावकारी पार्नका लागि सांसदहरुको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ । सभामुख घिमिरेले सरकारलाई गतिशिल बनाउनका लागि प्रतिपक्षीको भूमिका महत्वपूर्ण हुने र बहुमत हुँदैमा सरकारलाई पनि संसदप्रति उत्तरदायी नहुने छुट नरहेको धारणा राखे । उनले आयोगले सिमित स्रोत साधनका बाबजुत धेरै काम गर्न खोजेको र त्यसको लेखाजोखा संसदीय समिति मात्रै नभइ फुल हाउसमा छलफल हुनुपर्ने धारणा राखे। विभिन्न संवैधानिक आयोगका प्रतिवेदन दर्ता गर्ने र राख्ने काम मात्रै भएकाले आयोगका कामहरूप्रति सरकार जवाफदेही हुने परिपाठी सिर्जना गर्नुपर्ने आवश्यकता रहेको बताए। त्यस्तै राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा. रामकृष्ण तिमल्सेनाले समावेशीताको बुझाइमा एकरुपता आवश्यक पर्ने बताए । मुलुकमा बस्ने प्रत्येक व्यक्तिहरु, समुदाय सबैलाई न्याय गर्न सक्ने परिकल्पना राज्यले गरेको अवस्थामा केहि समुदायको मात्रै प्रतिनिधित्वलाई समावेशिता भन्न नमिल्ने उनले बताए। कार्यक्रममा अन्य संवैधानिक आयोगका अध्यक्षहरूले विभिन्न आयोगको कामकारबाहीलाई प्रभावकारी बनाउनका लागि समन्वयात्मक भूमिका आवश्यक रहेको धारणा राखेका थिए । सामाजिक न्याय प्राप्तिका लागि सबै अवरोध हटाऔं र यसका अवसरहरूको उपयोग गरौं भन्ने नारासहित सोमबार राष्ट्रिय समावेशी आयोग दिवस मनाइएको हो ।
गुल्मी: गुल्मीमा १३ प्रजातिका नयाँ चराहरू भेटिएका छन् । चरा सर्वेक्षणको क्रममा जिल्लाको रेसुङ्गा र मदाने वन संरक्षण क्षेत्रमा नयाँ प्रजातिका चराहरू भेटिएका नेपाल पक्षी संरक्षण सङ्घ गुल्मीका परियोजना अधिकृत भरत पन्थीले जानकारी दिनुभयो । १९ हजार २८१.६५ हेक्टर क्षेत्रफलमा फैलिएको रेसुङ्गा वन संरक्षण क्षेत्रमा पाँच प्रजातिका नयाँ चराहरू भेटिएका छन् । जसमा कोटेरो मुनियाँ, तिलहरी चरा, चखेवाचखेवी, चञ्चले सुड्सुडिया र टुइँसी सुगा प्रजातिका चराहरू रहेका छन् । १३ हजार ७६१ हेक्टर क्षेत्रफलमा फैलिएको मदाने वन संरक्षण क्षेत्रमा भने आठ प्रजातिका नयाँ चराहरू भेटिएका छन् । जसमा हिमाली मलेवा, खरलाहाँचे, लामोठुँडे चाँचर, लघु बगेडी, कण्ठे सुगा, खोले टिकटिके, फुस्रो टिकटिके र ठूलो छिरबिरे माटीकोरे प्रजातिका चराहरू भेटिएका हुन् । यहाँ बर्सेनि चराहरूको सङ्ख्या बढिरहेको छ । हालको सर्वेक्षणसम्म रेसुङ्गा वन संरक्षण क्षेत्रमा २५८ प्रजातिका चरा छन् । यता, मदाने वन संरक्षण क्षेत्रमा २७२ प्रजातिका चरा छन् । दुवै क्षेत्रमा २१८ प्रजातिका चराहरू छन् । अहिलेसम्म यस जिल्लामा ३१२ प्रजातिका चरा छन् । रेसुङ्गा र मदाने वन संरक्षण क्षेत्रमा यस अघिको सर्वेक्षणमा ३०५ प्रजातिका चराहरू रहेका थिए । हालसम्म नेपालमा पाइएका ८९२ प्रजातिका चरामध्ये करिब ३५ प्रतिशत प्रजातिका चराहरू यहाँ फेला परेको सङ्घले जनाएको छ । गुल्मी जिल्लामा विश्वकै दुर्लभ छ प्रजातिका चराहरू पाइन्छ । जसमा रेसुङ्गा वन संरक्षण क्षेत्रमा चिर, रणमत्त महाचील, सेतो गिद्ध, सुन गिद्ध, गोमायु महाचील, डंगर गिद्ध छन् । मदाने वन संरक्षण क्षेत्रमा चिर, सेतो गिद्ध, सुन गिद्ध, गोमायु महाचील छन् । यहाँ रहेका दुर्लभ चराहरूको संरक्षणका लागि विभिन्न चुनौती देखिएको परियोजना अधिकृत पन्थीले बताउनुभयो । बेला–बेलामा हुने वन डढेलो, वासस्थान परिवर्तन, चोरी सिकारी, बढ्दो रासायनिक पदार्थको प्रयोग, अव्यवस्थित ग्रामीण सडक जस्ता समस्याहरू चरा संरक्षणका लागि चुनौती बनेको उल्लेख गर्नुभयो । सङ्घले रेसुङ्गा र मदाने वन संरक्षण क्षेत्रमा चराहरूको अनुसन्धान र गणना गर्दै आएको परियोजना अधिकृत पन्थीले बताउनुभयो । चराचुरुङ्गीको संरक्षणका लागि परियोजनाका माध्यमबाट विभिन्न संरक्षण पोखरी निर्माण, स्थानीयको जनचेतना अभिवृद्धि गर्ने तथा वनमा आश्रित जनताहरूलाई विभिन्न खालका जीविका पार्जनसँग सम्बन्धित कार्यक्रमहरूलाई जोड दिएको उहाँले उल्लेख गर्नुभयो ।
काठमाडौं: राष्ट्रपति निर्वाचनबारे छलफल गर्न नेकपा (माओवादी केन्द्र) को बैठक बस्ने भएको छ। अपरान्ह साढे ४ बजे पार्टी केन्द्रीय कार्यालाय पेरिसडाँडामा बस्ने बैठकमा अहिलेसम्म भएका वार्ता र छलफलबारे रिपोर्टिङ हुने पार्टी कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले बताए। ‘अहिलेसम्म भइरहेका छलफलबारे रिपोर्टिङ हुन्छ। अब कसरी अघि बढ्ने भनेर म्यान्डेट लिने काम हुन्छ होला,’ उनले भने। अहिले प्रधानमन्त्री प्रचण्ड पोखरामा छन्। पोखरा विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन उनी पोखरा गएका हुन्। पोखराबाट फर्किएपछि माओवादी केन्द्रको पदाधिकारी बैठक बस्नेछ। राष्ट्रपति निर्वाचनलाई लिएर सत्ता साझेदार दल माओवादी केन्द्र र नेकपा एमालेका नेताहरूको भिन्न मत छ। नेकपा माओवादी केन्द्रले सहमतिको आधारमा राष्ट्रपति चयन गर्नुपर्ने अडान लिएको छ। उसले सहमति नभए एमालेलाई साथ दिन नसक्ने स्पष्ट पारेको छ। एमालेले भने आफ्नो उम्मेदवार बाहेकमा सहमति हुन नसक्ने अडान राखेको छ।
काठमाडौं: भारत सरकारले दुई सय वटा मिर्गौला डायलाईसिस मेसिन नेपाल सरकारलाई सहयोग स्वरुप उपलब्ध गराएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक समारोहका बीच स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीलाई नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले सो मेसिन हस्तान्तरण गरेका हुन् । करिब एक वर्षअघि नेपाल सरकारले भारत सरकारसमक्ष सो मेसिन उपलब्ध गराउन अनुरोध गरेको थियो । समारोहमा बोल्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री गिरीले सो मेसिन उपलब्ध गराएकोमा भारत सरकारप्रति आभार व्यक्त गरे । उक्त अवसरमा उनले २०७२ सालमा गएको विनाशकारी भूकम्प र कोभिड संकटका बेला पनि भारत सरकारले गरेको मानवीय सहयोग नेपाल राष्ट्र र नेपाली जनताले सदास्मरण गरिरहने उल्लेख गरे । मन्त्री गिरीले नेपाल–भारतबीचको सम्बन्ध आर्थिक तथा सामाजिक रुपले घनिष्ट रहँदै आएको ऐतिहासिक तथ्यलाई भूल्न नसकिने पनि बताए । उनले भने, ‘दुई मुलुकबीच आर्थिक, सामाजिक सबै रुपले घनिष्ट सम्बन्ध छ । यो हाम्रो ऐतिहासिक पक्ष हो । भूकम्प र भोभिडको समयमा पनि भारत सरकारबाट जुन खालको सहयोग भयो । त्यो अत्यन्तै उल्लेखनीय छ । महत्वपूर्ण छ । यो कुरा नेपाली जनताले सधैंभरी सम्झनयोग्य छ । म यसका लागि भारतीय राजदुतावासमार्फत् भारत सरकार र भारतीय जनतालाई धन्यवाद दिन चाहन्छु । कृतज्ञता पनि व्यक्त गर्न चाहन्छु । स्वास्थ्य क्षेत्रमा पनि थप सहकार्य गरेर अघि बढने विश्वास दिलाउन चाहन्छु ।’ नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले नेपाली जनताको स्वास्थ्य अवस्थामा सुधार ल्याउने गरी नेपाल सरकारलाई सो मेसिन हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताए । उनले नेपालसँगको मित्रतापूर्ण सम्बन्ध र विकास साझेदारीको कामलाई तीव्रताका साथ अघि बढाउन भारत सरकार सदैव अग्रसर रहेको र रहिरहने प्रतिवद्धता समेत व्यक्त गरे । नेपालको स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा पनि भारतले सक्दो सहयोग गर्ने उनको भनाई थियो । राजदूत श्रीवास्तवले भने, ‘करिव एक वर्ष अघि नेपाल सरकारको तर्फबाट २ सय मृर्गौला डायलाईसिस मेशिनका लागि भारत सरकारलाई अनुरोध गरिएको थियो । सोही अनुसार मेसिन हस्तान्तरण गर्न पाउँदा खुशी लागेको छ । हामी नेपालको स्वास्थ्य क्षेत्रको पूर्वाधार विकासमा पनि सहयोग गर्नेछौं ।’ नेपालको विकासको सबै क्षेत्रमा भारत सरकार सदैव मिलेर काम गर्दै आएको छ । नेपालको ट्रमा सेन्टर निर्माण, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणमा सहयोग भारत सरकारले गरेको छ । भूकम्पका बेला १३२ वटा हेल्थ पोष्ट निर्माणमा पनि भारतले सहयोग गरेको छ । कोभिड भ्याक्सिनमा पनि भारतले नेपाललाई सहयोग गरेको छ । भारत सरकारको तर्फबाट एक असल छिमेकीको तर्फबाट नेपालसँगको मित्रतापूर्ण सम्बन्ध र विकासका लागि सधैं अग्रसर रहनेछ ।’ भारतले कोभिड संकटका बेला मात्रै पनि १३२ वटा हेल्थ पोष्ट निर्माणमा आर्थिक सहयोग तथा कोभिड भ्याक्सिनसहितका स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको थियो ।
पोखरा: पोखरा रिसर्च सेन्टरले सञ्चालन गरेको गण्डकी प्रदेशमा युथ इन पोलिसी एन्ड गभरनेन्स (वाइपिजी) फेलोसिप कार्यक्रम अन्तर्गत क्याम्प २ भएको छ । नेसनल इन्डोमेन्ट फर डेमोक्रेसीको सहयोगमा रिसर्च सेन्टरले सञ्चालन गरेको उक्त कार्यक्रम अन्तर्गत ४ दिने क्याम्प २ आइतबार सकिएको हो । २० देखि ३० वर्षका युवालाई कानुन तथा सार्वजनिक नीति निर्माणमा सहभागी गराउने उद्देश्यसँगै सञ्चालन गरिएको उक्त क्याम्प २ मा २६ युवायुवती सहभागी थिए । यसअघि रिसर्च सेन्टरले पुस ७ सम्मको मिति राखेर आवेदन दिन आग्रह गरेको थियो । आवेदकमध्येबाट पहिलो चरणमा ५० जना छनोट गरी गत माघमा पहिलो क्याम्प सञ्चालन भएको थियो । उक्त क्याम्पबाट २६ जनालाई छनोट गरी दोस्रो क्याम्पमा पठाइएको हो । अब रिसर्च सेन्टरले २६ जनाबाट १२ जनालाई अर्को राउन्डमा छनोट गर्नेछ । त्यसपश्चात् १२ जनालाई वाइपिजी फेलोको रुपमा गण्डकी प्रदेश सभाका सदस्यसँग ज्ञान सहायक भई ६ महिना काम गर्ने अवसर प्रदान गरिने रिसर्च सेन्टरका ‘एक्जुकेटिभ डाइरेक्टर’ सुजन रेग्मीले बताए । सामाजिक नीति नियम र सुशासनमा रुचि राख्ने २०-३० वर्षका गण्डकी प्रदेशमा बसोबास गरिरहेका २ सय ५० जना युवायुुवती यसका लागि आवेदन दिएका थिए । युथ इन पोलिसी एन्ड गभरनेन्स (वाइपिजी) अन्तर्गत रिसर्च सेन्टरले प्रदेश १, कर्णाली प्रदेशमा समेत कार्यक्रममा सञ्चालन गरिसकेको छ । गण्डकी प्रदेशमा यसअघि २ पटक यो कार्यक्रम सञ्चालन भइसकेको छ ।